विप्लवका कार्यकर्ता पक्राउको विवरण सुनाउँदै मक्ख प्रहरी नेतृत्व एकाएक त्रसित
११ दिनअघि मात्रै गृहमन्त्रीले निर्देशन दिएका थिए– चनाखो हुनू
नारायण अधिकारी
२o७५ फागुन ११ शनिबार| प्रकाशित १७:o८:oo
2.6kShares
Share
Tweet
Share
Email
काठमाडौं– प्रहरी प्रधान कार्यालयले एउटा डाटा तयार पारेको छ। उक्त डाटामा सर्वेन्द्र खनाल आइजिपी भएदेखि अहिलेसम्मका कामहरुको फेहरिस्त समेटिएका छन्।
पाकिस्तानका तत्कालीन राष्ट्रपति र भारतीय प्रधानमन्त्रीको भ्रमणका साथै बिम्स्टेक र एसिया प्यासिफिक सम्मेलन राम्रो सुरक्षा व्यवस्थाका साथ सफल गरिएको सूचीदेखि विप्लव, सिके राउत लगायत विखण्डनकारी गतिविधि गर्ने समूहका नेता-कार्यकर्ता पक्राउ गरी कारबाही गरिएको, १ सय ५२ नालभन्दा बढी हतियार, २ सय ८३ राउन्ड गोली बरामद गरिएको लगायत कुराहरु उल्लेख छ।
आफूले गरेका कामहरुको फेहरिस्त भएको उक्त डाटा आइजिपीले अहिले जहाँ गए पनि छुटाउँदैनन्। कुनै ठाउँमा कार्यक्रम हुनेबित्तिकै आइजिपी खनाल भन्छन्, ‘मैले बोलिरहनु पर्दैन। सबै कुरा डाटाले बोल्छ।’
यति भनेपछि आइजिपीले आफूले गरेका कामहरुको डाटा सुनाउँछन्। जहाँ ‘विभिन्न आतंककारी तथा विध्वंसात्मक गतिविधि गर्ने नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का ३ सय ४७ नेता-कार्यकर्तालाई पक्राउ गरी कारबाही गरिएको’ उल्लेख छ।
गत कात्तिक ११ गते भृकुटीमण्डपमा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम उद्घाटन गर्दै आइजिपी खनालले विप्लवका ३ सय ४७ जना कार्यकर्ता पक्राउ गरेको सुनाएका थिए।
त्यसपछि आइजिपी खनालले विशेष पत्रकार सम्मेलन भनेर प्रहरी प्रधान कार्यालयमै पत्रकारलाई बोलाए। र, तिनै डाटा देखाए।
पावरप्वाइन्ट प्रेजेन्टेसनमार्फत आइजिपी खनालले विप्लवका नेता कार्यकर्ता पक्राउ परेकादेखि आफू आइजिपी भएदेखिका कामहरुको जुन विवरण सुनाए, भृकुटीमण्डमा सुनाइएको भन्दा केही फरक थिएन। खालि संगठनकै गुनगान थियो।
निर्मला हत्याकाण्डका विषयमा जवाफ दिन राष्ट्रियसभाको संसदीय तथा राज्य व्यवस्था समितिले आइजिपी खनाललाई मंसिर २४ गते बोलाएको थियो। त्यहाँ पनि उनले आफूले गरेका कामहरुको बेलीविस्तार लगाउन भ्याए। ‘तपाईंहरु आलोचना मात्रै गर्नुहुन्छ? राम्रा कामहरुको पनि कुरा गर्नुस्। मैले बोलिरहनु पर्दैन डाटाले बोल्छ’ भन्दै आइजिपी खनालले पुन: पहिलेकै कुरा दोहोर्याएका थिए।
विभिन्न अपराधका ७३२ जना फरार व्यक्ति पक्राउ परेको सुनाउँदै उनले थपेका थिए, 'केही समयअघि सुन्ने गरेका थियौं- डोजर जलाए, क्रेन जलाए। बाटो निर्माण गर्न पाइएन। तर, विप्लव समूहका ३४७ नेताकार्यकर्ता पक्राउ पछि यो घटना सुन्नुपरेको छैन।' समग्र देशको शान्तिसुरक्षाको अवस्था पनि राम्रो रहेको आइजिपी खनालको दाबी थियो।'
सुन्नुस् अडियो-
तर, दुई दिनयता देशभर आगजनी र बम आतंक मच्चिएको छ। अहिले राजधानीसहित देशभर एक दर्जनभन्दा बढी स्थानमा बम पड्किएपछि सुरक्षा चुनौती बढेको भन्दै प्रहरीले राजधानीमा व्यापक प्रहरी परिचालन गरेको छ।
शुक्रबार राति ललितपुरस्थित नख्खुमा रहेको एनसेलको कार्यालयअगाडि भएको बम विस्फोटमा एक जनाको मृत्यु र दुई जना घाइते भएपछि प्रहरी झनै सशंकित बनेको छ। घाइतेलाई भेट्न गृहमन्त्री रामबहादुर थापा बादल, आइजिपी सर्वेन्द्र खनाल लगायत शनिबार बिहान मेडिसिटी अस्पताल पुगेका थिए।
बम विस्फोट कसले गरायो भन्न सक्ने अवस्थामा प्रहरी छैन। अहिलेसम्म ६ जना पक्राउ परिसकेको र त्यसमा विप्लवका कार्यकर्ताहरु पनि रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
संयोग नै होला, गृहमन्त्रीले त्यसो भनेको ११ दिनपछि हिजो देशभरका दर्जन ठाउँमा बम विस्फोट भयो। उक्त विस्फोट गृहमन्त्रीले लक्षित गरेर बोलेको समूहले नै गरेको हो वा अन्य समूहले, अहिले नै खुल्न सकेको अवस्था छैन।
प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा विप्लव समूहकै हात भएको बुझाइ छ। प्रहरीले उपत्यकामा ठूलो मात्रामा प्रहरी परिचालन गरेर विप्लव समूहका नेता कार्यकर्ताको खोजी पनि सुरु गरिसकेको छ।
गृहमन्त्रीले सुरक्षाकर्मीलाई भनेका थिए– चनाखो हुनू गृहमन्त्रीले माघ २९ गते मात्रै प्रहरी प्रष्ठिान महाराजगन्जमा सुरक्षाकर्मीलाई चनाखो हुन निर्देशन दिएका थिए। प्रहरी निरीक्षकको आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै उनले विप्लवलाई संकेत गर्दै प्रहरीलाई चनाखो हुन भने।
प्रहरीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले भनेका थिए, ‘राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने प्रवृत्ति अझै जारी छ। राष्ट्र र संविधानविरोधी गतिविधि, विविध लोभ र आकांक्षामा प्रदर्शित भइजाने गरेको देखन्छ। लोकतन्त्रमा विरोधको पनि मर्यादित शैली हुन्छ। त्यसमा सरकारको आपत्ति रहन्न। परन्तु देशलाई विखण्डनतर्फ लैजाने वा संविधानको मर्मविपरीत परिचालित समूहका गतिविधि भने सह्य हुँदैन। सुरक्षा निकाय यसतर्फ अत्यन्त चनाखो रहनुपर्छ।’
सुन्नुस् अडियो-
संयोग नै होला गृहमन्त्रीले त्यसो भनेको ११ दिनपछि हिजो देशभरका दर्जन ठाउँमा बम विस्फोट भयो। उक्त विस्फोट गृहमन्त्रीले लक्षित गरेर बोलेको समूहले नै गरेको हो वा अन्य समूहले, अहिले नै खुल्न सकेको अवस्था छैन।
एउटै समूहसँग पटकपटक औचित्यहीन वार्ताको परिणाम देशको आन्तरिक सुरक्षामा चुनौती देखिएका विभिन्न भूमिगत तथा राजनीतिक समूहसँग वार्ता गर्न भदौ ८ गते प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरिएको थियो। सो टोलीले अहिलेसम्म २३ वटा समूहसँग वार्ता भएको जनाएको छ। केही भूमिगत सशस्त्र समूहले हतियार पनि बुझाएका छन्। जसकारण देशको आन्तरिक सुरक्षा थप मजबुत भएको सरकारको दाबी थियो।
‘राजनीतिक व्यवहार गर्ने हो भने सरकारले क्लियर कुरा गर्नुपर्यो। होइन भने त्यही अनुसारको कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिनुपर्यो।'
तर यस्तो अभ्यास नौलो नभएको सुरक्षाविद् बताउँछन्। सरकारले यस्ता समूहसँग वार्ता गर्दा सुरक्षा निकायसँग राय लिएर मात्रै वार्ता गर्दा प्रभावकारी हुने सुरक्षा विज्ञ तथा पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन्। कुन समूहसँग वार्ता गर्ने, कुन समूहसँग वार्ता नगर्ने भन्ने राय सुरक्षा निकायसँग लिनुपर्ने हुन्छ। सुरक्षा निकायको राय बिना गरिएको सशस्त्र समूहसँगको वार्ताको औचित्य नहुने उनले बताए।
वार्ता नगरी सशस्त्र समूहकै रूपमा कारबाही गर्नुपर्ने समूहलाई पहिला पनि वार्ता गरेर समाधान गरिएको भनिँदै आएको थियो। तर तिनै सशस्त्र समूह पछि गएर आपराधिक गतिविधिमा संलग्न हुँदै आएका उदाहरण पनि छन्। तिनै समूहसँग सरकारले पटकपटक वार्ता गर्दै आएको छ।
कुन समूहलाई राजनीतिक व्यवहार गर्ने, कुनलाई विखण्डनकारी व्यवहार गर्ने भन्ने प्रष्ट नहुँदा विप्लव समूहलाई प्रहरीले कारबाही गर्न नसकेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले नेपाल लाइभलाई बताए। ‘राजनीतिक व्यवहार गर्ने हो भने सरकारले क्लियर कुरा गर्नुपर्यो। होइन भने त्यही अनुसारको कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिनुपर्यो,' ती अधिकारीले भने, ‘त्यसैको फाइदा उठाउँदै आपराधिक गतिविधि भइरहेका छन्। पछिल्लो घटना पनि त्यसैको उदाहरण हो।’
'विप्लवकाे गतिविधिले शान्ति सुरक्षामा थप चुनौती ल्याउनसक्ने'
नारायण अधिकारी
२o७५ फागुन २६ आइतबार| प्रकाशित o७:१६:oo
7Shares
Share
Tweet
Share
Email
काठमाडौं- अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) को कपिलवस्तुस्थित गाउँ शिवगढीमा प्रहरीले बिहीबार सर्च अपरेसन चलायो।
शिवराज नगरपालिका–९ स्थित शिवगढीलाई विप्लव समूहको 'मिनी रोल्पा' पनि भनिँदै आएको छ। ५ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोलीले शिवगढी गाउँमा संयुक्त सर्च अपरेसन चलाए।
कपिलवस्तुको चन्द्रौटा बजारदेखि करिब ५ किलोमिटर पश्चिम–दक्षिणको इलाका शिवगढी गाउँमा सर्थ अपरेसन गर्दा प्रहरीमाथि नै स्थानीय बासिन्दा जाइलागे। सो क्रममा दुई जना प्रहरी सामान्य घाइते भए। विप्लवको घरसहित गाउँ नै खानतलासी गर्ने क्रममा प्रहरीले ठूलो मात्रामा हतियार र विस्फोटक पदार्थसमेत बराद गर्न सफल भयो।
प्रहरीले एसएमजी २ थान, त्यसको गोली ६८ राउन्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, त्यसको गोली ३ राउन्ड, ५.५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) बरामद गर्यो।
यसभन्दा अघि फागुन १५ गते प्रदेश–१ प्रहरीले धरानबाट एलएमजी (लाइट मेसिन गन) र एम–१६ एकएक थानसहित विप्लव समूहका संगीत भनिने देवकुमार लिम्बूलाई पक्राउ गरेको थियो। मोरङ केराबारी गाउँपालिका–१० बाहुनीका ४२ वर्षीय लिम्बू मे ५ प ७५ नम्बरको मोटरसाइकल सवार थिए। उनलाई जाँच गर्दा उक्त हतियार फेला परको थियो। लिम्बूले बोराभित्र कपडाले र्याप गरेर हतियार लुकाएर हिँडेका थिए।
एक हप्ताको अन्तरालमा प्रहरीले विप्लव समूहबाट यति ठूलो मात्रामा अत्याधुनिक हतियार बरामद गरेको हो। अब स्वाभाविक रुपमा प्रश्न उठ्छ– उक्त हतियार कति खतरनाक छन्?
यसबारे सुरक्षा निकायले पनि मुख खोलेको छैन। तर सुरक्षा दृष्टिले हेर्ने हो भने यी अत्याधुनिक हतियार निकै खतरनाक देखिन्छन्। यसको संकेत विप्लव समूह कति शक्तिशाली बन्दै गएको छ भन्ने बलियो प्रमाण पनि हो। सरकारले समयमै सम्बोधन नगरे ठूलो सुरक्षा चुनौती आइलाग्ने सुरक्षा विज्ञहरु बताउँछन्।
'यस्ता गतिविधिका लागि राज्य संयन्त्र जति सचेत र तयार हुनुपर्ने हो, त्यसमा चुकिरहेको छ,' नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकाल भन्छन्, 'आगामी दिनमा यसले थप शान्ति सुरक्षामा चुनौती ल्याउन सक्ने देखिन्छ।'
राज्यले सम्बोधन गर्ने खालमा माग भए सम्बोधन गर्न सकिने र गैरकानुनी गतिविधि हो भने त्यही अनुसार कानुनी दायरामा ल्याई कारबाही गर्न सकिने उनी बताउँछन्।
