Thursday, September 26, 2019

प्रहरी दुई दशकदेखि हेलिकोप्टर मागेको माग्यै, भिआइपी र सेनाका लागि आएको आयै

भर्खरै भित्रिएको डेढ अर्बको हेलिकोप्टर सेनाकै कमान्डमा

 नारायण अधिकारी |  २०७६ असोज ६ सोमबार | Monday, September 23, 2019  १७:३३:०० मा प्रकाशित
काठमाडौं-
-संखुवासभाको धर्मदेवी नगरपालिका-८ स्थित खाँदबारी-धनकुटा सडकखण्डको अक्कड भीरमा बिरामी लिएर आउँदै गरेको बोलेरो जिप अरुण नदीको घुमाउने दहमा खस्यो। चालकसहित ६ जना बेपत्ता भए। खोजतलासका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरी बलका गोताखोरसहित ४ जनाको टोली बिहीबार घटनास्थलतर्फ गयो। 
-तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार एयर डाइनेस्टीको कलसाइन ‘नाइनएन एमआई-एसएस ३५० बिथ्रिई’ हेलिकोप्टर गत फागुन १५ गते ताप्लेजुङको फुङलिङस्थित तारेभीरमा दुर्घटना भयो। सवार सबैले ज्यान गुमाए। बिना हेलिकोप्टर उक्त स्थानमा उद्धारका लागि जानु प्रहरीलाई असम्भव थियो। त्यही भएर नेपाली सेनाको एमआई-१७ हेलिकोप्टरमार्फत प्रहरी घटनास्थल पुगेर उद्धारमा खटियो।
-गत जेठ १९ गते राति सोलुखुम्बुस्थित छेस्काम प्रहरी चौकीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कब्जाको प्रयास गरेको सूचना सञ्चारमाध्यममा चुहियो। विप्लव समूहले चौकी नै कब्जा गर्न खोजेको जानकारी पाएपछि काठमाडौंबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३ दर्जन सुरक्षाकर्मी सेनाको हेलिकोप्टरमार्फत सोलुखुम्बु गएको थियो।
माथिका तीन उदाहरण प्रतिनिधि घटना हुन्। ती दुर्घटनामा उद्धारका लागि जाने प्रहरी टोलीले सेनाको हेलिकोप्टर प्रयोग गरेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल हरेक प्राकृतिक प्रकोप, आपतविपद, दुर्घटना, उद्धार, विशेष अपरेसनमा खटिनुपर्ने भएकाले सेनाको हेलिकोप्टर माग्नुको विकल्प छैन। किनकि प्रहरीसँग एउटा पनि हेलिकोप्टर छैन। 
अचम्म त, जरुरी आवश्यकता ठान्दै प्रहरीले दुई दशकअघिदेखि नै हेलिकोप्टरको माग गर्दै आएको हो। अहिलेसम्म सरकारले उपलब्ध गराउने आवश्यकता ठानेको छैन। 
हरेक स्थानीय तहमा कार्यालय रहेको प्रहरीलाई पहिलो ‘फ्रन्टलाइन एजेन्सी' मानिन्छ। प्रहरीले नसकेको अवस्थामा मात्रै सशस्त्र प्रहरी र नेपाली सेना खटिँदै आएका छन्।
तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) अच्युतकृष्ण खरेलको पालामा प्रहरीले पहिलोपटक सरकारसँग हेलिकोप्टर माग गरेको थियो। त्यसबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए। कोइराला नेतृत्वको सरकारले २०५७ असोजको दोस्रो साता नेपाल प्रहरीलाई हेलिकोप्टर किनिदिने निर्णयसमेत गरेको थियो। यो २० वर्षमा धेरै जना सरकारको नेतृत्वमा आए। खरेलदेखि अहिलेसम्म ११ जना आइजिपी फेरिए। तर, प्रहरीले हेलिकोप्टर पाएन। 
बरु भिभिआइपीसम्मका लागि भनेर हेलिकोप्टर आएका आयै छन्।
भिआइपीका लागि भनेर १ अर्ब ४० करोड रुपैयाँमा खरिद गरिएको हेलिकोप्टर। जुन सेनाले नै सञ्चालन गर्नेछ।
१ अर्ब ४० करोड रुपैयाँमा सरकारले खरिद गरेको हेलिकोप्टर केही दिनअघि काठमाडौं आइपुगेको छ। जुन सेनाले नै सञ्चालन गर्नेछ।
माओवादी द्वन्द्वपछि हेलिकोप्टर माग 
नेपाल प्रहरीले सरकारसँग हेलिकोप्टर माग गर्नुको इतिहास खोतल्न माओवादी द्वन्द्वमा फर्कनुपर्ने हुन्छ। २०५२ सालबाट घोषणा गरिएको माओवादी सशस्त्र युद्ध २०५७/५८ सालमा उत्कर्षमा पुगेको थियो।
त्यसबेलाका आइजिपी अच्युतकृष्ण खरेलले आफ्नो आत्मकथामा लेखेका छन्, ‘सुरुका दिनमा माओवादी आक्रमण ‘हिट एन्ड रन’ प्रकृतिको थियो। आयो डाङडुङ हान्यो भाग्यो। यस्तोमा सुरक्षा फौजले तुरुन्तै जवाफी कारबाही गर्न सक्यो भने राम्रो नतिजा आउन सक्थ्यो। दुर्गम र विकट ठाउँमा हुने हमलामा तुरुन्तै एक्सनमा जान प्रहरीलाई हेलिकोप्टरको खाँचो थियो।’
द्वन्द्वग्रस्त ठाउँमा तत्कालै थप मद्दतका लागि गोलीगठ्ठाका सामानसहित प्रहरी जानुपर्ने अवस्था आउँदा हेलिकोप्टरको विकल्प थिएन। प्रहरीले नेपाली सेनाको हेलिकोप्टर मागेर जानुपर्ने बाध्यता थियो। 
सेनाको हेलिकोप्टर युद्धग्रस्त क्षेत्रमा जाँदा त्यतिकै समस्या हुने गरेको पनि पूर्व आइजिपी खरेलले उल्लेख गरेका छन्। सेनाको हेलिकोप्टर प्रयोग गर्न पनि आफ्नै कार्यविधि थियो। 
'अपरेसनमा जाने प्रहरी, हेलिकोप्टर उडाउने पाइलट सेनाको। हामी जमिनका गतिविधि पहिचान गर्न कम उचाइमा उडाउन भन्थ्यौं। पाइलट खतरा हुन्छ भन्दै टार्थे। हेलिकोप्टरको कमान सम्हालेर बसेका पाइलटले भनेपछि खुरुखुरु मान्नुको विकल्प प्रहरीसँग थिएन,’ खरेलले लेखेका छन्।
सेनाकै अह्रनखटनमा चल्ने हेलिकोप्टर पछि सेनाले समेत दिन आनाकानी गरेपछि प्राइभेट कम्पनीका हेलिकोप्टर भाडामा प्रयोग गरेर प्रहरी द्वन्द्वग्रस्त ठाउँमा खटिन्थ्यो। 
प्राइभेट कम्पनीका हेलिकोप्टर पनि बिस्तारै लडाइँ भएका ठाउँमा जान आनाकानी गर्न थालेका थिए। पूर्वआइजी खरेल सम्झन्छन्, 'चाहिएको बेला हेलिकोप्टर उपलब्ध  हुँदैन थियो। भएका पनि जान मान्ने अवस्था थिएन।’ 
त्यसबेला हेलिकोप्टर भाडामा लिँदा वार्षिक १५ करोड रुपैयाँ खर्च हुन्थ्यो। सोही कुरालाई मध्यनजर गर्दै  प्रहरीले सरकारसँग हेलिकोप्टर माग गरेको थियो। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले ०५६ सालमा प्रहरीलाई हेलिकोप्टर खरिद गर्दिने सम्झौता गरेको थियो। त्यसबेला हेलिकोप्टर खरिद शाखा नै बनाएर क्याप्टेन रामेश्वर थापा, विकास राणासँग सरसल्लाह गरेर योजनासमेत तयार पारिएको थियो। पछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रहरीलाई किन चाहियो हेलिकोप्टर भन्दै मन्त्रिपरिषद्को उक्त निर्णय अस्विकृत गरेका थिए।
पछि सुपुर्दगी सन्धी, आतंकवाद, सीमा क्षेत्रमा हुने अपराध, अवैध निकासी पैठारी नियन्त्रण लगायतका विषयमा छलफल गर्न भारतीय सुरक्षा टोली नेपाल आयो। त्यसबेला खरेलले हेलिकोप्टर सहयोग गर्न आग्रह गरे। तत्कालीन भारतीय राजदूत केभी राजनले नेपाल प्रहरीलाई हेलिकोप्टर किनिदिन प्रतिबद्धता पनि जनाएका थिए। भारतीय सरकारले हेलिकोप्टर उपलब्ध गरायो, तर सेनाले प्रहरीलाई दिएन। 
त्यो हलिकोप्टर सेनाले नै प्रयोग गरेको पूर्वआइजी खरेल बताउँछन्। यसरी सेनाकै कारण त्यसबेला प्रहरीले हेलिकोप्टर नपाएको खरेलको अनुभव छ।
सेनालाई १७ वटा, प्रहरी हेरेको हेर्‍यै 
गत बुधबार मात्रै भिभिआइपीका लागि भन्दै मात्रै १ अर्ब ४० करोड रुपैयाँमा सरकार हेलिकोप्टर खरिद गर्‍यो। इटालीबाट खरिद गरिएको १० सिट क्षमता रहेको ‘नाइनएन-पिएमन’ हेलिकोप्टर सेनाले सञ्चालन गर्ने गरी खरिद भएको हो।
यसभन्दा अघि सेनाले ०७५ माघ २३ गते डिजास्टरका लागि भनेर १४ सिट क्षमताको इटालियन अगस्टा हेलिकोप्टर ल्याएको थियो। 
सेनासँग ‘नाइनएन-पिएमन’ १ वटा, डिजास्टरका लागि भनेर ल्याएको अगस्टा १ वटा, अमेरिकन बेल कम्पनीको ३ वटा, एएलएच कम्पनीको १ वटा, २१ सिट क्षमताको एमआई-१७  ४ वटा, एक्वायर ३ वटा हेलिकोप्टर छन्।
बेल कम्पनीको ३ वटामध्ये एउटा मर्मतको अवस्थामा रहेको सैनिक स्रोतले जानकारी दियो। एमआई-१७ चार वटा मध्ये एउटा मर्मतको अवस्था छ भने बाँकी चालु अवस्था छन्। एक्वायर ३ मध्ये २ मर्मतमा छन्।
सेनासँग जम्मा १७ वटा हेलिकोप्टर छन्। ती मध्ये ४ वटा हेलिकोप्टर भने कामै नलाग्ने भएर थन्किएको सैनिक स्रोतले जनायो। ४ वटा मर्मतका क्रममा छन् भने ९ वटा चालु अवस्थामा छन्।
यसरी सेनाका लागि भनेर हेलिकोप्टर पर्याप्त देखिन्छ। तर २० वर्षदेखि माग गरेको नेपाल प्रहरीले अहिलेसम्म एउटा पनि हेलिकोप्टर पाउन सकेको छैन। 
अच्युतकृष्ण खरेलपछि आइजी भएका अन्य आइजीहरुले यस विषयमा कुरा नउठाएका होइनन्। तर सरकारबाट सुनुवाइ हुन सकेको छैन। 
तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीले सेनाको असहयोगकै कारण प्रहरीलाई हेलिकोप्टर उपलब्ध हुन नसकेको खरेललाई बताएको पुस्तकमा उल्लेख छ। यही चेपुवामा परेका जोशीले राजीनामा दिएका थिए। 'पत्रकार सम्मेलनमै गृहमन्त्रीबाट राजीनामा दिएपछि उहाँ आफ्नो कार्यकक्ष फर्किनुभयो,' खरेलले लेखेका छन्, 'म क्वार्टरमा खाना खाइरहेको थिएँ। प्रधानसेनापति प्रज्ज्वल शमशेर राणाको फोन आयो। उहाँले एकदमै चर्को स्वरमा भन्नुभयो, 'नेपाल प्रहरी र नेपाली कांग्रेस मिलेर सेनालाई बदनाम गर्ने? सेनाविरुद्ध षड्यन्त्र गर्ने? सेनालाई एक्सपोज गर्ने?'
केही महिनाअघि मात्रै प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसमक्ष ७ वटा हेलिकोप्टर मागको प्रस्ताव पेस गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेल भन्छन्, ‘हामीले आवश्यकता ठानेरै सातै प्रदेशका लागि हेलिकोप्टर माग गरेका हौं। निर्णय गर्ने काम मन्त्रालयको हो।’
प्रहरीलाई हेलिकोप्टर कति आवश्यक? 
गत भदौ १४ गते शनिबार चिनियाँ ह्याकरले नेपालका एटिएम बुथको सिस्टम ह्याक गरेर ठूलो रकम निकालेका थिए। उनीहरु मध्ये ५ जना तत्कालै पक्राउ परे पनि ३ जना फरार भए। फरारमध्ये चिनियाँ मूलका फ्रान्सेली नागरिक छु लुई भदौ १६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए। 
लुईले नेपालबाट भाग्नकै लागि हेलिकोप्टर चार्टर्ड गरेको खुलेको थियो। लुई सुरुमा भागेर रसुवा पुगेका थिए। केरुङ नाकाबाट चीन पस्न असम्भव भएपछि उनी निजी हेलिकोप्टर चार्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएका थिए। उनी जतिसक्दो चाँडो त्यहाँबाट मलेसिया जान चाहन्थे। 
यसरी एक अपराधीले भाग्नका लागि समेत हेलिकोप्टर प्रयोग गर्ने अवस्था आउन थालिसकेको अवस्थामा अपराधी समात्ने र प्राकृतिक प्रकोप जस्ता विपदको उद्धरमा खटिने प्रहरीलाई हेलिकोप्टर आवश्यक रहेको धेरैजसो प्रहरी अधिकारीको भनाइ छ। 
तत्कालै खटिनुपर्ने बेलामा अहिले पनि नेपाल प्रहरीले भाडामा वा सेनाको हेलिकोप्टर प्रयोग गर्दै आएकाले पनि हेलिकोप्टर आवश्यकता छ भन्ने बुझिएको प्रहरी प्रवक्ता पोखरेल बताउँछन्।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेल
'विकट स्थानमा खटिएका आफ्नै सुरक्षाकर्मीको उद्धार गर्न पनि प्रहरीलाई हेलिकोप्टर आवश्यक छ,' प्रवक्ता पोखरेल भन्छन्, 'जसले गर्दा प्रहरीको मोरल हाई पनि हुन्छ।'
हेलिकोप्टर प्रयोगकै कारण ०७१ सालमा ३ नेपाली अपरहणमा गर्ने अपहरणकारीलाई बैंककमा प्रहरीले तत्कालै पक्राउ गरेको थियो। प्रहरीको यस्ता विशेष किसिमका अपरेसनमा पनि हेलिकोप्टर उपयुक्त हुने विज्ञहरुको भनाइ छ।
तर हेलिकोप्टर मागसँगै यसको दुरुपयोग र मर्मतको कुरा पनि सँगै आउने पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्। ‘प्रहरीलाई हेलिकोप्टर चाहिन्छ भन्ने औचित्य कतिसम्म हो? त्यो कुरा प्रस्ट हुनुपर्‍यो। हेलिकोप्टरसँगै यसको दुरुपयोग र मेन्टिनेन्सको कुरा पनि आउँछ,’ उनले भने। 
बेलाबेलामा सेनाको हेलिकोप्टर समेत दुरुपयोग भइरहेको खबर बाहिर आएकाले प्रहरीको दुरुपयोग नहोला भन्न नसकिने उनको तर्क छ। 'प्रहरीका हेलिकोप्टर रेस्क्यु र आपतकालीन अवस्थामा प्रयोग हुनेभन्दा पनि नेताहरु सयर गर्न प्रयोग हुन सक्ने अवस्था नआउला भन्न सकिन्न,' मल्लले भने।
अहिले पनि सेनाका ४ वटा हेलिकोप्टर काम नै नलाग्ने गरी थन्किएर बसेका छन्। नेपाल प्रहरीमा पनि भोलि यो समस्या आउन सक्ने उनी बताउँछन्। ‘बिग्रिएका गाडी मर्मत गर्न त प्रहरीले चुनाव पखर्नुपर्ने अवस्था छ भने भोलि हेलिकोप्टर बिग्रियो भने कसरी मर्मत हुन्छ?’ मल्लले प्रश्न गरे। यी कुरालाई मध्यनजर गरेर मात्रै हेलिकोप्टर किन्दा ठिक हुने उनको तर्क छ।
'शान्ति सुरक्षा र उद्धारका लागि'
लेकमा रहेका आफ्नै सुरक्षा फौजको उद्धारदेखि नागरिकको उद्धार र शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बललाई हेलिकोप्टर आवश्यक रहेको सशस्त्रका प्रवक्ता डिआइजी सुरज श्रेष्ठ बताउँछन्।
बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपमा तत्कालै खटिनुपर्ने अवस्था आउँदा सशस्त्र प्रहरीले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्दै आएको छ। हालैमात्र संखुवासभाको अरुण नदीमा खसेको जिपको खोजी, हुम्लामा गाउँपालिका उपाध्यक्षसहित बेपत्ता जिपको खोजी गर्न सशस्त्रको गोताखोरको टोली सेनाकै हेलिकोप्टरमार्फत घटनास्थल पुगेको थियो।
'पटकपटक यो विषयमा कुरा उठ्छ, छलफल पनि हुन्छ। मन्त्रालयले सकारात्मक जवाफ पनि दिने गरेको छ। तर अहिलेसम्म किन सशस्त्र प्रहरीका लागि खरिद भएन,' श्रेष्ठ भन्छन्, 'त्यो कुरा हामीले बुझ्न सकेका छैनौं।
सशस्त्रका प्रवक्ता डिआइजी सुरज श्रेष्ठ
त्यस्तै, आफ्नै सुरक्षा फौजको उद्धारका लागि पनि सशस्त्र प्रहरीलाई हेलिकोप्टर आवश्यक रहेको सशस्त्र प्रहरीले जनाएको छ। यो आर्थिक वर्षभित्र हिमाली क्षेत्रमा सशस्त्रले ५ वटा बोर्डर आउट पोस्ट (बिओपी) राखिसक्ने तयारी छ। अन्य ठाउँमा राख्दै जाने उसको योजना छ। त्यस्ता विकट ठाउँमा केही भइहाले तत्कालै थप फौज जानुपर्ने अवस्था आएमा अथवा आफ्नै सुरक्षाकर्मी बिरामी भएको अवस्थामा तत्कालै उद्धार गर्न हेलिकोप्टर अति आवश्यक रहेको सशस्त्रका एक अधिकारी बताउँछन्। 
उनी प्रश्न गर्छन्, 'हेलिकोप्टरमा सेनाको मात्रै सिन्डिकेट किन? नेपालको आकाश अरु सुरक्षा निकायले प्रयोग गर्न नपाउने?’
शान्ति सुरक्षा कायम राख्नका लागि दुई वटा सुरक्षा फौजको अन्तर पनि कम हुनुपर्ने उनको तर्क छ। ‘मोरल हाई राख्न के गर्नुपर्छ। मोटिभेसन कतिको आवश्यक छ, सेवासुविधा कतिको आवश्यक छ,' उनले भने, 'त्यो नहुँदा शान्तिसुरक्षामा कति असर गर्छ भन्ने कुरा राज्यले बुझ्नु जरुरी छ।’ (मुख्य तस्बिर स्रोत : indiandefencereview.com)

