Thursday, December 26, 2019

सावित्री हत्याकाण्ड: आफ्नै छोरीले प्रेमीसँग मिलेर गराइन् ६१ वर्षीया आमाको हत्या

नेपाल लाइभ |  २०७६ असार १६ सोमबार | Monday, July 01, 2019  १०:३५:०० मा प्रकाशित


काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका-७, बाँसबारीमा आइतबार बिहान भएको वृद्धाको हत्या उनकै छोरीको संलग्नतामा भएको खुलेको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ घर भई भक्तपुरको चाँगुनारायण-७, बाँसबारीस्थित छोरी इश्वरी भट्टराईको घरमा आएका बखत आइतबार बिहान ६१ वर्षीय सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको थियो।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज पत्रकार सम्मेलन गर्दै सो हत्या छोरी इश्वरीले आफ्ना प्रेमी सिरहाको कल्याणपुर नगरपालिका-४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षका मोहम्मद नौसादसँगको संलग्नतामा गराएको जनाएको छ।
२७ वर्षीया इश्वरीको मोहम्मदसँगको सम्बन्धका बारेमा आमा सावित्रीलाई थाहा भएपछि सो कुरा बाहिर नआओस् भन्न आमाको हत्या गराएको इश्वरीले स्वीकारेकी छिन्।

इश्वरीले आफ्ना प्रेमी मोहम्मदसँग सल्लाह गरी आमाको हत्या गर्न १२ लाख रुपैयाँको सुपारी दिएकी थिइन्। यसका लागि मोहम्मदले भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय 'अर्जुन कुमार' भनिने भोला कुमारको सहयोग लिएका थिए। यी दुवैले भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई हत्या गर्न सुपारी दिएका थिए।
सावित्रीको आइतबार घाँटी रेटेर हत्या गरेको अवस्थामा छोरी इश्वरीको घरमा शव फेला परेको थियो। अनुसन्धानका क्रममा ४ जनाको संलग्नता देखिएपछि आइतबार नै सबैलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो।

आरोपित युवकले भने- इज्जतसँग खेलबाड गर्नु महापाप हो [भिडियो]

नारायण अधिकारी |  २०७६ पौष १० बिहीबार | Thursday, December 26, 2019  १८:४४:०० मा प्रकाशित

काठमाडौं- ‘मिडियाका साथीहरू म केही कुरा राखौं?’ 
मोडलका नाममा युवतीलाई भारत पुर्‍याएर बली चढाई मार्न खाजेको आरोपमा पक्राउ परेका उमेश साहले पत्रकारमाझ सार्वजनिक गरेको बेला केही बोल्ने अनुमति मागे।
‘फोटो अहिले नलिनू। म केही कुरा राख्न चाहान्छु,’ आरोपित साहले बुलन्द स्वरमा प्रहरीकै अगाडि भने। त्यसपछि केही बेर धाराप्रवाह रुपमा उनी बोले।
ad
‘हामीलाई बेकसुरमा ल्याएको छ। एउटा फोन टेस्टको भरमा हामीलाई ल्याएको छ। के प्रमाण पायो त?’ उनको प्रश्न थियो।
उनले सञ्चारकर्मी र प्रहरीलाई अर्को गम्भीर आरोपसमेत लगाए। बिनाकसुर आफ्नो इज्जत लुटिएको उनको आरोप थियो। त्यो पीडा उनले प्रहरी र सञ्चारकर्मीकै अगाडि पाखे।
‘पत्रिकामा निकालेछ। हाम्रो पनि इज्जत हुन्छ। यसरी इज्जतसँग खेलबाड गर्नु महापाप हो,’ बिनाकसुर पक्राउ गरेर इज्जतमाथि खेलबाड गरिएको चित्कार उनको थियो।
‘किन लगेको हो? केही पनि थाहा छैन। जबरजस्ती हामीलाई समातेर यहाँ ल्याएछ। पत्रिकामा निकालेछ। कुन मानवताले हामीलाई यसो गरेछ,’ मुखमा मास्क लगाइरहेका उमेशले प्रहरीकै अगाडि आक्रोश पोखे।
त्यसपछि सादा पोशाकका प्रहरी आएर उनलाई नबोल्न भने। तर उनले बोल्न छाडेनन्। आफू निर्दोष भएको दाबी उनले निरन्तर गरिरहे।
‘हामीले मिडियामा यो कुरा फ्ल्यास गर्नैपर्छ। म पनि मिडियाको मान्छे हो के। अपराधी हो भने प्रमाण देखाउन सकोस्। अपराधी प्रमाणित भएको अवस्थामा कानुनको दायरामा रहेर सजाय भोग्न तयार छु,’ आफूलाई लागेको आरोप प्रमाणित गर्न उनले प्रहरीलाई चुनौती दिए। 
त्यसपछि प्रहरीले उनीहरुलाई बोल्नै नदिई हिरासत लग्यो। 'बोल्नै नदिई हस्तक्षेप गर्न पाइँदैन' भन्दै उनले विरोध जनाए। लगाएको मास्क खोलेर भने, ‘अब फोटो खिच्नुस्। मेरो नाम उमेश साह हो।’
एक युवतीलाई मोडल बनाउने भन्दै भारत पुर्‍याएर बली दिन लागिएको आरोपमा पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार सार्वजनिक गर्ने क्रममा उमेश साहले बोलेका शब्द हुन् यी। 
सप्तरीका ४० वर्षीय साहसँगै नवलपरासी कावासोती-१ का २६ वर्षीय कृष्ण तामाङ, सप्तरीकै सप्तकोशी–११ का ३५ वर्षीय उमेश माझी, दाङको घोराही-१० की २४ वर्षीया दिलकुमारी बुढामगर, विराटनगर–८ का दिलिप पोद्दार, धादिङ खनियाबास–२ का २३ वर्षीया प्रेमा तामाङ र सुनसरी गढी नगरपालिका–१ का ३७ वर्षीय रञ्जीतकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो। 
प्रहरीले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार एक जना ६ फिट उचाई भएकी युवतीलाई शुरुमा काठमाडौमा मोडलिङ सिकाउने र त्यसका लागि अनिवार्य ६ फिट उचाई हुनुपर्ने सर्त थियो। यिनै सर्त देखाउँदै अहिले पक्राउ परेकी प्रेममायाले एक युवतीलाई यसको अवसरको बारेमा बताएकी थिइन्।
‘मोडलिङ गरेपश्चात् राम्रो रकम पाउने प्रलोभनमा परी पीडित युवतीले प्रस्ताव स्वीकार गरेको देखिन्छ,’ पत्रकार सम्मेलनमा एसपी अशोक सिंहले बताए। प्रहरीका अनुसार प्रेममायाले पीडित युवतीको ६ फिट उचाई नापी त्यसको भिडियो विराटनगरमा उमेश शाहलाई पठाएकी थिइन्।
उमेशले स्वीकृत गरेपछि ती युवतीलाई विराटनगर लैजाने योजना थियो। युवतीलाई महिनावारी भए/नभएको, घाउ/चोटपटक, अप्रेसन गरे नगरेको सोधपुछ भएपछि युवतीका परिवारले शंका लागेर परिसरमा पुस ४ गते उजुरी दिएका थिए। परिसरबाट खटिएको प्रहरी टोलीले युवतीको पिछा गर्दै विराटनगरसम्म पुगेर घटनाको अनुसन्धान गरेको प्रहरीले जनाएको छ। 
ती युवतीलाई कृष्ण तामाङले काठमाडौबाट विराटनगर जान पुस ६ गतेको हवाई टिकट काटिदिएका थिए। उनले २६ हजार रुपैयाँसमेत ती युवतीलाई पठाएको देखिएको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। निर्धारित टिकटमा युवती विराटनगर जान सम्भव नभएपछि बुद्ध एयरको फ्लाईटबाट दिल कुमारी बुढाको साथमा ती युवती पुस ७ गते विराटनगर पुगेकी थिइन्। 
विराटनगर विमानस्थलमा कृष्ण तामाङ र उमेश साहले ती युवतीलाई भेटी भ्यानमा राखेर रामजानकी मन्दिरको खाजाघरमा लगेर राखेको प्रहरीको दाबी छ। त्यसपछि विराटनगर जलजलाचोकस्थित कालीमन्दिरको धर्मशालाको कोठा नम्बर २०५ र ६ बुक गरी पीडित युवतीको पुनः उचाईलगायत महिनावारी भए/नभएको, घाउ/चोटपटक, अप्रेसन गरे/नगरेको जाँच गरिएको थियो। 
त्यसपछि केही समयमा आउने गरी कृष्ण र उमेश बाहिर निस्किएका थिए। उनीहरु युवतीलाई तान्त्रिक पूजाका लागि बोर्डर पारी लगी पूजा गराउने भनी उमेश माझी, रञ्जीतकुमार चौधरी, दिलिप पोद्दारले छलफल गरेको प्रहरीले जनाएको छ। पूजाका सामाग्रीसहित पीडित युवतीलाई मोडलिङको लागि आवश्यक सामान कपडा किनाउने बहानामा भारतको जोगवनी हुँदै पारी लैजाने योजना बन्दै थियो। सोही अवस्थामा विराटनगर फुलचोक बुढीगंगा–१ बाट घटनामा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको जानकारी प्रहरीले दिएको छ। 
घटनामा संलग्न भएको आरोपमा प्रेममाया तामाङलाई भने सितापाइलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूले मोटो आर्थिक रकम पाउने आशमा ६ फिट उचाई भएको युवतीलाई विराटनगर हुँदै तान्त्रिक पूजाका लागि बोर्डर पार गराउने योजना बनाएको देखिएको प्रहरीले दाबी गरेको छ। 
घटनाका मुख्य योजनाकार दिलिप पोद्दारलाई भारत विहारको मन्दिरको बाबालगायत अन्य व्यक्तिहरुले पैसा दिई सम्पर्क गरेको देखिएको प्रहरीले जनाएको छ। प्रेमा र कृष्णले ५ लाख पाउने आश्वासन पाएको र अन्य व्यक्तिहरुले पनि ठूलो रकम पाउने लोभमा युवतीलाई बलीका लागि भारत लैजाने योजना बनाएको प्रहरीले पत्रकार सम्मलेनमा जानकारी दिएको थियो।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। तर पक्राउ परेकामध्ये उमेश साहले भने आफू निर्दोष रहेको दाबी गरेका छन्। प्रहरीले भने उनी घटनामा प्रत्यक्ष संलग्न रहेको देखिएकाले नै पक्राउ गरिएको जनाएको छ।
पक्राउ परेका साहको भनाइ भिडियोमा हेर्नुहोस्

पैसा निकाल्नुअघि खाताधनीलाई गिरोहको फोन- बैंकबाट बोलेको, मोबाइल अफ गर्नू, रकम ह्याक हुन सक्छ

नारायण अधिकारी |  २०७६ मङ्सिर ११ बुधबार | Wednesday, November 27, 2019  १५:५२:०० मा प्रकाशित


काठमाडौं- ‘म जनता बैंकबाट बोलेको हो। तपाईंको खातामा ठूलै रकम छ। पछिल्लो समय ह्याकरले नयाँनयाँ तरिका अपनाएर ह्याक गर्दै पैसा निकाल्दै लैजाने गरेका छन्। ह्याक हुनबाट बच्न ४/५ घन्टा मोबाइल अफ गर्नुहोस्।’ 
नेपाली भाषा सामान्य लेखपढ मात्र गर्न जान्ने र हाल कन्ट्रक्सन कम्पनीमा काम गर्दै आएका गोपालमान राजवाहकलाई मंसिर ८ गते दिउँसो अपरिचित मोबाइल नम्बरबाट फोन फोनमा भनिएको वाक्य हो यो। 
बैंकबाट यस्तो सूचना आएपछि राजवाहकले तुरुन्तै मोबाइल स्विच अफ गरे। आफ्नो मोबाइल अफ गर्नु भनेको ढोकामा बलियो ताला लगाएजस्तो भान भयो उनलाई। यस विषयमा उनी कतै सोधीखोजी गर्नेतर्फ लागेनन्।