बरामद हतियार कति खतरनाक? एम–१६ यो हतियार तीन सुरक्षा निकायमध्ये नेपाली सेनासँग मात्रै छ। एक लाख सेनामा एम–१६ त १५ हजार थानको हाराहारीमा मात्रै छ। अमेरिकी हतियार एम–१६ राइफल उत्कृष्ट पर्सनल हतियारको रुपमा चिनिन्छ।
बरामद एम–१६ ए २ भर्सन हतियार ५ दशमलव ५६ क्यालिभरको राइफल हो।
१०० दशमलव ६६ सेन्टिमिटर लामो एम–१६ को ब्यारल भने ५१ सेमी हुन्छ। यो हतियारको वजन म्याग्जिन र सिललिंग बाहेक ७ दशमलव ७८ पाउन्ड अर्थात् ३ किलो ५३ ग्राम हुन्छ। ३० राउण्ड गोली क्षमता भएको म्याग्जिन लोड गर्दा यसको वजन झन्डै ४ किलो हुन्छ।
यो हतियारको रेञ्ज क्षमता ५ सय ५० मिटर प्वाइन्ट टार्गेट हो भने ८ सय मिटरसम्म एरिया टार्गेटको रुपमा प्रयोग गर्न सकिन्छ। ३ किलोमिटर ६ सय मिटरसम्म यसले मार हान्न सक्छ। ३६ सय मिटर मार हान्दा ३ गोली बराबर १ गोली टार्गेट प्वाइन्टमा लाग्ने सुरक्षाकर्मीहरुले विश्वास गर्छन्।
यसको रेट अफ फायर भने प्रतिमिनेट ९० राउन्डससम्म हुन्छ। सेमी अटोमेटिकमा प्रतिमिनेट ४५ राउन्ड, अटोमेटिकमा ९० राउन्ड र स्टेसनमा १२ देखि १५ राउन्ड गोली प्रहार गर्न सक्ने क्षमता हुन्छ। यो हतियार आल्मोनियम र ब्यारलभित्र क्रोमो प्लेटिङबाट बनेको हुन्छ। यस किसिमको पर्सनल अमेरिकन हतियार एम–१६ निकै शक्तिशाली मानिन्छ। जुन विप्लव समूहबाट बरामद भइसकेको छ।
एलएमजी विप्लव समूहबाट बरामद गरिएको अर्को हतियार हो एलएमजी। यो एम–१६ भन्दा पनि बलियो हतियार मानिन्छ। सैनिक हवल्दारको कमान्डमा ११ जनाको एउटा सेक्सनमा एलएमजी दुई वटा हुन्छ। एलएमजी ११ जनाको सेक्सनको सबैभन्दा पावरफुल हतियार हो। यो हतियार लेस नायकले बोक्छन्।
एलएमजी हतियार माउन्ट गरेर बोक्न मिल्छ। जसका लागि बाइपोड र ट्राइपोड प्रयोग गरिन्छ। एलएमजी मेसिनगन भएकाले यो हतियार कुनै व्यक्तिले भन्दा पनि एउटा समूहले प्रयोग गर्छन्। भारतमा निर्मित यो हतियार एक समूहले अर्को समूहलाई लक्षित गरेर फाइरिङ गर्नुपर्दा प्रयोग गरिन्छ।
७ दशमलव ६२ क्यालिभर क्षमताको एलएमजीको लम्बाइ ११३० एमएम हुन्छ। यो मेसिनगनको वजन १९ पाउन्ड ५ औंस अर्थात् ९ किलो १ सय ८५ ग्राम हुन्छ। खाली म्याग्जिनसहित २० पाउन्ड हुन्छ। यसमा लाग्ने खाली म्याग्जिनको तौल ३ सय ९८ ग्राम हुन्छ। म्याग्जिनसहित गोली लोड भएपछि यसको तौल १० किलो २ सय ९१ ग्राम पुग्छ।
यसको रेञ्ज क्षमता बाइपडमा ५ सय मिटर, ट्राइपडमा १ हजार मिटर हुन्छ। साइड रेञ्ज भने २ हजार मिरटसम्म हुन्छ।
यो मेसिनगनले हवाईजहाज, हेलिकोप्टर खसाल्न पनि दुस्मनहरुले प्रयोग गर्छन्। २५ सय मिटरको उचाइको हवाईजहाज र हेलिकोप्टर खसाल्न सक्ने क्षमता एलएमजीसँग हुन्छ। एमएमजीमा ३० राउन्डसम्मको गोली लोड गर्न मिल्छ।
यो मेसिनगनमा सिंगल सट, साधारण ब्रष्ट, र्यापिड र साइक्लिक गरी चार वटा रेट अफ फायर हुन्छन्। आफ्नो आवश्यकता अनुसार कति चाँडो फायरिङ गर्नपर्ने हो त्यसै अनुसार रेट अफ फायर सेट गरेर गोली चलाउन मिल्छ।
५.५६ क्यालिभर विप्लवको गाउँबाट ५.५६ क्यालिभरको १ सय ३१ राउन्ड गोली पनि बरामद भएको थियो। यति ठूलो मात्रामा ५.५६ क्यालिभर हतियारको गोली बरामद हुनुले विप्लवसँग सो हतियार भएको पनि संकेत गर्छ।
५.५६ क्यालिभरमा ३ प्रकारका हतियार नेपाली सेनासँग छ। एउटा ५.५६ मिमि एच बार, अर्को ५.५६ मिमि इन्सास राइफल र तेस्रो ५.५६ मिमि एलएसडब्लु (लाइट सपोर्ट विपन) हो। यी तीन मध्ये कुनै एकको गोली बरामद गरेको हो प्रहरीले। यी तीन वटै हतियार नेपाली सेनाले २०५८ सालपछि भित्र्याएको थियो। यो हतियार पनि अत्याधुनिक मानिन्छ।
[EXCLUSIVE] प्रहरी नै संलग्न एउटा अपहरणको भित्रीकथा : निसाना एक, हत्या दुई
हवल्दार नै अपहरणकारीको सूचनादाता
नारायण अधिकारी
२o७५ फागुन २१ मंगलबार| प्रकाशित १८:३५:oo
659Shares
Share
Tweet
Share
Email
काठमाडौं– बाँकेको साबिक नेपालगन्ज नगरपालिका–१५ गुरुद्वार रोडका कपिलदेव द्विवेदी मेहनती र असल छात्रको रुपमा चिनिन्थे। बाबु नै शिक्षक भएर होला कपिल अनुशासित विद्यार्थीमा पर्थे।
उनको यही असलपन र तीक्ष्ण दिमागका कारण उनको घनिष्ट साथी बन्न पुगे लीलाधर भट्ट। लीलाधर र कपिल पढ्ने विद्यालय हो नेपालगन्जकै सुर्खेत रोडमा रहेको जय बागेश्वरी उच्च मावि। १५ वर्षका कपिल कक्षा ९ मा अध्ययनरत थिए भने १६ वर्षीय लीलाधर १० मा।
बैतडीको साबिक बाराकोट गाविस–१ घर भएका लीलाधरको परिवार कपिलकै घर नजिक नेपालगन्ज–१५ मा डेरा गरी बस्दै आएको थियो। त्यसबेला लीलाधरका बुबा डिकरदेव भट्ट प्रहरी नायव निरीक्षक (सई) का रुपमा कञ्चनपुरमा कार्यरत थिए।
यता कपिल भने आफ्नै बाबुको प्यारमा लडिबुडी गर्दै हुर्किए। त्यो सौभाग्य लीलाधरले पाएका थिएनन्। कपिलका बाबु सञ्जय द्विवेदी नेपालगन्जकै श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको प्राधानाध्यापक थिए। छोरो कपिलको घनिष्टको साथी लीलाधर भएकाले सञ्जय पनि लीलाधरलाई आफ्नै छोरोजत्तिकै माया गर्थे।
स्कुल जाँदा-आउँदा नछुट्ने कपिल र लीलाधरमा कुनै लोभ, पूर्वाग्रह, स्वार्थ थिएन। थियो त केवल एउटा नि:स्वार्थ साथीको सम्बन्ध।
