Saturday, January 19, 2019

धमाधम छुट्दै आरोपी, ३२ अझै फरार, थुनामा कोको?

धमाधम छुट्दै आरोपी, ३२ अझै फरार, थुनामा कोको?

अनुसन्धानको फाइल गृहमै अड्कियो

नारायण अधिकारी
276Shares
 Share
 Tweet
 Share
 Email
Nepal Live

काठमाडौं– उच्च अदातल विराटनगरले ३८ सय किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी आरके ज्वेलर्स न्युरोडका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य र विमल पोद्दारलाई बिहीबार धरौटीमा छोड्ने आदेश दियो। न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले उनीहरु दुवैलाई जनही १० लाख धरौटी माग गर्ने आदेश गरेको थियो। 
 
जिल्ला अदातल मोरङले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरु धरौटी बुझाएर रिहा भए। 
यसरी एकपछि अर्को गर्दै बहुचर्चित सुन तस्करी काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरु धमाधम साधारण तारेखमा छुट्न थालेका छन्।
गत वर्ष माघ ७ गते विदेशबाट आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गायब भएको थियो। सो सुन बेपत्ता पारेको भन्दै तस्कर समूहले सुन भरिया मोरङ उर्लाबारी बस्ने सनम शाक्यलाई अपहरण गरी हत्या गरे। उनको शव विराटनगरमा गत फागुन १८ गते प्रहरीको गाडीमा फेला परेको थियो।
३३ किलो सुनकै कारण शाक्यको ज्यान गएको र सुन तस्करीमा प्रहरीको पनि संलग्नता रहेको आशंकासहित गृह मन्त्रालयले चैत २० गते सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा राष्ट्रिय अनुसन्धान शाखाका निर्देशक हुतराज थापा, वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार लामा, गृह मन्त्रालयका उपसचिव भविश्वर पाण्डे, उपन्यायाधिवक्ता हरि रेग्मी, प्रहरी उपरीक्षक सुदीप पाठक, प्रहरी निरीक्षक भीष्म हुमागाईं, कानुन अधिकृत भोजराज दाहाल र सई सुमन कार्कीसहित थिए। 
समितिले ६३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। उनीहरुमाथि १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको बिगो असुलको माग गरिएको थियो। सन् २०१५ यता पटकपटक गरी भएको सुन तस्करीमा उनीहरूको संलग्नता रहेको गृह मन्त्रालयको छानबिन समितिले ठहर गरेको थियो। तीन वर्षमा अभियुक्तहरूले ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम (झन्डै ३८ क्विन्टल) सुनको अवैध कारोबार गरेको आरोप लगाइएको थियो। 
त्यही ३८ क्विन्टल सुन तस्करीको अभियोगमा ३१ जना पक्राउ परेका थिए भने ३२ जना अझै फरार छन्। 
कोको छुटे साधारण तारेखमा?
सुन तस्करीको आरोपमा पक्राउ परेका ३१ जना मध्ये २१ जना अझै पुर्पक्षका लागि थुनामा छन् भने ९ जना साधारण तारेखमा रिहा भएका छन्।
रिहा हुनेमा एसएसपी दिवेश लोहनी, पूर्व डिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, हवल्दार विष्णु खड्का, प्रहरी जवान अमर थापा, आरके ज्वेलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य, विमल पोद्दार छन्।
थुनामा कोको?
मोरङको उर्लाबारी घर भई काठमाडौं–७, गौरीघाट बस्दै आएका सुन तस्करीमा मुख्य नाइके चूडामणि उप्रेती (गोरे), काभ्रेको मण्डनदेउपुरी गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरी, मोरङ उर्लाबारी–४ का मोहन काफ्ले, झापाको मेचीनगर–१३ का लाक्पा शेर्पा, मोरङ उर्लाबारी–७ का कृष्ण भनिने नरेन्द्र कार्की, काठमाडौं–१६ का भुजुङ गुरुङ, काठमाडौं– नागर्जुन–४, शरणमपुरका डा डेबिट भनिने छिरिङ वाङ्गेल घले छन्। 
त्यसैगरी, भारतको दार्जिलिङ घर भई काठमाडौंको धुम्बाराही चण्डौलस्थित प्रेस्टिज अपार्टमेन्टमा बस्ने चाचौजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल, सिन्धुपाल्चोक लोगर्चे–७ घर भई काठमाडौं–६ बौद्ध आरुबारी बस्ने एलबी मगर भनिने लालबहादुर मगर, काठमाडौं–८ का चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ पनि थुनामा छन्। 
ललितपुर–१४ का सम्बिरप्रसाद तोलाङ्गे, काठमाडौं–९ का ४५ वर्षीय बालकृष्ण श्रेष्ठ, भक्तपुरको सूर्यविनायक–९ खत्रीगाउँका दोराम खत्री, काठमाडौंको नागार्जुन–६ का कपिलराज पुरी, काठमाडौं–८ का गोपालकुमार श्रेष्ठ, ललितपुरको कन्ज्योसोम–३ का ३० वर्षीय तक्ले भनिने पुण्यप्रसाद लामा तामाङ, काठमाडौं चन्द्रागिरी–१३ का हेमन्त गौतम पनि पुर्पक्षका लागि थुनामै छन्।
काठमाडौं–१८ का राजु महर्जन, भक्तपुरको सूर्यविनायक–८ बस्ने ५५ वर्षीय राजन थापा, काठमाडौं–१३, ताहाचलका अमरमान डंगोल, बर्दिया घर भई काठमाडौं–१८ बस्नै आएका तुलाराम थारु, सिरहाको लाहान–६ घर भई हाल काठमाडौं–३२, कोटेश्वर बस्दै आएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत, गुल्मीको साबिक तम्घास–६, स्थायी घर भएका नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री पनि थुनामै छन्। 
फरार हुनेहरु
मकवानपुर हटिया–४ घर भई हेटौंडा बस्दै आएका सुरेन्द्र गौतम, झापा गौरादह–८ का मामा भनिने भोजराज भण्डारी, झापाको मेचीनगर–१३ का रुस्तम मियाँ भनिने मोहमद उस्तम मियाँ, सोलुखुम्बुको दूधकुन्ड–८ का टुकबहादुर मगर, मोरङको उर्लाबारी–२ का माधव भनिने मदनप्रसाद घिमिरे फरारको सूचीमा छन्। 
सिरहाको धनगढी माई नगरपालिका–१२ का रोहित आचार्य, उर्लाबारी–४ का भविन राई भनिने भविन तामाङ, भारतको मोतियारी भेरियारी ग्राम पञ्चायत थाना आधापुर–१४ घर भई गौरीघाटमा रहेको थ्री बदर्स गाडी ग्यारेजमा काम गर्दै आएका राजनकुमार, सुनसरीको धरान–२ का कृष्ण बस्नेत अझै फरार छन्। 
सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई काठमाडौं–२९, अनामनगर बस्ने एमके मामा भनिने मोहनकुमार अग्रवाल, सुनसरीको धरान–२ का बहुला भनिने सुनिलकुमार अग्रवाल, झापाको शिवगञ्ज–१, हाल शिवसताक्षी घर भई हाल काठमाडौंको चन्द्रगिरी बस्दै आएका कालु भनिने कृष्ण गोपाल अग्रवाल पनि फरारको सूचीमा छन्।  
मोरङको उर्लाबारी–७ घर भई काठमाडौं–७, गौरीघाट बस्ने रमेश उप्रेती, काठमाडौं–९, एयरपोर्टअगाडि रहेको बाजेको सेकुवा कर्नरका चेतन भनिने चेतनाथ भण्डारी, काठमाडौं–३१, बानेश्वरस्थित भैरव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस प्रालि, न्यूरोडका सञ्चालक प्रमोदकुमार श्रेष्ठ, सुनसरीको इटहरीका वेनु श्रेष्ठ पनि फरार छन्। 
त्यसैगरी, काभ्रेको चलाल गणेशस्थान–६ घर भई हाल बेथान चोक–४ बस्दै आएका हरिशरण खड्का, बागलुङको साबिक रेसा–४ घर भई हाल काठेखोला–७ बस्ने कमल कार्की, काठमाडौं–१६, खरिबोटका मणिराज चौलागाईँ, सिन्धुपाल्चोक जलजले बस्ने शिवकुमार गुभाजू, सुनसरी धरान–१ घर भई काठमाडौं शान्तिनगरका वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस प्रालि, न्यूरोडका सञ्चालक ५० वर्षीय सुनिल श्रेष्ठ र सोही प्रालिकी गीता श्रेष्ठ पनि फरार छन्।
भोजपुर, दिङ्ला घर भई काठमाडौंको कागेश्वरी मनोहरा–३, गगननगरकी आरबी भनिने रक्षा भण्डारी, मोरङको साबिक गोविन्दपुर–८ घर भई हाल काठमाडौं बस्दै आएका अर्जुनप्रसाद खरेल, पर्वतको साबिक झोर्ले गाविस–१ घर भई हाल पैयूँ–७ बस्दै आएका रोशन भुसाल भनिने गुप्तलाल भुसाल, काभ्रेपलान्चोकको साबिक चलाल गणेशस्थान–४ का रामहरि कार्की, कास्कीको साबिक निर्मल पोखरी–८, हाल पोखराको लेखनाथ–२१ का प्रयास पराजुली, सिन्धुपाल्चोकको बलेफी–५ का सञ्जय अधिकारी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। 
सिन्धुपाल्चोकको बलेफी–५ का समिर अधिकारी, मोरङ उर्लाबारीमा स्थायी घर र काठमाडौंको गौरीघाट बस्दै आएकी नर्वदा खरेल उप्रेती, मोरङको कानेपोखरी–४ का माधव आचार्य, मोरङको साबिक गृगौलिया–२, हाल सुन्दरहरैचा–२ बस्ने ओमप्रकाश नेवार पनि प्रहरीको फरार सूचीमा छन्। 
'कोको फरार कोको थुनामा भन्नेबारे हामीकहाँ फाइल आइपुगेको छैन। गृहमै फाइल अड्किएकाले फरारको खोजी गर्ने आधार हामीसँग छैन,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने।
फरार ३२ मध्ये चार जनालाई पक्राउ गर्न प्रहरीले रेड कर्नर नोटिस जारी गरेको छ। दुबईमा होटल व्यवसाय गरिरहेका रामशरण खड्का, दुबई बस्दै आएका गोरेका भाइ रमेश उप्रेती, सुन तस्करीमा मुख्य लगानीकर्तामध्येका मोहनकुमार अग्रवाल र बेनु श्रेष्ठविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो।
तस्करी भएको साढे ३३ किलो सुन अझै फेला परेको छैन।

