Saturday, April 11, 2020

जसले बिभत्स शवसँग १० वर्ष बिताए


64x64
नारायण अधिकारीशनिबार, फागुन १०, २०७६, ०६:३०

काठमाडौं- रगतको आहालमा डुबेका शवलाई ओल्टाइपल्टाइ गर्नु। डुङ्डुङ्ती गन्हाउने शवको समेत बेपर्वाह गरी अंग-अंगका चोटपटकको इन्ची–इन्ची नाप गर्नु। बिस्फोटमा परेर टुक्रा-टुक्रा भएका मान्छेका शरीरका अंग बटुल्नु। कुहिएका शव ढलबाट निकाल्नु। गाडेको ३५ दिनपछि किराले ढपक्कै ढाकिएको शवकाे समेत रत्तिभर घिन नसम्झी उत्खनन् गर्नु। 
यी काम सुन्दामात्रै पनि ज्यान सिरिङ्ग हुनसक्छ। कुहिएका शवलाई ओल्टाइपल्टाइ गर्ने हैन, देख्दै परैबाट नाक थुनेर सबैजसो पन्छिने गर्छन्। सामान्य मान्छेलाई लाग्छ- यस्ता कुहिएका शव छुन नपरोस् हैन, देख्नै नपरोस्। 




तर शम्भुप्रसाद पोखरेल यस्ता व्यक्ति हुन्, जो १० वर्षदेखि यस्तै शवसँग साक्षात्कार गरिरहेका छन्। गत मंगलबार बिहान उनै पोखरेललाई कुराकानीका लागि टेलिफोन गर्दा एउटा शव निकाल्नै व्यस्त थिए- उपत्यकाका चर्पी मिसिएको विष्णुमति नदीबाट। 
बल्खु तरकारी बजारमा काम गर्ने उमेश महतो तरकारी बजारसँगैको विष्णुमति नदीमा मृत भेटिएका थिए। नदीमा शव फेला परेको सूचना महानगरीय प्रहरी अपराध महाशाखामा आएपछि हवल्दार पोखरेल उतै दौडिए। नदीबाट शव निकाले।
शरीरमा चोटपटक, निलडाल छ/छैन, कस्तो अवस्थामा भेटिएको छ, वरपर केही शंकास्पद वस्तु छ/छैन पोखरेलले यिनै कुरा नियाले। सँगै गएको मुद्दाको टोलीले घटनास्थल मुचुल्का उठायो। करिब दुई घण्टामा काम फत्ते गरेर उनी कार्यालय महाशाखा फर्किए।
यस्तै प्रकृतिका काममा पोखरेलले आफ्नो १० वर्ष खर्चिसकेका छन्। रौतहटको चन्द्रनिगापुर-२ का पोखरेल २०६१ सालमा प्रहरी जवान भर्ती भए। तालिम सकिएपछिका दुई वर्ष उनले बुटवलमै बिताए।
वडा प्रहरी कार्यालय रामनगरमा कार्यरत पोखरेलको त्यसबेलासम्म आङमा प्रहरीको बर्दी थियो।  
प्रहरी प्रधान कार्यालयले फिंगर प्रिन्ट तालिमको लागि केही प्रहरी जवानको नाम पठाउन निर्देशन दियो। त्यसमा छानिए पोखरेल। अपराधी पहिचानको मुख्य हतियार फिंगर प्रिन्टको तीन महिने तालिम पश्चात भने उनको आङको बर्दी हट्यो।
सादा पोशाकमै रहेर फिंगर प्रिन्टको काम गर्न थाले।
फिंगर प्रिन्टको काम गरिरहेकै बेला २०६४ असारमा उनको बुटवलबाट महानगरीय प्रहरी प्रभाग सीतापाइला सरुवा भयो। त्यहाँ पनि उनले फिंगर प्रिन्टकै काम गरे।
चोरीको घटनामा संलग्न व्यक्तिको फिङ्गर प्रिन्ट लिँदै शम्भु(दुवै तस्बिर)
प्रभागमा तीन वर्ष काम गरिसकेपछि २०६७ साउनमा महानगरीय प्रहरी अपराध महाशाखामा काज भयो। त्यहीबाट सुरु भएको हो, हवल्दार पाखेरेलको शवसँगको साक्षात्कार। करिब १० वर्षदेखि महाशाखाकै सोको (क्राइम सिन अफिसर) टिममा रहेर उनले काम गर्दै आइरहेका छन् ।
०००
महाशाखामा आएपछि सोको टिममा रहेर उनले फिंगर प्रिन्टकै काम गरे। फिंगर प्रिन्ट विशेष गरी चोरीको अनुसन्धानमा प्रयोग गरिँदै आएको छ। चोरी भएको ठाउँमा गएर चोरले समाउन सक्ने लकर, दराज, ढोकाको ह्णडलजस्ता ठाउँबाट मेसिनमार्फत शम्भुले चोरका तमसुक निकाल्थे। उनैले रेकर्ड गरेर ल्याएका फिंगर प्रिन्टबाट सयौं चोर समातिएका छन्।
‘१० वर्षको अवधिमा सयौं चोर पक्रिन सहयोग गरियो होला’ यति जना चोर पक्राउका लागि आफ्नो रेकर्डले काम गरेको भन्नेबारे अनविज्ञता पोख्दै पोखरेल भन्छन्। 
