Monday, September 9, 2019

दुलही 'किनबेच' गरेर चीनमा मानव तस्करी : बा-आमालाई ६० हजार, तस्करलाई १० लाख

नारायण अधिकारी |  २०७६ भदौ १३ शुक्रबार | Friday, August 30, 2019  १७:१९:०० मा प्रकाशित


काठमाडौं– विवाहको बहानामा नेपाली युवतीहरुको चीनमा मानव तस्करी हुने गरेको रहस्य बाहिर आएको छ। 
विवाहको बहानामा मानव तस्करी हुन लागेको भन्ने सूचना आधारमा मानव बेचबिखन नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले विभिन्न मिति तथा स्थानहरुबाट ४ जना पीडित युवतीहरुको उद्धारसमेत गरेको छ। 
मानव तस्करीमा संलग्न ६ नेपाली र ४ चिनियाँ नागरिक गरी १० जना पक्राउ परेका छन्। 
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु–२ की रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकोटको ककनी गाउँपालिका–४ घर भई टोखा बस्ने रोज तामाङ, लमजुङको बेँसीसहर–३ की पार्वती गुरुङ, सोही ठाउँकी अमृता गुरुङ, बेँसीसहरकै भरत तामाङ, लमजुङकै उषाकुमारी घिमिरे छन्। 
त्यसैगरी पक्राउ परेका चिनियाँ नागरिकमा जेङ छिङ डाङ, झाङ डोङ हुई, क्वानहाङ पिङ, क्वीन लियाङ छन्। 
कसको भूमिका के?
पक्राउ परेकी रिनाले नेपाली दलाल र भाषा अनुवादको भूमिका निभाएको ब्युरोका एसपी गोविन्द थपलियाले बताए।
त्यस्तै रोज तामाङ रिना तामाङलाई कागजपत्र बनाउन तथा अन्य काममा सहयोगी गर्ने व्यक्ति भएको पाइएको छ। पार्वती गुरुङले भने गाउँबाट काठमाडौं ल्याइएका युवतीहरुलाई राख्ने तथा एजैन्टसँग भेट गर्ने व्यवस्था मिलाउने गर्थिन्। अमृताले भने गाउँबाट युवतीहरुलाई फकाएर काठमाडौंसम्म ल्याउने काम गरेको अनुसन्धानबाट खुलेको छ।
त्यस्तै भरतले गाउँबाट युवतीहरु फकाएपछि अमृताको जिम्मा लगाउने गरेका थिए भने उषाले विभिन्न स्थानहरुबाट युवतीहरुलाई सम्पर्क गरेर भिनियाँ नागरिकहरु भेट गराउने काम गर्थिन्।
चिनियाँ नागरिक जेङ छिङ डाङ र झाङ डोङ चिनियाँ दलाल भएको पाइएको छ। क्वान हाङ र क्वीन लियोङ भने नेपाली युवतीसँग विवाह गर्न भनेर काठमाडौंसम्म आएको पाइएको छ। 
अनुसन्धानबाट खुल्यो नयाँ रहस्य
नेपालका विभिन्न जिल्लाहरूबाट पारिवारिक तथा आर्थिक अवस्था कमजोर भएका युवतीहरुलाई चिनियाँ नागरिकसंग विवाह गरी चीन पठाउने भन्दै फकाउने गरेको पाइएको ब्युरोले जनाएको छ। 
उनीहरुले चीन गएमा जीवन राम्रो हुने, चिनियाँ पासपोर्ट प्राप्त गर्ने, परिवारले समेत आर्थिक लाभ प्राप्त गर्ने भनी प्रलोभन देखाउने गरेका थिए। प्रायः कम उमेरका तथा मङ्गोलियन अनुहारका युवतीहरुलाई लक्षित गरिएको देखिएको प्रहरीले जनाएको छ। 
पीडितलाई स्थानीय दलालहरुले आफ्नोसाथ काठमाडौं ल्याई काठमाडौंको दलाललाई जिम्मा लगाउने गरेको पाइएको छ। विभिन्न दलालहरु मार्फत आएका युवतीहरुलाई काठमाडौंको दलालले आफूसँग फ्ल्याटमा राखी उनीहरुलाई विदेश नपठाउँदासम्म १५/२० दिनमसम्म एउटै स्थानमा राख्ने गरेका थिए। 