रहस्यमै रहेका यी अपराध

रहस्यमै रहेका यी अपराध

नारायण अधिकारी
61Shares
 Share
 Tweet
 Share
 Email
Nepal Live

काठमाडौं- ‘बिकिनी किलर’ भनेर चिनिने चार्ल्स शोभराज पक्राउदेखि रानीबारी र सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमका हत्यारासम्म पत्ता लगाएर वाहवाही पाएको नेपाल प्रहरी अहिले सर्वत्र आलोचित बनिरहेको छ। जसको कारण हो, निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु।
निर्मलाको हत्या भएको पाँच महिना बित्यो। तर अनुसन्धान प्रगति शून्य छ।
साउन १० गते हराएकी कञ्चनपुरकी बालिका निर्मलाको भोलिपल्ट बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला पर्यो। त्यसको एक महिना बित्न नपाउँदै संघीय राजधानी काठमाडौंमै फ्रान्सका लागि पूर्वराजदूत केशवराज झाको घरमै हत्या भयो। हत्यासँगै जोडिएका केही तथ्यले गर्दा प्रहरीले समेत यो घटनालाई ‘रहस्यमयी’को संज्ञा दियो।
प्रहरीले गम्भीरतासाथ अनुसन्धान सुरु गर्यो। परिवारका सदस्य, आफन्तदेखि घरमा काम गर्नेसमेत गरी दर्जनौंलाई सोधपुछ गरियो। तर हालसम्म पनि घटनाको योजनाकारबारे प्रहरीले सुइँको पाउन सकेको छैन।
पन्त र झा हत्या त केही समयअघि मात्रैका रहस्य नखुलेका घटना हुन्। वर्षौंदेखि रहस्यकै गर्भमा रहेका त्यस्ता केही हत्याकाण्ड छन्, जसमा प्रहरीले कुनै गुत्थी केलाउन सकेको छैन। 
प्रहरीलाई नै जिल खुवाउने केही अपराध 
पूर्व-गृहमन्त्री खुमबहादुर खड्काका सुरक्षा गार्डको हत्या

