Thursday, December 26, 2019

सावित्री हत्याकाण्ड: आफ्नै छोरीले प्रेमीसँग मिलेर गराइन् ६१ वर्षीया आमाको हत्या

नेपाल लाइभ |  २०७६ असार १६ सोमबार | Monday, July 01, 2019  १०:३५:०० मा प्रकाशित


काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका-७, बाँसबारीमा आइतबार बिहान भएको वृद्धाको हत्या उनकै छोरीको संलग्नतामा भएको खुलेको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ घर भई भक्तपुरको चाँगुनारायण-७, बाँसबारीस्थित छोरी इश्वरी भट्टराईको घरमा आएका बखत आइतबार बिहान ६१ वर्षीय सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको थियो।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज पत्रकार सम्मेलन गर्दै सो हत्या छोरी इश्वरीले आफ्ना प्रेमी सिरहाको कल्याणपुर नगरपालिका-४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षका मोहम्मद नौसादसँगको संलग्नतामा गराएको जनाएको छ।
२७ वर्षीया इश्वरीको मोहम्मदसँगको सम्बन्धका बारेमा आमा सावित्रीलाई थाहा भएपछि सो कुरा बाहिर नआओस् भन्न आमाको हत्या गराएको इश्वरीले स्वीकारेकी छिन्।

इश्वरीले आफ्ना प्रेमी मोहम्मदसँग सल्लाह गरी आमाको हत्या गर्न १२ लाख रुपैयाँको सुपारी दिएकी थिइन्। यसका लागि मोहम्मदले भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय 'अर्जुन कुमार' भनिने भोला कुमारको सहयोग लिएका थिए। यी दुवैले भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई हत्या गर्न सुपारी दिएका थिए।
सावित्रीको आइतबार घाँटी रेटेर हत्या गरेको अवस्थामा छोरी इश्वरीको घरमा शव फेला परेको थियो। अनुसन्धानका क्रममा ४ जनाको संलग्नता देखिएपछि आइतबार नै सबैलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो।

No comments:

Post a Comment