मानव तस्करीको आरोपमा पक्राउ परेकाहरु

काठमाडौं ल्याइसकेपछि युवतीहरुलाई मेकअप गर्न सिकाउने, भड्किलो पहिरन लगाउन उत्प्रेरित गर्ने, अन्य एजेन्टमार्फत विवाह गर्न इच्छुक चिनियाँ नागरिकलाई प्रत्यक्ष र भिडियो कलमार्फत भेट गराउने गरेको पाइएको ब्युरोका एसपी गोविन्द थपलियाले बताए। 
त्यसपछि चिनियाँहरुले आफ्नो इच्छानुसार युवतीहरु छान्ने गरेको थिए। युवतीहरुलाई विवाह गर्ने भनिएको श्रीमानको घर, परिवारको बारेमा अनलाइन कलबाटै अत्यन्तै न्यून जानकारी गराइएको थियो। 
विवाह गर्ने युवती तय भएपश्चात् चीनमा रहेका दलालमार्फत चिनियाँ नागरिकहरु काठमाडौंमा आएर यहाँ रहेका चिनियाँ दलालसँग सम्पर्क गर्ने गरेका थिए। चिनियाँ र नेपाली दलालहरुको समन्वयमा नेपाली युवती र चिनियाँ युवकहरुलाई भाषा अनुवादको समेत व्यवस्था गरी (भाषा अनुवादक प्रायः नेपाली दलाल हुने गरेको) काठमाडौंका विभिन्न स्थानहरुमा भेटघाट गराउने गरेको पाइएको छ। 
काठमाडौंमा भेटपश्चात् चिनियाँ नागरिकले आफूले छानेका युवतीहरुको यकिन गर्ने गरेका थिए। २/४ दिन चिनियाँ नागरिकसँग विभिन्न स्थानहरुमा अथवा अनलाइन सम्पर्क गराउने, चिनियाँ खानपिन तथा रहनसहनबारे सिकाउने गरेको अनुसन्धानबाट खुलेको छ। 
त्यस्तै युवतीहरुलाई विवाहका लागि आवश्यक कागतपत्रहरु अविवाहित प्रमाणपत्र, विवाह दर्ता आदि आफै तयार गर्न लगाउने गरेको पाइएको छ।
विवाहका लागि युवतीका परिवारलाई समेत विभिन्न प्रलोभनमा पारी सहमति लिने, सम्भव भएसम्म हुनेवाला दुलाहासँग भेटघाट गराई विवाह दर्ताका क्रममा साक्षीको रुपमा समेत राख्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
काठमाडौं  जिल्ला अदालतबाट कानुनी प्रक्रिया पूरा गरी विवाह दर्ता परिवारका सदस्यहरुकै उपस्थितिमा गराउने र विमानस्थलसम्म पुर्‍याउनेसम्मका योजना रहेको देखिएको छ। यसबाट परिवारको पूर्ण सहमतिमा विवाह गराई चीन पठाउने भन्ने देखिएको प्रहरीले जनाएको छ। 
चिनियाँ एजेन्टहरु लामो समयदेखि नेपालमा विभिन्न पेसा गरी बसोबास गर्ने, नेपाली नागरिकहरुसँग राम्रो चिनजान गर्ने, नेपाली भाषा बोल्नेसम्म भएका थिए। नेपालीहरुसँग चिनजानको आधारमा उनीहरुलाई विभिन्न गाउँहरुबाट नेपाली युवतीहरु खोजी काठमाडौंसम्म ल्याउन प्रेरित गर्ने गरेका थिए। 
एक युवतीलाई विवाह गराएबापत काठमाडौंमा रहेको चिनियाँ दलालले १० लाखसम्म पाउने सहमति भएको थियो। 
त्यस्तै काठमाडौंका नेपाली दलालले १ देखि २ लाख, युवतीहरु राख्ने नेपाली दलालले ८० हजार, युवतीका अभिभावकले ५० देखि ६० हजार र नयाँ फोन वा जिन्सी सामानहरु प्राप्त गरेको देखिएको छ।
अभियुक्तहरुबाट १२ थान मोबाइल र २१ लाख ९७ हजार ९ सय ६० नेपाली रुपैयाँ, ३८ हजार भारु, ३३ सय चिनियाँ युयान र ९ अमेरिकी डलर बरामद भएको छ। 
नेपाली युवतीहरुलाई यसरी नै विवाहको माध्यमबाट चीन र दक्षिण कोरिया पठाउने समूहका अपराधीहरुलाई २०७१ सालमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी कारबाही गरिएको थियो।
नेपाली र चिनियाँ दलालहरुले गाउँदेखि चीनसम्म आफ्नो सञ्जाल फैलाई संगठित रूपमा पैसाको लेनदेन गराई विवाह गराउने गरेको पाइएको प्रहरीले जनाएको छ। 
संसारभर यस प्रकारको अपराधलाई मानव तस्करीको एक स्वरुपको रुपमा लिइन्छ र प्रचलनमा यसलाई 'ब्रिड्स बाइङ' भन्ने गरिन्छ। 
पक्राउ परेका सबैलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण  ऐन, २०६४ अन्तर्गत म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। (प्रतीकात्मक तस्बिर)

No comments:

Post a Comment