प्रहरी नायब निरीक्षक (सई) कुबेर विक्रम कार्की खुमबहादुर खड्काका सुरक्षा गार्ड थिए। भक्तपुरको गोठाटार घरमा बसिरहेका बेला सई कार्कीको २०६३ साल मंसिर २० गते हत्या भयो।
कार्कीलाई घरबाट घिसार्दै बाहिर लगेर खुकुरीले हानेर विभत्स ढंगले मारिएको थियो। खुकुरी प्रहारबाट गम्भीर घाइते ३२ वर्षीय कार्कीलाई मेडिकल कलेज सिनामंगलमा उपचारका लागि लगियो। तर, उनको उपचारकै क्रममा ज्यान गयो।
सई कार्कीको हत्या भएको १२ वर्ष बितिसकेको छ। उखान छ- १२ वर्षमा खोलो फर्किन्छ। तर यस घटनामा प्रहरीले अहिलेसम्म सामान्य ‘क्लू’ पनि फेला पार्न सकेको छैन। अनुसन्धान गरिरहेका छौं भन्नुबाहेक प्रहरीसँग थप प्रगति विवरण छैन।
घटनालाई नजिकबाट नियालेका महाशाखाका एसएसपी धीरजप्रताप सिंह भन्छन्, ‘यो घटना हुनु पछाडिको कारण के हो भन्ने नै पत्ता लाग्न सकेको छैन। यद्यपि हामीले अनुसन्धान गरिरहेका छौं। अनुसन्धान जटिल छ।’
दिवाकार चन्दको हत्या
प्रहरीको अनुसन्धानलाई नै जिल खुवाउने अर्को घटना हो, दिवाकर चन्द हत्याकाण्ड। 
पूर्वराजा त्रिभुवनका पनातिनी-ज्वाइँसमेत रहेका चन्द विश्व हिन्दु महासंघका तत्कालीन वरिष्ठ उपाध्यक्षसमेत थिए। श्रीमतीसँग छोडपत्र गरेर धोबीघाटमा फ्ल्याट भाडामा लिएर बसेका चन्दको २०६९ असोज १७ गते हत्या भएको थियो। हत्या भएको ३ दिनपछि मात्रै चन्दको शव फेला परेको थियो।
५५ वर्षीय चन्दको टेलिफोनको तारले घाँटी कसेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष थियो। तर, ६ वर्ष नाघिसक्दासमेत चन्दका हत्यारा पत्ता लाग्न सकेको छैन।
प्रहरीले उनको हत्या हुनुमा २ कारणलाई औंल्याएको छ। अपराध महशाखाका एक अधिकारीले भने, ‘श्रीमतीसँग छोडपत्र गरेकाले उनीबाट र सम्पत्तिकै कारण अरु कसैबाट हत्या भएको हुन सक्छ। हामीले यिनै दुई वटा कारणलाई आधार मानेर अनुसन्धान गरिरहेका छौं।’
धोबीघाटमा एक्लै बस्दै आएका उनको कोठामा बारम्बार महिलाहरु पनि आउने गरेकोसम्म प्रहरीले पत्ता लगाएको थियो। ‘अनुसन्धानका क्रममा चन्दको कोठामा आउने गरेका दुई दर्जनभन्दा बढी महिलालाई सोधिएको पनि थियो’, अपराध महाशाखाका एक अधिकारी भन्छन्।
हत्या ललितपुरमा भएकाले सुरुमा घटनाको अनुसन्धान महानगरीय प्रहरी परिसर ललितपुरले गर्यो। अपराध महाशाखा हुँदै अहिले सिआइबीले पनि सो घटनाको अनुसन्धान गरिरहेको छ। 
नेपाल इन्भेस्टमेन्ट बैंकमा चन्द परिवारले धितो राखेको जग्गाका सम्बन्धमा भएको विवादसम्म पुगेको प्रहरी अनुसन्धान त्यो भन्दा अघि बढ्न सकेको छैन। सिआइबीले चन्द हत्याको आरोपमा केही व्यक्तिलाई पक्राउ गरेर सोधपुछ गर्न थालेपछि तत्कालीन नेकपा (माओवादी) का एक नेताले नै छुटाएका थिए। त्यसपछि अनुसन्धान जटिल मोडमा पुगेको प्रहरीको निष्कर्ष छ। यसभन्दा अगाडि चन्द हत्याको फाइल बढ्न सकेको छैन।
सुन व्यवसायी दम्पतीको हत्या 
काठमाडौं बांगेमुडामा २०६१ असोज ११ गते सुन व्यवसायी दम्पतीको हत्या भयो। राजेशकाजी शाक्य र उनकी श्रीमती आशामायामाथि अन्धाधुन्ध गोली प्रहार गरिएको थियो। गोली लागी राजेशकाजीको घटनास्थलमै मृत्यु भयो भने आशामायाको उपचारको क्रममा ज्यान गयो। अज्ञात आक्रमणकारीले गोली प्रहारपछि उनीहरुका साथमा भएका सुनका गरगहनासमेत लुटेर लगे।
हत्या आरोपमा पूर्वसैनिक सुमन गिरीमाथि अनुसन्धान गरिएको थियो। पछि उनको संलग्नता नरहेको पाइएपछि उनी छुटे। तर, यो घटना भएको १४ वर्ष बितिसक्दा समेत अपराधीको पहिचान हुन सकेको छैन।
२० वर्षअघिको ललितपुर हत्याकाण्ड
घटना २०५५ साल भदौ २४ गतेको हो। ललितपुरको खपिन्छेमा कृष्णमान व्यञ्जनकारकी ३० वर्षीया श्रीमती शान्तिको हत्या भयो। घरको तेस्रो तलामा क्षतविक्षत अवस्थामा उनको शव फेला परेको थियो।
श्रीमतीको हत्या भएपछि श्रीमान् कृष्णमान र शान्तिकी आमा ज्ञानमायाले प्रहरीमा जाहेरी दिएका थिए। विवाह गरे पनि दाजुभाइ कोही नभएकाले शान्ति आमासँग बस्दै आएकी थिइन्। उनका दुई छोरी र एक छोरा थिए।
काठ पसल सञ्चालन गरेर बसेकी शान्तिको हत्या भएपछि प्रहरीले पसलमा काम गर्नेमाथि शंका गरेर सुरुमा अनुसन्धान अघि बढाएको थियो।
घटना भएको २० वर्ष बितिसक्यो तर, प्रहरी अझै पनि अनुसन्धानमै छ।
सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’को हत्या
रेडियो तुलसीपुरका सञ्चालक समितिका तत्कालीन अध्यक्ष देवीप्रसाद धिताल हेमराजको २०६७ साल साउन ६ गते हत्या भयो। दिउँसो साढे ५ बजेतिर तुलसीपुर–शीतलपुर सडक खण्ड अन्तर्गत हेमनगरको मुख्य सडकमा उनको हत्या भएको थियो।
कांग्रेसको चुनावी प्रचारबाट फर्किने क्रममा अज्ञात समहूको गोली प्रहारबाट उनको हत्या भएको थियो। तत्कालीन डिआइजी किरण गौतमको संयोजकत्वमा गठित केन्द्रीय अनुसन्धान समितिले यो घटनाको अनुसन्धान गरेको थियो।
तर, ७ वर्ष बितिसक्यो, अहिलेसम्म घटनामा संलग्नका बरेमा पत्ता लाग्न सकेको छैन।
कसले लुट्यो नबिलको २ करोड ३० लाख रुपैयाँ?
