Saturday, April 11, 2020

जसले फैलाए भ्रमको संक्रमण


64x64
नारायण अधिकारीआइतबार, चैत ९, २०७६, १६:०५

काठमाडौं– कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन सबै सतर्क छन्। नयाँ जानकारी आउने बित्तिकै आँखा,कान चनाखो बनाउँछन्। तर, नयाँ जानकारीका नाममा भ्रम फैलाउन उद्यत छन्, केही व्यक्तिहरू। नेपालमा कोरोना भाइरसको संक्रमण हालसम्म पाइएको छैन तर मानवरूपी ‘कोरोना’ले फैलाएको भ्रम भाइरसको चपेटमा भने नेपालीहरु परिसके। 
कोरोना भाइरस मान्छेबाट मान्छेमा सरिरहेको छ भने भ्रम भाइरस सामाजिक सञ्जालमार्फत्। फेसबुक, ट्वीटर, म्यासेन्जर, टिकटक लगायतका सञ्जालमा कोरोना भाइरसबारे अफवाह फैलाएर आतंकित पार्नेहरु सक्रिय छन्। उनीहरुले अफवाह फैलाउँदा सर्वसाधरण आतंकित बनेका छन्।



अफवाह फैलाउनेमा सामान्य व्यक्तिदेखि डाक्टरसम्म छन्। उनीहरुले सत्यजसरी भ्रम फैलाएपछि विश्वमा तीव्र फैलिरहेको कोरोनाबाट आतंकित नेपालीको धड्कन झन् बढ्छ। नेपालीहरुमा अझै ‘मेडिकल लिटरेसी’ कमजोर छ। स्वास्थ्यका विषयमा जसले जे भने पनि पत्याउँछन्। त्यसैमाथि डा अघि लागेका व्यक्तिको मुखबाट निस्किएको हरेक बोली धेरै नेपालीका लागि ‘वाणी’ बराबर हुन्छ। वाणी अर्थात् झुट ठहर्ने विषयमा कल्पनासम्म गर्न सकिन्न।
यसलाई मध्यनजर नगरी डा सुन्दरमणि दीक्षितले अभिव्यक्ति दिए। काठमाडौंमा भएको एक कार्यक्रममा कोरोनाको परीक्षण गर्ने किट नेपालमा नभएको र परीक्षण नै नगरी नेगेटिभ देखाएको दाबी गरे। नेपालमा कोरोना नरहेको भनेर सरकारी निकायले झुट बोलेको उनको दाबी थियो। अर्थात् नेपालमा कोरोना छ तर जाँचपड्ताल अभावका कारण देखिएको छैन।
सरकारको तयारीमाथिको प्रश्न थियो सायद। तर, यो जनतालाई आतंकित बनाउने ‘प्रेस्क्रिप्सन’ जस्तो भयो। क्लिकमा डलर देखिरहेका युट्युबेहरुका लागि सनसनी फैलाउने मसला। चिकित्सकीय जिम्मेवारीमा समस्या उजागर मात्रै पर्दैन, समाधानको उपाय पनि हुन्छ। ‘इभिडेन्स’मा टेकेर मात्रै बोल्ने शिक्षा चिकित्सा विज्ञानले दिएको उनले बिर्सिदा यो अवस्था आयो।
कोरोना भाइरसको संक्रमणको त्रास जनतालाई आतंकित बनाउने ‘प्रेस्क्रिप्सन’ जस्तो भयो। क्लिकमा डलर देखिरहेका युट्युबेहरुका लागि सनसनी फैलाउने मसला।
उक्त अभिव्यक्तिबाट अफबाह फैलिएको भन्दै डा दिक्षितलाई कारबाही गर्नुपर्ने माग समेत भएको थियो। गत बिहीबार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले दीक्षितलाई कारबाही गर्नुपर्ने धारणा राखे। तर, उनीमाथि कुनै कारबाही भने भएको छैन।
जनतामाझ आतंक फैलाएर आफ्नो ‘गोजी अनलाइन’लाई ‘खोजी अनलाइन’ बनाउन लागिपरेका एकजना भने पक्राउ परेका छन्। यस्ता अन्य व्यक्तिमाथि पनि निगरानी बढाइएको नेपाल प्रहरीले जनाएको छ।
शुक्रबार राति १० बजेतिर रामेछापको खाँडादेवी गाउँपालिका घर भएका २० वर्षीय विवेक थापा मगरलाई आफ्नो फेसबुक पेजमा ‘लाइक’ बढाउने आत्मघाती जुक्ति फुर्‍यो। उनले एउटा अडियो रेकर्ड गरेर पोष्ट गरे। अडियोमार्फत् उनले भनेका थिए, ‘नर्भिक अस्पतालमा जाँच गरिएका ९ जना मध्ये ६ जनालाई कोरोना भाइरस भएको पुष्टि भएको छ। यो न्युज मिडियामा पनि आउँदैन। सरकारल नै लुकाएको छ।’
यो सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो। सामाजिक सञ्जालमार्फत फैलिएको यो भ्रम भाइरसबाट सर्वसाधारण आतंकित भए। उक्त अडियो म्यासेन्जरमार्फत धमाधम शेयर हुन थाल्यो। प्रहरीकहाँ यसबारे जानकारी पुगेपछि अफवाह फैलाउने विवेकलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको छ। शनिबार भक्तपुरबाट पक्राउ गरेको हो। 
उनीविरुद्ध दुईटा कसुरमा अनुसन्धान सुरु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए। अदालत बन्द भए पनि म्याद थपका लागि डेस्क खुला रहनेछ। म्याद थप गरेर उनीमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार सार्वजनिक शान्ति विरुद्धको कसुरमा कारबाही गर्न अनुसन्धान सुरु गरिएको छ। अर्को विद्युतीय कारोबार ऐन २०६३को कसुरमा समेत उनलाई कारबाही हुने भएको छ। 
