Sunday, July 28, 2019

युवती प्रयोग गरी व्यापारीको नांगो भिडियो, ४० लाख बार्गेनिङ, पक्राउ परे ४ जना


 नारायण अधिकारी |  २०७६ श्रावण ७ मंगलबार | Tuesday, July 23, 2019  १८:००:०० मा प्रकाशित
काठमाडौं– झापा बिर्तामोडका व्यवसायी मोहम्मद खान (नाम परिवर्तन) लाई असार २८ गतेदेखि सामाजिक सञ्जाल इमो र मोबाइलमा अपरिचित नम्बरबाट बारम्बार फोन आउँछ। फोन गर्ने युवती आफ्नो नाम जया खान रहेको बताउँछिन्।
उनले व्यवसायी मोहम्मदलाई बारम्बार भेट्न आग्रह गर्छिन्। युवतीको नरम बोलीले मोहम्दलाई पनि भेट्ने इच्छा जाग्छ। भेट्ने मिति तय हुन्छ साउन १ गते।
साउन १ गते साँझ साढे ७ बजे बिर्तामोड–४ स्थित कुमारी बैंक छेउमा युवती जया ती व्यवसायीलाई भेट्न पुग्छिन्। बिर्तामोडमै व्यवसाय गर्दै आएका उनी पनि कुमारी बैंक आइसकेका हुन्छन्। 
त्यसपछि कुमारी बैंकभित्रको गल्लीको एक घरमा ती युवतीले व्यवसायीलाई राति १० बजे पुर्‍याउँछिन्। त्यसैबेला उनीहरु बसिरहेको कोठमा २-३ जना युवाहरु पुग्छन्।
व्यवसायी मोहम्मदलाई पेस्तोल ताक्दै र कुट्दै उनीहरुले भन्छन्, ‘चुप लागेर बस्। नत्र तेरो दिन सकिन्छ।’
त्यसपछि मोहम्मद जसो भन्यो उसै गर्न बाध्य हुन्छन्। त्यसपछि उनको सम्पूर्ण कपडा खोलेर नांगै बनाइन्छ। र, नांगो भिडियो खिचिन्छ। भिडियो खिचिसकेपछि ती युवाहरुले भन्छन्, ‘युट्युबमा भिडियो हालेर भाइरल बनाइदिन्छौं। होइन भने ४० लाख रुपैयाँ ले।’
व्यवसायी मोहमदले साउन ५ गतेसम्म ४० लाख रुपैयाँ दिने वचन दिँदै युट्युबमा भिडियो पोस्ट नगर्न आग्रह गर्छन्। उनीहरुले साउन ५ गतेसम्म पनि ४० लाख नदिए ज्यान नै मार्ने धमकी व्यवसायीलाई दिन्छन्।
त्यसपछि ती युवाहरुले मोहम्मदलाई मेराज खानको रोहबरमा छाडिदिन्छन्। त्यसपछि दैनिक रुपमा उनीहरुले ४० लाख रुपैयाँ माग्दै व्यवसायीलाई मोबाइल नम्बरबाट फोन गर्छन्।
पैसाका लागि भन्दै बारम्बार फोन आएपछि आजित भएका व्यवासीले साउन ३ गते प्रहरीकहाँमा उजुरी दिन्छन्। पीडितको उजुरीको आधारमा अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त घटनामा संलग्न ४ जनालाई झापाकै चारआलीबाट साउन ५ गते पक्राउ गर्छ। उनीहरुलाई जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप भइरहेको इलाका प्रहरी कार्यालय झापाका डिएसपी मोहन थापाले बताए।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ भद्रपुर रोड बिजुली अफिस पश्चिम बस्ने वर्ष २९ को मेराज खान, इलाम फाकफोकथुम गाउँपालिका–१ घर भई बिर्तामोड–२ चारपाने बस्ने २० वर्षीया ऋतु फियाक लिम्बु, भारत दार्जिलिङ थाना खोरिबारी घर भएका २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शंकर र झापा बिर्तामोड–४ का २५ वर्षीय प्रकाश दास छन्। 
                                                                                                                                                                                   पक्राउपछि सार्वजनिक गरिँदै
व्यवसायीलाई फसाउन जया नामबाट फोन गर्ने तिनै युवती हुन् ऋतु।
प्रहरीले उनीहरुको साथबाट बा १५ च ७३३९ नम्बरको कार, स्कुफ लेखिएको १ सय मिलिको शिलप्याक बोतल ३ थान, प्रोप्रानोलोल १५ चक्की, नाइट्रोसन लगायतको लागुऔषध र नक्कली पेस्तोल १ थान बरामद गरेको छ। 
घटनामा प्रयोग भएकी ऋतु फियाक लिम्बुलाई सञ्जु क्षेत्री भन्ने सुजन शंकरले ती व्यवसायीको मोबाइल नम्बर दिई कुरा गर्न लगाएको देखिएको डिएसपी थापाले जानकारी दिए। 
उक्त नम्बरमा लिम्बुले व्यवसायी मोहमदसँग ३-४ दिनसम्म भिडियो तथा फोनमा कुराकानी गरेकी थिइन्। भिडियो कलमार्फत भेट्ने कुरा भएपछि युवतीले सो कुरा सुजन शंकरलाई बताएकी थिइन्। 
त्यसपछि शंकरले आफ्नै निर्देशनमा बिर्तामोड–४ स्थित भद्रपुर रोड कुमारी बैंक नजिकको एक घरको कोठाको चाबी लिम्बुलाई दिई व्यवसायी भेट्न पठाएका थिए। 
उक्त कोठा पक्राउ परेका प्रकाश दासको नाममा ५ महिनाअघिदेखि नै बुक भएको पाइएको छ। तर कोठामा कुनै सरसामान राखिएको थिएन।
शंकरले मुखमा मास्क लगाएर हातमा छुरी लिएर कोठामा प्रवेश गरेका थिए। त्यसपछि व्यवसायी मोहम्मदलाई छुरी, नक्कली पेस्तोल देखाउँदै गालीगलौज तथा कुटपिट गरेर नांगो भिडियो बनाइसकेपछि आफ्ना साथी मेराज खानलाई बोलाएका थिए। 
                                                                                                                                         बरामद नक्कली पेस्तोल र लागुऔषध
त्यसपछि युवती लिम्बुलाई शंकरको निर्देशनमा प्रकाशले चारपानेस्थित दिदीको घरमा स्कुटरमा पुर्‍याइदिएका थिए। 
उनीहरुले सुरुमा व्यवसायीसँग ५० लाख डिल गरेका थिए। पछि ४० लाखमा सहमति भएपछि व्यवसायीलाई छाडिएको थियो। 
प्रहरीमा उजुरी आएपछि पीडितलाई धम्की दिँदा प्रयोग भएका मोबाइल नम्बरहरुको कल डिटेल विश्लेषण, फेसबुक, इमो लगायतका सामाजिक सञ्जालहरुवाट प्राप्त सूचना, प्रतिवादीहरु बीचको लिंक अध्ययन, प्रतिवादी मध्येका मिराज खानको निगरानी लगायतका काम प्रहरीले गरेको थियो। सोही आधारमा उनीहरु पक्राउ परेको डिएसपी थापाले बताए।
                                                                                                                                                                पक्राउ परेकाहरुले प्रयोग गरेको कार
पक्राउ परेका उनीहरु विरुद्ध शरीर बन्धक बनाई आपराधिक आर्थिक लाभ उद्योग गरेको तथा लागुऔषधमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। 
पक्राउ परेका मध्ये सञ्जु क्षेत्री भन्ने सुजन शंकर २०७४ सालमा २ जना महिलालाई जबरजस्ती यौन धन्दामा लगाएकोले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएर फरार रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ।

विप्लवका उच्चस्तरका नेता पक्राउ नगर्न सुरक्षा निकायलाई आन्तरिक सर्कुलर


 नारायण अधिकारी |  २०७६ असार २७ शुक्रबार | Friday, July 12, 2019  ०८:३५:०० मा प्रकाशित
काठमाडौं– सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उच्चस्तरका नेता पक्राउ नगर्न सुरक्षा निकायलाई आन्तरिक सर्कुलर गरेको छ।
सरकारले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई यस्तो सर्कुलर गरेको हो। सरकारको उक्त सर्कुलरबारे नेपाल लाइभलाई जानकारी दिँदै नेपाल प्रहरीका एक एसएसपीले सर्लाही घटनापछि सरकारले प्रहरीलाई अति लचता अपनाउन भन्दै यस्तो सर्कुलर गरेको हो। 
‘सर्लाही घटनापछि विप्लव समूह आक्रमक रुपमा आउनसक्ने आंकलन सरकारको थियो। सो घटनापछि उच्चस्तरका नेता पक्राउ गर्दा विप्लव समूह झनै उत्तेजित हुने भन्दै सरकारले यस्तो सर्कुलर गरेको हुनसक्छ,’ ती अधिकारीले नेपाल लाइभसँग भने।
माथिल्लो स्तरका नेता कार्यकर्ता पक्राउ गर्दा वार्ताको वातावरण बिग्रन सक्ने भन्दै सरकारले त्यसप्रति सचेत रहेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। यद्यपि, उनीहरूमाथिको निगरानी भने कायमै राख्न सरकारले निर्देशन दिएको ती प्रहरी अधिकारीले बताए।
सरकारले माथिल्लोस्तरका नेताभन्दा फिल्डमा खटिने तल्लोस्तरका नेता कार्यकर्ता पक्राउ गरे वार्ताका लागि थप दबाब बढ्ने आंकलन गरेको छ। सोही अनुसार सुरक्षा निकायलाई तल्लोस्तरका नेता कार्यकर्ता पक्राउ गर्न सरकारले निर्देशन दिएको छ।
सरकारकै निर्देशन अनुसार अहिले विप्लव समूहका माथिल्लो स्तरका कुनै पनि नेता पक्राउ परेका छैनन्। छिटपुट रुपमा तल्लो स्तरका स्थानीय नेता कार्यकर्ता मात्रै पक्राउ परेका छन्। 
जसकारण वार्ताको माहोल बन्दै गएको विश्लेषण गरिएको छ। विप्लव समूहले लिखित रुपमा पत्र आए वार्तामा बस्न सक्ने जनाएको कुरा बाहिर आएको छ।
यसको संकेत केही दिनअघि (असार १० गते) भरतपुर महानगरपालिकाको चौथो नगरसभा समुद्घाटन समारोहमा बोल्दै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए।
प्रचण्डले आफूले विप्लवलाई नजिकबाट चिनेको भन्दै भनेका थिए, ‘शान्ति प्रक्रियामा आउँदा दुई वर्ष उहाँ मेरो कार्यालयको मुख्य सचिव भएर बसेको कारणले मैले नजिकबाट चिन्छु।'
आफूले पाएको संकेत अनुसार विप्लव शान्तिपूर्ण बाटोमा आउने र समस्याको पनि शान्तिपूर्ण समाधान हुने प्रचण्डले बताएका थिए। अन्य साथीहरू फर्किएझैं विप्लव पनि फर्किने उनको दाबी थियो। विप्लवको मनमा आफूप्रति घृणा नभएको प्रचण्डको भनाइ थियो। प्रचण्डको उक्त भनाइले त्यसबेलै विप्लव मूलधारमा आउने संकेत गरेको थियो।
गत फागुन २८ गते बसेको मन्त्री परिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको थियो।
आपराधिक गतिविधिमा संलग्न, चन्दा आतंक, ज्यान जानेगरी भएको बम बिस्फोटलगायतका घटनाले उक्त समूहले कुनै राजनीतिक दल नभई  आपराधिक समूह भएको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो।
सरकारले विप्लव समूहलाई कुनै कार्यक्रम गर्न समेत नपाउने, जहाँ भेटियो त्यही पक्राउ गर्ने, हतियारसहित देखापरे गोली हान्नेसम्मका आदेश सुरक्षा निकायलाई समेत दिइसकेको थियो।
प्रतिबन्धपछि विप्लव समूहका ८ जनाको ज्यान गइसकेको छ। ५ जनाको आफैंले राखेको बम बिस्फोट भएर ज्यान गएको थियो। भोजपुरमा तीर्थराज घिमिरे र ओखलढुंगा जिल्ला सेक्रेटरी नीरकुमार राई, सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलेको सर्लाहीमै प्रहरी कारबाहीमा ज्यान गइसकेको छ।
विप्लव पक्षको आक्रमबाट नेकपाको कारबाहीबाट प्रहरी जवान सञ्जिव राईको ज्यान गएको छ। विप्लव नेकपाबाट मारिने राई पहिलो नेपाल प्रहरी हुन्।
यसघटनाबारे विज्ञप्ति निकाल्दै विप्लव नेकपाले तीर्थराज घिमिरेलाई चरम यातना दिएर हत्या गर्ने मध्ये एक प्रहरी सञ्जिव राई भएको र उनीसँग नीरकुमारको जम्काभेट भएकाले प्रतिरोधका क्रममा ज्यान गएको जनाएको छ।
विप्लव नेकपा प्रतिबन्धपछि ५ सय ७९ नेता कार्यकर्ता पक्राउ परिसेका छन् भने ५ सय ३६ वटा मुद्दा दर्ता भएको छ। ५ सय ११ थान हतियार प्रशासनमा बुझाइएको छ भने ९ सय ९३ राउण्ड गोली बरामद भएको छ। १८ ठाउँमा बम बिस्फोट भइसकेको छ। जहाँ एक सर्वसाधारणसहित विप्लवकै ५ कार्यकर्ताको मृत्यु भइसकेको छ।

मुद्दा नम्बर ४२० : यसरी उल्टियो जिल्ला अदालतको फैसला, भतिजी मार्ने काकीलाई ८ वर्ष कैद


 नारायण अधिकारी |  २०७६ असार ३१ मंगलबार | Tuesday, July 16, 2019  १७:४०:०० मा प्रकाशित
काठमाडौं– टोखा नगरपालिका-५ मा भक्तलाल डंगोलको तीनतले कच्ची घर छ। घरको दोस्रो तलामा हलजस्तो बरन्डा छ। 
उक्त हलको पूर्व-उत्तरतर्फ बिस्तरा सहितको खाट छ भने बरन्डालाई पूर्व-पश्चिम गरी बीच भागमा त्रिपाल लगाएर २ भागमा बाँडिएको छ।
उत्तरतर्फको भागमा सरसमानहरु स्टोर गरी राखिएका छन्। दक्षिणतर्फको पश्चिम भित्तामा सटाएर टेबलमाथि टिभी। त्यसको पूर्वतर्फ ४ वटा सुकुल। पूर्वतर्फको सुकुलमाथि खैरो मण्डी ओछ्याइएको। तकिया र सेतो बुट्टे ब्ल्यांकेट रहेको गुलाबी रङको पछ्यौरा ओछ्यानमा हुन्छ।  
ओछ्यान नजिकै कटकटिएको वान्ता फेला पर्छ। त्यहीँ नजिकै बेहास अवस्थामा फेला पर्छिन् ७ वर्षीया सिम्रन डंगोल। यो दृश्य साढे २ वर्षअघि २०७३ मंसिर १७ गते साँझ साढे ५ बजेको हो। 
कक्षा २ मा पढ्ने सिम्रनका बाबु रामचन्द्र डंगोलको मृत्यु भइसकेको थियो। बाबुको मृत्युपछि सिम्रनका आमा पनि अर्कैसँग विवाह गरेर गइन्।
बाबुको मृत्यु र आमा पनि अर्कैसँग गएपछि सिम्रन एक्लिइन्। उनलाई हजुरबुवा भक्तलाल डंगोलले अभिभावकत्व दिने भए। भक्तलालसँग उनकी श्रीमती, कान्छो छोरा-बुहारी (चन्द्रिका), उनीहरुका छोराछोरी र सिम्रन र उनका दाइ राहुल गरी ८ जना बस्थे। 
स्रिमनको स्कुलमा पिकनिक कार्यक्रम भएकाले उनी त्यसदिन स्कुल गएकी थिइनन्। तर उनका सहोदर दाइ राहुल भने स्कुल भएका थिए। ‘स्कुलबाट फर्किएर घर पुग्दा रुवाबासी थियो। माइली काकी विष्णुमाया लगायत अन्य रोइरहेका थिए। 'हजुरआमालाई के भयो भनेर मैले सोध्दा, सिम्रनलाई अस्पताल लगेको छ, जाऔं भनेपछि म सोझै ग्रान्डी अस्पताल पुगेँ,’ सिम्रनका दाइ राहुलले बयानमा भनेका छन्। 
