Sunday, January 20, 2019

एक चपरी माटो नभएका माटे मुसहर भित्र्याउँछन् डेढसय मुरी धान

एक चपरी माटो नभएका माटे मुसहर भित्र्याउँछन् डेढसय मुरी धान

नारायण अधिकारी/उज्यालो ।

काठमाडौं, मंसिर ३ – बिहान आठ बज्दा नबज्दै गाउँले माटे मुसहरको खोजीमा हुन्छन् । ‘माटे एक दिन बिरामी भए भने त हाम्रा लागि पहाडै पल्टिए जस्तो हुन्छ’ स्थानीय मनोज नेपालले भने, ‘माटे आठ बजिसक्दासम्म देखा परेनन् भने हामी उनलाई खोज्दै घरै पुग्छौं ।’

माटे मुसहर । उमेर ३२ वर्ष । पातलो अग्लो कद, कालो वर्णका माटे मुसहरले अक्षरसम्म खुट्याउन सक्दैनन् । तर उनलाई व्यवहारिक ज्ञानले अंकसम्म गन्न सक्ने बनाएको छ । अंक गन्छन् तर लेख्न जान्दैनन् । सम्पत्तिको नाममा आधा स्याउला र आधा टायलले छाएको छाप्रो । यस्ता माटे मुसहर सिन्धुलीको दुधौली नगरपालिका स्थित सुगाँरे गाउँका बासिन्दाको खोजीका पात्र हुन् । चैत, वैशाखको उखरमाउलो गर्मी होस् या पुस, माघको ठिही, असार साउनको भेल होस् की झरी । केहीको प्रवाह छैन माटे मुसहरलाई । दसैंको टिका होस् या तिहारको देउसी माटेलाई ३६५ दिन नै उही । माटेको जिन्दगी नै उज्यालो भएदेखि बेलुका आँखा देखुन्जेलसम्म खोलामै बित्छ । उनको मात्रै हैन उनको हजुरबुबा र बुबाको जिन्दगी पनि यसरी नै बित्यो । 

माटे मुसहर गाउँलेका घरघर जान्छन् गोठका गाई गोरु फुकाउँछन् । घरधनीले पनि उनलाई सहयोग गर्छन् । बिहान आठ बजे फुकाएका गाई गोरु बेलुका आँखा देख्ने बेला घर आइपुग्छन् । गाउँलेको भरोसा हुन् माटे मुसहर । सहयोगी हुन् । अनि उनीहरुको जिन्दगीको एक अभिन्न अंग ।

माटे मुसहर नहँुदा के होला सोच्न सम्म सक्दैनन् उनीहरु । माटे नहुने हो भने गाउँका केटाकेटीको पढाई बिग्रन्छ । ठिटाठिटीले घुम्ने समय पाउँदैनन् । अभिभावकलाई घर धन्दा र बस्तुभाउको चिन्ता थपिन्छ । यसैले पनि माटे मुसहर उनीहरुको आँखाका नानी जस्ता छन् । 

गाउँलेकै सेवामा बिते माटेका हजुरबुबा  । सेवामै बिते बुबा पनि । माटेका हजुर बुबाको नाम माटे स्वयमलाई थाहा छैन । हजुरबुबाको नाम सोध्दा उनी अकमकाउँछन् । ‘मैले पनि सुनेको हुँ, देखेको छैन, उसले पनि गाउँभरीका गाइवस्तु हेर्थे, अहिले म हेर्छु’ माटे अक्मकिए...।  

माटेलाई आफ्नो बुबाको बारेमा थाहा नभए पनि गाउँका वयोवृद्धहरुलाई उनका हजुरबुबाका बारेमा राम्रोसँग थाहा छ । ‘उनी पनि माटेजस्तै थिए । अहिलेको जस्तो बगरमा गाई गोरु चराउने चलन थिएन । चुरे जंगल लानु प¥थ्यो । चैत बैशाखमा जंगलमा आगो लाग्न थालेपछि र पानी सुक्न थालेपछि मात्र बगरमा चराउने चलन थियो, माटेका हजुरबुबाले यसरी गाउँ भरीका बस्तु हे¥थ्यो’ ९२ वर्षे स्थानीय प्रतिमान लुईंटेलले भने ।  

माटेका हजुरबुबाले बस्तु चराउँदा ९/१० महिना वस्तु जंगलमै हुन्थे । माटेका हुजुरबुबा र हजुरआमा जंगलमै वस्तु चराएर बस्ने र महिनामा एक पटक गाउँ आउने गर्थे । गाउँ आएको बेला वस्तुलाई खुवाउन नुन र आफूलाई खाने सामल लिएर माटेका हजुरबुबा र हजुरआमा जंगल जाने गरेको प्रतिमान लुईंटेलले बताए । बाँसुरी बजाउन सिपालु माटेका हजुरबुबाले रुखमा चढेर बाँसुरी बजाएपछि वस्तु कराउँदै उनको वरपर आउने गर्थे र उनले नुन खुवाउँथे । यसरी जीविका चलाएका माटेका हजुरबुबाको २०२५ सालतिर ज्यान गएको वृद्ध लुईंटेलको भनाई छ ।  

