Saturday, January 19, 2019

पूर्वराजदूत झा हत्या : प्रहरीको लेन्समा फेरि सानुकान्छा

पूर्वराजदूत झा हत्या : प्रहरीको लेन्समा फेरि सानुकान्छा

नारायण अधिकारी
837Shares
 Share
 Tweet
 Share
 Email
Nepal Live
काठमाडौं– प्रहरीकै भनाइ सापट लिएर भन्ने हो भने पूर्वराजदूत केशवराज झाको हत्या रहस्यमय अपराधमध्ये पनि अझै रहस्यमय घटना हो। अपराध अनुसन्धानमा अब्बल मानिएका प्रहरी अधिकृत र उनको समूहले तीन महिनासम्म अनुसन्धान गर्दा पनि हत्याको घटनाको गुत्थी पत्ता लगाउन सकेको छैन। 
यद्यपि प्रहरीले घटनाबारे उपलब्ध सूचनाहरुको विश्लेषण गर्दै धरौटीमा छुटेका एक व्यक्तिलाई पुनः अनुसन्धानको लेन्सभित्र पार्दैछ। ती व्यक्ति हुन् फ्रान्सका लागि पूर्वराजदूत झाको घरमा भान्सेको काम गर्ने सानुकान्छा तामाङ। 
गत भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय बयोवृद्ध झाको हत्या भएको थियो। झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा ४ र घाँटी छेउमा २ पटक प्रहार गरेर हत्या गरिएको विवरण प्रहरी मुचुल्कामा उल्लेख छ।
मध्यराति घरभित्र सुतिरहेको अवस्थामा झाको हत्या भएपछि अनुसन्धानमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले टोलीले झाकै घरमा पाले बसेकासँगै भान्छेको काम गर्दै आएका सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङलाई पक्राउ गरेको थियो। 
झा हत्या आरोपमा पक्राउ परेका उनीहरु भदौ २९ गते ८-८ हजार रुपैयाँ धरौटीमा छुटेका थिए। महाशाखाले तीनैजनाको पोलिग्राफ परीक्षण गरेको थियो जसमा आइतसिंह र जयबहादुरले झुटो नबोलको पत्ता लागेको थियो भने सानुकान्छाले झुटो बोलेको त्यसबेलै पत्ता लागको थियो। 
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन् ‘अदालतले समेत पोलिग्राफलाई प्रमाणका रुपमा नलिने भएकाले त्यसैलाई आधार मानेर मुद्दा चलाउने कुरा भएन। त्यसपछि सानुकान्छालाई पनि छाड्यौं।’ 
पोलिग्राफपछि प्रहरीले सानुकान्छाको नार्को परीक्षणसमेत गरेको थियो। नार्को परीक्षण भनेको औषधी खुवाएर अर्धचेत बनाई मनोविज्ञले प्रश्न सोध्ने विधीको नाम हो। त्यसमा समेत कुनै ‘क्लु’ फेला परेको थिएन।
फिंगर प्रिन्टमा समेत केही नदेखिएपछि अन्तत सानुकान्छा प्रहरीबाट छुटेका थिए। 
प्रहरीबाट छुटे पनि महाशाखाको टोलीले उनीमाथि सुक्ष्म निगरानी भने गरिरहेकै छ। त्यसपछिका अनुसन्धानले अहिले धेरै कुरा सानुकान्छा तामाङलाई इंकित गरिरेहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी बताउँछन्।
घटनालगत्तै अनुसन्धानमा खटिएको प्रहरीले तालिमप्राप्त जर्मन सेफर्ड जातको म्याक्स नामक कुकुर अनुसन्धानमा परिचालन गरेको थियो। त्यसेबला म्याक्सले पनि तामाङतर्फ इंकित गरेको भनाइ प्रहरीको छ। 
पोलिग्राफमा धेरै कुरा ढाँट्नु र कुकुरले समेत केही संका गर्ने ठाउँ देखाउनुले सानुकान्छामाथि अझैं शंका गर्ने ठाउँ रहेको महाशाखाको टोलीले बताउँदै आएको छ।
त्यसैगरी हत्यामा प्रयोग भएको चक्कु झाको भान्साको हुनु र उनी आफैं भान्छे भएकाले संका गर्ने ठाउँ त्यहाँ पनि भएको प्रहरीले जनाएको छ। पूर्वराजदूत झाले प्रयोग गर्ने सिरानी पनि सानुकान्छाले प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको छ।
केही तथ्यहरुले सानुकान्छालाई इंकित गरे पनि प्रहरीले प्रष्ट प्रमाण जुटाउन सकेको छै्रन। यदी सानुकान्छाले हत्या गरेको भए त्यसको कारण के त? यो प्रश्नको जवाफ समेत प्रहरीले पाउन सकेको छैन। 
‘ल सानुकान्छाले नै हत्या गरे रे। तर हत्याको पछाडिको मोटिभ चाहिँ के त? हत्या गरेर केही लुटिएको समेत छैन। हत्याको मोटिभ नै पत्ता लाग्न नसकेको अवस्थामा यही नै हो भन्न सक्ने अवस्था पनि छैन,’ प्रहरी स्रोतले भन्यो, ‘तर उनीमाथिको संका ९० प्रतिशत छ । प्रमाण छैन।’
यदि सानुकान्छाले नै हत्या गरेका भए किन गरे?, हत्याको कारण के? हत्या पछि किन उनले झाको साथमा रहेको रकम समेत लगेनन्? जस्ता कुराको उत्तर र प्रष्ट प्रमाण जुटाउन नसक्दा प्रहरी अहिले हत्यारा यही हो भन्न सक्ने अवस्थामा छैन। 

No comments:

Post a Comment