बैंक कर्मचारीले भनेझैं करिब ५ घन्टा अफ गरेपछि उनले राति साढे ८ बजे मोबाइल अन गरे। मोबाइल अन भएसँगै टुट् टुट्... गर्दै म्यासेज आएको संकेत आयो। 
राजवाहक सामान्य नागरिक हुन्। आफ्नो हस्ताक्षर मात्र गर्न जान्ने उनको मोबाइलमा आएको म्यासेज पढ्न आउने कुरै भएन। उनले तत्कालै यो कस्तो म्यासेज हो भन्दै साथीलाई देखाए।
‘पटकपटक गरेर तपाईंको बैंक खाताबाट १९ लाख ९९ हजार निकालेको छ भनेर बैंकले पठाएको हो’ साथीको मुखबाट यो जानकारी पाएपछि राजवाहक छक्क र निराश भए।
सुरुमा उनलाई पत्यार नलागे पनि कुरा सत्य थियो। प्रहरीलाई जानकारी गराउनुबाहेक उनीसँग उपाय थिएन।
ग्वोर्कोमा चेक बन्यो, बानेश्वरबाट २० लाख निकालियो
काभ्रे पाँचखाल नगरपालिका–३ घर भएका १९ वर्षीय सुभाष श्रेष्ठ, सोही ठाउँकै १८ वर्षीय मनिष श्रेष्ठ र २१ वर्षीय अन्जन बराल कालीमाटीमा कोठा भाडामा लिएरसँगै बस्दै आएका थिए। 
उनीहरु मंसिर ८ गते  दिउँसो २ बजे ग्वार्कोमा रहेको जनता बैंकको शाखा कार्यालयमा पुगे। राजवाहकको नागरिकताको फोटोकपीसहित पुगेका उनीहरुले आफू राजवाहक भएको बताए। 
चेक हराएकाले बनाउनु पर्ने भन्दै उनीहरुले फारम भरे। प्रशासनले फारम स्वीकृत गर्‍यो। एक थान चेकबुक लिएर उनीहरु तीनजना त्यहाँबाट बाहिरिए। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी बैंकतर्फ पनि शंकाको सुई तेर्स्यायाउँदै भन्छन्, ‘तर प्रशासनले चेक लिने बेला सम्बन्धित व्यक्ति राजवाहक नै हो/होइन, विचार नै गरेन। मात्रै चेक दिने काम गर्‍यो।’ 
त्यसपछि सोही शाखा कार्यालयमा चेक साट्दा शंका हुने भएपछि उनीहरू नयाँ बानेश्वरस्थित जनता बैंकको शाखा कार्यालयमा पुगेका थिए। यो त भयो प्रहरीको बैंकका कर्मचारीप्रतिको आशंका। अब पुनः लागौं गिरोहले नै गरेका कामतर्फ।  
जनता बैंकको ग्वार्को शाखाबाट चेक निकालेको सो गिरोहले बानेश्वरबाट करिब दिउँसो साढे ३ बजे ९ लाख ९९ हजार रुपैयाँ निकाल्यो। त्यसपछि उनीहरूले एकै ठाउँबाट थप रकम पनि निकाल्दा शंका हुने भएको विचार गरी न्यूरोड शाखाबाट रकम निकालेको परिसरका डिएसपी होबिन्द्र बोगटी बताउँछन्। 
न्युरोड शाखामा दिउँसोको काउन्टर बन्द भइसकेको थियो। तर गिरोहलाई बाँकी रकम निकाल्नु नै थियो। त्यसपछि इभिनिङ काउन्टर न्यूरोडमा खुल्ने जानकारी पाएपछि उनीहरुले न्यूरोड काउन्टरबाट ५/५ लाख गरी १० लाख निकाले। यसअघि नै निकालेको ९ लाख ९९ हजार र न्यूरोडबाट निकालेको १० लाख गरी १९ लाख ९९ हजार करिब तीन घन्टाको अन्तरमा निकालेका थिए। 
उनीहरुले चेक हरायो र आफू राजवाहक नै भएको बताएर चेकबुक मात्रै लिएनन्। नक्कली हस्ताक्षर गरेर उनको खातामा रहेको १९ लाख ९९ हजार समेत निकाल्न भ्याएका थिए। 
यसरी रकम निकाल्ने योजना बनाएका उनीहरुमध्ये अन्जनले नै राजवाहकलाई फोन गरेका थिए। 'बैंकको कर्मचारी बोलेको' भन्दै उनले राजवाहकलाई मोबाइल अफ गर्न लगाएका थिए। मोबाइल अफ गरेपछि पैसा निकालेको जानकारी राजवाहकले तुरुन्त थाहा नपाउन् र आफूहरु भाग्न सकियोस् भन्ने उनीहरुको उद्देश्य थियो।
रकम निकाल्न लाग्दा पक्राउ परे २ 
राति साढे ८ बजे ठूलो मात्रामा आफ्नो खातामा रहेको रकम निकालेको थाहा पाएपछि राजवाहकले तत्कालै प्रहरीलाई खबर गरेका थिए। 
त्यसपछि प्रहरीले राष्ट्र बैंकका कर्मचारी र  जनता बैंकको सिइओ पर्शुराम कुँवर क्षेत्रीलाई सम्पर्क गर्‍यो। लगत्तै राष्ट्र बैंक र जनता बैंकको आइटीसहितको टोली राती नै टेकु पुगेको थियो। आइटी विज्ञ टोलीले राजवाहकको पहिलाको चेकभन्दा पनि भर्खरै निकालेको नयाँ चेकबाट रकम निकालेको पाइएको जानकारी प्रहरीलाई दियो। उता राजवाहको खातामा अझै ५ लाख रुपैयाँ भने बाँकी नै थियो। 
‘५ लाख रुपैयाँ राजवाहकको खातामा अझै छ। भोलि पक्कै निकाल्न आउन सक्छन् भनेपछि सोही अनुसार हामीले तयारी गर्‍यौं’ डिएसपी बोगटीले भने।
जनता बैंकका सबै काउन्टरलाई पनि यसबारे जानकारी गराइयो। र राजवाहकको नाममो चेक लिएर कोही व्यक्ति बैंकमा आए प्रहरीलाई खबर गर्न भनिएको थियो।
सँगै सादा पोशाकमा पनि बैंक काउन्टरमा प्रहरी खटाइएको थियो। नभन्दै भोलिपल्ट ९ गते बिहान साढे १० बजेतिर न्यूरोडस्थित जनता बैंकको काउन्टरमा १ लाख ७० हजार रकम लेखिएको राजवाहकको नाममा रहेको चेक लिएर एक युवक पुगे।
उनी थिए, सुभाष श्रेष्ठ। उनलाई प्रहरीले बैंक काउन्टरबाटै नियन्त्रण लियो। त्यसको केही समयमै सोही काउन्टरमा १ लाख ७० हजार रकम नै उल्लेख गरिएको अर्को चेक लिएर पुगेका मनिष घिमिरे पनि पक्राउ परे।
पक्राउ परेका घिमिरे र श्रेष्ठलाई प्रहरीले बानेश्वरबाट रकम निकालेर लैजाने अर्का व्यक्ति अन्जनलाई फोन गरेर बोलाउन लगाए। ‘रकम निकालियो, लिन आइज’ भनेर घिमिरे र श्रेष्ठले अन्जनलाई बोलाएपछि उनी दौडिँदै न्यूरोड पुगेका थिए। सोही बेला उनलाई पनि पक्राउ गरिएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए।  
उनीहरुसँगै प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा काभ्रे पाँचखाल नगरपालिका-३ घर भई कालीमाटी बस्ने १९ वर्षीय कुमार तामाङ, बाग्लुङको गलकोट नगरपालिका-३ घर भई बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोकको साविक ज्यामिरे गाविस-९ घर भई सुविधानगर बस्ने ३० वर्षीय गोविन्द घिमिरे पनि पक्राउ परेका छन्।
बैंक स्टेटमेन्टदेखि सयौं व्यक्तिका नागरिकता र २ बोरा कागजात बरामद 
अन्जनलाई पक्राउ गरेपछि प्रहरीले उनको कालीमाटीस्थित कोठामा समेत छापा मारेको थियो। सोही क्रममा ठूलो मात्रामा ठगी गर्नकै लागि प्रयोग गरिने सामानहरु प्रहरीले बरामद गरेको छ। 
विभिन्न व्यक्तिको २ सय ९० थान नागरिकताको फोटोकपी, विभिन्न व्यक्तिहरूको नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ थान, विभिन्न प्रकार हस्ताक्षर नमूना र व्यक्तिको नाम उल्लेख गरिएको २ थान डायरी, विभिन्न व्यक्तिको खाता खोल्न फोटो टाँसेको तयारी फाराम ३ सय थान, १ सय ९५ जनाको विभिन्न व्यक्तिको बैंक स्टेटमेन्ट बरामद गरेको छ। 
त्यस्तै जनता बैक लिमिटेडबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक १ थान, र काटिएको अवस्थाको चेकबुक ४१ थान, ज्योति विकास बैंक लिमिटेडबाट अन्जन बरालका नाममा जारी भएको र काटिएको अवस्थाको चेकबुक १ थान, एभरेष्ट बैंकको विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक २० थान र काटिएको अवस्थाको चेकबुक ३ थान बरामद भएको प्रहरीले जनाएको छ।  
त्यस्तै, माछापुच्छ्रे बैंकबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएका तर नकाटिएका चेकबुक १७ थान, काटिएको अवस्थाको चेकबुक २ थान, मुक्तिनाथ विकास बैंकबाट विभिन्न व्यक्तिहरूका नाममा जारी भई काटिएका चेकबुक ४१ थान र नकाटिएको चेकबुक १ थान बरामद भएका छन्। 
एनआइसी एसिया बैंकका चेक ६८ थान, विभिन्न व्यक्तिहरुको फोटो ८ सय २५ थान, एनआइसी एसियाको एटिएम ८२ थान, अन्य बैंकको एटिएम ७ थान, विभिन्न बैंकका हस्ताक्षर गरिएका चेक ३ सय २९ थान बरामद भएको छ। त्यसैगरी बैंकसँग सम्बन्धित अन्य कागजात २ बोरा बरामद गरिएको एसएसपी सुवेदीले जानकारी दिए।
बैंककै कर्मचारीको मिलेमतोको आशंका 
पक्राउ परेका व्यक्ति बाहेक यस घटनामा बैंककै कर्मचारीको समेत मिलेमतो हुने ठाउँ देखिएको प्रहरीले आशंका गरेको छ। कसको खातामा कति रकम छ भन्ने जानकारी उनीहरुले कसरी पाए? उनीहरुको हस्ताक्षर, नागरिकताको फोटाकपीसमेत उनीहरुले पाएकाले यी सबै डकुमेन्ट बैंकबाटै बाहिरिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। 
कर्मचारीको मिलेमतो बिना कसको हस्ताक्षर कस्तो छ कसरी जानकारी हुन्छ? फोटो कहाँबाट उपलब्ध हुन्छ?’ डिएसपी बोगटी भन्छन्, ‘हस्ताक्षर नक्कल गर्न बैंकको खातामा रहेको रेकर्ड फाइलको फोटो नै खिचेर ल्याउने गरेकोसम्म पाइएको छ। यसले बैंकतर्फ पनि शंका गर्ने ठाउँ देखाएको छ। अपरिचत व्यक्तिको बैंक स्टेटमेन्टसमेत थाहा पाउनुले कर्मचारीको मिलेमतोको आशंका गर्न सकिने ठाउँ छन्। यस सम्बन्धमा अनुसन्धान जारी छ तर निर्क्यौलमा पुग्न थप समय लाग्छ।'
यसरी नक्कली हस्ताक्षर गरेर उनीहरुले खातावालालाई जानकारी नै नदिई चेक र एटिएम कार्डसमेत बनाउँदै रकम निकाल्न सफल भएको पाइएको छ। यसमा बैंकको गम्भीर लापरबाही देखिएको प्रहरी अनुसन्धानले देखाइएको छ। जसकारण बैंक र कर्मचारीमाथि समेत अनुसन्धान हुने प्रहरीले जनाएको छ। 
हस्ताक्षर गरेर रकम निकाल्ने मात्रै होइन, उनीहरुले अपरिचित व्यक्तिको नागरिकताको फोटोकपी र फोटोसमेत संकलन गरेर अपरिचित व्यक्तिकै नाममा खातासमेत खोल्ने गरेको पाइएको प्रहरी अनुसन्धानबाट देखिएको छ। यसरी खाता खोल्नुको पछाडि धेरै वटा खातामा रकम लुकाउन, धेरै खाताबाट शेयर भर्ने उद्देश्य देखिएको प्रहरीले जनाएको छ। कोही व्यक्तिसँग आर्थिक कारोबार गर्दा यस्तै अपरिचत व्यक्तिको नाममा खोलिएको खाताको चेक काटेर दिने र भोलि बाउन्स भएको अवस्थामा आफू नफस्नसमेत उनीहरुले यसरी खाता खालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

गौर नरसंहार : खोलिएला १३ वर्षदेखि थन्किएको फाइल?

