Saturday, April 11, 2020

रेस्क्यू र हतियारधारी पक्राउ गर्न ल्याइएको मेसिन लकडाउनमा प्रभावक


64x64
नारायण अधिकारीबुधबार, चैत १९, २०७६, ११:२९

काठमाडौं- काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्नेलाई नेपाल प्रहरीले अहिले हातैले च्याप्प समात्दैन। सुरुका दिनमा हातैले समाते पनि लकडाउन भएको दुई/तीन दिनपछि भने प्रहरीले मेसिनमार्फत नियन्त्रणमा लिँदै आएको छ। 
यसरी मान्छेलाई पक्राउ गर्न प्रहरीले ल्याएको मेसिनको नाम हो- मल्टिफंसनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस।




नेपाल प्रहरीले प्रयोगमा ल्याएको यो मेसिन कोरोना भाइरसका संक्रमित र संक्रमणको आशंका गरिएका व्यक्तिलाई पक्राउ गर्न भनेर ल्याएको भने होइन। र, यो एकाएक अहिले नै आएको पनि होइन।
नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीका अनुसार यो मेसिन आजभन्दा तीन वर्षअघि नै नेपाल प्रहरीले विशेष प्रयोजनाका लागि भनेर ल्याएको थियो। 
तर यी मेसिन प्रयोगमा भने आएका थिएनन्। अहिले एकाएक प्रयोगमा आएको देखिएकाले कोरोना भाइरस संक्रमित र संक्रमणको आशंका गरिएका व्यक्तिलाई पक्राउ गर्न ल्याइएको होला विमर्श हुनु स्वभाविक हो।
के प्रयोजनाका लागि ल्याइएको थियो?
विशेषगरी २०७२ सालमा भूकम्प गएपछि यसप्रकारको मेसिनको आवश्यकता महसुस गरिएको थियो। भूकम्पमा घर भत्किएर बीचमा च्यापिएर अड्केका मान्छे बाहिर निकाल्न सुरक्षाकर्मीलाई निकै असहज भएको थियो। सुरक्षाकर्मी त्यो चेपमा छिर्न नै गाह्रो र जोखिम थियो। त्यसबेला नेपालमा उद्दारमा खटिएका विदेशी सुरक्षाकर्मीले समेत यसप्रकारको मेसिनमार्फत च्यापिएका मान्छेको उद्दार र शव निकाल्ने गरेका थिए।
त्यस्तै प्रयोजनाका लागि भनेर त्यसपछि नेपाल प्रहरीले यो मेसिन भित्र्याएको थियो। त्यही मेसिन नै अहिले कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिलाई पक्राउ गर्न प्रयोग गरिएको हो। 
अहिलेको अवस्थामा यो मेसिनको प्रयोग निकै प्रभावकारी रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख तथा डिआइजी विश्वराज पोखरेल बताउँछन्।
‘कोरोना संक्रमण फैलिन सक्ने भएकाले प्रहरीले पनि आफू जोगिदै सोसल डिस्टान्स कायम गर्दै मान्छेहरु नियन्त्रण गर्नु पर्ने अवस्थामा यो मेसिन निकै प्रभावकारी भएको छ’, पोखरेलले भने, ‘प्रहरीमा यदि संक्रमण रहेछ भने पक्राउ पर्ने सर्वसाधारणमा पनि नसर्ने भयो। सर्वसाधारणबाट पनि प्रहरीलाई नसर्ने भयो।’
यो मेसिन त्यसबेला विशेषत दुई वटा कामका लागि ल्याइएको थियो।
पहिलो, कुनै पनि संदिग्ध व्यक्ति पक्राउ गर्नुपर्ने छ। तर उ छुरा, खुकरीजस्ता धारिलो हतियार बोकेर बसेको छ। र, पक्राउ गर्न जाँदा प्रहरीलाई आक्रमण गर्ने सम्भावना छ भने यो मेसिनको प्रयोग गरेर मान्छे पक्राउ गरिन्छ।
दोस्रो, गुफा तथा खोँचमा मान्छे फसेको वा च्यापिएको छ तर सुरक्षाकर्मीले मात्रै उद्दार गर्न सम्भव छैन भने यो मेसिनको सहयताले उद्दार गर्न सहज हुन्छ। यिनै प्रयोजनका लागि प्रहरीले यो मेसिन भित्र्याएको हो।
तर अहिले विश्वभर माहामारीको रुपमा लिएको कोरोना भाइरसको संक्रमणबाट जोखिन यही मेसिनमार्फत प्रहरीले पक्राउ गर्न थालेको छ। बोगटी भन्छन्, ‘यसबाट पक्राउ गर्ने सुरक्षाकर्मी पनि सुरक्षित हुने भए। सोसल डिस्टान्स पनि कामय हुने भयो। यो निकै प्रभावकारी भएको छ।’
हेडक्वाटरमा थन्काएर राखेको ६ वटा मेसिन ल्याएर काठमाडौं प्रहरीले सुरुमा काम गरेको थियो। यो निकै प्रभावकारी भएपछि थप तीन वटा मेसिन ल्याएर काम गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यकाका मान्छेको बढी चाप हुने क्षेत्रका वृत्तहरुलाई अहिले यो डिभाइस उपलब्ध गराइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटी बताउँछन्।
के छ यसको विशेषता?
प्रहरीले प्रयोगमा ल्याएको मल्टिफंसनल मेसिन ३ मिटर लामो छ। तर यसलाई आवश्यकता अनुसार यसभदा छोटो पनि बनाउन मिल्छ। अर्थात्, यो मेसिन फोल्ड गर्न मिल्ने किसिमको छ। 
यसले अटोमेटिक स्वीचमार्फत काम गर्छ। स्वीचमार्फत तै फोल्ड हुने, स्वीचमार्फत नै चोक खुल्ने र मान्छे पक्राउ गरिसकेपछि चोक लक हुने गर्छ।
यसरी चोक खुल्ने र च्याप्ने काम स्प्रीङमार्फत हुन्छ। मान्छेलाई नियन्त्रणमा लिएपछि दायाँबाँया चहलपहल गर्न सक्दैन। त्यसपछि प्रहरीले आफूले चाहेको ठाउँमा धकेलेर लान सक्छन्।

