Saturday, January 19, 2019

धमाधम छुट्दै आरोपी, ३२ अझै फरार, थुनामा कोको?

धमाधम छुट्दै आरोपी, ३२ अझै फरार, थुनामा कोको?

अनुसन्धानको फाइल गृहमै अड्कियो

नारायण अधिकारी
276Shares
 Share
 Tweet
 Share
 Email
Nepal Live

काठमाडौं– उच्च अदातल विराटनगरले ३८ सय किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी आरके ज्वेलर्स न्युरोडका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य र विमल पोद्दारलाई बिहीबार धरौटीमा छोड्ने आदेश दियो। न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले उनीहरु दुवैलाई जनही १० लाख धरौटी माग गर्ने आदेश गरेको थियो। 
 
जिल्ला अदातल मोरङले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरु धरौटी बुझाएर रिहा भए। 
यसरी एकपछि अर्को गर्दै बहुचर्चित सुन तस्करी काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरु धमाधम साधारण तारेखमा छुट्न थालेका छन्।
गत वर्ष माघ ७ गते विदेशबाट आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गायब भएको थियो। सो सुन बेपत्ता पारेको भन्दै तस्कर समूहले सुन भरिया मोरङ उर्लाबारी बस्ने सनम शाक्यलाई अपहरण गरी हत्या गरे। उनको शव विराटनगरमा गत फागुन १८ गते प्रहरीको गाडीमा फेला परेको थियो।
३३ किलो सुनकै कारण शाक्यको ज्यान गएको र सुन तस्करीमा प्रहरीको पनि संलग्नता रहेको आशंकासहित गृह मन्त्रालयले चैत २० गते सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा राष्ट्रिय अनुसन्धान शाखाका निर्देशक हुतराज थापा, वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार लामा, गृह मन्त्रालयका उपसचिव भविश्वर पाण्डे, उपन्यायाधिवक्ता हरि रेग्मी, प्रहरी उपरीक्षक सुदीप पाठक, प्रहरी निरीक्षक भीष्म हुमागाईं, कानुन अधिकृत भोजराज दाहाल र सई सुमन कार्कीसहित थिए। 
समितिले ६३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। उनीहरुमाथि १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको बिगो असुलको माग गरिएको थियो। सन् २०१५ यता पटकपटक गरी भएको सुन तस्करीमा उनीहरूको संलग्नता रहेको गृह मन्त्रालयको छानबिन समितिले ठहर गरेको थियो। तीन वर्षमा अभियुक्तहरूले ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम (झन्डै ३८ क्विन्टल) सुनको अवैध कारोबार गरेको आरोप लगाइएको थियो। 
त्यही ३८ क्विन्टल सुन तस्करीको अभियोगमा ३१ जना पक्राउ परेका थिए भने ३२ जना अझै फरार छन्। 
कोको छुटे साधारण तारेखमा?
सुन तस्करीको आरोपमा पक्राउ परेका ३१ जना मध्ये २१ जना अझै पुर्पक्षका लागि थुनामा छन् भने ९ जना साधारण तारेखमा रिहा भएका छन्।
रिहा हुनेमा एसएसपी दिवेश लोहनी, पूर्व डिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, हवल्दार विष्णु खड्का, प्रहरी जवान अमर थापा, आरके ज्वेलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य, विमल पोद्दार छन्।
थुनामा कोको?
मोरङको उर्लाबारी घर भई काठमाडौं–७, गौरीघाट बस्दै आएका सुन तस्करीमा मुख्य नाइके चूडामणि उप्रेती (गोरे), काभ्रेको मण्डनदेउपुरी गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरी, मोरङ उर्लाबारी–४ का मोहन काफ्ले, झापाको मेचीनगर–१३ का लाक्पा शेर्पा, मोरङ उर्लाबारी–७ का कृष्ण भनिने नरेन्द्र कार्की, काठमाडौं–१६ का भुजुङ गुरुङ, काठमाडौं– नागर्जुन–४, शरणमपुरका डा डेबिट भनिने छिरिङ वाङ्गेल घले छन्। 
त्यसैगरी, भारतको दार्जिलिङ घर भई काठमाडौंको धुम्बाराही चण्डौलस्थित प्रेस्टिज अपार्टमेन्टमा बस्ने चाचौजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल, सिन्धुपाल्चोक लोगर्चे–७ घर भई काठमाडौं–६ बौद्ध आरुबारी बस्ने एलबी मगर भनिने लालबहादुर मगर, काठमाडौं–८ का चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ पनि थुनामा छन्। 
ललितपुर–१४ का सम्बिरप्रसाद तोलाङ्गे, काठमाडौं–९ का ४५ वर्षीय बालकृष्ण श्रेष्ठ, भक्तपुरको सूर्यविनायक–९ खत्रीगाउँका दोराम खत्री, काठमाडौंको नागार्जुन–६ का कपिलराज पुरी, काठमाडौं–८ का गोपालकुमार श्रेष्ठ, ललितपुरको कन्ज्योसोम–३ का ३० वर्षीय तक्ले भनिने पुण्यप्रसाद लामा तामाङ, काठमाडौं चन्द्रागिरी–१३ का हेमन्त गौतम पनि पुर्पक्षका लागि थुनामै छन्।