किशोर दहाल/नारायण अधिकारी |  २०७६ मङ्सिर १३ शुक्रबार | Friday, November 29, 2019  १२:५२:०० मा प्रकाशित

काठमाडौं- 'जुन तरिकाले पासविक हत्या भएको छ, त्यो अपराध गर्ने र गराउनेहरु संसारकै आम नरसंहारक भन्दा कम अपराधी होइनन्। तिनलाई कानुन बमोजिम कारबाही गर्न सकिएन भने यो देशको सुरक्षा व्यवस्था र कानुन मर्‍याे भनेर सदगत गरिदिए हुन्छ।'
अनौपचारिक सेवा केन्द्र (इन्सेक)का तत्कालीन अध्यक्ष सुबोधराज प्याकुरेलले दिएको अभिव्यक्ति हो यो। २०६३ चैत ७ को गौर घटनापछि इन्सेकले तयार पारेको स्थलगत अध्ययन प्रतिवेदनमा प्याकुरेलले 'गौर घटनाले पढाएको पाठ' शीर्षकमा भूमिका लेखेका छन्।
गौर घटना त्यही हो, जहाँ २७ जनाको हत्या भएको थियो। तत्कालीन नेकपा माओवादी र मधेसी जनअधिकार फोरम (दुवै पार्टीका मुख्य नेतृत्व अहिले क्रमशः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीमा छन्)का कार्यकर्ताबीच एउटै स्थानमा कार्यक्रम गर्ने हठले सो घटना निम्त्याएको थियो। जहाँ माओवादीका २७ जनाको हत्या भएको थियो।

'मृतकहरु सबैको टाउकोमा गहिरो चोट देखिन्थ्यो', इन्सेक प्रतिवेदनमा भनिएको छ, 'उनीहरुलाई बाँसको भाटा, ढुंगा र इँटा प्रहार गरिनुका साथै आगोसमेत लगाइएको थियो।'
केही महिलालाई नाङ्गै पारेर बलात्कार गरिएको थियो। यस्तै यौन अंगमा उखुको डाँठ घोचेर यातना दिइएको, स्तन काटिएको र हत्या गरिएको प्रत्यक्षदर्शीहरुले बताएका थिए। कतिपयलाई स्थानीय बौधीदेवीको मन्दिरमा रगतको भोग दिइएको थियो। 
गौर अस्पतालले भने लास खोलेर परीक्षण नगरेको र बाहिरबाट मात्रै हेरी शव परीक्षण प्रतिवेदन फारम भरेका कारण महिलामाथि भएका भनिएका बलात्कार वा अन्य यौनजन्य हिंसाको भने औपचारिक पुष्टि भएको छैन। तर इन्सेक प्रतिनिधिसँग मृतक रेखा परियारका परिवारले भनेका छन्, 'उनको लास क्षतविक्षत थियो। चिन्न सकिने अवस्था थिएन। देब्रे स्तन काटिएर छुट्टिन मात्रै बाँकी अवस्थामा थियो।'
विभत्स र सामूहिक नरसंहार भएको १३ वर्षमा देशमा ११ वटा सरकार फेरिए, ९ जना प्रधानमन्त्री भए। नयाँ संविधान बन्यो। तर, प्याकुरेलले भनेजस्तो न अपराधीलाई कारबाही भयो, न देशको सुरक्षा व्यवस्था र कानुनको सदगत गरियो।
दम्भले निम्त्याएको घटना
गौरस्थित राइस मिल्स चाैरमा फोरमले २०६३ चैत ७ गतेका लागि आमसभा आयोजना गरेको थियो। फोरमको जिल्ला कमिटीले आयोजना गरेको सो आमसभाका लागि उसले केही दिन अघिदेखि नै प्रचार पनि गरिरहेको थियो। सो स्थानमा कार्यक्रम जुधाएको थियो, माओवादीले। पार्टी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले त्यहाँ कार्यक्रम गर्ने भन्दै अघिल्लो दिन मात्रै प्रचार गरेको थियो। कार्यक्रमका लागि चाैरमा दुवैले १०० मिटरको दूरीमा मञ्च पनि बनाएका थिए।
दुवै दलको मनोबल उच्च रहेको अवस्थामा कार्यक्रम स्थलमा झडप हुनसक्ने अनुमान धेरैको थियो। यद्यपि, ७ गतेको सुरुवात भयपूर्ण भने थिएन। बिहान ११ बजेदेखि नै फोरमको जुलुसले नगर परिक्रमा गरिरहेको थियो। फोरमको कार्यक्रममा सहभागी हुन गाउँगाउँबाट मानिसहरु आएका थिए। पौने २ बजे माओवादीको जुलुस सुरु भयो। कार्यक्रमका लागि उसले विभिन्न जिल्लाबाट ट्रकमा वाइसिएल कार्यकर्ता ल्याएको थियो। दुवैको जुलुस जम्काभेट हुँदा एकअर्कालाई ताली बजाएर स्वागत गरेका थिए।
तर, अवस्था सौहार्दपूर्ण रहिरहन सकेन। माओवादी जुलुस गरिरहेकै समयमा यता फोरमको कार्यक्रम सुरु भयो। फोरमका केही कार्यकर्ताले माओवादीको मञ्च भत्काइदिए। माओवादी कार्यकर्ताले सहने कुरै भएन। केही बेरमै उनीहरु पनि फोरमको मञ्चमाथि जाइलागे। तोडफोड गर्न थाले। हानाहान भयाे।
जे नहुनु थियो, त्यहीं भयो।
कार्यक्रम स्थलमा गोलीका आवाज सुनिए। भागाभाग मच्चियो। कार्यक्रमस्थल एकै छिनमा रणभूमिका परिणत भयो। पछि त्यहीं ६ जनाको लास भेटिएको थियो। त्यस्तै, गौर नगरपालिका क्षेत्रभन्दा बाहिर हजमुनिया गाविसमा ११, मुडवलवा गाविस जाने बाटोमा २ जना, लक्ष्मीपुर बेलविछुवा गाविसमा २ जना तथा उपचारको क्रममा गौर अस्पतालमा ४ जना र भरतपुर लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भयो। कूल २७ जनामा ५ महिला र २२ पुरुषको मृत्यु भएको थियो।
घटनास्थलबाट भागेका माओवादी कार्यकर्तालाई फोरम पक्षले नियन्त्रणमा लिँदै बर्बरतापूर्वक हत्या गर्ने श्रृंखला चलाए। आक्रमणकारीसँग राइफल, भाटा र लाठी थिए भन्ने धेरै घाइतेहरुले आफ्नो भनाइमा व्यक्त गरेका छन्।
माओवादी कार्यकर्ताहरु अन्य जिल्लाबाट आएको हुनाले घटनास्थलबाट भागे पनि उनीहरुलाई भूगोलको राम्रो ज्ञान थिएन। त्यसैले उनीहरु सहजै फोरम पक्षको कब्जामा परे। मकवानपुरतिरका केही वाइसिएल कार्यकर्तालाई त वीरगञ्ज लैजाने भनी झुक्याएर गौर पुर्यारइएको थियो।
राजनीतिक दायरा
घटनापछि यसमा संलग्न शक्तिहरुको विषयमा व्यापक तर्क गरिएको थियो। धेरैले यस घटनाको छानबिन र संयमतामा जोड दिए।
'यो अत्यन्त ठूलो र हिंस्रक घटना हो, आपराधिक घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध छ, 'गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको थियो।
त्यस्तै, त्यतिबेला गठबन्धनमा रहेका आठ दलले छानबिन गरी यथार्थ विवरण अगाडि ल्याई दोषीउपर कडा कारबाही गर्न माग गरे। 'घटनाप्रति बैठक गम्भीर चिन्ता व्यक्त गर्दछ,' त्यतिबेला बसेको आठ दलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको थियो, 'घटनाको छानबिन गरी यथार्थ विवरण अगाडि ल्याई दोषीउपर कडा कारबाही गर्न र घाइतेको उपचारको व्यवस्था होस्।'
