Thursday, July 11, 2019

सावित्री हत्याकाण्ड : किनेको पेस्तोल फिर्ता गरेर चक्कुले हत्या

नारायण अधिकारी |  २०७६ असार १७ मंगलबार | Tuesday, July 02, 2019  १८:०९:०० मा प्रकाशित

48Shares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीमा आइतबार बिहान ६१ वर्षीया सावित्रा भट्टराईको हत्या भयो। चक्कुले घाँटी रेटेर उनको हत्या भएको थियो। 
तर, कन्ट्रयाक्ट किलरले उनको हत्या पेस्तोलबाट गर्ने भन्दै पेस्तोल किनेको अनुसन्धानबाट खुलेको छ।
उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भट्टराईकी छोरी २७ वर्षीया ईश्वरी, उनका प्रेमी सिरहाको कल्याणपुर नगरपालिका–४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षका मोहम्मद नौसाद, भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार र भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई पक्राउ गरेको छ। 
उनीहरुको बयानबाट सावित्रीको हत्या पेस्तोलबाट गर्ने भन्दै पेस्तोल किनेको तथ्य फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।
सावित्रीको हत्या गर्ने योजनासहित गत जेठ ३ गते रोजगारीका लागि दुबई गएका नौसाद असार ६ गते काठमाडौं फर्किएका थिए। त्यसपछि सावित्रीको हत्या योजना उनले आफ्ना पुराना साथी भोला कुमारलाई सुनाएका थिए। भोला काठमाडौं ढुंगेअड्डास्थित एक गार्मेन्टमा काम गर्थे।
उनले आफूले एक्लै हत्या गर्न नसक्ने बताएपछि नौसादले भारत मधुवनीमा रहेका आफ्ना फुपूका छोरा रहिशसँग सम्पर्क गरेका थिए। नौसादले १२ लाखको सुपारी दिने भएपछि रहिश र भोला हत्या गर्न तयार भएका थिए। 
त्यसपछि रहिशले भारत मधुवनीमै हत्याका लागि भन्दै पेस्तोल किन्न खाजेका थिए। १० हजार भारतीय रुपैयाँमा पेस्तोल किन्न तयार भए पनि नौसादले रकम पठाएका थिएनन्।
त्यसपछि असार १२ गते भोलालाई लिएर नौसाद आफै मधुवनी गए। १० हजार रुपैयाँमा पेस्तोल किन्न नौसाद तयार भए। ‘नौसादले पेस्तोल त किन्ने भए। तर पेस्तोल बेच्ने मान्छेसँग गोली नभएपछि किनिसकेको पेस्तोलसमेत फिर्ता भयो,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नेपाल लाइभलाई सुनाए।
पेस्तोल महँगो भएको र गोली पनि नभएको थाहा पाएपछि पेस्तोल फिर्ता गरेर मधुवनीबाट ७ सय भारतीय रुपैयाँमा रामपुरी चक्कु किनेको बयान उनीहरुले प्रहरीलाई दिएका छन्।
असार १२ गते भारत पुगेका उनीहरु १४ गते राति काठमाडौं आइपुगेका थिए। त्यो रात काटेश्वरस्थित गेस्ट हाउसमा बसेको उनीहरुले बताएका छन्। भारत आउन-जान र सावित्रीको हत्या गर्न ५० हजार रुपैयाँ नौसादले खर्च गरिसकेका थिए।
हत्या गरिसकेपछि फरार भएका भोला र रहिशले सुपारी बापतको १२ लाख रुपैयाँ नदिए नौसाद परिवारका सदस्यमाथि बदला लिने भन्दै उनीहरुले नौसादलाई समेत फोन गरेको पाइएको छ। ‘नौसाद पक्राउ परिसकेका थिए तर भोला र रहिश पक्राउ नपर्दा १२ लाखको सुपारी समेत नपाएको रिसमा अर्को दुर्घटना समेत हुन सक्ने सम्भावना थियो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘उनीहरु पनि बेलैमा पक्राउ परेकाले त्यो सम्भावना टर्‍यो।’
७ दिन म्याद थप, ईश्वरीको इन्कारी बयान
पक्राउ परेका चारै जना महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा छन्। उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।
सोमबार प्रहरीले ईश्वरी र नौसादलाई म्याद थपका लागि अदालत उपस्थित गराएको थियो। उनीहरुलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए। 
त्यसैगरी प्रहरीले मंगलबार आज रहिश र भोलालाई अदालत पेश गरेको थियो। उनीहरुलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको एसपी प्रधानले बताए। 
पक्राउ परेकी सावित्रीकी छोरीले भने हत्यामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएकी छिन्। तर नौसादले भने उनकै योजनामा हत्या गरिएको प्रहरी समक्ष बताएका छन्। बाँकी दुई जनाले पनि अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment