Monday, January 28, 2019

डा केसीका 'काउन्टर अनसनकारी' थापा पेस्तोलसहित पक्राउ परेका अभियुक्त

डा केसीका 'काउन्टर अनसनकारी' थापा पेस्तोलसहित पक्राउ परेका अभियुक्त

यस्तो छ, थापाको आपराधिक पृष्ठभूमि

नारायण अधिकारी
21.1kShares
 Share
 Tweet
 Share
 Email
Nepal Live

काठमाडौं– चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा गोविन्द केसी १६औं अनसन बस्न इलाम पुगे। पुस २५ देखि उनले आमरण अनसन थाले। त्यसको दुई दिनपछि एक युवकले पनि इलाम चोक बजारको लाकुरी चौतारामा अनसन थाले।
उनको अनसनको उद्देश्य भने डा केसीको भन्दा भिन्न छ। डा केसीका मागसँग असहमति जनाउने पक्षका लागि विजय थापाको अनसन बलियो बहाना भएको छ। डा केसीसँग विपरीत माग राखेका उनलाई डा केसीविरोधी समूह ‘सेलिब्रिटी’ बनाउन लागिपरेको छ। 
डा केसीको झाँको झार्न उनलाई समर्थन गर्ने एक समूह सक्रिय छ। तर, उक्त समूह थापाको विगतसँग भने अनभिज्ञ छ। 
डा केसीविरुद्ध अनसन बसेपछि उनको पृष्ठभूमि खोज्दै जाँदा थापा आपराधिक क्रियाकलापमा संलग्न भएको नेपाल लाइभले फेला पारेको छ । 
थापाको आपराधिक पृष्ठभूमि
ओखलढुंगाको साबिक सिस्नेरी गाविस ४ का थापा २०५८ सालमा बसाइँ सरेर उदयपुरको कटारी आएका थिए। उनको परिवार कटारी नगरपालिका–४ मा बस्थ्यो। पछिल्लो समय भने उनको परिवार कटारीबाट बसाइँ सरेर काठमाडौं कपनको तेन्जिङ चोकमा बस्दै आएको छ। 
थापा नेपाली सेनाका पूर्व जमदार तेजबहादुर थापाका जेठा छोरा हुन्। त्रिवेणी उच्च मावि कटारीमा उनले कक्षा १० सम्म अध्ययन गरे। त्यहीँबाट २०६५ सालमा एसएलसी दिएका उनी अनुत्तीर्ण भएको उक्त विद्यालयका एक शिक्षकले नेपाल लाइभलाई बताए। तर, अहिले उनी स्नातक पढ्दै गरेको भन्ने समाचारसमेत आएका छन्। यसबारे प्रस्ट पार्दै ती शिक्षकले भने, ‘हाम्रो स्कुलबाट चाहिँ एसएलसी पास गरेका होइनन्। अन्तैबाट पास गरेर स्नातक पढेको भए जानकारी भएन।’
एसएलसी दिँदै गरेको समयमा पनि उनी कटारी प्रहरीको खोजी सूचीमा थिए। स्थानीय व्यवसायीहरुलाई धम्क्याउने र तत्कालीन माओवादी युवा संगठन वाइसिएलको नाम लिँदै व्यवसायीबाट रकम असुल्ने गरेको बुझिएको छ। 
प्रहरीको खोजी सूचीमा भएकाले उनले छिमेकी जिल्ला सिन्धुलीको डम्बरखाडी गाउँका एक व्यक्तिको घरमा बसेर एसएलसी परीक्षा दिएको जानकारहरु बताउँछन्।
उनले केही युवा जम्मा पारेर आफ्नो समूह बनाई फसेको पैसा उठाउने र त्यसबाट कमिसन लिनेसमेत गरेको बुझिएको छ। यसैगरी उदयपुरको चुरे जंगलबाट हुने काठ तस्करीमा समेत उनको नाम जोडिएको थियो। 
आफ्नो सञ्जाल विस्तार गर्दै उनले तराईसम्म पुर्याएका थिए। तराईमा उनले आफूलाई ‘शिवा’ भनेर चिनाएका थिए। अहिले पनि उनलाई चिन्नेले ‘शिवा’ नामबाटै चिन्छन्।
तराईमा आपराधिक क्रियाकलाप गर्नकै लागि २०६७ साल जेठमा संयुक्त क्रान्तिकारी मुक्ति मोर्चा नामक संगठन खोलिएको थियो। उक्त संगठनको थापा महासचिव थिए। त्यसबेला हालका आइजिपी सर्वेन्द्र खनाल धनुषा प्रहरी प्रमुख थिए। उक्त संगठन गठन भएको भोलिपल्टै खनाल नेतृत्वको प्रहरीले महासचिव थापा र उक्त समूहका सैन्यप्रमुख ज्वालामुखी उपनामका सिरहा बडहरामाला– ३ बस्ने १९ वर्षीय वीरेन्द्र सदालाई पक्राउ गरेको थियो।
जाँचका क्रममा प्रहरीले दुवैलाई धनुषाको ढल्केबर–३ बाट त्यसबेला हतियारसहित पक्राउ गरेको थियो। त्यसबेला प्रहरीले उनीहरूका साथबाट नाइन एमएमको सिक्सर पेस्तोल एक थान, एक राउन्ड गोली, संयुक्त क्रान्तिकारी मुक्ति मोर्चा हस्तलिखित पत्र र तीन थान मोबाइल बरामद गरेको थियो। 
त्यसबेलाका धनुषाका एसपी सर्वेन्द्र खनालले गरेको पत्रकार सम्मेलनमा पक्राउ परेका थापासहित दुवैले सिरहा, धनुषा, महोत्तरी, उदयपुर र सिन्धुलीमा पार्टी विस्तार गरेर सदरमुकाममा बम विस्फोट गराउने योजना बनाएको स्वीकार गरेका थिए। (२०६७ मा हतियारसहित पक्राउ परेपछि प्रहरीले सार्वजनिक गर्दा कालो सर्टमा विजय थापा, हे. तस्बिर)
पक्राउ परेका उनलाई हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न महोत्तरीको जलेश्वर कारागार पठाइएको थियो। २०६७ असार १८ गते पुर्पक्षका लागि जेल चलान भएका थापा झन्डै एक वर्षपछि २०६८ बैसाख १८ गते धरौटीमा रिहा व्यक्ति हुन्। 
जलेश्वर कारागारबाट रिहा भएपछि पनि उनको आपराधिक क्रियाकलाप रोकिएन। व्यवसायीलाई धम्काउँदै अवैध रुपमा गाडीहरुबाट कर भन्दै अवैध रकम उठाउने गरेको थाहा भएपछि उनलाई फेरि इलाका प्रहरी कार्यालय, कटारीले २०७० भदौ १९ गते पक्राउ गर्‍यो।
कटारीका तत्कालीन डिएसपी किसनसिंह थापाको टोलीले उनलाई पक्राउ गरेको थियो। पछि सार्वजनिक अपराधमा मुद्दा दायर भएर अनुसन्धान सुरु भएको थियो। 
उनी ०७० असोज १३ गते २८ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।
उनलाई ओखलढुंगा र उदयपुर जिल्लाको सिमानामा पर्ने लेखानी गाविसस्थित घुर्मीबाट जिल्ला निकासी हुने वस्तुको अवैध कर असुल्ने धन्दामा संलग्न भएको आरोप पनि लागेको थियो। निकासी करका नाममा ओखलढुंगा, सोलुखुम्बु र खोटाङ गरी तीन जिल्लाका व्यवसायी तथा गाडीबाट उनले रकम असुलेको उजुरी आएपछि इलाका प्रहरी कार्यालय, कटारीले उनलाई त्यसबेला पक्राउ गरेको थियो।
कटारीकै च्याङ्गा भन्ने ठाउँमा २०७० सालमा जग्गा किनबेचको कुराकानी गरेर नकिनेको भन्दै उनले सिन्धुलीका एक किसानलाई धम्क्याएका थिए। खलोमा धान झार्दै गरेका किसानलाई उनले ‘जग्गा किन्छस् कि उडाइदिऊँ’ भन्दै धम्की दिएका थिए। स्थानीय व्यवसायीहरुलाई धम्क्याउँदै रकम असुल गर्ने उनीविरुद्ध सिरहा प्रहरीमा समेत हातहतियार तथा खरखजना मुद्दा चलेको स्रोतले बताएको छ। 
सिरहा प्रहरीको रेकर्ड अनुसार २०७१ चैत २५ मा हातहतियार तथा खरखजाना मुद्दामा थापासहित सिरहा मिर्चैया नगरपालिका ५ का उमेश मण्डल पक्राउ परेका थिए। उनीहरुको साथबाट दुई राउन्ड गोली लोड भएको पेस्तोल प्रहरीले बरामद गरेको थियो। थापा सिरहामा पनि हातहतियार तथा खरखजाना मुद्दामा जेल बसेर मुक्त भएका व्यक्ति हुन्।
यस्ता आपराधिक क्रियाकलापमा संलग्न तिनै थापा अहिले डा गोविन्द केसीविरुद्ध अनसन बसिरहेका छन्। गोविन्द केसीलाई गत शुक्रबार बिहानै काठमाडौं ल्याएपछि थापा पनि सँगसँगै काठमाडौं आइपुगे। ९ बुँदे मागसहित अनसनमा रहेका उनी पनि त्रिवि शिक्षण अस्पतालमै छन्।

Sunday, January 20, 2019

नलेखिएको एउटा समाचार

नलेखिएको एउटा समाचार

नारायण अधिकारी

मैले प्रहरी रोएको कहिल्यै देखेको थिइन । बाल्यकालदेखि प्रहरी बहादुरीका प्रतीक थिए मेरा लागि । तर त्यो दिन बर्दीको एउटा सिपाहीले आफ्ना बालबच्चाको भविष्य सम्झिँदै आँसु चुहाए । त्यो आँसुले म पग्लिएँ । पग्लनु हुन्थ्यो कि हुन्नथ्यो, तर म पग्लिएँ ।
– नहुनु गल्ती भैहाल्यो, अब त्यस्तो कहिल्यै हुन्न हजुर । (ठूलो गल्तीपछिको पश्चाताप झैँ रामबहादुर (नाम परिवर्तन) कालो अनुहार लगाएर विनय गर्न थाले)
–    त्यस्तो सानो कुरामा तपाइँले त्यस्तो गर्न नहुने ...
–    हो नि ! बुद्धि बिग्रिएर के भो के, तर अब त्यस्तो कहिल्यै गर्दिन, नियम अनुसार नै काम गर्छु, तपाइँले मेरो आँखा खोलिदिनुभयो । (रामबहादुर घोसेमुन्टो लगाएर निराश देखिए )
औँला किबोर्डमा पुर्‍याउँछु, अहँ मन मान्दैन । तैंले यो लेख्नु उचित छैन भन्छ । मस्तिष्कले लेख्न खोज्छ, मनले दिँदैन । मन र मस्तिष्कको द्वन्द्व चलिरहन्छ । न मनले हार्न सक्छ न मस्तिष्कले जित्न । अन्तिममा मन र मस्तिष्कलाई ‘विन विन’ स्थानमा राख्दै लेख्दैछु । थाहा छैन रामबहादुरको आशुँले पग्लिएर वा नलेख्दा स्वयमलाई हुने पीडाबाट बच्न । तर लेख्दै छु । 
सँधै झैं त्यो दिन पनि अफिसमा एडिटोरियल मिटिङ बसियो । चालकको अनुभवबारे मैले रिर्पोटिङ गर्नुपर्ने भयो । चक्रपथ पुगेर गाडी चढेँ । 
चालकका दुःख सुखका कुरा गर्दै जाँदा एकजना चालकले ट्राफिकले दुःख दिने गरेको प्रसँग उठाए । सिकारी कुकुरको जस्तै चनाखो भएका मेरो कानले यो कुरा सुन्ने बित्तिकै पक्कै यहाँ केही होला भन्ने लाग्यो । 
‘के दुःख दिन्छन् ? ट्राफिक नियम पालना गर्नुहुन्न होला अनि दुःख दिन्छ भन्नुहुन्छ !’ मैले सोधें । 
‘मैले गल्ती नै नगरी जरिवाना तिरेको छु । कत्रो तनाव पाएको छु’ उनले भने ।   
उनले आफ्नो कहानी यसरी बताए - त्यसदिन अर्को गाडीले बाटो काट्न लाग्यो मैले गाडी रोक्नुपर्ने भयो । रोकेँ । एकजना महिला मेरो गाडीबाट झर्नुभयो । यात्रु नझार्ने ठाउँमा किन झारेको भन्दै एकजना ट्राफिकले कागजपत्र मागे । मेरो गल्ती छैन । जामको बेलामा यात्रु झारेको हुँ । मेरो गल्ती नभई किन दिने, म दिन्न भन्दै अघि बढेँ । तर उनले मलाई पिछा गरे र समातेर चौकीमा पुर्याए ।
चौकी गाडी पुगेपछि मैले के गल्ती गरेँ चिट काट्नुस् कतिको काट्नु हुन्छ । म तिर्न तयार छु । तर मेरो गाडी छोड्दिनुहोस् भनें । (चालकको अनुहारमा त्यस दिनको रिस प्रष्टै देखिन्थ्यो)
उनले हाकिमले नभनी छोड्न मिल्दैन भने । त्यहाँ मेरो मात्र गाडी थिएन, अर्को एउटा लेन मिचेको गाडी पनि थियो । हामी दुईजना चालक दिनभर त्यतै वरपर गफ गरेर बस्यौं, गाडी छुटाउने आशामा । तर गाडी छुट्ने छाँटकाँट देखिएन ।
के गर्ला र भन्ने सोचाईमा थिएँ । तर १ रुपैयाँको चिट नकाटीकन १२ बजे समातेको गाडी बेलुका ६ बजे छुट्यो । 
चालकको यो कुरा सुनेर मलाई अचम्म लाग्यो । ट्राफिकको पनि कुरा सुनौं न त भनेर ट्राफिक कार्यालय जाँदा म तीनछक परेँ । चालकले भनेको एकएक कुरा ट्राफिकले नकार्न सकेनन् । 
–  रामबहादुर सर हुनुहुन्छ ?
–  बाहिर गएका छन् बस्दै गर्नुस् न । 
(ट्राफिकको बर्दीमाथि कालो ज्याकेट लगाएका २९/३० वर्षको जवान काँधमा सिलिण्डर बोकेर पसिना चुहाउँदै भित्र छिरे) 
– मलाई भेट्न को आउनु भाछ भन्या ? (अनुहारमा उत्सुकता देखाउँदै रामबहादुरले सोधे)
–  तपाई रामबहादुर हो ?
–  हो । मैले त तपाईलाई चिनिन त ।
– कुरा गर्दै गएपछि चिनिहालिन्छ नि (म रामबहादुरलाई नियाल्दै थिएँ)... अस्ती एउटा गाडी यहाँ १२ बजेदेखि ६ बजेसम्म बसेछ है ? (लामो कुरा नगरी जे कामका लागि आएको त्यहि प्रसंग जोडेँ)
–   खै होला ..कति हुन्छन् कति ..यादै हुन्न । (झिझ्यार मानेजस्तो गरेर रामबहादुर बोले)  तपाईं समितिबाट हो ? 
– ‘हैन’ मैले भनेँ । अनि ६ घण्टा गाडी बस्दा पनि चिट नकाटी पठाउनुभएछ नि किन त ? (सोध्दा नसोध्दै रामबहादुरको अनुहार कालो भैसकेको थियो)  
–  तपाई मेट्रोबाट हो ? (केही डराए जस्ता देखिएका रामबहादुरले सोधे)
–  ‘हैन’ ।  (मैले हैन भनेपनि रामबहादुर हो जस्तो पारामा मलाई हेर्दै थिए) 
यतिकुरा हुदाँसम्म त्यहाँ ठूलै ज्वालामुखी विष्फोट हुन लागेजस्तो, आँधी तुफान आउन लागेजस्तो भयो । रामबहादुर घोसेमुन्टो लगाएर आफू बसेको कुर्सीको हात राख्ने ठाउँ कोट्याउन थाले ।  
– अनि चिट काट्नु भएन..ठिकै छ । चिट नकाटेपनि मासु चाहिँ किन किन्न लगाउनुभयो नि, एउटा गल्ती गरिसकेपछि फेरि दोहोर्‍याएर गल्ती गर्ने ? (चालकसँगको कुराकानीमा उनले ट्राफिकले आफूलाई दुई किलो मासु किन्न लगाएर छाडिदिएको बताएका थिए, यहाँ रामबहादुरको हावभाउले त्यो कुरा हो भनेर पुष्टि गरिरहेको थियो)
– के गर्नु हजुर यस्तै भयो, गल्ती भइहाल्यो । (ओठमुख सुकिसकेका रामबहादुरले घोसेमुन्टो लगाउँदै मलिन स्वरमा भने)
उनी बोल्न छाडे । एकतर्फी मात्र कुरा हुन थाल्यो । उनी बोल्न नसकेर मुन्टो मात्र हल्लाउँथे । 
– एकै छिन है । (हतारिँदै उनी आफ्ना हाकिम सइ भएको ठाउँमा गए)
रामबहादुर सिर निहुर्‍याउँदै सइसँग कुरा गर्दै थिए । सइले टाउको कन्याउन थाले । पुलुक्क झ्यालतिर हेरे । रामबहादुरको शिर निहुरेका थियो । त्यो बेला सइले के सोचे मैले अनुमान लगाउन सकिन । सइ हतारिँदै म भएतिर आए। 
– त्यसो त नगर्नु पर्ने ...कसरी गरेछ त ! (कुराको चुरो बुझ्न खोजे सइले)
– ल सर केटाहरुले गल्ती गरिहालेछन्, तपाईंले हाम्रो आँखा खोलिदिनुभयो, अब यस्तो हुँदैन  ।
(रामबहादुरकै कुरा दोहोर्‍याउँदै थिए सइ । त्यो २ किलो मासुको बराबर साझेदार उनी पनि  । तर उनका आँखामा रामबहादुरका जस्ता पीडा थिएनन् । ग्लानी थिएनन् । न पश्चाताप नै । मात्र शब्द पुकार गर्दै थिए । पीडा बुझाउन खोज्दै थिए । मेरा आँखा सइबाट हटेर रामबहादुरलाई हेर्दै थिए । अझै झुकेको रामबहादुर । कस्तो पीडा, कत्रो पश्चाताप । साच्ँचै गल्ती गरेँ भन्ने थियो उनका आँखामा)  
– सरले समस्या बुझिदिुन पर्‍यो  (सइको अनुरोध थियो मसँग, अनुरोधसँगै उनी बाहिरिए । अब बाँकी थिए उनै निराश रामबहादुर)
– सर म डुबेँ, सकिएँ (शब्दको करुणासँगै हात जोडेर खडा रामबहादुर साँच्चै टीठलाग्दा देखिएका थिए । बर्दीको एउटा सिपाही आँखामा आँसु निकालेर करुणामिश्रित स्वरमा पश्चाताप गर्दा कसको मन नपग्लेला ? )
– बुबाले पनि ज्योतिषलाई हात हेराउँदा तेरो जागिर जान्छ भन्थे, अब मेरो जागिर जाने भयो सर म के गरुँ ?  मिलाउन मिल्दैन र सर ! (आँखामा छचल्किसकेको आँसु रामबहादुरले थाम्न सकेनन्)
मसँग जवाफ थिएन । पाक्न लागेको बालीमा आँधी तुफान आउन लागेजस्तो भर्खर तलब बढेर जीवन धान्न अलिकति सहज हुन लागेको बेला जागिर जाने भयो भनेर सोच्दै उनी त्यसपछिको भविष्य के गर्ने भन्ने विकल्पतर्फ समेत जान थालेका थिए । 
– भर्खर घरबाट श्रीमती ल्याएको छु, दुई छोराछोरी छन् । अब के गरेर पालौं सर ? 
(रामबहादुरलाई के भनौँ, कसरी पाल भन्नु उसका परिवार । नराम्रो काम नराम्रो नै हो । तर खानेले कति कति खाए । सिपाही रामबहादुर दुई किलो मासुमा कसरी फसोस् । के गरौँ ! रामबहादुर जत्तिकै तनावमा परेँ म, साँच्चै फस्छ कि के हो रामबहादुर !!)
– महाशाखाले थाहा पाएको छ कि छ्रैन ? (अब उनको स्वर बदलिएको थियो, आँखा अर्कै के बुझ्दै थियो कुन्नि निकै राता देखिएका थिए । झर्न नसकेर टल्किरहेका आँशुका थोपाहरु) अब यो समाचार मेरो घरमा पनि सुन्छन् ? उनले प्रश्न गरे।
–  देशका दुईसय भन्दाबढी एफएमबाट बज्छ किन नसुन्नु नि ? (मैले यति भन्दा हजारौँ बिच्छीले एकैपटक टोकेजस्तो उनको शरीरबाट चिट्चिट् पसिना आउन थालिसकेको थियो)
–  ओहो ! सबतिर सुन्छन् हैँ (काँपेको स्वरमा बोल्दै थिए उनी) 
–    सर उता जाउँ न त चिसो खाँदै कुरा गरौँ (रामबहादुर आफूले जानेको फकाउने तरिका प्रयोग गर्दैछन् भन्ने मैले बुझेको थिएँ । मैले कृत्रिम हाँसो हाँसेर उनको प्रस्ताव अस्वीकार गरेँ)
–    अब के गर्ने ! जे भएपनि भोग्नै पर्ने भयो (यतिबेला बल्ल सिपाही जस्ता देखिए रामबहादुर, दृढता देखाए । जे हुनु भयो, जे पर्ला पर्ला)
–    सरको नम्बर पाउँ न  (म निस्कन लागेको बुझेर रामबहादुरले भने) 
यो गजब्बको समाचार हो लेख्नुपर्छ, अरुले यस्तो नगरुन् भन्नका लागि पनि लेख्न पर्छ । (अफिस फर्किरहँदा मेरो मनमा रामबहादुर मात्र थियो) अहँ त्यसो हैन । बिचरा एउटा सिपाहीले जाबो दुई केजी मासु खाएको छ । करोडौं भ्रष्टाचारका घटना दिनदिनै आइरन्छन् ।
उसले फेरि गल्ती पनि स्वीकार गरिसक्यो । अर्को मनले भन्छ, होइन एकपटकमा पो दुई किलो मासु यस्तो कति भ्रष्टाचार गरिसक्यो त्यसले, लेख्नपर्छ । लेख्नपर्छ भन्ने मन अगाडि रामबहादुरका रुञ्चे अनुहार आयो । सँगै आए उसका श्रीमती र छोराछोरी । ती सबैको अगाडि देखेँ मेरा गाउँका सिपाहीहरु । अर्को मनले सोच्यो, गल्ती स्वीकार गरेर अब त्यस्तो हुँदैन भन्नु नै उसको महानता हो । होस् अब खाँदैन रामबहादुरले दुई किलो मासु ।