सँगै उनको रेकर्ड बाहिरबाट पक्राउ गरेर ल्याइएका चोरको पनि उनले फिंगर प्रिन्ट रेकर्ड गरेर राखेका छन्। ताकि भोलिका दिनमा फेरि अनुसन्धान गर्नुपर्दा सजिलो होस्। फिंगर प्रिन्टको काम गर्दागर्दै उनले सोको सहायकको रुपमा काम गर्न थालिसकेका थिए।
‘फिंगर प्रिन्टको काम गर्दागर्दै सरहरु (असई,सई)सँग असामान्य किसिमबाट मृत्यु भएका घटनामा म पनि जान्थें। त्यहीँबाट सोको सहायकको काम सिकेको हुँ’, बिना तालिम हेरकै भरमा सोको सहायकको काम सिकेको बारे पोखरेलले बताए।
उनले सोको सहायकको काम सिकेका बेला त असईभन्दा तल्लो दर्जालाई तालिम दिने चलन नै थिएन। त्यसबेला उनी भने सिपाही नै थिए।
सोको किट बक्समा सामान राख्दै।
त्यसपछि भने विभत्स घटना, हत्या, दुर्घटना, बम बिस्फोटमा मृत्यु, झुण्डिएर आत्महत्या, विष खाएर आत्महत्या, गोली प्रहार गरी हत्या जस्ता सयौं घटनाका साक्षी बनेका छन् पोखरेल। अहिले अभ्यस्त भइसकेका पोखेरेललाई सुरु सुरुमा भने डर र घिन नलागेको होइन। 
‘सोको टिममा आएपछि मेरो पहिलो क्राइम सिन घटना भनेको कोटेश्वरमा फर्निचरमा काम गर्ने युवालाई मारेको केश थियो। घाँटीमा छुरी थियो। मृतक युवा मुख बाइरहेका थिए। त्यसबेला भने मलाई एकदमै डर लागेको थियो’, पोखरेलले भने, ‘त्यसपछि भने मलाई डर लागेको छैन।’
सोको टिमले घटनास्थल पुगेपछि सुरुमा क्राइम सिन कर्डन गर्छ। त्यसपछि क्राइम सिन फोटो लिने, फेन्सिक इभिडेन्स कलेक्शन गर्ने, फुट प्रिन्ट फिंगर कलेक्शनको काम सुरु हुन्छ। सोको टिमले कलेक्शन गरेका अपराधी पत्ता लाग्न सहयोग गर्ने प्रमाणसहितका क्लु सम्बन्धीत मुद्दाको टिमलाई बुझाउँछन्।
०००
यसरी शम्भुले १० वर्षको बीचमा करिब १५ सय शवलाई ओल्टाइपल्टाइ गरिसकेका छन्। ती मध्येका केही घटना भने उनले निकै रोचकसाथ सुनाए। 
‘व्यवसायी प्रकाशबाबु पन्तको हत्या गरि शव गाडेको ३५ दिनपछि निकालेको थिएँ। शवलाई प्लाष्टिकले बेरेर गाडिएको। शवमा जहाँ समायो त्यहीको मासु हातमै आउँथ्यो’, शम्भु आफ्नो अनुभव सुनाउँछन्, ‘त्यसबेला हामीसँग डाक्टर हरिहर वस्ती पनि हुनुहन्थो।’
(व्यवसायी पन्तको २०६८ चैत १२ मा काठमाडौंबाट अपहरण भएको थियो। अपहरण गरी हत्या गरेको ३५ दिनपछि पन्तको शव नुवाकोटको ककनीमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो। पछि शव जाँच गर्दा अपहरणकारीले विष सेवन गराएर पन्तको हत्या गरेको पुष्टि भएको थियो।)
‘हेर्दा सामान्य लागे पनि हाम्रो जिम्मेवारी भने निकै चुनौतीपूर्ण र संवेदनशील छ। अपराधी पत्ता लाग्ने भनेको क्राइम सिन इभिडेन्सको राम्रोसँग संकलन गरेपछि हो। त्यसकारण घिन नमानिकनै क्राइम सिनका प्रमाण संलकन गर्नुपर्छ’ शम्भु भन्छन्।
पोखरेलसहितको टिमले क्राइम सिनमा संकलन गरेको प्रमाण र प्रहरीको थप अनुसन्धानबाट व्यवसायी पन्त हत्या काण्डमा संलग्न व्यक्ति पक्राउ परेका थिए। 
यतिमात्रै होइन, यो १० वर्षको अवधिमा १५ सयभन्दा बढी क्राइम सिनमा गएर प्रमाण संकलन गरेका शम्भुका अनेक अनुभव छन्। कतिपय क्राइम सिनमा जाँदा त उनको मन नै चसक्क पनि हुन्छ। 
‘बबरमहल बम बिस्फोटको घटनामा पनि म गएको थिएँ। दृश्य यति दर्दनाक थियो कि क्राइम सिनमा भएका प्रमाण संकलन गर्ने बेला अन्तिममा मैले मान्छेका हातका औँलामात्रै छुटिएको अवस्थामा समेत भेटेको थिएँ’, दर्दनाक घटनाका बारेमा सुनाउँदै गर्दा उनले अतित सम्झिए, ‘कहिलेकाहीँ यस्ता घटनाले मनै चसक्क बनाउँछ।’ 