पक्राउ गर्न खोज्दा प्रहरी भ्यानकै 'लुकिङ ग्लास' फुटाइदिए जगदम्बाका सुलभ अग्रवालले


64x64
नारायण अधिकारीमंगलबार, चैत २५, २०७६, १५:३१

काठमाडौं- शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवालले कोरोना महामारीको मौका छोपेर २० हजार थान थर्मल गन (ज्वरो नाप्ने यन्त्र) ल्याएको भन्ने सूचना प्रहरीमा आयो। प्रहरीले उनका गतिविधि नियालेर मंगलबार उनलाई पक्राउ पनि गरेको छ। 




'थर्मल गन प्रतिगोटा १५ हजारका दरले बेच्दै कोलोबजारी गर्ने गरेको सूचना आएपछि एक सातादेखि अग्रवालका पछि लागेका थियौं,' अनुसन्धानमा संलग्न एक अधिकारीले नेपाल लाइभसँग भने। त्यसपछि प्रहरी आफैं ग्राहक बनेर ती थर्मल गन किन्न खोजेको थियो।
एक सातासम्म अग्रवालले सुराकी हो कि वास्तविक ग्राहक हो भनेर भेरिफाइ गरेका थिए। उनको भेरिफाइले ग्राहक बनेका व्यक्ति वास्तवमा नै ग्राहक हो भन्ने निष्कर्षमा पुगेपछि मंगलबार प्रतिगोटा १५ हजार रुपैयाँका दरले १० लाख बराबरको थर्मल गन किन्ने सहमति भयो। भेट गर्ने स्थान उनै अग्रवालले तोके, नक्साल।
कुटनीतिक नियोगको २०९ एचसिसी १ नम्बरको गाडीमा ६७ वटा थर्मल गन बोकेर अग्रवाल नक्साल पुगे। उता महानगरीय प्रहरी अपराध महाशाखाका सादा पोसाकका प्रहरी ती सामान किन्न भनेर नक्साल पुगेका थिए। सँगै पछिपछि थियो प्रहरीको भ्यान। डिल थियो, प्रति गोटा १५ हजार। ५ हजार रुपैयाँ पनि नपर्ने ती थर्मल गन १५ हजार गोटा बेच्न लागेपछि प्रहरीले अग्रवाललाई समात्यो र भ्यानमा हाल्यो।
‘भ्यानमा हाल्ने बेला अग्रवालले प्रहरीमाथि हातपात गरे। अझ हाम्रै गाडीको लुकिङ ग्लाससमेत फुटाइदिए,’ अग्रवाललाई पक्राउ गर्न खटिएका एक उच्च अधिकारीले नेपाल लाइभसँग भने। 
अपराध महाशाखालाई आएको सूचना अनुसार अग्रवालले चीनबाट २० हजार थान थर्मल गन ल्याएका थिए। पक्राउ परेका अग्रवाललाई सरकारी वकिलको कार्यालय मार्फत् जिल्ला प्रशासन कार्यालय बुझाइने महाशाखाले जनाएको छ। 
‘भिआइपी भनेर हामी छाड्दैनौं। कानूनी प्रक्रिया पूरा गर्न प्रशासनसम्म पुर्‍याउँछौं। छाड्ने वा हिरासतमा राख्ने प्रशासनकै हातमा छ,’ महाशाखाका एक अनुसन्धान अधिकारीले भने।

प्रहरीबाट आर्मी हुँदै जनमुक्ति सेनाको कमान्डर बनेका लडाकुको जेलयात्रा


64x64
नारायण अधिकारीबुधबार, चैत २६, २०७६, १४:५६

काठमाडौं- रातको साँढे ३ बजे ढोका ढक्ढक्याउँदै आदेशात्मक शैलीमा स्वर सुनियो, ‘ढोका खोल्नुस्।’ को हो? किन? के भयो? जस्ता प्रश्न मनमै खुम्च्याउँदै वृद्ध तुलाराम भगत ढोका खोल्छन्। चारपाँच जनाको समूहमा आएका व्यक्तिले तुलारामका सुतिरहेका ३८ वर्षीय जवान छोरो झलकुमार (झलक)को हातमा हत्कडी लगाउँछन्।
‘किन? के गरेँ मैलै?’ झलक प्रश्न गर्छन्। 