बहिनीलाई जीवितै भेट्ने आशासहित हतारिँदै अस्पताल पुगेका राहुलको कानले सुन्नु नपरोस् भनेको वाक्य नै सुन्नुपर्‍यो। डाक्टरले सिम्रनलाई मृत घोषणा गरिदिए।
‘घाँटीमा खोस्रिएको सानो रातो दाग देखिएको, घाँटीमै ९ इन्च लम्बाइ र १ इन्च चौडाइ भएको निलो रातो डाम, घाँटीमा भएको डामदेखि १ इन्चमाथि बंगाराको भागमा कालो रङको टीका टाँसिएको, नाक र मुखबाट छाद जस्तो वस्तु निस्किएको,’ प्रहरीले लास जाँच मुचुल्कामा उल्लेख गरेको छ।
‘मेरो छोरो विकेशले ममीममी दिदी त बोलाउँदा बोल्दैन। झुन्डेर बसेको छ। मरे जस्तो छ भनेपछि म दौडिएर गएँ। लुगा झुड्याउने डोरीमा कलेजी रङको पछ्यौरी घाँटीमा बाँधी सिम्रन झुन्डिएकी थिइन्,’ चन्द्रिकाले बयानमा भनेकी छन्।
सिम्रनलाई भएको के थियो? दाइ राहुललाई जान्नु थियो। त्यसपछि उनले घरमा सोधीखोजी गरे। त्यसदिन घरमा कान्छी काकी चन्द्रीका डंगोल, उनका छोरा विकेश, बहिनी सिम्रन र माइली काकी विष्णु थिए। 
‘दोस्रो तलामा टिभी हेरेर सिम्रन बसिरहेकी थिइन्। त्यसबेला मनमा के विचार आयो कुन्नि लुगा झुड्याउने डोरीमा पछ्यौराको पासो लगाएर झुन्डिछ। भाइ विकेशले देखेपछि कान्छी काकी चन्द्रिकालाई भनेछन्। चन्द्रिका गएर उद्धार गरी अस्पताल पठाउँदा उपचारकै क्रममा मृत्यु भएको हो,’ राहुललाई परिवारका सदस्यले यही सुनाए। 
कान्छी काकी चन्द्रिकाको भनाइ पनि यही थियो। 
‘भान्छामा तरकारी पखाल्दै थिएँ। मेरो छोरो विकेशले ममीममी दिदी त बोलाउँदा बोल्दैन। झुन्डेर बसेको छ। मरे जस्तो छ भनेपछि म दौडिएर गएँ। लुगा झुड्याउने डोरीमा कलेजी रङको पछ्यौरी घाँटीमा बाँधी सिम्रन झुन्डिएकी थिइन्। खुट्टाले भुइँ छोएको थिएन। तत्काल उद्धार गरी उपचारका लागि टोखा इमर्जेन्सी पुर्‍यायौं। त्यहाँ उपचार हुन नसकेपछि ग्रान्डी लाँदा उपचारकै क्रममा मृत्यु भयो,’ चन्द्रिकाले बयानमा भनेकी छन्।
मामालाई जब शंका लाग्यो
७ वर्षीया सिम्रनले झुन्डिएर आत्महत्या गरिन् भन्दै घटना सामसुम हुँदै थियो। सिम्रनका हजुरबुवा भक्तलालले पनि नातिनीको मृत्यु स्वाभाविक नभएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। तर किटानी जाहेरी भने थिएन।
जब सिम्रनका मामा टीकानारायण श्रेष्ठले किटानी जाहेरी दिए, त्यसपछि घटनाले नयाँ मोड लियो। 
‘भान्जी सिम्रनको घाँटीमा चोट छ। त्यसदिन घरमा सिम्रनका कान्छी काकी चन्द्रिका मात्रै थिइन्। घाँटीमा चोट भएका कारण उनको मृत्यु स्वाभाविक होइन। यसमा चन्द्रिकाको हात हुनपर्छ’ भन्दै प्रहरीमा श्रेष्ठले किटानी जाहेरी दिए।
घटना भएको ४ दिनपछि मंसिर २१ गते मामा श्रेष्ठकै जाहेरीको आधारमा प्रहरीले चन्द्रिकालाई पक्राउ गर्छ।
सिम्रन बेहास भएको बेला चन्द्रिका चिच्याएपछि उनकी जेठानी दिदी विष्णु पनि घटनास्थल पुगेकी थिइन्। विष्णुले भने चन्द्रिकाले कर्तव्य गरे जस्तो आफूलाई नलागेको बयान दिइन्।
पोस्टमार्टम र पोलिग्राफले दिएको हत्याको क्लुलाई अदालतले उल्ट्यायो
सिम्रनको मृत्यु स्वाभाविक थिएन। जसकारण उनको पोस्टमार्टम गर्नु अनिवार्य थियो। उनको शव परीक्षण विशेषज्ञ डाक्टर रिजन श्रेष्ठले गरेका थिए। डाक्टर श्रेष्ठसँग यसबारे बकपत्र गर्न भन्दै जिल्ला अदालतले २०७३ फागुन २३ गते आदेश दियो। 
घाँटीमा थिचेको कारण मृत्यु भएको शव परीक्षण प्रतिवेदनमा उल्लेख थियो। मृतक आफैं झुन्डिएको हो भने अटप्सी रिपोर्टमा ह्यांगिङ भनी लेख्नुपर्नेमा त्यस्तो लेखिएको थिएन। 
डाक्टर श्रेष्ठले दिएको बयान अनुसार सिम्रनको घाँटीमा पासोको डाम, घाँटीको अगाडि भागमा २ र पछाडिको भागमा १ वटा थिचोरिएको घाउ थियो। दुवै आँखाको जालीको भागमा रगत जमेको। घाँटीको पासो अगाडिबाट पछाडि जाँदा माथि हुँदै गएको देखिएको डाक्टर श्रेष्ठले दिएको बकपत्रमा उल्लेख छ।
सिम्रनको मृत्यु स्ट्राङ्गुलेसन (घाँटी दबाएर) का कारण भएको हो भन्ने पोस्टमार्टम रिपोर्ट आएको थियो। यसबाट उनको मृत्यु आत्महत्या नभई हत्या भएको हो भन्न सक्ने धेरै क्लुहरु फेला परेका थिए। 
सिम्रनका मामा टीकानारायण श्रेष्ठले किटानी जाहेरी दिएपछि चन्द्रिका पक्राउ परिसकेकी थिइन्। प्रहरीले उनको पोलिग्राफसमेत परीक्षण गरेको थियो। पोलिग्राफमा अभियुक्तले झुट बोलेको छ कि छैन्न भन्ने परीक्षण गरिन्छ। 
पोलिग्राफ परीक्षणले भने चन्द्रिकाले 'हत्या गरेको होइन' भनेर दिएको बयानलाई डिसेप्सन इन्डिकेटेड (झुट बोलेको हो) देखाएको थियो।
पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ परीक्षण र अनुसन्धानबाट चन्द्रिकाले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नम्बरविपरीत १३ (३) नम्बर बमोजिमको कसुर अपराध गरेको हुँदा सोही बमोजिम कारबाही हुनुपर्ने भन्दै अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेका थिए।
तर जिल्ला अदालत काठमाडौंले पोलिग्राफ, पोस्टमार्टम रिपोर्ट, प्रहरी अनुसन्धानलाई उल्ट्याउँदै २०७४ बैसाख २० गते फैसला गर्छ।
‘कर्तव्य ज्यान जस्तो गम्भीर फौजदारी मुद्दामा प्रतिवादी उपरको अभियोग शंकारहित तवरले पुष्टि गर्नुपर्छ। अनुमान र शंकाको भरमा कसैलाई मानव हत्यारा जस्तो अपराधी ठहर गर्नु कानुनसंगत न्याय हुँदैन। प्रतिवादी (चन्द्रिका) ले नै सिम्रनलाई मारेको हो भन्ने कुरा शंकारहित तवरले पुष्टि हुन सकेको पाइएन। तसर्थ प्रतिवादी (चन्द्रिका) उपरको अभियोग दाबी पुग्न सक्ने नदेखिँदा उनले (चन्द्रिका) ले आरोपबाट सफाइ पाउने ठहर्छ,’ जिल्ला अदालतको फैसलामा उल्लेख थियो।
विशेषज्ञको रायबाट झुन्डिएर हत्या भएको होइन भन्ने पुष्टि भएपछि उच्च अदालत पाटनले २०७५ असार १ गते अदालती बन्दोबस्त २०२ नम्बर बमोजिम प्रतिवादी (चन्द्रिका) झिकाउन आदेश दिन्छ। र, उनी पुन: पक्राउ पर्छिन्।
मृतक सिम्रनलाई प्रतिवादी चन्द्रिकाले नै तीन वर्षदेखि पाल्दै आएकाले पनि उनैले हत्या गरेको हुन नस्कने विश्लेषण अदालतको थियो। सोही आधारमा जिल्ला अदालतले फैसला गरेपछि उनी रिहा भइन्।
अटप्सी रिपोर्टमा किन ह्यंगिङ लेखिएन?