एक चपरी माटो नभएका माटे मुसहर भित्र्याउँछन् डेढसय मुरी धान

एक चपरी माटो नभएका माटे मुसहर भित्र्याउँछन् डेढसय मुरी धान

नारायण अधिकारी/उज्यालो ।

काठमाडौं, मंसिर ३ – बिहान आठ बज्दा नबज्दै गाउँले माटे मुसहरको खोजीमा हुन्छन् । ‘माटे एक दिन बिरामी भए भने त हाम्रा लागि पहाडै पल्टिए जस्तो हुन्छ’ स्थानीय मनोज नेपालले भने, ‘माटे आठ बजिसक्दासम्म देखा परेनन् भने हामी उनलाई खोज्दै घरै पुग्छौं ।’

माटे मुसहर । उमेर ३२ वर्ष । पातलो अग्लो कद, कालो वर्णका माटे मुसहरले अक्षरसम्म खुट्याउन सक्दैनन् । तर उनलाई व्यवहारिक ज्ञानले अंकसम्म गन्न सक्ने बनाएको छ । अंक गन्छन् तर लेख्न जान्दैनन् । सम्पत्तिको नाममा आधा स्याउला र आधा टायलले छाएको छाप्रो । यस्ता माटे मुसहर सिन्धुलीको दुधौली नगरपालिका स्थित सुगाँरे गाउँका बासिन्दाको खोजीका पात्र हुन् । चैत, वैशाखको उखरमाउलो गर्मी होस् या पुस, माघको ठिही, असार साउनको भेल होस् की झरी । केहीको प्रवाह छैन माटे मुसहरलाई । दसैंको टिका होस् या तिहारको देउसी माटेलाई ३६५ दिन नै उही । माटेको जिन्दगी नै उज्यालो भएदेखि बेलुका आँखा देखुन्जेलसम्म खोलामै बित्छ । उनको मात्रै हैन उनको हजुरबुबा र बुबाको जिन्दगी पनि यसरी नै बित्यो । 

माटे मुसहर गाउँलेका घरघर जान्छन् गोठका गाई गोरु फुकाउँछन् । घरधनीले पनि उनलाई सहयोग गर्छन् । बिहान आठ बजे फुकाएका गाई गोरु बेलुका आँखा देख्ने बेला घर आइपुग्छन् । गाउँलेको भरोसा हुन् माटे मुसहर । सहयोगी हुन् । अनि उनीहरुको जिन्दगीको एक अभिन्न अंग ।

माटे मुसहर नहँुदा के होला सोच्न सम्म सक्दैनन् उनीहरु । माटे नहुने हो भने गाउँका केटाकेटीको पढाई बिग्रन्छ । ठिटाठिटीले घुम्ने समय पाउँदैनन् । अभिभावकलाई घर धन्दा र बस्तुभाउको चिन्ता थपिन्छ । यसैले पनि माटे मुसहर उनीहरुको आँखाका नानी जस्ता छन् । 

गाउँलेकै सेवामा बिते माटेका हजुरबुबा  । सेवामै बिते बुबा पनि । माटेका हजुर बुबाको नाम माटे स्वयमलाई थाहा छैन । हजुरबुबाको नाम सोध्दा उनी अकमकाउँछन् । ‘मैले पनि सुनेको हुँ, देखेको छैन, उसले पनि गाउँभरीका गाइवस्तु हेर्थे, अहिले म हेर्छु’ माटे अक्मकिए...।  

माटेलाई आफ्नो बुबाको बारेमा थाहा नभए पनि गाउँका वयोवृद्धहरुलाई उनका हजुरबुबाका बारेमा राम्रोसँग थाहा छ । ‘उनी पनि माटेजस्तै थिए । अहिलेको जस्तो बगरमा गाई गोरु चराउने चलन थिएन । चुरे जंगल लानु प¥थ्यो । चैत बैशाखमा जंगलमा आगो लाग्न थालेपछि र पानी सुक्न थालेपछि मात्र बगरमा चराउने चलन थियो, माटेका हजुरबुबाले यसरी गाउँ भरीका बस्तु हे¥थ्यो’ ९२ वर्षे स्थानीय प्रतिमान लुईंटेलले भने ।  

माटेका हजुरबुबाले बस्तु चराउँदा ९/१० महिना वस्तु जंगलमै हुन्थे । माटेका हुजुरबुबा र हजुरआमा जंगलमै वस्तु चराएर बस्ने र महिनामा एक पटक गाउँ आउने गर्थे । गाउँ आएको बेला वस्तुलाई खुवाउन नुन र आफूलाई खाने सामल लिएर माटेका हजुरबुबा र हजुरआमा जंगल जाने गरेको प्रतिमान लुईंटेलले बताए । बाँसुरी बजाउन सिपालु माटेका हजुरबुबाले रुखमा चढेर बाँसुरी बजाएपछि वस्तु कराउँदै उनको वरपर आउने गर्थे र उनले नुन खुवाउँथे । यसरी जीविका चलाएका माटेका हजुरबुबाको २०२५ सालतिर ज्यान गएको वृद्ध लुईंटेलको भनाई छ ।  

यसरी अरुको वस्तु चराएरै आफ्नो ज्यान गुमाएपछि उनका छोरा झेउला मुसहरले बुबाको बिंडो थाम्दै गाउँलेका वस्तु चराउन थाले । जंगलमा चर्न बानी परेका वस्तु झेउलाले बगरमा चराउन थाले । झेउला बिहानै उठ्थे र गाउँलेका घरका गोठ गोठ गएर वस्तु फुकाउँदै चराउन लान्थे । वस्तु लाने र ल्याउने बेलामा दुःख देला भनेर उनलाई श्रीमतीले साथ दिन्थिन् ।  

झेउला कुमका छाता भिर्थे र हातका सानो पोको बोकर वस्तु धपाउँदै बगर जान्थे । घरबाट लगेको उनको पोको दिउँसो २ बजे खुल्थ्यो । उनको पोकोमा चिउरा, खुर्सानी, घुँगी, माछा, भुजा, दालमोट जस्ता खाजाका परिकार हुन्थे । तावा खोलाको किनारमा बसेर चिउरा खाँदै कलकल बगेको खोलाका पानीले तिर्खा मेट्थे झेउला । सधै तावाको खोलाको पानीले तिर्खा मेट्ने झेउलालाई तावा खोलाले नै निल्यो ।   

माटेको जिन्दगी पनि उनको बुबाको जस्तै छ । उनको बुबा र अहिलेको समय बदलियो । तर माटेको जिन्दगी बुबाको भन्दा फरक हुन सकेको छैन । गाउँभरीका वस्तु माटेका साथी । तिनसँगै बोल्छन्, खेल्छन् । मानिससँग भन्दा धेरै वस्तुसँग बितेको छ माटेको जिन्दगी । 

माटे बडो सादगी छ । न नयाँपनको चिन्ता न उही जिन्दगीको समस्या । माटेलाई केहीको लोभ छैन, केहीको आशा छैन । आज उही, भोली उही । माटेको चिन्ता, खुसी सबै बस्तुसँग जोडिएको छ । गाउँलेले नयाँ बस्तु किन्दा र गाई ब्याउँदा भने माटेलाई चिन्ता थपिन्छ । ‘अब फेरी हेर्नुपर्ने बस्तु थपियो । ती नयाँलाई पुरानो बथानमा घुलमिल कसरी गराउने ?’ माटेले आफ्नो व्यथा सुनाए ।   

देख्नेहरु दंग पर्छन् । कति सरल छ माटे । बिहान खायो, बेलुका खायो उसँग अरु लालसा छैन । मान्छे अगाडि बढ्न हजार झिर्किनी दाउ चलाउने समयमा माटेको सोझोपनले मानवीय गुण प्रष्ट्याएको छ । देख्नेलाई लाग्छ माटेलाई दुःख छ । तर माटेलाई लाग्दैन उसलाई दुःख छ । उ सुखी छ । सुख भन्नु सन्तुष्टि हो भन्ने माटेको जिन्दगीको अनुपम बुझाई हो । गाउँलेका कति छोरा खाडीतिर हिँडेका छन् । माटे उनीहरुकै आँखा अघि सम्भावना बनेर उभिएको छ । उनीहरुकै बस्तु माटेको जिम्मामा छ ।  गाउँका ५० घर भन्दा बढीका झण्डै डेढसय हाराहारी वस्तु हेर्छन् माटे । माटेकै भरोसामा ढुक्कले निदाएका छन् गाउँले । गाउँले जीवन आधा समय त बस्तुको चिन्तामै बित्छ । तर सुगाँरेका बासिन्दालाई त्यो चिन्ता परेको छैन । उनीहरुसँग माटे छ । उनीहरु ढुक्क छन् । दिनभर वस्तु चर्छ र बेलुका घर आएर आरामले निदाउँछ ।

यसरी गाउँभरीका डेढसय वस्तु हेर्ने माटेले चाहिँ के पाउँछन् त ? यिनै वस्तु हेराइबाट हजुरबुबा र बुबाको जस्तै माटेको पनि जिन्दगी गुजारा भएको छ । माटेले छोराछोरी र श्रीमती यिनै वस्तुबाट पालेका छन् ।  ‘लैनो गाई हुनेबाट दिनको एक माना चामल लिन्छु, एक हल गोरुको वर्षदिनमा दुई मरी धान, एउटा गाईको वर्ष दिनमा एक मुरी धान’ माटेले आफ्नो कमाइ सुनाए । खेतको नाममा एक चपरी पनि नभएका माटेले वर्ष दिनमा डेढसय मुरी धान भित्र्याउने बताए । 

डेढसय मुरी धान भित्र्याउन तीन बिगाहा जमिन चाहिन्छ, गाउँमा एका दुई बाहेक माटेको जति धान भित्र्याउने कमै होलान् । त्यही धानबाट गुजारा चलाएका छन् माटेले । आफूलाई धेरै भएको धान बेच्ने र नुन तेल तथा लताकपडा किन्ने गर्छन् माटे । 

EXCLUSIVE : अवकाशको ६ वर्षपछि खरेललाई एसपीको फुली, पूर्व आइजिपीको कुटिल चाल, गुमराहमा सरकार

EXCLUSIVE : अवकाशको ६ वर्षपछि खरेललाई एसपीको फुली, पूर्व आइजिपीको कुटिल चाल, गुमराहमा सरकार