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो प्रकरणमा दरबारिया प्रतिगामी तत्वहरु, भारतीय अति हिन्दूवादी-विस्तारवादी र शान्तिविरोधी विदेशी प्रतिगामी शक्तिहरुको साँठगाँठ षड्यन्त्रबाट भएको यथार्थतामा कुनै शंका नभएको बताए।
चैत ८ गते उनले विज्ञप्ति जारी गर्दै फोरमलाई प्रतिबन्ध लगाउन समेत माग गरे। 'दरबारिया प्रतिगामी शक्तिहरुमाथि कडाभन्दा कडा कार्यवाही गर्नुका साथै दरबारिया र भारतीय हिन्दू अतिवादी तत्वहरुले खडा गरेको मधेसी जनअधिकार फोरम नामक राष्ट्रिय सार्वभौमसत्तामाथि खलल पुर्‍याउने आपराधिक गिरोहमाथि तुरुन्त प्रतिबन्ध लगाई अपराधीहरुमाथि कडाभन्दा कडा कारबाही गरिनुपर्छ', उनको विज्ञप्तिमा भनिएको छ।
फोरम भने लामो समयसम्म मौन रह्यो। उसका स्थानीय नेता तथा कार्यकर्ताहरु जिल्ला बाहिर बसे। चैत १० गते फोरम जिल्ला अध्यक्ष अमर राय यादवले विज्ञप्ति जारी गर्दै माओवादी अध्यक्ष प्रचण्डको प्रत्यक्ष इसारामा घटना भएको बताए। उपेन्द्र यादवले पनि एक हप्तापछि वक्तव्य जारी गर्दै प्रचण्ड र गृहमन्त्री कृष्णप्रसाद सिटौलाले घटनाको जिम्मेवारी लिनुपर्ने बताए।
शान्ति प्रक्रिया भर्खरै सुरु भएको तरल अवस्थामा घटनाको छानबिन हुनसक्ने अवस्था थिएन। भएन पनि। कारबाही पनि परको कुरा। शोकलाई शक्तिमा बदल्ने बताएको माओवादीले पनि घटनामाथि छानबिनका लागि दबाब दिएन। ऊ आफैं पनि युद्ध गरेर आएको र कैयौं नेतालाई उस्तै खालको मुद्दा पनि रहेकाले ऊ मौन बस्यो। बरु पहिलो संविधानसभापछि पहिलो ठूलो दल बनेको माओवादीले फोरमलाई समेत सहयात्री बनाएर सरकार चलायाे। त्यसपछि पनि दुई पक्षको खासै दूरी बढेको छैन। अहिले पनि दुवै पक्ष एउटै सरकारमा सहभागी छन्।
अमर राय यादव पनि नेकपा नै प्रवेश गरिसकेका छन्। उनलाई गत वैशाख १७ गते प्रचण्डले नै अबिर लगाएर नेकपामा मिलाए। फोरम छाडेर उनले गठन गरेको पार्टी मधेश तराई पार्टी नै नेकपामा मिसिएकाे हाे। रोचक त के छ भने, घटनाका बेला माओवादीका रौतहट इन्चार्ज रहेका प्रभु साहले नै उनलाई नेकपा भित्र्याउन पहल गरेको उनी निकट नेताहरु बताउँछन्।
पुनः स्मरण
संविधानसभाको पहिलो चुनावअघिको एक घटनामा संलग्नको आरोपमा कांग्रेस सांसद मोहम्मद आफताव आलम पक्राउ परेपछि राजनीतिका नाममा भएका सामूहिक हत्याका घटनाहरु चर्चामा आउन थालेका हुन्। त्यतिबेला चुनावमा आफू अनुकूलको परिस्थिति बनाउन आलमको समूहले बम बनाउँदै गरेको अवस्थामा विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर मारेको अभियोग उनीमाथि छ। उनलाई गत असोज २६ गते रौतहटबाट प्रहरीले पक्राउ गरेको थियो। हाल उनी पुर्पक्षका लागि थुनामा छन्।
यसैबीच, गौरलाई नै लक्षित गरेर अभिव्यक्ति दिएका थिए, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले। उनले कात्तिक ८ गते विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गौर घटनाको पनि छानबिन हुने बताएका थिए।
केही दिनअघि गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा उपेन्द्र यादवको मन्त्रालय उनको जानकारीविना नै हेरफेर गरिएको थियो। पार्टीका तर्फबाट मन्त्री भएका तीनमध्ये एकलाई पदमुक्त गरिएको थियो। उनी सरकारबाट बाहिरिएलान् भन्ने धेरैको अनुमान विपरीत उनले फेरिएको मन्त्रालयमै जिम्मेवारी सुरु गरे। यसका धेरै कारण विश्लेषण भएका छन्। त्यसैमध्येको एक हो, गौर घटना। मन्त्री पोखरेलको अभिव्यक्ति पनि यहीँ जोडिन्छ।
यादवले सरकार छाडे गौर घटनामाथि छानबिन हुनसक्ने र उनलाई पनि जोड्न सकिने भएकाले त्यसबाट बच्न यादवले सरकारमा निरन्तरता दिएको हुनसक्ने धेरैको अनुमान छ। शक्तिशाली सभामुखसमेत कानुनी दायरामा आएको, १२ वर्षपछि आलम पक्राउ परेकाे जस्ता पृष्ठभूमिमा यादवमाथि छानबिन नहोला भनेर वेवास्ता गर्न सक्ने अवस्था अहिले छैन।
होला छानबिन?
आलममाथि छानबिन भएर पुर्पक्षका लागि जेल गइसकेपछि यस घटनामाथि पनि छानबिन हुनसक्ने केही संकेतहरु देखिएका छन्। गौर नरसंहारमा संलग्न भएको आरोपमा करिब ३ सय जना विरुद्ध जाहेरी समेत परेको थियो।
जाहेरी अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमै थन्किएको छ। १३ वर्षसम्म थन्किएको उक्त फाइल खोतल्नुपर्ने अपराध अनुसन्धान विज्ञ पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्।
यो घटनामालाई द्वन्द्वकालसँग जोडेर हेर्न नमिल्ने भएकाले प्रहरीले गहन अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने मल्लको भनाइ छ।
यही घटनाबाट फोरमले आफ्नो अस्तित्व कायम गर्न सफल भएको थियो। यसलाई राजनीतिको अपराधीकरण घटनाको रुपमा सुरक्षा मामलाका जानकारहरुले लिँदै आएका छन्।
पीडितका आफन्त, प्रत्यक्षदर्शी, त्यसबेला छानबिन गरेका मानव अधिकार सम्बद्ध विभिन्न संघसंस्था, प्रशासनलगायत यस घटनाका बलिया प्रमाण बन्न सक्छन्। जसका कारण आलम घटनामा भन्दा यस घटनामा प्रहरी अनुसन्धान सहज हुनसक्ने सुरक्षा विज्ञ बताउँछन्।
पीडितले न्याय पाउन र दण्डहिनताको अन्त्यका लागि पनि यस्ता घटनाको छानबिन हुन जरुरी रहेको पूर्व डिआइजी मल्ल बताउँछन्।
आलमले गरेको हत्याको सफल अनुसन्धान गरेका एसपी भुपेन्द्र खत्रीकै जिल्लामा भएको चर्चित गौर हत्याको फाइल खोतल्ने जिम्मा अहिले उनकै काँधमा छ।
उक्त हत्याको अनुसन्धान सफल भएपछि गौर हत्याका जाहेरवाला मध्येका एक त्रिभुवन साह समेतले यस घटनामा अब अनुसन्धान हुने आशा पलाएको बताएका छन्।
इँटा भट्टामा मान्छे पोलेर मारेको घटनाको १२ वर्षपछि सफल अनुसन्धान गरेका एसपी खत्रीले घुमाउरो पारामा गौर नरसंहारको पनि अनुसन्धान हुने संकेत गरेका छन्। उनले भने, 'कानुन विपरीत भएका सबै घटनाको अनुसन्धान गर्छौं।