मृतकको घाँटीमा डोरीको डाम नभई खोस्रिएको सानो रातो दाग र घाँटीमा ४ इन्च लम्बाइ १ इन्च चौडाइको डाम तथा नाक र मुखबाट छाद आएको लास जाँच मुचुल्कामै उल्लेख थियो। घाँटीमा थिचेको (स्ट्राङ्गुलेसन) कारण मृत्यु भएको शव परीक्षण प्रतिवेदनमा उल्लेख थियो। मृतक आफैं झुन्डिएको हो भने अटप्सी रिपोर्टमा ह्यांगिङ भनी लेख्नुपर्नेमा त्यस्तो लेखिएको थिएन। 
शव परीक्षण गर्ने डाक्टर रिजन श्रेष्ठले दिएको बकपत्रमा सिम्रनको घाँटीका भित्री वस्तुहरुमा निलडाम भएको आधारमा झुन्डिएर नभई अरु कुनै कारण निसासिएर मृत्यु भएको उल्लेख थियो। घाँटीको पासो अगाडिबाट पछाडि जाँदा माथि दुवै गएको अवस्थाबाट मृतकको मृत्यु आफैंले गरेको हुन सक्दैन भनी उनले बकपत्र गरेका थिए।
प्रतिवादी (चन्द्रिका) ले घटना अरुले नै गराएको हो भनेर समेत भन्न नसकेको अवस्थाबाट हत्यारा उनै हुनुपर्छ भन्दै पुन: उच्च अदालत पाटनमा मुद्दा पर्छ। 
परिस्थितिजन्य प्रमाणका आधारमा ८ वर्ष कैद
उच्च अदालत पाटनमा पुनरावेदन गर्दै ४२० नम्बरमा मुद्दा परिसकेको थियो। विशेषज्ञको रायबाट झुन्डिएर हत्या भएको होइन भन्ने पुष्टि भएपछि उच्च अदालत पाटनले २०७५ असार १ गते अदालती बन्दोबस्त २०२ नम्बर बमोजिम प्रतिवादी (चन्द्रिका) झिकाउन आदेश दिन्छ। र, उनी पुन: पक्राउ पर्छिन्।
सरकारी वकिल कार्यालय पाटनका तर्फबाट उपन्यायाधिवक्ता बुद्धिलाल श्रेष्ठ वादीका तर्फबाट बहस गर्छन्। चन्द्रिकाको तर्फबाट अधिवक्ता प्रकाश थापा र बच्चुसिंह खड्काले जिल्ला अदालतकै फैसला सदर हुनुपर्ने भन्दै बहसमा तर्क पेस गर्छन्।
‘अप्रत्यक्ष प्रमाणको आधारमा पनि अदालतले विवादको सही निरोपण गर्नुपर्ने हुन्छ। अपराधीले सदा कसैले देख्ने गरी अपराध नगर्ने र अपराधसँग सम्बन्धित दशी प्रमाणसमेत नष्ट गर्ने प्रयास गर्ने हुँदा फौजदारी मुद्दामा परिस्थितिजन्य प्रमाणबाट पनि दोषी पत्ता लगाउनुपर्ने बाध्यता रहने’ भनी सर्वोच्च अदालतबाट निस्कने नेपाल कानुन पत्रिकाको २०७५, अंक ७ नि. न. १००५७ मा सिद्धान्त प्रतिपादन भएको पाइन्छ।
प्रतिवादी गृहिणी महिला भएको र आफैं तीन वर्षदेखि सिम्रनलाई पाल्दै आएको लगायतका कारण चन्द्रिकालाई जन्मकैदको फैसला गर्दा चर्को सजाय हुने भन्दै उच्च अदालत पाटनले गत चैत २६ गते ८ वर्ष कैदको फैसला गर्छ। 
उक्त सिद्धान्तकै आधारमा सिम्रन फेला परेको कोठामा झुन्डिन मिल्ने दलिन तथा काँटीकिलो पनि फेला पर्दैन। ३ वर्षको बालकले घटनाका बारेमा यसरी आमालाई बेलिबिस्तार समेत लगाउन सक्दैन। ७ वर्षीया बालिका सिम्रनले आत्महत्या गर्नुपर्ने कारण पनि कतैबाट खुल्दैन। उनी आफैं झुन्डिएको हो भन्न सक्ने प्रमाण प्रतिवादीले पेश गर्न नसकेको, घटनास्थल मुचुल्का, पोलिग्राफ, परीक्षण, पोस्टमार्टम रिपोर्ट, डाक्टरको बकपत्र लगायतबाट भतिजी सिम्रनको हत्या काकी चन्द्रिकाबाट भएको निष्कर्ष उच्च अदालत पाटनले निकाल्छ। 
चन्द्रिकाको पारिवारिक अवस्था, घटनास्थलको प्रकृति, वारदाता पश्चात् तत्काल खबर गरी मृतकलाई अस्पताल लैजान देखाएको अग्रसरता, ज्यान मार्नुपर्नेसम्मको पूर्व रिसिइबीको अभाव आदिवारे अदालतले चासो राख्छ। प्रतिवादी गृहिणी महिला भएको र आफैं तीन वर्षदेखि सिम्रनलाई पाल्दै आएको लगायतका कारण चन्द्रिकालाई जन्मकैदको फैसला गर्दा चर्को सजाय हुने भन्दै उच्च अदालत पाटनले गत चैत २६ गते ८ वर्ष कैदको फैसला गर्छ। 
परिवारकै सदस्यबाट हत्या हुने क्रम बढ्दो
आफ्नी अभिभावक (काकी) बाट हत्या हुने सिम्रन एक्ली बालिका होइनन्। पछिल्लो समय आफ्नै परिवारका सदस्यबाट हत्या हुने क्रम बढ्दै गएको छ।
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ देखि २०७४/७५ सम्म ३ हजार १ सय ३१ जनाको हत्या भइसकेको छ। जसमध्ये ६ सय ८४ जनाको हत्या परिवारकै सदस्य तथा नातेदारबाट भएको छ। हत्या भएका मध्ये प्रतिशतका आधारमा आफन्तबाट ३१ प्रतिशतको हत्या भएको पाइन्छ।
आर्थिक वर्ष २०७२/७३ देखि २०७५ माघसम्मको तथ्यांक अनुसार २७५ जनाले श्रीमतीको हत्या गरेका छन्। १५ जनाले आफ्नै छोराछोरी हत्या गरेका छन्। ५९ जनाले श्रीमान्‌को हत्या गर्दा ५३ जना व्यक्तिको हत्या आफ्नै छोराबाट भएको तथ्यांक नेपाल प्रहरीसँग छ। ६२ नवजात शिशुको हत्या आमाले गरेका छन्।
यसरी आफन्त तथा परिवारकै सदस्यबाट असुरक्षित हुनुपर्ने अवस्था आएको देखिन्छ। यसबारे हामीले अपराधशास्त्री रञ्जिभक्त प्रधानाङ्गसँग कुरा गरेका थियौं। उनले चिनेजाने र आफन्तसँगै रिसिइबी हुने र त्यसको चरम रुपमा हत्याजस्तो अपराध हुने गरेको बताए।
यसको रोकमाथको लागि सामाजिक अनुशासन आवश्यक रहेको उनको भनाइ छ। पछिल्लो समय छोराले बाबुआमालाई आदार गर्ने चलन हराउनु, आफूभन्दा ठूलोलाई सम्मान गर्ने प्रचलन लोप हुँदै जानु र आफूभन्दा सानोलाई माया गर्ने चलन हराउँदै गएपछि यस्ता अपराध हुने गरेको उनको भनाइ छ। जसकारण सामाजिक अनुशासनमा मान्छे बाँधि पर्ने र परिवारले सोही रुपको व्यवहार गर्नुपर्ने उनी बताउँछन्। (सांकेतिक तस्बिर)

पूर्वराजदूत झा हत्या : पटके चोरदेखि खुफिया एजेन्सी ‘रअ’ सम्म अनुसन्धान, नार्कोमा देखिएन कुनै संकेत


 नारायण अधिकारी |  २०७६ श्रावण ३ शुक्रबार | Friday, July 19, 2019  ०९:१४:०० मा प्रकाशित
काठमाडौं– प्रहरीकै भनाइ सापट लिएर भन्ने हो भने पूर्वराजदूत केशवराज झाको हत्या रहस्यमय अपराधमध्ये पनि अझै रहस्यमय घटना हो। अपराध अनुसन्धानमा अब्बल मानिएका प्रहरी अधिकृतहरुले ११ महिनासम्म अनुसन्धान गर्दा पनि हत्या घटनाको गुत्थी फेला पर्न सकेको छैन।
फ्रान्सका लागि पूर्वराजदूत झाको हत्या भएको आज (शुक्रबार) ११ महिना पुगेको छ। तर, प्रहरीले हत्याको रहस्य छिचोल्न त परै जाओस्, अपराधीको संकेतसम्म पहिल्याउन सकेको छैन।
गत भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय बयोवृद्ध झाको हत्या भएको थियो। झा हत्याको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले रहस्यमय मध्येको एक भएको बताउँदै आएका छन्। ढिलो चाँडो अपराधी पत्ता लाग्छ भन्नु बाहेक प्रहरीसँग कुनै विकल्प छैन। ‘सबैभन्दा सजिलो सजिलै पत्ता लाग्ने केश मर्डर र सबैभन्दा अफ्ठ्यारो चोरी’ भन्ने प्रहरी अधिकृत झा हत्याको अनुसन्धानबाट यो भनाइलाई नै विचार गर्नुपर्ने बेला आएको बताउन थालेका छन्। 
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले  झाकै घरमा पाले बसेकासँगै भान्सेको काम गर्दै आएका सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्से जयबहादुर तामाङलाई पक्राउ गरेको थियो। 
झा हत्या आरोपमा पक्राउ परेका उनीहरु भदौ २९ गते ८/८ हजार रुपैयाँ धरौटीमा छुटेका थिए। महाशाखाले तीनै जनाको पोलिग्राफ परीक्षण गरेको थियो। जसमा सानुकान्छाले ढाँटेको देखिएको थियो। सानुकान्छामाथि शंका गर्ने ठाउँ हुँदाहुँदै पनि प्रमाण नपुगेपछि प्रहरीले उनलाई छाडेको थियो। यद्यपि उनी अझै प्रहरीको निगरानीमै छन्।
राजदूत झा पाकिस्तानसँग केही निकट रहेको कुरा पनि बाहिर आएकै थियो। यसले थप शंका गर्ने ठाउँ प्रहरीलाई उब्जाएको थियो। महाशाखकै एक प्रहरी अधिकारी अहिले पनि त्यो शंका गर्छन्। तर त्यसलाई पुष्टि गर्ने कुनै आधार छैन। 
कसैसँग पनि नराम्रो व्यवहार नगर्ने, समधुर सम्बन्ध राख्ने, बयोवृद्ध पूर्वराजदूतको हत्या भएपछि अनुसन्धानमा खटिएको प्रहरीले अहिलेसम्म धेरै एंगलबाट अनुसन्धान गरिरहेको छ।
पटके चोरदेखि ‘रअ’ सम्म अनुसन्धान, नतिजा शून्य
राजदूत झाको हत्याको खबर पाउना साथ महानगरीय प्रहरी अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो। झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा ४ र घाँटी छेउमा २ पटक प्रहार गरेर हत्या गरिएको विवरण प्रहरी मुचुल्कामा उल्लेख छ।
प्रहरीले घटनास्थलबाट झाको हत्यामा प्रयोग गरिएको चक्कु, पन्जा, सुरक्षागार्डको मोबाइल, झाको रगतले लतपतिएको कपडालगायत अन्य प्रमाण फेला पारेको थियो। आफ्नै भान्साको चक्कुले हत्या गरिएको भनिए पनि चक्कुको ल्याब टेस्ट गर्दासमेत कसैको फिंगर प्रिन्टसँग मिलेन। 
झाको घर नजिकै केराको झाँङबाट उठाइएको पन्जामा समेत कुनै क्लु फेला पर्न नसक्नुले प्रहरीले अनुसन्धान रहस्यमय भएको बताउँदै आएको छ। प्रहरीले प्रमाणको रुपमा उठाएका कुराहरुबाट हत्यारा पत्ता लाग्न नसकेपछि अपराध महाशाखाको टोलीले विभिन्न एंगलबाट अनुसन्धान गरिरहेको जनाएको छ।
राजदूत झाको फोनमा सेभ भएका, डायल भएका फोन नम्बरहरु, उनको डायरीमा उल्लेखित व्यक्तिका नाम तथा फोन नम्बरहरुमाथि समेत प्रहरीले गहिरो अनुसन्धान गरेको थियो। तर त्यसमा समेत कुनै क्लु फेला परेन।
केही समयअघि मात्रै महाशाखाको जिम्मेवारी सम्हालेका एसएसपी सहकुल थापाले झा हत्यालगायत पुरानो मुद्दाको फाइलको अनुसन्धानमा आफ्नो प्राथमिकता रहने बताएका थिए। तर अहिलेसम्म पनि कुनै नयाँ क्लु फेला पर्न सकेको छैन। यसबारे जानकारी दिँदै केही दिन अघि एसएसपी थापाले भनेका थिए, ‘अनुसन्धानको दायरा बढाउदै गएका छौं। अहिलेसम्म त्यस्तो केही नयाँ तथ्य फेला पर्न सकेको छैन।’
झाको अन्तिम पटक कोसँग फोनमा कुरा भएको छ? हत्या हुनभन्दा एकहप्तादेखि कहाँ कहाँ गए? भन्ने पाटोको पनि प्रहरीले अनुसन्धान गरेको थियो। तर त्यसमा पनि केही नयाँ तथ्य फेला पर्न सकेन। 
छोराबुहारी नेपाल नभएकाले उनीहरुले कसैमार्फत घटना घटाएकी ? भनेर समेत प्रहरीले उनीहरुमाथि अनुसन्धान गरेको थियो। तर त्यसमा पनि कुनै तथ्य प्रहरीले फेला पार्न सकेन। 
यति गर्दा पनि हत्यारा पत्ता नलागेपछि प्रहरीले लागू औषध दुर्व्यसनी, घरभित्र छिरेर पटकपटक चोरी गर्ने ‘पटके’ चोरहरुमाथि निगरानी बढाएर अनुसन्धान गर्यो्। चोर्ने क्रममा थाहा पाएपछि हत्या गरेर भागेको भन्ने आशंकाले उपत्यकाका चोरको विवरण केलाउँदै प्रहरीले अनुसन्धान गरेको थियो। त्यसबाट पनि केही पत्ता लागेन।
‘नजिकै बाग्मति किनारमा भएको सुकुम्बासी बस्तीका ट्यापे केटाहरुमाथि पनि हामीले अनुसन्धान गर्यौंन। घटना भएका बेला को, कहाँ थियो। अहिले कोही हराएको छ कि भनेर पनि अनुसन्धान गर्यौंथ। तर यसमा पनि केही देखिएन’ महाशाखाका एक प्रहरीले सुनाए।
यति गर्दा समेत कुनै नयाँ कुरा फेला नपरेपछि बिटिएस टावरले क्याच गरेको मोबाइलमार्फत सम्बन्धित व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरेको थियो। 
