नलेखिएको एउटा समाचार
- Friday, Jun 03, 2016
- 06:48 AM ( 3 years ago )
- Total Views: 29.4 K
नारायण अधिकारी
मैले प्रहरी रोएको कहिल्यै देखेको थिइन । बाल्यकालदेखि प्रहरी बहादुरीका प्रतीक थिए मेरा लागि । तर त्यो दिन बर्दीको एउटा सिपाहीले आफ्ना बालबच्चाको भविष्य सम्झिँदै आँसु चुहाए । त्यो आँसुले म पग्लिएँ । पग्लनु हुन्थ्यो कि हुन्नथ्यो, तर म पग्लिएँ ।
– नहुनु गल्ती भैहाल्यो, अब त्यस्तो कहिल्यै हुन्न हजुर । (ठूलो गल्तीपछिको पश्चाताप झैँ रामबहादुर (नाम परिवर्तन) कालो अनुहार लगाएर विनय गर्न थाले)
– त्यस्तो सानो कुरामा तपाइँले त्यस्तो गर्न नहुने ...
– हो नि ! बुद्धि बिग्रिएर के भो के, तर अब त्यस्तो कहिल्यै गर्दिन, नियम अनुसार नै काम गर्छु, तपाइँले मेरो आँखा खोलिदिनुभयो । (रामबहादुर घोसेमुन्टो लगाएर निराश देखिए )
औँला किबोर्डमा पुर्याउँछु, अहँ मन मान्दैन । तैंले यो लेख्नु उचित छैन भन्छ । मस्तिष्कले लेख्न खोज्छ, मनले दिँदैन । मन र मस्तिष्कको द्वन्द्व चलिरहन्छ । न मनले हार्न सक्छ न मस्तिष्कले जित्न । अन्तिममा मन र मस्तिष्कलाई ‘विन विन’ स्थानमा राख्दै लेख्दैछु । थाहा छैन रामबहादुरको आशुँले पग्लिएर वा नलेख्दा स्वयमलाई हुने पीडाबाट बच्न । तर लेख्दै छु ।
सँधै झैं त्यो दिन पनि अफिसमा एडिटोरियल मिटिङ बसियो । चालकको अनुभवबारे मैले रिर्पोटिङ गर्नुपर्ने भयो । चक्रपथ पुगेर गाडी चढेँ ।
चालकका दुःख सुखका कुरा गर्दै जाँदा एकजना चालकले ट्राफिकले दुःख दिने गरेको प्रसँग उठाए । सिकारी कुकुरको जस्तै चनाखो भएका मेरो कानले यो कुरा सुन्ने बित्तिकै पक्कै यहाँ केही होला भन्ने लाग्यो ।
‘के दुःख दिन्छन् ? ट्राफिक नियम पालना गर्नुहुन्न होला अनि दुःख दिन्छ भन्नुहुन्छ !’ मैले सोधें ।
‘मैले गल्ती नै नगरी जरिवाना तिरेको छु । कत्रो तनाव पाएको छु’ उनले भने ।
उनले आफ्नो कहानी यसरी बताए - त्यसदिन अर्को गाडीले बाटो काट्न लाग्यो मैले गाडी रोक्नुपर्ने भयो । रोकेँ । एकजना महिला मेरो गाडीबाट झर्नुभयो । यात्रु नझार्ने ठाउँमा किन झारेको भन्दै एकजना ट्राफिकले कागजपत्र मागे । मेरो गल्ती छैन । जामको बेलामा यात्रु झारेको हुँ । मेरो गल्ती नभई किन दिने, म दिन्न भन्दै अघि बढेँ । तर उनले मलाई पिछा गरे र समातेर चौकीमा पुर्याए ।
चौकी गाडी पुगेपछि मैले के गल्ती गरेँ चिट काट्नुस् कतिको काट्नु हुन्छ । म तिर्न तयार छु । तर मेरो गाडी छोड्दिनुहोस् भनें । (चालकको अनुहारमा त्यस दिनको रिस प्रष्टै देखिन्थ्यो)
उनले हाकिमले नभनी छोड्न मिल्दैन भने । त्यहाँ मेरो मात्र गाडी थिएन, अर्को एउटा लेन मिचेको गाडी पनि थियो । हामी दुईजना चालक दिनभर त्यतै वरपर गफ गरेर बस्यौं, गाडी छुटाउने आशामा । तर गाडी छुट्ने छाँटकाँट देखिएन ।
के गर्ला र भन्ने सोचाईमा थिएँ । तर १ रुपैयाँको चिट नकाटीकन १२ बजे समातेको गाडी बेलुका ६ बजे छुट्यो ।
के गर्ला र भन्ने सोचाईमा थिएँ । तर १ रुपैयाँको चिट नकाटीकन १२ बजे समातेको गाडी बेलुका ६ बजे छुट्यो ।
चालकको यो कुरा सुनेर मलाई अचम्म लाग्यो । ट्राफिकको पनि कुरा सुनौं न त भनेर ट्राफिक कार्यालय जाँदा म तीनछक परेँ । चालकले भनेको एकएक कुरा ट्राफिकले नकार्न सकेनन् ।
– रामबहादुर सर हुनुहुन्छ ?