जो हत्या गरेर १८ वर्षसम्म राजधानीमै सुरक्षित रहे


 नारायण अधिकारी |  २०७६ भदौ २३ सोमबार | Monday, September 09, 2019  १९:१३:०० मा प्रकाशित

काठमाडौं- आन्तरिक सुरक्षा व्यवस्थाकै निम्ति नेपाल प्रहरीले दैनिक साढे २६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्दै आएको छ। 
प्रहरी प्रधान कार्यालयको रेकर्डअनुसार सवारी गस्तीमा ४ हजार ४ सय ३ जना, चेकिङमा ३ हजार ४२ जना, पिकेट ड्युटीमा  ६ हजार ४ सय ३ जना, पैदल गस्तीमा ७ हजार ३ सय ५० जना सुरक्षाकर्मी परिचालित हुन्छन्। 
अझ अन्य ठाउँका तुलनामा काठमाडौं उपत्यकामा झन् ठूलो मात्रामा प्रहरी परिचालित हुँदै आएका छन्।
उपत्यकामा मात्रै १८ वटा महानगरीय प्रहरी वृत्त, तीन वटा प्रहरी परिसर, उपत्यकाका ३ वटा जिल्लामा हुने गरेका अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय प्रहरी अपराध महाशाखा, ३ वटै जिल्लाको कमान्ड गर्ने जिम्मेवारी पाएको महानगरीय प्रहरी कार्यालय, देशभरकै अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी कार्यालयसमेत राजधानीमै छ।
यी कार्यालयबाट पनि पोशाक र सादा पोशाकमा दैनिक रुपमा सयौं प्रहरी परिचालित हुँदै आएका छन्।
शान्ति सुरक्षा अवस्था चुस्त दुरुस्त रहेको बताउँदै आएको नेपाल प्रहरीलाई भने एक अपराधीले १८ वर्षसम्म जिल खुवाउन सफल भएका छन्।प्रहरीकै आँखा छलेर १८ वर्षसम्म उपत्यकामा आनन्दले बस्दै आएका हत्या आरोपी भीमसेन भण्डारी पक्राउ परेको घटनाले यो कुरा पुष्टि गरेको छ।
१८ वर्षअघि २०५८ साउन ७ गते काठमाडौं महानगरपालिका–३४ महादेवस्थानका २० वर्षीय अशोक राईको हत्या भएको थियो। रत्नराज्यस्थित महादेवस्थान टोलमा राईमाथि खुकुरी प्रहार गरेर सिन्धुपाल्चोकको साविकको फुलपिङकोट गाउँपालिका–५ का भीमसेन भण्डारीले हत्या गरेका थिए।
त्यसबेला भण्डारी २० वर्षका थिए। अहिले उनी ३८ वर्षका भएका छन्। मृतक राई साइला श्रेष्ठ भन्ने व्यक्तिले बनाउँदै घरको सामग्री रुघ्नका लागि उक्त घरमा बसेका थिए।
घटना भएको दिन साउन ७ गते भण्डारी र राईले सँगै बसी नयाँ बानेश्वरमा रक्सी खाएका थिए। त्यसबेला उनीहरुबीच समान्य विवाद भएको थियो। रक्सीको नसामा भएको विवादले चरम रुप लिएपछि राईले त्यसबेला भण्डारीको गालामा थप्पड हानेका थिए।
त्यसपछि राई आफूले रुघ्ने गरेको घर महादेशवस्थान आएर बसे।
बनाउँदै गरेको घरको अगाडि निमार्ण सामग्री राख्ने एउटा इटा र जस्ताको टहरो थियो। राई त्यही टहरोमा सुतेका थिए। राईको हत्या आरोपमा १८ वर्षपछि पक्राउ परेका भण्डारीले भनेका छन्, ‘गालामा थप्पड हानेपछि सहन सकिनँ। आवेगमा आएर उनी सुतेकै ठाउँमा गएर हतियारले हानेर हत्या गरेको हुँ।’ 
हत्या भएको जानकारी पाउनासाथ घटनास्थलमा पुगेको प्रहरीले अभियुक्तको खोजी गरे पनि पक्राउ गर्न सकेको थिएन।
राईको हत्या गरिसकेपछि भण्डारी काठमाडौंकै महांकालस्थित साथीको कोठामा गएर एक रात बसेका थिए। त्यसपछि उनी काठमाडौं उपत्यकाकै भक्तपुरलगायतका विभिन्न ठाउँमा बस्दै आएका थिए। 
भण्डारीले राईको हत्या गरेको थाहा भइसकेपछि घरधनी साइला श्रेष्ठले उनीविरुद्ध ज्यान कसुरमा किटानी जाहेरी पनि दिएका थिए। व्यक्ति पहिचान भइसकेको अवस्थामा पनि उनी पक्राउ पर्न सकेका थिएनन्। 
तर भण्डारी भने काठमाडौं उपत्यकाकै विभिन्न ठाउँमा १८ वर्षसम्म सहचालक भएर बसे। १८ वर्षसम्म पनि प्रहरीले उनको सुइको पाउन सकेन। भण्डारी १८ वर्षसम्म भागेर कुनै देश पुगेका थिएनन्। उपत्यकाकै विभिन्न रुटमा गाडीको चालक सहचालक भएर काम गरे। तर प्रहरीले उनको नामोनिशाना थाहा पाएन।
पहिचान भइसकेका र काठमाडौं उपत्यकामै गाडी चलाएर बस्दै गरेका उनलाई देशभरकै ठूला जघन्य अपराध, सार्वजनिक चासो, संगठित अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले १८ वर्षपछि पक्राउ गर्नु पर्ने अवस्था आयो। सिआइबीले उनलाई १८ वर्षपछि भक्तपुर नगरपालिका–२ बसपार्कबाट सोमबार पक्राउ गरेको हो। 
पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको सिआइबीले जनाएको छ।

४ नम्बर इजलासमा गृहमन्त्रीका भाइ, प्रिय बनेको त्यो मेडिकल मास्क

नारायण अधिकारी |  २०७६ भदौ २६ बिहीबार | Thursday, September 12, 2019  २०:०५:०० मा प्रकाशित

काठमाडौं जिल्ला अदालतको थुनुवाका लागि बस्ने कक्ष (कोठा नम्बर २०)। बयान चलिरहेका बेला खाजा खाने ब्रेकका समयमा गृहमन्त्रीका भाइलाई यही कक्षमा राखिएको थियो।

काठमाडौं- बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साहिँला भाइ नरेशकुमार थापा पक्राउ परेको खबर सामाजिक सञ्जालदेखि मिडियासम्म भाइरल बन्यो। 
बहालवाला गृहमन्त्रीकै भाइमाथि जेलमा रहेका कैदी समीरमान बस्नेतसँग मिलेर व्यवसायीलाई धम्क्याउँदै पैसा असुल्ने कार्यमा संलग्न भएको आरोप लागेको थियो।
उनीसहित पक्राउ परेका अन्य व्यक्तिको बयान बिहीबार काठमाडौं जिल्ला अदालतमा भयो। 
जिल्ला अदालत काठमाडौंको पश्चिम दक्षिणतर्फको ४ नम्बर इजलास। दिउँसो ठिक १ बजे पुग्दा इजलासका न्यायाधीश मेदिनीप्रसाद पौडेलले विभिन्न मुद्दाका फाइल पल्टाउँदै अध्ययनमा व्यस्त थिए।
न्यायाधीशको बारभन्दा अगाडि एक महिला इजलास अधिकृत फाइल मिलान गर्न र लेखनमा व्यस्त थिइन्।
४ नम्बर इजलासको मूल ढोका छेउ नजिकैको कठघरा नजिक अर्का इजलास सहायक एक कर्मचारी कम्युटरमा अभियुक्तका बयान टाइप गरिरहेका थिए।
उनको अगाडि खडा भएका थिए, एक युवा। छोटो कपाल, फ्रेन्च कटको मसिनो दाह्री, सेतो सर्ट र पाइन्ट, ती युवाको हुलिया यही थियो।
यसरी इजलास सहायकको अगाडि खडा भएर बयान दिने ती युवा थिए, प्रहरी जवान वीरबल भट्टराई। जसलाई आरोप लागेको छ, जेलमा रहेका कैदी समीरमानलाई फोन गर्न आफ्नो मोबाइल दिएको।
४ नम्बर इजलासको दायाँतर्फको अन्तिम बेन्चभन्दा माथिल्लो बेन्चमा पट्यारलाग्दो पाराले बसेका छन्, अर्का खाइलाग्दा ज्यान भएका अधवैंशे पुरुष।
मसिनो तिलचामले केस। रातो अनुहार। निलो टिसर्ट। कालो कपडाको पाइन्ट। खुट्टामा छालाका जुत्ता। सोचमग्न अवस्थामा हात बाँधेर बसेको। दुवै खुट्टा च्याप्प पारेर जाडिएको छ। बेन्चमा अढेस नलागी एकोहोरो टहलिएका छन्। यसरी निकै चिन्तित मुद्रामा जिल्ला अदालतका ४ नम्बर इजलासमा बस्ने ती व्यक्ति थिए, गृहमन्त्री थापाका साइला भाइ नरेश थापा।
पंक्तिकार करिब आधा घन्टा इजलासमा बस्दा उनले दाँया बायाँ र पछाडि मुन्टो फर्काएर कतिबेलै हेरेनन्। एकोहोरो न्यायाधीतर्फ र घोसेमुन्टो लगाएर भुँइतिर मात्रै हेरिरहे।
नरेशकै सिधा अगाडि उनकै साइडमा थिए, अर्का अग्लो कद, लामो कपाल र हट्टाकट्टा ज्यान भएका युवा। उनी हुन् पवन खड्का। उनकै बयानले नरेशलाई पोलिएपछि नरेश अभियुक्त बनेर बयान दिन अदालत पुगेका थिए।
‘आफूले फुटकोट क्याफे सञ्चालन गरेको। त्यही धम्क्याएर पैसा उठाउने योजना बनेको। समीरमानलाई भेट्न गृहमन्त्रीका भाइ नरेशसमेत गएको, नरेशसहितको संलग्नतामा व्यवसायीलाई धम्क्याएको हो’ पक्राउ परेका पवनले प्रहरीसमक्ष बयानका क्रममा भनेका थिए। 
प्रहरी जवान भट्टराईको बयान सकिएपछि खाजा ‘ब्रेक’ भयो। त्यसबेला साढे १ बजिसकेको थियो। त्यसपछि इजलासको पछिल्लो ढोकाबाट निकालियो, धम्क्याएर पैसा उठाएको आरोपमा पक्राउ परेका काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरवल भट्टराई, मनबहादुर पुन मगर, पवन खड्का, सुरेन नगरकोटी र नरेशलाई।
सोही आरोपमा पक्राउ परेका शैलेश प्रजापतिको हिजै बयान सकिएकाले उनलाई उपस्थित गराइएको थिएन।
इजलासको ढोकाबाट निस्कने बित्तिकै नरेशसहित सबैले आफ्नो खल्तीबाट मेडिकल मास्क निकालेर मुख छापे। सायद उनीहरुलाई लाज र इज्जतको भय थियो। मास्क लगाउनुभन्दा पहिला नरेशको अनुहार नियाल्दा अन्य अभियुक्तको भन्दा निकै पश्चताप गरेजस्तो देखिन्थ्यो। 
बर्दीका प्रहरीले नेरेशलाई हत्कडी लगाउन हात मागे। प्रहरी जवानको त्यो भनाई मान्दै नरेशले आज्ञाकारी छात्र जसरी सहजै हात तेर्‍स्याए। उनका दुबै हात जोडिए र हत्कडी लाग्यो।
 
नरेशकै जसरी पवनको हातमा पनि हत्कडी लगाइयो। बाँकी ४ जनालाई दुई/दुई जना गरेर प्रहरीले हत्कडी लगायो। २/४ मिनेट उनीहरु ४ नम्बर इजलास अघि आफन्तसँगै टहलिए।
प्रहरीकै पछि लुरुलुरु एक तलामुनि दक्षिण पूर्वतर्फ रहेको थुनुवा कोठा २० नम्बर उनीहरु ६ जना नै पुगे। त्यसबेला उक्त कोठा खाली थियो। ढोकाको छेउको बेन्चमा पवन बसे। त्यसपछि नरेश, विनोद क्रमशः बसे। उनीहरुको अनुहारको मास्क भने खुलेको थिएन। प्रायः सबैजसो एकअर्कासँग कुराकानी गर्थे।
तर गृहमन्त्रीका भाइ नरेशले भने एक शब्द कसैसँग कुरा गरेनन्। उनी निकै चिन्तित देखिन्थे। सबैजसो अभियुक्तका आफन्त अदालतमा उनीहरुलाई भेट्न जंक फुड लिएर आएका थिए। तर नरेशलाई भेट्न कोही आएको देखिएन। 
एकछिन अघि खाली रहेको जिल्ला अदालतको थुनुवा कक्ष एकैछिन पछि भरियो। वर्गाकार कोठा चारैतर्फ राखिएका बेन्चले भरिए। खाली रहेको बीच भुँइमा पनि अभियुक्त थच्याकथुचुक बसे। हेर्दिनँ भन्दा पनि एकले अर्कासँग आँखा जुध्ने अवस्था थियो
थुनुवा कक्षको बाहिर आहोरदोहोर गरेका केही जानकार व्यक्ति इसारा गर्थे, ‘ऊ ती निलो टिसर्ट लगएका मोटामोटा परेका मान्छे गृहमन्त्रीका भाइ रे!’
१ घन्टा लामो खाजा ‘ब्रेक’ सकिएपछि प्रहरीले पुनः ६ जनै अभियुक्तलाई ४ नम्बर इजलासमा पुर्‍यायो। त्यसपछि बयान दिने पालो आयो- अर्का अभियुक्त विनोद लामाको। 
प्रहरीको जस्तै हेयर-स्टाइल। ब्रिन्जल कलरको टिसर्ट। जिन्सको पाइन्ट। खुट्टामा चप्पल लगाएका लामा बयान दिन अघि बढे।
झन्डै तीन घन्टा लामो समय उनकै बयानमा बित्यो।
बिहीबार अन्य अभियुक्तको बयान लिन सक्ने अवस्था नभएपछि प्रहरीले उनीहरुलाई बा २ क ५६४ नम्बरको सेतो हाइसमा राख्यो।
चालकलगत्तै पछाडिको झ्यालतर्फको सिटमा नरेश थचक्क बसे। गाडीभित्र बसेपछि अन्य अभियुक्तले मास खोलिसकेका थिए। आफ्नो लाज त्यही मेडिकल मास्कले ढाकेको महसुस गरेका नरेशले गाडीभित्र पनि मास्क खोलेनन्। 
अन्य अभियुक्त कानेखुसी गर्दै गाडीमा बसे। तर नरेश मास्क लगाएर गाडीभित्रै घोसेमुन्टो लगाइरहे।
बयान सकिएपछि आफन्तलाई 'बाई' गर्दै विनोद लामा पनि गाडी चढे।
दिउँसो ५ बजेर १७ मिनेटमा जिल्ला अदालतबाट गृहमन्त्रीका भाइ नरेशसहित ६ अभियुक्त बोकेको हाइस बाहिरियो।
उनीहरु फेरि अर्को दिन बयानका लागि खडा हुनेछन्। 
प्रहरीले उनीहरुविरुद्ध ७७ पुष्ठ लामो अभियोगपत्र दायर गरेको छ।
जसमा समीरमानसँगको मिलेमतोमा व्यवसायीलाई धम्क्याएर पैसा उठाउन खोजिएको उल्लेख छ।
तर अहिलेसम्म कुनै पनि व्यवसायीबाट रकम भने उनीहरुले उठाएको कुरा उल्लेख छैन। 
स्रोतका अनुसार नरेशले प्रहरीको बयानमा आफू समीरलाई भेट्न गएको स्वीकार गरेका छन् तर धम्क्याउने काममा आफ्नो कुनै पनि संलग्नता नरहेको र कुनै निर्देशन नदिएको बताएका छन्।

