'रक्सीले लठ्ठ उनीहरू रिसोर्टबाटै निकालिए'
| २०७६ पौष २७ आइतबार | Sunday, January 12, 2020 १६:५७:०० मा प्रकाशित
काठमाडौं- बुढानीलकण्ठ प्रहरी कार्यालयदेखि विष्णुमति खोलातर्फ आउने सडक। उत्तरमा बुढानीलकण्ठ स्कुल। दक्षिणमा जस्ताले छाएको मोटरसाइकल ग्यारेज भएको टहरो। टहरो अगाडि बिजुलीको कुच्चिएको पोल। खाटा बसिनसकेको आलो रगतको टाटा पोलमा। नजिकै यता उता छरिएर रहेको अवस्थामा एक जोर लेडिज जुत्ता।
भुईं र पोलमा लत्पतिएको आलो रगत र जुत्ता अरू कसैको नभएर लिला देवकोटाको हो। मन्दिरमा पूजा गरेर घर फर्कँदै गर्दा कारको ठक्करबाट उनको गत मंसिर २८ गते मृत्यु भएको थियो।
फुटपाथमा हिँड्दै गरेका बेला बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिएपछि गोरखा घर भएकी ४० वर्षीया देवकोटा गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि न्यूरो अस्पताल बाँसबारी पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।
उक्त भयानक दुर्घटनाका प्रतिवादी कार चालक पृथ्वी मल्ललाई जिल्ला अदालत काठमाडौंले पुस २३ गते पुर्पक्षका लागि कारागार चलान गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ बमोजिमको कसुरमा उनलाई पुर्पक्षका लागि जेल पठाइएको हो। उक्त कसुरमा १० वर्षसम्मको कैद सजाय माग गर्दै मल्लविरुद्ध मुद्दा दर्ता भएको थियो। अनुसन्धानका क्रममा फेला परेका तथ्य र अभियुक्तको बयान र दुर्घटनाको कारणबारे नेपाल लाइभले केही जानकारी खोतल्ने प्रयास गरेको छ।
'डेनिअल्स रक्सीले झ्याप थिएँ, दुर्घटना भएपछि थाहा पाएँ'
अध्ययनको सिलसिलामा पृथ्वी मल्ल विगत १ वर्षदेखि अमेरिका बस्दै आएका थिए। गत मंसिर २३ गते बिदामा काठमाडौं फर्किएका थिए उनी। त्यसको केही दिन साथीभाई भेटघाटमा व्यस्त रहेका मल्ल २७ गते साँझ साढे ५ बजे बा १४ च ६१२३ नम्बरको कार लिएर घुम्न निस्कन्छन्।
अध्ययनको सिलसिलामा पृथ्वी मल्ल विगत १ वर्षदेखि अमेरिका बस्दै आएका थिए। गत मंसिर २३ गते बिदामा काठमाडौं फर्किएका थिए उनी। त्यसको केही दिन साथीभाई भेटघाटमा व्यस्त रहेका मल्ल २७ गते साँझ साढे ५ बजे बा १४ च ६१२३ नम्बरको कार लिएर घुम्न निस्कन्छन्।
त्यसपछि नक्सालस्थित नारायणचौरको जिम पुग्छन् मल्ल। त्यहाँ उनले करिब २ घन्टा बिताउँछन्। ‘बेलुका साढे ७ बजेतिर मेरो साथी करिश मास्केले फोन गरेर बोलाएपछि म उसलाई लिन छाउनी गएँ,’ बयानमा मल्लले भनेका छन्।
त्यसपछि उनीहरु दुई जना बालुवाटारस्थित पलिन्ज गार्डेन रेस्टुरेन्ट पुग्छन्। खाना खान्छन्। राती करिब ९ बजे उनीहरू त्यहाँबाट ठमेल हानिन्छन्। ठमेलस्थित कोशिस रेस्टुरेन्टमा साथी भएकाले भेट्न गएको उनको बयान छ। ‘पृथ्वीले तीन वटा बियर खायो। मैले पनि हल्का पिएँ,’ करिशले बयानमा भनेका छन्।
तर पृथ्वी भने त्यहाँ केही पनि खानपिन नभएको दाबी गर्छन्। त्यहाँ लामै गफ हुन्छ। करिशकै एक साथीलाई ट्याक्सीमार्फत् उनीहरूले थापाथली पुर्याउँछन्। त्यसपछि फर्केर उनीहरु ठमेलको एलओडी क्लब पुग्छन्। त्यसबेला रातको साढे १ बजिसकेको हुन्छ।
एलओडीमा मदिरासँगै उनीहरू एकछिन झुम्मिन्छन्। त्यसपछि बिहान साढे ४ बजे ठमेलकै सेनेठ भन्ने अर्को क्लब पुग्छन्। जहाँ करिशका दुई जना साथीहरु हुन्छन्, नायिका परमिता राणा र मनिषा।
