Tuesday, March 12, 2019

ज्योतिषी राखेर यसरी गरिन्छ ठगी

ज्योतिषी राखेर यसरी गरिन्छ ठगी

नारायण अधिकारी/उज्यालो । 

काठमाडौं, मंसिर २३ – ललितपुर इमाडोलको एक घरमा सिद्धीदाता इन्टरप्राइजेज प्रालिको बोर्ड झुण्डिएको हुन्छ । कहिले त्यो बोर्ड हराउँछ, कहिले देखिन्छ । बोर्ड हराएसँगै  सिद्धीदाता इन्टरप्राइजेजले राखेका सेक्युरेटी गार्ड पनि हराउँछन् ।
फेरि केही दिनमा बोर्ड फेरि पहिलेकै ठाउँमा आउँछ र सेक्युरेटी गार्ड पनि यथावत् । यो क्रम चलिरहन्छ । घरबेटीलाई पनि थाहा हुँदैन बोर्ड हराउनु र राख्नुको कारण  । मान्छे छक्क पर्छन् । 
मनोज बहादुर सिंह । उनलाई सबैले राजा भनेर चिन्छन् । जसले आफ्नो कार्यालय सिद्धीदाता इन्टरप्राइजेजलाई यसरी सजाएका हुन्छन्, त्यहाँ पुग्ने जोकोहीलाई लाग्छ उनी ठूलै राज खानदानका मान्छे हुन्, सम्बन्ध ठूलै मान्छेसँग छ । काठमाडौं महालक्ष्मीस्थान–१६ का राजाले आफ्नो परिचय पनि त्यसैगरी दिन्छन्, आफ्नो सम्बन्ध उच्चपदस्थ कर्मचारी, नेता, मन्त्री तथा आर्मी पुलिसका हाकिमहरुसँग छ । राजाको अफिसको कोठाले उनको भनाईलाई पनि हो जस्तै बनाउँछ । 
जहाँ विभिन्न मन्त्री, नेता तथा उच्च पदस्थ कर्मचारीसँग बसेर खिचेका फोटाले राजाले आफ्नो कोठा सजाएका हुन्छन् । उनको लवाईखवाई बोलीचालीको रवाफ पनि त्यसै किसिमको हुन्छ । यतिमात्र हैन राजा चार, पाँचजना अंगरक्षक अघिपछि नलगाई कतै पनि हिँड्दैनन् । महिनैजसो फेरिने कारले राजा ठूलै मान्छे भएको विश्वास लाग्छ । उनी यसैगरी मान्छेलाई आफ्नो जालमा फसाउन सफल हुन्छन् । 
अन्ततः उनी आफै जालमा फस्छन् । एक हप्ताको लामो प्रयासपछि महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई गएको शनिबार पक्राउ गरेको छ  । उनी अहिले ललितपुर प्रहरी परिसरको हिरासतमा छन् ।

यसो गर्थे राजा

ठग्ने बहाना बनाउँदै उनले महालक्ष्मीस्थानमा सिद्धीदाता इन्टरप्राइज प्रालि खोले । कार्यालयको साजसज्जा भव्य बनाए । सुरक्षा गार्ड र अंग रक्षक राखे । आफू मन्त्री तथा नेताको मान्छे भन्दै मन्त्रीसँगै अमेरिका, अष्टे«लिया, क्यानाडा लगायतका युरोप अमेरिकाका देश पठाउने भन्दै पैसा असुल्न थाले । महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी इश्वर कार्की भन्नुहन्छ, ‘यसको लवाई, खवाई, रवाफ नै ठग्ने हतियार बन्यो, मान्छेले त्यसैलाई पत्याए । युरोप, अमेरिकाको सपनामा फसे, यो त राष्ट्रिय ठग नै रहेछ ।’  
डिएसपी कार्कीका अनुसार उनले आफ्नो हाई प्रोफाइललाई नै ठग्ने हतियार बनाए । राजाले अफिसमा गेटमा सुरक्षा गार्ड राखेका थिए । अमेरिका, अष्ट्रेलिया जाने भन्दै लाखौं बुझाएकाहरु राजालाई भेट्न भन्दै उनको कार्यालय पुग्थे । ‘हामी राजाको अफिस जान्थ्यौं, तर हामीलाई सुरक्षा गार्डले राजासाब बिजी हुनुहुन्छ भन्दै गेटमै रोक्थे । त्यहाँबाट बल्लतल्ल माथि पुगेपनि राजाको अंगरक्षक कम्मरमा खुकुरी भिरेर बसेका हुन्थे । राजासाब बिजी हुनुहन्छ, भन्दै हामीलाई भित्र पस्न दिईंदैन थियो’ एक पीडितले भने ‘बल्लतल्ल राजाको कोठामा पुगेपनि बिजी छु भन्दै पाँच मिनेट मात्र कुरा गर्थे, काम हुनै लागेको भन्दै आश्वासन दिन्थे ।’
यति मात्र राजाले कति जनालाई त भिषा आयो भन्दे भाइबरमा नक्कली भिषा समेत पठाउने गरेको डिएसपी कार्कीले बताउनुभयो । उनले सिल्क एयरलाईनको टिकट काटेर समेत भिषा आयो भन्दै कतिपयलाई एयरपोर्ट सम्म पु¥याएको प्रहरीले जनाएको छ । 

ज्योतिषीको समेत सहयोग

उनले अफिसमा केही कर्मचारी, सुरक्षा गार्ड, बडीगार्ड राखेका थिए । यतिले मात्र उनलाई पुगेन, मान्छे खोजेर ल्याउने एजेन्ट खडा गरे । जसले बिदेसिने सिलसिलामा भौंतारिएकालाई खोजेर राजालाई भेटाउँथे । 
यसरी ठग्दै आएका राजाले नयाँ तरीका अपनाए, ज्योतिषी । राजाको आग्रह अनुसार सलार्हीको राजघाट–२ घर भएका रमेशकुमार खत्री ज्योतिषी बने । खत्रीले राजाकै कार्यालयमा ज्योतिष काम गर्न थाले । ज्योतिषी बनेका खत्रीकोमा हात हेराउन मान्छेको भिड लाग्न थाल्यो । खत्रीले सबैलाई भन्ने गर्थे ‘विदेश जानु विदेशको राम्रो योग छ ।’ 
हात हेराउनेले सोध्थे ‘कुन देश जाँदा राम्रो होला गुरु ?’  
‘युरोप, अमेरिकातिर ट्राइ गर्नु १०० प्रतिशत सफल हुन्छ, अहिले नै ट्राइ गर्नुभयो भने त झन राम्रो छ, यही नजिकको सिद्धीदाता कन्सल्टेन्सीमा जानु राम्रो छ, तपाईंको हुनसक्छ ।’
जयोतिषी कुरापछि हात हेराउनेहरु नजिकैको राजाको सिद्धीदाता इन्टरप्राइजेजमा जान्थे । 
राजालाई मंसिर १८ गते प्रहरीले पक्राउ गरेपछि आफू पनि ठगिएको भन्दै ज्योतिषी खत्री १९ गते महानगरीय प्रहरी परिसर ललितपुर पुगे । तर सबै कुराको अनुसन्धानबाट पत्ता लगाएको प्रहरीले पक्राउ गर्न खोजेको ज्योतिषी नै आफै ठगिएको भन्दै आएपछि उनलाई पनि प्रहरीले थुनेको छ ।
 

पासपोर्ट कलेक्शदेखि वितरण समारोहसम्म

युरोप, अमेरिका पठाउने भनेर जम्मा गरिएका पासपोर्ट उनले अब सम्बन्धित व्यक्तिलाई दिने र विदेश पठाउने भन्दै गएको असार २० गते इन्द्रेणी फुड ल्याण्डमा पासपोर्ट वितरण समारोह आयोजना गरे ।
जसमा राजाले प्रमुख अतिथी तत्कालीन पराराष्ट्रमन्त्री कमल थापा, अतिथी तत्कालीन श्रममन्त्री दीपक बोहोरा रहेको भन्दै पासपोर्ट वितरण समारोहको आयोजना गरे । ‘पछि मन्त्री थापा र बोहोरा नआएपछि शंका लागेर हामीले सोध्यौं, उहाँहरु आउनभ्यानु भएन मन्त्रीको सट्टा उहाँ आउनुभएको छ भन्दै हामीलाई एउटा झण्डावाला कार देखाइयो’ एक पीडितले भने । 
मन्त्रीको रवाफ देखाएर उनले फुडल्याण्डमा दुई, तीनलाख नै खर्च गरे । पछि पासपोर्ट दिनुको सट्टा उल्टै तिमीहरुलाई पासपोर्ट दियो भने सबै कुरा भन्छौं, तिमीहरुले पासपोर्ट टिकट सबै भोलि पाउँछौ भन्दै राजासहितको २०÷२५ जनाको ग्याङ् त्यहाँबाट बाहिरियो । त्यसपछि उनीहरुले राजालाई भेट्न पाएनन् । अहिले पीडितहरु राजालाई भेट्न महानगरीय प्रहरी परिसर ललितपुर धाइरहेका छन् । 