घटना २०७० साल मंसिर २६ गते हो। कैलालीको अत्तरियास्थित चौकीडाँडा जंगलमा नबिल बैंकको दुई करोड ३० लाख ६० हजार रुपैयाँ र दुई सय अमेरिकी डलर लुटियो।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको नबिल बैंक शाखाबाट झिकेर नेपाल राष्ट्र बैंकको धनगढी शाखामा जम्मा गर्न लाँदा सो रकम लुटिएको थियो। ट्राफिक प्रहरीको भेषमा हतियार लिएर आएका लुटेराले बैंकका कर्मचारी चढेको मे१च १४६ नम्बरको गाडी रोकेर पैसा लुटेका थिए। पैसा लुटिएपछि प्रहरीले गाडी चालक वीरबहादुर चन्द, बैंकका कर्मचारी सत्यमान तामाङ, अडिटर शुक्रराज भट्टराई र गार्ड गंगादत्त भट्टलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।
सुरुवाती अनुसन्धान गरेको कैलाली प्रहरी यस घटनाको छेउछाउसम्म पनि पुग्न सकेन। त्यसपछि देशभरका ठूला अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरु गर्यो। ५ वर्षसम्म यो घटना रहस्यमै रहनुमा प्रारम्भिक प्रमाण संकलन गर्न चुक्नुलाई नै सिआइबीले प्रमुख कारण रहेको निष्कर्ष निकालेको छ।
बैंक लुटिएको बेला क्षेत्रीय प्रहरी प्रमुखमा नारायणप्रसाद बास्ताकोटी थिए। त्यसपछि जयबहादुर चन्द, रामकुमार खनाल, माधव नेपाल, विजयकुमार भट्ट हुँदै रोमेन्द्रसिंह देउजा लगायतका अधिकारीले नेतृत्व सम्हाले।
अहिले सदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व डिआइजी सुरज केसीले सम्हालेका छन् भने कैलाली प्रहरी प्रमुखको नेतृत्वमा एसपी आभुषण तिमल्सिना छन्। तर, घटनाको नजिकसम्म पनि प्रहरी पुग्न सकेको छैन।
तर, यस घटनालाई गम्भीरताका साथ लिएर अनुसन्धान अघि बढाइरहेको कैलालीका एसपी तिमल्सिना दाबी गर्छन्।
तत्कालीन क्षेत्रीय प्रहरी प्रमुख विजयराज भट्टले सुदूरपश्चिम सरुवा भएर आएलगत्तै प्रहरी अनुसन्धान सफलता नजिक पुगेको ठोकुवा गरेका थिए। 
पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालसमेत कैलाली पुगेर अनुसन्धान सफल हुनै लागेको भन्दै केही समयमै सत्यतथ्य बाहिर आउने दाबी गर्न पछि परेनन्। तर, अर्यालपछि पनि दुई जना आइजिपी फेरिए, तर घटनामा लागेको पर्दा उठ्न सकेको छैन।
पुराना अपराधको अनुसन्धान भइरहेको छ : प्रहरी
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा हुने अपराधका अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय प्रहरी अपराध महाशाखाले उपत्यकामा भएका जघन्य अपराधको अनुसन्धान भइरहेको बताएको छ। महाशाखाका एसएसपी धीरजप्रताप सिंह पूराना अपराध आफ्नो प्राथमिकतामा रहेको बताउँछन्।
अनुसन्धानबाट अपराधसँग जोडिएका तथ्य तथा अपराधी पत्ता लाग्नुमा घटनास्थलको सबुत प्रमाण नै पहिलो आधार हुने तर अनुसन्धानमा विशेषज्ञता भएका प्रहरी घटनास्थलसम्म नपुग्ने भएकाले पनि अपराधको गाँठो फुस्किन नसकेको प्रहरीको बुझाइ छ।
उनले भने, ‘घटनाको अनुसन्धान जटिल भएकैले अहिलेसम्म पत्ता नलागेको हो। अहिलेसम्म पत्ता लागेन भन्दैमा पत्ता नलाग्ने भन्ने होइन। हामी अनुसन्धान गरिरहेका छौं।’
कतिपय घटनाका अपराधीहरु पहिचान भए पनि उनीहरु कहाँ छन् भन्ने पत्ता लाग्न नसक्दा पक्राउ गर्न नसकिएको एसएसपी सिंहले प्रस्ट पारे।
त्यसैगरी, देशभरका जघन्य अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि पुराना घटनाको अनुसन्धान भइरहेको बताएको छ।
महाशाखा र सिआइबीमा आउने हरकेजसो प्रहरी प्रमुखले यस्ता जटिल घटनाको अनुसन्धान आफ्नो प्राथमिकतामा पर्ने बताउँछन्। तर घटनासँग जोडिएका तथ्य तथा अपराधीको अवस्था हालसम्म पनि गर्भमै छन्।
वर्षौंसम्म पनि किन पत्ता लाग्दैनन् अपराधी?
घटनास्थलको प्रमाण नष्ट हुनु र घटनास्थललाई सुरक्षित नराख्दा अपराधी पत्ता लाग्न नसकेको अपराधविज्ञहरुको भनाइ छ। अपराधको अनुसन्धान घटनास्थलबाट सुरु हुन्छ। तर, घटनास्थल नै सुरक्षित नरहेको अवस्थामा अपराधी पत्ता नलाग्ने बताइन्छ।
नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल भन्छन्, ‘क्राइम सिन अपराध अनुसन्धानको पहिलो प्रमाण हो। घटनास्थलको सबुत कसरी जुटाइन्छ? र त्यसको अवस्थाको विश्लेषण कसरी गरिन्छ? यसको असर अनुसन्धानको अन्तिम बिन्दुसम्म देखापर्छ।’
अपराध पत्ता नलाग्नुको अर्को कारण प्रहरी ‘प्रचारबाजी’ हुनु पनि हो। जुन मुद्दा सल्ट्याउँदा आफ्नो चर्चा चुलिन्छ, त्यसतर्फ मात्र प्रहरी अधिकारीहरु लागेकाले पनि यस्ता पुराना अपराधहरु पत्ता नलागेको कतिपय बाहालवाला प्रहरी अधिकारी बताउँछन्। 
अनुसन्धानबाट अपराधसँग जोडिएका तथ्य तथा अपराधी पत्ता लाग्नुमा घटनास्थलको सबुत प्रमाण नै पहिलो आधार हुने तर अनुसन्धानमा विशेषज्ञता भएका प्रहरी घटनास्थलसम्म नपुग्ने भएकाले पनि अपराधको गाँठो फुस्किन नसकेको प्रहरीको बुझाइ छ।
अपराध पत्ता नलाग्नुको अर्को कारण प्रहरी ‘प्रचारबाजी’ हुनु पनि हो। जुन मुद्दा सल्ट्याउँदा आफ्नो चर्चा चुलिन्छ, त्यसतर्फ मात्र प्रहरी अधिकारीहरु लागेकाले पनि यस्ता पुराना अपराधहरु पत्ता नलागेको कतिपय बाहालवाला प्रहरी अधिकारी बताउँछन्। 
त्यसैगरी, समयको विकासक्रम अनुसार अनुसन्धान गर्ने प्रविधिहरु समेत नहुँदा कतिपय अपराधहरु पत्ता लाग्न नसकेको बताइन्छ। समयअनुसार अपराधमा नयाँ प्रविधिको प्रयोग हुनु र प्रहरी त्यसमा अपग्रेड नुहँदा समेत अपराधी पत्ता लाग्न नसकेका हुन्।
नेतृत्व परिवर्तन, नियमित अन्य कामको चाप, अनुसन्धान विशेषज्ञ तथा स्रोतसाधनको कमी जस्ता कुराले गर्दा प्रहरीले पुराना केही अपराधका घटनाको ‘गुत्थी’ पहिल्याउन सकेको छैन।

