Wednesday, June 26, 2019

सर्वसाधारणलाई यसरी बनाइयो 'विप्लव', रक्सौल नपुगेका व्यक्तिलाई पुर्‍याइयो भेनेजुएला

नारायण अधिकारी |  २०७६ असार ११ बुधबार | Wednesday, June 26, 2019  १८:००:०० मा प्रकाशित

464Shares
 Share
 Tweet
 Share
 Email

काठमाडौं- असार ३ गते जिल्ला अदालत काठमाडौंको ११ नम्बर इजलासमा एउटा मुद्दाको बहस भइरहेको थियो।
न्यायाधीश श्रीकृष्ण भट्टराई सोध्दै थिए, 'भेनेजुएला किन गएको?'
अभियुक्त बनेर खडा भएका व्यक्तिले जवाफ फर्काए, 'भनेँ त, गको छैन।'
'भेनेजुएला कहाँ पर्छ, थाहा छ ?' न्यायाधीशले भट्टराईले अर्को प्रश्न गरे। 
'थाहा छैन सर। मलाई केही पनि थाहा छैन,' ढाकाटोपी र चस्मा लगाएका ती व्यक्ति जवाफ फर्काउँछन्।
'अनि इजरायल नि?' न्यायाधीशले इजरायल किन गएको भन्ने आसयसहित प्रश्न सोधेका थिए।
'गकै छैन सर,' मलिन अनुहार उनी जवाफ फर्काउँदै थिए। डरको भाव उनको अनुहारमा देखिन्थ्यो। 
'अनि प्रहरीले राज्यविरुद्ध अपराध गरेको भन्दै २५ वर्ष कैद सजाय हुनुपर्ने माग राखेर मुद्दा चलाएको छ नि त! के छ यसमा तपाईंको भनाइ?' न्यायाधीश भट्टराईले उनको मन जाँच्न खोजिरहेका थिए।
'खै हजुर, नखाएको विष कसरी लाग्छ। अब म जस्तोलाई २५ वर्ष जेल हाल्छन् भने के भनौं। नेपाल भनेको यस्तै रछ भनौंला,' अकमकिएको स्वरमा उनी जवाफ फर्काउँछन्।
हट्टाकट्टा ज्यान। शिरमा ढाका टोपी। आँखामा पावरदार चस्मा। रातो वर्ण। जुँगा चुस्स पालेको। हातका नङमा मयल प्रस्टै देखिने। आङमा रातो, कालो, सेतो रङ मिसिएको टाटेपाटे टिसर्ट। फुस्रो र मैलिइसकेको कपडाको पाइन्ट। त्यो पनि खुम्चिएर मुजा परिसकेको। पैतालामा सय/डेढसय पर्ने प्लास्टिकका चप्पल।
यही हुलियामा रहेका ५७ वर्षीय अर्जुन गोतामे न्यायाधीश भट्टराईको एकएक प्रश्नको उत्तर दिँदै थिए। 
काठमाडौं बाँसबारी बस्दै आएका गोतामे ताप्लेजुङको फुङलिङबाट बसाइँ सरेर झापा झरेका थिए। पहाडको दु:ख खेप्न नसकेर तराई झरेका उनलाई दुखले पछ्याउन छाडेन। त्यसपछि कामको सिलसिलामा राजधानी प्रवेश गरेका उनले अनेक हन्डर खाए। उनको पिठ्युँले राजधानीमा कैयौं गिट्टी, बालुवा, इँटा बोक्यो, त्यसको हिसाबकिताब उनीसँग छैन।
भारीको बोक्नु पीडाबाट मुक्ति पाउने सिप चाहिन्छ भन्ने बुझेका उनले त्यसपछि सिकर्मीको हेल्पर भएर काम गर्न थाले। त्यसको केही वर्षमै उनी सिपालु सिकर्मीमा दरिए। १३ वर्षदेखि अहिलेसम्म सिकर्मीको काम गर्दै आएका छन् उनी। 
कामसँगै उनी भूकम्प प्रतिरोधी घर बनाउने तालिमसमेत दिन्छन्। भूकम्पले क्षतविक्षप्त बनाएको सिन्धुपाल्चोकमा उनले अहिलेसम्म झन्डै ५० घर ठ्डयाइसकेका छन्। गोतामेको परिवार बाँसबारी बस्छ। १० आना जग्गा भाडामा लिएर बाँसको छाप्रो र जस्ताको टहरो बनाएर राजधानीको कष्टकर जीवनमा गोतामे परिवार गुज्रिइरहेको छ। उनकी श्रीमती भने सानो चिया पसल पनि चलाउँछिन्।
OOO
काठमाडौं बाहिरबाट पनि गोतामेलाई कामका लागि बोलाइन्थ्यो। उनी काममा जान्थे र बेलाबेला घर पनि आइरहन्थे। यसरी नै जीवनको सिलसिला चलिरहेको थियो।
फागुनको तेस्रो साता पनि गोतामे उसैगरी बाँसबारी फर्किएका थिए। बारीमा तोरी उखेल्दै थिए उनी। त्यहीबेला ३/४ जना प्रहरी आए भने, 'इन्सपेक्टर सापले बोलाउनुभएको छ। एकछिन काम छ रे।'
उखेल्दै गरेको तोरी छाडेर प्रहरीसँग हिँडेका उनलाई राज्य विप्लवको बात लगाइयो। 'त्यसपछि थुनेको मलाई अहिलेसम्म छाडेको छैन,' अदालत परिसरमै उनले नेपाल लाइभसँग गुनासो पोखे। 
प्रहरी पनि उनको चिया पसलमा बेलाबेला चिया पिउन आउथेँ। केही काम पर्‍यो होला भन्दै उनी प्रहरीकै पछि लागे। अन्तत: उनलाई हिरासतमा राखियो। 'यो तपाईंको फोटो हो नि भनेर देखाए, मैरै फोटो भएपछि मैले हो भनेँ,' गौतम सुनाउँछन्।
उक्त फोटो नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले माघ १३ गते काठमाडौंमा गरेको जुलुसको थियो। भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासअगाडि जुलुस आयोजना गरिएको थियो। 
त्यसबेला आफू कानको जाँच गर्न टिचिङ अस्पताल गएको र त्यसबेला जुलुस देखेपछि जुलुससँगै महाराजगन्जसम्म गएको गोतामेले बताए। त्यसपछि गाडी चढेर आफू घर गएको उनको भनाइ छ।
विप्लव समूहमा लागेको भन्दै प्रहरीले उनलाई गत फागुन २६ गते पक्राउ गरेको थियो।
त्यसपछि राज्यविरुद्धको अपराध गरेको, राज्यसत्ता पल्टाउने काम गरेको आरोप लागेका गोतामेलाई पक्राउ परेको २० दिनपछि जिल्ला प्रशासन कार्यालयले १० हजार धरौटीमा छाड्न गर्न आदेश दियो।  
तर उनको हतकडी फुत्किएकै थिएन। 'हतकडीसमेत नफुक्लिएकै अवस्थामा प्रहरीले मलाई अफिस (टेकु) जानुपर्छ। त्यसपछि सही गरेर, मेडिकल गरेपछि मात्रै तपाई घर जाने भनेर गाडीमा हाले,' गोतामे भन्छन्।
जिल्ला प्रशासनबाट छुटेका उनीविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्‍यो। 
अदालतमा गोतामेले आफू भेनेजुएला र इजरायल गएको भनेर बयान दिएका छन्। न्यायाधीश श्रीकृष्ण भट्टराईसमक्ष पेस भएको बयानमा 'विप्लव पार्टीबाटै कम्युनिस्टको कार्यक्रममा भाग लिन भेनेजुएला र इजरायल गएँ' उल्लेख गरिएको छ।