बबरमहल बम विस्फोटको घटनामा क्राइम सिन निरीक्षण गर्दै।
(तत्कालीन संयुक्त जातीय मुक्ति मोर्चाले २०६८ फागुन १५ मा काठमाडौं बबरमहलमा दिउँसो १ बजे शक्तिशाली बम बम विस्फोट गराएको थियो। सो क्रममा कृष्णबहादुर तामाङ, मानबहादुर तामाङ र बीरबहादुरको तामाङ गरी तीन जनाको ज्यान गएको थियो। सात जना गम्भीर घाइते भएका थिए।)
यी घटना रक्ताम्य र दर्दनाक थिए। शम्भुले कुहिएर किरा परेका शव र हड्डीमात्रै पनि उठाएका छन्। शव ओल्टाइपल्टाइ गरेका छन्। इन्ची टेपले चोटको लम्बाई र चौडाई नापेका छन्।
गोलीका खोका र बारुदका छर्रा संकलन गरेका छन्। त्यसमा कति घटना त अझैसम्म रहस्यको गर्भमै छन्।
लगभग चार वर्ष अगाडि रानीबारीको जंगलबाट हड्डीमात्रै संकलन गरेर बोरामा हालेर उनै शम्भुले ल्याएका थिए। एक विदेशी पर्यटक काठमाडौंबाट नुवाकोट ट्रेकिङ जाने क्रममा अस्थीपञ्जर देखिपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी प्रधान कार्यालयमार्फत अपराध महाशाखामा उक्त सूचना पुगेपछि शम्भुसहितको टोलीले रानीबारी जंगलबाट अस्थीपञ्जर बोरामा हालेर ल्याएको थियो।
वरपरका कपडाबाट त्यो अस्थीपञ्जर महिलाको हो भन्ने आशंका गरिए पनि त्यो कसको थियो अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन। 
०००
शम्भुकी श्रीमती पनि प्रहरी सेवामै छिन्। एक छोरासहित उनीहरु तीन जना सानेपामा बस्छन्। घरभित्र प्रवेश गर्ने बेला शम्भुले लगाएका बाहिरी बस्त्र ढोका बाहिरै फुकाले, भित्र पसेपछि श्रीमती र छोराले सहजै बुझ्छन् ‘आज दर्दनाक र कुहिएका शवकाे प्रमाण संकलन गरेर आए शम्भु।’
‘आलो शवका  काँचो रगत गन्हाइरहेको हुन्छ भने पुरानो शवका दुर्गन्ध आफ्नै शरीरबाट आइरहेकाे हुन्छ। यस्ता शव चलाएको दिन सधैँ नुहाउन पनि भ्याइँदैन। त्यसैले घर छिर्ने बेला कपडा खोलेर पस्छु’ शम्भुले बाध्यता सुनाए। 
शम्भुलाई ठ्याक्कै मिति थाहा छैन। पाँच/छ वर्ष अगाडि बौद्धमा प्लाष्टिकले बेरिएको अवस्थामा एक शेर्पाकाे शव भेटिएको थियो। प्लाष्टिक खोल्दा शम्भुका शरीरमा समेत किरा हिँडेका थिए।
किरैकीराको शवलाई ओल्टाइपल्टाइ गर्दासमेत उनले नुहाउने फुर्सद पाएनन्। यस्तो अवस्थामा भने उनी कपडा ढोका बाहिरै खोलेरभित्र पस्छन्।
यस्ता सयौं घटनाका साक्षी बनेका शम्भुले न्यायाधीश रणबहादुर बम, पूर्व राजदूत केशवराज झा हत्या, भक्तपुरमा बालक निशान खड्काको अपहरणपछि हत्या, व्यवसायी अञ्जनीकुमार चाचन हत्या, इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको हत्या लगायतको प्रमाण संकलनको काम गरेका छन्।
अपहरणपछि हत्या गरेर खाल्डोमा गाडिएका बालक निशान खड्काको शव निकाल्दै।
सोको सहायकको रुपमा उत्कृष्ट काम गरेकै कारण उनले २०७१ मा शान्ति मिसनमा सुडान जाने अवसरसमेत पाएका थिए।
अपराधको अनुसन्धान घटनास्थल अर्थात क्राइम सिनबाट सुरु हुन्छ। क्राइम सिन अपराध अनुसन्धानको पहिलो प्रमाण हो। घटनास्थलको सबुत कसरी जुटाइन्छ? र, घटनाको अवस्थाको विश्लेषण कसरी गरिन्छ? यसको असर अनुसन्धानको अन्तिम बिन्दुसम्म देखापर्छ।
क्राइम सिनमा थोरै तलमाथि भएको अवस्थामा अपराधीको पहिचान नहुन पनि सक्छ। त्यसैले त भन्ने गरिन्छ, ‘अपराधीको पहिचान हुनुमा सोको अफिसरको भूमिका मुख्य हुन्छ।’ 
शम्भुले यस्तै मुख्य जिम्मेवारी दश वर्ष पूरा गरे। अझै लागिपरिरहेका छन्। 
शम्भुप्रसाद पोखरेलसँगकाे भिडियाे कुराकानी