उक्त क्लबबाट नायिका परमिता, मनिषा र करिशलाई कारमा लिएर पृथ्वी बाहिरिन्छन्। ‘ग्रिनभ्याली रिसोर्टमा खाना खाने भनेर हामी निस्केका थियौं,’ करिशले बयानमा भनेका छन्।
त्यसबेला अधिकांश पसल बन्द थिए। गोल्फुटारमा रहेको बिगमार्ट भने खुल्लै थियो। उनीहरू चारै जना त्यहीँ छिरे। चिप्स, चक्लेट र अन्य जंक फुड किने। जंक फुड खाँदै उनीहरुले ग्रिनभ्याली रिसोर्ट पुगे। रिसोर्टमा पुगेर खाना अर्डर गर्दा बिहान करिब ८ बजेको थियो।
प्याक गरेको खाना लिएर उनीहरू पुनः सोही बाटो हुँदै घर फर्किए। ‘म र दुई केटी साथी पछाडिको सिटमा बसेर प्याक गरेको खाना खाँदै थियौं। पृथ्वीले गाडी चलाएको थियो। बुढानीलकण्ठ स्कुल अगाडि आएपछि कार अनियन्त्रित भई सडकपेटीमा ठोक्किन पुगेछ,’ करिशले भने, ‘सिटबाट झेरेर हेर्दा एउटा मोटरसाइकल कच्याककुचुक भएको थियो। एक महिला रक्ताम्य भएर भुईंमा लडेकी थिइन्।
उता चालक पृथ्वीले पनि लापरबाहीका कारण दुर्घटना हुँदा देवकोटाको मृत्यु भएको स्वीकार गरेका छन्। पृथ्वीले बयानमा भनेका छन्, ‘रातभरको अनिँदो र डेनिअल्स रक्सीले म झ्याप थिएँ। बुढानीलकण्ठको पुल कटेपछि कार अनियन्त्रित भई विपरीत दिशातर्फ हिँड्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएपछि झ्ल्यास्स ब्युझिएँ।’
चालक पृथ्वी यतिसम्म झ्याप थिए कि उनको लाइसेन्स मापसे गरेको भनेर ट्राफिकले लगेको थियो। ट्राफिकले काटेको चिटसमेत उनले हराएको कुरा प्रहरी समक्ष बताएका छन्। करिब १२ घन्टाभन्दा अघिदेखि गरेको लगातारको रक्सी सेवन, अनिँदो र थकान हुँदाहुँदै पनि लापरबाही गर्दै कार चलाएकाले दुर्घटना हुन पुगेको प्रहरीको निष्कर्ष छ। उनको स्वास्थ्य परीक्षणमा समेत अत्यधिक मदिरा सेवन गरेको पाइएको थियो।
रिसोर्टका गार्ड भन्छन्– रक्सीले लठ्ठ थिए, अनेक हर्कत गरेपछि रिसोर्टबाट निकाल्यौं
ग्रिनल्याड रिसोर्टका सुरक्षा गार्ड सुरज चौधरीसँग समेत प्रहरीले घटनाबारे सोधपुछ गरेको थियो। पृथ्वीसँग आएका अर्का युवक करिश मास्के, नायिका परमिता र मनिषा रक्सीले झ्याप भएर रिसोर्ट पुगेको बयान सुरक्षागार्ड चौधरीले दिएका छन्।
ग्रिनल्याड रिसोर्टका सुरक्षा गार्ड सुरज चौधरीसँग समेत प्रहरीले घटनाबारे सोधपुछ गरेको थियो। पृथ्वीसँग आएका अर्का युवक करिश मास्के, नायिका परमिता र मनिषा रक्सीले झ्याप भएर रिसोर्ट पुगेको बयान सुरक्षागार्ड चौधरीले दिएका छन्।
'म ग्रिनल्यान्ड रिसोर्टमा काम गर्दै आएको छु। सो क्रममा गत मंसिर २८ गते मेरो मेन इन्ट्री पोइन्टमा ड्युटी थियो। सोही बेला बिहान ८:२६ बजे पृथ्वी मल्ल आफैंले बा १४ च ६१२३ नम्बरको कार चलाएर २ केटी र एक केटा लिएर आएका थिए। त्यसबेला उनीहरूले अत्यधिक मादक पदार्थ सेवन गरेको जस्तो देखिन्थ्यो। रिसोर्टमा खाजा अर्डर गरे। त्यन्तिजेन्ल रिसोर्टमा बस्दा पृथ्वी मल्ल र उनीसँगै आएकी एक जना केटी अंगालो मार्ने, किस गर्ने जस्ता क्रियाकलाप गर्न थाले। म्यानेजरले यस्तो हर्कत नगर्नुस् खानाको पैसा तिर्न लगाएर रिसोर्टबाट बाहिर जान लगाए। बिहान ९:४० मा उनीहरू रिसोर्टबाट बाहिरिएका थिए।'


No comments:
Post a Comment