कहिलेकाहीँ उनीहरु एकअर्काको घरमा पनि बस्थे। २०६७ असोज १४ गते लीलाधर कपिलको घरमा बस्न भन्दै आए।
साँझको ठ्याक्कै ६ बजिसकेको थियो। कपिल र लीलाधर नजिकैको बजार घुम्न भन्दै बाहिर निस्किए। तर उनीहरु झमक्क रात पर्दासम्म फर्किएनन्। आउँदै होला, कतै साथीको तिर गएर ढिलो पो भयो कि? यस्तै प्रश्नमा कल्पना गर्दै कपिलको पर्खाइमा थियो परिवार।
उता लीलाधरको परिवार भने साथी कपिलकहाँ गएकाले ढुक्क थियो।
कपिलकी आमा ऋचा र बाबु सञ्जयले आँखा झिमिक्क नगरी रात बिताए। भोलिपल्ट गुरुद्वारा रोडमा घामको उज्यालो नफैलँदै उनीहरु हराएको हल्ला फिँजिइसकेको थियो।
साँझको एकतर्फी त्यो कल १५ गते साँझ। युटिएलको ९७२८१६६३०... नम्बरबाट कपिलका बाबु सञ्जयलाई फोन आउँछ। केही आशा र निराश हुँदै सञ्जयले उक्त अपरिचित नम्बर रिसिभ गर्छन्।
‘तेरो छोरो हामीसँग छ। फिर्ता पठाउनुपर्ने भए ५० लाख तयार पार्नू। यसको जानकारी पत्रकार, प्रहरीलाई नगर्नू। परिणाम ठिक हुनेछैन,’ एकतर्फी यति भनिसकेपछि फोन काटिन्छ।
सञ्जयले पुन: उक्त नम्बरमा फोन लगाउन प्रयास गर्छन्। तर, मोबाइल स्वीच अफ भइसक्छ। अपरिचत नम्बरबाट धम्कीपूर्ण फोन गर्दै ५० लाख रुपैयाँ मागेपछि कपिल अपहरणमा परेको उनीहरुले जानकारी पाउँछन्।
त्यसको भोलिपल्ट असोज १६ गते अपहरणमा परेको जानकारी जिल्ला प्रहरी कार्यालय बाँकेमा पुग्छ। त्यसबेला बाँकेका प्रहरी प्रमुख एसपी महेशविक्रम शाह थिए। हाल उनी डिआइजी भएर कर्णली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन्।
यता प्रहरीलाई खबर गरेको अवस्थामा छोराको ज्यानै जाने धम्की आएकाले कपिलको परिवार भरपुर सूचना प्रहरीलाई दिनसमेत हिचकिचाउँछ।
९७२८१६६३०... नम्बरबाट फोन गरेर फिरौती मागिएको जानकारी पाएपछि प्रहरी उक्त नम्बरको कल डिटेल केलाउन थाल्छ। बिटिएस टावरमा ठोक्किएका अन्य नम्बरको पहिचान सुरु हुन्छ। पीडित परिवारसँग सोधपुछ गर्दै प्रहरीले अनुसन्धान बढाउँछ। तर दुई दिनसम्म कुनै नयाँ तथ्य प्रहरीले फेला पार्न सक्दैन।
अपहरणकारीले भने पटकपटक फोन गरेर कपिलका बुवा सञ्जयसँग फिरौती माग गरिरहेका हुन्छन्। एसपी शाहले फोन गरेका बेला अपहरणकारीको स्वर रेकर्ड गर्न बाबु सञ्जयलाई आग्रह गर्छन्। प्रहरीकै सुझाव अनुरुप असोज १७ गते उनले अपहरणकारीको स्वर रेकर्ड गर्छन्।
स्वर ठम्याउन प्रहरीलाई गाह्रो पर्छ। प्रहरीले नाकाहरुमा कडाइ गरेर चेकिङलाई तीव्रता दिन्छ। तर पनि कुनै चमत्कार हुँदैन। प्रहरी अनुसन्धानमा प्रगति भने न्यून छ।
सडकको बीचमा जब टाउको देखियो असोज १८ गते एसपी महेशविक्रम शाह अफिसमै बसिरहेका थिए।
बिहान ९ बजेर १२ मिनेट जाँदा अपरिचित नम्बरबाट उनलाई फोन आउँछ, ‘सर, सिद्धार्थ होटल पछाडिको खेतमा एउटा मान्छेको टाउको काटको लास छ। हामी त यहाँ जग्गा हेर्न आएको, डरायौं।’
उता दुई किशोरको अपहरण हुनु। यता टाउको काटेको अवस्थमा शव भेटिनु। पक्कै कुनै 'नेक्सस' छ भन्दै एसपी शाहको टोली घटनास्थलतर्फ लाग्छ।
बाँकेको साबिक खासकारकाँदो गाविस–४ को धान खेतबीचमा कच्ची सडक। सडकको डिलमा पानी जमेको खाल्डो। त्यही खाल्डो मास्तिर र सडकको किनारमा घोप्टो परेको एउटा किशोरको शव फेला पर्छ। टाउको भने सडकको बीच भागमा राखिएको छ। आङमा कालो पाइन्ट र रातो चेकसर्ट भएको उक्त शव अपहरणमा परेका मध्ये एक लीलाधर भट्टको भएको पुष्टि हुन्छ।
‘खसी काटेझैं टाउको र शरीर छुट्याइएको थियो। टाउको भने सडकको बीचमा राखिएको। शरीर सडकै किनारमा घोप्टो परेको। देख्दै कहाली लाग्दो,’ त्यसबेलाको दृश्य सम्झन्छन्, डिआइजी शाह।
'टाउको र जिउ छुट्टिएको लास देखिस् कि देखिनस्?' एकैछिनमा घटनास्थल स्थानीय बासिन्दाले घेरिन्छ। अपहरणमा परेका मध्ये एकको हत्या भइसकेको छ। अर्का किशोरको अवस्था अज्ञात छ। अपहरणकारीको नामोनिसान छैन। प्रहरीलाई थप चुनौती छ, अर्का किशोरको सकुशल उद्धार गर्न र अपहरणकारी पक्राउ गर्न।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई जिल्ला अस्पताल बाँके पठाउँछ।
त्यसपछि अपहरणकारीको खोजी सुरु हुन्छ। प्रहरीले लीलाधरको शव अस्पताल पठाएको केही समयपछि फेरि त्यही नम्बर ९७२८१६६३०... बाट कपिलका बाबु सञ्जयलाई फोन आउँछ, ‘छोराको साथीको टाउको काटेको लास देखिस् कि देखेको छैनस्? तुरुन्त पैसा ठिक पार्, नत्र तेरो छोरोको हालत पनि त्यस्तै हुन्छ।’
जब १० लाख फिरौतीमा मिल्यो कुरो अपहरणकारीले बेलाबेला फोन गर्दै फिरौतीका लागि बार्गेनिङ गरिरहेका थिए। प्रहरीले भने अपहरणकारीको सूक्ष्म निगरानी गरिरहेकै थियो। असोज १८ गते लीलाधरको शव भेटिएपछि दिनभर खोज्दा पनि अपहरणकारी र अपहरितको बारेमा कुनै नयाँ तथ्य फेला परेको थिएन।
५० लाख रुपैयाँ मागेको अपहरणकारी अन्तिममा २० लाख रुपैयाँसम्म झर्न सहमत भएका थिए। तर कपिलका बाबुले आफूसँग २० लाख रुपैयाँ दिने हैसियत नभएको भन्दै १० लाख रुपैयाँसम्म दिन राजी भएपछि अपहरणकारी सहमत भए। असोज १८ गते राति १० लाख रुपैयाँ फिरौती लिएपछि कपिललाई छाड्ने अपहरणकारीले बताए। उक्त कुरा प्रहरीलाई थाहा नदिन र दिए उनको ज्यान मार्ने धम्कीसमेत उनीहरुले दिए।