सार्वजनिक शान्ति विरुद्धको कसुरमा झुटा अफवाह फैलाउन नहुने कुरा उल्लेख छ। जस अन्तर्गत १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ। विद्युतीय कारोबार ऐन अनुसार भने एकलाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ। 
यस्तै शनिबार नै अर्को अफवाह फैलियो। भनिएको थियो, ‘राति परेपछि घर बाहिर ननिस्कनु होला। नेपाली सेनाले हेलिकप्टरमार्फत् कोरोनाको औषधि छरिरहेको छ।’
महिलाको अवाज भएको उक्त अडियोमा घर बाहिर ननिस्कन ‘सादर अनुरोध’ गरिएको छ। विनम्र आवाजमा सुनिन्छ, ‘कपडा सुकाएको भए उठाउनु होला। नभए कोरोनाको विषादी लाग्न सक्छ।’ 
आवाज सुन्दा कसैले सामाजिक उत्तरदायित्व निर्वाह गर्न जोकोही बाध्य हुन्छ। तर, त्यो कुनै सुमधुर स्वरकी धनीको कर्कस हर्कत थियो। शनिबार यो पनि सामाजिक सञ्जालमा अत्याधिक फैलियो। यसबारे नेपाली सेनाले स्पष्टीकरण नै दिनुपर्‍यो। सेनाले विज्ञप्ति निकाल्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनायो। औषधी छर्कने कुनै योजना नभएको र हल्लाको पछि नलाग्न सेनाको आग्रह थियो।
‘हेलिकप्टरबाट किटनाशक औषधि छर्ने नेपाली सेनाको कुनै योजना नभएको जानकारी गराइन्छ। तसर्थ हालको संवेदनशील घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गहरुमा हार्दिक अनुरोध गर्दछ,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
संसार आक्रान्त पारेको कोरोना नेपालमा छैन भन्नेमा धेरै नेपालीले बलपूर्वक विश्वास गरिरहेका छन्। त्यस्तो बेला यस्तो सत्य जस्तो लाग्नेगरी भिडियो आएपछि धेरै नेपालीका हातगोडा काँप्न थाले। तर, त्यो भ्रमपूर्ण सामाग्री थियो।
टिकटक अहिले धेरैको मन बहलाउने माध्यम हो। यो मन बहलाउने माध्यममा कोरोना भाइरसबारे भ्रम फैलाएर एक युवालाई ‘बहुलाउन’ मन लाग्यो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोनाका कारण मान्छेको मृत्यु भएको भन्दै अफवाह फैलाइएको थियो। टिकटकमा भाइरल उनको भिडियामा भनिएको थियो, ‘म टेकु अस्पतालमा कुकुरले टोकेको उपचार गर्न गएको थिएँ। त्यहाँ कारोना भाइरसका कारण मृत्यु भएका ५ जनाकोशब देखें। सोधखोज गर्दा त्यहाँ स्टाफले हप्काए। आदिइत्यादि।’
संसार आक्रान्त पारेको कोरोना नेपालमा छैन भन्नेमा धेरै नेपालीले बलपूर्वक विश्वास गरिरहेका छन्। त्यस्तो बेला यस्तो सत्य जस्तो लाग्नेगरी भिडियो आएपछि धेरै नेपालीका हातगोडा काँप्न थाले। तर, त्यो भ्रमपूर्ण सामाग्री थियो। उक्त अफवाह फैलाउने व्यक्ति अमेरिका बस्दै आएका नयनराज पाण्डे थिए।
उक्त अफवाह पछि उनको सोधखोज भयो। उनलाई चिन्नेले गाली गरे। सामाजिक सञ्जालमा पनि उनी विरुद्ध धेरैले स्ट्याटस लेखे। प्रहरीले समेत सोधखोज थाल्यो र कारबाही प्रक्रिया अघि बढाउने पर्यत्नमा लाग्यो। त्यसपछि पाण्डेले भने माफी मागेका छन्। उनले आफूबाट गल्ती भएको र आम नागरिक त्रसित हुन गएको भन्दै फेसबुकमा लामो स्ट्याटस लेखेर माफी मागेका छन्। अहिले उनले त्यो भिडियो समेत डिलेट गरेका छन्। अन्जानमा उक्त गल्ती भएको उनको भनाइ छ। 
यी पछिल्ला उदाहरण हुन्। कोरोनाको आशंकमा नमूना परीक्षणका लागि पठाएकै विषयलाई लिएर अफवाह फैलाउनेहरु पनि छन्। अस्पतालले ढाँटेर उपचार नगरेको बताउनेहरु पनि टोलछिमेकमा भेटिन्छन् र नेपाल सरकारले ढाँटेको भन्दै हिँड्ने त कति–कति? 
कोरोनासँग लक्षण मिल्दोजुल्दो भएका बिरामीको नमूना झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइन्छ। त्यहाँ हालसम्म ६ सय १२ बिरामीको नमूना पठाइएको छ। कुनै पनि बिरामीमा कोरोना देखिएको छैन। त्यसैले नेपालमा कोरोना देखिएका भनेर आइरहेका आइतबार दिउसो ३ बजेसम्मका सवै सूचना भ्रम हुन्। यस्तो भ्रमको संक्रमण गराउन लागिपरेका मानवरुपी कोरोना विरुद्ध आफ्नो ठाउँबाट डटौं। सतर्क रहौं तर आतंकित नबनौं।