भेनेजुएला र इजरायल गएको भनेपछि ठूलै नेता रहेछन् भन्दै न्यायाधीश भट्टराईले उनलाई बोलाएर सोधेका थिए, तिनै माथिका प्रश्नहरु। भेनेजुएला, इजरायल किन गएको? आदि-इत्यादि।
तर, पहिरन र उनको बोलीले वास्तविकता बोलिरहेको थियो। विप्लव नेकपाले गरेको भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेपको आन्दोलनमा देखिनु नै राज्य विप्लवको मुद्दा बन्यो। सोही क्रममा बयान लिने बेला भेनेजुएला भएको भनेर सोध्दा गोतामेले 'हो' भनेर बोलेका थिए।
पछि न्यायाधीशसँग प्रस्ट्याउँदै उनले भने, 'मैले भेनेजुएला प्रकरणको आन्दोलनमा गएको भनेको हो। भेनेजुएला त के म रक्सौल त गएको छैन।'
त्यस्तै विप्लव नेकपा पार्टीबाटै इजरायल समेत गएको भन्दै उनलाई बयान गराइएको थियो। 
यसको वास्तविकता भने यस्तो रहेछ। इजरायलको एक संस्थाले दिएको भूकम्प प्रतिरोधी घर बनाउने तालिममा उनले भाग लिएका रहेछन्। सोही विषयलाई इजरायलसमेत गएको उल्लेख गरेर बयान पेस भएको रहेछ।
उनी भेनेजुएला र इजरायल गएको भए त्यसको ट्राभल डकुमेन्ट र पासपोर्टसमेत प्रहरीले अदालतमा पेस गर्न सकेको थिएन। यसरी बिनाप्रमाण अदालत पेस भएका उनलाई राज्य विप्लवको मुद्दा लगाउँदै २५ वर्षसम्म जेल सजाय हुनुपर्ने माग गरिएको थियो।
उनी विप्लव समूहको सिन्धुपाल्चोकको सुकुम्बासी संघमासमेत आबद्ध भएको उल्लेख गरिएको छ। यस विषयमा गोतामेले भने, 'वैद्य माओवादी हुँदासम्म थिएँ। केही जग्गा पाइन्छ कि भन्ने आशामा बसेको। पछि त्यहाँबाट हटेँ।'
भेनेजुएला, इजरायलसमेत गएको नेदेखिएको, प्रमाणसमेत नभएको र जिल्ला प्रशासन कार्यालयले १० हजार धरौटीमा रिहा गरिसकेपछि हतकडीसमेत नखोली प्रशासन कार्यालयबाटै पक्राउ गर्नु न्यायसंगत नदेखिएको भन्दै न्यायाधीश भट्टराईले उनलाई रिहा हुने आदेश दिए।
त्यसपछि केही खुसीको महसुस गरेका गोतामेले भने, 'मेरो ससुरा त उ: बेलाको प्रधानपञ्च, म आफैंले झापामा चक्र बाँस्तोलालाई भोट हालेको मान्छे, म विप्लव हुँदो हुँ त? विप्लवको नाममा कहिलेसम्म धरपकड गर्ने हामीलाई?' 
अझ उनले अर्को रोचक किस्सा सुनाए। 
'नागरिकता त चाहिँदैन भन्दै नबनाई बसेको थिएँ। सिडिओ कार्यालयको घर बनाउने क्रममा सिडिओले सोधे, 'ए, नागरिकता छ कि छैन? मैले छैन भनेँ। ल बाउको नागरिकता लिएर आइज भने सिडिओले,' उनी सुनाउँछन्।
त्यसपछि मात्रै उनको नागरिकता बन्यो। 
प्रहरीले भने गोतामेले विप्लव समूहमा लागेर हिंसात्मक गतिविधि गर्दै आएको दाबी गरेको छ। 
नेपाल लाइभसँगको छोटो कुराकानीमा पनि गोतामे हतारो भावमा देखिन्थे। उनी छिटो अदालत परिसरबाट उम्कन खोजिरहेका थिए, सायद फेरि पक्राउ पर्ने भय उनमा थियो। 
विप्लव समूहको जुलुसमा देखिएकै भरमा कुनै आपराधिक गतिविधि नगरेको व्यक्तिलाई पक्राउ गरिएपछि यसबारे हामीले प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेललाई सोधेका थियौं। उनले कुनै सर्वसाधारण जीवनयापन गरेको व्यक्तिलाई दु:ख दिने प्रहरीको मनसाय नभएको बताए। फिल्डमा खटिने सम्बन्धित कमान्डरलाई यसबारेमा समेत जानकारी गराइएको उनको भनाइ छ।
राज्यद्रोहको मुद्दामा फस्दै निर्दोष
दुई हप्ताअघि मात्रै जिल्ला अदालत काठमाडौंले विप्लव समूहको कार्यकर्ता भन्दै गलत व्यक्तिलाई अभियोजन गरी राज्यद्रोहको मुद्दा लगाएको ठहर गर्दै  मुद्दा दायर गर्ने सरकारी वकिल र अनुसन्धान गर्ने प्रहरी अधिकृतलाई मुलुकी संहिता अनुसार कारबाही हुने चेतावनी दिएको थियो ।
राज्य विद्रोहका कुनै पनि गतिविधिमा संलग्न भएको प्रमाण पेस नगरी मुद्दा मात्र दायर गरेको भन्दै सरकारी वकिल र अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलाई जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो चेतावनी दिएको थियो। राज्यद्रोहमा २५ वर्ष कैद सजाय माग भएको व्यक्ति निर्दोष र यस्ता गतिविधिमा संलग्न नभएको बयान सरकारले पेस गरेको साक्षीले दिएका थिए। त्यसपछि जिल्ला न्यायाधीश भट्टराईको इजलासले मुलुकी फौजदारी संहिताको दफा ९९ लाई ध्यानाकर्षण गर्दै अनुसन्धान अधिकारी र मुद्दा दायर गर्ने अधिकारीको बदनियत देखिएको टिप्पणी फैसलामा उल्लेख गरेका थिए। 
विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व माओवादी कार्यकर्ता लोकप्रसाद गौतमको मुद्दामा अदालतले यस्तो फैसला सुनाएको हो।
तर भट्टराईको इजलासले यस्तो निर्देशन दिएको केही समयपछि पुन: निर्दोष व्यक्ति गोतामेलाई २५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरेको पाइएको हो। 
मुलुकी संहितको दफा ९९ मा बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने उल्लेख छ। दफा ९९ मा ‘कानुन बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउन वा वास्तविक कसुरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्ने वा अभियोग लगाउन हुँदैन’ भनी उल्लेख छ। यस्तो कसुर गर्ने वा गराउनेलाई ६ महिना कैद र पाँच हजार जरिवाना वा दुवै सजाय हुने उक्त व्यवस्थामा उल्लेख छ।

युवतीको बान्ता सोहोर्न पाइलट बनेर एक युवक अस्पताल पुगेपछि…

युवतीको बान्ता सोहोर्न पाइलट बनेर एक युवक अस्पताल पुगेपछि…

 नारायण अधिकारी |  २०७६ असार १ आइतबार | Sunday, June 16, 2019  १७:०४:०० मा प्रकाशित
11.9kShares
 Share
 Tweet
 Share
 Email
काठमाडौं- 
नाम-  रोनाल राज आचार्य ।
ठेगाना- ठमेल, काठमाडौं
पेसा- पाइलट
उमेर- २८ वर्ष 
झट्ट हेर्दा खाइलाग्दो शरीर। स्मार्ट गेटअप। बोलीचाली र हाउभाउले उनी ठूलै खानदानको मान्छे भन्ने भान हुन्छ। 
करिब ६ महिनाअघि यीनै हुलिया भएका युवा रोनालको काठमाडौं निवासी बिमला (नाम परिवर्तन)सँग भेट हुन्छ। ती महिला आफ्नी नातिनी कृति (नाम परिवर्तन)को उपचारका लागि अस्पताल धाइरहेकी हुन्छिन्। 
सोही मेसोमा उनले एक दिन रोनाललाई आफ्नी नातिनीको अवस्थाबारे जानकारी गराउँदै भन्छिन्, ‘१० वर्ष लन्डन बसेर आएकी मेरी नातिनी बिरामी छ। ग्रान्डी अस्पताल भर्ना भएकी छ। यसलाई कुर्न जानु छ।’
यति बेलिबिस्तार लगाउने महिलाको मन रोनालले जाँचिसकेका थिए। ‘ओहो! बिचरा, नातिनीलाई त्यस्तो पो भएको छ। म पनि भेट्न जान्छु,’भन्दै रोनाल एक दिन तिनै महिलाको पछि लागेर ग्रान्डी अस्पताल पुग्छन्।
बेडमा सुतिरहेकी नातिनीलाई रानोलबारे सबै बेलिविस्तार लगाउँछिन् उनले। रोनाल निकै सहयोगी दयावान् पाइलट भएको आफ्नी नातिनीलाई ती महिलाले सुनाउथिन्।
रानोलले पनि आफू निकै दयावान् र सहयोगी भएको पुष्टि गर्न बिरामी युवतीलाई सहयोग गर्न थाल्छन्। बिरामी युवतीलाई ट्वाइलेट लाने-ल्याउनेदेखि औषधि किनेर ल्याउनेसम्मको काम उनै रोनालले गर्छन्।
रानोलले यतिसम्म गर्छन् कि, बिरामी युवतीको बान्ता समेत उनले सोहारेर फाल्छन्। हट्टाकट्टा खाइलाग्दा एक पाइलटको सहयोगी मन देखेर विस्तारै ती युवतीको मन पग्लन थाल्छ। 
डिस्चार्ज भइसकेपछि उनीहरुबीच अन्तरंग कुराकानी गर्न थाल्छन्। दबै जना अविवाहित। उमेर पनि मिल्ने। युवक पाइलट। ठमेलमा घर। युवती १० वर्ष युके बसेर आएकी। धनाढ्यकी छोरी।
कृति र रोनालबीच फोन र म्यासेन्जरमा अब विवाहका कुरा हुन थाल्छ। दिनहुँ भेट हुनु, घुम्नु उनीहरूका लागि समान्य हुन थालिसकेका हुन्छ। अब चाँडै नै उनीहरु विवाह गर्दै छन् भन्ने युवतीको परिवारलाई समेत लाग्न थालिसकेको थियो।
जसका लागि कृतिका तर्फबाट रोनाललाई डेढ करोडको ल्याडरोबर गाडी दाइजो दिने फिक्स हुन्छ। जेठ सुरुतिर राजधानीकै एक पाँचतारे होटलमा इन्गेजमेन्टको तयारी भयो। 
000
सोही बेला प्रिया (नाम परिवर्तन) नाम गरेकी एक युवतीले कृतिलाई म्यासेन्जरमा बोलाउँछिन् ‘हाई’।
कृतिले फर्काउछिन् ‘हेल्लो’
‘विवाह गर्न लाग्नुभएको रहेछ। त्यो केटा (रोनाल)को बारेमा केही भन्छु भेटम्न’ इन्गेजमेन्टकै दिन बिहान प्रियाले कृतिलाई म्यासेज गर्छिन्। 
उनीहरुबीच भेट्ने सहमति हुन्छ। सबैकुरा एक आपसमा सेयर गर्दै आएकी कृतिले रोनाललाई प्रियाले भेट्न खोजेको बताउँछिन्। र यसका लागि दुबै जना सँगै गएर भेट्न भन्छिन्।
'ओके' भनेका रोनाल आउँदैनन्। कृति एक्लैले प्रियालाई भेट्छिन्। त्यसपछि खुल्छ पाइलट रोनालको वास्तविक परिचय।
प्रियाले रोनालका बारेमा सबै बेलिविस्तार लगाउँछिन्। ऊ न त कुनै पाइलट नै हुन्छ, बरु अपराधी भएको कुरा प्रियाले बताउँछिन्। कृतिजस्ता २० जनाभन्दा बढी युवतीलाई यसैगरी उसले ठग्दै आएको कुरा प्रियाले सुनाउँछन्।
प्रिया आइटी इन्जिनियरमा ब्याचलर गरेकी युवती हुन्। उनलाई पनि यसैगरी रोनालले ४ वर्षसम्म प्रेमको नाटक गर्दै ठगेका थिए। प्रियाले यो सबै कुरा सुनाएपछि कृति छाँगाबाट खसेजस्तो हुन्छिन्। 
६ महिनाको बीचमा रोनालले कृतिबाट मात्रै ३५ लाख रुपैयाँ ठगी गरिसकेका थिए। 
000
कृति र प्रिया दुबै जना मिलेर रोनाल विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन्छन्।
उनीहरुकै उजुरीको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले रोनाललाई जेठ २० गते काठमाडौंबाट पक्राउ गरेको छ। 
उनीविरुद्ध अहिले ठगीमा मुद्दामा अनुसन्धान भइरहेको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताएका छन्।
रोनाल पक्राउ परेपछिको उनको ठगीको रहस्य खुल्दै आएको छ। उनले अहिलेसम्म २० जना युवतीलाई विवाह गर्ने बाहनामा ठगी गरिसकेको प्रहरीले जनाएको छ।
टार्गेटमा धनाढ्य युवती, 'बटरफ्लाई' भन्दै यसरी पार्थे प्रलोभन
रोनालको टार्गेटमा धनाढ्य परिवारका १७-१८ वर्षका युवती हुने गरेको प्रहरीले जनाएको छ। आफू पाइलट, इन्जिनियर, आर्किटेक्चर, जग्गा कारोबारी, व्यापारी भएको बताउँदै उनले युवतीलाई प्रलोभनमा पार्ने गरेका थिए। 
ठमेल र सामाखुसीमा घर भएको पनि उनले बताउने गरेका थिए। तर उनी पक्राउ परेपछि यो सबै झुठ बाहिरिएको छ। उनले १२ पास गरेको र काठमाडौं बसुन्धारामा भाडामा बस्दै आएको डिएसपी बोगटीले बताए। उनको घर भने नवलपसारी डन्डा भएको प्रहरीले जनाएको छ।
फेसबुकमा धनाढ्य परिवारका युवतीहरुलाई मात्र साथी बनाउने गरेका उनले विस्तारै 'हाई-हेलो' गर्दै कुरा सुरु गर्ने गरेका थिए। उनी आफू धनाढ्य, पाइलट इन्जियिर भएको बताउँदै युवतीलाई प्रलोभनमा पार्थे। १७-१८ वर्षका युवतीलाई भन्थे, ‘तिमीहरु भनेको गिलो माटो हो। अहिले नै जुन 'सेप' दियो त्यही बन्छौं।’
यति भनेपछि युवतीहरु पनि राम्रो मान्छे रहेछ भन्दै उनको पछि लाग्थे। त्यसपछि उनको ठगी धन्दा सुरु हुन्थ्यो। यसरी उनले २० जनासम्म युवतीलाई ठगी गरेको पाइएको छ।
प्रायः युवतीलाई बोलाउदा उनी ‘हाई माई बटरफ्लाई’ भन्थे। र मख्ख पार्थे।
ठगीबाटै कार, १ वर्षअघि २५ लाख तिरेर रिहा
पक्राउ परेका रानोलले प्रयोग गर्ने गरेको कार प्रहरीले बरामद गरेको छ। ठगीलाई नै पेशा बनाएर लागेका उनले ठगेकै पैसाले करिब ३० लाख पर्ने स्विफ्ट कार चढ्थे। सो कार प्रहरीले बरामद गरेको हो। 
कार लिएर युवती भेट्न गएपछि उनीहरुले पनि सजिलै विश्वास गर्ने भएकाले उनले ठगेको पैसाले सुरुमै कार किनेको प्रहरीले जनाएको छ। 
त्यस्तै, उनी एक वर्षअघि २०७४ सालमा नै जबरजबस्ती करणी उद्योगमा पक्राउ परेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसबेला उनी २५ लाख रुपैयाँ धरौटी राखी रिहा भएका थिए। रोनाल लागूऔषध सेवनकर्ता पनि भएको प्रहरीले जनाएको छ।

तस्करीलाई प्रोत्साहन गर्नेगरी गृह मन्त्रालयको निर्देशन– भारतबाट छिर्ने गाडी जाँच नगर्नू

तस्करीलाई प्रोत्साहन गर्नेगरी गृह मन्त्रालयको निर्देशन– भारतबाट छिर्ने गाडी जाँच नगर्नू