– बाहिर गएका छन् बस्दै गर्नुस् न ।
(ट्राफिकको बर्दीमाथि कालो ज्याकेट लगाएका २९/३० वर्षको जवान काँधमा सिलिण्डर बोकेर पसिना चुहाउँदै भित्र छिरे)
– मलाई भेट्न को आउनु भाछ भन्या ? (अनुहारमा उत्सुकता देखाउँदै रामबहादुरले सोधे)
– तपाई रामबहादुर हो ?
– हो । मैले त तपाईलाई चिनिन त ।
– कुरा गर्दै गएपछि चिनिहालिन्छ नि (म रामबहादुरलाई नियाल्दै थिएँ)... अस्ती एउटा गाडी यहाँ १२ बजेदेखि ६ बजेसम्म बसेछ है ? (लामो कुरा नगरी जे कामका लागि आएको त्यहि प्रसंग जोडेँ)
– खै होला ..कति हुन्छन् कति ..यादै हुन्न । (झिझ्यार मानेजस्तो गरेर रामबहादुर बोले) तपाईं समितिबाट हो ?
– ‘हैन’ मैले भनेँ । अनि ६ घण्टा गाडी बस्दा पनि चिट नकाटी पठाउनुभएछ नि किन त ? (सोध्दा नसोध्दै रामबहादुरको अनुहार कालो भैसकेको थियो)
– तपाई मेट्रोबाट हो ? (केही डराए जस्ता देखिएका रामबहादुरले सोधे)
– ‘हैन’ । (मैले हैन भनेपनि रामबहादुर हो जस्तो पारामा मलाई हेर्दै थिए)
यतिकुरा हुदाँसम्म त्यहाँ ठूलै ज्वालामुखी विष्फोट हुन लागेजस्तो, आँधी तुफान आउन लागेजस्तो भयो । रामबहादुर घोसेमुन्टो लगाएर आफू बसेको कुर्सीको हात राख्ने ठाउँ कोट्याउन थाले ।
– अनि चिट काट्नु भएन..ठिकै छ । चिट नकाटेपनि मासु चाहिँ किन किन्न लगाउनुभयो नि, एउटा गल्ती गरिसकेपछि फेरि दोहोर्याएर गल्ती गर्ने ? (चालकसँगको कुराकानीमा उनले ट्राफिकले आफूलाई दुई किलो मासु किन्न लगाएर छाडिदिएको बताएका थिए, यहाँ रामबहादुरको हावभाउले त्यो कुरा हो भनेर पुष्टि गरिरहेको थियो)
– के गर्नु हजुर यस्तै भयो, गल्ती भइहाल्यो । (ओठमुख सुकिसकेका रामबहादुरले घोसेमुन्टो लगाउँदै मलिन स्वरमा भने)
उनी बोल्न छाडे । एकतर्फी मात्र कुरा हुन थाल्यो । उनी बोल्न नसकेर मुन्टो मात्र हल्लाउँथे ।
– एकै छिन है । (हतारिँदै उनी आफ्ना हाकिम सइ भएको ठाउँमा गए)
रामबहादुर सिर निहुर्याउँदै सइसँग कुरा गर्दै थिए । सइले टाउको कन्याउन थाले । पुलुक्क झ्यालतिर हेरे । रामबहादुरको शिर निहुरेका थियो । त्यो बेला सइले के सोचे मैले अनुमान लगाउन सकिन । सइ हतारिँदै म भएतिर आए।
– त्यसो त नगर्नु पर्ने ...कसरी गरेछ त ! (कुराको चुरो बुझ्न खोजे सइले)
– ल सर केटाहरुले गल्ती गरिहालेछन्, तपाईंले हाम्रो आँखा खोलिदिनुभयो, अब यस्तो हुँदैन ।
(रामबहादुरकै कुरा दोहोर्याउँदै थिए सइ । त्यो २ किलो मासुको बराबर साझेदार उनी पनि । तर उनका आँखामा रामबहादुरका जस्ता पीडा थिएनन् । ग्लानी थिएनन् । न पश्चाताप नै । मात्र शब्द पुकार गर्दै थिए । पीडा बुझाउन खोज्दै थिए । मेरा आँखा सइबाट हटेर रामबहादुरलाई हेर्दै थिए । अझै झुकेको रामबहादुर । कस्तो पीडा, कत्रो पश्चाताप । साच्ँचै गल्ती गरेँ भन्ने थियो उनका आँखामा)
– सरले समस्या बुझिदिुन पर्यो (सइको अनुरोध थियो मसँग, अनुरोधसँगै उनी बाहिरिए । अब बाँकी थिए उनै निराश रामबहादुर)