१७ पासपोर्टसहित समातिएका गाम्बियनको अपराधस्थल नेपाल

काठमाडौं ट्रान्जिट बनाएर विदेशी नागरिक तस्करी

 नारायण अधिकारी |  २०७६ भदौ ३१ मंगलबार | Tuesday, September 17, 2019  १७:००:०० मा प्रकाशित
काठमाडौं– लट्टा पारेको लामो कपाल। पातलो शरीर। कालो वर्ण। हल्का दाह्रीजुँगा। केही फुकेका नाकका पोरा। 
यही हुलिया भएका विदेशी मुलको जस्तो देखिने एक युवा करिब दुई महिनाअघि साउन ४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्छन्। त्यसबेला दिनको साढे ३ बजेको हुन्छ।
एयर इन्डियाको उडान नम्बर एआई २१६ मार्फत दिल्ली हुँदै जापान जाने जहाजको टिकट हातमा लिएर ती युवा विमानस्थलको प्रस्थान बिन्दुमा लामबद्ध भए। आफ्नो लगेज बी साइडको एक्स–रे मेसिनमा जाँच गराए। 'द नर्थ फेस' लेखिएको कालो, खैरो र निलो रङ मिसिएको पछाडि भिरेर बोक्ने झोलामा केही शंकास्पद वस्तु भएको मेसिनले डिटेक्ट (पहिचान) गर्‍यो।
त्यही झोलामा फेला परेका थिए, ससानो प्याकेट बनाएर राखिएका केही शंकास्पद वस्तु। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको शाखा कार्यालय विमानस्थलमा खटिएका सादा पोसाकका प्रहरीले ती शंकास्पद वस्तु झोलाबाट निकालेर नियाले। पत्ता लागिहाल्यो, त्यहाँ त एम्फेटामाइन अर्थात् आइस ड्रग्स पो रहेछ!
४ किलो २ सय ग्राम हाराहारीमा बरामद भएको आइस ड्रग्सको बजार मूल्य ४ करोडभन्दा बढी हुन्छ।
यसरी नेपालको विमानस्थल प्रयोग गरी आइस ड्रग्स लिएर जापान जान लागेका ती युवा थिए, २५ वर्षीय पोर्चुगिज नागरिक टियागो मेन्डस पेरेरा। राहदानी नम्बर- सिए ७०१२९२।
२७ वटा कागजका बक्सहरुमा माथि रुमाल, टाई र त्यसमुनि फल्स बटम बनाएर आइस ड्रग्स लुकाइएको थियो। जसको गन्तव्य थियो, जापान।
पेरेरालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरीले नयाँनयाँ तथ्य पत्ता लगाउँदै गएको छ। उनी पक्राउ परेपछि उनकै सूचनाका आधारमा थप २ जना पक्राउ परेका छन्। तर प्रहरीले यो कुरा गोप्य रुपमा राखेको छ। 
पेरेरा पक्राउ परेको ४ दिनपछि साउन ११ गते गाम्बियाका नागरिक आजासी स्टान आरेमोस पक्राउ परे। ३१ वर्षीय आरेमोसलाई प्रहरीले पकनाजोलस्थित एक होटलबाट पक्राउ गरेको थियो। 
काम झोला बोक्ने, रै'छ ४ करोडको कोकिन 
पक्राउ परेका पोर्चुगिज नागरिक पेरेरा पहिलो पटक नेपाल आएका हुन्। उनको सम्पर्क इमेल र सामाजिक सञ्जालमार्फत गाम्बियन नागरिक आरेमोससँग भएको थियो। आरेमोसले निश्चित रकम दिने  र आफ्नो लगेज नेपालबाट जापान लगिदिनुपर्ने प्रस्ताव पेरेरालाई गरेका थिए।
सोही अनुसार आफू नेपाल आएको पेरेराले प्रहरीसमक्ष बताएका छन्। काठमाडौं आएलगत्तै आरेमोसले उनलाई कालो, खैरो र निलो रङ मिसिएको नर्थ फेसको झोला थमाएका थिए। उक्त झोला जापान लैजानुपर्ने जिम्मा थियो पेरेराको। अन्तत: जापान जान नपाउँदै पेरेरा पक्राउ परे। पक्राउ परेपछि उक्त झोला आफूलाई आरेमोसले दिएको बताएपछि त्यही सूचनाका आधारमा आरेमोस पनि पक्राउ परे।
कहाँबाट भित्रियो ४ करोडको आइस ड्रग्स?
पोर्चुगिज नागरिक पेरेरालाई प्रहरीले काठमाडौं भित्रिँदै गर्दा नभई काठमाडौंबाट बाहिर जान लाग्दा पक्राउ गरेको थियो। काठमाडौंबाट जापान जान लागेको उक्त आइस ड्रग्स नेपालमा उत्पादन हुँदैन। नेपालमै उत्पादन हुने भएदेखि बाहिर जान लागेको बेला पक्राउ पर्नु स्वाभाविकै थियो। 
आइस ड्रग्स नेपाल भित्रने बेला कुनै सुइँको नपाउनु तर बाहिरिने बेला पक्राउ पर्नुले नेपाल भित्रियो चाहिँ कसरी? यो प्रश्न निकै पेचिलो बनको छ। 
ब्युरोका एक अनुसन्धान अधिकृत भन्छन्, ‘आइस ड्रग्स बर्मा, लाओस लगायतका देशमा उत्पादन हुन्छ। ती देशबाट पक्राउ परेका दुवै जना आएको पनि देखिँदैन। भित्रियो कसरी भन्ने कुरा अझै अन्योलमा छ।’
स्रोतका अनुसार उक्त ड्रग्स दिल्लीबाट स्थलमार्ग हुँदै नेपाल आएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। पक्राउ परेका गाम्बियन नागरिक आरेमोस ३ वर्षदेखि दिल्लीमा कम्प्युटर इन्जिनियर अध्ययनरत छन्। उनी पटकपटक नेपाल आवतजावत  गरिरहन्थे। जसकारण उनले बर्मा, लाओस हुँदै दिल्लीमा ड्रग्स भित्र्याएर भारतबाट स्थलमार्ग हुँदै नेपाल ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ।
ड्रग्सको अनुसन्धानले खुल्यो मानव तस्करको पोल
पेरेराको सूचनाका आधारमा गाम्बियन नागरिक आरेमोसलाई पक्राउ गर्दा प्रहरी अधिकारी नै तीनछक परेका थिए। उनको साथबाट प्रहरीले नेपाली र विदेशी नागरिकको गरी १७ थान पासपोर्ट बरामद गरेको थियो। सँगै अध्यागमन कार्यालयदेखि परराष्ट्रसम्मका सरकारी छापहरु पनि फेला पारेको थियो।
यसरी विदेशी र नेपालीको पासपोर्ट बरामद भएपछि प्रहरीले यस सम्बन्धमा पनि अनुसन्धान बढाएको छ। ब्युरोका एक अधिकारी भन्छन्, ‘लागुऔषध मात्रै होइन उनीहरुले नेपाललाई प्रयोग गरेर विदेशी नागरिकसमेत तस्करी गर्ने गरेको देखिन्छ।’
विभिन्न देशका नागरिकलाई युरोप पठाउने बहानामा उनीहरुले राहदानी जम्मा गरेर नेपाललाई ट्रान्जिट बनाएर मानव तस्करी गर्ने गरेको पाइएपछि यसबारेको अनुसन्धान मानव बेचबिखन नियन्त्रण ब्युरोले सुरु गरेको छ। उनीहरु पक्राउ परेपछि लागुऔषध मात्रै नभएर अन्तर्राष्ट्रिय मानव तस्करको ट्रान्जिटको जोखिममा नेपाल रहेको देखिन्छ। 
एक भारतीयसहित ७ जनाबाट लाखौं ठगी
बरामद १७ वटा पासपोर्टमध्ये ६ वटा नेपाली, १ भारतीय थिए भने बाँकी अन्य देशका थिए। ६ नेपाली र १ भारतीय नागरिक दीपु जैसवालबाट उनीहरुले ४/५ लाख रुपैयाँका दरले ३५ ठगी गरेको पाइएको छ।
यसरी ठगी गरेको रकम गाम्बियन नागरिकले गुनबहादुर घर्ती क्षेत्रीको बैंक खातामा राख्ने गरेको पाइएपछि प्रहरीले उनलाई साउन ११ पक्राउ गरेको थियो। ३५ वर्षीय गुनबहादुर म्याग्दीको मंगला गाउँपालिका–२ का स्थानीय हुन्। गाम्बियन नागरिकको नेपालका बैंकमा खाता नहुने अवस्था आएपछि घर्तीलाई प्रयोग गरेर ठगेको रकम राख्ने गरेको पाइएको ब्युरोका एसएसपी वसन्त लामा बताउँछन्। 
केही रकम पाउने भएपछि घर्तीले पनि नेपाली नागरिकलाई युरोप पठाउने भन्दै जम्मा गरेका थिए। 
इन्टरपोललाई पत्राचार
पक्राउ परेका पोर्चुगिज र गाम्बियन नागरिकका बारेमा थप बुझ्न लागुऔषध नियन्त्रण ब्युरोको आग्रहमा नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) ले इन्टरपोललाई पत्राचार गरेको छ।
ठूलो मात्रामा लागुऔषध बरामद हुनु र मानव तस्करीमा संलग्न देखिएपछि नेपाल प्रहरीले यसबारे थप बुझ्न इन्टरपोललाई पत्राचार गरेको हो। इन्टरपोलमा पत्राचार भएसँगै यसभन्दा अघि उनी अपराधमा संलग्न थिए/थिएनन्, यसमा अन्य व्यक्तिको संलग्नता छ/छैन जस्ता कुरा इन्टरपोलमार्फत खोजी गरिनेछ। 
मानव तस्करीमा समेत अनुसन्धान
लागुऔषधबाट अनुसन्धान सुरु गरेको प्रहरीले तीनैजना विरुद्ध ठगी, लागुऔषध, सरकारी कागजात कीर्ते र मानव तस्करीमा समेत अनुसन्धान अघि बढाएको छ। 
ठगीमा लागुऔषध नियन्त्रण ब्युरोले अनुसन्धान गरिरहेको छ। मानव बेचबिखनमा पनि संलग्नता देखिएपछि यसबारे अनुसन्धान गर्न मानव बेचबिखन नियन्त्रण ब्युरोलाई पत्राचार गरेर अनुसन्धान सुरु गरिएको ब्युरोका डिएसपी प्रेम शाहीले बताए। 
त्यसैगरी नेपालका सरकारी कागजात समेत कीर्ते  गरेको र विदेश पठाउने नाममा ठगी गरेको पाएपछि यस सम्बन्धीको अनुसन्धान महानगरीय प्रहरी परिसर काठमाडौंले गरेको छ।
यसरी दिल्लीमा अध्ययनका लागि बसेका गाम्बियन नागरिक आरेमोसले ड्रग्सदेखि मानव तस्करसम्मको ट्रान्जिट नेपाललाई बनाएको पाइएको छ। उनीहरु तीनै जनामाथि अनुसन्धान अन्तिम चरणमा पुगेकाले प्रहरी मुद्दा दर्ताको तयारीमा छ।

