Wednesday, June 26, 2019

युवतीको बान्ता सोहोर्न पाइलट बनेर एक युवक अस्पताल पुगेपछि…

युवतीको बान्ता सोहोर्न पाइलट बनेर एक युवक अस्पताल पुगेपछि…

 नारायण अधिकारी |  २०७६ असार १ आइतबार | Sunday, June 16, 2019  १७:०४:०० मा प्रकाशित
11.9kShares
 Share
 Tweet
 Share
 Email
काठमाडौं- 
नाम-  रोनाल राज आचार्य ।
ठेगाना- ठमेल, काठमाडौं
पेसा- पाइलट
उमेर- २८ वर्ष 
झट्ट हेर्दा खाइलाग्दो शरीर। स्मार्ट गेटअप। बोलीचाली र हाउभाउले उनी ठूलै खानदानको मान्छे भन्ने भान हुन्छ। 
करिब ६ महिनाअघि यीनै हुलिया भएका युवा रोनालको काठमाडौं निवासी बिमला (नाम परिवर्तन)सँग भेट हुन्छ। ती महिला आफ्नी नातिनी कृति (नाम परिवर्तन)को उपचारका लागि अस्पताल धाइरहेकी हुन्छिन्। 
सोही मेसोमा उनले एक दिन रोनाललाई आफ्नी नातिनीको अवस्थाबारे जानकारी गराउँदै भन्छिन्, ‘१० वर्ष लन्डन बसेर आएकी मेरी नातिनी बिरामी छ। ग्रान्डी अस्पताल भर्ना भएकी छ। यसलाई कुर्न जानु छ।’
यति बेलिबिस्तार लगाउने महिलाको मन रोनालले जाँचिसकेका थिए। ‘ओहो! बिचरा, नातिनीलाई त्यस्तो पो भएको छ। म पनि भेट्न जान्छु,’भन्दै रोनाल एक दिन तिनै महिलाको पछि लागेर ग्रान्डी अस्पताल पुग्छन्।
बेडमा सुतिरहेकी नातिनीलाई रानोलबारे सबै बेलिविस्तार लगाउँछिन् उनले। रोनाल निकै सहयोगी दयावान् पाइलट भएको आफ्नी नातिनीलाई ती महिलाले सुनाउथिन्।
रानोलले पनि आफू निकै दयावान् र सहयोगी भएको पुष्टि गर्न बिरामी युवतीलाई सहयोग गर्न थाल्छन्। बिरामी युवतीलाई ट्वाइलेट लाने-ल्याउनेदेखि औषधि किनेर ल्याउनेसम्मको काम उनै रोनालले गर्छन्।
रानोलले यतिसम्म गर्छन् कि, बिरामी युवतीको बान्ता समेत उनले सोहारेर फाल्छन्। हट्टाकट्टा खाइलाग्दा एक पाइलटको सहयोगी मन देखेर विस्तारै ती युवतीको मन पग्लन थाल्छ। 
डिस्चार्ज भइसकेपछि उनीहरुबीच अन्तरंग कुराकानी गर्न थाल्छन्। दबै जना अविवाहित। उमेर पनि मिल्ने। युवक पाइलट। ठमेलमा घर। युवती १० वर्ष युके बसेर आएकी। धनाढ्यकी छोरी।
कृति र रोनालबीच फोन र म्यासेन्जरमा अब विवाहका कुरा हुन थाल्छ। दिनहुँ भेट हुनु, घुम्नु उनीहरूका लागि समान्य हुन थालिसकेका हुन्छ। अब चाँडै नै उनीहरु विवाह गर्दै छन् भन्ने युवतीको परिवारलाई समेत लाग्न थालिसकेको थियो।
जसका लागि कृतिका तर्फबाट रोनाललाई डेढ करोडको ल्याडरोबर गाडी दाइजो दिने फिक्स हुन्छ। जेठ सुरुतिर राजधानीकै एक पाँचतारे होटलमा इन्गेजमेन्टको तयारी भयो। 
000
सोही बेला प्रिया (नाम परिवर्तन) नाम गरेकी एक युवतीले कृतिलाई म्यासेन्जरमा बोलाउँछिन् ‘हाई’।
कृतिले फर्काउछिन् ‘हेल्लो’
‘विवाह गर्न लाग्नुभएको रहेछ। त्यो केटा (रोनाल)को बारेमा केही भन्छु भेटम्न’ इन्गेजमेन्टकै दिन बिहान प्रियाले कृतिलाई म्यासेज गर्छिन्। 
उनीहरुबीच भेट्ने सहमति हुन्छ। सबैकुरा एक आपसमा सेयर गर्दै आएकी कृतिले रोनाललाई प्रियाले भेट्न खोजेको बताउँछिन्। र यसका लागि दुबै जना सँगै गएर भेट्न भन्छिन्।
'ओके' भनेका रोनाल आउँदैनन्। कृति एक्लैले प्रियालाई भेट्छिन्। त्यसपछि खुल्छ पाइलट रोनालको वास्तविक परिचय।
