एउटा हात्ती पाल्न मासिक डेढ लाख, पर्यटक नआउंदा व्यवसायी डुब्दै

नारायण अधिकारी
माघ ७, काठमाडौं । चितवनको सौराहा क्षेत्रमा जाने पर्यटकको प्रमुख आकर्षणको केन्द्र हो हात्ती सफारी । हात्ती सफारी व्यवसाय चलाएर बसेका व्यवसायीको कथा भने अहिले फेरिएको छ । लामो मधेश आन्दोलन र नाकाबन्दीका कारण मुलुकको समग्र क्षेत्रको अर्थतन्त्र धरासायी भएको बेला पर्यटक नआएपछि हात्ती सफारी गराएर आम्दानी गर्दै आएका हात्ती व्यवसायी पनि मर्कामा परेका छन् । उनीहरु मासिक १ लाख ५० हजार रुपैयाँ हात्ती पाल्नमै खर्च हुने गरेको बताउँछन् ।
हात्तीको लागत र खर्च :
हामीले सोचेजस्तो हात्ती व्यवसाय गर्न सजिलो छैन । नेपालमा हात्ती भारतबाट किनेर ल्याइन्थ्यो । भारतबाट हात्ती नेपाल ल्याउँदा १०/१२ दिन सम्म हिडाएर ल्याउने चलन थियो । तर, विगत १० बर्षदेखि भारतले हात्ती बिक्री गर्न बन्द गरेको छ । हात्तीको आयु ८० बर्षसम्म हुने भएकाले पहिले नै भारतबाट आयात गरिएका हात्ती अहिलेसम्म नेपालमा किनबेच भएको छ ।
हात्ती महङ्गो मूल्यमा किनबेच हुन्छ । अहिले सामान्यतः एउटा हात्तीलाई ८० लाखदेखि एक करोड रूपैयाँसम्म पर्ने गर्दछ । यसको मूल्य जति महङ्गो छ त्यत्तिकै यसलाई दैनिक रुपमा खुवाउँदा लाग्ने खर्च धान्न व्यवसायीलाई गाह्रो पर्ने गरेको छ ।
हात्तीको आहाराको रुपमा दैनिक २५ किलो धान, ३ किलो सख्खर, पाँच किलो चना, नुन, पराल, अन्य घाँस र पानी गरेर तीनसय किलोग्राम आहारा आवश्यक पर्ने चितवनको सौराहामा जङ्गल वाइल्ड लाईफ सञ्चालन गरेर बसेका होटल व्यवसायी गौतम वाग्लेले बताए । सम्पूर्ण आहारा र हात्ती हेर्ने माउते, पछुवार र फनितलाई गरेर दैनिक चार देखि पाँचहजार खर्च लाग्ने उनले बताए । व्यवसायीलाई अहिले हात्तीमा लाग्ने दैनिक खर्च समेत उठाउन धौधौ परेको छ ।
हात्तीको आम्दानी :
हात्ती सफारी गराएर पर्यटन र आफ्नो व्यवसाय प्रवद्र्धन गर्नको लागि बिशेषगरी चितवनका होटल व्यवसायीले हात्ती पाल्ने गरेका छन् । चितवन घुम्न आएका पर्यटकलाई आकर्षित गर्न हात्तीलाई उपयुक्त माध्यमको रुपमा लिने गरिन्छ ।
चितवनको मेगौलीमा किङ फिसर जङ्गल रिसोर्ट सञ्चालन गरेका हात्ती व्यवसायी मधुसुदन केसीले भने,‘अनुकल समयमा हामीले दैनिक सम्पूर्ण खर्च कटाएर १० हजार भन्दा बढी आर्जन गथ्र्यौं तर, अहिले हामीले हात्ती पाल्नलाई लाग्ने दैनिक खर्च उठाउन पनिसकेका छैनौं ।’
लामो बन्दका कारण विदेशी पर्यटक नआउंदा हात्ती व्यवसायी मर्कामा परेका छन् । बिशेषगरी भारत र चीनबाट बढी पर्यटक नेपाल भित्रिने गर्दछन् । तर अहिले पर्यटक नआउंदा व्यवसाय चौपट भएको उनीहरुको भनाई छ ।
त्यसैगरी हात्तीको चरिचरण क्षेत्र नहुँदा उनीहरु थप मारमा परेका छन् । ‘हात्तीलाई प्रशस्त घाँस चाहिन्छ तर हामीलाई जङ्लमा हात्ती चराउन दिइदैन’ व्यवसायी वाग्लेले भने, ‘सरकारले हामीलाई छुट्टै हात्ती चरण क्षेत्रको व्यवस्था गरिदिनु पर्छ’ ।
व्यवसायीको मागका विषयमा चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत नुयन्द्र अर्यालसँग बुझ्दा राष्ट्रिय निकुञ्ज ऐन, २०२९ अनुसार कसैलाई पनि निकुञ्जको जङ्गलमा चरिचरण गर्ने अधिकार नभएको बताए ।
उपयुक्त घाँसे मैदानको अभावमा हात्तीपाल्न गाह्रो पर्ने गरेकोले व्यवसाय नै धरासयी बन्दै गएको छ । ‘आहाराको कमी र मान्छे बोकेर हिडीरहनु पर्ने भएकाले हात्तीमा टिबी रोग लाग्छ’, व्यवसायी वाग्लेले भने, ‘टिबी लागेर पाँच बर्ष पहिले आठओटा हात्ती मरिसेकेका छन्, रोग ठिक हुनपनि दुईबर्ष लाग्छ, दुई बर्षसम्म दैनिक पाँचहजार रुपैयाँका दरले आहार र उपचार गराउदाँ व्यवसाय नै सकिने अवस्था आँउछ ।’
हात्तीको सङ्ख्या घट्दै :
चितवनको सौराहामा पर्यटक घुमाउने निजी हात्ती ५० ओटामात्र छन् । ती हात्तीको संरक्षण नगर्ने हो भने केही बर्षभित्र निजी हात्ती लोप हुने अवस्था आउन सक्ने व्यवसायीहरु बताउंछन् । उनीहरुले सरकारसँग निजी हात्ती प्रजनन् केन्द्र खोल्ने ब्यवस्था मिलाई दिन आग्रह गरेको व्यवसायी वाग्लेले बताए । तर, वन्यजन्तु पालन तथा प्रजनन् ऐन अनुसार कुनैपनि व्यक्ती वा निजी सङ्घसंस्थालाई दुर्लभ वन्यजन्तुको प्रजनन् केन्द्र खोल्ने अनुमति नभएकाले हात्ती प्रजनन् केन्द्र खोल्न दिन नसकिने निकुञ्जका सूचना अधिकृत नुयन्द्र अर्यालले बताए ।
चितवनमा जाने पर्यटकको लागि आकर्षण केन्द्र हो हात्ती सफारी । तर, यसको संरक्षण र आयात नहुंदा अबको केही बर्षमा निजी हात्ती लोप हुने अवस्थामा पुगेका छन् । यसले पर्यटक र सौराहको पर्यटन क्षेत्रलाई नै असर पुर्याउने व्यसायीहरुको भनाई छ ।

No comments:
Post a Comment