708Shares
 Share
 Tweet
 Share
 Email
Nepal Live
काठमाडौं– गत जेठको अन्तिम साता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डिएसपीबाट एसपीमा बढुवा भएका प्रहरी अधिकारीहरुलाई फुली लगाइदिए। एसपीको फुली लगाउनेमध्ये बढुवा सूचीको २४औं नम्बरमा थिए, एसपी दीपकराज खरेल।
खरेलले फुली त लगाए, तर उनी एसपीको फुली लगाउन योग्य थिए कि थिएनन् भन्ने प्रश्न अहिले पेचिलो बनेको छ। उनीबारेका विवादित धेरै तथ्य-तथ्यांक सहतमा आएका छन्।
६ वर्षअघि नै अवकाश भएर घर जानुपर्ने खरेलले पावर र पहुँचको आधारमा प्रहरी प्रशासनदेखि मन्त्रालयसम्मलाई दबाब र प्रभावमा पारेर फुली लगाएको खुलासा भएको छ।
अनिवार्य अवकाशको ६ वर्षपछि एसपीको फुली
२०३९ चैत १३ गते दीपकराज खरेल तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र हेटौंडाबाट प्रहरी जवान पदमा भर्ना भएका व्यक्ति हुन्। जवानमा भर्ना भएको मितिबाट अहिलेसम्म उनको प्रहरी सेवाको अवधि ३६ वर्ष पुग्छ।
प्रहरी नियमावली २०७१ को परिच्छेद–११ मा अवकाशबारे उल्लेख छ। नियमावलीमा उल्लेख भएअनुसार सेवा अवधि, उमेर हद र पद बमोजिमको पदावधिका आधारमा अनिवार्य अवकाश हुने व्यवस्था गरिएको छ। 
उक्त नियमावली अनुसार ३० वर्षे सेवा अवधि वा पद बमोजिम पदावधि वा तोकिएको उमेर हदमध्ये जुन पहिला आकर्षित हुन्छ, साेही अनुसार सेवाबाट अनिवार्य अवकाश हुनुपर्ने प्रावधान छ। 
उमेर हद र पद बमोजिमको पदावधिका कारण एसपी खरेल अवकाश हुँदैनन्। तर, उनी सेवा अवधिका कारण अनिवार्य अवकाश भइसकेको ६ वर्ष भइसकेको छ। 
परिच्छेद ११ को दफा १२७ को उपदफा १ को (घ) मा प्रहरीमा ३० वर्ष सेवा अवधि गरेको व्यक्ति अनिवार्य अवकाश हुने उल्लेख छ। यसरी प्रहरी नियमावली अनुसार एसपी खरेल ६ वर्षअघि २०६९ चैत १२ गते अनिवार्य अवकाश हुनुपर्ने हो। 
तर, पहुँचको आधारमा उनी अझै जागिर खाइरहेका छन्।
राजनीतिक, प्रशासनिक पहुँच र पूर्व आइजिपी अच्युतकृष्ण खरेलका नातेदार भएकै कारण उनी ऐन-नियम कुल्चिएर सरकारलाई गुमराहमा राख्दै अहिलेसम्म प्रहरी सेवामै छन्।
एसपी खरेल मात्रै नयाँ भने होइनन्। प्रहरीमा यसअघि पनि यस्ता थुप्रै घटना हुँदै आएका थिए। 
सशस्त्र प्रहरी बलका अम्बर नेम्वाङ सुब्बाले समेत सेवा अवधिभन्दा बढी जागिर खाएका थिए। प्रहरी सहायक निरीक्षकमा भर्ना भएका सुब्बा पूर्व आइजिपी रमेशचन्द्र ठकुरीसँग प्रहरी निरीक्षकमा भर्ना भएका थिए। पछि सशस्त्र प्रहरी बल (एपिएफ) गठन भएपछि उनी त्यसमै गए। पछि प्रहरी किताबखानलाई प्रभावमा पारेर फाइल नै गायब बनाउँदै उनले सेवा अवधिभन्दा बढी जागिर खाएको तथ्य भेटिएको छ।
तत्कालीन नेपाल प्रहरीका गोल रक्षक रहेका विनोद खरेललाई पनि आइजिपी अच्युतकृष्णले जवानमा भर्ना गराएका थिए। जवानको आधारभूत तालिम नसकीकनै प्रहरी नियमावलीविपरीत युएन मिसनमा पठाएका थिए। पछि उनलाई इन्सपेक्टरमा भर्ना गराइएको थियो। 
सेवा अवधिभन्दा बढी जागिर खाने दाउमा प्रहरीका उच्च अधिकृत हुन्छन्। उच्च तहमा हुँदा पाइने सेवा सुविधा र अधिकारका कारण उनीहरु सकेसम्म लामो समयसम्म जागिर खाने ध्याउन्नमा रहेको देखिन्छ।
पूर्व एआइजी नारायण बस्ताकोटीको अवकाश हुँदा प्रहरी हेडक्वार्टरमा ठूलै हंगामा मच्चिएको थिए। उनी पूर्व आइजिपी उपेन्द्रकान्त अर्यालसँगै प्रहरी निरीक्षकमा भर्ना भएका थिए। हेडक्वार्टरका प्रहरी अधिकारीहरुले आइजिपी अर्यालसँगै अवकाशमा बस्ताकोटी जाने बुझेका थिए। तर, उनलाई अर्यालभन्दा अगावै प्रहरी किताबखानाबाट अवकाशको पत्र आयो। 
‘भोलि अवकाश, आज पत्र आएको थियो। एआइजी बस्ताकोटी पनि आइजीसँग अवकाशमा जाने बताउँथे,’ स्रोतले भन्यो, ‘किताबखानाको पत्रबाट थाहा पाइयो उनी पहिला राष्ट्रिय अनुसन्धान विभागको असईमा भर्ना भएर पछि इन्सपेक्टरमा भर्ना भएका रहेछन्।’ 
यसरी गुपचुपमा सेवा अवधि लम्ब्याउने खेलमा प्रहरी अधिकारी लाग्ने गरेको कुरा नौलो होइन। एसपी खरेलको हकमा पनि त्यही नै देखिन्छ।
पूर्व आइजिपी खरेलको कुटिल चाल
पूर्व आइजिपी अच्युतकृष्ण खरेल र बहालवाला एसपी दीपकराज खरेल नाताले काका–भतिज रहेको जानकारहरू बताउँछन्। केही भने आफ्नै काका–भतिज नभई खरेल–खरेल भएकै कारण घनिष्ट सम्बन्ध रहेको पनि सुनाउँछन्।
तर, दीपकराज जवानदेखि एसपी हुँदासम्म पूर्व आइजिपीको हात रहेको कुरा नकार्न सकिन्न। विभिन्न तथ्यले त्यो कुरा पुष्टि पनि गरेका छन्।
अच्युतकृष्ण खरेल २०५३ फागुनमा नेपाल प्रहरीको १५औं आइजिपी भएका थिए। आइजिपी भएको एक महिना नबित्दै तत्कालीन नेकपा एमाले सरकारले उनीबाट निर्वाचन गराउन नसकिने भन्दै उनलाई हटाएर ध्रुवबहादुर प्रधानलाई आइजिपीको फुली लगाइदियो।
काका भनिँदै आएका अच्युतकृष्णको आइजिपीको फुली खोसिएपछि दीपकराज प्रहरी कार्यालय जानै छाडे। त्यसबेला उनको प्रहरी सेवा अवधि १३ वर्ष भइसकेको थियो। उनी प्रहरी हवल्दार पदमा कार्यरत थिए।
कार्यालयमा जानकारी नै नदिई गयल भएपछि प्रहरी नियमावली अनुसार प्रहरी प्रधान कार्यालयले २०५४ बैसाख २ गते हवल्दार दीपकराज खरेललाई प्रहरी सेवाबाट हटायो।
१३ वर्ष सेवा गरेबापत प्रहरी नियमावली अनुसार आफूले पाउनुपर्ने उपदान बापतको रकमसमेत दीपकराजले २०५४ साउन २२ गते बुझेको प्रहरी प्रधान कार्यालय, किताबखानाको रेकर्डमा छ।
यो बीचमा समयले धेरै कोल्टे फेरिसकको थियो। आइजिपी भएको ३६ दिनमा तत्कालीन गृहमन्त्री बामदेवबाट हटाइएका अच्युतकृष्ण न्यायको ढोका ढकढक्याउँदै सर्वोच्च अदालत पुगेका थिए।
त्यसको १० महिनापछि २०५४ मंसिरमा सर्वोच्चको फैसला अनुसार पुनः खरेल आइजिपीमा नियुक्त भएका थिए। उनी आइजिपीमा नियुक्त भएपछि नै दीपकराजको यात्रा यो अवस्थासम्म आएको जानकारहरू बताउँछन्।
अच्युतकृष्ण पुनः आइजिपी हुँदा दीपकराजको उमेर ३३ वर्षको थियो। खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकमा भर्ना हुन उनलाई उमेरले छेक्थ्यो। 
१५ महिनाअघि सेवाबाट हटाइएका दीपकराजलाई तत्कालीन आइजिपी अच्युतकृष्णले प्रहरी निरीक्षक बनाउन कुटिल चाल चाल्दै २०५५ साउन १ गते पुरानो निर्णय बदर गर्दै पुनः प्रहरी सेवामा प्रवेश गराएका थिए। जबकि उनी उपदानसमेत लिएर बिदा भइसकेका थिए। उनले लिएको उपदान अहिलेसम्म फिर्ता गरेका छैनन्।
यसरी आफ्नो अधिकारको दुरुपयोग गर्दै आइजिपी अच्युतकृष्णले दीपकराजको जागिर थामिदिएका थिए।
जगिर जोडिएपछि हवल्दार दीपकराजलाई विभागीय उम्मेदवार बन्दै खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकमा भर्ना हुने बाटो खुलिसकेको थियो। यसपछि २०५५ साउन २५ गते प्रहरी निरीक्षकको लागि दरखास्त आह्वान गराइयो। प्रहरी निरीक्षकको दरखास्त दिए र पछि हवल्दारबाट उनी प्रहरी निरीक्षकमा भर्ना भए। 
हवल्दारबाट जवानमा भर्ना  
दीपकराज खरेललाई प्रहरी निरीक्षक बनाउन खोसिएको जागिर जोडिएन मात्रै, हवल्दारबाट राजीनामा गर्न लगाई जवानमा भर्ना गराइयो। 
जानकारहरु भन्छन्, ‘तत्कालीन आइजिपी अच्युतकृष्णको ‘मास्टर माइन्ड’ र ठाडो आदेशकै कारण खोसिएको जागिर जोडिने त कहिले हवल्दारबाट जवान हुनेसम्म भएको थियो।’
आइजिपी नै आफ्नै मान्छे भएपछि प्रहरी निरीक्षक हुनेमा दीपकराज त्यसबेलै ढुक्क थिए। किनकि उनलाई प्रहरी निरीक्षक बनाउनै अच्युतकृष्णले बोलाएर पुनः १५ महिनापछि जागिर खुवाएका थिए।
दीपकराज प्रहरी निरीक्षक हुने पक्का भयो। तर जम्मा १५ वर्षमात्रै सेवा गर्न पाउने भए। किनकि जवान र हवल्दार पदमा उनले १५ वर्ष बिताइसकेका थिए। 
तर, सेवा अवधि लम्ब्याउनका लागि अर्को कुटिल चाल चालियो– हवल्दारबाट जवानमा भर्ना।
आइजिपी अच्युतकृष्णकै आदेशमा दीपकराजले २०५५ मंसिर १८ गते हवल्दारबाट राजीनामा दिए। बिना विज्ञापन आइजिपीको ठाडो आदेशमा सोही दिन मंसिर १८ गते उनी प्राविधिकतर्फको जवान पदमा भर्ना भए। 
यसरी पहुँचको आधारमा खोसिएको जागिर जोड्दै हवल्दारबाट जवानमा भर्ना हुँदै दीपकराज प्रहरी निरीक्षक हुन सफल भए। उनले २०५६ असार ३ गते प्रहरी निरीक्षकको फुली लगाए।
सेवा अवधि बढाउन हवल्दारबाट जवान हुँदै प्रहरी निरीक्षकको फुली लगाए पनि उनको ६ वर्षअघि नै सेवा अवधि सकिएर अवकाश हुने पर्ने प्रहरी किताबखानाले जनाइसकेको छ। 
‘भर्ना हुने बेला विभागीयको हैसियतले पेस गरिएको हवल्दारको कागजपत्रका आधारमा नै सेवा अवधि गणना हुने भएकाले उनी ६ वर्षअघि नै अनिवार्य अवकाश हुने व्यक्ति हुन्,’ किताबखाना स्रोतले नेपाल लाइभसँग भन्यो।
अवकाश दिनेलाई पदोन्नति, बोल्न सक्दैन प्रहरी हेडक्वार्टर 
चलाखीपूर्ण तरिकाले जागिर लम्ब्याउन अनेक बहाना गरे पनि दीपकराज खरेल अनिवार्य अकाशमा जानुपर्ने व्यक्ति हुन् भनेर प्रहरी किताबखानाले भन्दै आएको छ। तर एसपी खरेललाई कसैले पनि सेवाबाट हटाउन सकेको छैन। ६ वर्षअघि नै अवकाश भएर घर जानुपर्ने उनी हालसालै मात्र पदोन्नति भएका छन्। 
२०३९ सालमा प्रहरीमा भर्ना भई हवल्दार रहँदा विभागीय उम्मेदवारकै हैसियतमा निवेदन दिई २०५६ मा प्रहरी निरीक्षकमा उनी भर्ना भएका थिए। तर, २०५५ मंसिर १८ गतेलाई सुरुको नियुक्तिको आधार देखाउँदै उनी जागिर लम्ब्याउने खेलमा लागेका छन्। 
यसबारे प्रहरी हेडक्वार्टरका केही हाकिमहरु गुपचुप रुपमा आफूहरुबीच कुराकानी गरे पनि खुलेर कोही पनि बोल्न सकेका छैनन्। अझ प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी त यसबारे आफूहरूले केही हल्ला सुनेको र प्रस्ट जानकारी नै नभएको भन्दै उम्कन खोज्छन्।
जन्ममिति समेत त्रुटिपूर्ण 
सेवा अवधिमात्रै होइन एसपी दीपकराज खरेलको जन्ममिति समेत त्रुटिपूर्ण भएको तथ्य फेला परेको छ। प्रहरी किताबखानामा रहेको उनको नागरिकताको फोटोकपी र उनी आफैंले भरेको नोकरी आवेदन फाराममा जन्ममिति फरक–फरक छ।
किताबखाना स्रोतका अनुसार २०३९ सालमा तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र हेटौंडाबाट जवान पदमा भर्ना हुँदा खरेलले नागरिकता नम्बर र जन्ममिति समेत नलेखी १८ वर्ष भनेर फाराम भरेको पाइएको छ।
हवल्दार भएका उनले पछि प्राविधिक जवान पदमा भर्ना हुन २०५५ पुस १४ कागजात पेस गरेका थिए। उनले बुझाएको तीनप्रति प्रतिवेदनमध्ये दुई वटामा प्रस्ट देखिने गरी २०२५ पुस २४ गते जन्ममिति लेखिएको छ। 
एउटामा भने केरमेट गरेर २०२२ पुस महिना २२ गते लेखिएको प्रहरी किताबखाना स्रोतले जानकारी दियो।
त्यसैगरी प्रहरी निरीक्षक पदमा भर्ना हुन उनले पेस गरेको नागरिकता जिल्ला प्रशासन कार्यालय ललितपुरबाट दोस्रो प्रतिलिपिको रूपमा निकालेको पाइएको छ। 
जसमा २०२२ पुस २२ गते र प्रहरी निरीक्षकमा भर्ना हुने बेलाको उमेर ३३ वर्ष ५ महिना १९ दिन उल्लेख गरिएको छ। यसरी कहीँ २०२५ साल, कहीँ २०२२ साल त कतै साल नै नलेखी १८ वर्ष लेखेको पाइएको छ। प्रतिलिपिसमेत दुई पटक लिनु र नागरिकतामा समेत जन्ममिति फरक पर्नुले उनको जन्ममिति समेत त्रुटिपूर्ण देखिन्छ।
अख्तियारदेखि गृहसम्म छानबिन, पहुँचकै भर फाइल गायब बनाउने खेल
सेवा अवधि लम्ब्याउने खेलमा रहेका उनले प्रहरी किताबखाना, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयसम्मलाई प्रभावमा पारेका छन्। यसका लागि पूर्व आइजिपी अच्युतकृष्ण खरेलले भरपुर सहयोग गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।
नागरिकताको जन्ममिति नै फरक र सेवा अवधिभन्दा बढी जागिर खाएको भन्दै छानबिन गर्न केही महिनाअघि उनीविरुद्ध अख्तियारमा उजुरीसमेत परेको थियो। अख्तियारले छानबिन गरेर दोषी ठहर्‍याए आफूविरुद्ध पनि अख्तियार लाग्ने बुझेपछि पूर्वआइजिपी अच्युतकृष्ण एसपी दीपकराजलाई जोगाउन आफ्नो बलबुताले भ्याएसम्म लागिरहेका छन्।
प्रहरी अधिकारीहरुको अवकाशको पत्र प्रहरी किताबखानाले पठाउने गर्छ। दबाब र प्रभावमा परेको किताबखानाले पनि एसपी खरेलको बारेमा तत्कालै निर्णय गर्न सकेको छैन। यसबारे प्रहरी हेडक्वार्टर र गृह मन्त्रालयसँग झन्डै एक महिनाअघि मात्रै किताबखानाले राय माग्दै पत्र लेखिसकेको छ।
तर, किताबखानको पत्रको जवाफ अहिलेसम्म न गृह मन्त्रालयले दिन सकेको छ, न त प्रहरी प्रधान कार्यालयले नै। बरु फाइल नै गायब बनाउने खेल भइरहेको छ। 
किताबखानाको पत्रबारे गृहले महान्यायाधिवक्ता अग्नि खरेलसँग राय लिने काम भइरहेको बुझिएको छ। यसबारे जानकार पूर्व आइजिपी खरेल साइनो जोड्दै महान्यायाधिवक्तालाई भेट्न पुगेका स्रोतले जानकारी दियो। महान्यायाधिवक्ता कार्यालयलाई समेत प्रभावमा राखेर फाइल नै गायब बनाउन खेलमा एसपी खरेल, पूर्व आइजिपी खरेल लागिपरेको स्रोतको भनाइ छ।
अख्तियार र गृह मन्त्रालय भने एसपी खरेलमाथि छानबिन भइरहेको बताउँछ।

EXCLUSIVE : एउटा सनसनीपूर्ण अपहरणको पर्दाफास


EXCLUSIVE : एउटा सनसनीपूर्ण अपहरणको पर्दाफास

नारायण अधिकारी
518Shares
 Share
 Tweet
 Share
 Email
Nepal Live

काठमाडौं– हट्टाकट्टा खाइलाग्दो ज्यान। गोलो चेहरा। हँसिलो अनुहार।
आजभन्दा चार वर्षअघि यस्तै देखिन्थे, रुपन्देहीका ३८ वर्षे आकाश गुरुङ। सिद्धार्थनगर नगरपालिका–१ का बर्मेली टोलका उनी वैदेशिक रोजगारीमा कोरिया हान्निए। दस नंग्रा खियाए। राम्रै आम्दानी गरेर स्वदेश फर्किए।
घर गएर परिवारसँगै जीवन बिताउँछु भनेर आएका उनी सानोतिनो व्यापार गर्न थाले।
कोरियाबाट फर्किएपछि जसोतसो उनको जीवन बित्दै थियो। तर, एकाएक उनको सपनाले १ सय ८० डिग्रीको फन्को मार्यो।
त्यो दिन थियो २०७१ भदौ २८ गते। 
फ्ल्यासब्याक
बिहान साढे ८ बजे। उनी आफ्नो घरबाट बजार जान भनी निस्किए। त्यसको ८ मिनेटपछि आकाशको मोबाइल नम्बर ९८१७४२६२... मा आमाले फोन गर्दै सोधिन्, ‘बाबु कहाँ छस्?’
‘घर नजिकै छु आमा। केहीबेरमै आउँछु,’ आकाश जवाफ फर्काउँछन्।
छोरो फर्केला कि भनेर कुर्दाकुर्दै  आमाका आँखा टट्याउँछन्। रात छिप्पिँदासम्म आकाशको आगमन नहुँदा परिवार निराशाको भुमरीमा फस्छ।
भोलिपल्ट २०७१ को भदौ २९ गते। 
दिउँसो ४ बजेर ८ मिनेटमा आकाशले आमाको मोबाइल नम्बर ९८४७०३९४... मा फोन गर्दै भन्छन्, ‘आमा म पाल्पा छु। घर आउँदै छु।’
अचानक छोरोको आवाज सुनेपछि आमा ढुक्कको सास फेर्छिन्।
तर, त्यसदिन पनि आकाश घर फर्किएनन्। 
आमाको अनुहार औंसीको रातझैं बन्न थाल्छ। छोरो कहाँ गयो होला? घर आउँछु भन्दै किन नआएको होला? के खायो होला? कहिले फर्किन्छ होला? उनको मनमा प्रश्नको चाङ थुप्रिन थाल्छ। छोराको चिन्तामा तड्पिएकी आमा ओछ्याउनमा पल्टिन खोज्छिन्। तर आँखामा निद पर्दैन।
मध्यरातको त्यो कल!
परिवारका सबै सदस्य आकाशको खोजीमै थियो। बेलाबेला फोन सम्पर्क भए पनि त्योभन्दा बढी अत्तोपत्तो थिएन, आकाशको। फोनमा कुराकानी भएकाले परिवार केही हदसम्म त ढुक्क थियो। हुर्किएको छोरो। देश विदेश पुगेर आएको मान्छे। कतै साथीको तिर गएको होला भन्ठानेर तै चित्त बुझाउन बाध्य हुन्छन्।
आकाश बेपत्ता भएको दुई दिनपछि।
भदौ ३० गते राति १२ बजेर २७ मिनेट ३३ सेकेन्डमा आमाको मोबाइलको घन्टी बज्छ। ००९१८९५३१७४५९७ नम्बरको भारतीय नम्बरबाट आएको फोन उनी रिसिभ गर्छिन्। 
‘तेरो छोरो हाम्रो नियन्त्रणमा छ। छोरो सकुशल चाहिन्छ भने १ करोड तुरुन्त दिनु, 'हिन्दी लबजमा नेपाली भाषा बोल्ने अपरिचित आवाजले भन्छ, 'बाँकी कुरा पछि गरौंला।’
६ मिनेट २ सेकेन्ड धम्कीपूर्ण कुरा गरेपछि फोन काटिन्छ।
यति सुनिसक्दा नसक्दै आमाका नौनाडी गल्छन्। २ दिनपछि परिवारले यकिन गर्न सक्छ- आकाश अपहरणमा परेको। तत्काल उनीहरु प्रहरीमा खबर गर्छन्।
प्रहरीले आकाशको पारिवारिक र व्यक्तिगत अवस्थाबारे जानकारी लिन्छ। अपहरण गर्नु र करोड रुपैयाँ फिरौती माग्नुको कारण र सम्भावनाको विश्लेषण सुरु हुन्छ। भारतीय नम्बर फलो गर्दा पनि प्रहरीले कुनै क्लु फेला पार्न सक्दैन। प्राविधिक अनुसन्धानको पाटोलाई आधार मान्दै आकाश, उनका परिवारका सदस्य, आफन्तहरुको मोबाइल नम्बर, कल डिटेल, एसएमएस लगायतका विवरण प्रहरीले केलाउँछ। तर अनुसन्धानलाई नै जिल खुवाउने गरी गरिएको अपहरणको कुनै नयाँ तथ्य फेला पर्दैन।
आकाशकी आमालाई भारतीय नम्बरबाट गरिएको फोनको समेत कल डिटेल झिकाएर प्रहरीले अनुसन्धान अघि बढाउँछ। यति बुझिसक्दासम्म प्रहरीले आकाशको अवस्थाबारे केही पत्तो पाउँदैन। 
तर, सुरुदेखि नै आकाशले आमासँग बोलेका कुराहरु झुट भएको तथ्य निकाल्न भने प्रहरी सफल हुन्छ।
लोकेसन नवलपरासी
घरबाट निस्किएको ८ मिनेटपछि नै आमाले फोन गरेर सोध्दा 'घर नजिकै छु, अब आउँछु' भन्ने जवाफ फर्काएका थिए, आकाशले। प्रहरीले उनी अपहरणमा परेको सूचना पाएपछि सुरुदेखिकै आकाशको मोमेन्टको अनुसन्धान गरेको थियो। आमा र छोराको कुरा भएको बेला उनले घर नजिकै भएको बताएका थिए । कलवाइज लोकेसनले उनी घर नजिकै बजारमा रहेको देखाएको थियो।
त्यसको भोलिपल्ट आकाशले आमालाई फोन गर्दै आफू पाल्पा भएको बताएका थिए।
तर, प्रहरी अनुसन्धान र कलवाइज लाकेसनले आकाश त्यसबेला नवलपरासीको सरावल भन्ने ठाउँमा देखाएको थियो।
आफू एक ठाउँमा हुँदा किन आमालाई अर्को ठाउँको लाकेसन दिँदैछन् आकाश? यो प्रश्न अनुसन्धानमा खटिएको प्रहरीसामु गम्भीर भएर तेर्सिन्छ। 'छोरो अपहरणमा परेको भनेर फोन गर्नु र लोकेसन पनि गलत देखिनुले आकाश अपहरणमै परेका हुन् भन्नेमा हामी विश्वस्त थियौं,' अनुसन्धानमा संलग्न एक प्रहरी सुनाउँछन्। 
कृष्णसँगको कनेक्सन 
आकाश अपहरणमा परेको र १ करोड फिरौती माग गरिएको सूचना आएपछि ठूलो संख्यामा प्रहरी टोली परिचालन गरिएको थियो।
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको (सिआइबी) टोली, तत्कालीन पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराको विशेष टोली, अञ्चल प्रहरी कार्यालय लुम्बिनीको बिशेष टोली, जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा जिल्ला प्रहरी कार्यालय नवलपरासीको अनुसन्धान टोली संयुक्त रुपमा खटिएको थियो।
प्रहरी टोली अनुसन्धान क्रममा प्राविधिक पाटाहरुलाई सूक्ष्म रुपमा केलाउँदै थियो। आकाश घरबाट निस्किएको केही समयमै उनले ९८१४४१९९... नम्बरको मोबाइलमा सम्पर्क भएको प्राविधिक टोलीले पत्ता लगायो। यसपछि भने अनुसन्धानको एउटा खुड्किलोमा प्रहरी पुग्न सक्यो।
९८१४४१९९... नम्बरमा आकाशले फोन गरेको व्यक्ति प्रहरीलाई पत्ता लगाउनु थियो। आकाशले फोन गरेका ती व्यक्ति अन्तत: पत्ता लागे। उनी थिए, सफिक मुसलमान।
सफिकसँग कुरा भएको केही समयमै आकाशलाई ९८१७४५७५... नम्बरबाट फोन आउँछ। प्रहरीले उनको पनि पहिचान फेला पार्छ। ती व्यक्ति थिए, यादव कुँवर।
सफिक र यादवसम्म पुगेपछि आकाशसँग उनीहरुको सम्बन्ध केलाउनु थियो प्रहरीलाई। अनुसन्धानले पत्ता लगायो, तीनै जना मिल्ने साथी रहेछन्। 
सफिक र यादव वैदेशिक रोजगारीमा विदेश जान चाहेका व्यक्ति हुन्। उनीहरुलाई आकाशले एजेन्टको काम गर्ने कृष्ण भट्टराईसँग भेट गराएका थिए।
मोहमद सफिक मुसलमान

सफिकले आफ्नो छोरो मिराजलाई विदेश पठाउन भन्दै ४ लाख र यादवले १ लाख रुपैयाँ एजेन्ट कृष्णलाई दिएका थिए। रकम पाएपछि कृष्ण भने सम्पर्कविहीन भए।
उनी बेपत्ता भएपछि सफिक र यादवको आँखाको तारो बन्न थाले, आकाश। ‘तैंले चिनाएको मान्छेले पैसा खाएर भाग्यो। उसलाई बुझाएको पैसा तैंले तिर्नुपर्छ,' फोन वा भेटमा आकाशलाई दुवैबाट दिनहुँजसो धम्की आउन थाल्यो, 'कहाँबाट ल्याएर तिर्छस्, छिटो हाम्रो पैसा फिर्ता गर्।’
पछिल्लो समय छोरीको बिहे भएकाले १० हजार भए पनि दिनुसम्म भनेका थिए सफिकले।
ओम गुरुङ पनि त्यस्तै व्यक्ति हुन्, जसले आकाशमार्फत नै वैदेशिक रोजगारीका लागि कृष्णलाई ६ लाख बुझाएका थिए। ओमले पनि उक्त रकम फिर्ता नगरे ज्यानै मार्नेसम्मको धम्की आकाशलाई दिन थाले।
यता पारिवारिक र व्यक्तिगत पृष्ठभूमिबाट केही क्लु पाएको प्रहरीले ओमको मोबाइल नम्बरको समेत अनुसन्धान थाल्यो। ‘आकाशको मोबाइल एसएमएसको अध्ययन समेत हामीले गरेका थियौं। जहाँ पैसाको कुरा हुने गरेको र अन्तत: त्यसैको रिसिबीको कारण अपहरण भएको पत्ता लाग्यो,' एक प्रहरीले भने। 
वैदेशिक रोजगारीबाट फर्किएर एजेन्ट काम गरेकै कारणबाट सम्बध्न बिग्रिएर उनको अपहरण भएको प्रहरी निष्कर्ष निस्कियो। 
आइएमई नम्बरबाट खुलेको त्यो रहस्य!
आकाशले बोकेको मोबाइलको कभर घरमै थियो। जहाँ ३५६८१४०४१३२७३०९ आइएमई नम्बर उल्लेख थियो। उक्त नम्बर अनुसन्धानको अर्को महत्वपूर्ण प्रमाण प्रहरीलाई बन्यो। उक्त नम्बरमार्फत नै  पत्ता लाग्यो, आकाशले मोबाइलमा ९८१२९१३९... नम्बरको सिम प्रयोग गरेका रहेछन्। उनी घरबाट निस्केको दिन भदौ २८ गते बिहान ११ बजेर १२ मिनेट ४७ सेकेन्डमा पनि आकाशले यही नम्बरबाट घरमा सम्पर्क गरेका थिए।
तर, उक्त नम्बर राजेश गुरुङको नाममा दर्ता थियो। राजेशकै नाममा अर्को सिम ९८०५४७१२.. नम्बर पनि दर्ता भएको अनुसन्धानको क्रममा खुल्यो। आकाशको मोबाइलमा राजेशका यी दुवै नम्बर प्रयोग हुने गरेको देखियो।
आकाशको मोबाइलमा अर्कै सिम हालेपछि प्रहरीले अपहरणकारीले नै त्यो गरेको हुन सक्ने अनुमान गरेको थियो। आकाशले बोक्ने उक्त नम्बरबाट सफिक र यादवसँग समेत कुराकानी भएको थियो। अपहरणकारीले नै पूर्वयोजना अनुसार यो सबै गरेको हुन सक्ने प्रहरीले विश्लेषण गरेको थियो। 
यतिन्जेलमा सफिक पनि घरबाट बेपत्ता भएका हुनाले घटनामा उनको संलग्नता हुन सक्ने प्रहरीले आधार भेट्टायो।
उता आकाशको नम्बर बन्द हुनु र त्यही समयमा राजेशको नाममा दर्ता भएको नम्बर आकाशको मोबाइलमा प्रयोग हुनुले यसमा राजेशको हात हुन सक्ने विश्लेषण पनि प्रहरीको थियो। 
तर, यतिन्जेलको अनुसन्धानमा पनि आकाशलाई अपहरण गरेर कहाँ राखिएको छ भन्नेसम्म भेउ प्रहरीले पाएको थिएन।
यादव भन्दै थिए ‘अपहरणकारीलाई जतिसक्दो छिटो पैसा दिनुपर्छ’
प्रहरीले अनुसन्धान गरिरहे पनि आकाशको नामोनिसानो थिएन। ‘लास नभेटिन्जेल आस’ भनेझैं परिवार यही भरोसामा थियो।
यादव कुँवर

उता अकाशका साथी यादव कुँवर भने उनको घर गएर अपहरणकारीलाई जतिसक्दो पैसा दिएर आकाशको उद्धार गर्नुपर्ने सुझाव दिन्थे। आकाशमार्फत वैदेशिक रोजगारीमा जाने भन्दै एक लाख रुपैयाँ बुझाएका उनीसमेत पछिल्लो समय आकाशप्रति रुष्ट थिए।
यादव असोज १ गते 'अब प्रहरीलाई खबर गर्नुपर्छ' भन्दै घर आएको पीडित परिवारले बताएका छन्। यसले घटनामा कतै यादवको संलग्नता त छैन भन्ने थप शंका प्रहरीलाई उब्जाएको थियो। प्रहरीले सूक्ष्म रुपमा यादवको मोबाइल नम्बरको पनि अनुसन्धान गरेको थियो। 
यादवले आफ्नो मोबाइलबाट ९८१२९७५५.. नम्बरको मोबाइलमा भदौ ३० गते र असोज १ गते रिचार्ज कार्डको पिन नम्बर समेत पठाएको प्रहरीले पत्ता लगायो। उक्त नम्बर केदार सहनीको भएको सुइँको प्रहरीले पत्ता लगायो। उनी हातततियार मुद्दामा जेल बसेर छुटेका व्यक्ति थिए। जसबाट प्रहरी झनै सशंकित भएको थियो। अपहरणकारीले आकाशलाई मारी त सकेनन्? सहनीको संलग्नता रहेको पाइएपछि प्रहरीले यसतर्फ पनि अनुसन्धान अघि बढायो।
सहनी केही दिनअघि मात्रै रुपन्देहीको प्रहरी कारबाहीमा मारिएका छन्।
यसरी भयो अपहरणको योजना
सफिकले छोरो मिराजलाई वैदेशिक रोजगारका लागि एन्टेलिया पठाउन लागेका थिए भने यादव कुँवर आफै जाने प्रक्रियामा थिए। उनीहरु आकाशमार्फत कृष्णको सम्पर्कमा पुगेका थिए। कृष्ण भागेपछि सफिक र यादवको निसानामा परे, आकाश। 
आफ्नो पैसा नउठेपछि सफिकले यसबारे केदार सहनीलाई बताएका थिए। ‘ल ठिक छ। आकाशलाई मसँग भेटाइदिनु, सब पैसा उठाइदिन्छु’ भनेर सहनीले सफिकलाई बचन दिएका रहेछन्।
यसमा सहमत सफिकले अर्को प्रस्ताव राख्छन्, ‘पैसा लिइसकेपछि मान्छे (आकाश) उडाइदिनुपर्छ।’
केदार सहनी

यसमा सहनीले पनि सहमति जनाउँछन्। 
त्यहीबाट सुरु हुन्छ आकाशको अपहरण योजना। 
पूर्व योजनाअनुसार सफिकले आकाशलाई भदौ २७ गते फोन गर्दै भन्छन्, ‘भोलि परासी जानुपर्यो। अलिकति पैसा जम्मा गर्नुछ। छोरालाई अरु नै देश पठाउनुपर्‍यो। सँगै जाऊँ है।’
सोही योजना अनुसार भोलिपल्ट भदौ २८ गते परासी जान भन्दै आकाश घरबाट निस्कन्छन्। तर, आकाश आमासँग परासी नभनी  बजार पुगेर आउँछु भनी निस्कन्छन्।
त्यसपछि सफिक र आकाश होटल यती प्यालेस छेउको बसपार्कमा भेट हुन्छन्। दुवै बस चढेर परासी पुग्छन्। बुद्ध चोकमा ओर्लन्छन्।
'पैसा लिएपछि उडाइदिनू'
पूर्व योजनाअनुसार केदार सहनीले पठाएका व्यक्ति रामजित हरिजन उनीहरुलाई पर्खेर बुद्ध चोकमा बसिरहेका थिए। कालो रङको हिरोहोन्डा मोटरसाइकलमा बसेका उनी आकाशको प्रतीक्षामा थिए।
रामजितको मोटरसाइकलमा आकाशलाई बीचमा राखेर सफिक पछाडि बसे। मोटरसाइकल परासीको सरावल भन्ने स्थानमा पुगेर रोकियो। जहाँ बायाँतर्फ नहर छ। दायाँ घना उखुबारी।
पूर्वयोजनाअनुसार नै त्यही उखुबारीको छेउमा केदार सहनी र भारतीय मुलका अरु दुई जना बसिरहेका थिए।
उखुबारीको एकान्त स्थान पुर्‍याएपछि केदार र रामजितले 'अर्काको पैसा खाएर बिचल्ली पार्ने' भन्दै आकाशलाई २ थप्पड हिर्काउँछन्। त्यसपछि मात्रै आकाशलाई लाग्छ, सफिकले आफ्नो पैसा धम्क्याएर उठाउन यहाँ ल्याएको रहेछ!
रामजित हरिजन

आकाशलाई केदारसँग भेट गराएपछि सफिकको काम फत्ते भयो। त्यसपछि रामजितले नै सफिकलाई मोटरसाइकलमा राखेर पुन बुद्ध चोक पुर्‍याए।
आफू फर्किएपछि केदारलाई फोन गर्दै पुन: सफिकले आदेशपूर्ण भाषामा भनेका थिए, ‘पैसा लिएपछि उडाइदिनू।’
भदौ २८ गते आकाशलाई सहनीको जिम्मा लगाएपछि सफिक तीन दिनसम्म घरमै बसे। चौथो दिन छोरीलाई केटा हेर्ने बहाना बनाएर भारत पसे।
भुताहा जंगल हुँदै धनबहादुरको घरमा बास 
सहनीको जिम्मा लगाएपछि पैसा उठ्ने र त्यसपश्चात् आकाश मारिनेमा सफिक ढुक्क थिए। योजना पनि सोही अनुसार बनेको थियो। 
केदार, रामजित, र भारतीय मूलका २ गरी चार जना भएर आकाशलाई मोटरसाइकलमा राखेर उखुबारीबाट भुताहाको हरियाली सामुदायिक जंगलमा पुर्‍याइयो। अब भने आकाश आफू अपहरणमा परिसकेको र बाँच्न सक्ने सम्भावना नभएको देख्न थालिसकेका थिए।
भदौ २८ गते राति ८ बजे उक्त वन समितिका अध्यक्ष देवानन्द सिंह फौजदार र नन्दलाल चौधरीलाई उनीहरुले भेटे। आकाशलाई बन्धक बनाएर राख्ने व्यवस्था गरिदिन उनीहरुले आग्रह गरे। 
अध्यक्ष देवानन्दले आफ्नो मीत धनबहादुर दर्लामीको घरमा आकाशलाई राख्ने बन्दोबस्त मिलाइदिए।
अध्यक्ष देवानन्दकै आदेशमा नन्दुलालले नवलपरासीस्थित साबिकको धुर्कोट गाविस–७ अम्बासमा रहेको धनबहादुरको घर पुर्याए। त्यसपछि नन्दुलाल र एक अपहरणकारी मोटरसाइकलमै पुन: भुताहा फर्किए। आकाशको निगरानीमा दुई अपहरणकारी धनबहादुरकै घरमा बसे।
उनीहरुले धनबहादुरको घरमा बास माग्दा 'मोटरसाइकल दुर्घटना भएको' बताएका थिए। अपहरणकारीमध्ये एक जनाको खुट्टामा चोटसमेत भएकाले धनबहादुरले दुर्घटना भएको पत्याएर बास दिएको पछि प्रहरीसमक्ष बताएका थिए। 
त्यो रात उनीहरुले धनबहादुरको घरमै बिताए।
'तेरो छोराको अवस्था कस्तो छ भिडियोमा देख्छस्' 
छोरा अपहरणमा परेका थाहा नपाऊन् भन्दै भोलिपल्ट भदौ २९ गते ४ बजे आकाशलाई आमासँग कुरा गर्न दिइयो। उनीहरु नवलपरासीको सरावलमा थिए। तर, आफू पाल्पा भएको भन्न लगाए अपहरणकारीले।
भदौ २९ देखि असोज १ गते बिहानसम्म पनि उनीहरु धनबहादुरकै घरमा बसे।
२९ गते केदार सहनी र रामजित हरिजन पसारी बजार गए। मणिराम चाईको पसलमा गएर चिया खाए (मणिराम केदारको फुपूको छोरा हुन्)। 
मणिराम चाई

'भूमहीमाथिको जंगलमा मुर्गालाई राखेको र बस्न खान समस्या भएको' केदारले मणिरामलाई सुनाए। केही खाद्यान्न लगेर धनबहादुरलाई पनि दिने योजना अपहरणकारीको थियो। तिनैमध्येका एक जना मोटरसाइकल लिएर भुताहा गई चामल, दाल, आलु, तेल लगायतका खाद्यान्न किनेर धनबहादुरको घर पुगे।
धनबहादुरको घरमा बसेको धेरै दिन भइसकको थियो। त्यही भएर भदौ ३१ गते वनका अध्यक्ष देवानन्द फौजदारले २ जना भारतीय मूलका अपहरणकारीलाई आफ्नो घरमा बस्न दिए। सोही दिन राति साढे १२ बजेतिर आकाशकी आमालाई फोन गर्दै अपहरणकारी भने, ‘छिटो १ करोड ठिक पार्। नभए तेरो छोराको अवस्था कस्तो छ, भिडियोमा देख्छस्।’
सेल्टर परिवर्तन
प्रहरीको अनुसन्धान तीव्र थियो। तर अपहरणकारीको कुनै सुइँको पाउन सकेको थिएन। एकै ठाउँमा बस्दा प्रहरीले थाहा पाउन सक्ने भन्दै अपहरणकारीले ठाउँ सर्ने योजना बनाए। 
उनीहरु असोज १ गते बिहान ९ बजे धनबहादुरको घरबाट निस्किए।
आफूहरु हिँडेपछि धनबहादुरको परिवारले प्रहरीलाई खबर गर्ने डर उनीहरुलाई थियो। धनबहादुरको छोरो सुमन भन्ने खेमानसिंहलाई समेत अपहरणकारीले पेस्तोल तेर्स्याउँदै भने, ‘तेरो घरको सबै जनाको बारेमा हामीलाई थाहा छ। यो कुरा कतै लिक भयो भने तेरो परिवार नै खत्तम गर्दिन्छौं।’
यति गर्दा पनि विश्वास नलागेपछि धनबहादुरको छोरा सुमनलाई समेत उनीहरुले सँगै लिएर गए। मोटरसाइकल भने धनबहादुरकै घरमा छाडिएको थियो। त्यहाँबाट उनीहरु २ घन्टा पैदल हिँडेर नवलपरासीको धुर्कोट गाविस–८ लामेधुमारस्थित दानबहादुर दर्लामीको घरमा पुगे। 
दानबहादुर पनि धनबहादुरकै छोरा हुन्।
यहाँ भने आकाशको साथमा एक जना अपहरणकारी बसे।
सुमनलाई लिएर एक जना मधेसी मूलका अपहरणकारी धनबहादुरको घर अम्बास फर्किए। त्यहाँ भएको मोटरसाइकल लिएर उनी भुताहातर्फ हान्निए।
दुई वटा पेस्तोल ताकिएको नांगो तस्बिर जब आकाशकी आमाले पाइन्
धनबहादुरको घरबाट मोटरसाइकलमा भुताहातर्फ हान्निएका एक अपहरणकारीलाई केदारले मेमोरी कार्ड दिएर पठाए। तिनै व्यक्ति असोज १ गते राति साढे ८ बजे आकाशको घर सिद्धार्थनगरसिथत बर्मेलीटोल पुगे।
मोटरसाइकलमा गएका उनले घरमा एउटा खाम फालेर फर्किए। खामको एकातिर ‘आकाश गुरुङको म्यासेज' र अर्कोतिर 'म्यासेज अफ आकाश गुरुङ’ लेखिएको थियो।
आकाशको परिवारले भित्र सानो ढुंगा हालिएको खाम फेला पार्यो। भित्र चिठी थिएन। जहाँ मोबाइल फोनमा लाग्ने एक थान मेमोरी कार्ड थियो। अपहरित छोराको नाममा आएको मेमोरी कार्ड मोबाइलमा हालेर जब परिवारले हेरे, एकाएक सन्नाटा छायो। भूकम्प आएझैं उनीहरुको टाउको रिंगाउन थाल्यो।  
दुईतिर कसिला हातले पेस्तोल ताकिरहेको। अर्धनंग्न आकाशको भयग्रस्त अनुहार। 
एकान्त जंगलमा आकाशको यस्तो तस्बिर देख्दा परिवारका सबै सदस्य स्तब्ध हुन्छन्। 
यतिमात्रै होइन, 'अपहरणकारीको माग पूरा गरिदिएर आफूलाई बचाउन' भन्दै आकाशले परिवारलाई सम्बोधन गरेको अडियो पनि थियो साथमा। यो कारुणिक अडियोसमेत सुनिसकेपछि आकाशको परिवार थप विक्षिप्त बन्न पुग्छ। भगवान् पुकार्नुबाहेक उनीहरुसँग कुनै उपाय थिएन। 
अनुसन्धानमा खटिएको प्रहरीसमेत अकाशको तस्बिर र आवाज सुनेर झनै सशंकित बन्यो। ‘अपहरण गर्ने। त्यसपछि पनि घरमै ल्याएर यस्तो अडियो र फोटो भएको मेमोरी फाल्ने,’ त्यसबेलाको अनुसन्धानमा खटिएका एक अधिकारीले सुनाए, ‘अपहरणकारीलाई आफू पक्रिन्छु भन्ने डरै नभएको देखिन्थ्यो।’
अपहरणकारीको पञ्जाबाट उम्किएपछि...
आफ्नो ज्यान कसरी हुन्छ बचाउनु थियो आकाशलाई। जति जुक्ति निकाले पनि ५/६ जना अपहरणकारीको पञ्जाबाट फुत्कन सम्भव थिएन। दानबहादुरको घरमा आकाशलाई कुर्न बसेको एक अपहरणकारीको आँखा छल्दै आकाश त्यहाँबाट भाग्न सफल भए। असोज ३ गते दिउँसो ३ बजे भारतीय मूलका एक अपहरणकारी अर्को भारतीय मूलकै मान्छेलाई मोटरसाइकलमा लिएर धनबहादुरको घरमा गए। पहिले बन्धन बनाएर राखिएको ठाउँमै भागेका हुन् कि भन्ने उनीहरुको शंका थियो।
आकाश भागेको झोँकमा अपहरणकारीले धनबहादुरको छोरो सुमनलाई पेस्तोल ताक्दै ‘त्यो मान्छे भाग्यो, तैंले भगाएजस्तो छ’ भन्दै धम्क्याएका थिए।
आकाशलाई कुर्न बसेका एक अपहरणकारीले उनी धुर्कोट गाविस–८ हुक्सेदमाहतर्फ भागेको बताएका थिए। त्यसपछि चारैजना अपहरणकारी आकाशलाई खोज्दै हुक्सेदहतर्फ लागे। साँझसम्म खोज्दा पनि आकाश कतै फेला परेनन्। अन्तत: राति ८ बजेतिर आकाशलाई धुर्कोटबाटै कब्जामा लिन अपहरणकारी सफल भए। 
'प्रत्येक दिन तेरो छोराको एउटा अंग काटेर पठाउँछौं'
अपहरणकारीले असोज ३ गते राति साढे १२ बजेदेखि ६ पटकसम्म पुन: भारतीय नम्बरबाट उनकी आमालाई फोन गर्दै फिरौती मागिरहेका थिए। आकाशकी आमाले भनेजति रकम आफूसँग नभएको र ६ लाख रुपैयाँ त्यो पनि तीन दिनपछि मात्रै दिन सक्ने बताएकी थिइन्।
आकाशकी आमाको जवाफ सुनेपछि अपहरणकारीले धम्क्याएका थिए, ‘त्यो ६ लाख छोराको कात्रो किन्न खर्च गर्नू। अब प्रत्येक दिन तेरो छोराको एउटा अंग काटेर पठाउँछौं।’
यति भनिसकेपछि अपहरणकारीले फोन काटे। त्यसपछि सम्पर्क पनि भएन।
'अपहरणकारीले भनेजस्तै गरिदिनु आमा, म छिट्टै फर्कन चाहन्छु'
तावाबाट फुत्केको माछो भुंग्रोमा भनेझैं भागिसकेका आकाश फेरि अपहरणकारीको कब्जामा परिसकेका थिए। जतिसक्दो छिटो गाउँ छाडेर सुरक्षित हुन आवश्यक ठान्दै अपहरणकारीले गाउँ छाड्ने निधो गरे। धनबहादुरको छोरो सुमनलाई लिएर ५ जना अपहरणकारी धुर्कोटबाट अम्बासतर्फ लागे।
करिब ३० मिनेट हिँडेपछि जंगलको एक खोलामा उनीहरुले चाउचाउ खाए। हिँड्ने क्रममा आकाशको शरीरमा अपहरणकारीका बुट पनि बजारिन्थे। सहँदै लुरुलुरु हिँड्नुको विकल्प थिएन उनीसँग। त्यसबेला आकाश एकदमै डराएको सुमनले समेत प्रहरीमा बयान दिएका थिए। 
असोज ३ गते बिहान ७ बजेर ५६ मिनेटमा र ७ बजेर ५८ मिनेटमा आकाशलाई आमासँग कुरा गर्न दिएका थिए, अपहरणकारीले। त्यसबेला आकाशले आमालाई भनेका थिए, ‘अपहरणकारीले भनेजस्तै गरीदिनु आमा। म छिट्टै घर फर्कन चाहन्छु।’
धुर्कोट– ८ लामेधुमारको उकालो कटेपछि भुताहा र अम्बास जाने बाटो छुट्टिन्छ। सो स्थानमा पुगेपछि धनबहादुरको छोरा सुमनलाई 'धन्यवाद' भन्दै अपहरणकारीले घर फर्काउँछन्। आकाशलाई लिएर २ अपहरणकारी भने भुताहाको ओरालो लाग्छन्। एक जना भने मोटरसाइकल लिन धनबहादुरको घर जान्छन्। पहिले छाडेको मोटरसाइकल लिएर उनी भुताहातर्फ नै जान्छन्।
आकाशकै मोबाइलबाट ७० वर्षीया वृद्धाको कल 
असोज ३ गते बिहान ११ बजे अपहरणकारीलाई सेल्टर दिएका धनबहादुर दर्लामी भुताहाबाट घर अम्बास फर्किंदै थिए। भुताहाको चापागाउँ सकिएर हरियाली सामुदायिक वन सुरु हुने दोबाटो नजिक पर्थ्यो उनको घर। भदौ २८ गतेदेखि असोज १ गतेसम्म आफ्नो घरमा बसेकामध्ये भारतीय मूलका व्यक्तिहरु जंगलबाट झर्दै गरेको अवस्थामा देखेको उनले प्रहरी समक्ष बयान दिएका थिए। तर आकाशलाई भने  नदेखेको उनको भनाइ थियो।
त्यसैदिन राति आकाशको मोबाइल नम्बरबाट अर्को एनसेलको नम्बरसँग २ पटक लामो कुराकानी भएको देखियो। यसबारे पनि प्रहरीले अनुसन्धान अघि बढायो। 
प्रहरीले खोजी गरेको लोकेसन