प्रियाले रोनालका बारेमा सबै बेलिविस्तार लगाउँछिन्। ऊ न त कुनै पाइलट नै हुन्छ, बरु अपराधी भएको कुरा प्रियाले बताउँछिन्। कृतिजस्ता २० जनाभन्दा बढी युवतीलाई यसैगरी उसले ठग्दै आएको कुरा प्रियाले सुनाउँछन्।
प्रिया आइटी इन्जिनियरमा ब्याचलर गरेकी युवती हुन्। उनलाई पनि यसैगरी रोनालले ४ वर्षसम्म प्रेमको नाटक गर्दै ठगेका थिए। प्रियाले यो सबै कुरा सुनाएपछि कृति छाँगाबाट खसेजस्तो हुन्छिन्। 
६ महिनाको बीचमा रोनालले कृतिबाट मात्रै ३५ लाख रुपैयाँ ठगी गरिसकेका थिए। 
000
कृति र प्रिया दुबै जना मिलेर रोनाल विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन्छन्।
उनीहरुकै उजुरीको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले रोनाललाई जेठ २० गते काठमाडौंबाट पक्राउ गरेको छ। 
उनीविरुद्ध अहिले ठगीमा मुद्दामा अनुसन्धान भइरहेको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताएका छन्।
रोनाल पक्राउ परेपछिको उनको ठगीको रहस्य खुल्दै आएको छ। उनले अहिलेसम्म २० जना युवतीलाई विवाह गर्ने बाहनामा ठगी गरिसकेको प्रहरीले जनाएको छ।
टार्गेटमा धनाढ्य युवती, 'बटरफ्लाई' भन्दै यसरी पार्थे प्रलोभन
रोनालको टार्गेटमा धनाढ्य परिवारका १७-१८ वर्षका युवती हुने गरेको प्रहरीले जनाएको छ। आफू पाइलट, इन्जिनियर, आर्किटेक्चर, जग्गा कारोबारी, व्यापारी भएको बताउँदै उनले युवतीलाई प्रलोभनमा पार्ने गरेका थिए। 
ठमेल र सामाखुसीमा घर भएको पनि उनले बताउने गरेका थिए। तर उनी पक्राउ परेपछि यो सबै झुठ बाहिरिएको छ। उनले १२ पास गरेको र काठमाडौं बसुन्धारामा भाडामा बस्दै आएको डिएसपी बोगटीले बताए। उनको घर भने नवलपसारी डन्डा भएको प्रहरीले जनाएको छ।
फेसबुकमा धनाढ्य परिवारका युवतीहरुलाई मात्र साथी बनाउने गरेका उनले विस्तारै 'हाई-हेलो' गर्दै कुरा सुरु गर्ने गरेका थिए। उनी आफू धनाढ्य, पाइलट इन्जियिर भएको बताउँदै युवतीलाई प्रलोभनमा पार्थे। १७-१८ वर्षका युवतीलाई भन्थे, ‘तिमीहरु भनेको गिलो माटो हो। अहिले नै जुन 'सेप' दियो त्यही बन्छौं।’
यति भनेपछि युवतीहरु पनि राम्रो मान्छे रहेछ भन्दै उनको पछि लाग्थे। त्यसपछि उनको ठगी धन्दा सुरु हुन्थ्यो। यसरी उनले २० जनासम्म युवतीलाई ठगी गरेको पाइएको छ।
प्रायः युवतीलाई बोलाउदा उनी ‘हाई माई बटरफ्लाई’ भन्थे। र मख्ख पार्थे।
ठगीबाटै कार, १ वर्षअघि २५ लाख तिरेर रिहा
पक्राउ परेका रानोलले प्रयोग गर्ने गरेको कार प्रहरीले बरामद गरेको छ। ठगीलाई नै पेशा बनाएर लागेका उनले ठगेकै पैसाले करिब ३० लाख पर्ने स्विफ्ट कार चढ्थे। सो कार प्रहरीले बरामद गरेको हो। 
कार लिएर युवती भेट्न गएपछि उनीहरुले पनि सजिलै विश्वास गर्ने भएकाले उनले ठगेको पैसाले सुरुमै कार किनेको प्रहरीले जनाएको छ। 
त्यस्तै, उनी एक वर्षअघि २०७४ सालमा नै जबरजबस्ती करणी उद्योगमा पक्राउ परेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसबेला उनी २५ लाख रुपैयाँ धरौटी राखी रिहा भएका थिए। रोनाल लागूऔषध सेवनकर्ता पनि भएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment