Monday, September 9, 2019

सशस्त्र प्रहरी, आर्मीका भगौडा र विप्लव कार्यकर्ताको लुट ग्याङ : कसरी आयो सुरक्षा फौजले बोक्ने पेस्तोल?

छोरा लुटेपछि आमालाई लुटेराको फोन- सामान लिन आउनू

 नारायण अधिकारी |  २०७६ भदौ २२ आइतबार | Sunday, September 08, 2019  १९:५६:०० मा प्रकाशित

काठमाडौं- नवलपरासीको बर्दघाट-१५ घर भएका योगेश विक बर्दघाटमै सुनचाँदी पसल सञ्चालन गर्दै आएका व्यक्ति हुन्।
केही महिनाअघि रसुवाको पार्वतीकुण्ड (आमाछोदिङ्मो) गाउँपालिका-४ घर भएका काठमाडौं हलचोक बस्ने गोरे उपनामले चिनिने २९ वर्षीय योर्साङ घलेसँग उनको चिनजान भयो।
चिनियाँ मूलका जस्ता देखिने गोरेले त्यसबेला विकलाई वचन दिएका थिए, ‘सुनचाँदी व्यवसाय गर्नुहुँदो रहेछ। सुन चाहिएको बेला सम्पर्क गर्नुहोला। हामी सस्तोमा सुन मिलाइदिन्छौं।’
गोरेको नम्बर मोबाइलमा 'सेभ' गरेर नवलपरासी फर्केका विकले सुन चाहियो भन्दै फेरि कहिल्यै फोन गरेनन्। तर गोरेले भने 'निरन्तर नयाँ ‘माल’ आाएको छ, सस्तोमा मिलाएर दिन्छौं, आउनुस्' भन्दै पटक-पटक विकलाई फोन गर्थे।
योगेश काठमाडौं आएनन्।
केही दिनअघि भने योगेशलाई काठमाडौं आउनैपर्ने बाध्यता आइपर्‍यो। बाबुलाई गंगालाल अस्पतालमा भर्ना गरिएको थियो।
उनी बाबुको उपचारका लागि काठमाडौं आएका थिए।
सोही बेला गोरेले पुनः योगेशलाई फोन गरेर सस्तोमा सुन किन्न मिलाइदिने भन्दै भदौ १९ गते सामाखुसी बसपार्कस्थित मुस्ताङ गेस्ट हाउसको ४०४ नम्बर कोठामा बोलाए।
सस्तोमा सुन किनेर महँगोमा बेच्ने आशा लिएर योगेश उनले दिएको लोकेसनअनुसार नै उक्त होटलमा पुगे।
होटलमा गोरेले पहिला नै ४/५ जनालाई बोलाएर तयारी अवस्थामा राखेका थिए।
त्यसपछि गोरेसहितको समूहले कन्चटमा पेस्तोल ताक्दै भने, ‘हामी प्रहरी हौं। के-के छ तेरो सबै निकाल’ भन्दै लुटे। उक्त समूहले उनको साथमा रहेको पर्स, एटिएम, आइफोन र ओपो मोबाइल, नगद पैसा र झोला लुटेका थिए।
जब योगेशलाई शंका लाग्यो
लुटेरा समूहले थर्काउँदै योगेशलाई भनेका थिए, ‘तँ सस्तो पाइन्छ भन्दै नक्कली, चोरीका सामान, सुन किन्ने? तँलाई पनि लगेर थुन्छौं।’ 
हेर्दा हट्टाकट्टा खाइलाग्दो ज्यान। प्रहरीकै जस्तो छोटो कपाल। त्यसमाथि  पेस्तोल पनि भएपछि उनलाई लाग्यो, कतै यो समूह प्रहरी नै हो कि भन्ने पनि परेको थियो। तर उनलाई शंका लाग्यो, ‘प्रहरीले यसरी लुट्न त नपर्ने।’
शंका लागेपछि योगेशले लगत्तै महानगरीय प्रहरी प्रभाग बालाजुमा उजुरी दिए। 
प्रभागले उक्त उजुरीबारे महानगरीय प्रहरी परिसर काठमाडौंलाई जानकारी गराएको थियो। त्यसपछि अनुसन्धानमा खटिएको परिसरको टोलीले लुटेराको पक्राउ गरेको हो।
जब लुटेराले छोरा लुटिएको जानकारी आमालाई दिए
लुटेरा समूहले योगशको साथबाट लुटेका धेरै सामान उनीहरूलाई काम नलाग्ने थियो। केही रकम र मोबाइल बाहेक अन्य सामान उनीहरूलाई काम नलाग्ने भएपछि लुटेरा समूहले नै योगेशका आमालाई फोन गरेका थिए। 
योगेशको मोबाइलमा सेभ भएको आमाको नम्बरमा आफ्नो मोबाइलबाट फोन गर्दै लुटेरा समूहले भनेका थिए, ‘हामी प्रहरी हौं। तपाईंको छोराका एटिएम कार्ड, पर्सहरु हामीसँग छ। लिन आउनु होला।’
लुटेरा समूहसँग पुग्न 'क्लु' खोजेर बसको प्रहरीलाई उक्त सूचना महत्वपूर्ण थियो। योगेशकी आमाको मोबाइलमा आएको उक्त नम्बर पत्ता लगाइसकेपछि प्रहरी उक्त नम्बरलाई ट्रयाक गर्दै लुटेरा समूहसम्म पुग्न सफल भएको हो।
पैसा भनेर लुटेको झोलामा कपडा परेपछि
लुटेरा समूहले योगेशले बोकेर आएको एउटा पनि झोला लुटेका थिए। सुन किन्न भनेर होटलमा पुगेका योगेशले ठूलो मात्रामा झोलामा पैसा बोकेर ल्याएको हुनसक्ने लुटेरा समूहको आँकलन थियो। सोही बमोजिम उनीहरूले योगेशको झोला लुटेको महानगरीय प्रहरी परिसर काठमाडौं एसपी अशोक सिंहले बताए। 
तर लुटिएको उक्त झोलामा योगेशका कपडा मात्रै थिए। उनीहरूले योगेशको अर्को सानो झोला पनि लुट्न खोजेका थिए। उक्त झोला भने खोसेर भाग्न योगेश सफल भएका थिए। जसकारण लुटेरा समूहले योगेशका साथमा भएको ठूलो रकम लुट्न असफल भएको थियो। त्यसपछि निराश भएको लुटेरा समूहले नै योगेशकी आमालाई फोन गरेर सामान लिन आउन भनेका थिए। त्यही क्लुमार्फत् प्रहरी लुटेरा समूहसम्म पुगेको थियो।
लुटमा सेनाका भगौडा, बहालवाला प्रहरी र विप्लव कार्यकर्ता नै संलग्न
लुटमा संलग्न भएको आरोपमा प्रहरीले गोरखाको अजिरकोट गाउँपालिकामा घर भई काठमाडौं-१६ मा हाई रेस्टुरेन्ट एन्ड डान्स बार संचालन गर्ने नेपाल आर्मीका भगौडा ३८ वर्षीय कुशल अधिकारी, नुवाकोट तारकेश्वर गाउँपालिका-१ घर भई सोही रेस्टुरेन्ट संचालन गर्ने २९ वर्षीय रामबहादुर तामाङ, नुवाकोटको विदुर नगरपालिका-१० घर भई सोही रेस्टुरेन्ट संचालन गर्ने २५ वर्षीय धर्मराज तामाङ छन्। 
त्यसैगरी, गुल्मी ईस्मा गाउँपालिका-५ घरका ३० वर्षीय युवराज भण्डारी, रसुवाको पार्वतीकुण्ड गाउँपालिका-४ स्थायी घर भई काठमाडौं हलचोक बस्ने २९ वर्षीय योर्साङ घले, धादिङ खनिवास गाउँपालिका-५ घर भई टोखा जरङ्गु बस्ने हाई रेष्टुरेन्ट एन्ड डान्स बार संचालक २७ वर्षीय विजय तामाङ, नुवाकोट विदुर नगरपालिका-७ घर भई काँडाघारी बस्ने हाई रेष्टुरेन्ट एन्ड डान्स बार संचालक ३० वर्षीय पिटर तामाङ र नुवाकोट तारकेश्वर घर भई हाल बौद्ध बस्ने वर्ष ३० को राजन तामाङ छन्। 