छोरालाई जसरी भए पनि मुक्त गर्नु थियो। बाबु सञ्जयले फिरौती बुझाउने कामको मध्यस्थताका लागि सिपी भनिने चन्द्रेश्वरप्रसाद सिंहलाई जिम्मा दिए। मानव अधिकार संस्थासँग नजिक भएका व्यक्ति भनेर उनी चिनिन्थे। विभिन्न भूमिगत समूहसँग पनि साँठगाँठ भएको भनेर त्यसबेला उनीमाथि आरोपसमेत लाग्ने गरेको थियो।
फिरौती बुझाउन जान लागेका चन्द्रेश्वरकै पिछा गर्दै सादा पोसाकका प्रहरी खटिने तयारी भयो।
यो सूचना अपहरणकारीको कानमा पुगिसकेको थियो। त्यसपछि अपहरणकारीले फोन गर्दै सञ्जयलाई भने, ‘सिपीको पछाडि प्रहरी पठाइराखेको छस्, छोरो बचाउन मन छैन तलाई।’
प्रहरी पिछा गर्दै आएको सूचना अपहरणकारीले कसरी पाए? प्रहरी आफैं तीनछक पर्यो।
प्रहरी गएपछि छोरोलाई मारिदिने धम्की आएपछि प्रहरीलाई नजान आग्रह गरे। पीडित परिवारको अनुनय विनयपछि प्रहरी पछि हट्न बाध्य भयो।
चन्द्रेश्वरले खजुरास्थित एबिसी इँटाभट्टामा गएर असोज १८ गते राति अपहरणकारीलाई १० लाख रुपैयाँ बुझाए। पैसा बुझेपछि त्यसको २ घन्टापछि कपिललाई धम्बोझी भन्ने ठाउँमा लगेर छाडिदिने आश्वासन दिए।
अब भने छोरो अपहरणमुक्त हुनेमा कपिलको परिवार ढुक्क भयो।
लोकेसन पुष्पलाल चोक असोज १८ गते राति १० लाख रुपैयाँ फिरौती बुझाएपछि कपिल अपहरणमुक्त हुने आश्वासन पाएको परिवार निराश हुन थालिसकेको थियो। किनकि २ घन्टामा रिहा गर्ने बताएका अपहरकारीले बिहान हुन लाग्दासम्म छाडेका थिएनन्। फिरौती बुझ्नासाथ अपहरणकारीको मोबाइल अफ भइसकेको थियो।
कपिल अपहरणमुक्त नभएपछि भोलिपल्ट असोज १९ गते ५ सयभन्दा बढी प्रहरी परिचालन गरी अपहरणकारीको खोजी सुरु भयो। बाबु सञ्जयलाई आउने नम्बर नै बेलाबेला अन/अफ हुने क्रम जारी थियो।
अन्तत: प्रहरीले उक्त मोबाइलको लोकेसन पत्ता लगायो– नेपालगन्जकै पुष्पलाल चोक।
वरपरका स्थानीयसँग सोधपुछ गर्दा पनि कपिलबारे कुनै जानकारी आएन। प्रहरीले शंकास्पद व्यक्तिका घर खानतलासी गर्यो। तर कुनै 'क्लु' फेला पर्न सकेन। दिनभर खोजी गरे पनि अपहरित कपिल र अपहरणकारीको नजिक प्रहरी पुग्न सकेन।
जब अपहरणकारीको आवाज पहिचान भयो अपहरणकारीको आवाज पहिल्यै प्रहरीले रेकर्ड गर्न लगाइसकेको थियो सञ्जयलाई। आवाज पत्ता लगाउन प्रहरीले अनुसन्धान पनि गरिरहेकै थियो। अपहरण भएको ५ दिनपछि असोज १९ गते उक्त आवाज पहिचान भयो, ती व्यक्ति थिए- आदर्श भनिने मेराज अहमद साई। उनी बाँकेको साबिक इन्द्रपुर गाविस–३ का स्थानीय हुन्।
मेराज साई तिनै व्यक्ति हुन्, जसले २०६६ चैत १२ गते महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज क्याम्पसका प्रमुख राजितराम पाठकलाई अपहरण गरेका थिए। सो घटनाका पीडित राजितराम र श्रीमती कृष्णाले मेराजकै स्वर भएको बताएपछि प्रहरीले उनको संलग्नता भएको नयाँ तथ्य निकालेको थियो।
मेराज सशस्त्र भूमिगत समूहको सैन्य कमान्डर थिए त्यसबेला। यसभन्दा अघि पनि विभिन्न अपहरण र हत्या लगायत मुद्दामा उनको नाम जोडिएको थियो। मेराजको संलग्नता भएको खुलेपछि प्रहरी झनै सशंकित भयो।
मेराजको स्वर पत्ता लगाइसकेपछि एसपी शाहले इन्द्रपुर गाउँलाई नै कभर्ड गरेर 'रेड' हान्ने योजना बनाए। त्यसबेला बाँकेका डिएसपी थिए, विनोद घिमिरे। १९ गते साँझ ७ बजेतिर डिएसपी घिमिरेलाई एसपी शाहले आफ्नो कार्यकक्षमा बोलाएर भने, ‘स्वर मेराजको हो भन्ने पहिचान भइसकेको छ। यसको परिवार पनि भारततिरै बस्ने गर्छन् रे। यो पनि भारत त छिरेन? त्यो गाउँलाई नै कभर्ड गरेर रेड हान्नुपर्यो।’
पहिला पनि प्रहरीको निगरानी अपहरणकारीलाई थाहा भएकाले त्यसतर्फ सतर्क हुन डिएसपी घिमिरेलाई एसपी शाहले निर्देशन दिए। १९ गते राति १२ बजे डिएसपी घिमिरेको नेतृत्वमा पूरै गाउँलाई घेरा हालेर खानतलासी गर्ने र मेराजको घरमा पनि रेड हान्ने योजना बन्यो।
डिएसपी घिमिरेले दुई वटा टोली बनाए। एउटाले गाउँलाई कभर्ड गरेर खानतलासी गर्ने, अर्को टोलीले मेराजको घरमा खानतलासी गर्ने। मेराजको घरमा भने डिएसपी घिमिरेलाई आफैं जान शाहले निर्देशन दिए।
टोली त्यही अनुसार राति पौने १२ बजे इन्द्रपुर–३ तर्फ लाग्यो।
मध्यरातमा चालकबिनाको स्टार्टिङ बाइक गाडीको गाइगुइँ थाहा पाउने भएकाले वरै पार्किङ गरेर प्रहरी टोली पैदलै मेराजको घरतर्फ लाग्यो। घर आउनुभन्दा पहिला सडकमा एउटा मोटरसाइकल स्टार्टिङ अवस्थामा थियो। तर, चालक थिएनन्। त्यसपछि डिएसपी घिमिरेले एसपी शाहलाई फोन गरेर भने, ‘सर मोटरसाइकल स्टार्ट छ तर मान्छे छैन।’
‘मोटरसाइकल सस्पेक्टको हुन पनि सक्छ। बिचार गर्नुस्। घर रेड हान्नुस्,’ एसपी शाहले निर्देशन दिए।
घर घेरा हालेर खानतलासी गरेपछि अन्तत: पक्राउ पर्छन्, मेराज।
उनी त्यसै रात भारत प्रवेश गर्न लागेका थिए। आमाबुवालाई भेटेर गइहाल्छु भनेर उनी मोटरसाइकल स्टार्टमै राखेर घर गएका थिए। केही समय ढिलो भएको भए उनी उम्किन पनि सक्थे। राति साढे १२ बजे उनी पक्राउ परे।