आन्तरिक सुरक्षा नै भद्रगोल, कसरी हुन्छ बाह्य 'थ्रेट'को सामना?

आन्तरिक सुरक्षा नै भद्रगोल, कसरी हुन्छ बाह्य 'थ्रेट'को सामना?

नारायण अधिकारी
325Shares
 Share
 Tweet
 Share
 Email
Nepal Live

काठमाडौं- आन्तरिक र बाह्य सुरक्षा रणनीतिको मेरुदण्ड मानिने राष्ट्रिय सुरक्षा नीति प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा आन्तरिक सुरक्षाको अवस्था भद्रगोल बन्न पुगेको छ।
राष्ट्रिय सुरक्षा नीतिले राज्यको हित र चासोलाई सम्बोधन गर्दै विद्यमान सुरक्षा चुनौती तथा अवसर दुबैलाई ध्यानमा राखी दिशानिर्देश गर्नुपर्छ। राष्ट्रिय सुरक्षा नीति राज्यको सुरक्षासम्बन्धी मूल नीति भएकाले यसले रक्षा नीति, आन्तरिक सुरक्षा नीतिजस्ता सहायक नीतिलाई निर्देशित पनि गरेको हुन्छ। 
हरेक देशले आफ्ना आधारभूत मूल्य र मान्यतामा आधारित राष्ट्रिय आकांक्षा र अति महत्वपूर्ण राष्ट्रिय हितका विषयको पहिचान गरेको हुन्छ। यस्ता राष्ट्रिय आकांक्षा र हितका विषयलाई बाह्य आक्रमण वा आन्तरिक दबाब तथा चुनौतीबाट सुरक्षित गर्दै संवर्द्धन गर्नुपर्ने हुन्छ। 
राष्ट्रिय सुरक्षा नीति राज्य र नागरिकका लागि राज्यले उपलब्ध गराउने सुरक्षाको समग्र संरचना र कार्यान्वयनको एकीकृत स्वरुप हुने गर्छ। तर राष्ट्रिय सुरक्षा नीति नै प्रभावकारी रुपमा कार्यान्वयन हुन बाह्य सुरक्षा 'थ्रेट' मात्र होइन, आन्तरिक सुरक्षा चुनौतीको सामान गर्न समेत गाह्रो हुने सुरक्षा विज्ञहरु बताउँछन्। 
२०७३ सालमा आएको राष्ट्रिय सुरक्षा नीति अहिलेसम्म परिमार्जन हुन सकेको छैन। रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएर छलफल भइरहेको बताइए पनि त्यो भन्दा बढी प्रगति हुन सकेको देखिँदैन।
सुरक्षा नीति ल्याइए पनि प्रभावकारी कार्यान्वयनमा आउन सकेको छैन। सुरक्षा नीति कार्यान्वयन गर्ने कानुन नआउँदा आन्तरिक सुरक्षा चुनौती बढ्दै गएको बहालवाल प्रहरी अधिकारी समेत बताउन थालेका छन्। 
भद्रगोल आन्तरिक सुरक्षा
सामान्य कुरालाई राज्यले गहन रुपमा नलिँदा देशको आन्तरिक सुरक्षा अवस्था भद्रगोल अवस्थामा पुगेको नेपाल प्रहरीका पूर्व डिआइजिी हेमन्त मल्ल बताउँछन्। 
स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता आधारभूत आवश्यकताको परिपूर्तिमा राज्य उदासीन हुनु, भारतसँगको खुला सिमानाका तथा देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा समेत आवश्यक सुरक्षा व्यवस्था मिलाउन नसक्दा आन्तिरिक सुरक्षास्थिति नाजुक बन्दै गएको उनको भनाइ छ। देश संघीयतामा गइसके पनि सुरक्षा निकायबारे अहिलेसम्म यकिन धारणा आउन सकेको छैन। यसकारण सुरक्षा अवस्था भद्रगोल हुन पुगेको पूर्व डिआइजी मल्लको भनाइ छ। 
संघीय प्रहरी ऐन आएकै छैन। प्रदेश २ ले प्रादेशिक प्रहरी ऐन ल्याइसक्यो। यस्तो अवस्थामा अधिकारका कुराहरु बाँझिन सक्छन्।
‘सुरक्षा निकायहरु संघीयतामा जाँदा कसरी जाने? अधिकार बाँडफाँड कसरी गर्ने? राज्य र केन्द्रको अधिकार कसरी बाँडफाँड गर्नेजस्ता संवेदनशील कुरामा राज्यले हेलचेक्र्‍याईं  गरेजस्तो देखिन्छ,’ उनी भन्छन्, ‘संघीय प्रहरी ऐन आएकै छैन। प्रदेश २ ले प्रादेशिक प्रहरी ऐन ल्याइसक्यो। यस्तो अवस्थामा अधिकारका कुराहरु बाँझिन सक्छन्। जसको असर आन्तरिक सुरक्षामा लामो समयसम्म पर्न सक्ने देखिन्छ।’
यसैगरी प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अधिकार, प्रदेश प्रहरी कार्यालयको अधिकार, चार वटै सुरक्षा निकाय (नेपाल आर्मी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल)का अधिकार र कार्यक्षेत्रका विषय प्रष्ट नहुँदा समस्या हुने गरेको सुरक्षाविद्‍को भनाइ छ।
‘राष्ट्रिय अनुसन्धान विभागको पोजिसन के? गृह मन्त्रालय मातहतको यो निकाय प्रधानमन्त्री कार्यालय मातहत लगिएको छ। तर गृहकै एक अंग जस्तो देखिन्छ,' एक जना सुरक्षाविद् प्रश्न गर्छन्, 'संगठन नै कस्तो बन्ने स्पष्ट नहुँदा त्यसले कसरी प्रभावकारी रुपमा काम गर्न सक्ला?’
त्यस्तै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच पनि अधिकार प्रत्यायोजनबारे पटक-पटक कुरा उठ्दै आएको छ। संघीयतामा गएपछि विमानस्थहरु आफ्नो मातहत हुनपर्ने सशस्त्रको माग राखेको छ। उता नेपाल प्रहरीले सशस्त्रको मागलाई मान्ने अवस्था देखिदैन। शक्तिकेन्द्रका निशानामा सुरक्षा निकाय पर्दै आएका छन्। 
गृहमन्त्री वामदेव गौतमको पालामा पक्राउको अधिकार समेत सशस्त्र प्रहरी बललाई दिइएको थियो। यसरी शक्तिकेन्द्रले एउटालाई तह लगाउन अर्कोलाई दुरुपयोग गरे आन्तरिक सुरक्षा चुनौती थप हुँदै जाने देखिन्छ। गौतमका पालामा यो अवस्था पनि सामना गरिसकेको नेपालका यो विषय नौलो त नहोला तर परिणाम राम्रो हुनेछैन। 
देशमा हुने आन्तरिक र बाह्य सुरक्षा चुनौती, अपराधलगायतका महत्वपूर्ण सूचना संकलन गर्ने जिम्मा पाएको अनुसन्धान विभागले अहिले प्रभावकारी रुपमा काम गर्न नसकेको कतिपयको बुझाइ छ। निर्मला हत्या प्रकरणमा राष्ट्रिय अनुसन्धानको भूमिका प्रभावकारी भएर बेलैमा सूचना संकलन गर्न सकेको भए अपराधी उम्कन नपाउने सुरक्षाविद्‍को विश्लेषण छ। 
त्यस्तै सुरक्षा निकायलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाएर संघीय ढाचाअनुसार काममा खटाउनु पर्ने हुन्छ। देशमा अहिले देखिएको चुनौती के हो? त्यसको सामाना कसरी गर्ने? भोलिको चुनौती के हुन सक्छ? ट्याकल कसरी गर्ने? यी लगायतका धेरै कुरा अन्योलमा हुँदा देशको आन्तिरिक सुरक्षा नै कमजोर भएको सुरक्षाविद्को भनाइ छ। 