‘सबैकुरा चौकी गएपछि थाहा हुन्छ,’ जवाफ फर्काउँदै घरमै सुतिरहेका झलकलाई ओछ्यानबाटै उठाएर प्रहरी बाहिरियो। यो २०७४ मंसिर ८ गते विराटनगर महानगरपालिका-१ स्थित झलकको आफ्नै घरमा भएको घटना हो। 
जिल्ला प्रहरी कार्यालय मोरङ पुर्‍याएपछि झलकलाई पक्राउको कारणबारे जानकारी दिइन्छ। नेत्रविक्रम चन्द (विप्लव) नेकपामा लागेको र चुनाव बिथोल्न सक्रिय देखिएकाले सुरक्षा थ्रेटका कारण पक्राउ गरिएको मोरङका तत्कालीन एसपी मनोजकुमार केसीले बताउँछन्।
जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक अपराधको कसुरमा म्याद लिएर प्रहरीले झलकमाथि अनुसन्धान थाल्यो। मंसिर १९ गते जिल्ला प्रशासन कार्यालयले झलकलाई साधारण तारेखकमा छाड्न आदेश दियो। 
ओछ्यानबाटै पक्राउ परेका झलक प्रहरीको हिरासतबाट त छुट्छन्। तर साढे २ वर्षसम्म पनि उनी घर फर्कन पाएका छैनन् । अझ दुखको कुरो त्यसयता उनी सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका छन्। 
000
ओछ्यानबाटै पक्राउ परेर सार्वजनिक अपराधको कसुरबाट समेत रिहा भएका झलकले कसरी पाए जन्मकैद? यो प्रश्नको उत्तर खोज्न दुई दशकअघि फर्कनुपर्ने हुन्छ।
झलक गरिब थारु परिवारमा जन्मिएका थिए। दैनिक काम नगरी परिवारको मुखमा माड लाग्दैनथ्यो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको द्वन्द्वले उग्र रूप लिइरहकै बेला उनी २०५८ सालमा सशस्त्र प्रहरी बल (एपिएफ)मा सिपाहीका रुपमा भर्ती भए। त्यसपछि २०६१ सालसम्म उनले सशस्त्र प्रहरीको सुनसरीस्थित पकली ब्यारेकमै रहेर काम गरे।
२०६१ सालमा घरबिदा भनेर ब्यारेकबाट बाहिरिएका झकल पकली ब्यारेक फर्किएनन्।
‘सशस्त्रबाट घर चलाउन गाह्रो। सेनामा भर्ना भए मिसनमा समेत जान पाइने भएकाले सेनामा भर्ना भएँ,’ समरी जनरल सैनिक अदालतमा दिएको बयानमा उनले भनेका छन्।
घरबिदा भनेर गएका भलक २०६१ असार १ गते धरानस्थित सेनाको फुस्रे क्याम्पबाट सिपाहीमा भर्ना भए। नेपाली सेनाको विष्णुदल गुल्म (हाल गण)मा एक वर्ष बिताए। सेनाको गणमा पनि उनको मन अडिइरहेको भने थिएन। 
'कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन..। एक दुई हार हुन सक्छ। तर मुटु इस्पात बन्छ' जस्ता गीतले मोआवादीबाट घोषित जनपक्षीय एजेन्डाबाट र यस्ता क्रान्तिकारी गीतले मलाई सेनाबाट विद्रोह गरेर देश र जनताको मुक्तिको लागि माओवादी आन्दोलनमा जान प्रेरित गर्‍यो। मैले विद्रोह गरेँ। सेनाको सिपाहीबाट जनमुक्ति सेनामा प्रवेश गरेँ,’ झलकले भनेका छन्।
000
झलक सशस्त्र प्रहरीबाट तत्कालीन शाही सेना हुँदै जनमुक्ति सेना बनिसकेका थिए। अब उनमा जागिरे मानसिकता हरायो। मात्रै देश र जनताको मुक्तिका लागि जनमुक्ति सेनामा गएको उनले बयानमा भनेका छन्।
उनी रित्तै जनमुक्ति सेनामा गएका थिएनन्। आफूसँग भएको हतियारले मात्रै नपुगेर उनले साथीको हतियारसमेत लिएर सेनाको ब्यारेकबाट बाहिरिएका थिए।
आफ्नो साथमा रहेको इन्सास राइफल १ थान, यसका म्याग्जिन ४ थान, ५ सय राउन्ड गोली, सिपाही भीमबहादुर खड्काको नाममा दर्ता भएको गलिल राइफल १ थान, यसको म्याग्जिन ४ थान, ३ सय राउन्ड गोली र २ वटा ग्रिनेट लिएर उनी ब्यारेकबाट २०६२ साउन ८ गते राति साढे १० बजे बाहिरिएका थिए।समरी जनरल सैनिक अदालतका अध्यक्ष सहायक रथी काजीबहादुर खत्री, सदस्यहरू प्रमुख सेनानी मनोज थापा, सेनानी श्यामशरण गोतामे र प्राड विवाक प्राड राजकुमार रञ्जितको इजलासले २०७४ पुस १३ गते झलकलाई सोध्यो- यत्रो हतियार लिएर तपाईं कसरी ब्यारेकबाट भाग्नु भयो?’
‘म हातहतियार लिएर लाइनबाट करिब २ सयदेखि २ सय ५० मिटरमा रहेको ट्वाइलेट नजिकै रहेको तारबार नाघी सेनाको चुस्तामै भागेको हुँ,’ हतियार लिएर उम्किएको दिन सम्झदै उनले बयान दिएका थिए।
अत्याधुनिक हतियार लिएर नेपाली सेनाको बर्दीमै ब्यारेकबाट भागेका झलक त्यसपछि भोजपुरको श्यामलीला स्कूल नजिकैको डाँडाको एक अपरिचित व्यक्तिको घरमा बास बसे। भागेको रात र अर्को दिन उनी त्यही घरमा बसे। बेलुका उक्त घरबाट निस्केर सुन्तले जाने बाटोको डाँडाछेउको एक अपरिचित मान्छेको घरमा बास बसे।