लुटेरा प्रहरी र पत्रकार सार्वजनिक, पेस्तोल ताक्दै लुटिएको थियो हिरा


64x64
नेपाल लाइभसोमबार, चैत १०, २०७६, १६:०५

काठमाडौं– लुटपाटमा संलग्न तीन प्रहरीसहित एक पत्रकारलाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ। लुट्नकै लागि काठमाडौंदेखि मकवानपुर पुगेका दरबारमार्ग वृत्तमा कार्यरत २६ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्रबहादुर बसेल, दरबारमार्गमै कार्यरत प्रहरी जवानहरु वीरबहादुर बस्नेत र हेमाकान्त पुनमगर तथा पत्रकार भनिने सुजन आचार्यलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको हो।



राजन भनिने अर्का एक व्यक्ति भने फरार रहेका छन्। मकवानपुरको कैलाश गाउँपालिका– ५ चौकीटार घर भएकी ७० वर्षीया धनलक्ष्मी गुरुङको घरमा बहुमुल्य हिरा भएको सूचना पाएपछि यो समूह आइतबार काठमाडौंबाट मकवानपुर पुगेको थियो।
मकवानपुरका एसपी सुशीलसिंह रौठारका अनुसार उनीहरु गुरुङको घरमा गएर हिरा किन्ने भन्दै हेरेका थिए। त्यसपछि उनीहरुले पेस्तोल ताक्दै हिरा जस्तो देखिने वस्तु लुटेर फरार भएका थिए। उक्त सूचना इलाका प्रहरी कार्यालय पालुङमा आएपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो। पालुङका इन्सपेक्टर विकासकुमार तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई थाहा नगरपालिका–३ स्थित थानाबजारबाट पक्राउ गरेको हो।
प्रदेश ३–०१ –०२२ च ३३ ६२ नम्बरको फोर्ड कम्पनीको गाडीमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीहरुको साथबाट लुटिएको हिरा जस्तो टल्कन वस्तु, चाइनिज पेस्तोल एक थान, यसको म्याग्जिन १ थान, गोली ७ राउण्ड, जिइएम आइडिन्टीफिकेशन रिपोर्ट १ थान, ह्याण्डसेट मोटोराला ४ थान, ल्यापटप १ थान, झोला २ थान, क्यानोनको क्यामेरा १ थान, क्यामेराको लेन्स र झोला १/१ थान, मोबाइल ७ थान, पावर ब्यांक र चार्जर १/१ थान र सिडी १ थान बरामद गरेको छ।
पक्राउ परेका उनीहरुमाथि डाका कसुरमा अनुसन्धान सुरु भएको छ। उक्त कसुर पुष्टि भएमा ७ वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजार रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। साथै प्रहरीमा आबद्ध उनीहरु अहिले नै स्वतm निलम्बनमा परिसकेका छन्। आरोप पुष्टि भएको अवस्थामा उनीहरुको जागिरसमेत जान्छ।

लकडाउन उल्लंघन गर्ने प्रति प्रहरी कठोर : 'मुर्गा' बनाउनेदेखि भाटे कारबाहीसम्म


64x64
नारायण अधिकारीबुधबार, चैत १२, २०७६, १७:१०

काठमाडौं- अहिले सामाजिक सञ्जालमा साइकल हाँक्दै गरेका एक किशोरलाई दुई प्रहरीले लाठ्ठीले कुट्दै गरेको भिडियो भाइरल भएको छ।
लकडाउनको प्रभावकारी कार्यान्वनमा खटिएका दुई प्रहरी सडक छेउमा मुडामा बसिरहेको देखिन्छ। सोही बेला एक किशोर साइकल हाँक्दै आउँछन्। प्रहरीले कता हिँडेको भनेर साधेपछि ती किशाेरले अंकललाई भेट्न हिँडेको भन्छन्। विना काम हिँड्ने भन्दै एक प्रहरीले ती किशोरलाई लाठ्ठीले कुट्छन्। त्यसपछि साइकल फर्काएर आफू आएकै बाटो फर्कन लाग्दा अर्का प्रहरीले ती किशोरलाई पुनः चार लट्ठी हिर्काएको भिडियोमा देख्न सकिन्छ।