आन्तरिक सुरक्षा नीति भद्रगोल भएको अवस्थामा बाह्य सुरक्षा थ्रेट आइहाले त्यसको सामना कसरी गर्ने भन्ने कुनै योजना नै छैन।
अर्कोतर्फ सुरक्षा निकायलाई अधिकारको बाँडफाँट प्रस्ट नुहँदा आन्तरिक सुरक्षा चुनौती देखिएको छ। 
एउटै समूहसँग पटक-पटक औचित्यहीन वार्ता 
देशको आन्तरिक सुरक्षामा चुनौती देखिएका विभिन्न भूमिगत तथा राजनीतिक समूहसँग वार्ता गर्न भदौ ८ गते प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरिएको थियो। सो टोलीले अहिलेसम्म २३ वटा समूहसँग वार्ता भएको जनाएको छ। केही भूमिगत सशस्त्र समूहले हतियार पनि बुझाएका छन्। यसले पनि देशको आन्तरिक सुरक्षा थप मजबुद भएको सरकारको बुझाइ छ।
तर यस्तो अभ्यास नौलो नभएको सुरक्षाविद् बताउँछन्। सरकारले यस्ता समूहसँग वार्ता गर्दा सुरक्षा निकायसँग राय लिएर मात्रै वार्ता गर्दा प्रभावकारी हुने सुरक्षा विज्ञको भनाइ छ। कुन समूहसँग वार्ता गर्ने, कुन समूहसँग वार्ता नगर्ने भन्ने राय सुरक्षा निकायसँग लिनुपर्ने हुन्छ। सुरक्षा निकायको राय बिना गरिएको सशस्त्र समूहसँगको वार्ताको औचित्य नहुने एक सुरक्षा अधिकारीले बताए।
सुरक्षा निकायभित्र सुरक्षा परिषद्‍को सचिवालयलाई ‘डम्पिङ साइट’ को संज्ञा दिने गरिन्छ।
वार्ता नगरी सशस्त्र समूहकै रूपमा कारबाही गर्नुपर्ने समूहलाई पहिला पनि वार्ता गरेर समाधान गरिएको भनिँदै आएको थियो। तर तिनै सशस्त्र समूह पछि गएर आपराधिक गतिविधिमा संलग्न हुँदै आएका उदाहरण पनि छन्। तिनै समूहसँग सरकारले पटक-पटक वार्ता गर्दै आएको छ। 
कुन समूहलाई राजनीतिक व्यवहार गर्ने, कुन समूहलाई विखण्डनकारी व्यवहार गर्ने र वाता गर्ने प्रष्ट नगरी गरिएको वार्ताको कुनै औचित्य नहुने सुरक्षाविद्हरूको भनाइ छ। अहिलेको वार्ता पनि त्यसैको निरन्तरता भएको उनीहरुको बुझाइ छ।
‘डम्पिङ साइट’ बन्यो सुरक्षा परिषद् सचिवालय 
देशको आन्तरिक र बाह्य सुरक्षाको विश्लेषण गरेर सुरक्षा रणनीति बनाउने सुरक्षा परिषद्‍ले प्रभावकारी काम गर्न सकेको अवस्था छैन। प्रधानमन्त्रीको नेतृत्वमा रहेको सुरक्षा परिषद्ले चुनावका बेला नेपाली सेना परिचालन गर्नु बाहेक अन्य काम गर्न सकेको देखिँदैन। राष्ट्रिय सुरक्षा, जनजिवीका, खाद्य सुरक्षा, परराष्ट्र मामिलालगायतका संवेदेनशील क्षेत्रका विषयमा छलफल गर्न परिषद्‍को बैठक बिरलै बसेको देखिन्छ। 
सुरक्षा निकायभित्र सुरक्षा परिषद्‍को सचिवालयलाई ‘डम्पिङ साइट’ को संज्ञा दिने गरिन्छ। नेपाल प्रहरीमा आइजिपीसँग 'टसल' भएको खण्डमा थन्क्यान भन्दै परिषद्‍को सचिवालयमा पठाउने चलन पुरानै हो। हालै मात्र आइजिपी सर्वेन्द्र खनालले आफूसँग कुरा नमिलकै कारण विमानस्थलमा कार्यरत डिआइजी शेरबहादुर बस्नेतलाई परिषद्‍ सचिवालयमा पठाएका छन्।  
यसअघिका आइजिपी उपेन्द्रकान्त अर्यालले पनि आफूसँग 'टसल' भएकै कारण राजेन्द्रसिंह भण्डारी, नारायण बस्ताकोटीलाई परिषद्‍ सचिवालयमा खटाएका थिए। आफूसँग कुरा नमिलेकै कारण परिषद्‍ सचिवालयमा थन्काउने गरिँदै आएको हो। 
प्रहरी भन्छ- आत्तिनु पर्दैन 
सुरक्षाविद्‍ले भनेका केही कुरामा सत्यता देखे पनि उनीहरुले भनेजस्तो आन्तरिक सुरक्षामा चुनौती भएको स्वीकार गर्न तयार छैन नेपाल प्रहरी। केही दिन पहिला प्रहरी मुख्यालयमा पत्रकार सम्मलेन गर्दै आइजिपी सर्वेन्द्र खनालले सुरक्षा चुनौती नरहेको दाबी गरेका थिए। 
बिम्स्टेक सम्मेलन, एसिया प्यासिफिक सम्मेलन, पाकिस्तानका राष्ट्रपति शाहिद खकना अब्बासी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका विदेशी पाहुनाको भ्रमण चुस्त सुरक्षा व्यवस्थाका साथ सम्पन्न गरेकाले आन्तरिक सुरक्षा चुनौती मजबुद रहेको दाबी आइजीपी खनालले गरेका थिए। 
तर, आइजिपी खनालले भनेजस्तो प्रभावकारी आन्तरिक सुरक्षा भएको कुरा सुरक्षाविद् भने विश्वास गर्दैनन्। सुनसरीका फिदा हुसेन र खुर्सिद आलम, पूर्वराजदूत केशवराज झाको हत्या, निर्मला पन्तको हत्या, दैनिक झण्डै एक दर्जनको हाराहारीमा हुने बलात्कार र हत्याका घटनालगायतले पनि आन्तरिक सुरक्षा अवस्था भद्रगोल भएको उनीहरुको भनाइ छ। 
आन्तिरिक सुरक्षा व्यवस्थाकै निम्ति नेपाल प्रहरीले दैनिक साढे २६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्दै आएको छ। प्रहरी प्रधान कार्यालयको रेकर्डअनुसार सवारी गस्तीमा ४ हजार ४ सय ३ जना, चेकिङमा ३ हजार ४२ जना, पिकेट ड्युटीमा  ६ हजार ४ सय ३ जना, पैदल गस्तीमा ७ हजार ३ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएका छन्।
कार्यक्रम तथा निवास सुरक्षामा हजार २ सय ५७ जना, पिएसओ १ सय ८९ जना स्कटिङमा ५ सय ६३ जना र महत्वपूर्ण प्रतिष्ठानको सुरक्षामा २ हजार ३ सय ४४ जना प्रहरी कर्मचारी खटिने गरेका छन्। 
आन्तरिक सुरक्षाको चुनौतीको रूपमा हेरिएको नेत्रविक्रम चन्द 'विप्लव' समूहका ३ सय ४७ जना र विखण्डनकारी क्रियाकलाप गर्ने सिके राउत समूहका ९४ जनालाई पक्राउ गरेर कानूनी दायरा ल्याइसकेको दाबी प्रहरीको छ।
अन्य व्यक्ति पनि प्रहरीको निगरानीमा रहेकाले आन्तरिक सुरक्षा बलियो रहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीको भनाइ छ। ‘कुनै पनि भूमिगत समूह, ग्याङ्स्टार, कुनै पेसेवर समूहबाट चुनौती छैन। आन्तरिक सुरक्षास्थित मजबुद छ’ प्रवक्ता सुवेदीको भनाइ छ।

