Tuesday, November 19, 2019

उपाध्यक्ष साढे ६ लाख धरौटीमा रिहा, वडाध्यक्ष र नेकपा नेता फरार सूचीमा

नारायण अधिकारी |  २०७६ कार्तिक २९ शुक्रबार | Friday, November 15, 2019  ०८:५१:०० मा प्रकाशित



काठमाडौं– रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई धम्की दिँदै मोटो रकम असुल्न खोज्ने कार्यमा संलग्न रहेको आरोप लागेकी सोही गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा न्यौपाने दाहाल धरौटीमा रिहा भएकी छिन् ।
अध्यक्ष खड्कालाई फिरौती माग्दै नदिए अपरहण र ज्यान मार्ने धम्की दिन कार्यमा संलग्न लोप्चन लामा भनिने मिलन तामाङ र अमृत तामाङलाई गत साउन २४ गते महानगरीय प्रहरी अपराध महाशाखाले गोली हानेर पक्राउ गरेको थियो ।
पक्राउ परेका ती दुईजनाको बयानबाट सोही गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा न्यौपाने दाहाल, सोही गाउँपालिकाको ७ नम्बरका वडाध्यक्ष सुवास बोहरा र तत्कालीन माओवादी हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामेछाप नेता सुदिप भनिने धुव्र कार्कीको संलग्नता रहेको खुलेको थियो ।

उनीहरुको समेत संलग्नता देखिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले तीनै जना विरुद्ध पक्राउ पूर्जी समेत जारी गरेको थियो । तर उनीहरु पक्राउ भने परेका थिएनन् । पक्राउ पूर्जी जारी भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी कृष्ण चन्दले पक्राउका लागि रामेछाप प्रहरीलाई निर्देशन दिएको बताएका थिए ।
उनीहरु पक्राउ नपरेपछि परिसरले अनुसन्धान सकेर सरकारी वकिलकोमा फाइल बुझाएको थियो । सरकारी वकिल कार्यालयले फिरौती र ज्यान मार्ने धम्कीमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
त्यसपछि गत बुधबार अदालतमा उपाध्यक्ष दाहाल अदालतमा उपस्थित भएकी थिइन् । उनलाई ६ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । त्यसैदिन धरौटी तिरेर उनी रिहा भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो ।

गत साउनमा पक्राउ गर्ने क्रममा गोली प्रहारबाट घाइते भएका मिलन ।

सोही घटना अभियुक्त वडाध्यक्ष बोहरा र नेकपा नेता कार्की भने अझै फरार सूचिमा छन् । उनीहरुविरुघ पनि फिरौती र ज्यान मार्ने धम्कीमा अदालतमा मुद्दा दायर भएको छ । उनीहरु भने अहिलेसम्म अदालतमा उपस्थित नभएको अदालत स्रोतले जानएको छ। 
यसअघि प्रहरीले साउन २४ गते दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको थियो। अपराध महाशाखाको टोलीले स्वयम्भुको विजेश्वरीबाट उनीहरुलाई पक्राउ गरेको थियो। एक घरमा लुकेर बसेका उनीहरुलाई पक्राउ गर्न खोज्दा भागेका थिए। त्यसक्रममा प्रहरीले गोली चलाउँदा लोप्चन लामा भनिने मिलन तामाङको घुँडामा दुई वटा गोलीसमेत लागेको थियो। सो क्रममा उनीसँगै रहेका अमृत तामाङ पनि पक्राउ परेका थिए।

उनीहरुले एक महिनादेखि रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई फोनबाट धम्की दिँदै २ करोड माग्दै आएका थिए। उक्त योजना उपाध्यक्ष, वडाध्यक्ष्य र नेकपा नेता कार्कीकै योजनामा भएको बताएका थिए । 
काठमाडौंको बानेश्वरमा समेत घर भएका खड्का केही समयदेखि काठमाडौं नै बस्दै आएका थिए। ती व्यक्तिहरुले २ करोड रुपैयाँ नदिए छोरीको अपहरण गरी हत्या गर्नेसम्मको धम्की दिने गरेका थिए। खड्काकी ८ वर्षकी छोरी छिन्।
घर नजिकै आएर रेकी गर्दै उनीहरुले खड्का ‘तँ कस्तो लुगा लगाएर कहाँ जाँदैछस् भन्ने सबै थाहा छ भन्दै’ फोनमार्फत धम्की दिने गरेका थिए । ‘गोली खर्च गर्नु नपरोस्’ भन्दै एक महिनादेखि धम्की खेप्दै आएका अध्यक्ष खड्काले त्यसपछि भने प्रहरीमा उजुरी दिएका थिए।
उनीहरुले लिखु हाइड्रोबाट २० लाख र रोड कन्सट्रक्सनबाट ३० लाख रुपैयाँसमेत मागेको प्रहरीकहाँ मौखिक उजुरी परेको थियो । आफूमाथि लागेको आरोपको खन्डन् गर्दै वडाध्यक्ष बोहोराले यसअघि एक विज्ञप्ति समेत निकालेका थिए । 
यो पनि

No comments:

Post a Comment