१७ वर्षअघि पदमकुमारीको हत्या हुँदा घटनास्थलमा छुटेको पाइन्ट र घडी कसको?

नारायण अधिकारी |  २०७६ भदौ ३१ मंगलबार | Tuesday, September 17, 2019  २१:३५:०० मा प्रकाशित

काठमाडौं- नुवाकोटको साविकको ककनी गाविस-७ सिम्लेकी ७० वर्षीया वृद्धा पदमकुमारी गुरुङको २०५९ माघ २१ गते हत्या भयो। सिम्लेस्थित स्थानीय लालबहादुर तामाङको मकैबारीमा उनको हत्या भएको थियो। लालबहादुरको छोराका छेवरमा गएकी वृद्धा गुरुङ त्यसदिन घर नफर्किएपछि भोलिपल्ट उनको खोजी भएको थियो।

भोलिपल्ट बिहान गुरुङको शव लालबहादुरकै मकैबारीमा माथिल्लो भागको चोलीमात्रै रहको र तल्लो भाग निर्वस्त्र  भएको अवस्थामा फेला परेको थियो। 
आमाको हत्या भएपछि उनका छोरा रामबहादुरले अनुसन्धानको माग गर्दै जाहेरी दिएका थिए। 
त्यसबेला घटनास्थलमा कालो रंगको पाइन्ट, पाइन्टमा खैरो रंगको छालाको पेटी, हातमा लगाउने नाडी घडीसमेत फेला परेको थियो। उक्त सामान ककनी-७ सिम्लेकै भरत सुनारको भएको भन्दै त्यसबेला सनाखत भएको थियो। 
गुरुङको कम्मरमुनिको भाग नांगो हुनु र घटनास्थलमा पुरुषको पाइन्टसमेत फेला पर्नुले बलात्कारपछि हत्या भएको आशंका समेत गरिएको थियो। यद्यपि उक्त कुरा भने अनुसन्धानबाट खुल्न बाँकी छ। 
गुरुङको हत्या हुँदा सुनार ४१ वर्षका थिए। अहिले ५८ वर्षका भइसकेका छन्। उनी पछिल्लो समय चितवनको राप्ती नगरपालिका-७ मा बस्दै आएका थिए।
प्रहरीले १७ वर्षपछि सो हत्याकाण्डका अभियुक्तलाई पक्राउ गरेको छ। नुवाकोटको साविकको ककनी गाविस-७ सिम्लेकी ७० वर्षीया वृद्धा पदमकुमारीको हत्यामा संलग्न भएको आरोपमा उनी हत्या भएको १७ वर्षपछि पक्राउ परेका हुन्। पक्राउ पर्नेमा साविक ककनी-७ कै भरत सुनार छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सोमबार चितवनबाट पक्राउ गरेको हो।
तामाङ र गुरुङबीच छेवरमा नाचगानको कार्यक्रममा विवाद भएको थियो। विवादपछि घर फर्कन लाग्दा तामाङले वृद्धा गुरुङको टाउकामा ढुंगाले हानेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ। हत्यापश्चात् उनी भागेर भारत पुगेका थिए। पछिल्लो समय चितवनमा बस्दै आएका उनी अन्तत प्रहरीको नियन्त्रणमा आएका छन्। 
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको सिआइबीले जनाएको छ।

छोरीलाई गिफ्ट भन्दै 'सेक्स टोय' पठाउने बाबु, जसलाई लाग्यो साइबर मुद्दा

नारायण अधिकारी |  २०७६ असोज २ बिहीबार | Thursday, September 19, 2019  १२:५०:०० मा प्रकाशित