पोलिग्राफमा झुटो बोलको पत्ता लागेपछि प्रहरीले सानुकान्छाको नार्को परीक्षणसमेत गरेको थियो। नार्को परीक्षण भनेको औषधि खुवाएर अर्धचेत बनाई मनोविज्ञले प्रश्न सोध्ने विधीको नाम हो। त्यसमा समेत कुनै ‘क्लु’ फेला परेको थिएन।
बिटिएस अर्थात् हत्या भएको बेला त्यस वरपर चालू भएका मोबाइलको अनुसन्धान गुरु गरेको थियो। त्यसमा तीन वटा मोबाइलमा बढी शंका गर्ने ठाउँ भएपछि उनीहरुमाथि प्रहरीले अनुसन्धान गरेको थियो। तर त्यसमा समेत केही तथ्य फेला परेन।
बिटिएसमा ठोक्किएका, पटके चोरलगायत ४ सय भन्दा बढी व्यक्तिसँग सोधपुछ र बयान लिइसकेको प्रहरीले बताएको छ। तर उनीहरुबाट समेत कुनै तथ्य फेला पर्न सकेको छैन।
झा हत्या अनुसन्धानमा खटिएकै बेला सुनसरीमा असोज ४ गते खुर्सिद आलमको हत्या भयो। जहाँ भारतीय खुफिया एजेन्सी ‘रअ’ को हात रहेको कुरा बाहिर आएपछि प्रहरीले त्यसतर्फ पनि अनुसन्धान सुरु गरेको थियो। राजदूत झा पाकिस्तानसँग केही निकट रहेको कुरा पनि बाहिर आएकै थियो। यसले थप शंका गर्ने ठाउँ प्रहरीलाई उब्जाएको थियो। महाशाखकै एक प्रहरी अधिकारी अहिले पनि त्यो शंका गर्छन्। तर त्यसलाई पुष्टि गर्ने कुनै आधार छैन। 
‘प्रायः ‘रअ’ ले अहिलेसम्मको तथ्याङ्क हेर्दा घरभित्र प्रवेश गरेर हत्या गरेको देखिँदैन। बाटोमा हिँडिरहेको बेला, घरबाहिरै हत्या गरेको देखिन्छ’ महाशाखा स्रोतले भन्यो ‘झा हत्यामा पनि ‘रअ’ को हात देखिँदैन।’
नार्को गर्दा समेत पत्ता लागेन 
झा हत्या आरोपमा पक्राउ परेका सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङ भदौ २९ गते छुटेका थिए। महाशाखाले तीनै जनाको पोलिग्राफ परीक्षण गरेको थियो। जसमा आइतसिंह र जयबहादुरले झुटो नबोलको पत्ता लागेको थियो भने सानुकान्छाले झुटो बोलेको त्यसबेलै पत्ता लागको थियो। 
तर पोलिग्राफलाई मात्रै अदालतले प्रमाणको रुपमा नलिने भएपछि त्यसैको आधारमा मात्रै प्रहरीले मुद्दा चलाउन सकेन। पोलिग्राफमा झुटो बोलको पत्ता लागेपछि प्रहरीले सानुकान्छाको नार्को परीक्षणसमेत गरेको थियो। नार्को परीक्षण भनेको औषधि खुवाएर अर्धचेत बनाई मनोविज्ञले प्रश्न सोध्ने विधीको नाम हो। त्यसमा समेत कुनै ‘क्लु’ फेला परेको थिएन।
फिंगर प्रिन्टमा समेत केही नदेखिएपछि अन्तत: सानुकान्छा प्रहरीबाट छुटेका थिए। प्रहरीबाट छुटे पनि महाशाखाको टोलीले उनीमाथि सुक्ष्म निगरानी भने गरिरहेकै छ। 
घटनालगत्तै अनुसन्धानमा खटिएको प्रहरीले तालिमप्राप्त जर्मन सेफर्ड जातको म्याक्स नामक कुकुर अनुसन्धानमा परिचालन गरेको थियो। त्यसेबला म्याक्सले पनि तामाङतर्फ इंकित गरेको भनाइ प्रहरीको छ। 
पोलिग्राफमा धेरै कुरा ढाँट्नु र कुकुरले समेत केही शंका गर्ने ठाउँ देखाउनुले उनीमाथि अझैं शंका गर्ने ठाउँ रहेको महाशाखाको टोलीले बताउँदै आएको छ।
त्यसैगरी हत्यामा प्रयोग भएको चक्कु झाको भान्साको हुनु र उनी आफैं भान्छे हुनु संयोग हो वा कुनै सम्बन्ध छ यसबारे प्रहरीले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । पूर्वराजदूत झाले प्रयोग गर्ने सिरानी पनि सानुकान्छाले प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको थियो। 
केही तथ्यहरुले सानुकान्छालाई इंगित गरे पनि प्रहरीले प्रष्ट प्रमाण जुटाउन सकेको छैन। यदि सानुकान्छाले हत्या गरेको भए त्यसको कारण के त? यो प्रश्नको जवाफ समेत प्रहरीले पाउन सकेको छैन। 
यदि सानुकान्छाले नै हत्या गरेका भए किन गरे?, हत्याको कारण के? हत्यापछि किन उनले झाको साथमा रहेको रकम समेत लगेनन्? जस्ता कुराको उत्तर र प्रष्ट प्रमाण जुटाउन नसक्दा प्रहरी अहिले हत्यारा यही हो भन्न सक्ने अवस्थामा छैन।

मानव तस्करी : यसरी गरिन्छ नक्कली बिहे, दाँतका डाक्टरले दिन्छन् 'बर्थ सर्टिफिकेट'

नारायण अधिकारी |  २०७६ श्रावण ७ मंगलबार | Tuesday, July 23, 2019  १६:४५:०० मा प्रकाशित

काठमाडौं– ‘दक्षिण कोरियामा रहेका श्रीमान्‌लाई भेट्न पाउने मेरो अधिकार हनन भयो। कोरिया प्रस्थानको अनुमति नदिँदा पटकपटक काटिएको टिकट रद्द गर्दा आर्थिक नोक्सानी भयो। अध्यागमनको निर्णय गैरकानुनी छ। परमादेश जारी गरी कोरिया प्रस्थानका लागि अनुमति पाऊँ।’ 
करिब दुई वर्षअघि यही व्यहोरा जनाउँदै सर्वोच्च अदालतमा निवेदन पर्छ। निवेदन हाल्ने व्यक्ति ओखलढुंगाको साबिक रुम्जाटार गाविसकी मेनुका राई (नाम परिवर्तन) हुन्। हाल उनको ठेगाना काठमाडौं महानगरपालिका–७ रहेको छ।
राईले अध्यागनमन विभाग कालिकास्थान र अध्यागमनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विपक्षी बनाउँदै निवेदन दिएकी थिइन्।
कोरियन नागरिक याङहयोनसँग आफ्नो विवाह भएको भन्दै राईले जन्म, मृत्यु र व्यक्तिगत घटना ऐन २०३३ बमोजिम स्थानीय पञ्जाधिकारीसमक्ष विवाह भएको प्रमाणपत्र समेत काठमाडौं महानगरपालिकाको कार्यालयबाट २०७२ चैत ५ गते लिएकी थिइन्। उक्त प्रमाणपत्र अनुसार २०७१ फागुन २८ गते उनीहरुको बिहे गरेको देखिन्छ। 
बिहे गरेपछि दुवै जना कोरिया जाने भन्दै कोरियन दूतावासमा कागजात पेस गरेको राईले सर्वोच्चमा दायर गरेको निवेदनमा उल्लेख छ। 