यसरी अरुको वस्तु चराएरै आफ्नो ज्यान गुमाएपछि उनका छोरा झेउला मुसहरले बुबाको बिंडो थाम्दै गाउँलेका वस्तु चराउन थाले । जंगलमा चर्न बानी परेका वस्तु झेउलाले बगरमा चराउन थाले । झेउला बिहानै उठ्थे र गाउँलेका घरका गोठ गोठ गएर वस्तु फुकाउँदै चराउन लान्थे । वस्तु लाने र ल्याउने बेलामा दुःख देला भनेर उनलाई श्रीमतीले साथ दिन्थिन् ।  

झेउला कुमका छाता भिर्थे र हातका सानो पोको बोकर वस्तु धपाउँदै बगर जान्थे । घरबाट लगेको उनको पोको दिउँसो २ बजे खुल्थ्यो । उनको पोकोमा चिउरा, खुर्सानी, घुँगी, माछा, भुजा, दालमोट जस्ता खाजाका परिकार हुन्थे । तावा खोलाको किनारमा बसेर चिउरा खाँदै कलकल बगेको खोलाका पानीले तिर्खा मेट्थे झेउला । सधै तावाको खोलाको पानीले तिर्खा मेट्ने झेउलालाई तावा खोलाले नै निल्यो ।   

माटेको जिन्दगी पनि उनको बुबाको जस्तै छ । उनको बुबा र अहिलेको समय बदलियो । तर माटेको जिन्दगी बुबाको भन्दा फरक हुन सकेको छैन । गाउँभरीका वस्तु माटेका साथी । तिनसँगै बोल्छन्, खेल्छन् । मानिससँग भन्दा धेरै वस्तुसँग बितेको छ माटेको जिन्दगी । 

माटे बडो सादगी छ । न नयाँपनको चिन्ता न उही जिन्दगीको समस्या । माटेलाई केहीको लोभ छैन, केहीको आशा छैन । आज उही, भोली उही । माटेको चिन्ता, खुसी सबै बस्तुसँग जोडिएको छ । गाउँलेले नयाँ बस्तु किन्दा र गाई ब्याउँदा भने माटेलाई चिन्ता थपिन्छ । ‘अब फेरी हेर्नुपर्ने बस्तु थपियो । ती नयाँलाई पुरानो बथानमा घुलमिल कसरी गराउने ?’ माटेले आफ्नो व्यथा सुनाए ।   

देख्नेहरु दंग पर्छन् । कति सरल छ माटे । बिहान खायो, बेलुका खायो उसँग अरु लालसा छैन । मान्छे अगाडि बढ्न हजार झिर्किनी दाउ चलाउने समयमा माटेको सोझोपनले मानवीय गुण प्रष्ट्याएको छ । देख्नेलाई लाग्छ माटेलाई दुःख छ । तर माटेलाई लाग्दैन उसलाई दुःख छ । उ सुखी छ । सुख भन्नु सन्तुष्टि हो भन्ने माटेको जिन्दगीको अनुपम बुझाई हो । गाउँलेका कति छोरा खाडीतिर हिँडेका छन् । माटे उनीहरुकै आँखा अघि सम्भावना बनेर उभिएको छ । उनीहरुकै बस्तु माटेको जिम्मामा छ ।  गाउँका ५० घर भन्दा बढीका झण्डै डेढसय हाराहारी वस्तु हेर्छन् माटे । माटेकै भरोसामा ढुक्कले निदाएका छन् गाउँले । गाउँले जीवन आधा समय त बस्तुको चिन्तामै बित्छ । तर सुगाँरेका बासिन्दालाई त्यो चिन्ता परेको छैन । उनीहरुसँग माटे छ । उनीहरु ढुक्क छन् । दिनभर वस्तु चर्छ र बेलुका घर आएर आरामले निदाउँछ ।

यसरी गाउँभरीका डेढसय वस्तु हेर्ने माटेले चाहिँ के पाउँछन् त ? यिनै वस्तु हेराइबाट हजुरबुबा र बुबाको जस्तै माटेको पनि जिन्दगी गुजारा भएको छ । माटेले छोराछोरी र श्रीमती यिनै वस्तुबाट पालेका छन् ।  ‘लैनो गाई हुनेबाट दिनको एक माना चामल लिन्छु, एक हल गोरुको वर्षदिनमा दुई मरी धान, एउटा गाईको वर्ष दिनमा एक मुरी धान’ माटेले आफ्नो कमाइ सुनाए । खेतको नाममा एक चपरी पनि नभएका माटेले वर्ष दिनमा डेढसय मुरी धान भित्र्याउने बताए । 

डेढसय मुरी धान भित्र्याउन तीन बिगाहा जमिन चाहिन्छ, गाउँमा एका दुई बाहेक माटेको जति धान भित्र्याउने कमै होलान् । त्यही धानबाट गुजारा चलाएका छन् माटेले । आफूलाई धेरै भएको धान बेच्ने र नुन तेल तथा लताकपडा किन्ने गर्छन् माटे । 

No comments:

Post a Comment