काठमाडौं– महानगरीय प्रहरी परिसर टेकुमा गत भदौ १४ गते एउटा विद्युतीय कारोबार ऐन अर्थात साइबरसम्बन्धी उजुरी पर्‍यो। उजुरी गर्ने युवती थिइन्, रेश्मा घले (नाम परिवर्तन)।
घलेले दिएको उजुरीमा लेखिएको थियो, ‘अज्ञात व्यक्तिले नक्कली फेसबुक आइडी सोनिक्स गुरुङ, सोनिका गुरुङ र लिली पुलामी बनाएर मेरो गुगल आइडीसमेत ह्याक गरी मलाई अश्लील म्यासेज पठाउने गरेको छ। कारबाही गरिपाऊँ।’ 
तीन वटा फेसबुक आइडीबाट आफूलाई अश्लील म्यासेज आउने गरेको व्यहोरासहित घलेले म्यासेजसमेत स्क्रिनसट गरेर उजुरी हालेकी थिइन्। 
व्यक्ति पहिचान नभएको भनेर हालेको उजुरीको ३ दिनपछि भदौ १७ गते फेरि उनैले श्यामकुमार सापकोटाका नाममा किटानी जाहेरी दिइन्। 
घलेले किटानी जाहेरी दिएका व्यक्ति सापकोटा उनकै बाबु हुन्।
रेश्माका बाबु सापकोटा र आमा बेलायतमा बस्दै आएका छन्। यसरी छोरीले नै बाबुविरुद्ध फेसबुकमा अश्लील म्यासेज, भिडियो र तस्बिर पठाएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। नग्न तस्बिरदेखि छोरीलाई बेलायतबाट गिफ्टका लागि भनेर सेक्स टोयसम्मका सामानका फोटाहरु पठाउने गरेको आरोप सापकोटालाई लगाउँदै उजुरी परेको थियो। 
प्रहरीले सापकोटालाई पक्राउ गरेर अनुसन्धान सुरु गर्‍यो। सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनाल शर्माले उक्त मुद्दामा वादी नेपाल सरकारको पक्षबाट बहस गरेका थिए। 
भिडियोसमेत पठाई युवतीको चरित्र हत्या गरेको हुँदा सापकोटालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेकाले उनलाई कसुर ठहर भएको अवस्थामा ५ वर्षसम्म कैद सजाय हुन सक्ने अभियोग दाबी भएकाले थुनामै राखी मुद्दाको पुर्पक्ष गरिपाऊँ भनेर शर्माले बहस गरेका थिए। 
यता प्रतिवादी सापकोटा तर्फबाट भने अधिवक्ता रामप्रसाद भण्डारी र यादव ढुंगानाले बहस गरेका थिए। 
प्रतिवादी सापकोटाले सन् २०१७ को अक्टोबरमा पठाएको म्यासेज स्विकारेको तर बाँकी म्यासेजहरू आफूले नपठाएको भन्ने इन्कारी बयान दिएका थिए। उक्त म्यासेज पनि (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ७४ को हदम्याद नाघिसकेकाले कारबाही गर्न नमिल्ने साधारण तारेखमा छाड्नुपर्ने अभिवक्ताद्वयको तर्क थियो। 
वादी-प्रतिवादी दुवै पक्षको बहस सकिएपछि उक्त फाइल जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासमा पुगेको थियो। 
मोबाइल नम्बर ९८१०३८९... बाट सापकोटाले पठाएको अश्लील म्यासेज आफूले बेवास्ता गरेर बसेपछि माथि उल्लिखित तीन वटा फेसबुक आइडी खोलेर अश्लील भिडियो फोटो पठाउने गरेको छोरी रेश्माले बताएकी थिइन्। अश्लील म्यासेज पठाउने क्रममा ९८१८४६२... नम्बर प्रयोग भएको उजुरीकर्ताको दाबी थियो। 
सापकोटाले भने अश्लील म्यासेज पठाउन प्रयोग भएको मोबाइल नम्बर ९८१८४६२... सन् २०१९ को मार्चमा आफ्नै नाममा निकाली प्रयोग नै नगरेको बताएका थिए। उनले उक्त नम्बर भएको सिमकार्ड बत्तिसपुतलीस्थित आफ्नो घरमा राखेर बेलायत गएकाले त्यो नम्बर प्रयोग गरेर अरु कसैले पठाएको हुन सक्ने अदालतसमक्ष बयान दिएका थिए। जसकारण आफूले सफाइ पाउनुपर्ने माग सापकोटाको थियो। 
अश्लील म्यासेज, भिडियो, फोटो सापकोटाले नै पठाएको र उक्त कुराको जानकारी आफूहरुलाई समेत भएको भन्दै यसअघि नै सावनकुमार गुरुङ र मीना गुरुङले बताउँदै आएका थिए। यसबारे जिल्ला अदालत काठमाडौं गुरुङद्वयसँग बुझ्दा घटना विवरणको कागजसमेत गरेको पाइएको थियो। 
त्यस्तै युवती रेश्मालाई अश्लील म्यासेज गरिएका फेसबुक आइडीको बिजनेस रेकर्डसमेत प्रहरीले निकालिसकेको थियो। 
मिसिल संलग्न जाहेरी दरखास्त, प्रतिवादीको अनुसन्धान र अदालतमा भएको बयान, मौकामा कागज गर्ने व्यक्तिले गरिदिएको कागज, फेसबुक बिजनेस रेकर्ड लगायतका कागज प्रमाणको विश्लेषण गर्दा सापकोटा कसुरदार होइनन् भनी विश्वास गर्न सक्ने मनासिब आधार फेला नपरेको जिल्ला अदालतको ठहर छ। 
सोही प्रमाणका आधारमा सापकोटालाई अपराध संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश हिजो बुधबार जिल्ला न्यायाधीश भट्टराईको इजलासले गरेको हो।
दुई हप्ता हिरासत बसी सापकोटा धरौटीमा रिहा भएका छन्। (प्रतीकात्मक तस्बिर)

रेमिट्यान्सका कर्मचारीको शंकाले जोगायो ५ अर्ब, आमा र छोराछोरी नै ह्याकिङमा संलग्न