राजा आए पोखरा

राजासँगै प्रहरीले अझै धेरैलाई पक्रन बाँकी रहेको जनाएको छ । जस अन्तर्गत पोखराबाट एजेन्टको काम गर्ने एक व्यक्ति पनि प्रहरीको खोजीको सूचीमा छन् । ती एजेन्टले रुपन्देहीकी गीता पाण्डे (नाम परिवर्तन)लाई युरोप अमेरिका जाने भए राजालाई भेटाइने आशा देखाए । एकदिन एजेन्टले पाण्डेलाई भने ‘राजा पोखरा आउनुभएको छ, थ्री स्टार होटलमा बस्नुभएको छ भेट्न आउनु ।’
बेलायतको सपनामा रुपन्देहीबाट श्रीमानलाई लिएर पाण्डे पोखरा पुगिन् । राजाको साथमा ४÷५ जना बडीगार्ड थिए । बडीगार्डले भने ‘विदेश जाने को हो ? त्यसले मात्र भेट्ने अर्को बाहिर बस्ने ।’ श्रीमानलाई होटल बाहिर राखेर पाण्डेले राजालाई भेटिन् । राजाले १०० प्रतिशत विदेश पठाइदिने आशा देखाए । जसका लागि उने अहिले नै काठमाडौं जानुपर्ने बताए । र आफ्नो कारमा पाण्डेलाई राखेर राजा काठमाडौं आए । झण्डै आठ लाख रुपैयाँ पनि बुझाइन् पाण्डेले । राजा पोखरा गए, आठ लाख रुपैयाँ लिए काठमाडौं आए ।  

डेढ करोड भन्दा बढी ठगी

सुरुमा आफूहरु ठगिएको भन्दै दुईजनाले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । तर अहिले उनीहरु विरुद्ध दिनुहँ ठगिएको भन्दै उजुरी पर्ने गरेको छ । अहिलेसम्म उनीहरु विरुद्ध डेढकरोड रुपैयाँ भन्दा बढी ठगी भएको भन्दै उजुरी परेको र यो क्रम अझै बढ्ने महानगरीय प्रहरी परिसरका डिएसपी कार्कीले बताउनुभयो ।

प्रक्रन बाँकी छन्, अझै खोज्दै छ प्रहरी

राजाको अफिसमा काम गर्ने, कर्मचारी, सुरक्षा गार्ड, बडी गार्डलगायत एजेन्टको काम गर्नेहरुले पनि राजाको योजना अनुसार नै काम गर्ने गरेको र उनीहरु पनि दोषी हुनसक्ने भन्दै प्रहरीले खोजी सुरु गरेको छ । राजा पक्राउ परिसकेपछि धेरै जना समपर्कबिहीन छन् । ‘हामीले उनीहरुलाई खोजी गरिहेका छौं्, उनीहरु पनि दोषी हुन सक्छन् हामी चाँडै पक्रन्छौं’ डिएसपी कार्कीले भन्नुभयो । 

दुई वर्ष जेल बिताएका व्यक्ति हुन् राजा

मनोजबहादुर सिंह अर्थात राजा यो भन्दा अघि दुईवर्ष जेल जीवन बिताएका व्यक्ति हुन् । उनी २०६८ मा ठगी र हातहतियार तथा खरखजाना मुद्दामा दुईबर्ष जेल बसेका थिए ।  उनको घरमा प्रहरीले खानतलासी गर्दा त्यसबेला इनारमा लुकाइएको दुईवटा पेस्तोल बरामद भएको थियो । त्यतिबेला उनले विभिन्न मान्छेलाई प्रहरीमा लगाइदिने भन्दै एक करोड रुपैयाँ भन्दा बढी असुल गरेका थिए । 

१५ औं तलाबाट चिठी खसालेर बाँचिन् दुवईमा थुनिएकी रमिता

१५ औं तलाबाट चिठी खसालेर बाँचिन् दुवईमा थुनिएकी रमिता

 11  1  12

नारायण अधिकारी/उज्यालो ।

काठमाडौं, पुस १५ – ‘प्लिज हेल्प मी, हेल्प मी, हेल्पी मी ।
आइ एम रमिता कार्की फ्रम नेपाल । आइ एम ट्रयाप्ड इन दिस हाउस नम्बर ५०० फिफ्टिन्थ फ्लोर्स अफ द बिल्डिङ । दिस बिल्डिङ नेम इज एमबी केल टावर इन मानमा हाइपर मार्केट । प्लिज हेल्प फर ए नेपाली ट्रयाप्ड लेडी । मालिया मारी इज माइ एजेन्ट । प्लिज हेल्प मी, हेल्प मी, हेल्प मी।’
दुवइमा रहेको एमबी केल टावरको १५ औं तल्लाबाट गएको भदौंको पहिलो हप्ता एउटा कपडाको डल्लो भुईमा खस्यो । कुचो लगाउँदै गरेकी एक महिलाले त्यो कपडाको डल्ला फेला पारिन् । उनले कपडाको डल्लो खोलिन् । त्यहाँ भित्र एउटा कागज थियो । जहाँ पेनसिलले माथि अंग्रेजीमा उल्लेखित भनाई लेखिएको थियो । कुचो लगाउने महिलाको मन पग्लियो । त्यो पेनसिलले लेखिएको कागजको टुक्रो उनले प्रहरीलाई दिइन् ...........।
१३ वर्षको उमेरमा बिवाह गरिन् काठमाडौंकी रमिता कार्की (नाम परिवर्तन) ले । उनी अहिले २८ वर्षकी छिन् । उनका बुवाले संसार छाडिसके भने आमाको अनुहार कस्तो थियो उनलाई खासै थाहा छैन । हजुरआमा र काकाको स्याहारसुसारमा हुर्किन । र १३ वर्षको उमेरमै नेपालीका मूलका भारतीयसँग बिवाह गरिन् । उनलाई श्रीमानले पनि छोडेको चार वर्ष भइसक्यो ।
कमजोर आर्थिक अवस्था, खान लगाउन समस्या र ५ वर्षे छोरोको पढाई । उनलाई यही समस्याले पिरोल्यो । जागिरको सिलसिलमा उनका पैतलाले काठमाडौंका सबैजसो गल्ली चाहार्‍यो । तर हात लाग्यो शून्य । ‘काठमाडौंमा पाँच हजारको जागिर पाएको भएपनि म बिदेश जान्न थिएँ नि′ टलपलटलपल आँशुले भरिएका आँखा मिच्दै  रमिताले भनिन् ।
काठमाडौंमा काम नपाएपछि उनी छोरा पढाउने र पाल्ने अभिलाषा लिएर कुवेत जान तयार भइन् । रमितालाई पासपोर्ट बनाइदिनेदेखि कुवेतसम्म बिना पैसा लगिदिन तयार भए राजकुमार खरेल । उनलाई साथ दिएका थिए पुरन सुब्बा, पूर्णबहादुर लिम्बु र हरिप्रसाद थारुले ।
सबै काम मिलिसकेपछि उनी गएको असार १९ गते विदेश जान भन्दै नेपाल छाडिन् । ‘कुवेत हिँडेको छु, पाँच वर्षको छोरो एक्लै छ, बुबाआमा कोही छैनन्, आँखा रसाउँथे । तैपनि मुटु दरो पारेँ’ स्वरमा हराएको चमक अरुले थाहा नपाउन् भने जसरी उनले भनिन् ।
उनलाई हरि थारुले असार २२ गते बेलुका दिल्ली पुर्‍याए । पवनको घरमा लगेर छोडे । ‘खाउ है बैनी चिन्ता नगर’ भन्दै हरि नेपाल फर्किए । रमितालाई दिल्ली पुर्‍याएपछि हरिले १५ हजार रुपैयाँ दाम पाए । उनले आफ्नो काम फत्ते गरेर नेपाल फर्किए । 
रमिताको १२ दिनसम्म दिल्लीमा बास भयो । थर थाहा नभएका राकेशले श्रीलंकाको पासपोर्ट लिएर आए र रमितालाई श्रीलंका पठाइयो । 
श्रीलंका पुगेको केही दिनमा रमितालाई कुवेत पठाइयो । ‘योर पुलिस रिपोर्ट इज रङ । यु मस्ट रिटर्न इन श्रीलंका’ कुवेत एयरपोर्टमा पाइला टेक्ने बित्तिकै कुवेत प्रहरीले उनलाई यसो भन्दै श्रीलंका फर्काइदियो ।
अब भने रमितालाई थाहा भइसकेको थियो म ठगिए । श्रीलंकामा रहेका मोहन र जमिर एजेन्टसँग उनी बाझिन । तर उनको केही लागेन । तिमीलाई अब दुवई पठाउँछौ भन्दै त्यसको १० दिनपछि रमितालाई दुवई पठाइयो ।
दुवई पुगेपछि भने रमिताको सपनाले एक सय असी डिग्रीको फन्को मार्यो । धन कमाउने र छोरो पढाउने उनको सपना सपनामै सीमित हुन लाग्यो ।
मानमा हाइपर मार्केटको ५०५ नम्बरको बिल्डिङको १५ औं तलामा लगेर उनलाई थुनियो । ‘म लगायत ५० जना भन्दा बढी महिलालाई त्यहाँ बन्धक बनाइएको थियो, कुटपिट हुन्थ्यो, यौन दुव्र्यवहार हुन्थ्यो, मोलमोलाई हुन्थ्यो, गाईवस्तु किनेजस्तो थियो’ आफ्नो विगत सम्झिन रमिताले ।
कसरी उम्कने, फोनसमेत राख्न दिएको छैन । ताला लगाएर राखेको छ ? खाटामुनि एउटा सानो पेनसिलको टुक्रा भेटिन् रमिताले । त्यो पेनसिल कयौंले देखेका थिए होलान तर कसैले त्यसको महत्व बुझेनन् । पर्समा भएको एउटा कागजको टुक्रा निकालिन रमिताले । र लेखिन् माथि अंग्रेजीमा उल्लेख गरिएको भनाई, प्लिज हेल्प मी, हेल्प मी, हेल्प मी .......। 
तन्ना च्यातिन र कागजको टुक्रा पोको पारेर झ्यालबाट खसालिन् । कागजको टुक्रा झाडु लगाउने महिलालले भेटिन् र प्रहरीलाई दिइन् । ‘प्रहरीले यसबारे एजेन्टसँग बुझेछ, त्यसपछि म माथि कुटपिट भयो । लुगा फुकालेर नाङ्गो फोटा खिचियो र नेटमा हाल्दिन्छु, तँ बाठो हुने भन्दै उनलाई कुटपिट भयो ।
त्यसपछि उनलाई दुवईबाट आमोन लगियो । ओमानको अलगु्रफफ भन्ने हाउसमेडको अफिसमा उनलाई लगियो । ‘त्यसको केही घण्टामा एक जना मालिक आए । हामी ७/८ जना केटीलाई लाइन लगाइयो । त्यो मालिकले कालिड भन्ने अरबिकलाई दुई हजार रियाल दियो । त्यसपछि मालिकले मेरो हात तान्यो, पशुलाई दाम्लाले डोर्‍याएजस्तो मेरा हात समाएर मालिक मलाइ उसको घर लग्.......’ यहाँ भन्दा बढी बोल्न सकिनन् रमिता । उनी घोसे मुन्टो लागिन् ।
कोठीमा नपुगे पनि यसको घरमा रखेल बन्न जाने भएँ भन्ने भइसकेको थियो उनलाई । त्यसपछि रमिताले मालिकको घरमा काम गर्न थालिन् । उनी कामले लखतरान हुन्थिन् । यसरी उनले मालिकको घरमा काम गर्न थालेको ११ दिन भइसकेको थियो । 
‘त्यसपछि मलाई मालिकले तँलाई गर्मी भयो भन्दै पसिना पुछिदिन थाल्यो, धाप मार्न थाल्यो, जिउ कन्याउन थाल्यो । म मान्दिन थिएँ तर उसले जबरजस्ती गथ्र्यो । यसो गरेको केही दिनपछि तँ धेरै राम्री छेस्, तेरो ओठ कति राम्रो, आँखा कति राम्रो, गाला कति राम्रो म तँलाई मन पराउँछु भन्दै आइ लब यु भन्दै यौन दुव्यवहार गर्न खोज्यो’ उनले पीडा सुनाइन् । बाघको पञ्जाबाट मृगलाई उम्कन जति गाह्रो हुन्छ त्यो भन्दा बढी गाह्रो रमितालाई हुन थाल्यो । मालिकको प्रस्ताव उनले मानिनन् ।
त्यसपछि उनको शरीरमा स्प्रिड  बर्सियो, बुटका जब्बर छाप बर्र्सिए, कुटपिट सामान्य हुन थाल्यो । राम्रो शब्द उनका लागि शब्दकोषमा थिएन । केही दिनअघि मात्र त्यही घरमा मालिकका दुई जना छोराले एक नेपाली महिलालाई बलात्कार गरेपछि उनले फ्यानमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । रमितालाई आत्महत्या गर्ने सोच आयो ।
‘कोठमा सुते राति मालिक आउँथ्यो । कोठमा भित्रबाट चुकुल लगाउने ठाउँ थिएन । राति आफ्नो ओच्छ्यान कस्तो हुन्छ मलाई थाहा भएन । म बाथरुममै रात बिताउँथे । विष भए पनि खाएर मर्थे भन्ने सोच पनि आयो । म रुँदै बहिनीसँग च्याट गर्थे’ बेदनाले भरिएको मनको बह धक नमानी पोखिन् रमिताले भनिन् । ‘नरोउ दिदी म तिमीलाई जसरी पनि नेपाल फर्काएर छाड्छु ।’ बहिनीको यो बचनले उनको मन केही हलुको हुन्थ्यो ।
यसरी रुँदै बाथरुममा सात रात बिताइन् रमिताले । त्यो घरमा काम नगर्ने भन्दै उनी रुँदै पागल जस्तै बनिन् । त्यसपछि उनलाई हाउसमेडको अफिस लगियो । जहाँ ६० जना महिलालाई बन्धक बनाएर राखिएको थियो । कोही रखेल राख्न वा यौन पेशामा संलग्न गराउन चाहन्छन् र त्यहाँ गइ मोलमोलाई गर्दै किनबेच हुन्थयो । 
रमिताले बरु मर्ने तर यस्तो काम नगर्ने भन्दै चक्कुले आफ्नो दाहिने हात काटिन् । ‘यि हेर्नुस् अझैपनि घाउ छ’ आफ्नो दाहिने हातको सर्टको बाहुला सार्दै काटिएको घाउको खत देखाइन् रमिताले ।
यता बहिनी अठोट गरेकी थिइन् ‘म तँलाई जसरी भएपनि नेपाल फिर्ता गर्छु दिदी नरो ।’ 
‘मेरो दिदीलाई कामको लोभ देखाई ओमान पुर्याइयो । दिदी अहिले त्यहाँ कष्टपूर्ण तरिकाले बस्नु भएको छ । उहाँलाई शारीरिक, मानसिक यातना दिनुका साथै यौन शोषण पनि गरिएको छ । तत्काल मेरो दिदीको उद्धार गरी नेपाल झिकाइ पाउँ ।’ बहिनी रबिना कार्कीले सिआइबीमा उजुरी हालिन् ।
सिआइबीले उनलाई विदेश पठाउने राजकुमार खरेललगायत पूर्णबहादुर लिम्बु र हरिप्रसाद थारुलाई पक्राउ गर्‍यो । आफ्नो भाइ राजकुमार पक्राउ गरेको थाहा पाएपछि कुवेतमा रहेकी मिना खरेलले ओमानको हाउसमेड कम्पनीलाई पैसा पठाइन् र रमिता मंसिर १७ गते नेपाल फिर्ता भइन् । स्मरण रहोस् राजकुमारका दिदी मिना खरेलले कुवेतबाट भिसा पठाउँदै नेपालबाट यसरी केटी बेच्ने गरेका थिए ।

सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई... निराशै लाग्यो मलाई त !

सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई... निराशै लाग्यो मलाई त !

 6  0  6

नारायण अधिकारी/उज्यालो ।

सिन्धुली, मंसिर ९ – ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार, मार्‍यो नि मायाले मार्‍यो...’ कृष्णविक्रम थापाले २०३७ सालमा रेडियो नेपालमा गाएको यो गीतले सिन्धुलीगढी दरबार जीर्ण हुँदा पनि त्यसको महत्व र सुन्दरतालाई चिरस्थायी बनाएको छ । विजय किल्लामा बसेर चियाउँदा दरबारको मनमोहक दृश्य देखेपछि लेखिएको गीतमार्फत उहाँले सिन्धुलीगढीलाई मानिसको मुखमुखमा झुण्डिने बनाउनुभयो । 
१८२४ सालमा अंग्रेज फौजलाई हराएर चर्चा कमाएको यो ठाउँ अहिले ओझेलमा छ । दुईसय पचास वर्ष पुरानो ऐतिहासिक सिन्धुलीगढीमा पर्यटनको निकै सम्भावना भएपनि राज्यले उपेक्षा गरेको सिन्धुलीगढी संरक्षक समितिका संरक्षक केशवराज आचार्यले बताउनुभयो । ‘एक सय वर्ष पुगेपछि राज्यले यस्ता महत्वपूर्ण ऐतिहासिक ठाउँलाई संरक्षण गर्नु पर्ने हो तर राज्यलेनै उपेक्षा गरेको छ’ संरक्षक केशवराज आचार्यले भन्नुभयो । सरकारले पयर्टन वर्ष तथा घुमफिर वर्ष मनाउँदा पनि सिन्धुलीगढी क्षेत्रलाई उपेक्षा गरेको उहाँको भनाई छ । राज्यले वेवास्ता गरेपनि विभिन्न काम र बहानामा सिन्धुली पुग्दा वा त्यो बाटो भएर आवतजावत गर्दा सिन्धुलीगढी घुम्न पुग्नेहरु भेटिन्छन् । वनभोज खानेगरी सपरिवार सिन्धुलीगढी पुगेका चितवनका धु्रब पौडेलले इतिहास र गीत सुनेर आफु सिन्धुलीगढी पुगेको बताउनुभयो । ’तर गीतमा सुनेजस्तो राम्रो रहेनछ’ पौडेलले व्यंग्य गर्नुभयो ‘अब गीत पनि यस्तो बनाउनुपर्ला जस्तो छ, सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई निराशै लाग्यो मलाई त ।’ त्यत्रो ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढीलाई नराम्रो भन्न खोजेको नभइ दरबारको यस्तो जीर्ण अवस्थाले मन पोलेको उहाँको भनाई छ । सरकारले केही नगरेपनि स्थानीयवासिन्दाले संरक्षण गर्नुपर्ने पौडेलको भनाई छ । 

यस्तो छ पर्यटकीय सम्भावना तर राज्यले गर्‍यो वेवास्ता

झण्डै तीन हजार वर्गमिटर क्षेत्रफल भएको सिन्धुलीगढीमा पर्यटकीय सम्भावना धेरै छ । काठमाडौंबाट बिपी राजमार्गको रमणीय नागबेली बाटो हुँदै सिन्धुलीगढी १ सय ३० किलोमिटरमा पुग्न सकिन्छ । सिन्धुलीमाढीबाट २० किलोमिटर उत्तरमा रहेको यो ऐतिहासिक गढी र दरबारको दर्शन गर्न पाइन्छ । बिपी राजमार्गको नागबेली बाटो हुँदै मोटरमा हुइकिँदै केही घन्टामै तराईबाट समेत त्यहाँ पुग्न सकिन्छ । त्यहाँबाट तराईका मनोरम फाँट र उत्तरका हिमालको रमणीय दृश्य पनि हेर्न सकिन्छ । 
गढीको डाँडोमा पुग्ने बित्तिकै जोकोहीको मनपनि चङ्गाजस्तो फुरुङ्ग भइहाल्छ । गढीडाडाँको चिसो, मनै छुने हावाले पर्यटकलाई नलोभ्याउने सायदै होला । गढी क्षेत्र नजिकैको सोला भन्ज्याङ्बाट हुस्सुसँग लुकामारी खेल्न र हुस्सु नलागेर खुलेको बेला गौरिशंकर हिमाललाई नजिकैबाट हेर्न सकिने स्थानीय राजेश कार्कीले बताउनुभयो । पुर्खाको वीरताको इतिहास आफैले हेर्न अनि गर्मीको बेला तराइको गर्मी छल्न र हिमाल हेर्न पर्यटक पुग्ने गरेको उहाँको भनाई छ ।  
गढी परिसरमै रहेको सिद्धबाबाको मन्दिर छ । जहाँ एकसय १२ वर्ष पुरानो घण्टी पनि छ । भर्खरै बनाइएको वनभोज स्थलले पर्यटक बढाउन सघाएको छ । त्यस्तै पुरानो शिलालेख पनि भेटिन्छ । 

२४ सय अंग्रेज फौजलाई हराएको गढीको इतिहास 

‘२४०० अंग्रेज फौजको नेतृत्व गर्दै आएका कप्तान किनलक नेपालीको निशानामा परे । नेपाली सेनाको नेतृत्व गरेका वंशु गुरुङ किनलक नेतृत्वको अंग्रेज फौजलाई हराउन आतुर थिए । वंशुले आदेश दिए्, ‘नर्हानु, हारेर नआउनु ।’ होचा कदका मस्सुर ठानिएका नेपाली सैनिकले छाती फुलाउँदै शत्रु अंग्रेज सेनामाथि धावा बोले । गोर्खाली सेनाले छापामार शैलीबाट सामरिक सिन्धुलीगढीमा अंग्रेज सेनालाई धुलोपिठो पारेर लखटेका थिए । यो घटना १८२४ साल कात्तिक २४ गतेको हो । 
अंग्रेजी फौजको त्यो हार दक्षिण एसियाकै पहिलो हार थियो । हो, त्यही ऐतिहासीक ठाउँ जसले विश्वमै साम्राज्य जमाएको ब्रिटिस सेनालाई धपाएको थियो । जहाँ वीर गोर्खाली सेनालाई त्यो ठाँउका अरिङगाल, अल्लो, सिस्नोले पनिसहयोग गरेका थिए । अरिङगालले चिलेर, सिस्नोले पोलेर, अल्लोले लिसो टाँसिएर अंग्रेजलाई धपाउन सघाएको अन्वेषणकर्ता सागर कुमार ढकालले उज्यालोअनलाइनलाई जानकारी दिनुभयो । 
सिन्धुलीगढी संरक्षक समितिका संरक्षक आचार्यका अनुसार पृथ्वीनारायण शाहको नेपाल एकिकरणमा बाधा पुर्‍याउन काठमाडौंका तत्कालिन राजालाई सहयोग गर्न आएका ब्रिटिस फौजलाई हराउन नेपाली फौजले यो ठाउँमा गढी बनाएको थियो । १८२४ साल कात्तिक २४ गते किनलकको नेतृत्वमा आएको ब्रिटिस सेनालाई गोरखाली सेनाले सिन्धुलीगढीबाट धपाएको थियो । 
१८७३ सालमा सुरु नेपाल अंग्रेज युद्घको समयमा सिन्धुलीगढीको सामरिक महत्वलाई बुझेर भीमसेन थापाले सिन्धुलीगढीमा कानुनी रूपमा एउटा स्थायी सैन्य छाउनीको व्यवस्था गर्नुभएको थियो । १८८६ सालको माघमा नेपालका भीमसेन थापा पत्नी भक्तकुमारी देवीसहित सिन्धुलीगढीमा गारद सलामी लिएका थिए । 

संरक्षणमा स्थानीय बासिन्दा सक्रिय

सिन्धुलीगढी संरक्षणका लागि स्थानीय बासिन्दाले सिन्धुलीगढी संरक्षण समिति गठन गरेका छन् । गढीमा रहेको सानोगढी, पौवागढी, इनार र तोप हान्ने प्वाललाई स्थानीयले पुनर्निर्माण गरेरे ऐतिहासिक महत्वलाई जोगाउने काम गरेका छन् । गढी परिसरमा वनभोज स्थलको निमार्ण गरिएको छ भने खानेपानीको पनि व्यवस्था गरिएको छ । संरक्षण र पर्यटन प्रवर्द्धनका लागि सिन्धुलीगढीमा हरेक कात्तिक २४ गतेका दिन गौरव दिवस मनाउन थालिएको छ । गएको कात्तिक २४ गते ‘राइड टु सिन्धुलीगढी’ नाम दिएर काठमाडौं–सिन्धुलीगढी साइकल यात्रा पनि गरिएको थियो । 
तर यतिमात्र पहलले सिन्धुलीगढीको संरक्षण नहुने संरक्षक आर्चायको भनाई छ । ‘३६५ दिनमा १ दिन हामीले दिवस मनाएर कसरी संरक्षण गर्न सकिन्छ ?, सिन्धुलीगढी दुलही हो र एक दिनको सिंगार पटारले सकिने ?’ उहाँको प्रश्न थियो । 

Monday, March 11, 2019

नख्खु विस्फोटमा यसरी निकम्मा बन्यो जासुसी संयन्त्र

नख्खु विस्फोटमा यसरी निकम्मा बन्यो जासुसी संयन्त्र

ब्युरोका प्रहरी आइजीको निर्देशनमा ‘मालदार’ ठाउँमा भएपछि...

नारायण अधिकारी
572Shares
 Share
 Tweet
 Share
 Email
Nepal Live

काठमाडौं– सरकारको आन्तरिक सुरक्षालाई चुनौती दिँदै शुक्रबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा एकैपटक बम आक्रमण भयो। ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटअगाडि भएको बम विस्फोटमा परेर एक जना सर्वसाधारणले ज्यान गुमाए भने दुई जना उपचाररत अवस्थामा छन्।
उक्त घटनाले आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको जासुसी संयन्त्र कति निकम्मा छ भन्ने प्रमाण प्रस्ट पारेको छ। आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न सेनाको सैनिक विनय महानिर्देशनालय (डिजिएमआई), नेपाल प्रहरीको विशेष ब्युरो, सशस्त्र प्रहरीको विशेष संयन्त्र र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)  परिचालन हुन्छन्। 
तर, यी चारवटै निकायका अधिकारीले प्रभावकारी काम गर्न नसक्दा धेरै ठाउँमा एकसाथ बम विस्फोट भएको सुरक्षा विज्ञहरुले बताएका छन्। विस्फोटको घटनाको पूर्व सूचनासम्म सुरक्षा निकायले नपाउनुमा उनीहरुको भूमिकामाथि स्वाभाविक रुपमा प्रश्नचिह्न उठ्ने पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्।
जंगी अड्डामै रहेको सेनाको गुप्तचर निकाय डिजिएमआईले उक्त घटनाको भेउसमेत पाउन सकेको थिएन। यद्यपि गत दसैंताका भने प्रधानसेनापति पूर्णचन्द्र थापाले विखण्डनकारी समूहको गतिविधि नेपाली सेनाले टुलुटुलु हेरेर मात्रै नबसेको बताएका थिए। उनले विप्लव र सिके राउत समूहलाई लक्षित गर्दै उनीहरुको गतिविधि सेनाले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको र कानुनविपरीत गरे सेना चुप लागेर नबस्ने भन्दै धम्कीपूर्ण अभिव्यक्तिसमेत दिएका थिए। तर, सूचना संकलनमा निकै पोख्त रहेको भनिएको सेनाको जासुसी संयन्त्रलाई समेत चुनौती दिँदै राजधानीमै ज्यान जाने गरी विस्फोट भयो।  
त्यस्तै, राष्ट्रिय अनुसन्धान विभाग एनआइडीको क्षमतामाथि पनि ज्यान जाने गरी भएको बम विस्फोटले प्रश्न उठाएको छ। प्रधानमन्त्री मातहत ल्याइएको यो संयन्त्रले प्रभावकारी काम गर्न सकेको देखिँदैन। उता, सशस्त्र प्रहरी बलको जासुसी संयन्त्रले पनि विस्फोटको कुनै 'क्लु' फेला पार्न सकेन। 
आतंकवाद, अन्तरदेशीय अपराध, भूमिगत समूहका गतिविधिको सूक्ष्म निगरानी गर्ने निकाय हो, नेपाल प्रहरी विशेष ब्युरो। ब्युरो पनि यस घटनामा चुक्न पुग्यो।
सूचना संकलन गर्ने ब्युरोका घुमुवा भन्सारतिर
नेपाल प्रहरीको विशेष ब्युरोले आतंकवाद, अन्तरदेशीय अपराध, भूमिगत समूहहरुको गतिविधिबारे सूक्ष्म अनुसन्धान गर्छ। ब्युरोले संकलन गरेको सूचनाका कारण द्वन्द्वकाल र त्यसपछिका विभिन्न आपराधिक घटना नियन्त्रण गर्न सरकार सफल भएको थियो। 
ब्युरोको भूमिका कति प्रभावकारी हुन्थ्यो भन्ने बुझ्न धेरै टाढा गइराख्नु पर्दैन। दुई वर्षअघि २०७३ कात्तिक ९ गते उपत्यकाकै भक्तपुरबाट विशेष ब्युरोले मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत समूहका अध्यक्ष उपेन्द्र घर्ती मगरसहित १३ क्षेत्रीय इन्चार्जलाई हातहतियार, विस्फोटक पदार्थ तथा दस्तावेज, कब्याट ड्रेससहित पक्राउ गरेको थियो।
प्रहरीलाई राम्रोसँग परिचालन नगर्दा ब्युरोको भूमिका प्रभावकारी हुन सकेको देखिँदैन। अझ ब्युरोका प्रहरीलाई तराईका विभिन्न जिल्लामा आइजिपी आफैंले घुमुवा बनाएर पठाउन थालेपछि ब्युरोको काम झनै ओझेलमा परेको छ।
फोर्सले सशस्त्र द्वन्द्वको योजनासहित रुकुमको जाङ खारखोलामा उपेन्द्र घर्तीमगरको नेतृत्वमा युद्धसम्बन्धी तालिम दिएको सम्म ब्युरोले पत्ता लगाएको थियो। त्यसबेला ब्युरो प्रमुख बमबहादुर भण्डारी थिए। तीन महिनाभन्दा लामो सूचना संकलनबाट उनीहरुलाई ब्युरोले भक्तपुरबाट पक्राउ गरेको थियो।
फोर्ससँग हातहतियार तथा बन्दोबस्तीका सामग्री, भरुवा बन्दुक, रिभल्बर, कटुवा पेस्तोल, सकेट बम, सुतली बम, पेट्रोल बम, खुकुरी, नाइनस्टिक तथा घरेलु हतियार प्रहरीले बरामद भएको थियो। सिन्धुपाल्चोक जलवीरे क्षेत्रका दुई प्रहरी एकाइ र रुकुमको एक एकाइमा आक्रमणको योजना रहेको दस्तावेजसमेत प्रहरीले फेला पारेको थियो। बेलैमा ब्युरोले सूचना संकलन गरेर ठूलो घटना हुनबाट जोगाएको भन्दै खुबै प्रसंशासमेत भएको थियो। 
त्यही प्रशंसा पाएर वाहवाही पाएको ब्युरो अहिले निकम्मा बनेको छ।
आइजिपी मातहत रहेको ब्युरोको स्थिति भद्रगोल छ। अपराध अनुसन्धान र जासुसीको अनुभव भएका सबैजसो प्रहरी अधिकारी निवृत्त हुनु र भएका प्रहरीलाई पनि राम्रोसँग परिचालन नगर्दा ब्युरोको भूमिका प्रभावकारी हुन सकेको देखिँदैन। अझ ब्युरोका प्रहरीलाई तराईका विभिन्न जिल्लामा आइजिपी आफैंले घुमुवा बनाएर पठाउन थालेपछि ब्युरोको काम झनै ओझेलमा परेको छ।
आइजिपी सचिवालयले गत बैसाख २० गते संघीय इकाइ कार्यालय सगरमाथा, क्षेत्री सशस्त्र प्रहरी गण हेटौंडा, जिल्ला प्रहरी कार्यालय सर्लाही, सिन्धुली, नुवाकोट, जाजरकोट, बारा, महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर, सिरहा, पर्सा, रुकुम पश्चिम, इलाका प्रहरी कार्यालय बयरपट्टी सिरहा, जितपुर बारा लगायतलाई पत्र लेख्यो। त्यसमा प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालय मातहतको विशेष ब्युरोमा राख्नुपर्ने भएको भन्दै ६ महिनाका लागि काज पठाउन निर्देशन दिइएको थियो।
उक्त पत्रमा उल्लेख भएअनुसार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा दरबन्दी भएर संघीय प्रहरी इकाइ कार्यालय सगरमाथामा कार्यरत प्रहरी नायव निरीक्षक कृष्णदेव प्रसाद साह, संघीय प्रहरी इकाइ कार्यालय जनकपुरमा दरबन्दी भएर क्षेत्रीय सशस्त्र प्रहरी गण हेटौंडामा कार्यरत प्रहरी सहायक निरीक्षक रामरेख राय यादव, इलाका प्रहरी कार्यालय बयरपट्टी सिरहा दरबन्दी भएर जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी हवल्दार शिवकुमार मण्डल, संघीय प्रहरी इकाइ कार्यालय जनकपुर दरबन्दी भई क्षेत्रीय सशस्त्र प्रहरी हेटौंडामा कार्यरत प्रहरी हवल्दार रामेश्वर प्रसाद यादवलाई आइजिपी सर्वेन्द्र खनालले विशेष ब्युरोमा भन्दै ताने।
अपराध अनुसन्धान र जासुसीको अनुभव भएका सबैजसो प्रहरी अधिकारी निवृत्त हुनु र भएका प्रहरीलाई पनि राम्रोसँग परिचालन नगर्दा ब्युरोको भूमिका प्रभावकारी हुन सकेको देखिँदैन।
त्यस्तै, अस्थायी सशस्त्र प्रहरी गुल्म नारायणीमा कार्यरत हवल्दार विनोदकुमार साह, जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत हवल्दार सुरेन्द्र चौधरी, इलाका प्रहरी कार्यालय बस्तीपुर सिन्धुलीमा कार्यरत हवल्दार अरविन्दकुमार सिंह, इलाका प्रहरी कार्यालय खरानीटार नुवाकोटमा कार्यरत हवल्दार पैदाम्बर अधिकारी, महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा कार्यरत भगवान राय यादव, इलाका प्रहरी कार्यालय नगवा पर्सा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान सञ्जीवकुमार झा र प्रहरी चौकी रत्नावती सिन्धुलीमा कार्यरत प्रहरी जवान भुवाली साह विशेष ब्युरोमा आइजिपीको निर्देशनमा तानिए।  
उनीहरुसहित अहिले आइजिपी खनालका २३ जना घुमुवा छन्। तर, अचम्मको कुरो बिशेष ब्युरोका लागि भनेर तानिएका ती प्रहरी अहिले तराईका विभिन्न जिल्लामा घुमुवाको रुपमा सक्रिय छन्। ६ महिनाका लागि काज भनेर ल्याएका उनीहरुलाई आइजिपीले थप ६ महिना काज थप्दै तराईका वीरगन्ज, जनकपुर लगायत सीमावर्ती नाकातिर पठाएका छन्। उक्त ठाउँलाई प्रहरी अधिकारीहरुले मालदार ठाउँको रुपमा चिन्छन्।
बिआर १६–९०९९ नम्बरको भारतीय गाडी निरन्तर सीमा नाका वारपार गर्ने गरेको पाइएपछि धनुषा प्रहरीले गत साउन ५ गते उक्त गाडीलाई नियन्त्रणमा लिन लागेको थियो। तर, उक्त गाडी आइजिपी खनालले नै जनकपुर पठाएका सई कृष्णदेव साहले चढ्ने गरेको थाहा पाएपछि प्रहरी पछि हटेको थियो। 
आइजिपी खनालले विशेष ब्युरोमा भनेर तानेर जनकपुर पठाएका घुमुवा सई साह एउटा उदाहरण मात्रै हुन्। विशेष ब्युरोका लागि भनेर लगिएका प्रहरी अहिले तराईका विभिन्न जिल्लामा घुमुवाको रुपमा पठाउनुको कारण आफूहले थाहा नपाएका दुई नम्बर प्रदेशका एक उच्च प्रहरी अधिकारीले नेपाल लाइभलाई बताए। ‘आतंकवाद, भूमिगत समूहका गतिविधिको सूचना संकलन गर्नुपर्ने घुमुवालाई अहिले प्रहरीकै निगरानी गर्दै ठिक्क छ। अनि कसरी ब्युरो प्रभावकारी रुपमा सूचना संकलन गर्न सक्छ?’ ती अधिकारीले प्रश्न तेर्स्याए।
सर्वेन्द्र खनाल आइजिपी हुनु अघिसम्म विशेष ब्युरो प्रमुखको सिफारिसमा मात्रै ब्युरोमा प्रहरी लगिन्थ्यो। तर, अहिले अनुसन्धान र सूचना संकलनको राम्रो ज्ञान नै नभएकाले आइजिपी खनालको ठाडो निर्देशनमा ब्युरोका लागि तान्ने र उपत्य बाहिरका जिल्लामा पठाउने काम भएको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन्।

प्रहरीले दानमा पाएको जग्गा क्लबलाई?

प्रहरीले दानमा पाएको जग्गा क्लबलाई?

६ महिनादेखि बन्द सटरबारे प्रहरी नै अनभिज्ञ

नारायण अधिकारी
335Shares
 Share
 Tweet
 Share
 Email
Nepal Live

काठमाडौं– महानगरीय प्रहरी प्रभाग कोटेश्वरको गेटैमा ‘कोटेश्वर सूचना केन्द्र’ लेखिएको एउटा सानो भवन छ। प्रभागको गेट छिर्ने बेला दायाँतर्फ बनेको उक्त सानो भवनको काम के हो, कसैलाई थाहा छैन।
उक्त भवनको उत्तरतर्फ दुई वटा सटर निकालिएको छ। तर ती सटर बन्द भएको ६ महिनाभन्दा बढी भइसक्यो। कुन उद्देश्यले भवन बनाइयो र किन बन्द भएको भन्नेबारे धेरै जनालाई थाहै छैन। 
सूचना केन्द्र भनेर खोलिएपछि पक्कै पनि समुदायसँग सम्बिन्धत विभिन्न सूचना आदानप्रदान हुनुपर्ने हो। तर उक्त केन्द्रबाट कसले के सूचना पाए? कसलाई कस्तो सूचना उपलब्ध गराइयो? सूचनाबाट समुदायले लाभ लिए, लिएनन्? यस्ता अनेक प्रश्नको जवाफ अहिलेसम्म कसैसँग छैन। अझ सेवाका हिसाबले खोलिएको केन्द्र बन्द किन भयो? 
यसबारे खोज्दै जाँदा हामीले केन्द्रको भित्री कथा पत्ता लगायौं, जुन निकै रोचक छ।
OOO
सूचना केन्द्रसँगै २०७१ भदौ ९ गते निर्माण सम्पन्न भएको थियो, महानगरीय प्रहरी प्रभाग कोटेश्वरको भवन। ७८ लाख ९० हजार ८ सय ६७ रुपैयाँको लागतमा बनेको प्रभाग भवनको तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गरेका थिए। 
त्यसभन्दा अघि प्रहरी प्रभागको अवस्था दयनीय थियो। जुन एक तलाको रातो भवन थियो। एउटा सानो चौतारो र त्योभन्दा पछाडिपट्टि टिनको छानो भएको सिमेन्टको ब्लकको पर्खाल लगाएको एउटा छाप्रो। त्यहीँ सुत्थे, प्रहरी जवान र हवल्दार।
एक तलाभन्दा माथि इँटाको गारो लगाएर खपटाले छाएर एउटा कौशी निकालिएको थियो। इन्चार्ज तथा प्रहरी निरीक्षकका लागि कौशीमा कोठा थियो। सई र असईका लागि कौशीपछाडि अर्को कोठा। जुनियर प्रहरी अधिकृत सई, असई त्यही सुत्थे। 
प्रभाग परिसरमै एउटा मन्दिर थियो। मन्दिर अहिले पनि जस्ताको त्यस्तै छ। प्रभागपछाडि तरकारी बजार थियो।
प्रहरी निरीक्षक सूर्यप्रकाश सुवेदी २०६८ मंसिर ६ गते प्रभागमा हाजिर भएका थिए। प्रभागको अवस्था दयनीय देखेपछि नयाँ भवन बनाउन उनैले पहल गरे। जसका लागि एउटा भवन निर्माण समिति गठन गरियो। समितिको अध्यक्षमा चुनिए भरतकुमार शाही। कालिकोटका शाही पेस्सीकोला बस्दै आएका छन्। उनी नेक्सस क्रिकेट एकेडेमीका अध्यक्षसमेत हुन्। नेपाली कांग्रेसमा आबद्ध उनी सामाजिक काममा अग्रसर हुने व्यक्ति हुन्। 
प्रहरी निरीक्षक सुवेदी र अध्यक्ष शाहीले त्यसबेला काटेश्वर आसपासका स्थानीयसँग चन्दा उठाएरै दुई तलाको भवन बनाए। तर भवनलाई अन्तिम स्वरुप दिने काम बाँकी नै थियो। अलपत्र भवन देखेपछि दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले स्वार्थसहितको एउटा प्रस्ताव ल्यायो- प्रहरी भवनलाई अन्तिम स्वरुप दिने र एनसेलले भवनको छतमाथि टावर राख्न पाउनुपर्ने।
स्वार्थसहितको उक्त प्रस्ताव मान्न लायक थिएन। अझ सरकारी जग्गा कुनै एक कम्पनीका लागि प्रयोग गर्न दिने अधिकार न प्रहरीलाई थियो, न त भवन निर्माण समितिलाई। समिति र प्रहरीले एनसेलको उक्त प्रस्ताव अस्विकार गरिदिए।
त्यसपछि सरस्वती युवा क्लबले घुमाउरो पारामा भवन फिनिसिङ आफूले गरिदिने र त्यसबापत प्रहरी प्रभागकै बाँकी रहेको जग्गामा अर्को सानो भवन बनाएर आफ्नो अफिस राख्ने समेत प्रस्ताव गर्‍यो। स्वार्थसहितको उक्त प्रस्ताव पनि अस्विकार भयो। 
भवन निर्माण सम्पन्न नहुँदै २०७१ बैसाख ८ गते प्रहरी निरीक्षक सूर्यप्र सुवेदीको सरुवा भयो। त्यसपछि आए प्रहरी निरीक्षक भरत लामा। उनको पालामा भवन निर्माणले खासै गति लिन सेकन। उनी ९ महिनामै बिदा भए। त्यसपछि २०७० पुस १६ गते प्रहरी निरीक्षक श्रीराम भण्डारीले कोटेश्वर प्रभागको जिम्मेवारी सम्हाले। उनकै पालामा उक्त भवन निर्माण सम्पन्न भयो। 
प्रभागकै अगाडि बन्यो अर्को भवन, ‘काटेश्वर सूचना केन्द्र।’
प्रभागको इन्चार्ज भण्डारी भएपछि सरस्वती युवा क्लबले घुमाउरो पारामा पहिलेकै प्रस्ताव ल्यायो। प्रहरी निरीक्षक भण्डारी, निर्माण समितिका अध्यक्ष शाही र सरस्वती युवा क्लबका अध्यक्ष शिक्षित पराजुलीबीच सम्झौता भएपछि प्रहरी चौकीको अन्तिम रुपमले गति लिएको थियो। प्रहरी भवनलाई अन्तिम रुप दिएपछि क्लबले प्रहरीकै जग्गामा कोटेश्वर सूचना केन्द्र नाम दिएर अर्को भवन बनायो।
त्यही सूचना केन्द्र लामो समयदेखि बन्द छ। 
प्रहरीलाई भवन बनाइदिएबापत आफूले उक्त भवन बनाएर प्रयोग गर्न पाउनुपर्ने भन्ने खालको घुमाउरो जवाफ क्बलको छ। भवन निर्माण भइसकेपछि पनि क्लबले आफूले प्रयोग गर्न पाउनुपर्छ भन्ने आशय प्रकट गरेपछि प्रहरी निरीक्षक भण्डारी छँदै विवाद उत्पन्न भएको थियो। तर उक्त भवन क्बले प्रयोग गर्नेबारे कुनै सहमति नभएको समितिका अध्यक्ष भरतकुमार शाही बताउँछन्। ‘क्लबले चलाउनेबारे कुनै सहमति भएको छैन। प्रहरी चौकीले आफ्नो तरिकाले प्रयोग गर्न पाउँछ। सहयोग गर्‍यो  भन्दैमा सरकारी जग्गा कुनै क्लबलाई दिने कुरा हुँदैन,’ अध्यक्ष शाहीले भने।
अध्यक्ष शाहीले यसो भने पनि प्रहरीले आफ्नै तरिकाले उक्त भवन चलाउने हैसियतमा देखिँदैन। नागरिक सहायता कक्ष, हिरासत कक्ष, ब्यारेक सबै एकै ठाउँमा हुँदा अस्तव्यस्त छ। हिरासतमा रहेकालाई सोधपुछ गर्ने गोप्य ठाउँसमेत छैन। यस्तो साँघुरो ठाउँमा कोटेश्वर सूचना केन्द्र लेखिएको उक्त भवन प्रहरीले प्रयोग गर्न पाए धेरै राहत मिल्ने स्थानीय बताउँछन्।
तर त्यति सजिलै प्रहरीले उक्त भवन प्रयोग गर्न सक्ने अवस्था देखिँदैन। यसबारे जिज्ञासा राख्दा कोटेश्वर प्रभागकी प्रहरी निरीक्षक एलिजा गिरीले भनिन्, ‘यो म आएदेखि नै बन्द छ। के उद्देश्यले खोलेर, किन बन्द गरियो थाहा भएन। उक्त भवन प्रहरीले प्रयोग गर्न पाए धेरै राहत मिल्ने थियो।’
प्रहरीले दानमा पाएको जग्गा क्लबलाई?
१० आना क्षेत्रफल ओगटेको उक्त जग्गा प्रहरीले दानमा पाएको हो। कोटेश्वरकै विनय शर्माले आफ्नो पुर्ख्यौली जग्गा २०२२ सालतिर प्रहरीलाई दिएका थिए। त्यसबेला उक्त जग्गाको लालपूर्जा थिएन। अहिलको भएको भवनभन्दा अघि दुई वटा भवन बनिसक्दा समेत जग्गाको लालपूर्जा बन्न सकेको थिएन।
२०६८ सालमा नयाँ भवन बनाउन सुरु गर्दा जग्गादाता शर्माले स्वेच्छाले उक्त जग्गा प्रहरी चौकीलाई दिएको कागजात बनाइयो। त्यसपछि प्रहरीले लालपूर्जाका कागजात पेस गरेको थियो।
प्रहरीले यसरी दानमा पाएको १० आना जग्गामध्ये केही जग्गा भने अहिले सरस्वती युवा क्बलले प्रयोग गर्दै आएको छ। दानमा पाएको उक्त जग्गा कसले कुन अधिकार प्रयोग गरेर क्लबलाई प्रयोग गर्न दिए? यसको जवाफ छैन। क्लबले बन्द गरेको उक्त भवनबारे माथिल्लो निकायमा रिपार्टिङ गरेर खुलाउन आफूले पहल गर्ने प्रहरी निरीक्षक गिरीले बताइन्।
भवन सम्पन्न गर्दाका प्रहरी निरीक्षक भण्डारी अहिले बढुवा भएर नेपाल प्रहरी स्कुल साँगामा कार्यरत छन्। भवन बनाउन सहयोग गरेबापत क्लबलाई जग्गा प्रयोग गर्न दिने सहमति भएको हो? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘नागरिक सहायता कक्ष बनाउने भनेर सहमति भएको हो। सोही प्रयोजनको उद्देश्यले भवन बनाइएको हो। पछि बनिसकेपछि क्लबले मैले प्रयोग गर्न पाउनुपर्छ भन्ने खालको कुरा गर्‍यो। हामीले त्यसबेलै मिल्दैन भनेका थियौं। क्लबले प्रयोग गर्ने भन्ने कुनै सहमति भएको छैन।'  
के भन्छन् क्लबका अध्यक्ष?
सरस्वती क्लबका अध्यक्ष शिक्षित भण्डारी हुन्। उक्त भवनका बारेमा नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘कोटेश्वर एरियाभरिको कलेज, त्यो एरियाको अन्य सूचना दिने भनेर सानो एउटा बिल्डिङ बनाएको हो। कसैलाई अफ्ठ्यारो नपरोस् भनेर काटेश्वर क्षेत्रको एउटा नक्सा कोरेर पनि राखेका थियौं। म पनि बाहिर बाहिरै भएँ। क्लबका केटाहरु पनि बाहिरै भएकाले त्यो त्यतिकै भएको छ। त्यहाँ एक जना मान्छे राखेर काम गराउने हाम्रो योजना छ।'
तर, कसले उक्त भवन प्रयोग गर्ने भन्नेबारे उनले प्रस्ट जवाफ दिन चाहेनन्। 

विप्लवका कार्यकर्ता पक्राउको विवरण सुनाउँदै मक्ख प्रहरी नेतृत्व एकाएक त्रसित

विप्लवका कार्यकर्ता पक्राउको विवरण सुनाउँदै मक्ख प्रहरी नेतृत्व एकाएक त्रसित

११ दिनअघि मात्रै गृहमन्त्रीले निर्देशन दिएका थिए– चनाखो हुनू

नारायण अधिकारी
2.6kShares
 Share
 Tweet
 Share
 Email
Nepal Live

काठमाडौं– प्रहरी प्रधान कार्यालयले एउटा डाटा तयार पारेको छ। उक्त डाटामा सर्वेन्द्र खनाल आइजिपी भएदेखि अहिलेसम्मका कामहरुको फेहरिस्त समेटिएका छन्।
पाकिस्तानका तत्कालीन राष्ट्रपति र भारतीय प्रधानमन्त्रीको भ्रमणका साथै बिम्स्टेक र एसिया प्यासिफिक सम्मेलन राम्रो सुरक्षा व्यवस्थाका साथ सफल गरिएको सूचीदेखि विप्लव, सिके राउत लगायत विखण्डनकारी गतिविधि गर्ने समूहका नेता-कार्यकर्ता पक्राउ गरी कारबाही गरिएको, १ सय ५२ नालभन्दा बढी हतियार, २ सय ८३ राउन्ड गोली बरामद गरिएको लगायत कुराहरु उल्लेख छ।
आफूले गरेका कामहरुको फेहरिस्त भएको उक्त डाटा आइजिपीले अहिले जहाँ गए पनि छुटाउँदैनन्। कुनै ठाउँमा कार्यक्रम हुनेबित्तिकै आइजिपी खनाल भन्छन्, ‘मैले बोलिरहनु पर्दैन। सबै कुरा डाटाले बोल्छ।’
यति भनेपछि आइजिपीले आफूले गरेका कामहरुको डाटा सुनाउँछन्। जहाँ ‘विभिन्न आतंककारी तथा विध्वंसात्मक गतिविधि गर्ने नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का ३ सय ४७ नेता-कार्यकर्तालाई पक्राउ गरी कारबाही गरिएको’ उल्लेख छ।
गत कात्तिक ११ गते भृकुटीमण्डपमा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम उद्घाटन गर्दै आइजिपी खनालले विप्लवका ३ सय ४७ जना कार्यकर्ता पक्राउ गरेको सुनाएका थिए।
त्यसपछि आइजिपी खनालले विशेष पत्रकार सम्मेलन भनेर प्रहरी प्रधान कार्यालयमै पत्रकारलाई बोलाए। र, तिनै डाटा देखाए।
पावरप्वाइन्ट प्रेजेन्टेसनमार्फत आइजिपी खनालले विप्लवका नेता कार्यकर्ता पक्राउ परेकादेखि आफू आइजिपी भएदेखिका कामहरुको जुन विवरण सुनाए, भृकुटीमण्डमा सुनाइएको भन्दा केही फरक थिएन। खालि संगठनकै गुनगान थियो।
निर्मला हत्याकाण्डका विषयमा जवाफ दिन राष्ट्रियसभाको संसदीय तथा राज्य व्यवस्था समितिले आइजिपी खनाललाई मंसिर २४ गते बोलाएको थियो। त्यहाँ पनि उनले आफूले गरेका कामहरुको बेलीविस्तार लगाउन भ्याए। ‘तपाईंहरु आलोचना मात्रै गर्नुहुन्छ? राम्रा कामहरुको पनि कुरा गर्नुस्। मैले बोलिरहनु पर्दैन डाटाले बोल्छ’ भन्दै आइजिपी खनालले पुन: पहिलेकै कुरा दोहोर्‍याएका थिए।
विभिन्न अपराधका ७३२ जना फरार व्यक्ति पक्राउ परेको सुनाउँदै उनले थपेका थिए, 'केही समयअघि सुन्ने गरेका थियौं- डोजर जलाए, क्रेन जलाए। बाटो निर्माण गर्न पाइएन। तर, विप्लव समूहका ३४७ नेताकार्यकर्ता पक्राउ पछि यो घटना सुन्नुपरेको छैन।' समग्र देशको शान्तिसुरक्षाको अवस्था पनि राम्रो रहेको आइजिपी खनालको दाबी थियो।'
सुन्नुस् अडियो-
तर, दुई दिनयता देशभर आगजनी र  बम आतंक मच्चिएको छ। अहिले राजधानीसहित देशभर एक दर्जनभन्दा बढी स्थानमा बम पड्किएपछि सुरक्षा चुनौती बढेको भन्दै प्रहरीले राजधानीमा व्यापक प्रहरी परिचालन गरेको छ।
शुक्रबार राति ललितपुरस्थित नख्खुमा रहेको एनसेलको कार्यालयअगाडि भएको बम विस्फोटमा एक जनाको मृत्यु र दुई जना घाइते भएपछि प्रहरी झनै सशंकित बनेको छ। घाइतेलाई भेट्न गृहमन्त्री रामबहादुर थापा बादल, आइजिपी सर्वेन्द्र खनाल लगायत शनिबार बिहान मेडिसिटी अस्पताल पुगेका थिए।
बम विस्फोट कसले गरायो भन्न सक्ने अवस्थामा प्रहरी छैन। अहिलेसम्म ६ जना पक्राउ परिसकेको र त्यसमा विप्लवका कार्यकर्ताहरु पनि रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। 
संयोग नै होला, गृहमन्त्रीले त्यसो भनेको ११ दिनपछि हिजो देशभरका दर्जन ठाउँमा बम विस्फोट भयो। उक्त विस्फोट गृहमन्त्रीले लक्षित गरेर बोलेको समूहले नै गरेको हो वा अन्य समूहले, अहिले नै खुल्न सकेको अवस्था छैन।
प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा विप्लव समूहकै हात भएको बुझाइ छ। प्रहरीले उपत्यकामा ठूलो मात्रामा प्रहरी परिचालन गरेर विप्लव समूहका नेता कार्यकर्ताको खोजी पनि सुरु गरिसकेको छ।
गृहमन्त्रीले सुरक्षाकर्मीलाई भनेका थिए– चनाखो हुनू
गृहमन्त्रीले माघ २९ गते मात्रै प्रहरी प्रष्ठिान महाराजगन्जमा सुरक्षाकर्मीलाई चनाखो हुन निर्देशन दिएका थिए। प्रहरी निरीक्षकको आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै उनले विप्लवलाई संकेत गर्दै प्रहरीलाई चनाखो हुन भने।
प्रहरीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले भनेका थिए, ‘राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने प्रवृत्ति अझै जारी छ। राष्ट्र र संविधानविरोधी गतिविधि, विविध लोभ र आकांक्षामा प्रदर्शित भइजाने गरेको देखन्छ। लोकतन्त्रमा विरोधको पनि मर्यादित शैली हुन्छ। त्यसमा सरकारको आपत्ति रहन्न। परन्तु देशलाई विखण्डनतर्फ लैजाने वा संविधानको मर्मविपरीत परिचालित समूहका गतिविधि भने सह्य हुँदैन। सुरक्षा निकाय यसतर्फ अत्यन्त चनाखो रहनुपर्छ।’ 
सुन्नुस् अडियो-
संयोग नै होला गृहमन्त्रीले त्यसो भनेको ११ दिनपछि हिजो देशभरका दर्जन ठाउँमा बम विस्फोट भयो। उक्त विस्फोट गृहमन्त्रीले लक्षित गरेर बोलेको समूहले नै गरेको हो वा अन्य समूहले, अहिले नै खुल्न सकेको अवस्था छैन।
एउटै समूहसँग पटकपटक औचित्यहीन वार्ताको परिणाम 
देशको आन्तरिक सुरक्षामा चुनौती देखिएका विभिन्न भूमिगत तथा राजनीतिक समूहसँग वार्ता गर्न भदौ ८ गते प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरिएको थियो। सो टोलीले अहिलेसम्म २३ वटा समूहसँग वार्ता भएको जनाएको छ। केही भूमिगत सशस्त्र समूहले हतियार पनि बुझाएका छन्। जसकारण देशको आन्तरिक सुरक्षा थप मजबुत भएको सरकारको दाबी थियो। 
‘राजनीतिक व्यवहार गर्ने हो भने सरकारले क्लियर कुरा गर्नुपर्‍यो। होइन भने त्यही अनुसारको कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिनुपर्‍यो।'
तर यस्तो अभ्यास नौलो नभएको सुरक्षाविद् बताउँछन्। सरकारले यस्ता समूहसँग वार्ता गर्दा सुरक्षा निकायसँग राय लिएर मात्रै वार्ता गर्दा प्रभावकारी हुने सुरक्षा विज्ञ तथा पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन्। कुन समूहसँग वार्ता गर्ने, कुन समूहसँग वार्ता नगर्ने भन्ने राय सुरक्षा निकायसँग लिनुपर्ने हुन्छ। सुरक्षा निकायको राय बिना गरिएको सशस्त्र समूहसँगको वार्ताको औचित्य नहुने उनले बताए।
वार्ता नगरी सशस्त्र समूहकै रूपमा कारबाही गर्नुपर्ने समूहलाई पहिला पनि वार्ता गरेर समाधान गरिएको भनिँदै आएको थियो। तर तिनै सशस्त्र समूह पछि गएर आपराधिक गतिविधिमा संलग्न हुँदै आएका उदाहरण पनि छन्। तिनै समूहसँग सरकारले पटकपटक वार्ता गर्दै आएको छ। 
कुन समूहलाई राजनीतिक व्यवहार गर्ने, कुनलाई विखण्डनकारी व्यवहार गर्ने भन्ने प्रष्ट नहुँदा विप्लव समूहलाई प्रहरीले कारबाही गर्न नसकेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले नेपाल लाइभलाई बताए। ‘राजनीतिक व्यवहार गर्ने हो भने सरकारले क्लियर कुरा गर्नुपर्‍यो। होइन भने त्यही अनुसारको कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिनुपर्‍यो,' ती अधिकारीले भने, ‘त्यसैको फाइदा उठाउँदै आपराधिक गतिविधि भइरहेका छन्। पछिल्लो घटना पनि त्यसैको उदाहरण हो।’