त्यहाँ खाना खाए। त्यसपछि घरधनीसँग कपडा मागेर लगाए। बर्दी फुकालेर झोलामा हाले। त्यहाँबाट केही अगाडि गएपछि झलकको भेट दुई जना माओवादी कार्यकर्तासँग भयो।
‘सेनाबाट विद्रोह गरेर हतियारसहित आएको हुँ भनेर सबै कुरा सुनाएँ। उनीहरूले विश्वास गरे। त्यसपछि हामी फर्किएर पुनः कपडा फेरेको घरमा गएर हतियार लिएर निस्क्यौं,’ बयानमा झलकले भनेका छन्, ‘उनै दुई कार्यकर्ताले भोजपुरको च्याङ्ग्रे बजार लगेर एरिया कमान्डर शैलेन्द्र भुजेलसँग भेट गराए।’
झलकले लगेको उक्त हतियार शैलेन्द्रसँगै दोस्रो डिभिजनअन्तर्गत १६ बटालियन कमिसार दीपेश राईलाई बुझाए। अब भने उनी ढुक्कले सास फेर्ने भइसकेका थिए। सेनाबाट सुरक्षित भइसकेको महसुस गरेका थिए।
000
केही दिनपछि सिग्नलमार्फत् खबर आएपछि झलक र शैलेन्द्र १६औं बटालिन भोजपुर गएका थिए। घोरेटार माविमा झलकको स्वागतमा आयोजना भएको कार्यक्रममा बटालियन कमान्डर तथा राजनीतिक कमिसार दीपेश राई जिल्ला सक्रेटरी सिर्जना ढकाल, जिल्ला इन्चार्ज सावित्री काफ्ले (समर)सहितको उपस्थितिमा हतियार बुझाउने कार्यक्रम भयो। 
त्यसपछि उनी एरिया कमान्डर शैलेन्द्र भुजेलसँगै च्याङ्ग्रे बजारतर्फ फर्किए। केही दिनपछि झलक शैलेन्द्रसँगै डिभिजन कार्यालय सकलपुर, मोरङ गए। सकलपुरका डिभिजन कमान्डर राजेश, सहायक कमान्डर प्रमोद र कमिसार सन्तोषसँग भेट भयो। केही दिन सकलपुरमै उनले बिताए। 
दोस्रो डिभिजन अन्तर्गत दुई वटा कार्यालय, एक विशालकुमार स्मृति ब्रिगेड अर्को रामवृक्ष ब्रिगेड थिए। रामवृक्षको प्लाटुन कमान्डरको जिम्मेवारी दिई झलकलाई पठाइयो। सशस्त्र र आर्मीका सिपाही झलक अब जनमुक्ति सेनाको कमान्डर बनिसकेका थिए।
रामवृक्षका ब्रिगेड कमान्डर नरेश, कमिसार विकास राई र सहायक कमिसार आरसी शर्मा (विज्ञान) थिए।
000
पहिलाको दुश्मन जनमुक्ति सेना अब उनको आफ्नो बनेको थियो। नेपाली सेना भने दुश्मन। अब उनी सेनाविरुद्धै लड्नुपर्ने बेला आइसकेको थियो। 
तत्कालीन पोलिटब्युरो सदस्य (पिबिएम) हरिबोल गजुरेलको कमान्डमा आक्रमणको योजना बन्यो। झलकलाई हेडक्वार्टरमा राखेर डिभिजनस्तरीय घोरेटार मोर्चाले यसको आयोजना गरेको थियो। यही मोर्चामा थिए भलक। यो आक्रमणमा माओवादीले ठूलो क्षति व्यहर्नु परेको थियो। त्यसपछि सबै आ-आफ्नो कार्यक्षेत्र फर्किए।
त्यसको केही समयपछि फेरि हरिबोलकै कमान्डरमा मलंगवा मोर्चाका योजना बनाई आक्रमणको तयारी गरियो। यसमा पनि जनमुक्ति सेनाको तर्फबाट झलक नै खटिएका थिए। यो आक्रमणमा माओवादीतर्फका ६६ जनाको ज्यान गएको थियो। माओवादीले त्यसबेला सिडिओ समेतलाई आफ्नो कब्जामा राखेर केही दिनपछि छाडेका थिए। 
जनमुक्ति सेना क्यान्टोन्मेन्टमा राखी समायोजनाको कुरा उठ्यो। त्यसपछि उनी माओवादीकै युवा दस्ता वाइसिएलमा गए। प्रचण्डको सुरक्षा खटिँदा भलकले सेनाबाटै लिएर भागेको अत्याधुनिक हतियार बोकेर उभिएको सेनाको सुराकीले दाबी गरेको छ।
यतिन्जेल राजनीतिले धरै कोल्टे फेरिसकेको थियो। सात राजनैतिक दलसहित माओवादीले राजतन्त्रविरुद्ध संयुक्त रूपमा आन्दोलन गर्ने सहमति भइसकेको थियो। उक्त सहमतिसँगै युद्ध रोकिएपछि झलक आफ्नै गृहजिल्ला मोरङलाई कार्यक्षेत्र बनाएर पहिलो डिभिजनमा खटिए।
पछि जनमुक्ति सेना क्यान्टोन्मेन्टमा राखी समायोजनाको कुरा उठ्यो। त्यसपछि उनी माओवादीकै युवा दस्ता वाइसिएलमा गए। २०६३ मंसिर १९ देखि तीन दिनसम्म काठमाडौंको बालाजुमा वाइसिएलको राष्ट्रिय भेला चल्यो। भेलामा प्रचण्डको सुरक्षा खटिँदा भलकले सेनाबाटै लिएर भागेको अत्याधुनिक हतियार बोकेर उभिएको सेनाको सुराकीले दाबी गरेको छ।
यसलाई झलकसमेत नकार्दैनन्। पछि यही कुरा प्रचण्डले लेखेको पार्टीको दस्तावेजमा समेत छापिएको भन्दै हरिबोलले समेत उक्त दस्तावेज देखाएको झलकले बताएका छन्। 
यसरी सशस्त्र प्रहरीबाट आर्मी हुँदै जनमुक्ति सेना, वाइसिएल र पछि नेत्रविक्रम चन्द विप्लव पार्टीमा आबद्ध भएका झलक अहिले मध्यक्षेत्रीय कारागार कार्यालय सिमलटारी, भीमफेदीको (क) ब्लकमा बन्दी जीवन बिताइरहेका छन्।
