| २०७६ पौष १० बिहीबार | Thursday, December 26, 2019 १८:४४:०० मा प्रकाशित
काठमाडौं- ‘मिडियाका साथीहरू म केही कुरा राखौं?’
मोडलका नाममा युवतीलाई भारत पुर्याएर बली चढाई मार्न खाजेको आरोपमा पक्राउ परेका उमेश साहले पत्रकारमाझ सार्वजनिक गरेको बेला केही बोल्ने अनुमति मागे।
‘फोटो अहिले नलिनू। म केही कुरा राख्न चाहान्छु,’ आरोपित साहले बुलन्द स्वरमा प्रहरीकै अगाडि भने। त्यसपछि केही बेर धाराप्रवाह रुपमा उनी बोले।
‘हामीलाई बेकसुरमा ल्याएको छ। एउटा फोन टेस्टको भरमा हामीलाई ल्याएको छ। के प्रमाण पायो त?’ उनको प्रश्न थियो।
उनले सञ्चारकर्मी र प्रहरीलाई अर्को गम्भीर आरोपसमेत लगाए। बिनाकसुर आफ्नो इज्जत लुटिएको उनको आरोप थियो। त्यो पीडा उनले प्रहरी र सञ्चारकर्मीकै अगाडि पाखे।
‘पत्रिकामा निकालेछ। हाम्रो पनि इज्जत हुन्छ। यसरी इज्जतसँग खेलबाड गर्नु महापाप हो,’ बिनाकसुर पक्राउ गरेर इज्जतमाथि खेलबाड गरिएको चित्कार उनको थियो।
‘किन लगेको हो? केही पनि थाहा छैन। जबरजस्ती हामीलाई समातेर यहाँ ल्याएछ। पत्रिकामा निकालेछ। कुन मानवताले हामीलाई यसो गरेछ,’ मुखमा मास्क लगाइरहेका उमेशले प्रहरीकै अगाडि आक्रोश पोखे।
त्यसपछि सादा पोशाकका प्रहरी आएर उनलाई नबोल्न भने। तर उनले बोल्न छाडेनन्। आफू निर्दोष भएको दाबी उनले निरन्तर गरिरहे।
‘हामीले मिडियामा यो कुरा फ्ल्यास गर्नैपर्छ। म पनि मिडियाको मान्छे हो के। अपराधी हो भने प्रमाण देखाउन सकोस्। अपराधी प्रमाणित भएको अवस्थामा कानुनको दायरामा रहेर सजाय भोग्न तयार छु,’ आफूलाई लागेको आरोप प्रमाणित गर्न उनले प्रहरीलाई चुनौती दिए।
त्यसपछि प्रहरीले उनीहरुलाई बोल्नै नदिई हिरासत लग्यो। 'बोल्नै नदिई हस्तक्षेप गर्न पाइँदैन' भन्दै उनले विरोध जनाए। लगाएको मास्क खोलेर भने, ‘अब फोटो खिच्नुस्। मेरो नाम उमेश साह हो।’
एक युवतीलाई मोडल बनाउने भन्दै भारत पुर्याएर बली दिन लागिएको आरोपमा पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार सार्वजनिक गर्ने क्रममा उमेश साहले बोलेका शब्द हुन् यी।
सप्तरीका ४० वर्षीय साहसँगै नवलपरासी कावासोती-१ का २६ वर्षीय कृष्ण तामाङ, सप्तरीकै सप्तकोशी–११ का ३५ वर्षीय उमेश माझी, दाङको घोराही-१० की २४ वर्षीया दिलकुमारी बुढामगर, विराटनगर–८ का दिलिप पोद्दार, धादिङ खनियाबास–२ का २३ वर्षीया प्रेमा तामाङ र सुनसरी गढी नगरपालिका–१ का ३७ वर्षीय रञ्जीतकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो।
प्रहरीले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार एक जना ६ फिट उचाई भएकी युवतीलाई शुरुमा काठमाडौमा मोडलिङ सिकाउने र त्यसका लागि अनिवार्य ६ फिट उचाई हुनुपर्ने सर्त थियो। यिनै सर्त देखाउँदै अहिले पक्राउ परेकी प्रेममायाले एक युवतीलाई यसको अवसरको बारेमा बताएकी थिइन्।