किशोरलाई कुट्दै गरेको उक्त भिडियो हो, सुनसरीको इटहरी उपमहानगरपालिका खनारको। लक डाउनको दोस्रो दिन आज उल्लघंन गर्दै विन काम साइकल चलाएको भन्दै दुई प्रहरी मिलेर ती किशाेरलाई कुटेका थिए। यसबारे नेपाल प्रहरीका केन्द्रय प्रवक्ता शैलेश थापा क्षेत्रीले सर्वसाधारणलाई यसरी कुटपिट गर्न नमिल्ने र कुटपिट गर्ने प्रहरीलाई संगठनले विभागीय कारबाही गर्ने बताए।
यतिमात्रै होइन, लकडाउनकै बेला अन्य ठाउँमा प्रहरीले सर्वसाधरणलाई 'मुर्गा' (कुखुरा) बनाउनेदेखि उठबसम्म गर्न लगाएको छ। याे घटना हो, दाङको। घोराहीस्थित मिलन चोकमा ड्युटीमा खटिएका प्रहरीले सडकमा निस्केका व्यक्तिलाई उठबस गर्न लगाएको भिडियोमा देखिन्छ।
सडकको बीचमा रहेको आइल्याण्ड नजिकै दुई प्रहरी बर्दी लगाएर उभिएको देख्न सकिन्छ। नजिकै एक युवक हिँड्दै आएका छन्। एक प्रहरीले ती युवकको शरीर खानतलासी गर्छन्। विन काम लकडाउनको उल्लघंन गर्दै हिँड्ने भनेर ती युवकलाई प्रहरीले २० पटक उठबस गर्न लगाउँछन्। ७ पटक उठबस गरिसकेपछि भिडियो सकिन्छ।
मंगलबार सर्वसाधारणले लकडाउनलाई सहयोग गरेको र फाट्टफुट्ट बाहेक उल्लंघनको घटना नभएको प्रहरी प्रवक्ता थापा क्षेत्रीले बताए। पहिलो दिन सम्झाईबुझाई गरेर छाडेको प्रहरीले लकडाउनको दोस्रो दिन भने कडा रुपमा प्रस्तुत भएको देखिन्छ।
यस्तै अर्को घटना हो भक्तपुरको। मध्युरठिमीस्थित बखाहा बजारमा लकडाउन उल्लंघन गर्ने तीन जनालाई सशस्त्र प्रहरी बलले कुटपिट गरेको पाइएको छ। दुई सशस्त्र प्रहरी भएर तीन जनाको समूहमा हिँड्दै गरेका युवालाई हात भुँइमा टेक्न लगाएर कुटपिट गरेको भिडियोमा प्रष्ट देखिन्छ।
बुटवलमा पनि यस्तै घटना भएको छ। भैरहवाको देवकोटा चोक नजिक ड्युटीमा रहेका ट्राफिक प्रहरीले लकडाउनको उल्लघन गरेको भन्दै एकदर्जन साइकलयात्रीलाई मुर्गा नै बनाए। देवकोटा चोकनजिक दुई ट्राफिक प्रहरी ड्युटीमा थिए।
लकडाउन उल्लंघन गर्दै साइकल चलाएका १२ जनालाई उनीहरुले जम्मा पारे। र, छेउमा लगेर मुर्गा बन्न लगाए। सोही समयमा एक वृद्ध जस्ता देखिने व्यक्ति साइकलमै सोही ठाउँ पुगे। तर, प्रहरीले भने उनलाई मुर्गा बनाएन। एकछिन केही सोधपुछ गरेजस्तो गरेर आएकै दिशातर्फ फर्कायो। सोही बेला दुईवटा निजी गाडीसमेत ट्राफिककै अगाडिबाटै नियम उल्लंघन गर्दै गएका थिए। तर, ट्राफिक प्रहरीले ती गाडीलाई रोकेर सोधपुछ गरेको देखिदैन।
मुर्गा बनाइएकाहरुले समेत गाडी र मोटरसाइकललाई छाडेर साइकललाई मात्रै कारबाही गरेको आरोप लगाएका छन्। यता बुटवलका एक प्रहरीले माइकिङ गर्दागर्दै भागेपछि कारबाही गर्न बाध्य भएको बताए। ‘हामी आफैं जोखिममा छौं। तपाईंहरु घर बाहिर ननिस्कनुस घरभित्रै सुरक्षित रहनुस् भन्दा पनि नमानेपछि केही विकल्प नभएपछि सामान्य कारबाही स्वरुप प्रहरीले कारबाही गर्न बाध्य भएको हो,’ नाम नबताउने सर्तमा उनले भने।
लकडाउन उल्लंघन गरेर सवारी चलाउनेहरुलाई प्रहरीले धमाधम नियन्त्रण लिँदै आएको छ। फ्रान्सबाट कतार हुँदै आएकी एक युवतीलाई कारोना संक्रमण पुष्टि भएपछि सरकारले एक सातका लागि लकडाउन गरेको थियो।
विश्वभर माहामारीको रुपमा फैलिएको कारोना भाइरस नेपालमा अहिलेसम्म तीन जनामा संक्रमण भइसकेको छ भने एक जना निको भएका छन्। दुई जनाको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार भइरहेको छ। विश्वमा अहिलेसम्म यस भाइरसबाट १८ हजार ९ सय १८ जनाको मृत्य भएको छ। ४२ लाख ३ हजार १ सय २१ ज्ना संक्रमित भएका छन् भने १० लाख ८ हजार १ सय ५५ जना निको भइसकेका छन्।
उल्लंघन गर्नेलाई यस्ताे छ कारबाहीकाे व्यवस्था
कानुनतः लकडाउन उल्लंघन गर्नु भनेको सरुवा रोगसम्बन्धी कानुन उल्लंघन गर्नु हो। मुलुकी अपराध संहिता  २०७४ को दफा १०६ मा सरुवा रोगको सम्बन्धमा जारी गरेको नियम, निर्देशन वा आदेश उल्लंघन गर्न नहुने भनिएको छ। ‘कसैले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले वा कानुनबमोजिम अधिकारप्राप्त अधिकारीले सरुवा रोगको सम्बन्धमा जारी गरेको नियम, निर्देशन वा आदेश उल्लंघन गर्नुहुँदैन,’  अपराध संहितामा भनिएको छ।
सरकारले यतिबेला सरुवा रोग फैलिन नदिनका लागि घरबाहिर ननिस्कन आदेश गरेको छ। यदि उक्त आदेश पालना नगरेर घर बाहिर निस्किए ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। 
यदि यो नियम, निर्देशन वा आदेश उल्लंघन गरेको कारणबाट कसैको ज्यान जान सक्ने अवस्था रहेछ भने त्यसलाई दश वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुनसक्छ।
यो रोग आफूलाई लाग्दा अरुलाई समेत फैलाउन उद्धत भएको दक्षिण कोरियाको भिडियो भाइरल भएको थियो। यदि नेपालमा पनि कसैलाई भयो र त्यही हर्कत गरियो भने झन् कडा सजायको भागिदार बन्नुपर्नेछ।
त्यस्तो व्यक्तिलाई संक्रामक रोग फैलाउने काम गरेको कसुरमा कारबाही हुन सक्छ। मुलुकी अपराध संहिता २०७४ को १०४ मा यस्तो काम गर्न निषेध गरिएको छ।
संक्रामक रोग फैलाउन नहुने भनेर उक्त दफाको उपदफा १ मा भनिएको छ, ‘कसैले कसैको ज्यानलाई खतरा पुर्‍याउन सक्ने कुनै किसिमको संक्रामक रोग फैलाउने वा फैलिन सक्ने कुनै काम गर्नुहुँदैन।’
नियतपूर्वक वा जानीजानी यसो गरेमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। लापरवाहीपूर्वक गरेको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र हेलचक्य्राईंपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी प्रावधान छ। ऐनमा भनिएको छ, ‘यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई नियतपूर्वक वा जानीजानी गरेको भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना, लापरवाहीपूर्वक गरेको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र हेलचक्य्राईँपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