जब १० लाख फिरौतीले पनि बचाउन सकेन मेराज पक्राउ परेपछि प्रहरीले कपिलको अवस्थाबारे सोधपुछ सुरु गर्यो। तर उनले केही बताएनन्। २० गते बिहान भने प्रहरी अनुसन्धानकै क्रममा उनले हत्या गरिसकेको बताए। अपहरणकारी मेराजले १० लाख रुपैयाँ फिरौती लिएको राति ११ बजेतिर इन्द्रपुर गाविस–७ को मोतिपुरमा रहेको धानखेतको बीचमा तलाउको किनारमा घाँटी रेटेर हत्या गरी खाल्डो खनेर पुरेको बयान दिए।
मेराजले बताए अनुसार खोजी गर्दा घाँटी रेटेर हत्या गरी खाल्डोमा गाडेको अवस्थामा कपिलको शव असोज २० गते बिहान ९ बजे प्रहरीले फेला पार्यो।
घाँटी छिन्न केही इन्च मात्रै बाँकी थियो। करिब दुई फिट जमिन खनेर उत्तानो पारी गाडिएको शव प्रहरीले निकाल्यो।
अपहरित कपिलले आफूलाई पहिल्यैदेखि चिन्ने भएकाले फिरौती लिएर छाडिदिँदा पोल खुल्ने डरले हत्या गरेको मेराजले बताएका थिए। लीलाधरको हत्या भने कपिलको परिवारलाई आतंकित पारेर रकम असुल्न गरिएको अपहरणकारीको बयान थियो। मेराजलाई पक्राउ गरेपछि उनकै बयानका आधारमा हत्याको कारणहरु खुल्दै गए।
किन भयो अपहरण? कपिलका बुबा सञ्जय प्रधानाध्यापक रहेको विद्यालयको व्यवस्थापन समिति अध्यक्ष थिए, रामसुरेश कुर्मी बर्मा। सञ्जय र बर्माबीच आर्थिक स्रोतसाधन, जिल्ला शिक्षा कार्यालय बाँकेबाट प्राप्त लत्ताकपडा वितरणमा विवाद थियो। बर्मा यसो हिसाबकिताब मिलाएर खाऊँ भन्थे। तर प्राधानाध्यापक सञ्जय मान्दैनन्थे। उनी एकदमै इमानदार शिक्षकको रुपमा परिचित थिए।
उनको त्यही इमानदारी व्यवस्थापन समितिका अध्यक्ष बर्मालाई मन परेन। त्यसपछि बर्माले पख्लास् भन्दै धम्की दिएका थिए। त्यही कुरालाई रिसिबी बनाएर उनले आपराधिक गतिविधिका मान्छेको सहयोगमा किशोर कपिलको अपहरण योजना बनाए। कपिलकै घानमा सई डिकरदेव भट्टका छोरा लीलाधर पनि परे।
बर्माकै निर्देशनमा अपहरणको योजना बनेको थियो। जसका लागि उनले प्रयोग गरे मामाका छोरा मनोज बर्मालाई। मनोज र कपिल मिल्ने साथी थिए।
सोही पूर्वयोजना अनुरुप २०६७ असोज १४ गते नेपालगन्ज–१ का मनोज बर्मालेले कपिललाई इन्द्रपुर गाउँ घुम्न जाऊँ भनेर बोलाएका थिए। कपिलको घरमा आएका लीलाधर पनि उनीसँगै घुम्न भनेर निस्किएका थिए। त्यसपछि अपहरणमा परेका उनीहरु फर्केनन्।
पक्राउ परे हवल्दारदेखि मोस्ट वान्टेडसम्म मेराजकै बयानका आधारमा बाँके इन्द्रपुर–३ का राजितराम मनिहार, सोही ठाउँका रामसुरेश कुर्मी बर्मा, इब्राहिम मनिहार, रज्जब अलि साई र खासकारकाँदो गाविस–५ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी हवल्दार साकिर अलि बेहाना पक्राउ परे।
पटक-पटकका आफ्नो सूचना अपहरणकारीसम्म पुगेपछि प्रहरीलाई प्रहरीबाटै सूचना चुहिएको आशंका थियो। मेराजलाई पक्राउ गरेपछि प्रहरीले गरेको उक्त आशंका पनि सत्य साबित भयो। अपहरणकारीलाई सूचना दिनेमा थिए, हवल्दार साकिर अलि बेहाना।
त्यसैगरी इन्द्रपुर गाविस–३ का कैलाश कुमार गडरिया, इन्द्रपुर गाविस–४ बर्षादी भनिने नजिर खाँ, सोही ठाउँका राजितराम कुर्मी पक्राउ परे।
फिरौती असुल्न प्रयोग भएको त्यो सिम अपहरणपछि ९७२८१६६३०... नम्बरको युटिएलको सिम स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामसुरेश बर्माले ल्याएको अनुसन्धानबाट खुलेको थियो। त्यही सिममार्फत फोन गर्दै मेराज अहमद साईले कपिलका बाबु सञ्जयसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए।
तर त्यसबेला उनले आफ्नो परिचय खुलाएका थिएनन्। प्रहरीले उक्त सिमको बारेमा समेत अनुसन्धान गरेको थियो। उक्त युटिएलको सिम उमेश नाउ ठाकुरको नाममा दर्ता भएको पत्ता लाग्यो। यसबाट केही रहस्य खुल्ने आशा गरेको प्रहरी निराश भयो।
उमेश नाउ ठाकुरले उक्त सिम आफ्नै नागरिकता राखेर चेतना मोबाइल सेन्टर धम्बोझीबाट किनेका थिए।
नागरिकता दिएर सिम लिनुअगाडि नै चालु अवस्थामा रहेको अर्को सिम ९७२८१६६२७.. चेताना मोबाइल सेन्टरले उमेशलाई दिएको थियो।
पछि ठाकुरको नागरिकताबाट भने ९७२८१६६३०.. नम्बरको मोबाइल रामसुरेश कुर्मी बर्मालाई दिइएको थियो। सोही सिम अपहरणका लागि प्रयोग भयो।
हवल्दार नै अपहरणकारीका सूचनादाता अपहरणपश्चात् दुवै किशोरलाई स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामसुरेश कुर्मी बर्माको घरमा बन्धक बनाएर हत्या नहुन्जेलसम्म राखिएको थियो। उनकै निर्देशनमा मेराजले अपहरणको योजना बनाएका थिए।
अपहरणपछि प्रहरीले गरेको अनुसन्धान र अपरेसनको सूचना अपहरणकारीकहाँ तत्काल पुग्थ्यो। हवल्दार साकिर अलि बेहानाले इब्राहिम मनिहारमार्फत प्रहरी कारबाही र अनुसन्धानको सूचना दिने गरेको प्रहरी अनुसन्धानले पत्ता लगाएको थियो।
अपहरणको बारेमा असोज १४ गते नै इब्राहिम मनिहारले हवल्दार साकिरलाई जानकारी थिए। तर उनले उक्त कुरा कुनै प्रहरीलाई सेयर गरेका थिएनन्।
प्रहरी गतिविधिको सूचना दिएबापत हवल्दार साकिरलाई फिरौतीको रकमबाट ५० हजार दिने सहमतिसमेत भएको थियो। असोज १८ गते लीलाधरको हत्यापश्चात् प्रहरीको सर्च अपरेसन हुँदै गर्दा त्यसको जानकारीसमेत हवल्दार साकिरले अपहरणकारीलाई दिएका थिए।