कसरी फस्यो धिरेन्द्रका दुई छोरीको ११ करोड?

पूर्व अधिराजकुमार धिरेन्द्रका दुई छोरी सीतास्मा र दिलासा ५ वर्षदखि अदालत धाउँदै 
64x64
नेपाल लाइभमंगलबार, फागुन १३, २०७६, १०:३५

काठमाडौं– पूर्व राजा वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र शाहका दुई छोरी ५ वषदेखि लेनदेन मुद्दामा अदालत धाइरहेका छन्। उदयपुर चौदण्डी नगरपालिका–१० का एक व्यक्तिसँगको लेनदेन विवादमा धिरेन्द्रका छोरी सीतास्मा र दिलासा जिल्ला अदालत काठमाडौं हुँदै उच्च अदालत पाटन धाइरहेका छन्।
उनीहरूलाई ५ वर्षसम्म एकपछि अर्को अदालत धाउन बाध्य बनाउने हाई प्रोफाइल व्यक्ति हुन्, विवेक उपाध्याय। हाल उच्च अदालतमा ‘कोर्ट फि’ मिनाहा गर्ने सम्बन्धमा मुद्दा विचाराधीन छ। उच्च अदालत पाटनले आइतबार मात्र उपत्यकाका तीन मालपोत कार्यालयलाई उपाध्यायको नाममा कुनै सम्पत्ति भए नभएको यकिन गरी पठाउन आदेश गरेको छ।