मानव तस्करले अमेरिका, युरोप, अफ्रिकी मुलुक र खाडी लैजान विभिन्न रुट प्रयोग गर्ने गरेका छन्। अधिकांशको सुरुवाती गन्तव्य भारतको दिल्ली रहेको छ। अमेरिका पुर्‍याउन तस्करले १३ देशको रुट प्रयोग गर्छन्।
महानगरपालिकाको विवाह दर्ता शाखाबाट दर्ता नम्बर ०७२/७३ (चलानी नम्बर ७७) को दुवै जनाको फोटो टाँसिएको प्रमाणित व्यहोरा, दक्षिण कोरिया जान आमाबाबुले मन्जुरी दिएको पत्र संख्या २०७२/७३ (चलानी नम्बर ५१) को ०७३ जेठ १३ गतेको सरजिमन मुचुल्का समेत गरेर ०७३ जेठ २४ र असार ६ मा अध्यागमनमा पेस भएको थियो। 
तर, अध्यागमनले श्रीमान्-श्रीमतीबीच बिहे भएको प्रमाणपत्र पेस गर्न नसेकको भन्दै कोरिया प्रस्थानको अनुमति दिएन। 
त्यसपछि उनी सर्वोच्चसम्म पुगेकी थिइन्। तर राई कोरिया जानकै लागि सर्वोच्चसम्म पुग्नुको पछाडि भने मानव तस्करहरुको हात रहेको बुझिएको छ। मोटो रकम लिएर कोरिया पठाउने योजनामा पटकपटक अध्यागमन बाधक भएपछि मानव तस्करकै समूहले उनलाई अदालतसम्म पुर्‍याएका थिए।
राईले अध्यागमनको २०७३ जेठ २४ गते चलानी नम्बर २०६५ को र असार ६ गते चलानी नम्बर २५३४ नम्बरको पत्रको निर्णय गैरकानुनी भएकाले त्यो खारेज गर्नुपर्ने, विपक्षीहरुको नाममा उपयुक्त किसिमले परमादेश जारी गरी पाऊँ भन्दै सर्वोच्चमा निवेदन पेस गरेकी थिइन्। 
सर्वोच्चले विवाह दर्ताको सक्कल प्रमाणपत्र पेस गर्न नसकेको, विवाह दर्ता ऐन २०२८ अनुसार विवाह दर्ता गर्नुपर्नेमा जन्म, मृत्यु र व्यक्तिगत घटना दर्ता ऐन २०३३ अनुसार स्थानीय पञ्जीकाधिकारीसँग व्यक्तिगत घटना प्रमाणित गराएको, विदेशी पुरुषसँग बिहे गरिसकेपछि आमाबाबु तथा अभिभावकले विदेशी नागरिकको घर जान लागेको हो भन्ने स्थानीय निकायको रोहबरमा मन्जुरीनामा नबनाएको पाइएको भन्दै गत भदौ १८ गते अध्यागनको निर्णय सदर गरेको थियो। 
त्यसपछि मोटो रकम लिएर कोरिया पठाउने मानव तस्करको योजना तुहिएको थियो। यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई समेत अनौपचारिक जानकारी गराइएको थियो। तर घटना भएको एक वर्ष बितिसक्दा समेत  सम्बन्धित व्यक्तिहरु पक्राउ पर्न सकेका छैनन्। 
यसरी मानव तस्करहरुले नक्कली विवाह गरेर विदेश लैजाने गरेको सर्वोच्चको आदेशबाटै प्रस्ट भएको छ। 
दाँतको अस्पतालमा 'बर्थ सर्टिफिकेट'
मानव तस्करकै लागि नक्कली बिहे मात्रै होइन दाँतका डाक्टरले 'बर्थ सर्टिफिकेट' दिएको सम्मका घटना बाहिरिएका छन्।
गत बैसाख १९ गते कोरियन नागरिक किम नारा र पोखरास्थित जिनो अस्पतालमा कार्यरत चिकित्सक सन्तोषकुमार भट्ट पक्राउ परे। नक्कली कागजात बनाएर नेपाली बच्चा तस्करी गर्न लागेको थाहा पाएपछि उनीहरुलाई सिआइबीले पक्राउ गरेको थियो। 
मानव बेचबिखन ब्युरोले गत जेठ ३१ गते मात्रै क्यानडा पठाउने भन्दै दिल्ली पुर्‍याएर २५ लाख लुटपाट गरी बेहोस बनाएर मिर्गौला निकाल्न खोज्ने नुवाकोटको मेघाङ गाउँपालिका–५ का २६ वर्षीय योगेश सापकोटालाई पक्राउ गरेको थियो।
एक गरिब नेपाली दम्पतीको छोरालाई कोरियन महिला नाराले आफ्नो सन्तान भन्दै कोरिया लैजान लागेकी थिइन्। त्यसका लागि दाँतका चिकित्सक भट्टले आफ्नो अस्पतालमा नजन्मिएको बच्चालाई आफ्नो अस्पतालमा जन्मिएको भन्दै प्रमाणपत्र बनाइदिएका थिए। 
दाँतको अस्पतालमा बच्चा जन्मिएको सर्टिफिकेट बनाएर पोखरा महानगरपालिकाबाट कोरियन नागरिक नाराकै बच्चा भनेर जन्मदर्ता समेत बनाइएको थियो। सोही जन्मदर्ताको आधारमा कोरियन दूतावासबाट नाराले पासपोर्टसमेत बनाइसकेकी थिइन्। तर सोधपुछका क्रममा दाँतको अस्पतालबाट बर्थ सर्टिफिकेट लिएपछि नारा शंकामा परेकी थिइन्। अन्तत: पक्राउ परिन्। पक्राउ परेका दन्त चिकित्सक र कोरियन महिला नारा गत जेठ २३ गते पुर्पक्षका लागि कारागार चलान भए।
यसरी अनेक बहानामा मानव तस्करी हुने क्रम जारी छ। 
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले गत जेठ ३१ गते मात्रै क्यानडा पठाउने भन्दै दिल्ली पुर्‍याएर २५ लाख लुटपाट गरी बेहोस बनाएर मिर्गौला निकाल्न खोज्ने नुवाकोटको मेघाङ गाउँपालिका–५ का २६ वर्षीय योगेश सापकोटालाई पक्राउ गरेको थियो। मानव तस्करको आरोपमा केही पक्राउ परे पनि केही भने अझै फरार छन्।
१३ देशको रुट प्रयोग गरी पुर्‍याइन्छ अमेरिका 
मानव तस्करले अमेरिका, युरोप, अफ्रिकी मुलुक र खाडी लैजान विभिन्न रुट प्रयोग गर्ने गरेका छन्। अधिकांशको सुरुवाती गन्तव्य भारतको दिल्ली रहेको छ। दिल्ली हुँदै दुबई भएर मानव तस्करले नेपालीलाई अफ्रिका लैजाने गरेका छन्।
                                                                                                                                                                                                  स्रोत : नेपाल प्रहरी