सुरक्षा-अपराधको २४ घन्टे ग्राफ : यसरी चल्छ दैनिक पुलिसिङ

 

 नारायण अधिकारी |  २०७६ मङ्सिर १५ आइतबार | Sunday, December 01, 2019  ११:४४:०० मा प्रकाशित
काठमाडौं- गत वर्षको साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। हत्या घटनाको सुरुवाती अनुसन्धान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ग¥यो। 
बलात्कार र हत्या जस्तो जघन्य अपराध हुँदा पनि अभियुक्तको पहिचान हुन नसकेपछि प्रहरी महानिरीक्षक मातहतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली घटनास्थल पुगेर अनुसन्धान ग¥यो।
सिआइबी नेपाल प्रहरीको अपराध अनुसन्धानको सर्वोच्च निकाय हो। सिआइबीले अनुसन्धान थालेको २४ दिनमै अभियुक्तको पहिचान गरेर सार्वजनिक ग¥यो। तर डिएनए नमिलेपछि अभियुक्त हिरासत मुक्त भए। 

त्यसपछि दिनदेखि अहिलेसम्म पनि सिआइबी, विशेष ब्यूरो, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेका छन्।
पत्ता लाग्न नसकेका यस्ता पुराना घटनामा पनि प्रहरीका केही टोलीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेका हुन्छन्।
अझ जिल्लाको कमान्ड सम्हालेर पुगेका हरेकजसो नयाँ प्रहरी प्रमुखले पुराना घटनाको फाइल खोतल्दै आउने गरेका छन्। यसको पछिल्लो उदाहरण हो, रौतहटका निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलम।
अनुसन्धान उधिनिरहेको नेपाल प्रहरीले अन्नतः यो घटनामा १२ वर्षपछि सफलता पायो। आलम जस्ता पुराना घटना काँडो बनेर नेपाल प्रहरीको घाँटीमा झुन्डिएका छन्।
यस्तै जटिल पुराना जघन्य अपराध र दैनिक भइरहेका अन्य अपराधका घटनाको अनुसन्धान गर्न प्रहरीबाट दैनिक रुपमा ठूलो जनशक्ति खटिँदै आएको छ।  
‘वस्तुनिष्ठ अपराध अनुसन्धान, मानव अधिकारको सम्मान’ भन्ने मूल नारा बोकेको प्रहरी प्रधान कार्यालय मातहतको कार्य तथा अपराध अनुसन्धान विभाग मातहत यसरी दैनिक देशभर १६ सय २० जना प्रहरी अधिकारी खटिँदै आएको प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पाखरेल बताउँछन्।
चोरी, डकैती, हिंसा, बलात्कार, कर्तव्य ज्यान, ठगी, संगठित अपराध, आर्थिक अपराध, वन्यजन्तुसम्बन्धी अपराध लगायतका अपराधहरुको अनुसन्धान गरी अभियुक्त पत्ता लगाउन र तिनीहरुलाई कानुनी दायरामा ल्याउन प्रहरीका यी जनशक्ति खटिँदै आएका हुन्।
अपराधीहरुको अपराध गर्ने शैली र सञ्जालको विस्तार तीव्र रुपमा भएका कारण अपराध अनुसन्धानको क्षेत्र चुनौतीपूर्ण बन्दै गएको छ। केही वर्षयताका अपराध घटनालाई विश्लेषण गर्ने हो भने संख्यात्मक रुपमा त अपराध बढेको छ नै, सँगसँगै  अपराधको अनुसन्धानमा विभिन्न जटिलता पनि थपिँदै गएको सिआइबीका डिआइजी निरज शाही बताउँछन्। 
सिआइबीले देशभरमा हुने गरेका ठूला अपराधको अनुसन्धान गर्दै आएको छ। सोही अनुरुप अपराध अनुसन्धानका प्रकृति एवं तरिकालाई पनि परिस्कृत गर्दै लैजानुपर्नेमा सुरक्षा विज्ञहरु बताउँछन्। 
अपराध अनुसन्धानका पुराना शैली र संयन्त्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गरिनुपर्छ भन्ने मान्यताको मूल्यांकन गरेर नै सिआइबीको स्थापना भएको थियो। तर पनि सिआइबीजस्तो अनुसन्धानको सर्वोच्च निकाय अझै पुरानो प्रविधिबाट अनुसन्धान गर्न बाध्य छ। 
त्यस्तै काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लामा हुने गरेका ठूला अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय प्रहरी अपराध महाशाखाबाट पनि दैनिक रुपमा ठूलै जनशक्ति अनुसन्धानमा खटिएको हुन्छ।
७७ वटै जिल्ला प्रहरी कार्यालय र प्रहरीका अन्य कार्यालयबाट समेत गरेर अनुसन्धानमा दैनिक १६ सय २० जना प्रहरी खटिँदै आएका छन्।
यी जनशक्तिहरुले तत्कालै भएका अपराधको अनुसन्धान गरिरहेका हुन्छन्। सँगै वर्षौंसम्म पत्ता लाग्न नसकेका अपराधको पनि अनुसन्धान भइरहेको छ। ‘कुनै अपराध यस्तोसँग भएका हुन्छन्। अपराधीको पहिचान गर्नै प्रहरीले वर्षांैसम्म कुर्नपर्ने हुन्छ,’ प्रवक्ता पोखरेल भन्छन्, ‘नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउनसके यस्ता अपराधको नजिक पुग्न वर्षौं कुर्नुपर्ने अवस्था आउँथेन।’
देशमा व्याप्त सशस्त्र, निशस्त्र वा राजनीतिक समूहहरुको बारेमा सूचना संकलन गरी त्यसको प्रभावकारी मूल्यांकन गरेर भविष्यमा हुनसक्ने खतराको समेत यसले पूर्वानुमान गरी प्रहरी परिचालन गर्ने कार्य गर्छ।
अपराध अनुसन्धान बाहेक शान्ति सुरक्षा, उद्धार, चोरी निकासी पैठारी नियन्त्रण, चेकिङ, पिकेटिङ, सवारी गस्ती, पैदल गस्ती लगायतमा गरेर दैनिक आन्तरिक सुरक्षा व्यवस्थाकै निम्ति नेपाल प्रहरीबाट साढे १६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदै आएका छन्। 
पक्राउ २६३४, दैनिक ११८ मुद्दा दर्ता
विभिन्न अभियोगमा प्रहरीले देशभरबाट दैनिक २ हजार ६ सय ३४ जनालाई पक्राउ गर्छ। अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले अनुसन्धान गर्छ।
चोरी, लागुऔषध, ठगी, बैंकिङ कसुर, वन्यजन्त, कर्तव्य ज्यान, जबरजस्ती करणी, मानव बेचिबिखन, हातहतियार खरखजना, अपरहण विद्युतीय तथा साइबर अपराध लगायतका अपराधको अनुसन्धान गरिसकेपछि अभियोजनकर्ता सरकारी वकिलमार्फत मुद्दा दर्ता गर्छ। जसमा प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार दैनिक १ सय १८ वटा मुद्दा दर्ता हुने गरेका छन्।
कतिपय घटनामा भने पक्राउ परेका व्यक्तिहरु विरुद्ध मुद्दा दर्ता नगरी सरकारी कार्यालयमार्फत नै छाड्नुपर्ने पनि अवस्था आउँछ।