धिरेन्द्रका छोरीहरूको पैसा तिर्नुका सट्टा उपाध्यायले कोर्ट फि मिनाहा गरी काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्न माग गर्दै निवेदन दिएपछि यो रहस्य बाहिर आएको हो। अदालतमा मुद्दा लम्बिएसँगै धिरेन्द्रका छोरीहरूले रकम पाउने अवधि पनि लम्बिँदै जाने देखिन्छ। उच्चले कोर्ट फिको अनुमति दिएर मुद्दा पुनरावलोकन गरेमा यसको फैसला नभएसम्म उनीहरूले ११ करोड रुपैयाँ असुल गर्न पाउने छैनन्।
कसरी फसे?
उदयपुरको चौदण्डी नगरपालिका–१० का उपाध्याय पूर्व अधिराजकुमार धिरेन्द्र शाहका दुई छोरी दिलासा राज्यलक्ष्मी शाह, सीतास्मा राज्यलक्ष्मी शाह र सुरजशमसेर राणाकी छोरी रोचना राज्यलक्ष्मी राणाबीच राम्रै चिनजान थियो। उनीहरूबीच चिनजान भएकाले सामान्य भेटघाटदेखि पार्टी भोज, डिनर समेत सँगसँगै हुन्थ्यो। निकट भएका उनीहरू चारै जनाले संयुक्त लगानीमा व्यवसाय गर्ने निधो गरे।
उपाध्याय फेसन डिजाइनिङ र मार्केटिङमा पोख्त रहेकाले सोही किसिमको व्यापार गर्नेबारे सहमतिसमेत भएको थियो।
दिलासा र सीतास्मा
यी चारै जना मिलेर वार्स इन्टरनेशनल कम्पनी प्रालि दर्ता गरेर काम सुरु गर्न थाले। दिल्लीबाट कपडालगायत कच्चा पदार्थ काठमाडौं ल्याएर उनीहरूले उक्त कम्पनीमार्फत् कारोबार गर्दै आएका थिए। व्यवसाय राम्रै चल्दै आएको थियो। 
सोही क्रममा उपाध्यायले घर व्यवहार तथा व्यापार व्यवसायका लागि भन्दै धिरेन्द्रकी छोरी दिलासासँग ७५ लाख रुपैयाँ ऋण माग गरे। २०७१ पुस १४ गते दिलासाले उपाध्यायलाई ७५ लाख रुपैयाँ दिइन्। कपाली तमसुक बनाएर दिइएको उक्त रकम २०७२ जेठ मसान्तभित्र तिर्ने सहमति थियो।
दिलासासँग पैसा लिएको एक महिना नपुग्नदै उपाध्यायले २०७१ माघ १२ गते सुरजशमसेर राणाकी छोरी रोचना राज्यलक्ष्मी राणासँग पनि १ करोड १२ लाख रुपैयाँ ऋण लिए। ऋण लिनुको कारण भने एउटै थियो, घर व्यवहार र व्यवसाय। राणासँग लिएको ऋण २०७२ जेठ मसान्तभित्र तिर्नुपर्ने भन्दै सहमति भयो। सोही अनुसारको तमसुकमा उपाध्यायले ल्याप्चे पनि लगाए।
राणासँग १ करोड १२ लाख लिएको २ दिनपछि माघ १५ गते सीतास्मासँग पनि उपाध्यायले ३ करोड ५३ लाख रुपैयाँ ऋण लिए। कारण उही थियो, घर व्यवहार, व्यापार व्यवसाय र घर जग्गा कारोबार। उक्त पैसा भने १ महिनापछि फागुन १७ गते तिर्ने सहमति थियो। त्यसका लागि कपाली तमसुकसमेत बन्यो। उपाध्यायले तमसुकमा हस्ताक्षर पनि हाने।
समय बित्दै गयो। तर उपाध्यायले यी तीन जना दिलासा, सीतास्मा र रोचनासँगबाट लिएको कुल ५ करोड ४० लाख रुपैयाँ तिर्ने छाँटकाट देखाएनन्।
उनीहरू तीनै जनाले जिल्ला अदालत काठमाडौं गुहारे। अदालतले गत वर्षको पुस १५ गते यस मुद्दामा फैसला गर्दै सावाँसहित वार्षिक १० प्रतिशतका दरले ब्याजसहित कुल ११ करोड उपाध्यायले तिर्नु पर्ने फैसला सुनायो। 
जिल्ला अदालतले उक्त फैसला सुनाए पनि राणा र पूर्वराज परिवारका सदस्यहरूले भने अहिलेसम्म पैसा पाएका छैनन्। जिल्लाको यो फैसलाविरुद्ध उपाध्यायले उच्च अदालत पाटन गुहारेका छन्।
रक्सी खुवाएर नक्कली तमसुकमा ल्याप्चे हान्न लगाए : उपाध्याय
राजपरिवारको ११ करोड रुपैयाँ 'झ्वाम' पारेको भनिएका विवेक उपाध्याय भने आफूलाई फसाइएको दाबी गर्दै उच्च अदालत पाटन पुगेका छन्। उनले आफूलाई रक्सी खुवाएर लिँदै नलिएको पैसाको तमसुकमा ल्याप्चे हान्न लगाएको दाबी गरेका छन्।
उनले पुनरावेदन माग गर्दै दिएको पत्रका अनुसार उनीहरू चारै जनाबीच चिनजान भएकाले संयुक्त लगानीको वार्स इन्टरनेशनल कम्पनी प्रालि दर्ता गरी काम सुरु भएको थियो।
सोही क्रममा आवश्यक कपडा, कच्चा पदार्थ दिल्लीबाट ल्याउने क्रममा भारतीय नागरिक सुरजित सिंहसँग चिनजान भएको थियो। सुरजितले नै भनेअनुसार लगानी गरी उनीहरू चारै जनाले केही रकम समेत प्राप्त गरेका थिए। एक्कासी सुरजित सिंह बेपत्ता भएपछि उनीहरू चारै जनाको लगानी डुबेको उपाध्यायको भनाइ छ। त्यसपछि यी चार जना उपाध्याय, दिलासा, सीतास्मार रोचनाबीच विवाद भएको थियो।
‘यो विवादले उग्र रुप लिएपछि हाम्रोे वार्स इन्टरनेशनल प्रालिको व्यवसायमा समेत असर प¥यो’ उपाध्यायले भनेका छन्, ‘त्यसपछि मलाई पारिश्रमिकसमेत दिन छाडियो। मलाई अलग गरेर उनीहरू तीन जनाले सबै शेयर खरिद गर्ने निर्णय गरे। त्यसपछि शेयर बिक्री सम्बन्धमा छलफल र कागज गर्नुपर्ने भन्दै मलाई बोलाएर रक्सी खुवाएर विभिन्न कागजमा हस्ताक्षर गर्न लगाइयो। पछि बुझ्दा त्यो मैले पैसा लिएको तमसुकको कागज रहेछ।’
उपाध्यायले अनुसार खाजा र रक्सी खाएपछि २०७१ पुस १४ गते ऋण लिएको भनेर विभिन्न कपाली तमसुकमा हस्ताक्षर गर्न लगाएको आरोप छ।
एकै पटक दिलासको ७५ लाख, सीतास्माको ३ करोड ५३ लाख र रोचनाको १ करोड ५३ लाखको तमसुकमा फरक फरक मिति राखेर हस्ताक्षर गरिएको उपाध्यायको दाबी छ।
सबै तमसुकको ढाचा व्यहोरा एउटै हुनु, साक्षी एकै व्यक्ति हुनु, पैसा लिएको भन्ने तमसुकको कागजबाहेक अन्य प्रमाण नभएकोजस्ता कारण देखाउँदै उपाध्यायले पुनरावेदनको माग गरेका छन्।
लेनदेनको मुद्दामा कोर्ट फि राखेरमात्रै पुनरावेदन गर्न पाउने व्यवस्था छ। उपाध्यायसँग आइतबार उच्च अदालत पाटनले सीतास्माको हकमा ७ लाख ६ हजार १६ रुपैयाँ, रोचनाको केशमा १ लाख ५३ हजार २ सय ८ र दिसालाको मुद्दामा १ लाख ३ हजार ९ सय ८९ रुपैयाँ कोर्ट फि माग गरेको थियो।
तर उपाध्यायले कोर्ट फि तिर्नेसमेत पैसा नभएको बताएपछि उच्च अदालत पाटनले काठमाडौं, ललितपुर र भक्तपुरका तीन वटै मालपोत कार्यालयलाई उपाध्यायको नाममा कुनै जग्गा जमिन, घर भए नभएको विवरण पेश गर्न आदेश दिएको छ। 