त्यसबेला रुपैडिया गएर उनले ल्यान्डलाइन फोन प्रयोग गरी प्रहरीको सूचना दिएको पाइएको थियो। असोज १८ गते राति फिरौती रकम बुझाउन आउँदा कपिलको बुबाको पछिपछि प्रहरी समेत आउँदै गरेको सूचना पनि उनैले अपहरणकारीको कानसम्म पुर्याएका थिए।
क–कसले बाँडे फिरौतीको १० लाख? फिरौती रकम लिन मेराज अहमद साई, रामसुरेश बर्मा, रगौ भन्ने रिजवान साई र जियाउल सिद्धिकी गएको अनुसन्धानबाट खुलेको थियो। उनीहरुले फिरौती बापतको १० लाख रुपैयाँ बुझेका थिए।
उक्त रकममध्ये रामसुरेश बर्माले १ लाख ५० हजार रुपैयाँ लिए। मेराज र रिजवान साईले ३ लाख लिए। जियाउल सिद्धीकीले १ लाख ५० हजार र सूचना दिएबापत प्रहरी हवल्दार साकिरले ५० हजार रुपैयाँ लिए। बाँकी रकम अन्य अपहरणकारीले बाँडेका थिए।
सञ्जयको हस्ताक्षर भएको नोट मेराजको घरमा पीडित सञ्जय द्विवेदीले १० लाख रुपैयाँ फिरौती दिँदा ३० वटा रकममा आफ्नो हस्ताक्षर गरेर दिएका थिए।
अपहरण भएको ५ दिनपछि असोज १९ गते मेराजको घरमा छापा हानेर प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यसबेला उनको घरबाट प्रहरीले १ हजारका १० वटा नोट पनि बरामद गरेको थियो। ती मध्ये ४ वटामा कपिलका बुबा सञ्जयको हस्ताक्षरसमेत भेटियो। उक्त हस्ताक्षरलाई पछि विधि विज्ञान प्रयोगशालाबाट परीक्षण गर्दा सञ्जयकै भएको पुष्टि भएको थियो।
त्यस्तै, कपिल र लीलाधरको हत्यामा एउटै खुकुरी प्रयोग भएको पनि प्रहरीले फेला पारेको थियो। कपिललाई हत्या गरिसकेपछि लास गाड्न प्रयोग भएको फरुवा भने स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामसुरेश कुर्मी बर्माको थियो।
७८ वर्ष कैदको फैसला जिल्ला अदालत बाँकेले २०६९ मंसिर ३० गते कपिल र लीलाधरको अपहरण तथा हत्या मुद्दामा ८ जनालाई २० वर्ष जन्मकैद सुनायो। उहीहरुलाई नै अपहरण तथा शरीर बन्धक मुद्दामा १५ वर्ष, थप दुई वर्ष र नाबालकको हकमा दुई वर्ष गरी ३९ वर्ष जेल सजाय सुनायो। अपराधमा सघाउने जिल्ला प्रहरीका हवल्दार साकिर अली बेहनालाई भने ४४ वर्ष कैद तोकिएको छ।
मेराज, राजितराम कुर्मी, इब्राहिम मनिहार, कैलाश कुमार गडरिया, राम शोभित कुर्मी, सकिर अली बेहना, जियाउल सिद्दिकी लगायत ८ जनालाई जिल्ला न्यायाधीश शेखरप्रसाद पौड्यालको एकल इजलासले ७८ वर्ष कैदको फैसला सुनाएको थियो। दुई नाबालकको हत्या भएकाले सजाय दोब्बर भई यी ८ जनालाई ७८ वर्ष कैद तोकिएको हो। फिरौती बुझाउन मध्यस्थता गरेको अभियोग लागेका चन्द्रेश्वरप्रसाद सिंहले भने सफाइ पाएका थिए।
मुख्य योजनाकार रामसुरेश कुर्मी, रघव भन्ने रिजवान साई, शत्रुधन कुर्मी, कमलदिन गडरिया, जियाहुल साई र मनोज बर्मा फरार छन्। उनीहरूको हकमा मुद्दा मुल्तबीमा राखी पक्राउ वारेन्ट जारी गरिएको थियो। घटनालगत्तै फरार रहेका बाँके इन्द्रपुर–३ का रंगौ भनिने रिजवान साई ५ वर्षपछि २०७२ सालमा पक्राउ परेका छन्।
साना कुरा पनि प्रहरीलाई महत्वपूर्ण क्लु बन्न सक्छ स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामसुरेश बर्मा र सञ्जय मिल्ने साथी नै थिए। सञ्जयका छोरा कपिल रामसुरेशलाई अंकल भन्थे।
कपिल रामसुरेशको घर जानेआउने गर्थे। तर पछिल्लो समय रामसुरेश र सञ्जयबीच विवाद भएको थियो। रामसुरेशले पख्लास् भन्दै सञ्जयलाई धम्की पनि दिएका थिए। यो कुरा सञ्जयले प्रहरीलाई बताएका थिएनन्।
श्रीमती ऋचाले प्रहरीसमक्ष रामसुरेशसँगको विवादबारे सबै कुरा भन्न सञ्जयलाई आग्रह पनि गरेकी थिइन्। ‘हाम्रो बच्चालाई आफ्नो छोरा जस्तो माया गर्छ। उसको घर जाँदै अंकल भन्दै झ्याम्मिन्छ। एक पटक रिसायो भन्दैमा यस्तो आरोप लगाउनु हुँदैन। त्यस्तो पाप सोच्नु हुँदैन,’ भन्दै उल्टै श्रीमती ऋचालाई सञ्जयले गाली गरेका थिए।
जसको परिणाम अपहरणकारी सुरक्षित हुन पुगे र कपिलसहित दुई किशोरको हत्या भयो।
'पीडित पक्षले आफैले घटनाको विश्लेषण गर्छ, मूल्याकंन गर्छ अनि यति सानो कुरा के प्रहरीलाई भन्नु भन्छ। तर त्यो सानो कुरा प्रहरी अनुसन्धानमा महत्वपूर्ण बन्न सक्छ,' डिआइजी महेशविक्रम शाह भन्छन्, 'त्यही सानो कुरा सोचेर सञ्जयले रामसुरेशको बारेमा प्रहरीलाई नबताउँदा यस्तो घटना हुन पुग्यो।'
९ महिनाको हुँदा खोल्सामा फालिएका बालक तीन वर्षपछि भेटिए
Friday, Jan 06, 2017
08:03 AM ( 2 years ago )
Total Views: 122.7 K
68516701
नारायण अधिकारी/उज्यालो ।
काठमाडौं, पुस २२ – राति १२ बजे । साँगामा रहेको शिवको मूर्ति भन्दा तलको खोल्सा छेउ । च्याँ च्याँ च्याँ... गर्दै बच्चा रोएको आवाज आयो । पारिपट्टि शिवको विशाल मूर्ति र एकछिन पनि फुर्सद नहुने सडकले रातमा विश्राम पाएका थिए । अनकन्टार त्यो ठाउँमा राति बच्चा करायो । सुन्ने कतिपयले तर्साएको भने, कतिपयले सुने पनि वास्ता गरेनन् । गस्तीमा रहेका प्रहरीको कानमा एउटा आवाज ठोक्कियो च्याँ च्याँ च्याँ......। बच्चा करायो खोल्सामा । वरपर सुनसान छ । मध्यरातमा खोल्साको घारीमा बच्चाको आवाज छ । प्रहरीलाई शंका लाग्यो र बच्चा कराएतर्फ गस्ती टोली हिँड्यो ।