उदाहरणको रुपमा निर्मला पन्त हत्या, बलात्कार घटनामै पक्राउ परेका दिलिपसिंह विष्टलाई अदालत नपु¥याई सरकारी वकिल कार्यालयमार्फत नै छाडिएको थियो।
उता फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशवराज झाको हत्यामा अनुसन्धानमा पक्राउ परेका व्यक्ति जिल्ला प्रशासन कार्यालयमार्फत धरौटीमा रिहा भएका थिए। पछि उनलाई पुनः पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता गरेपछि पुपक्र्षको लागि जेल चलान गरिएको थियो। 
नेपाल प्रहरीको गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी लागुऔषधमा ३ हजार ७ सय ३० वटा मुद्दा दर्ता भएका थिए। पछिल्लो समय नेपालमा औषधिजन्य विभिन्न एम्पुलहरु लागुऔषधको रुपमा देखापर्न थालेका छन्।
त्यसपछि क्रमशः चोरी, सवारी दुर्घटना, बैंकिङ कसुर, जबरजस्ती करणी, हातहतियार खरखजाना, मानव बेचबिखन, अपहरण, विद्युतीय तथा साइबर अपराधका घटनाका बढी मुद्दा दर्ता हुने गरेका छन्।
प्रहरीले यसरी आरोपित बनाएर सरकारी वकिलमार्फत दर्ता गराएका कतिपय मुद्दामा भने आरोपितहरु निर्दोष समेत रहेको पाइन्छ।
यसको उदाहरणको रुपमा यसअगाडि नेपाल लाइभले प्रकाशन गरेको झापाका अर्जुन गोतामेको घटनालाई लिन सकिन्छ। विप्लवको कार्यकर्ता नै नभएका उनलाई प्रहरीले विप्लवको कार्यकर्ता भएको दाबी गर्दै राज्य विप्लवको मुद्दा दर्ता गराएको थियो। भलै निर्दोष देखिएपछि उनी छुटेका थिए। 
अनुसन्धान र मुद्दा दर्ताको क्रममा प्रहरीबाट यस्ता गम्भीर गल्ती पनि हुने गरेका छन्। यसबारे प्रवक्ता पोखरेल भन्छन्, ‘हाम्रो मूल उद्देश्य जतिसक्दो निर्दोष नफसोस् भन्ने नै हो। कहिलेकाहीँ हुने यस्ता मानवीय गल्तीबाट पाठ सिक्दै हामी अगाडि बढिरहेका हुन्छौं।’
प्रहरी सेवामा रहँदा लामो समय अपराध अनुसन्धानमा बिताएका पूर्व डिआइजी हेमन्त मल्ल पनि पोखरेलको भनाइमा सहमति जनाउँदै भन्छन्, ‘गल्ती नहोस्, निर्दोष नफसोस् भन्ने नै हुन्छ। तर कहिलेकाहीँ प्रहरीबाट जानअन्जानमा यस्ता गल्ती हुन्छन्।’
भिआइपीदेखि सर्वसाधारणको सुरक्षासम्म 
प्रहरीको दैनिक पुलिसिङको अर्को महत्वपूर्ण पाटो हो, भिआइपी, भिभिआइपीदेखि सर्वसाधारणको सुरक्षा गर्नु। अपराध नै हुन नदिन प्रहरीले यस प्रकारको सुरक्षा दिने गर्छ। जसमा भिआइपीको कार्यक्रम तथा निवास सुरक्षामा हजार २ सय ५७ जना, पिएसओ १ सय ८९ जना, स्कटिङमा ५ सय ६३ जना र महत्वपूर्ण प्रतिष्ठानको सुरक्षामा २ हजार ३ सय ४४ जना प्रहरी कर्मचारी खटिने गरेका छन्। 
सुरक्षा सेवा निर्देशनालयको मातहतमा भिआइपी, भिभिआइपीहरुको सुरक्षा हुँदै आएको छ। यस निर्देशनालयले विशेषगरी स्वदेशी तथा विदेशी विशिष्ट तथा अति विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था मिलाउने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन, गोष्ठी तथा महोत्सवको सुरक्षा, विशिष्ट व्यक्तिको लागि व्यक्तिगत सुरक्षा अधिकृत खटाउने र त्यस बारेको खबर संकलन गर्ने काम गर्छ। 
यसरी संकलन गरिएको सूचनाको विश्लेषणको आधारमा सुरक्षा व्यवस्था पुनर्मूल्यांकन गर्न सिफारिस समेत गर्ने काम हुन्छ। त्यस्तै दैनिक सवारी गस्ती, पैदल गस्ती, पिकटिङबाट पनि नागरिकलाई प्रहरीले सुरक्षा दिँदै आएको छ।
प्रहरीले हरेक दिन ४ हजार ४ सय ३ जना जनशक्ति सवारी गस्तीमा खटाउने काम गर्छ। यसरी खटाउने सवारी गस्तीको अर्थ अपराध नहोस्, प्रहरीको गतिविधि भइरहेको छ भन्ने जानकारी गराउनु रहेको पूर्वडिआइजी मल्ल बताएउँछ। बर्दीसहितको गस्ती बर्दी सोअप थ्योरीअन्तर्गत गर्छ। प्रहरीको बर्दी देखिएपछि अपराध हुन लागेको छ भने पनि नहोस् भन्ने हो। हरेक दिन सवारी गस्तीले २१ हजार २ सय किलोमिटर क्षेत्रको गस्ती हुने गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यस्तै चेकिङमा हरेक दिन ३ हजार ४२ जना प्रहरी खटिने गर्छन्। उनीहरुले ६ सय २ ठाउँ चेक प्वाइन्ट थापेर चेकिङ गरेका हुन्छन्। 
अर्कोतर्फ सवारीको सुविधा नभएको, गल्ती, भित्री बाटो, एकान्त ठाउँ जस्तोमा पनि प्रहरीले पैदल गस्तीमार्फत सुरक्षा दिँदै आएको हुन्छ। पैदल गस्तीले हरेक दिन ३६ हजार ७ सय ४० क्षेत्रफल कभर गर्न सक्छ।
त्यस्तै ट्राफिक कारबाहीदेखि सञ्चारसम्ममा पनि प्रहरीको ठूलो जनशक्ति दैनिक खटिँदै आएको छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार हरेक दिन ४ हजार ६ सय १९ ट्राफिक कारबाही हुने गरेको छ। सवारी मुद्दा दर्ताको संख्या भने हरेक दिन ७ वटा हुने गर्छ। 
भन्सार चोरी निकासी पैठारी नियन्त्रणको काममा पनि नेपाल प्रहरीले योगदान गर्दै आएको छ। भन्सार चोरी निकासी पैठारी नियन्त्रणबाट हरेक दिन ८ लाख ४३ हजार ७ सय ६२ रुपैयाँ राजस्व संकलने हुने गरेको प्रहरी प्रवक्ता पोखरेल बताउँछन्। 
यी बाहेक कार्यालय सञ्चालन र सञ्चारमा पनि प्रहरीको ठूलो जनशक्ति खटिने गर्छ। कही घटना भई हालेमा त्यसको सूचना तुरुन्तै प्रहरीमा पुग्ने र त्यसको आन्तरिक सञ्चारका लागि २ हजार २ सय ६२ जना प्रहरी खटिँदै आएका छन्। उता कार्यालय सञ्चालनमा भने दैनिक ३ हजार ८ सय २९ जना प्रहरी खटिँदै आएका छन््। 
संघीय संरचना अनुसार एक स्थानीय तह एक प्रहरी चौकीको अवधारणा अनुसार प्रहरीले सेवा विस्तार गर्नुपर्ने भन्दै जनप्रतिनिधिहरुले प्रहरी चौकीको माग गरेका छन्। उनीहरुको मागका लागि अझै ७ सय ३७ वटा प्रहरी चौकी थप गर्नुपर्ने हुन्छ। जसका लागि अहिलेकै जनशक्तिले अपुग हुने प्रहरी प्रवक्ता बताउँछन्। 