000
जसको हतियारबाट प्रचण्डलाई सुरक्षा दिइयो। जसले आह्वान गरेको युद्धमा होमिइयो। उनी अहिले गृहमन्त्री छन्। जसलाई ढाल बनाएर माओवादीले युद्ध लड्यो, जसको काँधमा राखेर माओवादीले बन्दुक पड्कायो, जसका जनमुक्ति सेनाको कमान्डर अहिले उपराष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म भइसकेको छन्। जनमुक्ति सेनाका पावेल (वासुदेव घिमिरे) समायोजनबाट अहिले नेपाल आर्मीको लफ्टिनेन्ट कर्णेल छन्। उनीसँगै मोर्चामा लडेका झलकलाई सेनाले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ।
२०७४ मंसिर १९ गते जिल्ला प्रशासन कार्यालयले साधारण तारेखमा झलकलाई छाड्ने आदेश दिए पनि प्रहरीले उनलाई पुनः पक्राउ गरिसकेको थियो। कारण थियो, सेनाको इटहरी ब्यारेकमा बुझाउन लेखिएको पत्र। 
नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी ब्यारेक सुनसरीबाट पत्र संख्या १४६२८ नम्बरमार्फत् झलक हतियारसहित भागेका भगौडा आर्मी भएकाले उनलाई बुझाउन भन्दै सेनाले मोरङ प्रहरीलाई पत्र लेखेको थियो। त्यसपछि उनी प्रशासन परिसरबाटै पक्राउ गरेर प्रहरीले सेनालाई बुझाएको थियो। 
‘पूर्वी पृतना हेडक्वार्टरमा मलाई केही समय सोधपुछ गरेपछि डोरीले हातखुट्टा बाँधियो। कालो कपडा लगाएर आँखा बन्द गराइयो। अमानवीय र क्रुर व्यवहार गर्दै, कुट्दै हेलिकोप्टरमा राखेर सैनिक प्रहरी गण, जंगी अड्डा भद्रकालीमा गैरकानूनी थुनामा राखियो,’ झलकको तर्फबाट दाजु नन्दुलाले सर्वोच्चमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा उल्लेख गरिएको छ। दाजूले दायर गरेको उक्त रिट २०७४ चैत ४ गते खारेज भयो। 
आफ्नो साथमा रहेको हतियार लिएर भागेको, उक्त हतियार शत्रुलाई बुझाएको, ती हतियार युएनद्धारा प्रमाणीकरण गरी सेनाको टु. मु. तोपखाना डिपोमा राखिएकाले शत्रुलाई हतियार बुझाएको भन्ने पुष्टि भएको, सशस्त्र प्रहरीको विभागीय स्वीकृति बिनै बदनियतले सेनामा भर्ना भएकोलगायत तथ्य देखाउँदै समरी जनरल सैनिक अदालतले २०७४ पुस १७ गते झलकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनायो।
त्यसपछि उनलाई केन्द्रीय कारागार सुन्धारामा राखियो। त्यहाँबाट सरुवा गर्दै हाल झलकलाई भीमफेदी कारागारमा छन्। समरी जनरल सैनिक अदालतको फैसलाविरुद्ध झलकले सैनिक विशेष अदालतमा पुनरावेदन गरे। सैनिक विशेष अदालतले पनि समरी जनरल सैनिक अदालतकै फैसला सदर गर्‍यो।
000
सैनिक अदालतको यस्तो फैसलापछि उनले सेना, प्रधानमन्त्री, गृहमन्त्रालयलगायतलाई विपक्षी बनाउँदै दोस्रो पटक सर्वोच्चमा रिद दायर गर्दै सैनिक अदालतकको फैसलालाई उल्ट्याए कैदमुक्त हुनुपर्ने माग गरेका थिए। 
उनले जनयुद्ध लडेको पार्टी तत्कालीन एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनेको छ। यसका एक अध्यक्ष केपी शर्मा ओली अहिले सरकारको नेतृत्व गरिरहेकै छन्। पार्टी एकभएपछि जनयुद्धको हिस्सा ओलीमा पनि जान्छ। तर प्रधानमन्त्री ओलीले भने झलकलाई सैनिक अदालतले सुनाएको फैसला नै सदर छ र झलकले हालेको रिट खारेज गरी पाउँ भन्दै सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन्।
शान्ति सम्झौता विपरीत जन्मकैदको सजाय भोगेका झलककी श्रीमती वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छिन्। दुई छोरामध्ये ११ वर्षको जेठो छोरा ब्लड क्यान्सर रोगसँग जुधिरहेका छन्। 
‘त्यसबेला मैले मृत्युलाई ठूलो देखिनँ। बरु देश र जनताको पक्षमा राजनैतिक परिर्वतनको लागि नेकपा माओवादीका नेतासमक्ष विद्रोह गरेर आउँछु भन्ने वचन पूरा गर्ने कार्यलाई महान काम ठानेँ। पूरा पनि गरेँ। एकातिर आज मेरो घर परिवार घरव्यवहार विगत भन्दा पनि अस्तव्यस्त छ। अर्कोतर्फ म निवेदक जन्मकैद भोग्दै छु,’ सैनिक अदालतले सुनाएको सर्वस्वसहितको जन्मकैदको फैसलाविरुद्ध झलकले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा उल्लेख छ।