खोल्साको घारीमा बाँसको एउटा कोक्रो राखिएको छ । कोक्रो भित्रबाट आवाज आउँछ च्याँ च्याँ च्याँ.....। वरपर कोही छैन । अनकन्टार ठाउँमा एक्लो बच्चो कोक्रा भित्र रोइरहेको छ । प्रहरीले कोक्रोसहित ति बच्चालाई त्यहाँबाट उठायो ।
बच्चा अन्दाजी त्यस्तै सात आठ महिना जतिको हुनुपर्छ । न उ बोल्न सक्छ, न हिँडडुल गर्न । कसको बच्चा हो ? किन यहाँ छोडियो ? कसरी पत्ता लगाउने महानगरीय प्रहरी परिसर भक्तपुरलाई पनि आपत पर्यो । एकदिन प्रहरी चौकीमा राखेर अनुसन्धान गरेपनि बच्चाको बुबा आमा पत्ता लागेन ।
‘प्रहरीले आमा बुबा पत्ता नलागेपछि बच्चालाई फेला पारेको विवरणको चिठीसहित प्रहरी बच्चा लिएर हामी भए ठाउँमा आइपुगे’ बालबालिका खोजतलास तथा समन्वय केन्द्रका अनुसन्धान अधिकृत सन्तोषचन्द्र अधिकारीले भन्नुभयो । यो घटना २०६९ साल पुस २० गतेको हो ।
रामेछापका कैलाश मगर (नाम परिवर्तन) छोरो जन्मिएको तीन महिनापछि रोजगारीको सिलसिलामा दुबई गए । राम्रो कामसँगै दामको अपेक्षा र पारिवारिक सुखको आशा बोकेर दुबई गएका मगरले गएको ६ महिनापछि अर्थात छोरो ९ महिनाको भएपछि ५० हजार रुपैयाँ पठाए । श्रीमानले पठाएको ५० हजार रुपैयाँ श्रीमती रमिता (नाम परिवर्तन)ले झिकिन् ।
छोरो पाल्ने र पढाउने भन्दै श्रीमानले पठाएको ५० हजार रुपैयाँ ९ महिने छोरो बोकेर रमिता २०६९ पुस १९ गते रामेछापबाट काठमाडौं लागिन् । त्यसपछि उनी कहिल्यै परिवारको सम्पर्कमा आइनन् । श्रीमानसँग पनि सम्पर्कमा आइनन् । विस्तारै गाउँ परिवार विदेशमा रहेका श्रीमान कैलाशसम्म खबर पुग्यो ‘श्रीमती रमिता अरु नै कोहीसँग बिहे गरेर हिँडिन् ।’
श्रीमती अरुसँगै बिहे गरेर गएपनि तीन महिने छोरो छोडेर विदेश गएका कैलाशलाई छोराको मायाले सतायो । श्रीमती गएपनि ४÷५ वर्ष पुगेपछि छोरो आफैँले ल्याएर पाल्ने अठोट गरे कैलाशले । कैलाश यही आशामा विदेश बसे ।
विदेशको गएको तीन वर्ष पुग्नै लाग्दा कैलाशको घरमा बज्रपात पर्यो । उहाँको आमाले संसार छाड्नुभयो । आमा बितेपछि अन्तिम संस्कार गर्न नेपाल फर्किए कैलाश । यो २०७२ साल फागुनतिरको कुरा हो । आमाको संस्कार सकिएपछि आफ्नो छोरा खोज्नेतर्फ लागे उनी ।
चैत महिनाको एकदिन उनी काठमाडौंको तीनकुनेमा हिँड्दै थिए । सफा सुग्घर र खाइलाग्दो देखिएका कैलाशलाई उनकी पहिलाकी श्रीमती अर्थात रमिताले देखिन् । कैलाशलाई अंकमाल गर्दैै रमिता रोइन् । रमिता रुनुको त्यहाँ कुनै अर्थ थिएन । कैलाशले आफ्नो छोरा रमितासँग मागे ।
श्रीमती अरुसँगै बिहे गेरेर गएपनि छोरो ल्याउने उनको इच्छा थियो । ‘छोरो छैन’ रमिताले जवाफ फर्काइन् । ‘कहाँ छ छोरो ?’ कैलाशले सोधे । रमिताले आफ्नो विवरण सुनाइन् । ‘छोरो ११ बजे राति २०६९ साल पुस १९ गते साँगको शिवको सालिक मुन्तिरको खोल्सामा छाडेको ... ।’
कैलाशले महानगरीय प्रहरी परिसर भक्तपुरमा आफ्नो ९ महिने छोरा यसरी हराएको भनेर रमिताले भनेकै आधारमा उजुरी हाले । प्रहरीले तीन वर्षको अघिको फाइल पल्टायो । र कैलाशले दिएको उजुरी र प्रहरीले भेटेको एउटा बच्चाको माथि उल्लेखित विवरण मेल खायो ।
प्रहरीले बालबालिका खोजतलास तथा समन्वय केन्द्रमा पठायो कैलाशलाई । ‘तीन वर्ष अघिका फाइल पल्टायौं, दुई दिनपछि हामीले प्रहरीले पठाएको त्यो ९ महिने बच्चाको विवरण फेला पार्यौं’ केन्द्रका अनुसन्धान अधिकृत सन्तोषचन्द्र अधिकारीले भन्नुभयो ।
बालबालिका खोजतलास तथा समन्वय केन्द्रले ति ९ महिने बालकलाई समुदाय वातवरण तथा बाल विकास संघ कालोपुललाई संरक्षणका लागि दिएको थियो । बच्चाका आमा बुबा फेला परेको बेला जुनसुकै अवस्थामा पनि बच्चा फिर्ता गर्ने सर्तसहित केन्द्र त्यो बच्चा बाल विकास संघलाई दिएको थियो ।
बच्चा फेला पर्दाको फोटो र अहिलेको बच्चाको फोटोमा केही मेल खायो । कैलाशका छरछिमेकलाई पनि बोलाएपछि सबैले यो कैलाशकै बच्चा भएको भने । विभिन्न संस्थाको समन्वयमा बच्चाको र कैलाशको डिएनए परीक्षण गरियो । अन्ततः पुष्टि भयो । त्यो बच्चा कैलाशकै रहेछ ।
आश मारिकसेको छोरा फेला परेपछि कैलाश पनि दङ्ग छन् । श्रीमती अरुसँग विहे गरेपनि त्यो कलिलो बालकलाई सँगै लगेको होला भनेर ढुक्कसाथ बसेका कैलाश जब छोरालाई जंगलमा छाडेको थाहा पाए ।त्यसपछि उनले छोराको माया लगभग मारिसकेका थिए । पछि प्रहरी र बालबालिका खोजतलास केन्द्रको सहयोगमा तीन वर्षपछि आफ्नो छोरा पत्ता लागेपछि उनी खुसीले गदगद् छन् । यसरी नाता प्रमाणित भएपछि २०७२ चैत २९ गते ति बालक उनका बुबा कैलाशलाई हस्तान्तरण गरियो ।
उता बालबालिका खोजतलास केन्द्र पनि आफूले निकै मेहनत गरेर बालकको बुबा पत्ता लगाएर जिम्मा लगाएकोमा खुसी छ । ‘म आएपछि यस्ता धेरै घटना भए तर यो घटनाले मेरो मन छोइरहन्छ, मान्छेको मन कति कठोर हुँदो रहेछ, दुःख पनि लाग्छ’ केन्द्रका अनुसन्धान अधिकृत अधिकारी भन्नुहुन्छ ।
अहिले ति बालक काठमाडौंको गोकणस्थित स्वर्ण शिक्षा स्कुलमा युकेजीमा पढ्दैछन् । बालक ठूलोबुबा कुमारसँग बसेर पढ्दैछन् । हामीले कुमारलाई सम्पर्क गर्दा बालक नजिकैको भैरव चौरमा खेलिरहेका थिए ।