‘प्रहरीले आफ्नो दैनिक कामकारबाही प्रभावकारी बनाउन हरसम्भव प्रयास भइरहेको छ। स्थानीय जनप्रतिनिधिहरुले प्रहरी चौकी पनि माग गरेका छन्,’ प्रवक्ता पोखरेलले भने, ‘यसका लागि प्रहरी थप अनशक्तिको पनि आवश्यकता छ।’

धमाधम हिरासत ब्रेकः कानुनमा १० वर्षसम्म कैद, प्रहरीलाई उन्मुक्ति !

नारायण अधिकारी |  २०७६ मङ्सिर १६ सोमबार | Monday, December 02, 2019  १५:४६:०० मा प्रकाशित


काठमाडौं- इलाका प्रहरी कार्यालय महेशपुर सिरहामा शनिबार साँझ थुनुवालाई खाना खुवाउने क्रम चलिरहेको थियो। यही मौका पारी ११ थुनुवामध्ये ८ जना  प्रहरीको आँखा छलेर सहजै भाग्न सफल भए। 
भाग्नेमा लागुऔषध मुद्दामा पक्राउ परेका मोहमद रियाज मिया, रंधिरकुमार यादव, रामआशीष यादव, गणेश साह, नवीन यादव, रिशन खड्का, बहुविवाह मुद्दाका सञ्जय यादवलगायत छन्। उनीहरूमध्ये सञ्जय यादवलाई भने प्रहरीले पक्राउ गरिसकेको छ।
चौबिसै घण्टा सुरक्षाकर्मीको चौघेरामा रहने हिरासतबाटै उनीहरू कसरी भागे? आठ जना थुनुवा भागुन्जेल प्रहरीले किन चाल पाएन? प्रहरीको मिलेमतोबिना यस्तो सम्भव छ त? यसबारे प्रहरीले चित्तबुझ्दो जवाफ दिन सकेको छैन।
यद्यपि ८ जना थुनुवा प्रहरीकै अगाडिबाट भागेको घटनामा चरम लापरबाही हुनसक्ने भन्दै प्रदेश २ प्रहरी कार्यालयले छानबिन समिति गठन गरेर अनुसन्धान सुरु गरेको छ। 
प्रदेश २ का डिआइजी प्रद्युम्न कार्कीका अनुसार एसएसपी हरिराज वाग्लेको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भइसकेको छ। समितिले थुनुवा फरार भएको समयमा ड्युटीमा रहेका प्रहरीको भूमिकालगायतका विषयमा अनुसन्धान गर्नेछ। 
थुनुवाको हिरासत ब्रेक यो पहिलो घटना भने होइन।
गत साउन २६ गते इलाका प्रहरी कार्यालय धुलाबारी झापाको हिरासत ब्रेक गरेर २ भारतीय नागरिक २६ वर्षीय गणेश कामती र २९ वर्षीय कृष्ण मण्डल फरार भएका थिए। 
त्यसको दुई दिनअघि मात्रै काठमाडौंको सिंहदरबार वृत्तबाट ४ थुनुवा भागेका थिए। चोरी मुद्दाका अनिल थापा, सुब्बा लामा, सुकलाल वाइबा र मदन तामाङ सिंहदरबारकै हिरासतबाट फरार भएका थिए। 
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहको नेतृत्वमा समिति गठन गरेर यसबारे अनुसन्धान भयो। असई तथा ड्युटी अफिसर भीमबहादुर थापा, ड्युटीमा रहेका हवल्दार बोधबहादुर माझी र चन्द्रबहादुर विक निलम्बनमा परे। तर कारबाही निलम्बनभन्दा केही भएन। 
‘हिरासतको कमजोर संरचना र प्रहरीको लापरवाही’
एकपछि अर्को गर्दै हिरासत ‘ब्रेक’ का घटनाले मुख्य गरी दुई विषय इंगित गरेको पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्। उनका अनुसार यस्तो घटनामा हिरासतको कमजोर संरचना र प्रहरीको लापरवाहीमध्ये एउटाले मुख्य भूमिका खेलेको हुन्छ।
अहिलेसम्म भागेका थुनुवाको अवस्था हेर्ने हो भने हिरासतलाई दोष लगाएर उन्मुक्ति हुने अवस्था देखिँदैन। अधिकांश  घटनामा प्रहरीको लापरबाही देखिएको भन्दै आलोचनासमेत हुने गरेको छ। 
गत असार २३ गते राति महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट निकै चलाखीपूर्ण तरिकाले थुनुवा भागेको घटनाले पनि प्रहरीको लापबाहीलाई पुष्टि गर्छ। थुनुवा शमसेर माझी, रुद्रलाल श्रेष्ठ र रविकुमार तिमिल्सिना फरार भएका थिए।
म्याद थप गर्न अदालत लगेका बेला अदालतको ट्वाइलेटमा उनीहरूका साथीले पूर्व योजनाअनुसार ‘ह्याक्सो ब्लेड’ राखिदिएका थिए। सोही ह्याक्सो ब्लेड शरीरमा लुकाएर हिरासतसम्म पुग्न सफल भएका उनीहरू ग्रिलको रड काटेर भाग्नसमेत सफल भएका थिए। 
अदालतबाट म्याद थप गरेर लगिसकेपछि उनीहरूको शरीर खानतलासी गरिएको भए यस्तो अवस्था आउने थिएन। तर प्रहरीले यति सामान्य कुरामा समेत ध्यान नदिँदा उनीहरू हिरासत तोडेर भाग्न सफल भएका थिए।
भैंसेपाटी घटनामा महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समितिसमेत गठन भएको थियो। समितिले तीन जनालाई केही दिन निलम्बन गर्‍यो। यो घटनामा पनि त्यसभन्दा बढी कारबाही प्रहरीलाई भएन। 
यस्तै, गत असार २८ गते इलाका प्रहरी कार्यालय खजुरा, बाँकेको हिरासत कक्षबाट ३ थुनुवा फरार भए। उनीहरू हिरासत कक्षको शौचालयको भेन्टिलेटर काटेर भागेका थिए।
गत साउन ७ गते इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराको हिरासतबाट भारतको मोतिहारीका १९ वर्षीय फिरोज मियाँ फरार भए। त्यसेबला ड्युटीमा खटिएका प्रहरीलाई पनि सामान्य विभागीयबाहेक अन्य कारबाही भएको छैन।
प्रहरीले गरेको विभागीय कारबाहीले ड्युटीमा रहेका प्रहरीको सामान्य गल्ती भएको कुरालाई पुष्टि गर्छ। यसरी प्रहरीकै सुरक्षाघेराभित्र पटक–पटक कैदीबन्दी भाग्ने क्रम भने रोकिएको छैन। यस्ता घटनामा प्रहरीकै मिलेमतो हुनसक्ने आशंका उब्जिन्छ। 
प्रहरी मिलेमतोमै आपराधिक घटना
यतिमात्रै होइन प्रहरीकै मिलेमतोमा जघन्य अपराध हुने गरेका घटना पनि छन्। 
२०६७ असोज १४ गते बाँकेका बालक कपिलदेव द्विवेदी र लीलाधर भट्टको अपहरण र हत्याजस्तो जघन्य अपराधमा समेत प्रहरीकै संलग्नता भएको पाइएको थियो।
यी दुई बालक अपहरणपछि प्रहरीले गरेको अनुसन्धान र अपरेसनको सूचना अपहरणकारीलाई तत्कालै प्रहरी हवल्दार साकिर अलि बेहनाले दिने गरेका थिए। 
बालक अपहरणको सूचना पहिल्यै पाएका हवल्दार बेहनाले त्यसबारे अन्य प्रहरी तथा कार्यालयमा समेत जानकारी गराएका थिएनन्। ५० हजार रुपैयाँको लोभमा उनले बालकको हत्यापछि प्रहरीले गरेको अपरशेनको सूचना रुपैडिया गएर ल्याण्डलाइन फोनमार्फत् अपहरणकारीालाई दिएका थिए। 
पछि अपहरणमा हवल्दारकै संलग्नता भएको पाएपछि उनलाई पक्राउ गरिएको थियो। बाँके जिल्ला अदालतले २०६९ मंसिर ३ गते हवल्दार बेहनालाई ४४ वर्ष कैदको फैसला सुनाएको थियो। अहिले उनी जेल जीवन बिताइरहेका छन्। 
कानुनमा १० वर्षसम्म कैद, प्रहरीलाई उन्मुक्ती 
मिलेमतोमा थुनुवा फरार भएको पुष्टि भएमा १० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ। तर यस्ता घटना निरन्तर भए पनि अहिलेसम्म यो कारबाहीबाट प्रहरी भने जोगिँदै आएका छन्।
कारागार ऐन २०१९ मा कैदी तथा थुनुवा भगाउनेलाई हुने सजायबारे उल्लेख छ। ऐनको दफा २४ को (क) मा सम्बन्धित अड्डा/अदालतका कर्मचारी वा कारागारका कर्मचारीले घुस लिएर थुनुवा तथा कैदी भगाएमा उक्त घुस जफत गरी थप कारबाही हुने व्यवस्था छ। 
जन्मकैदको सजाय पाएको वा त्यस्तो सजाय पाउने अपराध गरेको थुनुवा तथा कैदी भगाए १० वर्षसम्म कैद हुने ऐनमा व्यवस्था छ। अरु थुनुवा वा कैदी भगाएको भए २ वर्षदेखि ६ वर्षसम्म कैद हुन्छ। 
अदालत र कारागारका कर्मचारीबाहेक प्रहरी वा अन्य सरकारी कर्मचारीले भगाएमा जन्मकैद पाएको वा त्यस्तो सजाय पाउने खालको अपराध गरेको भए ६ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। अन्य थुनुवा/कैदीका हकमा भने २ वर्षदेखि ६ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। 
तर कर्तव्यपालनाका सिलसिलामा लापरबाही भएकै कारण कैदी तथा थुनुवा भागेको अवस्थामा भने सामान्य सजाय हुने उल्लेख छ। जसमा ५ महिनासम्म कैद वा २ सय रुपैयाँसम्म जरिवाना हुनसक्छ।
तर कर्तव्य पालनकै सिलसिलामा प्रहरीबाट लापरबाही भएर थुनुवा वा कैदी फरार भएमा पनि २ सय जरिवाना र ५ महिनासम्म कैद भएको पाइदैन। 
थुनुवा फरार भएपछि हरेक घटनामा प्रहरीले तत्कालै छानबिन समिति गठन गरेर अनुसन्धान गर्ने गरेको छ। ड्युटीमा रहेका प्रहरीलाई निलम्बन गरेर घटनाको अनुसन्धान गरे पनि चरम लापरबाही गर्ने प्रहरीलाई अहिलेसम्म दर्‍हो कारबाही भएको छैन। देखाउनकै लागि कारबाही गरेजस्तो भए पनि केही दिन निलम्बन, नसिहत, ग्रेड रोक्कालगायतका सामान्य विभागीय कारबाहीबाहेक अरु कारबाही अहिलेसम्म प्रहरीलाई भएको पाइदैंन।
यसबारे एक प्रहरी अधिकारी भन्छन्, ‘मिलेमतो गरेर फरार भएको जस्तो देखिँदैन। सामान्य गल्तीको फाइदा उठाएर थुनुवा भागेकाले प्रहरीलाई त्यही अनुसार कारबाही भएको हो।’ 
अर्कोतर्फ थुनुवा फरार भएपछि गठन भएका छानबिन समितिले समेत प्रहरीको मिलेमतोमा फरार भएको भन्ने खालका रिपोर्ट दिएका छैनन्। 
४८ थुनुवा तथा कैदी फरार
एक वर्षभित्र देशका विभिन्न जेल तथा हिरासतबाट ४६ थुनुवा तथा कैदी फरार भइसकेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाउँछ। जसअनुसार सिरहाबाट ८, काठमाडौंबाट ५, मकवानपुरबाट ४, ललितपुरबाट ४, बाँकेबाट ४, कैलालीबाट ४, झापाबाट ३, चितवनबाट ३, मोरङबाट २, हुम्लाबाट २, भक्तपुर, स्याङ्जा, कास्की, बर्दिया, दाङ, कालिकोट, पाँचथर, काभ्रे, सिन्धुलीबाट एक/एक गरी ४८ थुनुवा तथा कैदी फरार भइसकेका छन्। यीमध्ये धरैजसो पक्राउ परे पनि केही भने अझै फरार छन्।
कारागार ऐन २०१९ अनुसार कैद म्याद तोकिसकेको कैदी भागेका अवस्थामा तिनलाई कैद भुक्तान गर्न बाँकी सजायको डेढी सजाय हुने व्यवस्था छ। 
थुनुवा भागेमा भाग्नुअघि थुनामा बसेको अवधि कट्टा गरिनेछ। यसका साथै थुनामा बसेको समय गणना नगरी तोकिएको कैद सजायमा आधा थप गरी डेढी सजाय तोकिने व्यवस्था ऐनमा उल्लेख छ।