कोरोनाबाट जोगिने पर्याप्त सामग्री छैन, तैपनि उच्च मनोबलका साथ खटिएका छौं : एसएसपी उमेशराज जोशी [अन्तर्वार्त


64x64
नेपाल लाइभआइतबार, चैत १६, २०७६, ०८:१६

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९) नेपालमा थप फैलन नदिन सरकारले लकडाउन गराएको छ। सर्वसाधारणलाई घरबाट निस्कन नदिन सडकमा छन्, सुरक्षाकर्मी। अहिलेसम्म नेपालमा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक जना निको भइसकेका छन्। विश्वका धेरै देशमा सुरक्षाकर्मी उच्च जोखिममा देखिएका छन्। 
अमेरिकाको न्युयोर्कमा पाँच सय प्रहरी संक्रमित भइसके। नेपालका सुरक्षाकर्मी भाइरसबाट जोगाउने सुरक्षा सामग्रीबिनै ड्युटीमा छन्। व्यक्तिगत सुरक्षा कवच (पर्सनल प्रोटेक्ट इक्विपमेन्ट-पिपिई) को त कुरा अलि परै राखौं, कतिपय स्थानमा मास्कसमेत उपलब्ध नहुँदा प्रहरी आफैंले मास्क उत्पादन गरेर लगाउनुपरेको छ। उच्च जोखिमलाई व्यस्थापन गर्दै आम नागरिकलाई संक्रमणबाट जोगाउन प्रहरीले कसरी काम गरिरहेको छ? यिनै प्रश्नको उत्तर खोज्न नेपाल लाइभकर्मी नारायण अधिकारीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उमेशराज जोशीसँग कुराकानी गरेका छन्।