भारतसँग सीमा जोडिएका २२ जिल्लाका प्रशासकलाई पत्र
 नारायण अधिकारी |  २०७६ असार २ सोमबार | Monday, June 17, 2019  १२:५०:०० मा प्रकाशित
74Shares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– तस्करीलाई प्रोत्साहन गर्ने गरी गृह मन्त्रालयले तराईका जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र काटेको पाइएको छ। भारतबाट नेपाल प्रवेश गर्ने गाडी जाँच नगर्न भन्दै गृह मन्त्रालयले परिपत्र गरेको हो।
जेठ २ गते काटिएको उक्त पत्र भारतसँग सीमा जोडिएका २२ वटा जिल्लाका प्रशासकहरुलाई पठाइएको छ।
झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, मोहत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चिवतन, पूर्व नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी २२ जिल्ला प्रशासन कार्यालयलाई गृहले पत्र लेखेको हो। 
उक्त पत्रमा भारतबाट नेपाल प्रवेश गरेका मालबाहक गाडीलाई कुनै जाँचबिना छाड्न आदेश दिइएको छ।
प्रहरीले सीमा नाकाबाट भित्रने गाडीहरु नियमित जाँच गर्दै आएको छ। सीमा नाका भएकाले विभिन्न अवैध वस्तुहरु भित्रने, बिना कागजात गाडी नेपाल प्रवेश गर्ने, तस्करीका सामानहरु नेपाल छिर्ने भएकाले सीमा क्षेत्रमा कडा जाँच हुने गरेको हो।
गृहले पठाएको पत्रमा प्रहरीबाट ओभरलोड भनेर ट्रक र ट्रेलहरुलाई दु:ख दिने, जरिवाना तिराउने, हैरानी दिने र २/३ दिनसम्म रोकेर राख्ने गरेको पाइएको भन्दै अबदेखि जाँच नगर्नु भनिएको छ।प्रहरीले कागजात नभएका र ओभरलोड भएका, भन्सार छलेर ल्याएका मालबाहक गाडी र सामानहरु बरामद गरे पनि गृहको यो पत्रले तस्करीलाई बढवा दिएको सीमा क्षेत्रका प्रहरीले बताएका छन्।
केही दिनअघि मात्रै २ नम्बर प्रदेश अन्तर्गतको एक प्रहरी कार्यालयले कागजात बिनाका ११ वटा मालबाहक गाडी नियन्त्रणमा लिएको थियो। व्यवसायीले छाड्न भन्दै पटकपटक दबाब दिए पनि प्रहरीले कागजात नभएकाले कारबाही नगरी छाड्न नमिल्ने बताएको थियो। त्यसपछि प्रहरीलाई चुनौती दिँदै राजधानी काठमाडौं छिरेका व्यावसायीले गृहमन्त्रीलाई भेट गरेका थिए। व्यवसायीको भेटपछि गृहले २२ वटा जिल्लालाई पत्र लेख्दै मालबाहक गाडी जाँच नगर्न निर्देशन दिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 
क्षमताभन्दा बढी सामान ढुवानी भएकालाई समेत कारबाही नगर्नु भनेर पत्रमै उल्लेख गरिएको छ। 'शान्ति सुरक्षाको व्यवस्था गर्न सहयोग गर्ने तर ढुवानीका साधनहरु सडकमा गुड्दा नियामक निकायको अनुरोध र समन्वय बिना क्षेत्राधिकार विपरीत रोक्ने, दु:ख हैरानी दिने कार्य कहीँ कतैबाट नगर्नु' पत्रमा भनिएको छ।
उक्त पत्रको बोधार्थ गृहले प्रहरी प्रधान कार्यालय नक्साल र सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकलाई दिएको छ। 
सीमाका प्रहरी भन्छन्- हामी चेपुवामा पर्‍यौं
गृहको उक्त निर्णयले तस्करी, कालोबजारीलाई बढवा दिने जानकारहरु बताउँछन्। प्रदेश २ का एक उच्च पदाधिकारीले गृहको उक्त निर्देशनले प्रहरीलाई चेपुवामा पारेको प्रतिक्रिया दिए। 
‘अहिले राजधानी लगायत देशका विभिन्न ठाउँमा विस्फोटका घटनाहरु भइरहेका छन्। गाडी नै जाँच नगरी पठाउँदा विस्फोटन गराउने समूहले विस्फोटक पदार्थ मालबाहक गाडीमार्फत नै ल्याउन पनि सक्छन्,' ती अधिकारीले भने, 'अनि भोलि विस्फोट भएपछि नाकाको प्रहरी के हेरेर बसेको छ भनेर उल्टै हामीमाथि कारबाही हुन्छ।’ 
नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशका विभिन्न ठाउँमा विस्फोट गराउँदै आएको छ। उक्त विस्फोटक पदार्थ दक्षिण सीामा नाका भारतबाट आउनको गरेको यसअघि नै सुरक्षा निकायले बताउँदै आएका छन्। यस्तो अवस्थामा गाडी नै जाँच गर्न नपाएपछि विस्फोटक पदार्थहरु भित्रने उनीहरुको चिन्ता छ।
अझ भारतीय सीमा हुँदै भन्सार छलेर तस्करी हुने कुरा नौलो होइन। यसरी तस्करी गरेको सामान गाडीमै काठमाडौंसम्म आउने गरेका उदाहरण पनि छन्। 
गत बैसाख पहिलो साता स्वयम्भूमा ना ५ ख ४८४२ नम्बरको बसमा जाँच गर्ने क्रममा प्रहरीलाई ३ लाख ५० हजार रुपैयाँ घुसको अफर आएको थियो। घुस दिन खोज्ने बसका चालक काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने सर्लाहीका श्याम विश्वकर्मा, कलंकी बस्ने सुर्खेतका दीपा रानामगर र नुवाकोट ककनी गाउँपालिका–२ का भरत तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा उक्त बसमा ५० लाखभन्दा बढीका कपडा र अन्य समान फेला परेका थिए । उनीहरुले ती सामान भारतबाट भन्सार छलेर काठमाडौं ल्याएका थिए।
सीमा नाकाका प्रहरीले दिनहुँजसो भन्सार छलेर आएका समान र गाडीहरु नियन्त्रणमा लिँदै आएको छ। अब जाँच नै गर्न नपाउने भएपछि लागुऔषध, विभिन्न हातहतियार, विस्फोटक पदार्थ, मुलुकको राष्ट्रिय सुरक्षा खतरा पर्ने चिजहरु पनि भित्रन सक्ने सुरक्षा विज्ञ तथा पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन्। 
‘यदि गृहले जाँच नै नगर भनेको छ भने भोलि देशमा केही भएमा त्यसको जिम्मा पनि उसैले लिनुपर्‍यो,' उनले भने, 'जाँच नै नगर्नु भन्ने आदेश जुन छ, यो सुनेर म अचम्ममा छु।’

पूर्वप्रहरी राईको अनुभव : प्रधानपञ्चले नमस्कार गरेको प्रहरीलाई अहिले कसैले गन्दैन

पूर्वप्रहरी राईको अनुभव : प्रधानपञ्चले नमस्कार गरेको प्रहरीलाई अहिले कसैले गन्दैन