'मति बिग्रियो' भन्दै जगदम्बाका सुलभले गरे प्रहरीसँग बिलौना, अस्पताल लैजान दबाब


64x64
नारायण अधिकारीबिहीबार, चैत २७, २०७६, २२:२४

काठमाडौं- कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवालले गल्ती स्वीकार गर्दै गर्न नहुने काम गर्न पुगेको बयान दिएका छन्। मंगलबार दिउँसो करिब २४ सय पर्ने थर्मल गन कालोबजारी गरेर १५ हजारमा बेच्न लाग्दा पक्राउ परेका अग्रवालले सुरुमा आफ्नै स्टाफका लागि सामान ल्याएको र कालोबजारी नगरेको दाबी गरेका थिए।
महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा रहेका अग्रवालले बिहीबार भने आफ्नो गल्ती स्वीकार गरेका छन्। दरबारमार्ग प्रहरी स्रोतले नेपाल लाइभसँग अग्रवालको भनाइ उदृत गर्दै भन्यो, ‘म अर्बपति मान्छे। जाबो १० हजारमा लोभिएँ। मति बिग्रियो। दशा लाग्यो सर।’ 
 



दिउँसो दरबारमार्ग वृत्तमा सुलभका बाबुसमेत उनलाई भेट्न गएका थिए। बाबुले समेत ८/१० लाखको मतलब नगर्ने मान्छे। दसा लागेर के गर्न पुगेछ भन्दै बिलौना गरेर फर्किएका थिए।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई आफैं ग्राहक बनेर थर्मल गन अर्डर गरेर किन्न पुगेको थियो। अग्रवाल कूटनीतिक नियोगको २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मलगन राखेर बेच्न नक्साल पुगेका थिए। त्यही बेला प्रहरीले उनलाई पक्राउ गरेको हो। 

त्यसरात महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएका उनी बिरामीको नाटक गर्दै अस्पताल भर्ना हुने दाउमा थिए। सोहीअनुसार उनले छाती दुख्यो भन्दै कराउन थालेपछि प्रहरीले उनलाई वीर अस्पताल पुर्‍याएको थियो। प्रहरीले वीर अस्पताल पुर्‍याएपछि जाँचमा सबै रिपोर्ट नर्मल देखिएपछि उनलाई पुनः फर्काएर हिरासतमै राखिएको थियो। 
बुधबार कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक हप्ता हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई पुन फर्काएर दरबारमार्गकै हिरासतमा राखिएको छ। यद्यपि, उनी भने अझै बिरामी भएको बताउँदै प्रहरीलाई अस्पताल लैजान आग्रह गरिरहेको स्रोतले जानकारी दियो। त्यसैगरी, केही व्यापारीले प्रहरीलाई फोन गरेर अस्पताल भर्ना हुने वातारण मिलाइदिन आग्रह गरेका थिए।  
‘अहिलेसम्म कुनै उच्च ओहदाका नेताहरुको छोड्नु पर्‍यो, अस्पताल भर्ना गर्नुपर्‍यो भन्दै फोन आएको छैन। केही व्यापारी भने अझै फोन गरेर दबाब दिने गरेका छन्,’ स्रोतले भन्यो।
अग्रवाल पक्राउ परेसँगै प्रहरीले उनले ल्याएका २० हजार थर्मल गनमध्ये अरुको पनि खोजी सुरु गरेको छ। प्रहरीले उनको बालुवाटारस्थित घर  र नक्साल प्रहरी प्रधान कार्यालय अगाडिको उनको अफिसमा समेत छापा हानेको थियो। तर रित्तो हात फर्कनु परेको थियो। अन्य थर्मलगनबारे प्रहरीले आज पनि अग्रवालसँग सोधपुछ गरेको थियो। तर उनले भने प्रहरीसमक्ष न्यूरोडमै १ सय ५० थान किनेको र अरु पहिल्यै बेचिसकेको भन्दै झुटो बयान दिएका छन्। 
अग्रवालले ती थर्मलगन चीनको गोन्जाउबाट चैत २१ गते ल्याएका थिए। अग्रवालको कम्पनीले चीनबाट सेटिङमा आफ्नो मात्रै सामान ल्याएको थियो।

सीमामा लकडाउन : वारि घर पारि खेती, मकैबारीमा लुक्छन्, आउँछन्


64x64
नारायण अधिकारीशुक्रबार, चैत २८, २०७६, १७:२४

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन गर्‍यो। भारतीय सिमासमेत बन्द भयो। अहिले भारतका विभिन्न प्रान्तमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ।
सीमाबाट आउजाउ नहोस् भनेर भारतका नेपालीको हेरचाहको जिम्मा भारत सरकारले लिएको छ। नेपालमा रहेका भारतीय नागरिकको हेरचाहको जिम्मा नेपाल सरकारले। सीमाबाट लुकेर हुनसक्ने आवतजावत रोक्न सशस्त्र प्रहरीको संख्या बढाइएको छ, सिमामा। 





सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रवीण श्रेष्ठका अनुसार अहिले भारतीय सीमा नाकाबाट नेपाल प्रवेश गर्न खोज्नेलाई रोक्न सीमानाकामा साढे ५ हजार सशस्त्र प्रहरी परिचालित छन्। पहिला परिचालित जनशक्तिमा २ हजार २ सय ८० जनशक्ति थप गरियो।
पहिला १ सय २० ठाउँ सशस्त्रका बोर्डर आउट पोस्ट (बिओपी) थिए। लकडाउनपछि ८ सय ५ स्थानमा टेन्ट राखेर अस्थायी पोस्ट बनाइएको छ। सशस्त्रका  अनुसार प्रत्येक दुई किलोमिटरको फरकमा अस्थायी पोस्ट स्थापना गरिएको छ। उक्त पोस्टबाट ५-६ वटा टोली गस्तीमा समेत निस्कन्छ।  
यति गर्दापनि अवैध नेपाल प्रवेश भने रोकिएको छैन। बिहीबार मात्रै सशस्त्र प्रहरीले दक्षिण सीमा नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने ५ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ।
अझ जोखिम नै मोलेर नदीमा हाफ फालेर नेपाल प्रवेश गर्न थालेपछि सशस्त्रले त्यस्ता ठाउँमा ड्युटी खटाएको छ। प्रवक्ता श्रेष्ठका अनुसार नदिमा पौडिएर नेपाल आउनबाट रोक्न दार्चुलामा ४ र बैतडीका ५ स्थानमा सशस्त्र प्रहरीको ड्युटी छ। तैपनि, भारतीय सिमामा अड्किएका नेपाली ज्यानकै बाजी लगाएर पौडिएरै आउन खोज्ने क्रम रोकिएको छैन।
मकैबारीबाट नेपाल प्रवेश
भारतसँग ६१ दशमलव ९ किलोमटर सीमा जोडिएको जिल्ला हो, सुनसरी। यस जिल्लामा सशस्त्र प्रहरी बलका ९ वटा बिओपी थिए। लकडाउन सुरु भएपछि भारतबाट नेपाल भित्रन सक्ने अवस्थालाई मध्यनजर गर्दै थप १० वटा अस्थायी पोस्ट स्थापना गरिएको ४ नम्बर गण हेडक्वार्टर सुनसरीका एसपी कृष्ण ढकालले बताए। 
४ नम्बर गण र बाहिनीबाट १ सय जना जनशक्ति थप गरी १० वटा अस्थायी अस्थायी पोस्ट स्थापना गरिएको ढकालको भनाइ छ। ५१ वटा नाकाहरुबाट मान्छे आउजाउ गर्नसक्ने भन्दै त्यहाँ ड्युटी खटाइएको सशस्त्रले जनाएको छ।
सुनसरीका सबै बिओपीको गाडीमा, गणका गाडीमा समेत गरी करिब १५ वटा गाडीमा माइकिङ गरेर लकडाउन उल्लंघन गर्न नहुने भन्दै सचेत गराए पनि उल्लंघन गर्ने काम अझै नरोकिएको छैन।
सुनसरीमा अहिले मुख्य चुनौती भएको लुकेर नेपाल प्रवेश गर्ने रहेको ढकालले नेपाल लाइभलाई बताए। ‘अहिले खेतमा मकै हुर्किसकेका छन्। हाम्रो नाका खुल्ला छ। छिटफुट रुपमा मकैबारीमा लुकेर नेपाल प्रवेश गर्ने गरेको पाइएको छ। हामीले गस्ती बढाएपछि त्यो क्रम भने रोकिएको छ,’ एसपी ढकालले भने।
सुनसरीमा नागरिकहरुलाई लकडाउन किन भनेर बुझाउन नसिकएको अर्को चुनौती रहेको एसपी ढकाल स्वीकार्छन्। सुनसरीका सबै बिओपीको गाडीमा, गणका गाडीमा समेत गरी करिब १५ वटा गाडीमा माइकिङ गरेर लकडाउन उल्लंघन गर्न नहुने भन्दै सचेत गराए पनि उल्लंघन गर्ने काम अझै नरोकिएको उनले बताए।
‘हामी लकडाउन उल्लंघन गर्नु हुँदैन भनेर भनिरहेका छौं। तर उल्लंघन हुन छाडेको छैन। साँझ ५ बजेपछि हुर्रर सडकमा निस्कने चलन छ।  यसमा स्थानीय तहले पनि राम्रोसँग बुझाउनुपर्ने आवश्यक छ। त्यहाँनेर स्थानीय तहको 'ल्याप्सेस' भएको देखियो’ एसपी ढकालले भने।
एसएसबीको सहयोग छ, अवस्था कन्ट्रोलमै छ
३० नम्बर गण गण हेडक्वार्टर बाँकेका एसपी दीपक अधिकारी भने सुरुका दिनमा सीमा नाकाबाट प्रवेश गर्न खोजे पनि अहिले अवस्था त्यस्तो नरहेको दाबी गर्छन्।
‘सुरुका दिनमा केही चुनौती देखिएको थियो। अहिले काउन्टरपार्ट एसएसबीले पनि कडाइ गरेकाले खासै समस्या छैन’ एसपी अधिकारी भन्छन्, ‘नेपालबाट भारत प्रवेश गर्न खोज्नेलाई हामीले राकेका छौं। भारतबाट उता छिर्न खोज्नेलाई एसएसबीले रोकेको छ।
६५ किलोमिटर भारतीय सीमासँग जोडिएको बाँकेमा पनि लकडाउनपछि विभिन्न नाकामा ६ वटा अस्थायी बिओपी थप गरेको छ। फरवार्ड बेसका रुपमा दुई वटा युनिट खडा गरिएको छ।