लकडाउन चलिरहेको छ। आम नागरिक कोरोनाको त्रासमा छन्। घरबाट बाहिर निस्कने अवस्था छैन। यस्तो बेला प्रहरी कसरी खटिएको छ?
लकडाउन सर्वसाधारणलाई मात्रै होइन, प्रहरीका लागि पनि नौलो हो। अहिले ‘राउन्ड द क्लक’मा २४सैं घण्टा प्रहरी खटिरहेको अवस्था छ। सुरुमा आम मानिसलाई लकडाउन भनकै थाहा थिएन। त्योला माइकिङ गर्दै यसबारे बताउने र सम्झाउने काम भयो। यस बीचमा अटेर गर्ने, लकडाउन उल्लंघन गर्ने सवारी साधन, नागरिकलाई नियन्त्रणमा लिने सम्झाइबुझाई गर्ने काम भएको छ।
लकडाउन आम नागरिकले पालना गरेका छन्? प्रहरीलाई त्यस्तो हैरानी छैन भन्न खोज्नु भएको हो?
अहिलेको अवस्थामा केही मानिस सडकमा निस्किए पनि अधिकांशले लकडाउन पालना गरेका छन्। यसको खतरा महसुस गरेका छन्। पहिलाजस्तो बाहिर निस्कन धेरै कम भएको छ। तर केही मान्छेमा भने दिनभरी घरमा बसेपछि नेपाल बन्दमा जस्तो साँझमा खुल्ला भन्ठानेर बाहिर/चोकतिर निस्कने चलन देखिएको छ। यसरी बेलुका निस्कनेलाई पनि प्रहरीले रोकेको छ।
लकडाउनमा यसरी खटिने प्रहरी आफैं जोखिममा पर्ने सम्भावना पनि छ। के छ तयारी?
अहिले नेपाल प्रहरी दोहोरो भूमिकामा छ। पहिलो, आफू सुरक्षित हुनुपरेको छ। दोस्रो, नागरिकको सुरक्षा गर्नुपरेको छ। त्यसकारण अहिले हामी दोहोरो चुनौतीमा छौं। यस्तो बेला प्रहरीले भनेको कुरा नागरिकले मान्दिनुपर्छ। निकै संवेदनशील भएर काम गर्नुपर्ने अवस्था छ। त्यहीअनुसार प्रहरी हेडक्वार्टरले निर्देशन पनि दिएको छ। 
प्रहरीलाई स्वास्थ्यकर्मीलाई जस्तो थप भत्ता अहिलेसम्म छैन। अब उहाँहरुले गुनोसो गर्नु स्वाभाविक हो। यो हामीले भन्दा पनि सरकारले बुझ्ने कुरा हो। 
विदेशतिर प्रहरी पनि कोरोना भाइरसबाट संक्रमित भइरहेका समाचार आइरहेका छन्। ड्युटीमा खटिएको प्रहरीलाई कसरी सुरक्षित बनाउनुभएको छ?
क्वारेनटाइन भनेको घरमै बस्न मिल्ने हो। तर प्रहरी त ब्यारेक सिस्टममा बस्छ। घर छैन। मानौं कोही प्रहरीको घर रुकुममा छ। काम काठमाडौंमा गरेको छ। अब ऊ क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आयो भने त्यस्तो अवस्थामा पनि नेपाल प्रहरीले प्रहरी हेडक्वार्टरमा क्वारेन्टाइनको व्यवस्था गरेको छ। त्यस्तो अवस्थामा ब्यारेकबाट झिकेर हामी हेडक्वार्टरमा रहेको क्वारेन्टाइनमा राख्छौं।
उपचार नै गर्नुपरेको अवस्थामा नेपाल प्रहरी अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको छ। प्रादेशिक क्षेत्रीय अस्पतालमा पनि आइसोलेन वार्डको व्यवस्था गरेका छौं। 
लकडाउनमा खटिने  प्रहरी आफैं पनि जोखिममा छन्। पछि ब्यारेकमा फर्केर आउँदा ब्यारेकमा पनि त्यति नै जोखिम हुन्छ। यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ?
सीमित स्रोतसाधनबारेमा तपाईं र म दुवैलाई थाहा छ। कोराना भाइरसबारे जानकारी पनि त इनडेप्थ नभइकन पनि हामी खटिरहेका छौं। हामीले जानेको भनेको पर्सनल सरसफाइका कुरा हुन्। हामी धेरै ठाउँमा पुग्नुपर्ने, टच गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा हात बारम्बार धुन लगाएका छौं।
प्रहरीका स्वाथ्यकर्मीले उपचार गर्दा लगाउन खाँचो चाहिँ छैन। तर जोखिममा रहेका अन्य प्रहरीका लागि पर्याप्त भने छैन।
मान्छेलाई पक्राउ गर्दा सकेसम्म मेसिनमार्फत समात्न थालेका छौं। हात धुनका लागि महानगरीय प्रहरी कार्यालयलगायत उपत्यकाका धेरै ठाउँमा हात धुने व्यवस्था मिलाएका छौं। कार्यालयमा पनि स्यानिटाइजर, मास्कको व्यवस्था गरिएको छ। पाएसम्म पञ्जाको पनि व्यवस्था मिलाएका छौं। अहिले अत्यावश्यक नभइकन धरपकड पक्राउ पनि नगर्न भनेका छौं।
कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहँदारहँदै पनि उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले ७५ प्रतिशतसम्म भत्ता दिने भनेर निर्णय गरेको छ। तपाईंहरु पनि उच्च जोखिम मोल्दै खटिरहनुभएको छ। फिल्डमा खटिने सुरक्षाकर्मीहरु भने स्वास्थ्यकर्मीलाई चाहिँ जाखिम भत्ता हामीलाई किन नहुने भनेर गुनासो गर्छन् नि!
प्रहरीलाई स्वास्थ्यकर्मीलाई जस्तो थप भत्ता अहिलेसम्म छैन। अब उहाँहरुले गुनासो गर्नु स्वाभाविक हो। यो हामीले भन्दा पनि सरकारले बुझ्ने कुरा हो। 
पर्सनल प्रोटेक्ट इक्विपमेन्ट (पिपिई) प्रहरीलाई त्यति नै मात्रामा आवश्यक छ। सबैतिर पिपिई अभाव भएको सुनिन्छ। प्रहरीलाई पर्याप्त छ?
पिपिई एकदमै न्यून छ। हिजोमात्रै सनराइज बैंकले ६५ थान दिएको छ। पिपिई त परिस्थतिजन्य आवश्यकता भयो। त्यो हुनाले तत्कालै पर्याप्त नहुनु स्वभाविक पनि हो। विस्तारै उपलब्ध पनि होला। प्रहरीका स्वाथ्यकर्मीले उपचार गर्दा लगाउन खाँचोचाहिँ छैन। तर जोखिममा रहेका अन्य प्रहरीका लागि पर्याप्त भने छैन। 
अहिले आम मानिस घरभित्रै बस्ने भएकाले चोरीलगायत अन्य घटना एकदमै कम हुने सम्भावना छ। लकडाउनको यो बेलासम्म आइपुग्दा अहिलेसम्म यस्ता ठूला अपराधका घटना भएका छैनन्।
प्रहरी भनेको फस्ट रेस्पोन्डर पनि हो। यो बेला त तपाईंहरूलाई १०० मा निकै फोन आउला। अहिले कस्तो गुनासो आउँछन्?
पहिला चोरी भयो, झगडा भयो, कुटपिट भयो भन्ने सूचना आउँथ्यो। अहिले आउने अधिकांश कल कोराना भाइरससँग सम्बन्धित छन्। घरमा बसिरहेका बेला विभिन्न कुरा मनमा खेल्दा पनि हुन्। अनि सानोसानो कुराका बारेमा पनि यस्तो समस्या देखियो। कहाँ सम्पर्क गर्ने भन्दै १०० मा फोन आइरहेको हुन्छ। 
तपाईंहरु लकडाउनमा खटिँरहँदा अन्य अपराधका घटना पनि हुने उत्तिनै जोखिम छ। त्यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ?
त्यसका लागि हाम्रो छुट्टै टोली खटिएको छ। अर्को कुरा अहिले आम मानिस घरभित्रै बस्ने भएकाले चोरीलगायत अन्य घटना एकदमै कम हुने सम्भावना छ। लकडाउनको यो बेलासम्म आइपुग्दा अहिलेसम्म यस्ता ठूला अपराधका घटना भएका छैनन्।

चार्ल्स शोभराज: कोरोना बन्ला त कैद छुटको अव


64x64
नारायण अधिकारीसोमबार, चैत १७, २०७६, ११:१२

काठमाडौं- कोराना भाइरसको संक्रमण नेपालमा देखिएपछि त्यसको उच्च जोखिममा कैदीबन्दी रहेको भन्दै सर्वोच्च अदालतको चैत ७ गते बसेको फुटकोर्ट बैठकले निश्चित मापदण्ड पुगेका कैदीबन्दी रिहा गर्ने भन्दै एउटा निर्णय गर्‍यो।
केन्द्रीय कारागार सुन्धारामा कैदी जीवन बिताइरहेका ‘विकिनी किलर’ चार्ल्स शोभराजले सर्वोच्चको उक्त निर्णय सञ्चार माध्यममार्फत थाहा पाएपछि कारागार प्रशासनसँग यसबारे जानकारी लिए।



तर, प्रशासनले सर्वोच्चको उक्त निर्णयमा शोभराज नअटाउने जवाफ फर्कायो।
सर्वोच्चको फुलकोट बैठकको निर्णय शोभराजलाई समेट्ने किसिमको पनि थिएन। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार कैद वापतको रकम लिई कैदी रिहा गर्न सकिने उल्लेख थियो। दफा १५५ अनुसार एक वर्षसम्मको कैदको हकमा रिहा हुनसक्ने प्रावधान छ।
जसकारण शोभराज सर्वोच्चको यो निर्णय अनुसार रिहा हुन उपयुक्त देखिएनन्। जबकी उनलाई जन्मकैद (२०) वर्ष कैदको फैसला सुनाइएको छ।
सर्वोच्चको फुलकोटको निर्णयको अघिल्लो दिन महान्यायाधीवक्ता कार्यालयले गरेको गरेको एक निर्णयमा भने शोभराज समेटिने किसिमको थियो।
निर्णयको बुँदा नम्बर ६ मा ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ अनुसार कैद कट्टा हुन सक्ने कानुनी व्यवस्था तत्काल कार्यान्वयन गर्न र सो सम्बन्धी कानुनी व्यवस्थामा सुधार गर्न प्राथमिकतापूर्वक प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई लेखी पठाउने’ उल्लेख गरिएको थियो।
दफा ३७ अनुसार चालचलनमा सुधार आएमा र निजले ५० प्रतिशत कैद सजाय भुक्तान गरेमा निजलाई भएको कैद सजाय कारागारले तोकिएबमोजिम कट्टा गर्न सक्ने भनिएको छ।
यस दफा अनुसार जन्मकैदको सजाय पाएको व्यक्तिले समेत कैद छुट पाउने उल्लेख गरिएको छ। सोही कानुनी व्यवस्थालाई प्रयोग गर्दै शोभराजले कैद मिनाहाका लागि जेल प्रशासनमा निवदेन दिएका छन्। 
‘उहाँको निवेदन परेको छ। छुटका लागि निवदेन हाल्न पाउनु उहाँको अधिकार पनि भयो। छोड्ने नछोड्ने भन्ने कुरा हामीमा भर पर्दैन’ कारागार स्रोतले नेपाल लाइभसँग भन्यो।
तर केन्द्रीय कारागारका जेलर लम्क्षीप्रसाद बाँस्कोटा भने शोभराजको निवेदन नपरेको दाबी गर्छन्। उनले नेपाल लाइभको कुराकानीमा भने, ‘अहिलेसम्म उहाँको निवेदन परेको छैन। केन्द्रीय कारागारबाट अहिलेसम्म विभिन्न मुद्दाका ३० जना कैदीबन्दी रिहा भइसकेका छन्। बाँकी ३० जनाले निवेदन दिएका छन्। त्यसमा उहाँको नाम छैन।’
शोभराजलाई छाड्ने अधिकार सरकारको
यसरी परेका निवेदन उपर मुद्दाको कसुर हेर्दै विभिन्न अदालत तथा जिल्ला प्रशासन कार्यालय रिहा गदै आएका छन्। तर शोभराजको हकमा भने सरकारले निर्णय गर्नुपर्ने हुन्छ।
कैद छुटको माग गर्दै गत वर्षको कात्तिक २१ गते शोभराज सर्वोच्च अदालत पुगेका थिए। कारागार नियमावलीको प्रावधानमा विदेशी नागरिकले पनि बिना भेदभाव छुट पाउनुपर्ने मागसहित शोभराज सर्वोच्च पुगेका थिए। कुनै पनि अपराधका कसुरदार भए पनि ७० वर्ष उमेर कटेपछि ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने नियमावलीको व्यवस्था आफूलाई पनि लागू हुने मागसहित उनले रिट दायर गरेका थिए। 
शोभराजका तर्फबाट मुद्दामा बहस गर्दै आएकी अधिवक्ता शाकुन्तला थापाले दायर गरेको निवेदनउपर गत वर्षको फागुन १३ गते फैसला गर्दै शोभराजलाई कैद छुट दिने विषय सरकारको अधिकार क्षेत्र भएको फैसला सुनाएको थियो। जसकारण अब कुनै पनि अदालतको आदेशबाट उनको कैद मिनाहा सम्भव छैन।
सर्वोच्चले त्यसबेला भनेको थियो, ‘उनको छवि अन्तर्राष्ट्रिय रुपमा नै कुख्यात अपराधीको छ। यसअघि पनि यस्तै मुद्दामा सर्वोच्चले छुट दिने अधिकार सरकारको भनिसकेको छ।’
जसकारण शोभराजको उक्त निवेदन उपर सरकारले निर्णय गरेर उनलाई रिहा गर्न सक्ने अधिकार पनि छ। उक्त निवेदन कारागार प्रशासनबाट कारागार व्यवस्थापन हुँदै गृहमन्त्रालय पुगेपछि कैद मिनाहा गर्ने या नगर्ने भन्ने विषय सरकारको निर्णयमा भर पर्छ।
७६ वर्ष भइसकेको शोभराज कानुनी प्रावधान अनुसार नै वृद्ध र ७५ प्रतिशत कैद भुक्तान गरिसकेका व्यक्तिमा पर्छन्। 
यदी उनको कैद मिनाहा भएन भने उनी २०८० असोज १ गतेसम्मम जेलमै बस्नुपर्ने छ। शोभराज सर्वोच्च अदालतको फैसलाले २०६० असोज २ गतेदेखि जेलमा छन्। ०३२ सालमा अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो। यसबीचमा ०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानडेली नागरिकको ०३२ सालकै हत्या अभियोगमा पनि उनलाई जन्मकैदको सजाय सुनाएको थियो।
अभियोगका बारेमा शोभराजले अदालतमा दिएको  बयान