पक्राउ परेकामध्ये ५ जना हाई रेस्टुरेन्टका सञ्चालक हुन् भने अधिकारी आर्मीका भगौडा हुन्। योर्साङ घले भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता भएको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनकै निर्देशनमा लुटको योजना बनेको प्रहरीले जनाएको छ।
त्यसैगरी पक्राउ परेकामध्ये भण्डारी भने सशस्त्र प्रहरी बलका बहालवाला जवान भएको पाइएको छ। तर प्रहरीले भने यो कुरा गोप्य राखेको छ। यसरी रेस्टुरेन्ट, सञ्चालक, प्रहरी, आर्मीका भगौडा मिलेर लुटको ग्याङ बनाएर नै लुट्ने गरेको देखिन्छ।
लुटेरासँग ७.६२ एमएमको प्रहरीले बोक्ने पेस्तोल
प्रहरीले लुटेरा समूहबाट चाइनिज पेस्तोल २ थान,  सोको म्यागजिन २ थान, गोली ४ राउन्ड, नक्कली सुन १ किलो, फलाम काट्ने औजार १ थान, लुटिएको पर्स, एटिएम कार्ड, मोबाइल २ थान, लुटिएको कपडालगायत पछाडि बोक्ने झोला १ थान, मोटरसाइकल ४ थान, मोबाइल ७ थान बरामद गरेको छ।
बरामद पेस्तोल ७.६२ एमएमको चाइनिज पेस्तोल हो। उक्त पेस्तोल नेपालका सुरक्षा फौजले बोक्ने पेस्तोल हो। उक्त हतियार सशस्त्र प्रहरीको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। सशस्त्र प्रहरीका बहालवाला जवान भण्डारी नै लुटमा संलग्न हुनले पनि उक्त पेस्तोल सशस्त्र प्रहरीको हुनसक्ने आशंका बढाएको छ। 
पेस्तोलमा भएका विभिन्न कोड तथा नम्बरहरू समेत कोरेर मिटिएका छन्। जसका कारण उक्त हतियार झनै शंकास्पद भएको प्रहरीले जनाएको छ। सुरक्षा फौजले बोक्ने उक्त हतियार कसरी बाहिरियो? पेस्तोलमा भएका कोड किन मेटाइयो? जस्ता प्रश्नले झनै शंका उब्जाएको छ। 
उक्त हतियारको फरेन्सिक जाँचका लागि प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइने प्रहरीले जनाएको छ।
लुटको योजना बनाउँदाबनाउँदै पक्राउ
सिसिटिभी फुटेज र पीडितले आमालाई गरेको कलबाट लुटेरा समूहको पहिचान प्रहरीले गरिसकेको थियो। सोही अनुसार एक लुटेरा समेत पक्राउ परिसकेका थिए। त्यसपछि उनकै सूचनाका आधारमा हाइ रेस्टुरेन्ट पुगेको थियो। जहाँ बाँकी ७ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको थियो।
त्यसबेला उनीहरूले अर्को लुटको योजना बनाउँदै गरेको अवस्थामा पक्राउ परेको डिएसपी बोगटीले बताए। उनीहरूले बौद्धस्थित एक व्यक्तिको घर लुट्न रेकी गरेर १/२ दिनभित्रै लुट्ने योजनामा रहेको प्रहरीले जनाएको छ। उनीहरूले रेस्टुरेन्ट सञ्चालन गरेजस्तो गर्ने र त्यही लुटेको योजना बनाएर लुट्ने गरेको प्रहरीले जनाएको छ। यो समूहले यसभन्दा अघि पनि लुटेको हुन सक्ने प्रहरीले जनाएको छ।

No comments:

Post a Comment