‘मोडलिङ गरेपश्चात् राम्रो रकम पाउने प्रलोभनमा परी पीडित युवतीले प्रस्ताव स्वीकार गरेको देखिन्छ,’ पत्रकार सम्मेलनमा एसपी अशोक सिंहले बताए। प्रहरीका अनुसार प्रेममायाले पीडित युवतीको ६ फिट उचाई नापी त्यसको भिडियो विराटनगरमा उमेश शाहलाई पठाएकी थिइन्।
उमेशले स्वीकृत गरेपछि ती युवतीलाई विराटनगर लैजाने योजना थियो। युवतीलाई महिनावारी भए/नभएको, घाउ/चोटपटक, अप्रेसन गरे नगरेको सोधपुछ भएपछि युवतीका परिवारले शंका लागेर परिसरमा पुस ४ गते उजुरी दिएका थिए। परिसरबाट खटिएको प्रहरी टोलीले युवतीको पिछा गर्दै विराटनगरसम्म पुगेर घटनाको अनुसन्धान गरेको प्रहरीले जनाएको छ।
ती युवतीलाई कृष्ण तामाङले काठमाडौबाट विराटनगर जान पुस ६ गतेको हवाई टिकट काटिदिएका थिए। उनले २६ हजार रुपैयाँसमेत ती युवतीलाई पठाएको देखिएको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। निर्धारित टिकटमा युवती विराटनगर जान सम्भव नभएपछि बुद्ध एयरको फ्लाईटबाट दिल कुमारी बुढाको साथमा ती युवती पुस ७ गते विराटनगर पुगेकी थिइन्।
विराटनगर विमानस्थलमा कृष्ण तामाङ र उमेश साहले ती युवतीलाई भेटी भ्यानमा राखेर रामजानकी मन्दिरको खाजाघरमा लगेर राखेको प्रहरीको दाबी छ। त्यसपछि विराटनगर जलजलाचोकस्थित कालीमन्दिरको धर्मशालाको कोठा नम्बर २०५ र ६ बुक गरी पीडित युवतीको पुनः उचाईलगायत महिनावारी भए/नभएको, घाउ/चोटपटक, अप्रेसन गरे/नगरेको जाँच गरिएको थियो।
त्यसपछि केही समयमा आउने गरी कृष्ण र उमेश बाहिर निस्किएका थिए। उनीहरु युवतीलाई तान्त्रिक पूजाका लागि बोर्डर पारी लगी पूजा गराउने भनी उमेश माझी, रञ्जीतकुमार चौधरी, दिलिप पोद्दारले छलफल गरेको प्रहरीले जनाएको छ। पूजाका सामाग्रीसहित पीडित युवतीलाई मोडलिङको लागि आवश्यक सामान कपडा किनाउने बहानामा भारतको जोगवनी हुँदै पारी लैजाने योजना बन्दै थियो। सोही अवस्थामा विराटनगर फुलचोक बुढीगंगा–१ बाट घटनामा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको जानकारी प्रहरीले दिएको छ।
घटनामा संलग्न भएको आरोपमा प्रेममाया तामाङलाई भने सितापाइलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूले मोटो आर्थिक रकम पाउने आशमा ६ फिट उचाई भएको युवतीलाई विराटनगर हुँदै तान्त्रिक पूजाका लागि बोर्डर पार गराउने योजना बनाएको देखिएको प्रहरीले दाबी गरेको छ।
घटनाका मुख्य योजनाकार दिलिप पोद्दारलाई भारत विहारको मन्दिरको बाबालगायत अन्य व्यक्तिहरुले पैसा दिई सम्पर्क गरेको देखिएको प्रहरीले जनाएको छ। प्रेमा र कृष्णले ५ लाख पाउने आश्वासन पाएको र अन्य व्यक्तिहरुले पनि ठूलो रकम पाउने लोभमा युवतीलाई बलीका लागि भारत लैजाने योजना बनाएको प्रहरीले पत्रकार सम्मलेनमा जानकारी दिएको थियो।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। तर पक्राउ परेकामध्ये उमेश साहले भने आफू निर्दोष रहेको दाबी गरेका छन्। प्रहरीले भने उनी घटनामा प्रत्यक्ष संलग्न रहेको देखिएकाले नै पक्राउ गरिएको जनाएको छ।
पक्राउ परेका साहको भनाइ भिडियोमा हेर्नुहोस्



No comments:
Post a Comment