‘अहिले जनशक्ति थप गरेर 'आइ डिस्टान्स' ड्युटीमा राखेका छौं,’ एसपी अधिकारीले प्रष्ट्याए, ‘एकले अर्कोलाई देखिने गरी ड्युटी राखिएको हो।’ यसका लागि बाँकेमा १ सय ८१ जना सशस्त्र प्रहरीको जनशक्ति समेत थप गरिएको छ। नेपाल प्रवेश गर्न खोज्ने १ सय ८१ जना नेपालीलाई सीमा नाकामै क्वारेन्टाइनमा राखिएको छ।
नयाँ मान्छे देख्नासाथ खबर आउँछ
१२ नम्बर गण हेडक्वाटर बाराका एसपी दिग्विजय सुवेदीले भारतबाट प्रवेश गर्न खोज्नेको निगरानी गर्न सीमा नाका स्थानीय तहमा वडास्तरीय निगरानी समिति नै गठन गरिएको बताए। 
‘सीमा नाकाका वडाहरुमा वडाध्यको अध्यक्षतामा समिति गठन गरेका छौं। त्यसमा सुरक्षाकर्मी र राजनीतिक दलका स्थानीय प्रतिनिधि समावेश हुन्छ। कोही नयाँ मान्छे आफ्नो वडा गाउँमा प्रवेश गरेको थाहा पाउने बित्तिकै त्यो समितिले खबर गर्छ। र, त्यसलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौं,’ एसपी सुवेदीले भने।
'वारि बसोबास भएको मान्छेको खेती पारि छ। पारिका मान्छेको खेती वारि छ,’ एसपी तिउसिनाले भने, ‘यस्तो हुँदा आउजाउमा समस्या देखिएको छ। बाली थन्काउन जान नदिने भन्ने कुरा पनि भएन।’
कोही नयाँ मान्छे भारतबाट गाउँ प्रवेश गरिहालेको अवस्थामा त्यस्तो मान्छेलाई सुरक्षा निकायले चिन्न नसक्ने भएकाले यो समिति गठन गरिएको उनको भनाइ छ।
बारामा पहिला ७ वटा बिओपी थिए। उक्त बिओपी मातहत अहिले ११ वटा फरवार्ड बेसक्याम्प स्थापना गरिएको छ। भारतसँग ६० किलोमिटर सीमा जोडिएको बारामा पहिला ३० किलोमिटर मात्रै ड्युटी हुन्थ्यो।
तर अहिले भने ८० वटा एपिएफ पोइन्ट स्थापना गरेर हरेक दिन ५ देखि ७ सय मिटरको दुरीको फरकमा ड्युटी खटाइएको छ। जसमा एक सशस्त्र प्रहरीले अर्को सशस्त्र प्रहरीलाई सहजै देख्न सक्ने अवस्था मिलाइएको छ। यसका लागि बारामा २ सय जना जनशक्ति थप गरिएको छ। 
त्यसैगरी, नेपालबाट भारत प्रवेश गर्न खोज्ने १४ जाना भारतीयलाई पक्राउ गरेर कलैयास्थित कवारेन्टाइनमा राखिएको सुवेदीले जानकारी दिए। नेपाल प्रवेश गर्न खोज्ने ५ जना नेपालीलाई समेत एसएसबीले भारतमै क्वारेन्टाइनमा राखेको उनको भनाइ छ।
बास नेपालमा, खेतिपाती भारतमा हुँदा समस्या
दक्षिणी सीमा नाकाको धरै ठाउँको समस्या बसोबास एक देशमा हुनु र अर्को देशमा हुँदा समस्या भएको पाइएको छ। यस्तै समस्या कैलालीमा रहेको ३४ नम्बर गण हेडक्वाटर कैलालीका एसपी कमलप्रसाद तिउसिनाले बताए।
‘अहिलेको समस्या भनेको गुहँबाली भित्र्याउने बेला छ। वारि बसोबास भएको मान्छेको खेती पारि छ। पारिका मान्छेको खेती वारि छ,’ एसपी तिउसिनाले भने, ‘यस्तो हुँदा आउजाउमा समस्या देखिएको छ। बाली थन्काउन जान नदिने भन्ने कुरा पनि भएन।’
यस्तो अवस्थामा उनीहरुको लगत राखेर आउजाउ गर्न दिइएको उनको भनाइ छ। यस्तै समस्या बारामा पनि रहेको सुवेदीको भनाइ छ। यसका लागि बारामा सशस्त्र प्रहरीले स्थानीय स्तरमा रेकर्ड राखेर मान्छे आएपछि खेतीपाती गरेर फर्केको नर्फर्केको कन्फर्म गर्ने गरेको सुवेदीले बताए। 
भारतसँग १०१ किलोकिलोमिटरसीमा जोडिएको कैलालीमा मुख्य तीन वटा नाका छन्। एउटा त्रिनगर गौरीफन्टा नाका, दोस्रो खक्रौला नाका र तेस्रो छोटी नाका भजनी। भजनी नाका पूर्ण रुपमा बन्द गरिएको छ। खक्रौलाबाट पनि फाट्टफुट्ट अत्यावश्यक सामानका गाडी आवतजावत गर्ने गरेका छन्। त्रिनगर गौरीफन्टाबाट भने अत्याआवश्यक सामान बोकेका गाडी दैनिक २५ देखि ३५ वटासम्म आउजाउ गर्ने गरेको तिउसिनाको भनाइ छ। 
कैलालीमा पहिला पहिला चार वटा बिओपी थिए। अहिले भने ७ ठाउँमा ठूलो चेक पोइन्ट राखिएको छ। त्यहाँबाट ५० स्थानमा ड्युटीमा सशस्त्र प्रहरी खटिँदै आएको छ। 
नेपाल प्रवेश गर्न खोज्ने नेपालीलाई एसएसबीसँग समन्वय गरेर भारतमै क्वारेन्टाइनमा राखिएको छ। अहिले ५५ जना भारतमा क्वारेन्टाइनमा छन्। नेपालबाट भारत प्रवेश गर्न खोज्ने ४२ जना भारतीय नागरिकलाई पनि मित्रनगरस्थित स्कुलमा क्वारेन्टाइनमा राखिएको छ।