यती समूहका नवाङको अपराध यात्रा : अवैध हतियारदेखि लागुऔषधसम्म

पेस्तोलसहित पक्राउ पर्दा छुटेका नवाङलाई ड्रग्सले पुर्‍यायो जेल
64x64
नारायण अधिकारीबिहीबार, फागुन १५, २०७६, १७:५१

काठमाडौं- महानगरीय प्रहरी वृत्त स्यवम्भूले गत माघ १८ गते लागू औषधसहित नवाङ पासाङ शेर्पा, राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङलाई पक्राउ गर्‍यो।
काठमाडौं महानगरपालिका–१५, भुइँखेलस्थित गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट पक्राउ परेका उनीहरूबाट वृत्तले खैरो हेरोइन १०० मिलिग्राम, नाइट्रोजन १० ट्याबलेट, डाइजेपाम ६ पिस, नुर्फिन २ पिस, फेनारगन ३९ पिस, सिरिन्ज १२ थान बरामद गर्‍यो।




यसरी लागू औषधसहित पक्राउ परेका चार मध्य एक व्यक्ति हुन्, व्यवसायिक घराना यती होल्डिङ्सका स्वर्गीय अध्यक्ष आङछिरिङका शेर्पाका छोरा नवाङ। नवाङ पक्राउ परेको करिब एक महिना हुन लाग्दासमेत उक्त घटना प्रहरीले गुपचपमै राखेको थियो।
लागुऔषध मुद्दामा थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौं लगिएपछि मात्र यो कुरा खुल्यो। बुधबार बाँकी तीन जनाको थुनछेक बहस सकिएको थियो भने आज बिहीबार नवाङको थुनछेक बहस सकिएको छ। उनीसहित चारै जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेको छ। प्रहरी स्रोतका अनुसार नवाङ लागुऔषध दुर्व्यसनी हुन्। प्रहरीले पक्राउ गरेको समयमा समेत उनी ड्रग्सको नसामा नै थिए। 
पक्राउ परेका अन्य व्यक्तिले नवाङकै आदेशमा लागुऔषध उपलब्ध गराउने गरेका थिए। नवाङसँगै पक्राउ परेका अन्य व्यक्ति पनि लागुऔषध दुर्व्यसनी रहेको स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले बताए।
‘पक्राउ परेका चारै जना लागुऔषधका पेड युजर हुन्,’ डिएसपी सुवेदीले भने, ‘सीमा नाकाबाट भित्रिएका लागुऔषध उनीहरूले किनेर प्रयोग गर्ने गरेको पाइएको छ।’
उच्च व्यापारिक घरानाका पारिवारिक नवाङको हिरासत यात्राको घटना भने नौलो होइन। यतिसम्म कि नवाङ हतियारसहितसमेत पक्राउ परेका थिए। दुई वर्ष अगाडि २०७४ फागुन २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले नवाङलाई पक्राउ गरेको थियो। त्यसबेला उनको साथबाट १ राउन्ड गोली लोड भएको म्याग्जिनसहितको अटोमेटिक पेस्तोल-१, गोली लोड नभएको पेस्तोल-१ थान, ३ राउन्ड गोली, म्याजिन र खुकुरी १/१ थान, ६ थान एटिएम र१ लाख ३ हजार ५ रुपैयाँ बरामद भएको थियो।
इटहरीको मेजर टोलबाट पक्राउ परेका नवाङले हतियार देखाउँदै स्थानीय व्यक्तिलाई धम्की दिने गरेका थिए।
ठूलो मात्रामा हतियारसहित पक्राउ परे पनि त्यसबेला ८० हजार जरिवाना तिरेर रिहा भएका थिए। त्यतिबेला पनि शक्तिको आडमा सुटुक्क रिहा भएका नवाङको बानी भने सुध्रिएको थिएन। लागुऔषध सेवन गर्ने, धम्की दिने काम भने जारी नै रह्यो।
हतियारसहित पक्राउ पर्नुभन्दा पहिला नवाङ पाइलटको नक्कली लाइसेन्स लिएको विवादमा समेत तानिएका थिए।
नवराज सिलवाल केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी प्रमुख रहेको बेला २०७३ सालमा नक्कली पाइलट विरुद्ध ‘अपरेशन ह्वाक’ नाम दिएर नक्कली पाइलटविरुद्ध अपरेशन चलाइएको थियो। 
सो क्रममा बुद्ध एयरका पाइलट स्वछन्द घले, अर्जुन कार्की, राजकुमार श्रेष्ठसँगै नवाङ समेत पक्राउ परेका थिए।
पाइलट हुनका लागि अनिवार्य रूपमा आइएस्सी पास गरेको हुनुपर्ने व्यवस्था छ। आइएस्सी पास नगरेकाले पाइलट अध्ययन गर्न पाउँदैनन्। उनीहरुले आइएस्सीको नककली सर्टिफिकेट पेश गरेर विदेशमा पाइलट अध्ययन गरेका थिए।
नवाङले पनि विदेशमा पाइलटको कोर्स पूरा गरेपछि सोही प्रमाणपत्र देखाएर नागरिक उड्डयन प्राधिकरणबाट पाइलटको लाइसेन्स समेत लिएका थिए। र, आफ्नै यतीको भगिनी संस्था तारा एयरलाइन्सको समेत उडान नवाङले भर्ने गरेका थिए। तर सिआइबीले भने आइएस्सी नै पास नगरी पाइलट बनेको भन्दै पक्राउ गरेको थियो। पछि नवाङ शक्तिको दुरुपयोग गर्दै पाइलटको काम नगर्ने समेत छुटेका थिए। 
आइएस्सीको सर्टिफिकेट नै पेस गर्न नसकेपछि नागरिक उड्डयन प्राधिकरणले उनको लाइसेन्स समेत नवीकरण गरेको थिएन। त्यसपछि भने उनले जहाज उडाउन छाडेका छन्।

३६ लाख नतिरेपछि मोडल खुस्बु ओलीलाई २ वर्ष कैद


64x64
नारायण अधिकारीशुक्रबार, फागुन १६, २०७६, १५:५७

काठमाडौं-मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको छ। लेनदेन विवादमा रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो। 
के थियो घटना?