द्वन्द्वकालमा हतियार तयार गर्ने कालिगड, जसलाई माओवादीले बिर्सियो

काठमाडौं– कालो वर्णको कसिलो शरीर। झ्याम्ल्याङ्ग कैलो कपाल। तिलचामले लामो दारी। सेतो फ्रेमको पावरदार चस्मा। 
झट्ट हेर्दा कुनै चिन्तक जस्तै देखिन्छन्, नारायण रिजाल (विक)। २२ वर्षअघिको भन्दा उनको हुलियामा खास फरक छैन। तर दुई दशकभन्दा लामो कालखण्डमा धेरै परिवर्तन भोग्यो देशले। जुन परिवर्तनका लागि उनी लागेका थिए, त्यसको भोग गर्न पाएनन्। राज्यसत्ता कब्जा गर्नुपर्छ भन्दै 'जनयुद्ध'मा लागेकाहरु प्रधानमन्त्री भइसके तर नारायण पुन: त्यहीँ जमिनमा आइपुगेका छन्, जहाँ उनी आरन चलाउँथे।
OOO
२०५३ सालमा उदयपुरको रिस्कु गाविस (हाल कटारी नगरपालिका–७) का नारायण घरबाट एकाएक बेपत्ता भए। बोल्न नसके पनि तेजिलो दिमागका उनी कतै गए होलान्, फर्केलान् भन्दै परिवार आसमा बस्यो। एक दिन, दुई दिन गर्दै महिना बित्यो तर उनी फर्किएनन्। भाइ लीलबहादुर भन्छन्, ‘चिनेजानेको सबै ठाउँमा सोधपुछ गर्‍यौं। तर अत्तोपत्तो पाइएन।' 
आरनबाटै परिवारका एक दर्जन सदस्यको खानपान सहज बनाइदिएका थिए उनले। उनी नै बेपत्ता भएपछि सबैमा चिन्ता छायो। लीलबहादुर निस्किए, दाइको खोजीमा।
न त्यसबेला अहिले जस्तो फोन थियो। न यातायातको सहजता। 'आफ्ना नरनातो भएका सबैतिर सोध्दै-खोज्दै, महोत्तरी पुगेँ,' त्यसबेलाको पट्यारलाग्दो हिँडाइ सम्झिँदै उनी सुस्केरा हाल्छन्, 'जिन्दगीको सबैभन्दा पीडाको क्षण नै त्यही लाग्छ मलाई।’
दाइको कुनै खुटखबर थिएन। न त कुनै सूचना। माओवादी सशस्त्र युद्धको राप र तत्कालीन शाही सेनाको रवाफबीच दाइ भेटिने झिनो आशा मात्र थियो उनमा। कामको सिलसिलामा दिल्ली र मुम्बईको कुनाकाप्चासँग परिचित उनलाई त  महोत्तरी नै नौलो लाग्यो त्यो बेला।
महोत्तरी हात्तीलेटमा भिनाजु नाताका जंगले विकको घर थियो। दाइको खोजीमा भौंतारिएका उनी सोध्दैखोज्दै भिनाजुकहाँ पुगे। जतिबेला नारायण हराएकै तीन महिना बितिसकेको थियो।
---
जब भिजानुको आँगनमा पाइला टेके लीलबहादुरले, उनमा एकाएक हर्षको आँसु खस्यो। किनकि नारायण हँसियामा रेती लगाउन व्यस्त थिए। तीन-तीन महिनासम्म खोजखबर गर्दा पनि पत्ता लाग्न नसकेका दाजु फेला पार्दा उनको मुटु गाँठो पर्‍यो। भक्कानो छुट्यो।
‘दाजुलाई देखेपछि खुसीले मेरा आँखा रसाएछन्। मन थाम्नै सकिनँ। ऊ त मलाई हेरेको हेर्‍यै भयो,’ उनी त्यो क्षणलाई सम्झन्छन्, 'दाजुले आफ्नै भाषामा कसरी आइपुगिस् भनेर सोधीखोजी गर्‍यो।’
एकैछिनको बसाइमा आफूले सिकेको सिपबारे बेलीविस्तार लगाउन भ्याइसकेका थिए नारायणले। पेस्तोल, बन्दुक, गोली लगायत सबै किसिमका विस्फोटक पदार्थ र हतियार बनाउन सिकेको भन्दै हौसिइरहेका थिए। त्यसबेला भिनाजु भने हतियार बनाउने सामान लिन सीमापारि भारत गएका रहेछन्। 
‘यस्तो डरलाग्दो ठाउँ, त्यहाँ बस्न मैले उपयुक्त देखिनँ। कतिखेर आफू फसिन्छ पत्तो नै नहुने सोचेर त्यसै दिन घर फर्किने भनेर त्यहाँबाट हिँडे,’ लीलबहादुरले सुनाए। दाइलाई लिएर आउन उनले अनेक प्रयास गरेछन् तर, ‘हतियार बनाउन अझै सिक्नुछ' भन्दै उनी घर आउनै मानेनन्।
बोल्न सक्दैनन् नारायण। दिमागी तेजमा भने कम छैनन्। आफूलाई लिन आएको भाइलाई साइकलमा चढाएर गाडी चढ्ने ठाउँसम्म पुर्‍याए। ‘यो यति बाठो छ कि म घर फर्किने भएपछि गाडी भाडा भन्दै पाँच सय रुपैयाँ खल्तीमा हाल्दियो,’ दाइले बिदा गरेको क्षण सम्झिन्छन्, लीलबहादुर। 
‘आरनको सिपले राज्यसत्ता कब्जा’
२०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गर्‍यो। त्यसपछि भूमिगत रुपमै ऊ देशव्यापी संगठन विस्तारमा लाग्यो। मंगलेको सिप थाहा पाएका माओवादीका स्थानीय नेताहरुले ‘आरनमा बस्नु हुँदैन, राज्यसत्ता कब्जा गर्नुपर्छ’ भन्दै त्यसबेला फकाउने गरेको सम्झन्छन्, बर्दीबास नगरपालिका–८ का वडाध्यक्ष शमशेरसिंह लामा। माओवादीका तर्फबाट निर्वाचित उनी मंगलेका छिमेकी पनि हुन्।
२०५३ सालमा पाँच महिनाजति भिनाजु मंगलेसँगै बसेर नारायणले हतियार बनाउन सिके। केही महिना जंगलमै बसेर सिप खिपिइरहे। हतियार बनाउन निपुण भएपछि मात्रै उनी रिस्कु फर्किए। त्यसबेला रिस्कुकै माओवादी नेता सोमबहादुर माझी र विष्णु पोखरेल निकै प्रख्यात मानिन्थे। उनीहरुले पटकपटक नारायणलाई 'जनयुद्ध'मा पूर्णकालीन बनाएर लैजान पनि खोजेका थिए।
लीलबहादुर सम्झन्छन्, ‘माओवादीले दाजुलाई लान धेरै पटक प्रयास गरेको थियो। 'बोल्न नसक्ने, कान नसुन्ने यस्ता मान्छे लगेर तपाईंहरुले के गर्न खोज्नुभएको' भनेपछि मात्रै चुप लागे।' 
उनलाई नलगे पनि माओवादी कार्यकर्ताहरु भने घरमा आउने क्रम रोकिएन। सिपबारे थाहा पाएका उनीहरु हतियार बनाउन आग्रह गर्दा रहेछन्। त्यसबेला रातभर नसुती माओवादीका हतियार बनाउँथे उनी। 'कतिखेर प्रहरी आउँछ र हामीलाई नै मार्छ भन्ने डर थियो। यति गर्दा पनि भएन। अन्तत: दाजुलाई माओवादीले लगेरै छोडे,’ उनी सुनाउँछन्।
त्यसपछि भने नारायण पूर्ण रुपमै माओवादी समूहमा मिसिए। सुरुमा सिन्धुली, उदयपुर र ओखलढुंगातिरका जंगलमा उनको 'शिविर' स्थापना भयो, हतियार बनाउने। दुई-तीन महिनामा एक पटक घर आउँथे। पुन: फर्किइहाल्थे। किनकि घरमा सेना-प्रहरीबाट जोखिम बढिसकेको थियो। यो क्रम झन्डै ६ वर्षसम्म चलिइरह्यो। 
संयोग मान्नुपर्छ, ६ वर्षको अवधिमा उनलाई केही भएन। तर, उनलाई माओवादी युद्धमा लाग्न उत्प्रेरणा दिने गाउँले नेता सरकारी कारबाहीमा मारिए। 'सोमबहादुर माझीको २०५५ र विष्णु पोखरेलको २०५६ सालमा गाउँ नजिकको जंगलमा सरकारी पक्षबाट हत्या भयो,' कटारी–७ का वडाध्यक्ष धनुकमार दनुवार बताउँछन्।
हतियार गाडियो बाँसको झ्याङमा 
संकटकालको बेला हतियार बनाउनु, त्यो पनि माओवादीका लागि। निकै जोखिम मोलेका थिए, नारायणले। उनी मात्र होइन सरकारी पक्षबाट आँखाको तारो बन्थ्यो  सिंगो परिवार। 
हतियार बनाउने सामान लिन भारतसम्म पुग्थे उनी। जाँदा गाडीमा र फर्कंदा पैदल आउँथे। सिरहाका विभिन्न नाकाबाट प्रहरीलाई छक्याउँदै उदयपुरबाट डङ्डङे खोला हुँदै भोर्ले निस्कन्थे।
‘एक कान, दुई कान, मैदान’ भनेझैं उनी माओवादीका लागि हतियार बनाउँछन् भन्ने चर्चा सर्वसाधारणदेखि सेना, प्रहरी, छिमेकी जिल्लासम्म फैलिइसकेको थियो। 
-जस्तो भन्यो त्यस्तै। 
-कति राउन्ड जाने भनी सोधीसोधी बनाउँछ रे। 
-एक पटक हेरेपछि मिस खाँदैन रे। 
-माओवादीका त कैयौं हतियार बनाइसक्यो रे। 
नारायणको सिपको बारेमा यस्तै 'रे'का हल्ला व्यापक भइसकेको थियो।
संकटकालकै समयमा प्रहरी टोली दुई पटक उनको घरमा छापा मार्न पुग्यो। लीलबहादुर भन्छन्, ‘एक पटक आउँदा केही पनि भेटेनन्, त्यसै फर्किए। अर्को पटक आउँदैछ रे सूचना आएपछि दाजुले हतियार र हतियार बनाउने सामान बाँसको झ्याङमा गाड्न भ्याइसकेको थियो। तब मात्रै बाँचियो।’
रहेनन् गुरु मंगले 
नारायणले माओवादी युद्धलाई जति योगदान गरे, त्योभन्दा बढी उनलाई हतियार बनाउन सिकाउने गुरु मंगले विकले गरे। तर, युद्धलाई सहयोग गरेबापत उनले केही पाएनन्। पार्टीप्रति असन्तुष्टि जनाउँदै आएका उनै मंगलेको गत ८ गते काठमाडौं मोडल अस्पतालमा निधन भयो। 
वडाध्यक्ष शमशेरसिंह लामा भन्छन्, 'पार्टीको झन्डा ओढाएर दाहसंस्कार गर्नुबाहेक अरु केही गर्न सकिएन।’
मंगलेमा राजनीतिक सुझबुझ निकै राम्रो थियो। २०३६ सालमा निर्मल लामाको चौथो महाधिवेशन पार्टीमा आबद्ध थिए। त्यसबेलादेखि नै कम्युनिस्ट राजनीतिमा लागेका उनी पछि पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा जनयुद्ध सुरु भएपछि २०५२ सालमा माओवादी प्रवेश गरे।
नारायणकाजी श्रेष्ठ नेतृत्वको जनमोर्चाबाट माओवादीमा आएका वडाध्यक्ष लामा भन्छन्, ‘युद्धकालमा माओवादीलाई उहाँले ठूलो सहयोग गर्नुभएको हो। त्यसलाई बिर्सन सकिन्न।’
भारतका विभिन्न ठाउँबाट सामान ल्याउनु र हतियार बनाउनु युद्धकालमा मंगलेको 'भूमिका' थियो।
मंगले र नारायणको माओवादीले भरपूर उपयोग गरे। ‘मरेको बाख्रोलाई उपियाँले पनि छाड्छ’ भनेझै युद्ध सकिएपछि यी दुवैलाई फर्किएर पनि हेरेन।  पार्टीले बेवास्ता गरेको निधन हुनुअघिसम्म पनि मंगले गुनासो गरिरहन्थे।
सशस्त्र युद्ध सकिएर २०६३ सालमा शान्ति सम्झौता भयो। ज्यान जोखिममा राखेर डटेका मंगलेलाई माओवादीले कतै व्यवस्थापन गरेन। उनी फेरि पहिलेकै आफ्नो पेसामा फर्किए। दैनिकी गुजार्न र परिवार पाल्न आरन चलाए। भुत्ता हतियारमा साँध लगाए। आफूले जानेको हतियार बनाउने कलालाई पनि उनले लुकिछिपी निरन्तरता दिन थालेका थिए।
उनले भोगेको दु:खबारे वडाध्यक्ष लामा भन्छन्, ‘युद्धकालमै दुई-तीन पटक घरमा प्रहरीले छापा मारेको थियो। एक पटक समात्यो र माओवादीमा नलाग्न भन्दै सम्झाएर छाड्यो। एक पटक युद्धकालमै उनलाई प्रहरीले पक्राउ पनि गर्‍यो। एक महिना हिरासतमा बसेपछि छुटेका थिए।' 
हतियार बनाउँदा-बनाउँदै घरैबाट २०६९ सालमा मंगले पक्राउ परे। हातहतियार तथा खरखजना मुद्दामा चार वर्ष कैद सजाय सुनाइयो। २०७२ को भूकम्पपछि ६० वर्षमाथिका कैदीको केही महिना कैद मिनाहा गर्ने सरकारको निर्णयसँगै उनी तीनवर्षे जेल जीवनबाट रिहा भए।  
गह्रुँगो घन उचाल्दै आरनमा फलाम पिटेका र माओवादीका थुप्रै हतियार बनाएका मंगलेका नाडी अब गलिसकेका थिए। रोगले च्याप्न थालिसकेको थियो। रक्सीकै कारण फोक्सो खिइँदो थियो।
स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई दसैंअघि काठमाडौं मोडल अस्पताल ल्याइयो। १० दिन उपचार गरेर डाक्टरले ‘अब सम्भव छैन’ भनेपछि परिवारले फर्काएर घर पुर्‍याए। तर, बचाउन सकेनन्। आर्थिक अवस्था कमजोर भएका उनका पाँच छोरी र दुई छोरा छन्।
२२ वर्षअघिकै अवस्थामा नारायण 
ठूलो संघर्ष र हजारौंको बलिदानीपछि माओवादी राजनीतिको मूलधारमा आयो। देशमा निरंकुश राजतन्त्र हट्यो। जनताको शासन भनिने लोकतन्त्र आयो। तर, जनयुद्धका हिस्सा बनेका नारायणको अवस्था भने २२ वर्षअघिको भन्दा फरक छैन अहिले।
गाउँलेहरुका खुकुरी, हँसिया बनाएर पनि हातमुख जोर्न धौधौ छ, उनलाई। पहिले माओवादीका हतियार बनाएको भन्ने थाहा पाउने पनि आउँछन्, उनीकहाँ। ‘मलाई बन्दुक चाहियो। कति पैसा दिनु?' भन्दै आग्रह गर्दा रहेछन्। तर आफूले सो काम छोडिसकेको उनले बताए। इसाराकै भाषामा ५१ वर्षीय उनी भन्छन्, 'त्यस्तो काम गर्नु हुँदैन। प्रहरीले हत्कडी लगाएर लैजान्छ।'
तर बेलाबेला प्रहरी आएर दु:ख दिने गरेको उनले गुनासो गरे। इलाका प्रहरी कार्यालय कटारीले दुई पटक पक्राउ गरेर लगेको परिवारका सदस्य बताउँछन्। 'पछि हतियार बनाउन छाडेको बुझेपछि आएका छैनन्,' भाइ लीलबहादुरले सुनाए।
राज्यले समेत हेरेन
गाउँमा धेरैले उनलाई गफाडी नै भनेर चिन्छन्, उदयपुरसँग सिमाना जोडिएको दुधौली नगरपालिका–७ का हेमबहादुर हमाललाई। गफैगफमा उनले कुरो चुहाए, ‘भन्दा मान्छेलाई गफ लगाए जस्तो हुन्छ। रिस्कुमा एउटा बुच्चे भन्ने बोल्न नसक्ने मान्छे छ। आर्मी-पुलिसका हतियारभन्दा 'सोलिट' बनाउँछ। माओवादीले समेत अपहरण गरेर हतियार बनाउन लगेको थियो नि उसलाई।’
यस्तो हल्ला पहिले पनि सुनेको थिएँ मैले। रिस्कुतिरै काम गर्ने हमालको कुरामा पक्कै दम छ भन्ने मलाई लाग्यो र दसैंको अष्टमीका दिन बिहान ९ बजे हमालको साथ लागेर म लागेँ रिस्कुतर्फ। रिस्कु २०-२२ किलोमिटर टाढाको ठाउँ भए पनि मेरा लागि नौलो थियो।
मोटरसाइकल जान नसक्ने बुझेपछि साइकल लिएर हिँड्यौं हामी, कटारीपूर्वको रिस्कुतर्फ। बाटो भर्खर खन्दै गरेको अवस्थामा थियो। कहीँ बालुवामा साइकल फस्थ्यो त कतै ढुंगैढुंगाकोको उकालोमा ठेल्नुपर्थ्यो। कैयौं ठाउँमा त साइकललाई काँधमा बोक्नुको विकल्प थिएन।
कटारीबाट तल्लो भोर्ले, माथिल्लो भोर्ले, जंगलको बाटो, खहरे, खोल्सा हुँदै हामी रिस्कु उक्लिन लागेका थियौं। त्यसबेला दिउँसोको १२ बज्नै लागेको थियो। 
रिस्कुका विभिन्न गाउँमा सिकर्मीको काम गरेका हमालले एक-दुई पटक नारायणलाई भेटेका रहेछन्। त्यसभन्दा बढी हिमचिम थिएन। नारायणसँग कुरा गर्न परिचित मान्छेको आवश्यकता थियो मलाई। संयोग, हाम्रै गाउँबाट केही समय पहिला रिस्कु बसाइँ सरेका अम्बरबहादुर विक (कामी कान्छा) नारायणकै बहिनी-ज्वाइँ पर्दा रहेछन्। अम्बरबहादुरलाई अघि लगाएर आधा घन्टा हिँडेपछि हामी नारायणको घर पुग्यौं।
---
बाटोभन्दा मुनि बाँसको भाटाले बारिएको सानो घर। घरकै दक्षिण बाँसघारीको शीतल छहारी नजिकै आरन। आरनको छानो भनेकै आकाश। आगो र अँगारसँग खेलेका नारायणका हातखुट्टा झन् कालो देखिन्थ्यो। दिउँसो १ बजे भेट्दा उनी खुकुरीमा साँध लगाइरहेका थिए।
यही बेला खुसुक्क खल्तीबाट मोबाइल झिकेर उनको एक क्लिक फोटो लिएको मात्रे थिएँ, चतुर नारायणले थाहा नपाउने कुरै भएन। आक्रोशित उनको आँखाबाट अग्निज्वालाझैं निस्कियो। उनी आफ्नै शब्दमा गाली गर्न थाले।
नजिकै रहेका भाइ लीलबहादुर उनीबारे थप विस्तार गर्दै थिए, ‘एक हप्ता भयो, एक दिन फुर्सद छैन उसलाई,' भात पनि पकाएको छैन। चाउचाउ र चिउरा खाएर काम गरेको छ। अलिकति रक्सी खान्छ, पराग खान्छ अनि काम गर्छ।’
OOO
गाउँले नेताद्वय माझी र पोखरेलको हत्या गरिएपछि माओवादीले कटारी–७ रिस्कु चोकमा दुवैको सालिक बनाएको छ। त्यही सालिक नजिकै भएर वैधनाथ खोलो बग्छ। नारायणको घर पुग्न खोलो तरेर उकालो चढ्नुपर्छ। त्यसपछि थोरै आरोलो सकिएपछि बाटोभन्दा तल पर्छ उनको घर। 
माओवादीले बेवास्ता गरे पनि अब गुनासो छैन उनको परिवारमा। तर, राज्यले समेत नहेरेकोमा भने निकै चित्त दुखाएका रहेछन्, लीलबहादुरले।
कान सुन्दैनन्। बोल्न सक्दैनन्। कापी वा भुइँमा कोरेर इसाराले कुरा गर्छन् नारायण। यस अर्थमा उनी बहिरा हुन्। तर, अपांगता भएबापत राज्यबाट पाउने सुविधा उनले पाएका छैनन्। यसबारे वडा कार्यालयमा पटकपटक कुरा गर्दा पनि वडाध्यक्षले नै बेवास्ता गरेको लीलबहादुरले गुनासो गरे। 
‘अपांग भन्न मिल्दैन। हातखुट्टा लागेकै छ। सिप छँदैछ। कमाएर खाएकै छ’ भनेर वडाध्यक्षले भन्ने गरेको उनी बताउँछन्।
यसबारे वडाध्यक्ष धनकुमार दनुवारसँग बुझ्दा उनले अपांगताको परिचयपत्र नहुँदा राज्यबाट पाउने सेवासुविधा नपाएको बताए। ‘ऊ जस्ता अरु अपांगता भएकाले राज्यबाट सुविधा पाएकै छन्। उनको हकमा परिचयपत्र नभएर यस्तो भएको हो,’ वडाध्यक्ष दनुवारले भने।
दसवर्षे सशस्त्र युद्ध छेडेको माओवादीले उक्त अवधिमा धेरै क्षति भोग्यो। त्योभन्दा बढी क्षति राज्यले खेप्नुपर्यो। एमालेसँग एकतापछि अब 'माओवादी पार्टी' रहेन तर नारायणहरु अझै यो देशमा छन्। जोसँग पार्टीले त्यसबेला देखाएको सपना बाँकी नै छ।
धुलाम्य भएर फलाम पिटिइरहेका नारायणहरुले देखेको सपना कहिले पूरा होला?