मान्छे जति साक्षर बन्छ, अपराध उति बेसी
 सन्तकुमार राई, पूर्वप्रहरी |  २०७६ असार ७ शनिबार | Saturday, June 22, 2019  २०:५६:०० मा प्रकाशित
109Shares
 Share
 Tweet
 Share
 Email
पाँचथर निवासी ७३ वर्षीय सन्तकुमार राईले नेपाल प्रहरीबाट २०५२ सालमा अवकाश पाए। उनका ५ भाइ छोरामध्ये २ जना काठमाडौं, एक जना भारत र अर्का चाहिँ इलाममा बस्छन्। नजिकै रहेका छोरालाई देखाउँदै उनले भने, 'यो चाहिँ साइँलो।' 
राईले हामीसँग आफ्नो विगत सुनाएका छन्। जसमा सेवाका रोचक प्रसंगहरु पनि छन्। 
प्रस्तुत छ राईको भनाइ जस्ताको तस्तै:
बन्दुक बोक्ने सानैदेखिको रहर थियो। सबैभन्दा ठूलो मान्छे नै बन्दुक बोक्ने हो जस्तो लाग्थ्यो। २०२४ सालमा काम गर्ने सिलसिलामा पाँचथरबाट भैरहवा पुगियो। त्यसबेला २१ वर्षको थिएँ। 
फारम भरियो। २०२४ सालमा आइजिपी रोमबहादुर थापाको पालामा भैरहवाबाट सिपाहीमा भर्ती भएँ। तालिम सकिएपछि पाल्पा दरबन्दी भयो। त्यसबेला पाल्पामा जिल्ला प्रहरी प्रमुख इन्सपेक्टर हुन्थे। अलिहे त डिएसपी/एसपीको जमाना आयो। जिल्ला इन्सपेक्टर मातहत पाल्पाको ठानामा ४ वर्ष काम गरियो।
त्यसबेलाको बर्दी नै छुट्टै। सुरुमा खागी त्यसपछि फुस्रो टेलिकटन आयो। त्यो पनि २०३९ सालबाट बदली भएर अहिलेको निलो बर्दी आएको हो।
पहिला त खागी नै हो। आइरन घोटेको घोट्यै गर्नुपर्ने। ड्रेस बनाउँदा बनाउँदै दोहोलो हुन्थ्यो। सुत्न त पाइँदैन नपाइने नि। दिनभर पिटीपरेड। राति परेपछि कपडा धुयो। दुई जोर नभई हुन्थेन। एक जोर धुएर सुकेपछि आइरन लगायो। त्यहाँदेखिन् अनि अर्को धुएर सुकायो। रातभर आइरन लगाएर भोलिपल्ट बिहान टिलिक्क टल्काउनुपर्ने। खागीमा आइरन घोट्न फेरि यति गाह्रो हुने नि!
बुट टल्किएन भने हाकिम आएर घर्‍याप्प कुल्चिदिन्थ्यो। झनसारो बुट कोरिएर हैरान। बर्दीको एउटा बटम छैन भने सिधै घोप्टो। त्यो फेरि टाँका लाउँदाखेरि बिरङ धागो लाको छ भने कानमा समातेर ५० तालि उठबस। आर्मी पुलिसको शासन त कडा पो हुन्छ त।
हप्तैपिच्छे केश काटेन भने कन्सिरी तानेर हैरान। पिटाइ त मैले खाइनँ। गल्ती गरे पो पिट्छ। गल्ती गर्नु हुँदैन। अनुशासनमा बसेपछि केही पनि गर्दैन। आदेश अनुसार चाहिँ गरेन भने फेरि खाइन्थ्यो। तालिममा त कुटिहाल्छ। त्यो सामान्य हो। 
अनुशासनमा बसिएन भने कुटाइभन्दा पनि प्याकडिल र लक बोकाउँदा मान्छेको चेत हुन्छ त। प्याकडिल भनेको १२ वटा इँटा झोलामा बोकाउने, अगाडि २ वटा, ६ वटा पेटमा बोकेर २ घन्टा दौड। 
बिनाआदेश कम्पाउन्डबाट निस्केर बाहिर गयो र कसैले कुनै केटीसँग गफगाफ गर्‍यो वा रक्सी खाएर झैझगडा गर्‍यो भने त प्याकडिलमा पर्थ्यो।
लक पर्‍यो भने ठ्याक्कै ५० किलो बोकेर २ घन्टासम्म गुरुबाले भनेजसरी दौडिनुपर्थ्यो। हिँड् भन्थ्यो, हिँड्नै परो। वापस भन्थ्यो, आउनै परो। जा, जानै परो। 
रोमबहादुर थापाको पालामा भर्ना भएको। तर उसलाई देख्नै पाइनँ। हेर्न काठमाडौं पुग्नुपर्ने। जिल्लामा ऊ आउँदै नआउने। त्यस्तो आइजी थियो रोमबहादुर। 
पल्टनमा रमाइलो भन्ने त के नै हुन्थ्यो र! आफ्नो अनुशासनमा बस्नै परो। कहीँ रमाइलोमा जाने सिपाहीको कुरै भएन। के रमाइलो भन्नु। त्यही आफ्नो कम्पाउन्डभित्र बसो। गफ गरो। साथीसाथी तास खेल्यो। चुरोट खायो। बसो। अनि उता कुन मान्छे पक्राउ गर्न खटाउँछ कि, के गर्न खटाउँछ त्यही अनुसार बाहिर जाने हो। होइन भने बाहिर बिनाआदेशले जान मिल्दैन थियो।
आदेश नाघ्यो भने खुट्टा माथि पारेर हातले टेकेर आधा घन्टा भित्ते। त्यही त हो नि आर्मी र पुलिसको पारा। १० मिनेट हातले जिउ थाम्न सकिँदैन भने आधा घन्टा थाम्नु सानो कुरो हो?
टाउकोले टेक्न पनि नमाइने। थरर्र कामेको छ। त्यहाँ अगाडि यत्रो डन्डा लिएर बसेको हुन्छ गुरुबा। अति नै हात दुख्यो भनेर टाउकाले टेको भने दिइहाल्छ। मैले त यो बेहोरिनँ। तर कोहीकोही साथी थिए नि, उनीहरुको देख्दै म त थररर। 
यस्तो अनुशासन थियो प्रहरीमा त्यसबेला। आहिले त खै के हो के? सिपाहीले हाकिमलाई गन्दैन।
भाले त कति खाइयो कति!
कसैको रिपोर्ट पर्छ। गाउँमा गयो। मान्छे पक्रियो। ल्यायो।  त्यहाँभन्दा अरु हुँदैन थियो। एक्लै गाउँ जाने कुरा हुँदैन थियो। २/३ जना कति खटाइदिन्छ त्यही अनुसार जाने। केश हेरेर मान्छे खटाउँथ्यो। 
कस्तो खालको केश हो? वादविवाद केश हो भने २ जना गए पनि पुग्थ्यो। त्यहाँभन्दा बढी पठाउँदैन थियो। डकैती केश हो भने ४/५ जना। ज्यान केश हो भने ५/७ जना नै जानुपर्‍यो।
गाउँ जाँदा एउटा लठ्ठी लिएर गएपछि गाउँ पुरै थुरुरु हुन्थ्यो। प्रधानपञ्चले नमस्कार गर्थ्यो भनेपछि कुरै सकिगयो नि। प्रधानपञ्चले धरि नमस्कार गरेको प्रहरीलाई अहिले कसैले गन्दैन।
डन्ठा हल्लाउँदै गयो। ओए के छ हाउ भन्यो। नमस्कार गर्दै प्रधानपञ्च, वडाध्यक्ष, सदस्य आउँथे। उनीहरुको घरमा गयो। तपाईंको एरियामा के छ सन्चो बिसन्चो? अपराध घटना केही छ कि भनेर सोधिन्थ्यो। यस्तोयस्तो छ भनेर उनीहरुले सबै भनिहाल्थे। केही छैन भने छैन भन्थे। फर्किंदा पञ्चायत घरको कुराहरु लगेर बुझाउनुपर्थ्यो।
प्रहरीको काम त्यही त हो अपराधी ल्याउने अनुसन्धान गर्ने, सोधपुछ गर्ने। सम्झाइबुझाइ छोड्ने खालको रहेछ भने त्यसैगरी छोड्नुपर्थ्यो। त्यो डकैती र ज्यान सम्बन्धीमा भाटा हानेर हुँदैन। तिनीहरुलाई त जिल्ला पठाउनुपर्थ्यो। जिल्लामा रिपोर्ट गरिन्थ्यो। मुद्दा दायर गरेर जिल्लाबाटै अनुसन्धान हुन्थ्यो। 
