Thursday, September 26, 2019

एक महिनादेखि ह्याकरले लुट्दै आएका थिए कृषि विकास बैंक, ५ करोडभन्दा बढी लुटियो

नेदरल्यान्डको आइपी भिपिएन प्रयोग गरी काठमाडौंबाटै लुट, भाडामा नेपालीकै प्रयोग

नारायण अधिकारी |  २०७६ असोज ८ बुधबार | Wednesday, September 25, 2019  ०९:१६:०० मा प्रकाशित
काठमाडौं‍- कृषि विकास बैंक विगत एक महिनादेखि ह्याकरले लुट्दै आएको पाइएको छ। एक महिनाको बीचमा ह्याकरले बैंकको ५ करोड रुपैयाँभन्दा बढी रकम लगिसकेको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
स्रोतका अनुसार ५ करोड रुपैयाँ निकाल्दासम्म बैंकले थाहा पाएको थिएन। विशेष सूचनाका आधारमा अनुसन्धानमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बैंक लुटिएको रहस्य पत्ता लगाएर बैंकलाई खबर गरेको थियो।
स्रोतले नेपाल लाइभसँग भन्यो, 'बैंकको कुनै उजुरी आएको थिएन। हाम्रै अनुसन्धानबाट लुटिएको पत्ता लागेपछि बैंकलाई खबर गरेका थियौं। त्यसपछि मात्रै बैंक लुटिएको कर्मचारीले थाहा पाएका थिए।’ प्रहरीले घटनाबारे जानकारी पाउँदासम्म ह्याकरको समूहले कृषि विकास बैंकको ५ करोड रुपैयाँभन्दा बढी रकम लुटिसकेको जनाएको छ।
महाशाखाको टोलीले पैसा निकाल्ने ७ जनालाई आइतबार पक्राउ गरेको थियो भने बाँकी ३ जनालाई मंगलबार पक्राउ गरेको थियो। पक्राउ पर्नेमा निमा तामाङ, सञ्जय घले, सुजन कार्की, लक्ष्मी तामाङ, निर्मला तामाङ, लमजुङका विद्या सागर, पुष्पराज खड्का, लेवाङ तामाङलगायत छन्। पक्राउ पर्ने क्रम अझै जारी रहेको प्रहरीले जनाएको छ।
नेदरल्यान्डको आइपी भिपिएन काठमाडौंमै प्रयोग गरेर ह्याक
अनुसन्धानमा खटिएको प्रहरी टोलीका अनुसार ह्याकरले नेदरल्यान्डको आइपी एड्रेस प्रयोग गरेको पाइएको छ। उनीहरुले नेदरल्यान्डको आइपी भिपिएन काठमाडौंबाटै प्रयोग गरी ह्याक गरेको प्रहरीले अनुमान गरेको छ।
नेदरल्यान्डको आइपी प्रयोग भएपछि ह्याकर नेदरल्यान्डमै रहेको भन्ने विश्वासमा पार्न ह्याकरले त्यसो गरेको हुनसक्ने प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। स्रोतका अनुसार ह्याकर विदेशी भए पनि कुन देशका हुन् भन्नेबारे प्रहरीले केही पत्तो पाउन सकेको छैन। भिपिएन प्रयोग गरेपछि आइपी एड्रेस जुन देशका हो त्यही देशको देखाउँछ।
यसरी निकालिन्थ्यो रकम
ह्याकरले बैंकको खातामा रहेको रकम सिस्टम ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गर्थे। त्यसको लागि विदेशी ह्याकरले ठूलो संख्यामा नेपाली बैंक खातावालाहरुको सहयोग लिएको बुझिएको प्रहरीले जनाएको छ। यसरी बैंकको रकम व्यक्तिको खातामा ल्याएपछि उनीहरुले उक्त रकम निकालेर ह्याकरलाई दिने गरेको प्रहरीले जनाएको छ।
आफ्नो खातामा आएको रकम निकालेर ह्याकरलाई दिएवापत उनीहरुले ह्याकरबाट कमिसन लिने गरेको पाइएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। उनीहरुले आफ्नो खाताबाट रकम निकाल्दा ९ लाख ९९ हजार रुपैयाँका दरले निकाल्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
उनीहरुले एटिएमभन्दा पनि चेकबाटै रकम निकाल्ने गरेको प्रहरीले जनाएकोे छ।
प्रहरीले अन्य बैंकको पनि रकम लुटिएको हुनसक्ने जनाएको छ। यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले विभिन्न बैंकबाट ह्याक गरी झन्डै २ करोड रुपैयाँ निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो। जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए। २ चिनियाँ भने अझै फरार छन्।

No comments:

Post a Comment