भारतमा बनेको योजना यसरी भयो फेल

 नारायण अधिकारी |  २०७६ असोज ८ बुधबार | Wednesday, September 25, 2019  १८:३१:०० मा प्रकाशित
काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर रकम लुट्न संलग्न भएको आरोपमा अहिलेसम्म १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
सिरहाको लहानस्थित बैंकको कार्यालयबाट उनीहरूले ४ करोड ७३ लाख ९६ हजार ह्याक गरेर विभिन्न व्यक्तिका खातामा ट्रान्सफर गरिसकेका थिए भने केही रकम निकालिसकेका थिए। पक्राउ परेकाहरूबाट प्रहरीले ४० लाख ५० हजार रुपैयाँ भने बरामद गरिसकेको छ। उनीहरू पक्राउ परेसँगै थप रहस्य खुल्दै गएका छन्।
एकै परिवारका ३ जना पक्राउ, 'काले' भन्ने पिटर फरार
पक्राउ पर्ने १२ जनामा  नुवाकोटको मेघाङ गाउँपालिका-४ का ४३ वर्षीय लबाङ तामाङ, रसुवाको नौकुण्ड गाउँपालिका-५ की ४० वर्षीया लक्ष्मीमाया तामाङ, काठमाडौं तार्केश्वर नगरपालिका-२ काभ्रेस्थलीका २६ वर्षीय सञ्ज घले, रसुवाको नौकुण्ड गाउँपालिका-५ की २० वर्षीया निर्मला तामाङ, सोही ठाउँका १८ वर्षीय निमा तामाङ, सर्लाहीको हरिवन नगरपालिका-२ का ४२ वर्षीय पुष्पराज खड्का छन्। 
त्यसैगरी, लमजुङको दोर्दी गाउँपालिका-३ का २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँको भानु नगरपालिका-९ का ३८ वर्षीय श्रवणकुमार श्रेष्ठ, भक्तपुरको ठिमी नगरपालिका-४ का ३२ वर्षीया सुनिता श्रेष्ठ, भारतको कलकत्ता घर भई काठमाडौं टेबहाल बस्ने ३० वर्षीय शुबन्कर पञ्जा, कैलालीको भजनी नगरपालिका-३ का २२ वर्षीय विजय साह र भजनी-१ कै ४५ वर्षीय चन्द्रबहादुर बुढा छन्। उनीहरूमध्ये लक्ष्मी तामाङ, निर्मला तामाङ र निमा तामाङ तीन आमा छोराछोरी हुन्। लक्ष्मी आमा हुन् भने निर्मला उनकी छोरी र निमा छोरा हुन्।
त्यस्तै भारतीय नागरिक शुबन्करले काठमाडौंमा सुन पसल सञ्चालन गर्ने र यसरी लुटिएको रकम हुन्डीमार्फत भारत पठाउने गरेको पाइएको छ। 
साह र बुढा भने कैलालीबाट पक्राउ परेका हुन्। उनीहरूले कैलालीको भजनीबाट १९ लाख रुपैयाँसमेत निकालेको देखिएको छ। 
घटनाका मुख्य योजनाकार भनिएका अफ्रिकन मूलका जस्ता देखिने काले हप्सी भन्ने पिटर भने फरार छन्। यसमा संलग्न अन्य पनि थुप्रै हुन सक्ने प्रहरीले जनाएको छ।
यसरी खुल्यो ह्याकरको पोल
काठमाडौं स्युचाटारका धर्मराज पौडेलले नयाँ-बानेश्वरमा पानस नामक रेमिट कम्पनी सञ्चालन गर्दै आएका छन्। उनको रेमिटमा भदौ ५ गते सुवीन्द्र मानन्धर, डोल्मा तामाङ, नीमा तामाङ, सञ्जय घले, निर्मला तामाङलगायतको समूहमा आएकाहरूले ४ लाख २० हजार रुपैयाँ निकालेका थिए।
उनीहरूले रकम निकाल्ने बेला गरेको कुराकानी र हाउभाउ समेत प्रहरीले अध्ययन गरेको थियो। सो क्रममा पनि केही शंकास्पद गतिविधि भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीहरूको कानेखुसीले शंकाको 'क्लु' रेमिटका कर्मचारीले थाहा पाइसकेका थिए। ह्याक गरेर रकम निकालिएको होला भन्ने लागेर रेमिटका म्यानेजर सविता कँडेलले यसबारे महानगरीय प्रहरी अपराध महाशाखालाई मौखिक उजुरी दिएकी थिइन्। 
उक्त सूचनापछि खटिएको महाशाखाको प्रहरी टोलीले काठमाडौंको बालाजुमा रहेको बिएनएस सब-रेमिटबाट भदौ ५ गते सञ्जय घलेले पनि रकम निकालेको जानकारी पाएको थियो। त्यसपछि प्रहरीले घलेलाई भदौ ५ गते दिउँसो साढे ४ बजे पक्राउ गरेको थियो। पक्राउ परेका घलेले माइजु नाता पर्ने लक्ष्मी तामाङले रेमिटबाट रकम निकाल्न कोड नम्बर दिएको र उनकै आदेशमा ६० हजार रकम निकालेको प्रहरीलाई बयान दिए।  
घलेकै बयानका आधारमा प्रहरी लक्ष्मीसम्म पुगेको थियो। लक्ष्मीलाई भदौ ५ गते साढे ६ बजे महाशाखाको टोलीले तारकेश्वरबाट पक्राउ गर्न सफल भएको थियो। ‘मैले लबाङ तामाङसँग २७ लाख रुपैयाँ लिनु थियो,’ लक्ष्मीले प्रहरीसमक्ष भनेकी छन्, ‘रकम माग गर्दा लबाङले मेरा मान्छेहरूले तिम्रा मान्छे, सञ्जय घले, छोरी निर्मला तामाङ, छोरा निमा तामाङ र सुवीन्द्र मानन्धरको नाममा ६० हजार रुपैयाँका दरले रकम पठाएको छु भनेका थिए। उनीहरूको नागरिकता र मोबाइल नम्बर लिएर रकम निकाल्न जानु भनेर लबाङले भने। लबाङले दिएको कोडअनुसार मैले २ लाख ४० हजार रुपैयाँ निकालेकी हुँ।’ 
उक्त रकम शंकास्पद देखिएपछि प्रहरीले उनलाई पक्राउ पुर्जी थमाएको थियो। उनीसँगै पैसा निकाल्न गएका उनका एक छोरा र एक छोरी पनि त्यसैबेला पक्राउ परेका थिए।
यसरी पक्राउ परे ह्याकिङका नेपाली एजेन्ट लबाङ
लक्ष्मी पक्राउ परेपछि प्रहरीले उनीमाथि सोधपुछ गरेको थियो। लक्ष्मीले नै लबाङका बारेमा सम्पूर्ण जानकारी प्रहरीलाई दिएकी थिइन्। लबाङ बस्ने ठेगानादेखि उनको पेशासमेत पत्ता लगाएको प्रहरीले भदौ ६ गते बिहान ५ बजे काठमाडौंको लोलाङ मिलनबस्तीबाट लबाङलाई पक्राउ गर्यो। 
लबाङ कार्की थरका एक व्यक्तिको घरमा डेरा लिएर बसेका थिए। लबाङले भाडामा लिएको फ्ल्याट प्रहरीले खानतलासी गरेको थियो। जहाँ लबाङसहित कारसाङ, डोल्मा तामाङ, सोनाम तामाङ, धनबहादुर तामाङको १/१ थान राहदानीसमेत फेला परेको प्रहरी स्रोतले जनाएको छ। उनीहरू पनि यस घटनाको मतियार हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ।
लबाङको कोठाबाट बा ३३ प ८०६९ नम्बरको सवारी दर्ता किताब, लबाङको नाममा रहेको लाइसेन्स, लबाङकै नाममा रहको माछापुच्छ्रे र नबिल बैंकको ३ थान एटिएम, आइएमई कोड ७२५८१७४७ नम्बर भएको कस्टमर कार्ड १ थान, कृषि विकास बैंकको चेकको अर्धकट्टी १ थान, २३ वटा चेक भएको १ थान चेकबुक, मोबाइल सेट, ट्याब, ल्यापटप, अन्य बैंकका चेक, बरामद गरेको थियो। त्यस्तै पानस रेमिट नयाँ बानेश्वरको कागज, नबिल बैंकको भौचरलगायतका सामान फेला पारेर उनलाई पनि पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा लबाङले धादिङ घर भई गोंगबु बस्ने ५० वर्षीय खम्ब घले भन्ने व्यक्तिसँग चिनजान भएको बताएका थिए। खम्बले काले हप्सी भन्ने अफ्रिकन नागरिक पिटरसँग चिनजान छ, तिमी कुराकानी गर। पैसा कमाउन सजिलो हुन्छ भनी ह्वाटस् एपमार्फत् आफूलाई सम्पर्क गराएको बयान लबाङले दिएका छन्। 
पिटरले ५० मिलियन डलर अर्थात् ५ अर्बसम्म ह्याक गरेर व्यक्तिको खातामा हाल्न सकिने र उक्त रकम निकालेर आफूलाई पठाए १० प्रतिशत कमिसन दिने बताएको लबाङले बताएका छन्। 
अनुसन्धान अधिकारीका अनुसार उनीहरूको कुराकानीबाट उक्त कुरा पुष्टि पनि हुन्छ। त्यसका लागि कृषि विकास बैंकमा खाता खोल्नु पर्ने पिटरले बताएका थिए। सोही अनुसार लबाङले खाता खोलेर अन्य व्यक्तिलाई पनि उक्त बैंकमा खाता खोल्न लगाएका थिए। सोही अनुसार निकालिएको ३१ लाख रुपैयाँ लबाङले विभिन्न व्यक्तिबाट लिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
गोदामको दराजमा भेटियो ३१ लाख
उक्त ३१ लाख रुपैयाँबारे प्रहरीले लबाङसँग सोधपुछ गरेको थियो। लबाङले काठमाडौं कीर्तिपुरमा रहेका पुपराज खड्का आफ्नो साथी भएको र उनलाई उक्त पैसा राख्नभन्दा आफूले सञ्चालन गरेको जडबुटीको गोदाम रेखदेख गर्न बसेको विद्यासागर लामिछानेलाई लगेर दिनु भनेको बताएका थिए। 
सोही अनुसार लबाङले ३१ लाख रकम कालो झोलामा राखेर पुष्पराज खड्काको जडिबुटीमा गोदाममा बसेका लामिछनेलाई दिएको बताएका थिए।
भदौ ६ गते बिहान साढे ६ बजेको गोदाममा रहेका लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो। लामिछाने बस्ने कोठा खानतलासी गर्दा दराजमा कालो झोलामा ३१ लाख रुपैयाँ राखेको अवस्थामा फेला परेको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 
लामिछानेले 'उक्त रकम साहु खड्काले चिनजान भइरहेका लबाङ तामाङले ल्याइदिन्छन्, सुरक्षितसाथ राख्नू' भनेकाले आफूले राखिदिएको बयान दिएका छन्। पछि लामिछानेकै सहयोगमा खड्का पनि पक्राउ परेका थिए। 
भारतमा बनेको थियो बैंक लुट्ने योजना
प्रहरी अनुसन्धानबाट भारतमा मिटिङ बसेर लुट्ने योजना बनेको देखिएको छ। यसबारे महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने, ‘भारतमा एक महिनाअघि नै मिटिङ गरेर लुट्ने योजना बनाएको देखिन्छ। त्यसका लागि नेपालबाट पटकपटक मान्छे गएका छन्।’
पिटरले बैंक सजिलै ह्याक गर्न सकिने र त्यसबापत १० देखि ३५ प्रतिशत नेपाली एजेन्टलाई दिने बताएका थिए। जसका लागि उनले लबाङको सहयोग लिएको बताइएको छ। लबाङले कृषि विकास बैंकमा खाता खोल्न लगाएपछि पक्राउ परेका अन्य व्यक्तिले खाता खोलेका थिए।
बैंकका कर्मचारीमाथि छानबिन सुरु, एकै युजर आइडी ६ पटकसम्म प्रयोग गरेर ह्याक
ह्याक गरेर रकम निकालिएको बारे छानबिन गर्न कृषि विकास बैंकले एक समिति गठन गरेको छ। बैंकका महाप्रबन्धक दीर्घ अर्यालले उक्त रकम सिरहाको लहान शाखाको मात्रै भएको बताए। पत्रकार सम्मलेनमा बोल्दै अर्यालले यसमा कर्मचारीको मिलेमतो हुन सक्छ भन्ने शंका लागेर लहान शाखाका सम्पूर्ण कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राखिएको बताए। सँगै उनीमाथि पनि बैंकले अनुसन्धान गर्ने उनले बताए।
लहान शाखामा साउन र भदौको आम्दानी र ब्याज रकम ४ करोड ७३ लाख ९६ हजार भएकाले ह्याकरले सबै रकम व्यक्तिको खातामा ट्रान्सफर गरेका थिए। लहान शाखाकै युजर आइडी ६ पटकसम्म प्रयोग गरेर रकम ट्रान्सफर गरेको अनुसन्धानमा देखिएको छ। जसकारण कर्मचारीको मिलेमतो हुन सक्ने आशंका बैंक र प्रहरी दुवैले गरेका छन्।
अन्य शाखामा कुनै समस्या नभएकाले ढुक्कले काम गर्न उनको आग्रह थियो। विश्वकै तेस्रो सुरक्षित सफ्टवेयर बैंकले प्रयोग गर्दै आएको दाबी गरेको थियो। तर ह्याकरको निशानाबाट भने बच्न सकेन।
कृषि विकास बैंकको १५ लाख रुपैयाँ कैलाश बैंकमा ट्रान्सफर गरेको समेत पाइएको छ।