सप्तरीको राजविराज-८ का ४३ वर्षीय गोपाल कटुवाल र मोडल खुस्बु ओलीबीच एकताका राम्रै सम्बन्ध थियो। 
बेला–बेलामा उनीहरुबीच रकम लेनदेनसमेत हुने गरेको थियो। सोही क्रममा झन्डै २ वर्षअघि ओलीले कटुवाललाई आफूले घरजग्गा किन्न लागेको र त्यसका लागि रकम अपुग भएको भन्दै सापट मागिन्। कटुवालले ओलीलाई ३६ लाख रुपैयाँ दिए।
ओलीले उक्त रकमको सावाँ–ब्याजसहित फिर्ता गर्ने बाचा कटुवाललाई गरेकी थिइन्। कटुवालले आफूले दिएको सापट रकम मागेपछि ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिइन्।
खुस्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत् उनले ३६ लाख रुपैयाँको चेक काटेकी थिइन्। उक्त चेक २०१७ जनवरी ३ तारिखमा काटेको देखिन्छ। त्यसको दुई दिनपछि कटुवाल चेक साट्न कुमारी बैंक पुगेका थिए। तर, बैंकले रकम नभएको भन्दै उनलाई फर्काइदियो।
कटुवालले जिल्ला अदालत काठमाडौंमा पेस गरेको मुद्दामा उल्लेख थियो– ‘रकम नभएको जानकारी पाएपछि मैले ओलीलाई यसबारे जानकारी गराएको थिएँ। उनले केही समयपछि पैसा जम्मा गरिदिन्छु भनेकी थिइन्। तर, पछि पनि पैसा जम्मा भएन।’ 
पछि पटक–पटक फोन गरेर पैसा जम्मा गर्नभन्दा पनि ओलीले रकम जम्मा नगरेको कटुवालको भनाइ छ। त्यसपछि कटुवाल २०१७ जनवरी १९ तारिखमा पुनः चेक साट्न बैंक पुगे। बैंकले पहिलेकै जवाफ फर्कायो, ‘ओलीको खातामा पर्याप्त रकम छैन।’
तेस्रो पटक पनि कटुवाल रकम निकाल्ने झिनो आशा बोकेर कुमारी बैंक पुगे। तर, उनी रित्तो हात फर्कनुपर्‍यो। तीन पटकसम्म पनि खातामा पर्याप्त रकम नभएपछि चेक बाउन्स भयो।
चेक बाउन्स भएको बारेमा समेत आफूले ओलीलाई जानकारी गराएको कटुवालले बताएका छन्। तर, ओलीले भने उजुरी नगर्नु रकम दिऊँला भन्दै आश्वासन दिइरहिन्। लामो समयसम्म पनि आफ्नो ३६ लाख नपाएपछि गत वर्ष साउनमा कटुवालले काठमाडौं जिल्ला अदालतमा चेक अनादर मुद्दा दायर गरे। विनिमय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिम कटुवालले मुद्दा दायर गरेका थिए। 
सोही मुद्दामाथि अदालतले गत जेठ ७ गते फैसला गर्दै ३ महिना कैदको फैसला सुनाएको थियो। फैसला अनुसार ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाइएको छ भने ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने अदालतको ठहर थियो।
तर अदातलको उक्त फैसला कार्यान्वयन नभएपछि जेठ १६ गते कटुवालले पुन फैसला कार्यान्वयन गरी पाउँ भन्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दायर गरेका थिए।
त्यसपछि साउन १३ गते जिल्ला अदालतले म्याद तामेल गरी सम्बन्धीत वडामा पठाएको थियो । उक्त सूचना वडा कार्यालयको सूचना पाटीमा समेत टाँस गरिएको थियो। त्यसपछि पनि ओली सम्पर्कमा नआएपछि वडासचिवमार्फत् उनकै घरमा म्याद तामेली टाँस गरिएको थियो। 
अहिलेसम्म पनि प्रतिवादी ओलीको जायजेथा प्राप्त गर्न नसेको र उनी सम्पर्कमा समेत नआएको भन्दै वादी कटुवालले जरिवाना र बिगो बमोजिम कैद राखिपाउँ भन्दै गत पुस २८ गते जिल्ला अदालतमा पुन निवेदन दर्ता गराएका थिए।
उक्त मुद्दाको फैसला गर्दै ओलीलाई जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कैदको फैसला सुनाएको हो।

खाग तस्करीको फैसलाले बन्यो सैनिक कर्मचारीको कसुरबारे नयाँ नजि

सैनिक कर्मचारी संलग्न सबै अपराधको सुनुवाई सिभिल कोर्टमा हुनु कानुनसम्मत
64x64
नारायण अधिकारीसोमबार, फागुन १९, २०७६, १९:४०

काठमाडौं- सैनिक संगठनमा काम गरिरहेका कर्मचारीले गरेका हत्या र बलात्कार अपराधका घटना मात्रै अन्य अदालतले हेर्ने र बाँकी घटना भने सेना आफैंले हेर्ने सैनिक ऐनमा उल्लेख छ। तर एक आपराधिक घटनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले हत्या र बलात्कार मात्रै नभएर अन्य अपराधमा संलग्न सैनिक कर्मचारीको मुद्दासमेत सिभिल कोर्टले हेर्ने नजिर बनेको छ।
त्यो मुद्दा थियो, वन्यजन्तुको अखेटोपहारसम्बन्धी मुद्दा। सो मुद्दामा जिल्ला अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि सैनिक कर्मचारी संलग्न हत्या र बलात्कारसँगै अन्य घटना पनि अब सेनाको अदालतको मात्र क्षेत्राधिकार नहुने भएको हो। सर्वोच्चले यस्तो फैसला गत असारमै सुनाएको थियो। तर त्यसको पूर्णपाठ भने हालसालै मात्र आएको छ। फैसलाको पूर्णपाठमा यसअघि सैनिक अदालतको मात्र क्षेत्राधिकार हुने भनिएका अपराध अब सिभिल कोर्टमा पनि सरेको छ।