प्रहरीको हातमा परेपछि कुटाइ नखाने भन्ने त हुँदैन थियो। तैपनि साधारण केश, सम्झाइबुझाइ गर्दा हुनेलाई चाहिँ त्यसै गरेर पठाइन्थ्यो। त्यसरी छोड्नुको अर्थ आयन्दा त्यो नगरेस् भन्ने हो।
गाउँ गएपछि कुखुराका भालेहरु काटिहाल्थे। उस्तै पर्‍यो भने बोकै काट्थ्यो। धेरै जना भए खसी काट्थ्यो। २/३ जना मात्रै गको छ भने भाले काट्थ्यो। काटिहाल्ने-दिइहाल्ने। कति खाइयो खाइयो। हामीले मागेको होइन। वडाध्यक्षले दिन्थ्यो। प्रधानपञ्चले दिन्थ्यो। आबो, गएपछि खान दिनैपरो। भाले पनि खाकै हो। त्यसबेला हरेक घरमा १५/२० वटा भाले हुन्थे। आहिले पो हुँदैन। 
मान्छे जति साक्षर बन्छ, अपराध उति बेसी
अपराधको कुरा गरौं। मेरै घर नजिकै अस्ति आरुबोटैमा ९ जनाको हत्या भयो। मेरा गाउँलाई चाहिँ खेसङखोपा भन्छ। यस्तो पहिला हुँदैन थियो। अपराध त पहिलाको भन्दा त अहिले धेरै। पहिला के हुन्थ्यो र। जति साक्षर मान्छे बन्छ त्यति अपराध बेसी हुन्छ। जति निरक्षरता छ, त्यो निरक्षरताले के गर्न सक्छ र। उसको हिम्मतै हुँदैन। आफ्नो खेतीकिसानी गरेर खानु, आफ्नो बिहान बेलुकाको समस्या हल गर्नुभन्दा उसको त्यो दुनियाँभरको अपराध गर्ने कुरा दिमागमा आउँदैन।
वर्षमा त्यो जमानामा नेपालभर ५ सय जनाले अपराध गर्थे भने आज ५ लाखले अपराध गर्छ। बुझ्नु भयो के? त्यति बढ्यो अपराध।
त्यो बेला जग्गा साँध सम्बन्धमा विवाद हुन्थ्यो। अनि लियादियामा विवाद हुन्थ्यो। अनि लोग्ने स्वास्नीको झगडामा विवाद हुन्थ्यो। अनि जाँड खाएर लडाइँ झगडा या मुख छोड्ने त्यस्तो हुन्थ्यो। होइन भने अरु कुरा हुन्थेन।
अहिले जस्तो बलात्कार, हत्या, हिसां त अहँ बन्द। बलात्कार, डाँका र ज्यानमाराको कुरा त कताकता। वर्षमा एक पटक पनि हाम्रो कानमा पर्थेन। आहिले त कति हो कति। बलात्कारको घटना त झनसारै पिटिक्कै हुन्थेन। छोरा र छोरी भेट भएर बोलेको पनि लाज हुन्छ भन्थे। बोल्दैन थिए। भेटघाट हुँदाखेरिमा चाहे तरुनी तन्नेरी होस् आफ्नो चाहिँदा कुरा बोल्यो हिँड्यो। लप्पन-छप्पनको कुरै छँदै थिएन। बरु २ जनाको कुरा मिल्यो भने सुटुक्क लानेजाने हुन्थ्यो।
अहिले जस्तो ए... किस खाने अरे, अँगालो मारेर हिँड्ने अरे। जमाना फेरिए। जति मान्छे साक्षर हुँदै जान्छ, त्यति लापरबाही हुँदोरैछ।
छाडेर पनि फेरि जागिर खाइयो
पाल्पाबाट सरुवा भएर आफ्नै जिल्ला पाँचथर आइयो। घर नजिकै रवि ठानामा जागिर थियो। हामी त २४ घन्टे हो। घर नजिकै जागिर भए पनि उही अन्त बसेजस्तै कहिलेकाहीँ यसो घर आउन पाइने। एकडेढ घन्टाको टाइम लिएर आयो। घरमा केही गर्न नपाइने। अनिखेर, नोकरी छोडेर घर व्यवस्था मिलाउनुपरो भनेर २०३९ सालमा जागिर छोडियो। 
आफ्नो छोराछोरी मसिनो। घरगृहस्थी सम्हाल्न जागिर छाड्नुपर्‍यो। तर एक जनाले केही गर्न सकिँदो रैनछ। 
घर बस्दा पनि दिग्दार भयो। ६ वर्षपछि २०४६ सालमा फेरि गएर भर्ती भएँ। जागिर छाडे पनि त्यतिखेर सरकारले मौका दियो र फेरि खाइयो। त्यति बेला पहरा गण खुलेको थियो। त्यसैमा जागिर जोडियो। छाडेकाले फेरि जागिर खाने आहिले पनि आर्मीको ग्यारिजन त छँदैछ त। आफ्नो आवश्यकताले छोड्ने र फेरि जागिर खाने इच्छा भएमा र आफ्नो  रिपोर्ट राम्रो भएमा फेरि लिने भनेको थियो त्यसबेला। रिकर्ड बिग्रेर, बद्मास गरेर छाडेकोले चाहिँ पाउँदैनथे। 
त्यतिबेला ६२ रुपैयाँ तलबको बेला भर्ती भएको। खानलाउन पनि धौधौ थियो। तलबले पनि के पुग्थ्यो र महिनाभरि। त्यही हो, खान पिउनका लागि यसो गस्तीसस्ती खटाइदिन्थ्यो। पेनसन हुने बेला १६ सय पुगेको थियो तलब। अहिले लगभग १२ हजार पेनसन आउँछ। 
रिज्वाइन भएपछि पहरा गणमा बसियो। त्यसपछि पाकिस्तान एम्बेसीमा ६ महिना। जापान एम्बेसीमा ४ महिना। त्यहाँबाट विमला शाह भन्ने राजा महेन्द्रको बहिनीकोमा ६ महिना बसेँ। कताकता बसियो बसियो। २१ वर्ष ४ महिना १ दिन जागिर खाएर २०५२ सालमा छाडियो। अहिले र पहिलको पुलिसमा फरक भनेको त्यही हो, मैले जागिर छाडेपछि एसएसपी र एआइजीको पद थपियो। अरु उस्तै हो।
पुलिसलाई मान्छेले गन्न छाडे
अहिले आधुनिक जमाना आयो। साक्षर निरक्षर धेरै फरक हुन थाल्यो। प्रहरीलाई गाउँ समाजले मान्ने कुरामा आकाश पाताल फरक छ। त्यही त मैले भनिगएँ नि। प्रहरीको नियम कानुन त एउटा हो। तर काम गराइमा कताकता अन्तर पर्छ। 
पहिलाको जस्तो लाटो जमाना छैन। अहिले जामाना बाठो भयो। नोकरी गर्ने पुलिस पनि मान्छे, म पनि मान्छे। मैले गल्ती गरेको छैन किन डराउने? गाउँतिर प्रहरी आयो है भनेपछि पक्रेर लान्छ भन्ने डर थियो त्यसबेला। बिनागल्ती पक्रेर कल्ले पो लान्छ र।
बन्दुक बोक्नै पर्दैन थियो। डन्ठा लिएर गाउँ छिरेपछि गाउँ नै थुरुरु। आहिले त पुलिसलाई कसले गन्ने?
आहिलेको मान्छे त प्रहरीको अफिसमा गफ गर्छ। त्यसबेला कहाँ आउँथ्यो र। आए पनि त्यही प्रधानपञ्च, वडासदस्यहरु आउँथ्यो। अहिले त प्रहरीसँग हातेमालो गरेर हिँडेको हुन्छ। सँगै उठबस भएपछि अनि गन्छ त पुलिसलाई।
प्रहरीको अधिकारमा पनि पहिला र अहिलेमा केही फरक छैन। बरु अहिले बढ्दै गयो। तर प्रहरीलाई मान्छेले गन्न चाहिँ छाड्यो।
(नेपाल प्रहरीका पूर्व सिपाही राईसँग नेपाल लाइभका सहकर्मी नारायण अधिकारीले गरेको कुराकानीमा आधारित)