अमेरिका पुर्‍याउन तस्करले १३ देशको रुट प्रयोग गर्छन्। दिल्लीबाट सुरुमा तस्करले रुसको मस्को पुर्‍याउँछन्। त्यसपछि स्पेन, इक्वेडर, पानामा, कोस्टारिका, होन्डुरस, ग्वाटेमाला रुट भएर मेक्सिको हुँदै अमेरिका पुर्‍याउँछन्। नेपालबाट दिल्ली बसमा पुर्‍याउँछन्। दिल्लीबाट रुस, स्पेन र बोलिभियासम्म प्लेनमा लैजाने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। बोलिभियाबाट पेरु छिराउन भने तस्करले बसको प्रयोग गर्छन्। त्यसपछि पेरुबाट इक्वेडर र कोलम्बियाका लागि फेरि प्लेनकै प्रयोग हुन्छ। कोलम्बियाबाट पानामा जान भने दुई रुट छन्। त्यहाँ पानीजहाज कि त पैदलै जानुपर्ने हुन्छ। पानामादेखि कोस्टारिकाका लागि बस प्रयोग गर्ने तस्करले त्यसपछि निकारागुआ, होन्डुरस, ग्वाटेमाला र मेक्किकोसम्म प्लेन प्रयोग गर्छन्। अमेरिका पुग्न मेक्सिको अन्तिम रुट हो। यहीँबाट अमेरिका छिर्ने क्रममा कतिपयले त्यहीँ मृत्युवरण गर्ने गरेका छन्।
केही दिनअघि मात्रै यिनै १३ देशको रुट प्रयोग गरेर अमेरिका पुगेका दाङका १९ वर्षीय नरेन्द्र बस्नेतले ७६ लाख खर्चिएर फर्किएका छन्।  
युरोप जानका लागि भने तस्करले काठमाडौंबाट सिधै दुबई पुर्‍याउँछन्। त्यसपछि लिबिया, इटाली हुँदै युरोप पुर्‍याउने गरेका छन्।
खाडी मुलुकका लागि दिल्लीबाट मिजोरम हुँदै श्रीलंकाको रुट भएर तस्करले खाडी पुर्‍याउने गरेको पाइएको छ।
३६ विदेशीसहित ११ सय २२ पक्राउ, ६४५ अझै फरार
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ को चैत मसान्तसम्म मानव तस्करीको आरोपमा ११ सय २२ जना पक्राउ परेका छन्। 
आव २०७२/७३ मा २१२ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएका थिए। मानव तस्करी गरेको आरोपमा १६३ पुरुष, ५७ महिला र ७ विदेशी नागरिकसहित २२७ जना त्यसबेला पक्राउ परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ।
तर सोही आर्थिक वर्ष मानव तस्करीमा संलग्न भएका १४७ पुरुष र ३५ महिला गरी १८२ जना भने अझै फरार छन्।
आव २०७३/७४ मा मानव बेचबिखनका २ सय २७ वटा मुद्दा दर्ता भएका थिए। जसमा वैदेशिक रोजगारीको प्रलोभनमा पारेर  ८१, धम्की दिएर २, विवाह गरेर ३८ र आर्थिक प्रभावमा  १०६ वटा मानव तस्करका घटना भएको भन्दै मुद्दा दर्ता भएको थियो। यसरी प्रहरीको डाटा हेर्दा धेरैजसो आर्थिक प्रलोभनमा पारेर मानव तस्करी हुने गरेको देखिन्छ।
त्यस आर्थिक वर्ष मानव तस्करहरुबाट पीडित हुने सबैभन्दा बढी १६ वर्षदेखि २५ वर्ष उमेर समूहका छन्। १६ वर्षदेखि २५ वर्षसम्मका १३९ जना, ६० वर्षभन्दा माथिका १ जना, १६ वर्ष भन्दा मुनिका २५ जना, ४६ देखि ६० वर्षसम्मका १५ जना, २६ देखि ३५ वर्षसम्मका ७३ जना र ३६ देखि ४५ सम्म २४ जना आर्थिक वर्ष २०७३/७४ मा पीडित भएका थिए।
यस आर्थिक वर्षमा मानव तस्करीको आरोपमा १८१ पुरुष, ८३ महिला र ८ विदेशी पुरुष र २ महिला गरी २७४ जना पक्राउ परेका थिए भने मानव तस्करीमा संलग्न ५ विदेशीसहित १३७ जना भने अझै पक्राउ पर्न सकेका छैनन्।
आव २०७४/७५ मा सबैभन्दा बढी ३०८ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएका थिए। त्यसबेला १६ विदेशीसहित ३७६ जना मानव बेचबिखनमा संलग्न व्यक्ति पक्राउ परे। १२ विदेशीसहित २३३ जना भने अझै फरार छन्।
प्रहरीको तथ्यांक अनुसार आव २०७५/७६ को चैत मसान्तसम्म १६९ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएका छन्। जसमा संलग्न ३ विदेशी नागरिकसहित २४५ जना कानुनी दायरामा आइसकेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता विश्वराज पोखरेलले बताए। उक्त घटनामा संलग्न ४ विदेशीसहित ९३ जना भने अझै फरार छन्।
तस्करले यसरी प्रलोभनमा पारेर विदेश पुर्‍याएकाहरुले बन्धक र दासझैं जीवन बिताउनुपर्ने अवस्था आएको भनाइ छ। प्रहरीले यसरी बन्धक भएका व्यक्ति उद्धार गरिरहे पनि मानव तस्करमा संलग्न मुख्य अभियुक्त भने पक्राउ पर्न सकेका छैनन्।
यसरी आव २०७५/७६ को चैत मसान्तसम्म ३६ विदेशी नागरिकसहित ११ सय २२ जना पक्राउ परेका छन् भने २१ विदेशीसहित ६४५ जना अझै फरार छन्।
तस्करलाई कानुनी दायरामा ल्याउँछौं : एसपी थपलिया
मानव बेचबिखनको पछिल्लो ट्रेन्ड र प्रहरीले गरिरहेको कामबारे हामीले मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गोविन्द थपलियासँग कुरा गरेका छौं। उनका अनुसार विशेषत दुई किसिमले मानव तस्करी हुने गरेको छ। एक राम्रो रोजगारीको नाममा र अर्को उच्च शिक्षा तथा विकसित देशको ग्रिन कार्ड पाउने आश्वासन देखाएर।
रोजगारीको नाममा खाडी मुलुकमा र उच्च शिक्षा तथा ग्रिन कार्डको नाममा विकसित मुलुकमा मानव तस्करी हुने गरेको छ।
तस्करले यसरी प्रलोभनमा पारेर विदेश पुर्‍याएकाहरुले बन्धक र दासझैं जीवन बिताउनुपर्ने अवस्था आएको उनको भनाइ छ।
प्रहरीले यसरी बन्धक भएका व्यक्ति उद्धार गरिरहे पनि मानव तस्करमा संलग्न मुख्य अभियुक्त भने पक्राउ पर्न सकेका छैनन्।  यसबारे एसपी थपलियाले भने, ‘मानव तस्करका मुख्य अभियुक्तहरु विदेशमा लुकेर बसेका हुन्छन्। अब मानव तस्करमा संलग्न त्यस्ता व्यक्तिलाई तिनीहरुको नेटवर्क पत्ता लगाएर कानुनी दायरामा ल्याउँछौं।’
मानव तस्करबाट बच्नका लागि नेपाल सरकारले श्रम स्विकृति दिएको स्थान र देशहरुमा जाने, नेपाल सरकारमा दर्ता भएका म्यानपावर र कन्सल्टेन्सीमार्फत विदेश जानेलगायत कुरामा ध्यान दिनुपर्ने प्रहरीले जनाएको छ। (मुख्य तस्बिर स्रोत : middleeastmonitor.com