कैद मिनाहा पाउँ भन्दै नजिर समेत पेश
शोभराजले कैद मिनाहा लागि दिएको यो पहिलो निवेदन भने होइन। यसअघि उनले दिएको निवेदन अनुसार केन्द्रीय कारागारले २०७५ वैशाख २० गते शोभराजको बाँकी रहेको २६ प्रतिशत कैद छुटका लागि सिफारिस गरेको थियो। उक्त सिफारिसको जानकारी प्रमुख जिल्ला अधिकारीलाई पठाइए पनि कार्यान्वयन नभएको भन्दै शोभराजका तर्फबाट उच्च अदालत पाटनमा समेत रिट दायर भएको थियो।
त्यसबेला पाटनले कानुनी प्रक्रियामार्फत भेदभाव नराखी टुंग्याउन आदेश दिएको थियो।
निवेदनसँग शोभराजले आफूले कैद मिनाहा पाउनुपर्ने नजिर समेत पेश गर्दै आएका छन्। यसअघि उनले अमेरिकी नागरिक फेनिज मेसिनटोसको मुद्दाको नजिरलाई देखाउँदै छुट माग गरेका थिए। आफ्नो निवेदनमा अहिले पनि उक्त कुरा समेटेको स्रोतले जानकारी दियो। मेसिनटोसको मुद्दामा सर्वोच्चले ७ वर्ष कैद सजाय भएकोमा ३ वर्ष ८ महिना २१ दिन जेल बसेपछि छुट दिएको थियो। क्यान्सरको गम्भीर बिरामी भन्दै उनलाई छुट दिइएको थियो।
अहिले पनि शोभराज आफू मुटुको बिरामी भएको, वृद्ध र ७५ प्रतिशत कैद भुक्तान गरिसकेको भन्दै कैद मिनाहा लागि निवेदन दिएका छन्।
शोभराजको अपराध—यात्रा
सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन्। पछि उनलाई आमाका प्रेमीले हुर्काएका थिए। 
उनले अपराध यात्रा सन् १९६३ मा १९ वर्षको उमेरबाट सुरु हुन्छ। त्यसबेला उनले पेरिसको एक घरमा चोरी गरेका थिए। त्यसबेला पक्राउ परेका उनले झन्डै एक वर्ष जेल जीवन बिताए। जेलमा त्यहाँको अन्डरवर्ल्ड समूहका सदस्य फिलिक्स इसकोन्जीसँग उनको चिनजान भयो। 
जेलबाट छुटेपछि शोभराजले उनकै समूहमा आबद्ध भएर अपराध मच्चाउन थाले। त्यसबेला उनले अपराधभन्दा पनि सूचना संकलनको काम गरेको बताइन्छ।
त्यसपछि उनले पेरिसमा चोरी आतंक मच्चाए। सो क्रममा प्रहरीले निगरानी थालेपछि उनले पेरिस नै छाडे।
त्यसपछि उनी पूर्वी युरोप हुँदै सन् १९७० मा भारत आए। मुम्बईमा उनी कार चोर्ने र बेच्ने गर्थे। भारतको मुम्बईस्थित होटल अशोकामा चोरी गरेकै कारण पक्राउ परेका उनी छुटेपछि अफगानिस्तान छिरेका थिए। त्यहाँ पनि उनी समातिए। तर, बिरामी परेको नाटक गरेर अस्पतालबाटै फरार भएका उनी इरान, टर्की हुँदै ग्रिसतिर हान्निए। ती देशमा चोरी र लुटपाट आतंक मच्चाएपछि थाइल्यान्ड पुगे। त्यहाँ त उनले तीन जना पर्यटकको हत्या नै गरे।
हत्या गरिएका तीन जना पर्यटकको राहदानी बोकेर उनले काठमाडौंको यात्रा तय गरे। नेपाल आएका उनले यहाँ पनि विदेशी पर्यटकको हत्या गरे।
२०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए, उनले।
उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए। त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता थियो।
अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल पनि भए।
उनी नेपालको विमानस्थलबाट हात्ती नै छिराइदिन्छु समेत भन्थे।
२०६० मा नेपाल आउँदा भने उनी प्रहरीको पञ्जाबाट फुत्किन सकेनन्। त्यसयता उनको जीवन केन्द्रीय कारागारमा बितिरहेको छ।