आकाश गुरुङले प्रयोग गर्ने सिमकार्ड सहितको फोन नवलपरासीको मनरी गाविस–७ जावास्थित बाटोमा भैसी चराउँदै गरेकी ७० वर्षीया चन्द्रावीत अहिरले असोज ४ गते भेटेकी रहिछन्। उनै चन्द्रावतीले नाति र आफन्तसँग उक्त मोबाइलमार्फत कुरा गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको थियो। यसबाट पनि प्रहरीले आकाशको अवस्थाबारे केही जानकारी पाउन सकेन।
हरियाली जंगलमा जब सडेको लास फेला पर्‍यो
अपहरित आकाशको खोजीमा प्रहरीले कुनै कसर बाँकी राखेको थिएन। आफूसँग भएजति प्रविधि र दक्ष जनशक्ति प्रयोग गर्दा पनि कुनै तथ्य प्रहरीले जुटाउन सकेको थिएन। यद्यपि खोजी भने  जारी थियो।
असोज ११ गते। 
बिहान ९ बजे इलाका प्रहरी कार्यालय बर्दघाटमा ९८४७१२९२... नम्बरबाट फोन आउँछ। प्रहरीले फोन उठाउने बित्तिकै भनिन्छ, ‘हरियाली सामुदायिक जंगलमा सडीगलेको अवस्थामा एक पुरुषको लास छ।’
बर्दघाट–१० का जगन्नाथ भुसालले उक्त जानकारी गराएका थिए। पूर्व–पश्चिम राजमार्गभन्दा अन्दाजी ४ किलोमिटर उत्तरमा शव फेला परेको थियो। जंगलमा दाउरा लिन गएका लालबहादुर रानाले देखिपछि गाउँलेलाई बिहान ७ बजे जानकारी गराएका थिए। उनै रानाले सुनाएको सूचना भुसालले प्रहरीलाई दिएका थिए।
यो खबर सुन्नासाथ प्रहरीले लख काटिसकेको थियो, पक्कै आकाशको शव हुनुपर्छ। 
सूचनापश्चात् जिल्ला प्रहरी कार्यालय नवलपरासी, जिल्ला प्रहरी कार्यालय रुपन्देही र अनुसन्धान टोली घटनास्थल पुग्छन्। 
सडिसकेको वयस्क पुरुषको शव। उत्तानो परेको उक्त शव वरिपरि झारपात पलाइसकेको अवस्थामा प्रहरी फेला पार्छ। छातीको एकापट्टि छाला लुछिएको तथा टाउको र हात कुहिसकेको अवस्थामा रहेको शवको अनुसन्धानमा लाग्छ प्रहरी। पहिले घरमा पठाएको फोटो र नजिकै भेटिएको चप्पलको आधारमा उक्त शव आकाशकै भएको प्रहरीले पुष्टि गर्छ। 
परिवारलाई प्रहरीले खबर गरेपछि आकाशको सनाखत हुन्छ। अपहरणमा परेको १५ दिनपछि आकाशको परिवारले उनको शव बुझ्छन्। 
फरार छन् अझै तीन व्यक्ति
आकाशको अपहरणपछि हत्यामा संलग्न भएका ५ जनालाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ भने अपहरणमा संलग्न एक जना प्रहरीको कारबाहीमा मारिएका छन्। ३ जना भने अझै फरार छन्।
प्रहरीले अपहरणका योजनाकार केदार सहनीलाई सेल्टर दिने कपडा व्यापारी रुपन्देहीको सिद्धार्थनगर–९ का मणिराम चाई, अपहरणको मुख्य योजनाकार सिद्धार्थनगर–६ गल्लामण्डीका ४१ वर्षीय मोहमद सफिक मुसलमान, अपहरणकारीलाई बन्दोबस्ती, रासन र बस्ने व्यवस्था मिलाउन नवलपरासीको तिलकपुर– १ का ५३ वर्षीय देवानन्द सिंह फौजदार, अपहरणको मुख्य योजनाकार तथा पीडितलाई सफिकसँग चिनजान गराउने सिद्धार्थनगर–९ डाँडागाउँका ३५ वर्षीय यादव कुँवर र आकाशलाई बन्धक बनाउन प्रयोग गरिएको घरसम्म पुर्याउन सहयोग गर्ने नवलपरासी तिलकपुर–१ सालबासका ३६ वर्षीय नन्दलाल चौधरी पक्राउ परिसकेका छन्। विभिन्न मितिमा प्रहरीले उनीहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याइसकेको छ।
अपहरण र हत्याको मुख्य योजनाकार भनिएका सिद्धार्थनगर– ६ गल्लामण्डीका ४२ वर्षीय केदार सहनी केही दिनअघि मात्रै रुपन्देही प्रहरीको कारबाहीमा मारिएका छन्। उनी हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष जेल बसेर छुटेका व्यक्तिसमेत हुन्।
त्यस्तै अपहरण तथा हत्याका अर्का योजनाकार नवलपरासीको रामग्राम नगरपाकिला–४ का ३८ वर्षीय रामजित हरिजन अहिलेसम्म फरार छन्। उनी २०६६ बैसाख ४ गते हातहतियार खरखजना मुद्दामा नवलपरासीबाट पक्राउ परी ४ वर्ष कैद सजाय र ८० हजार जरिवाना तिरेर २०७० बैसाख ४ गते जेलमुक्त भएका व्यक्ति हुन्। 
फरार २ जनाको भने अहिलेसम्म पहिचान हुन सकेको छैन। अपहरणकारीलाई सेल्टर दिएको भन्दै प्रहरीले २०७१ असोज ६ गते देवानन्द फौजदारलाई पक्राउ गरेको थियो। उनैले दिएको जानकारी अनुसार अपहरण र हत्या घटनामा एक जना भारतीय मुलको फिरोज भन्ने व्यक्ति र अर्का पनि भारतीय मूलकै रमेश केवट भन्ने व्यक्ति घटनामा संलग्न छन्। उनीहरुबारे योभन्दा बढी जानकारी प्रहरीसँग छैन। उनीहरुको स्केच बनाएर प्रहरीले खोजी गरिरहेको छ। यीबाहेक घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ।