Saturday, August 24, 2019

चौकीदारसँग १० लाख माग्दै सिडिओलाई धम्कीपूर्ण म्यासेज

विस्फोट गराउँदै हिँड्ने ३ जना गोलीसहित पक्राउ

 नारायण अधिकारी |  २०७६ भदौ ५ बिहीबार | Thursday, August 22, 2019  २१:२७:०० मा प्रकाशित
काठमाडौं- चौकीदारसँग १० लाख रुपैयाँ माग्ने, पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई धम्कीपूर्ण म्यासेज पठाउने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-२४ रामगढवा बस्ने ३२ वर्षीय इनुस अन्सारी, सोही ठाउँका २२ वर्षीय सद्दाम अन्सारी र १९ वर्षीय टाइगर भनिने जौवाद अन्सारी छन्।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले वीरगञ्जको चण्डाल चोकबाट बुधबार पक्राउ गरिएको पर्साका एसपी सोमेन्द्रसिंह राठौरले नेपाल लाइभलाई जानकारी दिए।

यो समूहका मुख्य योजनाकार फुल हसन अन्सारी हुन्। उनी भने अझै फरार छन्। 
फुल हसन जयशंकर साहको कर्तव्य ज्यान मुद्दामा कारागार बसेर २०७४ असोज ९ गते छुटेका व्यक्ति हुन्।
उनकै योजनामा वीरगञ्ज कारागारका चौकीदार शेख भोलासँग १० लाख रुपैयाँ यो समूहले मागेको थियो। १० लाख नदिए पर्साका सिडिओलाई भनेर उनको सरुवा गर्ने भन्दै उनीहरुले भोलालाई धम्की दिएका थिए।
त्यसपछि उनीहरुले सिडिओ समेतलाई मोबाइलमा धम्कीपूर्ण म्यासेज पठाएका थिए। सिडिओ समेतलाई आतंकित पारेर तर्साउन भन्दै यो समूहले गत साउन २४ र २८ गते वीरगञ्जका विभिन्न ठाउँमा बिस्फोट गराएको थियो। विस्फोटमा केही मान्छे सामान्य घाइते समेत भएका थिए। 
सोही समूहको खोजी गर्ने क्रममा जाँच गर्दा उनीहरु पक्राउ परेका हुन्। प्रहरीले उनीहरुको साथबाट ४ राउण्ड गोली, सुतली बमजस्तो देखिने वस्तु ३ थान र मोबाइल बरामद गरेको छ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत पर्साबाट हातहतियार तथा खरखजना मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
उनीहरुले बम नभएर ठूलो खालको पटका पड्काएको प्रहरीलाई बताएका छन्।

किन भइरहन्छ थुनुवाको हिरासत ‘ब्रेक’? प्रहरी मिलेमतो कि लापरबाही?

नारायण अधिकारी |  २०७६ श्रावण २८ मंगलबार | Tuesday, August 13, 2019  १७:३०:०० मा प्रकाशित


काठमाडौं- इलाका प्रहरी कार्यालय धुलाबारी झापाको हिरासत ‘ब्रेक’ गरेर आइतबार राती २ थुनुवा फरार भए।
अभद्र व्यवहार मुद्दामा पक्राउ परेका २ भारतीय नागरिक २६ वर्षीय गणेश कामती र २९ वर्षीय कृष्ण मण्डल फरार भएका हुन्। हिरासतको ढोकामा लगाइएको ताला तोडेर उनीहरू भागेको प्रहरीले बताएको छ।
सुरक्षाकर्मीको चौघेरामा रहने हिरासतबाटै ताला फोडेर उनीहरु भागे कसरी? ताला फुटाउन्जेल किन प्रहरीले चाल पाएन? प्रहरीको मिलेमतो बिना यस्तो सम्भव छ त?

यी प्रश्नको चित्तबुझ्दो जवाफ प्रहरीले दिन सकेको छैन। जिल्ला प्रहरीका कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठ भन्छन्, ‘कसरी भागे अनुसन्धान गरिरहेका छौं।’
थुनुवा भागेका बेला ड्युटीमा रहेका एक प्रहरी जवानलाई निलम्बन गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ। निलम्बित प्रहरी जवानले आफू ट्वाइलेट गएको बेला ताला फोडेर थुनुवा भागेको जवाफ दिएका छन्। डिएसपी श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय छानबिन समितिले अनुसन्धान सुरु गरिसकेको छ। 
दुई भारतीय थुनुवाको हिरासत ‘ब्रेक’ घटना नौलो भने होइन। यसको दुई दिनअघि मात्रै काठमाडौंको सिंहदरबार वृत्तबाट ४ थुनुवा हिरासत ‘ब्रेक’ गरेर भागेका थिए।
चोरी मुद्दाका अनिल थापा, सुब्बा लामा र सुकलाल वाइबा र मदन तामाङ गत शनिबार हिरासत ‘ब्रेक’ गरेर फरार भएका थिए। उनीहरुमध्ये ३ जना पक्राउ परे पनि मदन तामाङ भने अझसम्म फरार छन्। 
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहको नेतृत्वमा समिति गठन गरेर यसबारे अनुसन्धान भइरहेको छ। असई तथा ड्युटी अफिसर भीमबहादुर थापा, ड्युटीमा रहेका हवल्दार बोधबहादुर माझी र चन्द्रबहादुर विक निलम्बनमा परेका छन्।  
यसरी एकपछि अर्को गर्दै थुनुवाको हिरासत ब्रेक हुन थालेको छ। यसले मुख्य गरी दुई विषय इंगित गरेको पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्। उनका अनुसार हिरासतको कमजोर संरचना र प्रहरीको लापरबाहीमध्ये एउटाले मुख्य भूमिका खेलेको हुनुपर्छ। 
अहिलेसम्म भागेका थुनुवाहरूको अवस्था हेर्ने हो भने हिरासतलाई दोष लगाएर उन्मुक्ति हुने ठाउँ देखिँदैन। अधिकांश  घटनामा प्रहरीको लापरबाही देखिएको भन्दै आलोचना समेत हुने गरेको छ। गत असार २३ गते राती महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट निकै चलाखीपूर्ण तरिकाले थुनुवा भागेको घटनाले पनि प्रहरीको लापबाहीलाई पुष्टि गर्दछ। थुनुवा शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रविकुमार तिमल्सिना थुनुवा फरार भएका थिए।
माझी र श्रेष्ठ पक्राउ परे पनि तिमल्सिना भने अझै फरार छन्।
म्याद थप गर्न अदालत लगेको बेला अदालतको ट्वाइलेटमा उनीहरुका साथीले पूर्व योजनाअनुसार 'ह्याक्सो ब्लेड' राखिदिएका थिए। सोही ह्याक्सो ब्लेड शरीरमा लुकाएर हिरासतसम्म पुग्न सफल भएका उनीहरूले ग्रिलको रड काटेर भाग्न समेत सफल भएका थिए। अदालतबाट म्याद थप गरेर लगिसकेपछि उनीहरूको शरीर खानतलासी गरिएको भए यस्तो अवस्था आउने थिएन। तर प्रहरीले यति सामान्य कुरामा समेत ध्यान नदिँदा उनीहरू हिरासत तोडेर भाग्न सफल भएका थिए।
त्यसपछि महानगरीय प्रहरी परिसर ललितपुर एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो। समितिले तीन जनालाई निलम्बन गरेको थियो।
यसरी पटक-पटक थुनुवा भागिरहँदा पनि सामान्य विभागीय कारबाहीभन्दा ठूलो सजाय प्रहरीले पाएका छैनन्। छानबिन समितिका एक सदस्य भन्छन्, ‘मिलेमतो गरेर फरार भएको जस्तो देखिँदैन। सामान्य गल्तीको फाइदा उठाएर थुनुवा भागेकाले प्रहरीले त्यही अनुसार कारबाही पाएका हुन्।’ 
गत असार २८ गते इलाका प्रहरी कार्यालय खजुरा, बाँकेको हिरासत कक्षबाट ३ जना थुनुवा फरार भएका थिए। उनीहरुले हिरासत कक्षको शौचालयको भेन्टिलेटर काटेर भागेका थिए।
गत साउन ७ गते इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराको हिरासतबाट भारतको मोतिहारीका १९ वर्षीय फिरोज मियाँ फरार भए। त्यसेबला ड्युटीमा खटिएका प्रहरीलाई पनि सामान्य विभागीय कारबाही बाहेक अन्य कारबाही भएको छैन।
प्रहरीले गरेको विभागीय कारबाहीले ड्युटीमा रहेका प्रहरीको सामान्य गल्ती भएको देखिन्छ। तर हिरासत ब्रेक गरेर थुनुवा भाग्ने क्रम भने रोकिएको छैन। प्रहरीकै सुरक्षा घेराभित्र पटकपटक यसरी थुनुवा भाग्नुले प्रहरीकै मिलेमतो हुन सक्ने आशंका उब्जिएको छ। 
३८ थुनुवा तथा कैदी फरार
पछिल्लो एक वर्षमा देशका विभिन्न जेल तथा हिरासतबाट ३८ जना थुनुवा तथा कैदीहरू फरार भइसकेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ। तीमध्ये अधिकांश चोरी मुद्दामा पक्राउ परेका व्यक्ति छन्। फरार भएकामध्ये धेरैलाई पक्राउ गरिसके पनि केही अझै फरार छन्। 
दाङबाट फरार भएका थुनुवा अझै पक्राउ पर्न सकेका छैनन्। सिंहदरबार वृत्तबाटै भागेका एक थुनुवा अझै फरार छन् भने भैंसेपाटीबाट भागेका एक थुनुवा पनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।
अधिकांश जसो हिरासतको ग्रिल काटेर भागेका छन् भने केही अदालत लैजाने क्रममा भागेका छन्।
यसरी कैदी तथा थुनुवा भाग्नुमा जीर्ण संरचना र ड्युटीमा रहेका प्रहरीका कमीकमजोरी भएको बताउँछन् नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेल। लापरबाही गरेको देखिएका प्रहरीलाई कारबाहीसमेत गरिँदै आएको उनको भनाइ छ।
यस्तो छ कारबाहीको व्यवस्था
कारागार ऐन २०१९ मा कैदी तथा थुनुवा भगाउनेलाई हुने सजायबारे उल्लेख छ। ऐनका दफा २४ को (क) मा सम्बन्धित अड्डा/अदालतका कर्मचारी वा कारागारका कर्मचारीले घुस लिएर थुनुवा तथा कैदी भगाएमा उक्त घुस जफत गरी थप कारबाही हुन्छ। 
जन्मकैदको सजाय पाएको वा त्यस्तो सजाय पाउने अपराध गरेको थुनुवा तथा कैदी भगाए १० वर्षसम्म कैद हुने सो ऐनमा व्यवस्था छ। अरु थुनुवा वा कैदी भगाएको भए २ वर्षदेखि ६ वर्षसम्म कैद हुन्छ। 
अदालत र कारागारका कर्मचारी बाहेक प्रहरी वा अन्य सरकारी कर्मचारीले भगाएमा जन्मकैद पाएको वा त्यस्तो सजाय पाउने खालको अपराध गरेको भए ६ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। अन्य थुनुवा/कैदीका हकमा भने २ वर्षदेखि ६ वर्षसम्म कैद सजाय हुने समेत व्यवस्था छ। 
तर कर्तव्य पालनाका सिलसिलामा लापरबाही भएकै कारण कैदी तथा थुनुवा भागेको अवस्थामा भने सामान्य सजाय हुने उल्लेख छ। जसमा ५ महिनासम्म कैद वा २ सय रुपैयाँसम्म जरिवाना हुनसक्छ।
कैद म्याद तोकिसकेको कैदी भागेका अवस्थामा यसरी भाग्ने कैदीलाई समेत थप सजाय हुने व्यवस्था छ। कैद भुक्तान गर्न बाँकी सजायको डेढी सजाय हुने व्यवस्था छ। 
मुद्दा फैसला भएपछि हुने सजायमा थुनुवा भाग्नुअघि थुनामा बसेको अवधि कट्टा गरिनेछ। यसका साथै थुनामा बसेको समय गणना नगरी तोकिएको कैद सजायमा आधा थप गरी डेढी सजाय तोकिने व्यवस्था ऐनमा उल्लेख छ। 
थुनुवा तथा कैदी भागेपछि धमाधम छानबिन समिति गठन गरिए पनि त्यस्ता समितिले अहिलेसम्म मिलेमतोमा भागेको रिपार्ट दिन सकेका छैनन्। सामान्य लापरबाहीका कारण भागेका भन्दै उनीहरूलाई विभागीय कारबाही बाहेक ठूलो कारबाही हुन सकेको छैन। तर थुनुवा र कैदी भाग्ने क्रम भने रोकिएको छैन।

गुपचुपमा 'रेडियो दम्पती'को विभत्स हत्या, कसले मार्‍यो वृद्ध यी दम्पती?

केही दिनमै रिजल्ट आउँछ : एसपी भट्ट

नारायण अधिकारी |  २०७६ श्रावण २९ बुधबार | Wednesday, August 14, 2019  १८:१२:०० मा प्रकाशित
काठमाडौं- बाग्लुङको ढोरपाटन नगरपालिका-८ बोबाङका स्थायी बासिन्दा हुन् भानबहादुर कामी। भानबहादुरलाई गाउँलेले ‘रेडियो कामी' भनेर पनि चिन्छन्।
६८ वटा हिउँदबर्खा काटेका कामीका दुई श्रीमती थिए। भानबहादुर जेठी श्रीमतीसँग बस्थे। बेलाबेलामा उनी कान्छी श्रीमती बीमा बस्ने ठाउँ बोबाङको 'कुइनेबाटो अनरे' पनि बस्न जान्थे।
बर्खाको समय थियो। बारीमा लगाएको अन्नबाली जंगली जनावरले खाने भएकाले उनी जनावर धपाउन भन्दै केही दिनअघि कान्छी श्रीमती भएको ठाउँ कुइनेबाटो अनरे पुगेका थिए। ढोरपाटन नगरपालिका–८ का वडाध्यक्ष नन्दे सुनारका अनुसार त्यस ठाउँमा बाघ, भालु, स्याल, दुम्सी, बाँदर लगायतका जंगली जनावरहरु आउने गर्छन्।

दुई श्रीमती भएका भानबहादुर दुवैतिर आउनेजाने, बस्ने गर्थे। सोही मेसोमा उनी कान्छी श्रीमतीकोमा पुगेका थिए। अनरेमा उनीहरूको ढुंगा माटोको गाह्रो लगाएको सानो छाप्रो छ। छाप्रो पनि कोल्टिएर लड्न लागेको जस्तो देखिन्छ। उनीहरू अनरेमा त्यही छाप्रोमा बस्थे।
गत शनिबार साँझदेखि पानी पर्न थालेको थियो। भानबहादुरको छाप्रो वरपर ५-६ घर छन्। त्यो पनि केही दूरीको टाढामा। रातभर झमझम पानी परिरह्यो। बिहान उज्यालो हुँदा भानबहादुर आफ्नो घर नजिकैको मकैबारीमा मृत फेला परे।
सर्ट र कट्टु लगाएका, मानबहादुर कोल्टो परेको अवस्थामा भेटिएका थिए। उनको टाउको र अनुहारमा गहिरो चोट लागेको थियो। जमिनमा रगत जमेर अख्रक्क भएको अवस्थामा उनको लाश फेला परेको थियो। 
‘भानबहादुरको लास देखेपछि हामी उनको घरमा जान लाग्यौं। श्रीमती बीमा पनि घरमा मृत अवस्थामा भेटिइन्,’ त्यसबेलाको दुखद घटना सम्झन्छन् वडाध्यक्ष सुनार।
भानबहादुरका जेठी श्रीमतीतर्फ १ छोरा छन्। उनी मजदुरी गर्न भारत पुगेका छन्। कान्छीतर्फका छोरा बुहारी र नाती नातिना छन्। उनीहरू ढोरपाटन बस्छन्। त्यसदिन दम्पत्तिमात्रै घरमा थिए।
यी दम्पतीको शवको दूरी लगभग १० मिटरको अन्तरमा फेला परेको थियो। दम्पतीको विभत्स हत्या भएको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। बुर्तिबाङ प्रहरी चौकी खबर पाउनासाथ घटनास्थल पुगेको थियो। बुर्तिवाङ प्रहरी चौकीले घटनास्थललाई कर्डन गरेर सुरक्षित गरेको थियो।
कसैसँग रिसराग नभएका वृद्ध दम्पत्तिको हत्याले स्थानीय नै आश्चर्यमा परेका थिए। ‘जंगल नजिकै एकान्त स्थानमा घर भएकाले जंगली जनावरको आक्रमणबाट ज्यान गयो कि भन्ने पनि लागको थियो,’ वडाध्यक्ष सुनार सुनाउँछन्, ‘शरीरभर हतियारको जस्तो चोट देखेपछि हामी अचम्ममा पर्यौ। कसले किन हत्या गर्‍यो , हामी त छक्क पर्‍यौं।’ वडाध्यक्षका अनुसार बन्चरोले हानेर हत्या गरेजस्तो देखिन्छ।
केही दिनमै रिजल्ट आउँछ : एसपी भट्ट
घटना भएको जानकारी आउनासाथ प्रहरी टोली घटनास्थल सुरक्षित गरेकाले अनुसन्धानमा धेरै सहज भएको प्रहरीले जनाएको छ। भानबहादुरको घर वरपर ५/६ घर मात्रै भएकाले प्रहरीले हत्यामा तिनै मध्येका कोहीको हुन सक्ने भन्दै अनुसन्धान गरेको छ।
अनुसन्धान अन्तिम चरणमा पुगेका र केही दिनमै नतिजा आउने बाग्लुङका एसपी नवराज भट्टले नेपाल लाइभलाई जानकारी दिए। उनले भने, ‘पत्ता लागेन भनेर आत्तिनु पर्ने अवस्था छैन। हामी अनुसन्धानको अन्तिम बिन्दुमा पुगेका छौं। केही दिनमै अपराधी सार्वजनिक गर्छौ।’
प्रहरीले दम्पत्तिको शंकास्पद हत्या भएपछि त्यस वरपरका मानिसको सोधपुछ गरेको थियो। त्यस राती त्यस वरपर सञ्चालित रहेका मोबाइलको विवरण केलाउनेदेखि रिसिइबी भएका तथा हुनसक्ने पाटाहरू समेत केलाएको जनाएको छ। सोही क्रममा भानबहादुरका भाई मसाने भन्नेले राति करिब १२ बजेतिर दाजुभाउजू कराएको सुनेको बयान दिएका थिए।
मसानेको भनाइ उद्धृत गर्दै स्रोतले नेपाल लाइभसँग भन्यो, ‘पहिला भाउजू कराएको सुनेँ। त्यसको केहीबेरमा दाजुको जस्तो आवाज पनि आयो। राती पानी परिरहेको थियो। जंगलको छेउ भएकाले बाघ आयो होला भन्ने पनि लाग्यो। त्यो भएर म घरमै सुतेँ। दाजुभाउजू भएको ठाउँमा गइनँ।’ 
बिहान दाजुभाउजूको शव देखेपछि उनै मसानेले प्रहरीलाई खबर गरेका थिए। दम्पतीको विभत्स हत्या भएपछि जिल्ला प्रहरी कार्यालय बाग्लुङले प्रहरी निरीक्षक नरेन्द्र कार्कीको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली गठन गरेको थियो। टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। स्थानीयले बञ्चरो प्रहार गरेर हत्या गरेको बताए पनि प्रहरीले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको भए पनि बञ्चरो नै हो भन्ने यकिन भइनसकेको जनाएको छ।

राजनीतिक आडमा चोरीका मोटरसाइकलको शोरुम, जिल्लाले चासो नदेखाएपछि विशेषको 'एक्सन'

नारायण अधिकारी |  २०७६ श्रावण ३० बिहीबार | Thursday, August 15, 2019  १६:१५:०० मा प्रकाशित

काठमाडौं- काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरबाट हरेक दिन दर्जनभन्दा बढी मोटरसाइकल चोरी हुने गरेका छन्। चोरको 'टार्गेट'मा नयाँ लटका मोटरसाइकल पर्छन्।
यसरी चोरी भएकामध्ये केही मोटरसाइकल प्रहरीले फेला पारे पनि अधिकांशजसो गायब हुन्छन्। आखिर कहाँ पुग्छन् त चोरीका मोटरसाइकल?
यही रहस्यमयी प्रश्नको उत्तर खोज्न अनुसन्धानमा जुटेको प्रहरीले नयाँ तथ्य फेला पारेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको भिक्टिम सपोर्ट युनिट (भिएसयु) ले केही दिनअघि चोरीको मोटरसाइकलसहित 'मिलन' भनिने धनबहादुर योन्जनसहित ३ जनालाई चितवनबाट पक्राउ गरेको थियो।
मिलनबाटै महत्वपूर्ण 'क्लु' पाएको प्रहरी चोरीका मोटरसाइकलको शोरुम सञ्चालन गर्ने गिरोहसम्म पुग्न सफल भएको छ।
महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको भिएसयुको संयुक्त टोलीले मिलनकै बयानका आधारमा चितवनका 'दीपु' भनिने दीपेन्द्रकुमार श्रेष्ठलाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रवि पौडेलले बताए।
काठमाडौंबाट चोरी भएका धेरैजसो मोटरसाइकल उनै दीपुले चितवनमा खरिद गरेर बेच्दै आएका थिए।
चितवनको रत्ननगर नगरपालिका–१३, जयमंगलामा न्यु मनकामना रिकन्डिसन, जगतपुरमा मोटरसाइकलका पार्टस्‌हरु, नारायणगढमा शोरुम सञ्चालन गरेर बसेका व्यक्ति हुन्, दीपु। प्रहरी स्रोतका अनुसार उनले काठमाडौं लगायत देशका विभिन्न ठाउँबाट चोरी भएर चितवन पुगेका मोटरसाइकल खरिद गरेरै यसरी शोरुम सञ्चालन गरेको खुल्न आएको छ।
४ दिनको रेकीपछि पक्राउ 
मिलन पक्राउ परेपछि उनैको बयानका आधारमा प्रहरी दीपुसम्म पुगेको थियो।
चोरीको मोटरसाइकलका 'बादशाह' भनेर चिनिएका उनलाई अहिलेसम्म चोरी केसमा पक्राउ गर्न सकिएको थिएन। ललितपुर जिल्लामा हराएका धेरै मोटरसाइकलमा उनको संलग्नता भएको थाहा पाएपछि प्रहरीले जिल्ला अदालत ललितपुरबाट दीपुविरुद्ध पक्राउ पुर्जी लिएको थियो। त्यसपछि भिएसयुबाट सईको कमान्डमा ४ जना र अपराध महाशाखाबाट २ जना गरी ६ जनाको टोली केही दिनअघि चितवन हान्निएको थियो।
प्रहरी समात्न आउँदै गरेको भन्ने सूचना पाएपछि दीपु मोबाइल अफ गरेर फरार भएका थिए। विशेष सूचनाका आधारमा उनी नवलपरासी पूर्व पुगेको थाहा पाएपछि प्रहरी नवलपुर पुगेको थियो। बा १६च ३१२१ नम्बरको स्कर्पियोमा सवार उनलाई प्रहरीले नवलपुरबाटै पक्राउ गर्न सफल भयो। पक्राउ परेका उनलाई महानगरीय प्रहरी परिसर ललितपुर राखेर चोरी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।
२० मिनेटमै खोलेर यसरी हुन्छ बिक्री
दीपुले २० वर्षदेखि मोटरसाइकल रिकन्डिसन हाउस सञ्चालन गर्दै आएका छन्। चोरी भएर चितवन पुगेका मोटरसाइकल उनैकहाँ पुग्छ। उनले मोटरसाइकल हेरेर ५०/६० हजार रुपैयाँसम्म दिएर किन्ने गरेका छन्। योसँगै उनले चोरी नभएकै पुराना मोटरसाइकल पनि वैधानिक रुपमा किन्छन्।
यसरी उनले वैधानिक रुपमा किन्ने मोटरसाइकल प्रायः नारायणी अञ्चलभन्दा बाहिरी अञ्चलका हुन्छन्। ती मोटरसाइकललाई उनले अञ्चलीकरण गरी नारायणीको पछिल्लो लटको बनाउँछन्। तर, मिलेमतोमा अञ्चलीकरण गर्दा उनको ब्लु-बुकमा अञ्चलीकरण भनेर लेखेको नपाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।
त्यसपछि उनले चोरीका नयाँ मोटरसाइकल किन्छन्। अञ्चलीकरण गरेर नयाँ लटको बनाइएका थोत्रा मोटरसाइकलमा चोरीका नयाँ मोटरसाइलको सामान खोलखाल गरेर जोड्छन्। ‘२० मिनेटभित्र यसरी खोलखाल गरेर जोड्न यिनीहरु सिपालु छन्,’ स्रोतले भन्यो, ‘त्यसपछि बाँकी रहेको चोरीको मोटरसाइकलको च्यासिस नम्बरसमेत गालेर कवाडीलाई बेच्छन्। अनि चोरीको भन्ने थाहै हुँदैन।’
यति गरिसकेपछि ५०/६० हजारमा किनेका चोरीका मोटरसाइकल उनले डेढ लाखदेखि २ लाख रुपैयाँसम्म बेच्दै आएका छन्।
दीपु स्वयंले समेत चढ्ने गरेको एक स्कुटर चोरीको भएको अनुसन्धानबाट खुलेको छ। उनले सन् २००३ को लटको पुरानो स्कुटरलाई २०१९ को बनाएर चलाएको पाइएको हो।
पक्राउका लागि चितवन प्रहरीले अहिलेसम्म चासो नराखेपछि काठमाडौंदेखि विशेष टोली नै चितवन पुग्नुपरेको थियो। 
यसबारे चितवनका एसपी दानबहादुर मल्लले भने प्रमाण नपुगेर पक्राउ नगरिएको प्रतिक्रिया दिए। आफूहरुकै सहयोगमा माथिल्लो निकायबाट आएको टोलीले उनलाई पक्राउ गरेको उनले दाबी गरे। स्थानीय प्रहरीदेखि माथिल्लो निकायको उच्च प्रहरी अधिकृतसम्म राम्रो सम्बन्ध भएकाले दीपु यतिन्जेल पक्राउ पर्न सकेका थिएनन्।
त्यस्तै, झन्डै ५ महिनाअघि उनको पसलमा राजस्व अनुसन्धान विभाग सहितको टोलीले छापा मारेको थियो। त्यसबेला राजस्व अनुसन्धान विभागले उनलाई ५ लाख ५१ हजार रुपैयाँ जरिवाना गरेको थियो।
पूर्व-माओवादीको साथ, दुःख नदिन भन्दै गृहको पत्र!
पूर्व माओवादीका नेताहरुसँग पनि दीपुको राम्रो सम्बन्ध छ। उनले चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन कार्यालयमा त्यसबेला धेरै सहयोग गरेको जानकारहरु बताउँछन्। शक्तिखोरमा आवश्यक गाडी तथा मोटरसाइकलसम्बन्धी सम्पूर्ण जिम्मा उनकै थियो।
स्रोत भन्छ, ‘त्यसैको फाइदा उठाएर दीपु यहाँसम्म आइपुगेका हुन्।’
माओवादी नेताहरुसँगको निकट सम्बन्धकै कारण उनी अहिलेसम्म चोरीको मुद्दामा पक्राउ पर्न सकेका थिएनन्। उनी पक्राउ परेपछि उनलाई छुटाउन भन्दै महानगरीय प्रहरी परिसर ललितपुर पुगेका माओवादीका केही नेता र सांसदबाट समेत उनलाई राजनीतिक रुपमा आड मिलेको पुष्टि हुन्छ।
प्रहरी स्रोतका अनुसार दीपुले 'केही समय गृह मन्त्रालयबाट अनाश्यक दुःख नदिन' भन्ने व्यहोराको पत्रसमेत बनाउन लगाएर लगेका थिए। स्रोतले नेपाल लाइभसँग भन्यो, ‘प्रहरीले पक्राउ गर्ने थाहा पाएपछि गृहमन्त्रीका एक सल्लाहकारमार्फत यस्तो पत्र बनाएर ल्याएको भन्ने अनुसन्धानबाट खुलेको छ। हामी अनुसन्धान गर्दैछौं।’

सिटको झोला काखमा राखेपछि खुलेको त्यो रहस्य

विप्लवका 'सार्प सुटर' पक्राउ गर्ने प्रहरी जवान पुरस्कृत

 नारायण अधिकारी |  २०७६ भदौ १ आइतबार | Sunday, August 18, 2019  २२:३४:०० मा प्रकाशित
काठमाडौं- चन्द्रागिरी नगरपालिका—२ नागढुंगास्थित 'चेक प्वाईन्ट'मा विशेषगरी काठमाडौं बाहिरिनेभन्दा पनि बढी भित्रने गाडीहरुको जाँच हुने गर्छ। यो नियमित जाँच हो। 
सोही मेसोमा शनिबार बिहान प्रहरी जवान विशाल साउदसहितका प्रहरीको ड्युटी परेको थियो।
जवान साउद प्रहरी पहरा गण सामाखुसीमा दरबन्दी भई महानगरीय प्रहरी वृत थानकोटमा कार्यरत छन्। बाहिरी जिल्लाबाट काठमाडौं भित्रने गाडीहरू जाँच भइरहकै थियो। जवान साउदले एक दर्जनभन्दा बढी गाडी जाँच गरिसकेपछि बा २ ख १९८० नम्बरको बस पनि जाँच गरे। धादिङबाट काठमाडौं आउँदै गरेको उक्त बसभित्रै प्रवेश गरेर उनले जाँच गरेका थिए। 

नागढुंगा नाकामा लागुऔषध र विस्फोटक पदार्थ भित्रन सक्ने भन्दै प्रहरीले तालिम प्राप्त कुकुरबाट जाँच गर्नका लागि सहयोग लिँदै आएको छ। तर शनिबार भने बिना कुकुर प्रहरीले जाँच गरिरहेको थियो।
जवान साउद सामान्य रुपमा बसभित्रका यात्रु नियाल्दै बसको अन्तिम सिटतर्फ जाँदै थिए। जवान साउदलाई उद्धृत गर्दै उनी निकट स्रोतले नेपाल लाइभलाई भन्यो, ‘सोही बेला एक युवाले नजिकै रहेको आफ्नो पछाडि भिर्ने झोला तानेर आफ्नो काखमा राखे। त्यहीबाट खुल्यो विप्लवका सार्प सुटरको पोल।’
झोला तानेर आफ्नो काखमा राखेपछि जवान साउदलाई शंका लागेपछि उनले झोला खानतलासी गरेका थिए। साउदलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हतियारसहित मान्छे छिरेको भन्ने कुनै सूचना नै थिएन। म सामान्य नियाल्दै अघि बढ्दै थिएँ। सिटको झोला काखमा सारेपछि शंका लागेर जाँच गर्दा यो रहस्य खुलेको हो।’
उक्त झोलाबाट २ थान पेस्तोल, २० राउन्ड गोली, उषा लेखिएको ९० एमएलको तेल २ बोतल, दुरबिन १ थान, मोबाइल ५ थान, विभिन्न कागजात, डायरी, सम्पर्क नम्बर बरामद गरेको छ। 
यी हातहतियार र महत्वपूर्ण दस्तावेजसहित पक्राउ पर्ने व्यक्ति हुन्, ललितपुर कोन्ज्योसम गाउँपालिका—२ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामा। उनीविरुद्ध हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
विप्लव समूहका सार्प सुटर
पक्राउ परेका लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ‘सार्प सुटर’ भएको अनुसन्धानबाट खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डिएसपी होबिन्द्र बोगटी भन्छन्, ‘पक्राउ परेका लामा विप्लव समूहका स्पेसल टास्क फोर्सका सदस्य भएको पाइएको छ।’
यो विप्लवको महत्वपूर्ण फोर्स हो। विशेष परिस्थितिमा सुटरको रुपमा यो फोर्सले काम गर्ने बताइएको छ। सोही अनुरुप प्रहरीको विशेष ब्युरोले समेत उनीमाथि अनुसन्धान गरिरहेको छ। 
धादिङको धार्केबाट गाडी चढेर काठमाडौं आएका उनी कुनै मिसनकै लागि आएको हुन सक्ने प्रहरीले आँकलन गरेको छ। पछिल्लो समय जनप्रतिनिधिलक्षित विप्लव नेकपाले कारबाही गर्न थालेकाले ठूलै हत्या योजना पनि हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थालिएको बताएको छ। 
यद्यपि पक्राउ परेका लामाले अहिलेसम्म कसैको हत्या योजना नभएको बयान दिएका छन्। उनले आफूलाई हतियार दिने र सो हतियार काठमाडौंमा रहेका अर्का व्यक्तिलाई सुम्पिनु पर्ने जिम्मेवारी मात्रै पाएको भन्दै दुई व्यक्तिको नाम लिएका छन्। प्रहरीले हतियार दिने र  काठमाडौमा रिसिभ गर्न बसेका भनिएका व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाएको छ। 
प्रहरी जवान साउदलाई पुरस्कृत गर्ने तयारी
विशेष सूचना बिनै सानो शंकाकै भरमा अत्याधुनिक हतियार र महत्वपूर्ण दस्तावेजसहित मान्छे पक्राउ गरेको भन्दै प्रहरी जवान साउदलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पुरस्कृत गर्ने भएको छ। 
उनलाई नगद १३ सय रुपैयाँसहित पुरस्कृत गर्न लागिएको परिसरले जनाएको छ। राम्रो काम गर्ने प्रहरीलाई तालुकको कार्यालय प्रमुखबाट पुरस्कृत गर्ने चलन अनुसार जवान साउदलाई पुरस्कृत गर्न लागिएको हो। यो पुरस्कार बढीमा एक हजार रुपैयाँ र प्रमाणपत्र दिइने चलन थियो। अहिले त्यसलाई बढाएर १३ सय रुपैयाँ पुर्‍याइएको छ। 
यो पुरस्कारको राशी सानो भएपनि बढुवा हुने बेला पुरस्कारको समेत अंक जोडिने भएकाले प्रहरीमा निकै महत्वपूर्ण मानिन्छ।

संसद्‍सम्म पुगेको रहस्यमय गोलीकाण्ड : सेनाले मात्र बोक्ने एम-१६ र इन्सासबाट कसले हान्यो गोली?

नारायण अधिकारी  |  २०७६ भदौ २ सोमबार | Monday, August 19, 2019  २०:०३:०० मा प्रकाशित

काठमाडौं- गत साउन १४ गते राती सवा ८ बजे हाइड्रो इन्जिनियर डा विष्णु शर्मा नेपालको घरमा गोली चल्यो। कलंकीस्थित शर्माको घरको माथिल्लो तलाको झ्यालबाट गोली कोठाभित्र छिरेको थियो।
शर्माकै भनाई मान्ने हो भने उक्त गोली झ्यालको सिसा छेड्दै ग्रिलमा ठोक्किएर शक्तिहीन भएपछि कोठाभित्र प्रवेश गरेको थियो। जसकारण कुनै मानवीय क्षति भएन। कक्षा १२ मा अध्ययन गर्ने शर्माकी छोरी गोली चलेको बेला कोठामै थिइन्। 
गोली चलेपछि शर्माले फेसबुकमा स्ट्याटस समेत लेखेका थिए, ‘कसैले टार्गेट गरेर मार्ने उद्देश्यले नै हानेको गोली हो, यसमा कसैको दुईमत छैन। ग्रिलमा लागेर शक्ति क्षीण भैसकेपछि मात्र जाली छेड्दै घरभित्र पसेकोले मानवीय क्षति हुनबाट बालबाल बाँचियो।’

राजधानीमै गोली चलेको खबर बाहिरिएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको टोली लगत्तै घटनास्थल पुगेको थियो।
‘झ्यालको सिसा उघारेर छेस्किनी लगाएको अवस्थामा गोली सिसा छेड्दै झ्यालको चौकसमा लाग्दै कोठाभित्र छिरेको देखिन्थ्यो’ अपराध महाशाखाबाट अनुसन्धानमा खटिएका एक अधिकारी बताउँछन्।
उक्त झ्यालबाट गोलीभित्र प्रवेश गर्न शर्माकै छिमेकी शोभाकर खनालको घरबाट गोली हानेको हुनसक्ने प्रहरीले आशंका गरेको थियो। सोही राती उनको घर खानतलासी गर्दा प्रहरीले १२ बोर र २२ बोरको दुई थान राइफल र ५० थान गोली फेला पारेको थियो। छिमेकीका घरमा गोली चल्नु र खनालको घरबाट लाइसेन्सप्राप्त हतियार र गोली फेला परेपछि प्रहरीले हतियार बरामद गर्नुको साथै खनाललाई पनि पक्राउ गरेको थियो।
खनालको घरबाहेक अन्य ठाउँबाट त्यहाँ गोली पुग्न असम्भव जस्तै देखिन्थ्यो। त्यसपछि हतियार समेत फेला परेपछि 'झन् शंका बढेको’ भन्दै प्रहरीले १४ गते खनाललाई नियन्त्रणमा लिएको थियो।
तर खनालले आफूले गोली नचलाएको दाबी गरेका थिए।
गोली छिरेको कोठा र आरोपितको घरको दूरी १६.२३ मिटर 
शर्माले आफ्नै छिमेकी शोभाकर खनालमाथि आशंका गरेका थिए। उनीहरुबीच बारम्बार विवाद हुने गरेको थियो। साँधसिमाना, ढललगायतका विषयमा उनीहरूबीच विवाद हुँदै आएको थियो। खनालको घरबाहेक वरपरबाट उक्त घरमा गोली प्रवेश गर्न नसक्ने अनुमान गरेको प्रहरीले उनीहरुबीच विवाद हुने गरेको पाइपछि झनै शंका गरेको थियो।
छिमेकीका घरमा गोली चल्नु र खनालको घरबाट लाइसेन्सप्राप्त हतियार र गोली फेला परेपछि प्रहरीले हतियार बरामद गर्नुको साथै खनाललाई पनि पक्राउ गरेको थियो।
सो क्रममा खनालको घरबाट गोली प्रहार हुनसक्ने ठाउँ र घटनास्थलको दूरी समेत प्रहरीले नाप्दा १६.२३ मिटरको टाढा भएको पाइएको थियो। ‘यति नजिकैको दूरीबाट ४५ डिग्रीको कोणमा गोली प्रहार गरेपछि खोका भेटिएको ठाउँमा गोली पुग्न सक्छ’ अनुसन्धानमा खटिएका एक प्रहरी सुनाउँछन्।
विधि विज्ञानले भन्यो : एम-१६ र इन्सासमध्ये एकको गोली
हतियार र गोलीसहित पक्राउ परे पनि खनालले आफूले गोली नचलाएको दाबी गरेका थिए। त्यसपछि प्रहरीले खनालको घरबाट बरामद हतियार र घटनास्थमा भेटिएको गोलीको खोका समेत परीक्षण गर्न प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुसी पठाएको थियो। तर प्रहरीको अनुमानलाई फेल खुवाउँदै विधि विज्ञानले रिपोर्ट पठायो।
विधि विज्ञानले बरामद हतियारबाट गोली नचलेको पुष्टि गर्‍यो। त्यसपछि खनाललाई प्रहरीले छाडेको थियो। त्यसो भए कुन हतियारबाट चल्यो त गोली? विधि विज्ञानको रिपोर्टको सुनाउँदै अपराध महाशाखाका एसएसपी सहकुल थापा भन्छन्, ‘एम-१६ र इन्सासमध्ये एकबाट गोली चलेको रिपोर्ट आएको छ।’
सेनाले मात्रै बोक्ने हतियारबाट कसले चलायो त गोली?
विधि विज्ञान प्रयोगशालाले उक्त गोली एम-१६ र इन्सासमध्ये एकबाट चलेको हुनु पर्ने भन्दै रिपोर्ट दिएको छ। नेपालका प्रमुख तीन सुरक्षा निकायमध्ये नेपाली सेनासँग मात्रै हुने यी हतियारबाट कसले चलायो त शर्माको घरमा गोली? यो प्रश्न निकै पेचिलो बनेको छ। अहिले पनि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ।
अमेरिकी हतियार एम-१६ राइफल उत्कृष्ट पर्सनल हतियारको रुपमा चिनिन्छ। 
विधि विज्ञानले भनेको एम-१६ हतियार एक लाख नेपाली सेनामा १५ हजार थानको हाराहारीमा मात्रै छ। अमेरिकी हतियार एम-१६ राइफल उत्कृष्ट पर्सनल हतियारको रुपमा चिनिन्छ। 
एम-१६ ए २ भर्सन हतियार ५ दशमलव ५६ क्यालिभरको राइफल हो। १०० दशमलव ६६ सेन्टिमिटर लामो एम-१६ को ब्यारेल भने ५१ सेमी हुन्छ। यो हतियारको वजन म्याग्जिन र सिललिंग बाहेक ७ दशमलव ७८ पाउन्ड अर्थात् ३ किलो ५३ ग्राम हुन्छ। ३० राउन्ड गोली क्षमता भएको म्याग्जिन लोड गर्दा यसको वजन झन्डै ४ किलो हुन्छ। 
यो हतियारको रेञ्ज क्षमता ५ सय ५० मिटर प्वाइन्ट टार्गेट हो भने ८ सय मिटरसम्म एरिया टार्गेटको रूपमा प्रयोग गर्न सकिन्छ। ३६ सय मिटरसम्म यसले मार हान्न सक्छ। ३६ सय मिटर मार हान्दा ३ गोली बराबर १ गोली टार्गेट प्वाइन्टमा लाग्ने सुरक्षाकर्मीहरुले विश्वास गर्छन्। 
यसको रेट अफ फायर भने प्रतिमिनेट ९० राउन्डसम्म हुन्छ। सेमी अटोमेटिकमा प्रतिमिनेट ४५ राउन्ड, अटोमेटिकमा ९० राउन्ड र स्टेसनमा १२ देखि १५ राउन्ड गोली प्रहार गर्न सक्ने क्षमता हुन्छ। यो हतियार आल्मोनियम र ब्यारेलभित्र क्रोमो प्लेटिङबाट बनेको हुन्छ। यस किसिमको पर्सनल अमेरिकन हतियार एम-१६ निकै शक्तिशाली मानिन्छ। 
यो हतियारको रेञ्ज क्षमता ५ सय ५० मिटर प्वाइन्ट टार्गेट हो भने ८ सय मिटरसम्म एरिया टार्गेटको रूपमा प्रयोग गर्न सकिन्छ। ३६ सय मिटरसम्म यसले मार हान्न सक्छ।
यस्तो शक्तिशाली हतियारबाट शर्माको घरमा कसले हान्यो त गोली? यसबारे शंका गर्नुपर्ने ठाउँ भएको बताउँछन् एक अनुसन्धान अधिकृत।
एम-१६ बाट त्यति नजिकैबाट गोली चलाएको त्यसको क्षति ठूलो हुनु पर्ने तर त्यहाँ सिसामात्रै फुटेकाले गोली नै चलेको हो वा होइन आशंका गर्नुपर्ने ठाउँ भएको उनको भनाइ छ। 
विधि विज्ञानले एम-१६ बाहेक ५.५६ मिमीको इन्सास राइफलबाट उक्त गोली चलेको हुनसक्ने बताएको छ। 
५ दशमलव ५६ मिमी क्यालिभर क्षमताको इन्सासको लम्बाई ११ सय १० मिमी हुन्छ। ४ सय ६४ मिमी ब्यारेल भएको यो राइफल खालीमा ३ दशमल ६ किलो हुन्छ। भरेको म्याग्जिनसहित यसको वजन ३ लशमल ९४ किलो हुन्छ। यसको रेञ्ज क्षमता ४ सय मिटर हो। यो हतियार नेपाली सेनाले २०५८ सालपछि भित्र्याएको थियो। 
ठूलो क्षति नभएकाले शोभाकरको घरबाटै गोली नचलेको निष्कर्षमा प्रहरी पुगेको छ।
यसले झनै शोभाकरको घरबाट गोली नलेको पुष्टि गरेको देखिएको अनुसन्धान अधिकृत बताउँछन्। ४/५ सयभन्दा बढी टाढासम्म मार हान्न सक्ने क्षमता भएको अवस्थामा १६.२३ मिटर नजिकैबाट गोली प्रहार भएको यसको क्षति ठूलो हुन्थ्यो। शोभाकरले आफ्नो हतियारबाट गोली प्रहार नगरी कुनै सेनाको हतियार प्रयोग गरेर गोली गोली प्रहार गरेको आशंका गरिए पनि कुनै ठूलो क्षति नभएकाले शोभाकरको घरबाटै गोली नचलेको निष्कर्षमा प्रहरी पुगेको छ।
संसदमा समेत कुरा उठ्यो, तर घटना नै रहस्य
राजधानीमै गोली पड्किनु तर घटनाको यर्थाय अझै बाहिर आउन नसकेको भन्दै संसदमा समेत यसबारे कुरा उठेको थियो। साउन २१ गते प्रतिनिधिसभा सदस्य सांसद नारायणप्रसाद मरासिनीले यसबारे संसदको ध्यानाकषर्ण गराएका थिए। 
‘काठमाडौंको कलंकी जस्तो ठाउँमा गोली चलेको नौ-नौ दिन भइसक्यो रिजल्ट आउँदैन। प्रहरीले खाली पख्नुस् मात्रै भनिदिने? अब सांसद, मन्त्री र प्रधानमन्त्रीकोमा नधाउन्जेल न्याय नपाइने नै हो त?’ सांसद मरासिनीले भनेका थिए।
यसको २ दिनपछि साउन २३ गते कलंकी क्षेत्रकी प्रतिनिधिसभा सदस्य सांसद बिनाकुमारी श्रेष्ठले पनि संसदको शून्य समयमा यसबारे छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग राखेकी थिइन्।
सडकदेखि संसदसम्म पुगेको यो गोलीकाण्ड भने अझै रहस्यमय नै छ। गोली चलेको भन्नु तर वरपर सोधपुछ गर्ला भने कसैले पनि आवाज नसुन्ने, सेनासँग मात्रै हुने हतियारबाट गोली चलेको रिपोर्ट आउनु, वरपर सेनाको ब्यारेक नहुनु, ठूलो क्षति हुनसक्ने हतियारबाट गोली चलेको रिपोर्ट आए पनि क्षति न्यून हुनुले घटना झनै रहस्यमय भएको प्रहरीले जनाएको छ।
गोली चलेको हो वा होइन भन्ने समेत आशंका गर्नुपर्ने अवस्था आएको अनुसन्धानमा खटिएका अधिकारी बताउँछन्।

५ करोडको कोकिन बोकेर कतारदेखि काठमाडौं, सोल्टी होटलमा बुक

नारायण अधिकारी |  २०७६ भदौ ५ बिहीबार | Thursday, August 22, 2019  १७:२५:०० मा प्रकाशित

काठमाडौं– कालो बाहुला भएको सेतो-कालो चेक सर्ट। सेतो-कालो चेक पाइन्ट। कालो वर्ण। ख्याउटे शरीर। 
यिनै हुलिया भएका एक युवा कतार एयरवेजको एक जहाजबाट बुधबार दिउँसो करिब साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लन्छन्।
उनको हाउभाउ र हिँडाइ केही हतारिए जस्तो देखिन्छ। निकै शंकास्पद तरिकाले पल्याकपुलुक गर्दै उनी अघि बढ्छन्। निलो रङको आफ्नो सुटकेस घिसार्दै उनी एक्स–रे मेसिनसम्म पुग्छन्।
ad
मेसिनको जाँच सकिएपछि केही ढुक्कको सास फेर्दै बाहिर निस्केका उनी त्यतिबेला झसंग हुन्छन्, जतिखेर उनलाई सादा पोसाकका प्रहरीले पक्राउ गर्छन्। प्रहरीले उनलाई पक्राउ गर्दा ४ बजेर ५८ मिनेट गइसकेको थियो।
यसरी प्रहरीले पक्राउ गरेका व्यक्ति हुन्, आइभरीकोस्टका ३५ वर्षीय मार्सेल गुली।
गुली त्यस्ता व्यक्ति हुन्, जो केही पैसामा लोभिएर आइभेरीकोस्टदेखि अवैध कोकिनको भारी बोक्न नाइजेरिया पुग्छन्।
नाइजेरियामै सुटकेसभित्र फल्स बटम बनाई तलमाथि दायाँबायाँ काठको प्लाइउड राखिन्छ। त्यसभित्र कागजको पाता बनाइन्छ। ताकि सुटकेस खोल्दा ती प्लाइउड र कागजका पाता सुटकेसको कभरमै टाँसिउन्। कसैले थाहा नपाओस्। यसरी बनाइएको फल्स बटममा थियो, १ किलो ६ सय ग्राम कोकिन। 
सोही परिमाणको कोकिनसहित उनी विमानस्थलमा पक्राउ परेका हुन्। जसको बजार मूल्य ४ करोड ८० लाखभदा बढी रहेको लागुऔषध नियन्त्रण ब्युरोका डिआइजी दिनेश अमात्य बताउँछन्।
उक्त कोकिन बोकेर नाइजेरियाको लागोसबाट २० अगस्टमा उनी कतारको राजधानी दोहा आएका थिए। दोहाबाट २१ अगस्ट अर्थात् हिजो बुधबार काठमाडौं आएका गुली नेपाल प्रहरीको फन्दामा परे।
प्रहरीले लामो समयदेखिको अनुसन्धान, विश्लेषण र सूचना अनुसार कोकिन बोकेर मार्सेल गुली नेपाल आउँदै गरेको भन्ने खबर पाएको थियो। सोही अनुसार ब्युरोको टोली सादा पोसाकमा विमानस्थलमा गुलीलाई कुरेर बसेको थियो। 
एक्स–रे मेसिन पार गरेर बाहिन आउनसाथ उनी ब्युरोको टोलीको नियन्त्रणमा परिहाले।
सोल्टी होटलमा बुक
पक्राउ परेका गुली पहिलो पटक नेपाल आएका व्यक्ति हुन्। ठूलो मात्रामा कोकिन लिएर आएका उनले नाइजेरियाबाटै कालिमाटीस्थित सोल्टी होटलमा कोठा बुक गरेको पाइएको छ। यद्यपि उनी सोल्टी होटल पुग्न नपाउँदै पक्राउ परे। 
सोल्टी होटल बुक गर्नुको अर्थ भने उनले प्रहरीलाई छक्याउन गरेको हुन सक्ने ब्युरोका एसएसपी वसन्त लामा बताउँछन्। ‘पक्राउ परेका गुलीको लवाइखवाइ हेर्दा उनी भरिया जस्तो देखिन्छन्। त्यति महँगो होटलमा उनी बस्ने जस्तो पनि देखिँदैन,’ एसएसपी लामाले भने, ‘प्रहरीलाई छक्याउन सोल्टी होटल बुक गरेजस्तो गर्ने तर अन्तै बस्ने योजना पनि हुन सक्छ।’
बरामद गरिएको उनको पासपोर्टमा सेम्टेम्बर २ सम्म नेपालको भिसा रहेको पाइएको छ। यति लामो समयसम्म उनी नेपाल नै बसे पनि सोल्टी होटलमा बस्न सक्ने व्यक्ति हुन् भन्नेमा प्रहरीको शंका छ।
६ महिनाको भारत भिसा
१ ग्रामकै २५ देखि ३० हजार रुपैयाँसम्म पर्ने लागुऔषध कोकिनको विशेषगरी युरोपियन देशहरुमा खपत हुन्छ। दक्षिण एसियाका देशहरुमा भने भारत, जापान, चीन जस्ता देशमा खपत हुने गरेको अनुसन्धान अधिकारी बताउँछन्।
सोही अनुरुप यो कोकिनको गन्तव्य पनि भारत रहेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। पक्राउ परेका गुलीको साथबाट बरामद भएको १९ एटी ९५५१४ नम्बरको पासपोर्टमा भारतको भिसासमेत लागेकाले उक्त कोकिन भारत जाने तयारी रहेको ब्युरोका प्रवक्ता एसपी कृष्ण प्रसाई बताउँछन्। प्रहरीले बरामद गरेको उनको पासपोर्टमा अप्रिलदेखि अगस्टसम्मका लागि भारतको भिसा लागेको छ।
नेपाललाई ट्रान्जिट बनाएर यसअघि पनि लागुऔषध तस्करी हुने गरेका घटना सार्वजनिक हुँदै आएका छन्। पहिले बरामद भएका कोकिन पनि नेपाली भूमि प्रयोग गर्दै खुल्ला सीमाको फाइदा उठाउँदै भारत पठाउने योजना बनाइएको प्रहरीले विश्लेषण गरेको छ।
६ वर्षमा साढे ३८ किलो कोकिन बरामद
लागुऔषध नियन्त्रण ब्युरोले विगत ६ वर्षको अवधिमा ३८ किलो ७ सय २५ ग्राम कोकिन बरामद गरेको छ। ब्युरोले सन् २०१४ मा ५ किलो ४९९ ग्राम कोकिन बरामद गरेको थियो। 
त्यस्तै सन् २०१५ मा ११ किलो कोकिन बरामद भएको थियो। सन् २०१६ मा सबैभन्दा बढी १३ किलो ६२६ ग्राम बरामद भएको ब्युरोको तथ्यांक छ। सन् २०१७ मा ५ किलो, सन् २०१८ मा २ किलो र अहिले सन् २०१९ मा १ किलो ६ सय ग्राम कोकिन बरामद गरेको हो।
जर्मनीमा मात्रै केही महिनाअघि विभिन्न समयमा बरामद गरिएका ४ दलशमलव ५ मेट्रिक टन कोकिन बरामद गरेर नष्ट गरेको थियो।
त्यस्तै प्रहरीले आर्थिक वर्ष २०६८/६९ देखि अहिलेसम्म १ नेपालीसहित २४ जना विदेशी नागरिक कोकिनसहित नेपालमा पक्राउ परेका छन्। पक्राउ परेका मध्ये धेरैजसो चिनियाँ, पाकिस्तानी, थाइल्याण्ड, बोलिभियन र मलेसियन नागरिक छन्। 
कोकिन तस्करीका उपाय अनेक
विभिन्न तरिकाहरु अपनाएर कोकिनको ओसारपसार हुँदै आएको छ। केही समयपहिले स्याम्पुको बट्टामा झोल बनाएर कोकिन नेपाल ल्याइएको थियो। सन् २०१६ को मार्चमा झोल कोकिनको रुपमा नेपाल भित्रिएको उक्त घटना निकै नौलो थियो।
त्यस्तै स्याम्पु र लोसनको बट्टामा पाउडर बनाएर पनि कोकिन नेपाल आइपुगेको थियो। त्यस्तै नयाँ तरिका अपनाएर बुधबार सुटकेस ब्यागमा लुकाएर कोकिन नेपाल आइपुगेको हो। 
अन्तर्राष्ट्रिय तस्करहरुले पक्राउ पर्नबाट जोगिन नयाँनयाँ तरिका अपनाएर कोकिन तस्करी गर्दै आएका छन्। पोर्चुगल तथा स्पेनका प्रहरीले केही समय पहिला भुइँकटहरमा लुकाएको अवस्थामा कोकिन बरामद गरेका थिए।
दक्षिण अमेरिकाबाट पोर्चुगल तथा स्पेन ल्याइएको भुँइकटहर शंका लागेर प्रहरीले जाँच गर्दा भित्री भागको गुदी निकालेर त्यसमा कोकिन राखी बोक्रालाई प्राकृतिक जस्तै गरी बन्द गराइएको पाइएको थियो। यो घटना ८/९ महिनाअघिको हो।
त्यसबेला भुँइकटहरमा राखेर ल्याइएको ७ सय ४५ किलो कोकिन बरामद भएको थियो भने ९ जना पक्राउ परेका थिए। 
हेर्नुस् भिडियो-
सन् २०१५ जुनमा कोलम्बियाको विमानस्थलमा होन्डुरसकी एक महिलाले वक्षस्थलमा ट्रान्सप्लान्ट गरेर तीन पाउन्ड झोल कोकिन समेत बोकेको समाचार सार्वजनिक भएको थियो। 
पछिल्लो समय विभिन्न ब्राण्डका रक्सी र जुसको बोतलमार्फत झोल कोकिन पनि तस्करी हुँदै आएको छ।