– सर म डुबेँ, सकिएँ (शब्दको करुणासँगै हात जोडेर खडा रामबहादुर साँच्चै टीठलाग्दा देखिएका थिए । बर्दीको एउटा सिपाही आँखामा आँसु निकालेर करुणामिश्रित स्वरमा पश्चाताप गर्दा कसको मन नपग्लेला ? )
– बुबाले पनि ज्योतिषलाई हात हेराउँदा तेरो जागिर जान्छ भन्थे, अब मेरो जागिर जाने भयो सर म के गरुँ ? मिलाउन मिल्दैन र सर ! (आँखामा छचल्किसकेको आँसु रामबहादुरले थाम्न सकेनन्)
मसँग जवाफ थिएन । पाक्न लागेको बालीमा आँधी तुफान आउन लागेजस्तो भर्खर तलब बढेर जीवन धान्न अलिकति सहज हुन लागेको बेला जागिर जाने भयो भनेर सोच्दै उनी त्यसपछिको भविष्य के गर्ने भन्ने विकल्पतर्फ समेत जान थालेका थिए ।
– भर्खर घरबाट श्रीमती ल्याएको छु, दुई छोराछोरी छन् । अब के गरेर पालौं सर ?
(रामबहादुरलाई के भनौँ, कसरी पाल भन्नु उसका परिवार । नराम्रो काम नराम्रो नै हो । तर खानेले कति कति खाए । सिपाही रामबहादुर दुई किलो मासुमा कसरी फसोस् । के गरौँ ! रामबहादुर जत्तिकै तनावमा परेँ म, साँच्चै फस्छ कि के हो रामबहादुर !!)
– महाशाखाले थाहा पाएको छ कि छ्रैन ? (अब उनको स्वर बदलिएको थियो, आँखा अर्कै के बुझ्दै थियो कुन्नि निकै राता देखिएका थिए । झर्न नसकेर टल्किरहेका आँशुका थोपाहरु) अब यो समाचार मेरो घरमा पनि सुन्छन् ? उनले प्रश्न गरे।
– देशका दुईसय भन्दाबढी एफएमबाट बज्छ किन नसुन्नु नि ? (मैले यति भन्दा हजारौँ बिच्छीले एकैपटक टोकेजस्तो उनको शरीरबाट चिट्चिट् पसिना आउन थालिसकेको थियो)
– ओहो ! सबतिर सुन्छन् हैँ (काँपेको स्वरमा बोल्दै थिए उनी)
– सर उता जाउँ न त चिसो खाँदै कुरा गरौँ (रामबहादुर आफूले जानेको फकाउने तरिका प्रयोग गर्दैछन् भन्ने मैले बुझेको थिएँ । मैले कृत्रिम हाँसो हाँसेर उनको प्रस्ताव अस्वीकार गरेँ)
– अब के गर्ने ! जे भएपनि भोग्नै पर्ने भयो (यतिबेला बल्ल सिपाही जस्ता देखिए रामबहादुर, दृढता देखाए । जे हुनु भयो, जे पर्ला पर्ला)
– सरको नम्बर पाउँ न (म निस्कन लागेको बुझेर रामबहादुरले भने)
यो गजब्बको समाचार हो लेख्नुपर्छ, अरुले यस्तो नगरुन् भन्नका लागि पनि लेख्न पर्छ । (अफिस फर्किरहँदा मेरो मनमा रामबहादुर मात्र थियो) अहँ त्यसो हैन । बिचरा एउटा सिपाहीले जाबो दुई केजी मासु खाएको छ । करोडौं भ्रष्टाचारका घटना दिनदिनै आइरन्छन् ।
उसले फेरि गल्ती पनि स्वीकार गरिसक्यो । अर्को मनले भन्छ, होइन एकपटकमा पो दुई किलो मासु यस्तो कति भ्रष्टाचार गरिसक्यो त्यसले, लेख्नपर्छ । लेख्नपर्छ भन्ने मन अगाडि रामबहादुरका रुञ्चे अनुहार आयो । सँगै आए उसका श्रीमती र छोराछोरी । ती सबैको अगाडि देखेँ मेरा गाउँका सिपाहीहरु । अर्को मनले सोच्यो, गल्ती स्वीकार गरेर अब त्यस्तो हुँदैन भन्नु नै उसको महानता हो । होस् अब खाँदैन रामबहादुरले दुई किलो मासु ।
No comments:
Post a Comment