Monday, June 10, 2019

आरुबोटे नरसंहार-६ : ९ जनाको हत्यापछि मानबहादुरका ४ घन्टा

आरुबोटे नरसंहार-६ : ९ जनाको हत्यापछि मानबहादुरका ४ घन्टा

चाउचाउ खाएर जब डोरी लिएर हिँडे...
 नारायण अधिकारी |  २०७६ जेठ २७ सोमबार | Monday, June 10, 2019  १४:३५:०० मा प्रकाशित
102Shares
 Share
 Tweet
 Share
 Email
आरुबोटे (पाँचथर)– जेठ ७ गते बिहानै जिल्ला प्रहरी कार्यालय पाँचथरको सञ्चार सेटमा अपत्यारिलो सूचना आइपुग्छ– आरुबोटमा ९ जनाको विभत्स हत्या भयो! 
उक्त सूचनापछि तत्कालै जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी नरेन्द्र कुवँरले तालुकका कार्यालयलाई घटनाबारे जानकारी गराउँछन्। घटनास्थल शिल गरेर सुरक्षित राख्न स्थानीय प्रहरी चौकी दशमी र इलाका प्रहरी कार्यालय रविलाई निर्देशन दिइन्छ। ज्वाइँ-ससुरकै घरमा ९ जनाको हत्या भएको घटना असामान्य भएपछि फिदिमबाट डिएसपी कुवँर नै टोलीका साथ घटनास्थलतर्फ लाग्छन्।
फिदिमबाट गाडीमा साढे ३ घन्टाको यात्रापछि पुगिन्छ, आरुबोटे।
घटनास्थल पुगेका डिएसपी सहितको टोलीले शवको अवलोकन गर्छ। दुई परिवारका सबैको हत्या भएपछि दुवै परिवारसँग सम्बन्ध भएको व्यक्तिबाट हत्या हुनुपर्ने विश्लेषण प्रहरीले सुरु गर्छ। सोही क्रममा स्थानीयले पनि दुवै परिवारसँग नाता जोडिएका व्यक्ति मानबहादुर माखिमतर्फ संकेत गर्छन्। हत्या गरिएकी मनकुमारीसँग मानबहादुरको सम्बन्ध विच्छेदको मुद्दा चलेको र पहिल्यैदेखि सम्बन्ध चिसिँदै गएको स्थानीले बताएपछि प्रहरीलाई अनुसन्धानका लागि थप बल पुग्छ।
शवको प्रकृति हेर्दा मानबहादुरको साढु दाइको लिंग काटिनु, श्रीमतीको पेटमा धारिलो हतियार प्रहार गर्नु, जेठी सासूको हात काटिएको देखिन्छ। यसले पनि प्रहरीलाई केही 'क्लु' फेला पर्छ।
घटनास्थलमा संघीय प्रहरी कार्यालय कोशीका एसएसपी शरद खत्री र १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान टोली पनि घटनास्थल पुगिसकेको हुन्छ। घटनास्थितिको विश्लेषण गरेपछि प्रहरीको शंका मृत बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुरतिरै सोझिन्छ।
‘घटनास्थलको परिस्थिति र पृष्ठभूमि बुझ्दा मानबहादुर सिनमा आए,’ डिएसपी कुवँरले सुनाए, ‘त्यसपछि मोटरसाइकलमा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमलाई लिएर म मानबहादुरको घरतर्फ गएँ।’
प्रहरी बिहानै मानबहादुरको घर पुगिसकेको थियो। मानबहादुरकी आमा फूलकुमारी माखिम भन्छिन्, ‘प्रहरी बिहानै घर आयो। खालि मानबहादुर कहाँ छ, मानबहादुर कहाँ छ मात्रै भन्छ। विराटनगर जान्छु भनेर हिजै गएको थियो भन्यो हामीले। किन सोध्छ एकदम मानबहादुर, के बिगार गरेछ आज तेस्ले भन्ने हामीले सम्झियो।’
माबहादुरका बा-आमा
यतिन्जेलसम्म फूलकुमारीलाई ९ जनाको हत्या भएको र त्यसमा आफ्नो छोरो संलग्न भएको थाहै थिए। 
प्रहरीले फूलकुमारीलाई सोधपुछ गरेको केही समयमै मानबहादुरको घरबाट झन्डै आधा घन्टाको पैदल दुरीमा एक पुरुष झुन्डिएर आत्महत्या गरेको खबर प्रहरीलाई आउँछ। सँगै रहेकी फूलकुमारीले पनि यो थाहा पाउँछिन्। बाटो हिँड्नेले झुन्डिएको अवस्था शव देखेपछि उक्त कुरा फैलिएको थियो। 
डिएसपी कुवँर, गाउँपालिका अध्यक्ष अमरराज माखिम, मानबहादुरलाई चिन्ने स्थानीय र प्रहरी टोली घटनास्थल पुग्छ।
रगत नलागेको हरियो टिसर्ट, फुस्रो पाइन्ट लगाएका एक युवा करमको हरियो रुखमा झुन्डिएको अवस्थामा देखिन्छन्। गाउँलेहरुका अनुसार आत्महत्या गर्ने मानबहादुर नै भएको पुष्टि हुन्छ।
हत्यापछि चाउचाउ खाएका थिए मानबहादुरले
मानबहादुर मृत फेला परे पनि उनको संलग्नताबारे प्रहरीले पुष्टि गरिसकेको थिएन। उसको प्रारम्भिक निष्कर्ष मात्रै थियो। 
त्यसो त उनको शरीर र कपडामा समेत रगत नलागेकाले प्रहरी झनै अचम्मित हुन्छ। शंका गरिएका मानबहादुरबाट हत्या नभएकै हो त? त्यसो भए कसले मच्चायो नरसंहार? प्रहरी थप सशंकित हुन्छ।
प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै लान्छ। बमबहादुरको घरमा हत्या मच्चाएपछि हत्यारा गोरेटो बाटो हुँदै आरोलो झरेको निसाना भेटिन्छ। करिब २ सय मिटर टाढासम्म रगतको टाटा देखिएपछि प्रहरीले तालिम प्राप्त कुकुरबाट पनि थप सहयोग लिन्छ। त्यो बाटो हुँदै हत्यारा भागेको संकेत कुकुरले गर्छ। 
प्रहरीको अनुसन्धानलाई सहयोग पुग्ने गरी एउटा सूचना आउँछ- ‘हत्या भएकै रात १२:५० एक युवक टर्च बालेर फटाफट ओरालो झरेको छ।’
कसले देख्यो मध्यरातमा ती व्यक्तिलाई?
प्रहरी फूलकुमारी नेपालीसम्म पुग्छ। जसले १२:५० फटाफट ओरालो झरेको एक व्यक्तिलाई देखेकी थिइन्।  धारामा त्यसदिन राति १ बजे पानी आउने पालो थियो। आफू उठेपछि घडी हेर्दा रातको १२:५० भएको र त्यही बेला मान्छे कुदेको देखेको उनले बयानमा बताएकी छिन्। ‘श्रीमान्‌लाई पानी थाप्न उठ्न भनेँ। उठ्न मानेनन्। त्यति नै बेला नबोली एक युवक टर्च बालेर फटाफट आरोला झरेको छ। राति भएकाले मान्छे चाहिँ चिनिनँ।’
धनराजको घरमा बसेका धामीको भनाइ, उनै फुलकुमारी नेपालीको बयानकै आधारमा प्रहरीले हत्या सवा घन्टाभित्र भइसकेको निर्क्यौल निकालेको छ।
साढे १० बजे धामी धनराजको घरबाट निस्किएको भनेपछि कम्तीमा पनि ११ बजेबाट हत्या सुरु हुनुपर्ने र फूलकुमारीले १२:५० मा देखेको भनेपछि सवा १२ भित्रै हत्या गरिसकेको हुनुपर्ने प्रहरीको विश्लेषण हो। हत्या गरिएको बमबहादुरको घरबाट फूलकुमारीको घर पुग्न करिब ३० मिनेट पैदल हिँड्नुपर्छ।
फूलकुमारीको घर हुँदै नबोली आरोला लागेका मानबहादुर नै पछि घरसम्म पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ। मानबहादुरले घरमा सानो किराना पसल समेत सञ्चालन गर्दै आएका थिए। ‘उनी आफ्नो घर करिब पौने ३ बजे पुग्छन्। त्यसपछि झ्यालबाट लुसक्क पसलमा छिर्छन्,’ डिएसपी कुवँर भन्छन्, ‘त्यहाँ उनले चाउचाउ र बिस्कुट खाएको देखिन्छ।’
निलो छाना भएको मानबहादुरको घर
परिवारका सदस्यले राति मानबहादुर आएको नदेखेको बताइरहेका बेला चाउचाउ र बिस्कुट खाएको कसरी थाहा भयो? हामीले डिएसपी कुवँरलाई प्रश्न गर्‍यौं। ‘अनुसन्धान सानो क्लुबाट हुन्छ। राति पसल बन्द गर्दा खाएर आधा चाउचाउ खोलमै छोड्ने, आधा बिस्कुट त्यसै भुइँमा फाल्ने हुँदैन भन्ने हुँदैन,’ उनी प्रस्ट्याउँछन्।
डिएसपी कुवँरको भनाइलाई अर्को प्राविधिक पक्षले पनि पुष्टि गरेको पाइयो। करिब ९ बजे धनराजको घरअघिबाट मोबाइल अफ गरेका मानबहादुरको मोबाइल बिहानीपख उनकै घरबाट ३ बजे अन हुन्छ। त्यसपछि उनले ३ बजेर २ मिनेटमा भतिजो पर्ने नेलकम माखिमलाई समेत फोन गर्छन्। 
हत्या गरिसकेपछि पनि फोन सम्पर्क भएको देखिएपछि प्रहरीले माखिमसँग पनि बयान लिएको छ। फोनमा मानबहादुरले आफूसँग ५ हजार रुपैयाँ मागेको उनले बयानमा भनेका छन्। 'अहिले छैन। बिहान दिऊँला भनेर वचन दिएको थिएँ,' माखिमले बयानमा भनेका छन्।
त्यसपछि मानबहादुरले उनका अर्का साथी हेमचन्द्र रेग्मीलाई समेत फोन गरेको खुलेको छ। उनीसँग भने पैसा नभएर अरु कसैको नाम लिएर छ/छैन भनेर मात्रै सोधेको रेग्मीले बताएका छन्। यस आधारमा करिब साढे ३ मा मानबहादुरले झुन्डिएर आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ। 
खोलामा खुकुरी पखालेर करमको रुखमा झुन्डिए
हत्यापछि आफ्नै घर फर्किएका मानबहादुरले चाउचाउ र बिस्कुट खाएपछि रगत लतपतिएका कपडा झोलामा प्याक गर्छन्। र, रगत नलागेको अर्को कपडा लगाउँछन्। त्यसपछि उनी घरबाट निस्कन्छन्।
उनको घरबाट करिब २० मिनेट जति पर नहा खोला छ। उक्त खोलामा मानबहादुरले नुहाएको प्रमाण फेला पर्छ। खोलाका ढुंगामा रगतका केही टाटा देखिन्छन्। खुकुरी र दाप पनि त्यही खोलामा पखालेको हुनुपर्ने प्रहरीको निष्कर्ष छ।
त्यसपछि झोलुंगे पुल तरेर पारि गएपछि करमको रुखमा उनले झुन्डिएर उनले आत्महत्या गर्छन्। उनले आत्महत्या गरेको स्थान नजिकै ठूलो तारेभीर छ। त्यही भीरमा निकै तल हुत्याएको अवस्थामा दापसहितको खुकुरी, टर्च लाइट, झोला प्रहरीले फेला पारेको छ। ‘यस्तो अक्करे भीरमा फालिएको थियो कि यी सबुत प्रमाण झिक्नै हामीलाई झन्डै २ घन्टा लाग्यो,’ डिएसपी कुवँर भन्छन्।
 