काठमाडौं–१८ का राजु महर्जन, भक्तपुरको सूर्यविनायक–८ बस्ने ५५ वर्षीय राजन थापा, काठमाडौं–१३, ताहाचलका अमरमान डंगोल, बर्दिया घर भई काठमाडौं–१८ बस्नै आएका तुलाराम थारु, सिरहाको लाहान–६ घर भई हाल काठमाडौं–३२, कोटेश्वर बस्दै आएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत, गुल्मीको साबिक तम्घास–६, स्थायी घर भएका नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री पनि थुनामै छन्। 
फरार हुनेहरु
मकवानपुर हटिया–४ घर भई हेटौंडा बस्दै आएका सुरेन्द्र गौतम, झापा गौरादह–८ का मामा भनिने भोजराज भण्डारी, झापाको मेचीनगर–१३ का रुस्तम मियाँ भनिने मोहमद उस्तम मियाँ, सोलुखुम्बुको दूधकुन्ड–८ का टुकबहादुर मगर, मोरङको उर्लाबारी–२ का माधव भनिने मदनप्रसाद घिमिरे फरारको सूचीमा छन्। 
सिरहाको धनगढी माई नगरपालिका–१२ का रोहित आचार्य, उर्लाबारी–४ का भविन राई भनिने भविन तामाङ, भारतको मोतियारी भेरियारी ग्राम पञ्चायत थाना आधापुर–१४ घर भई गौरीघाटमा रहेको थ्री बदर्स गाडी ग्यारेजमा काम गर्दै आएका राजनकुमार, सुनसरीको धरान–२ का कृष्ण बस्नेत अझै फरार छन्। 
सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई काठमाडौं–२९, अनामनगर बस्ने एमके मामा भनिने मोहनकुमार अग्रवाल, सुनसरीको धरान–२ का बहुला भनिने सुनिलकुमार अग्रवाल, झापाको शिवगञ्ज–१, हाल शिवसताक्षी घर भई हाल काठमाडौंको चन्द्रगिरी बस्दै आएका कालु भनिने कृष्ण गोपाल अग्रवाल पनि फरारको सूचीमा छन्।  
मोरङको उर्लाबारी–७ घर भई काठमाडौं–७, गौरीघाट बस्ने रमेश उप्रेती, काठमाडौं–९, एयरपोर्टअगाडि रहेको बाजेको सेकुवा कर्नरका चेतन भनिने चेतनाथ भण्डारी, काठमाडौं–३१, बानेश्वरस्थित भैरव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस प्रालि, न्यूरोडका सञ्चालक प्रमोदकुमार श्रेष्ठ, सुनसरीको इटहरीका वेनु श्रेष्ठ पनि फरार छन्। 
त्यसैगरी, काभ्रेको चलाल गणेशस्थान–६ घर भई हाल बेथान चोक–४ बस्दै आएका हरिशरण खड्का, बागलुङको साबिक रेसा–४ घर भई हाल काठेखोला–७ बस्ने कमल कार्की, काठमाडौं–१६, खरिबोटका मणिराज चौलागाईँ, सिन्धुपाल्चोक जलजले बस्ने शिवकुमार गुभाजू, सुनसरी धरान–१ घर भई काठमाडौं शान्तिनगरका वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस प्रालि, न्यूरोडका सञ्चालक ५० वर्षीय सुनिल श्रेष्ठ र सोही प्रालिकी गीता श्रेष्ठ पनि फरार छन्।
भोजपुर, दिङ्ला घर भई काठमाडौंको कागेश्वरी मनोहरा–३, गगननगरकी आरबी भनिने रक्षा भण्डारी, मोरङको साबिक गोविन्दपुर–८ घर भई हाल काठमाडौं बस्दै आएका अर्जुनप्रसाद खरेल, पर्वतको साबिक झोर्ले गाविस–१ घर भई हाल पैयूँ–७ बस्दै आएका रोशन भुसाल भनिने गुप्तलाल भुसाल, काभ्रेपलान्चोकको साबिक चलाल गणेशस्थान–४ का रामहरि कार्की, कास्कीको साबिक निर्मल पोखरी–८, हाल पोखराको लेखनाथ–२१ का प्रयास पराजुली, सिन्धुपाल्चोकको बलेफी–५ का सञ्जय अधिकारी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। 
सिन्धुपाल्चोकको बलेफी–५ का समिर अधिकारी, मोरङ उर्लाबारीमा स्थायी घर र काठमाडौंको गौरीघाट बस्दै आएकी नर्वदा खरेल उप्रेती, मोरङको कानेपोखरी–४ का माधव आचार्य, मोरङको साबिक गृगौलिया–२, हाल सुन्दरहरैचा–२ बस्ने ओमप्रकाश नेवार पनि प्रहरीको फरार सूचीमा छन्। 
'कोको फरार कोको थुनामा भन्नेबारे हामीकहाँ फाइल आइपुगेको छैन। गृहमै फाइल अड्किएकाले फरारको खोजी गर्ने आधार हामीसँग छैन,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने।
फरार ३२ मध्ये चार जनालाई पक्राउ गर्न प्रहरीले रेड कर्नर नोटिस जारी गरेको छ। दुबईमा होटल व्यवसाय गरिरहेका रामशरण खड्का, दुबई बस्दै आएका गोरेका भाइ रमेश उप्रेती, सुन तस्करीमा मुख्य लगानीकर्तामध्येका मोहनकुमार अग्रवाल र बेनु श्रेष्ठविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो।
तस्करी भएको साढे ३३ किलो सुन अझै फेला परेको छैन।

No comments:

Post a Comment