गैंडाको खागले बनाएको नजिर
सैनिक जवान कृष्णबहादुर मगरलाई गैंडाको खाग भेटिएको कसुरमा जिल्ला अदालतले जेल पठाएको थियो। त्यसपछि उनी सैनिक अदालतबाट आफूले कारबाही पाउनुपर्ने माग गर्दै जिल्ला अदालतको आदेशविरुद्ध उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेका थिए। उनको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले सुनुवाई गर्दै जिल्ला अदालतकै फैसला सदर गरेपछि नयाँ नजिर बस्यो। 
के थियो घटना?
जवान मगर २०७४ माघ १० मा २ थान गैंडाको खागसहित पक्राउ परेका थिए। त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीसहित तीन जनालाई लैनचौरबाट पक्राउ गरेर अनुसन्धान अगाडि बढायो। पक्राउ परेका तीनमध्ये मगर र हरिबहादुर ढकालको साथबाट सैनिक परिचय पत्र फेला परेको थियो। 
सैनिक जवान कृष्णबहादुर मगरलाई गैंडाको खाग भेटिएको कसुरमा जिल्ला अदालतले जेल पठाएको थियो। उनको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले सुनुवाई गर्दै जिल्ला अदालतकै फैसला सदर गरेपछि नयाँ नजिर बस्यो। 
त्यसपछि माघ २७ मा उनीहरू दुवैलाई सिआइबीले कारबाहीका लागि भन्दै सैनिक प्रहरी गण, जंगी अड्डा पठाएको दाबी गरेको थियो। तर मगरले भने सिआइबीले नै काठमाडौं जिल्ला अदालतसमक्ष पुर्‍याएको आरोप लगाउँदै सिआइबीलाई समेत विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उनीहरूसँगै पक्राउ परेका डिलबहादुर ढकाललाई खागसहित माघ २८ गते जिल्ला वन कार्यालय हात्तीसार पठाइएको सिआइबीको भनाइ छ। यही घटना सैनिक अदालतबाहेक अन्य अदालतले हेरेको हो/होइन भन्नेबारे सर्वोच्च अदालतले पूर्णपाठमा खुलाएको छ।
‘खागसहित पक्राउ परेको घटना उनीहरूले इन्कार गरेका छैनन्। न त आफू ड्युटीमा थिएँ वा खाग सेनाको संरक्षण वा जिम्मामा थियो भन्ने नै निजको भनाइ छ। राजदरवारभित्र भूकम्पले भत्किएको भग्नावशेषमा काठको ठुटोजस्तो वस्तु फेला पारी के हो भन्ने कुतुहलतावस आफूले लिई हिँडेको भन्ने भनाइ देखिन्छ,’ सर्वोच्चले व्याख्या गरेको छ, ‘फेला परेको वस्तु सेनाको संरक्षणमा थियो भन्ने मिसिलमा कहीँ कतै खुल्न आएको छैन।’
सैनिक ऐन, २०६३ को दफा ६६ बमोजिम हत्या, बलात्कारबाहेकको कसुर हुँदा सैनिक अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयवस्तु भएको उल्लेख गर्‍यो। 
'खागको मुद्दा सैनिक ऐनको दफा ३५ देखि ६५ सम्म उल्लेखित विषयभित्र पर्छ। यसकारण विवादित विषय सैनिक अदालतको क्षेत्राधिकारभित्रको विषय हो भन्ने जिकिर लिएको नदेखिएको र हत्या–बलात्कारमा अन्य अदालतलाई क्षेत्राधिकार प्राप्त हुने कुरा उल्लेख भएपछि सोबाहेकका अन्य कसुर सैनिक कर्मचारीले गरेको अवस्थामा सैनिक अदालतको क्षेत्राधिकार कायम भइहाल्छ भन्न नमिल्ने' भन्दै तल्लो निकायले गरेको फैसला सर्वोच्चले सदर गरिदिएको छ।
‘निवेदक सैनिक ड्युटीमा नरहेको र कसूरको विषयवस्तु र प्रकृति सामान्य अदालतबाट हेरिने किसिमको देखिएको अवस्था हुनु र यस्तो मुद्दा सैनिक अदालतबाट हेर्ने अभीष्ट कहीँकतै भए पनि यसलाई कानुनले अनुमति नदिएका सैनिक अदालतबाहेक अन्य अदालतले हेर्न मिल्ने’ सर्वोच्चको फैसलाको पूर्णपाठमा उल्लेख छ। 
‘गैरसैनिक प्रकृतिको यो कसुरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत काठमाडौं जिल्ला अदालतकै क्षेत्राधिकारभित्रको देखिन्छ। उक्त ऐनको दफा ३१ र न्याय प्रशासन ऐन, २०७३ को दफा ७(१) समेतको व्यवस्थाबाट यो विषय काठमाडौं जिल्ला अदालतको क्षेत्राधिकार भित्रको रहेछ भन्ने स्पष्ट देखिन्छ। तसर्थ, सेनाको अनुरोध अस्वीकार गर्ने जुन कार्य काठमाडौं जिल्ला अदालतबाट भएको छ सो पुर्णतः संविधान र कानूनसम्मत देखिन्छ,’ सर्वोच्चले भनेको छ।
यसअघि पनि सैनिक इमानसिंह गुरुङको मुद्दामा सर्वोच्च अदालतले विदेशी विनिमयको अवैध सञ्चय, तस्करी र भ्रष्टाचारजस्ता अपराधलाई गैरसैनिक प्रकृतिका अपराध मानेको नजिर थियो। 
उक्त मुद्दामा सर्वोच्चले एक सिद्धान्त प्रतिपादित गरेको थियो। ‘त्यस्तो अपराध सैनिक अधिकृतले गरेको वा तत्सम्बन्धी कारबाही र सजाय सैनिक ऐनअन्तर्गत भएको कारणले मात्र त्यसलाई सेनासम्बन्धी अपराध भन्न मिल्दैन। कुनै अपराधलाई सेनासम्बन्धी अपराध भन्नको लागि त्यो अपराध सेनाको संगठन, सञ्चालन वा सैनिकको पदीय कर्तव्य वा अनुशासनसँग प्रत्यक्ष रुपमा सम्बन्धित हुनुपर्छ। सैनिक अधिकृत वा जवानको संलग्नता रहेको वा सैनिक ऐनमा व्यवस्था भएको सबै अपराधलाई सेनासम्बन्धी अपराध भन्न मिल्दैन।’
त्यस्तै गत कात्तिकको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीका एडिसी मेजर राजेन्द्र शाही जुवाखालबाट पक्राउ परेका थिए। त्यसबेला प्रहरीले शाहीलाई सेनाको जिम्मा लगाएको थियो। त्यसभन्दा अघि नै खागसहित पक्राउ परेका मगरको मुद्दामा सर्वोच्चले सेनाले ब्यारेकबाहिर गरेका अपराधका घटना अन्य अदालत पनि हेर्ने मिल्ने आदेश जारी गरेपछि शाहीलाई सेनाले प्रहरीकै जिम्मा लगाएको थियो। पछि उनी २० हजार धरौटीमा रिहा भएर जिम्मेवारीमा फर्किएका थिए।