भीरमा फेला परेको झोलाभित्र रगत लतपतिएका मानबहादुरका कपडाहरु फेला पर्छन्। प्रहरीले आत्महत्या गरेको ठाउँको मुचुल्का उठाउँछ। र, झुन्डिएको डोरी लिएर प्रहरी टोली पुन: मानबहादुरको घरमा फर्किन्छ। झुन्डिन प्रयोग गरिएको डोरीको बाँकी भाग मानबहादुरकै पसलमा भेटिन्छ। उनले आफ्नै पसलमा बेच्न राखेको नाइलनको डोरीको केही भाग काटेर त्यही डोरीमा झुन्डिएको पुष्टि हुन्छ। 
बमबहादुरको घर। यहीँ लागेको थियो रगतको आहाल। रगत गन्हाउने भन्दै यहाँ धेरै दिन खोया बालिएको थियो
हत्यापछि उनी घरमै फर्किएको पुष्टि हुन अर्को आधार रगत लतपतिएको टिसर्ट पनि हो। अन्य कपडा फेरेर झोलामा प्याक गरेपछि मानबहादुरले एउटा टिसर्ट भने झोलामा हाल्न बिर्सिन्छन्। उक्त डोरी र टिसर्ट पनि प्रहरीले प्रमाणको रुपमा उठाउँछ।
घटनासँग सम्बन्धित सबुत प्रमाणहरु डोरी, खुकुरी, टर्च, झोला कपडा सबै आफ्नै घरको भएको भन्दै मानबहादुरका आमाबाले स्विकार्छन्। यसरी हत्या भएको केही घन्टामै प्रहरीले हत्याराका रुपमा मानबहादुरलाई पुष्टि गर्छ।
प्रहरी अनुसन्धानले मानबहादुरले नै घटना गराएको भन्ने धेरै आधार र प्रमाणहरु जुटाइसकेको छ। 
मानबहादुरले नै हत्या गरेका हुन्? यस्ता छन् प्रहरीले जुटाएका आधार :
– भागेर ज्यान जोगाएकी १४ वर्षीया बालिका सीता खजुमले मास्क लगाएर आएको एक जनाले टर्च बाल्दै खुकरी प्रहार गरेको बताउनु।
– हत्या गर्ने समयमा मानबहादुरले लगाएका कपडाहरु बरामद हुनु र त्यसमा रगत लाग्नु।
– भीरमा फालेको खुकरी मानबहादुरले बोक्ने गरेकै खुकुरी भएको परिवारले बताउनु।
– मानबहादुरले प्रयोग गरेको टर्च आफ्नै घरको भएको भन्दै परिवारले सनाखत गर्नु।
 – मानबहादुरले बोकेको झोलाभित्र ४ हजार ५० रुपैयाँ भेटिनु। (जुन पैसा भाइ शिखरले विराटनगर उपचार गराउन जान भन्दै ६ गते दिउँसो दिएका थिए)।
– मानबहादुरले प्रयोग गरेको मोबाइलको सिमसँग परिवारका सदस्यसँगको कनेक्सन हुनु।
–  मानबहादुर झुन्डिएको डोरी र उनको घरमा फेला परेको डोरी एउटै हुनु।
– हत्याअघि मोरङको लेटाङमा रहेका भिनाजुसँग १० मिनेट लामो कुरा गर्दै एकै व्यक्तिले २० जनासम्म मारेको बताउनु र मारेपछि स्वर्ग जान्छ कि जाँदैन भनेर सोध्नु।
– विदेश गएपछि श्रीमती गर्भवती बन्नु र त्यहीँबाट सम्बन्ध बिग्रदै जानु। अंशसहितको सम्बन्ध विच्छेदको मुद्दा खेप्नु। साढु दाइसँग आफ्नी श्रीमतीको यौन सम्बन्धबारेको हल्ला सुन्नु।
– मानबहादुर आफैं मानसिक रोगी हुनु।
– हत्यापछि कुनै पनि धनमाल नलैजानु (प्रहरीले बमबहादुरको घरबाट ५६ हजार ८ सय ६० रुपैयाँ फेला पारेको थियो। धनराजको घरबाट करिब ४८ हजार, सुनको औंठी, सिक्री, घडी २ थान, सुनको कुण्ड, फुली फेला पारेर सम्बन्धित परिवारलाई जिम्मा लगाएको थियो)।
– दुवै परिवारको हत्या भएकाले दुवै परिवारसँग नाता गाँसिएको व्यक्तिले हत्या गरेको हुन सक्ने विश्लेष्ण गर्नु।
– प्राविधिक पाटो (कलवाइज लोकेसन, भिएलआर र बिटिएस) सम्पूर्ण केलाउँदा मानबहादुर मात्रै सिनमा देखिनु।