Tuesday, February 25, 2020

एक काबिल अफिसरको कोमामै बढुवा, कोमाबाटै अवकाश

नारायण अधिकारी/ऋग्वेद शर्मा |  २०७६ माघ २८ मंगलबार | Tuesday, February 11, 2020  ०६:३०:०० मा प्रकाशित

5.1kShares
काठमाडौं- राजेन्द्रमान श्रेष्ठका आँखा एकोहोरिएका छन्। बितेका साढे तीन वर्षदेखि। बेलाबेला यताउति चलेका उनका आँखाले केही बुझेको छ या छैन, थाहा छैन। उनका आँखा अहिले एक टकले भित्ताको एउटा तस्बिरमा परेका छन्। निकै बेरदेखि।
प्रहरी अस्पतालको भित्तामा रहेको तस्बिरमा तत्कालीन आइजिपी प्रकाश अर्यालले उनलाई डिआइजीको फुली लगाइदिँदैछन्। त्यही फ्रेममा छ उनको प्रहरी बर्दीको अर्को तस्बिर पनि। थाहा छैन उनी तस्बिर हेरिरहेका हुन् या त्यहाँ आँखा पर्नु संयोग मात्र हो। 
अस्पतालमै रहँदा आफू डिआइजीमा बढुवा भएको पनि उनले बुझेका छन् या छैनन् थाहा छैन। उनले आज अवकाश पाउँदैछन्। त्यो उनलाई याद छ कि छैन, अरुलाई थाहा छैन। जे होस्, उनी आज अवकाश पाउँदै छन्। तर, प्रहरी सेवाबाट नचाहेको अवकाश लिनुपर्ने बाध्यता परेका उनलाई यो अवकाश एउटा औपचारिकता मात्र होला। या त्यति पनि होइन कि! 
अवकाश लिने बेला एक प्रहरी अधिकारीको मनमा के चलिरहेको हुन्छ होला। जागिरे जीवनबाट विश्रामको खुसी, कामका केही याद, निर्धक्क पारीवारिक समयमा रमाउन पाउने उत्साह, साथीभाइको यादमा केही भावुक क्षण र अरु पनि यस्तै केही। तर सँगै अवकाश पाउने आइजी, तीन एआइजी र १७ डिआइजीको जस्तै मनस्थिति राजेन्द्रमानको कसरी होओस्। 
शब्द ननिस्कने उनको बेलाबेलाको चिच्याहटलाई आवाज मान्नुपरेको छ। पसिनाले निथ्रुक्क भिजेका बेला, एकपछि अर्को कोल्टे फेर्दा या केही अप्ठ्यारो पर्दा निस्कने उनको आवाज नै नजिक हुनेका लागि उनको बोली बनेको छ। त्यसलाई बुझेर उनको सजिलोका लागि काम गरिदिनु परेको छ। तर साढे तीन वर्षदेखि अस्पतालको बेडमा अचेत जस्तै भएकालाई के गरिदिँदा कसरी सजिलो होला? 
राजेन्द्रमान डिआइजीमा बढुवा हुँदाको समय।
०००
२०४६ माघ २९ गते राजेन्द्रमान प्रहरी इन्स्पेक्टरमा भर्ना भएका थिए। फुर्तिला राजेन्द्रमान केही किलोमिटर दौडने र ब्याडमिन्टन खेलेर हरेक दिनको सुरुवात गर्थे। 
२०७३ साउन १५ गतेको बिहान कोशी अञ्चल प्रहरी कार्यालय धरानमा तत्कालीन एसएसपी राजेन्द्रमान उसैगरी ब्याडमिन्टन खेलिरहेका थिए। खेलिरहेकै बेला एक्कासी थचक्क भुँइमा बसे। साथीहरु खेलभित्रकै केही मजाक सम्झेर हाँसे पनि। तर उनको अवस्था सामान्य थिएन।  
अचेत भएका उनलाई साथीहरुले नै बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिहाले। हृदय गति अचानक बन्द भएको थियो। डाक्टरका अनुसार केहीबेर रक्तसञ्चार नै रोकिएकाले उनको मस्तिष्कसम्म अक्सिजन पुग्न सकेन। त्यसले उनी डाक्टरी भाषामा ‘लक्ड इन सिन्ड्रोम’मा बाँच्न विवश छन्। शरीर नचले पनि उनी दृश्य देख्छन् र केही कुरा बुझ्छन् भन्ने विश्वास डाक्टरमा छ। 
पुलिस अस्पतालमा राजेन्द्रमान।
अहिले प्रहरी अस्पतालमा राजेन्द्रमानको स्याहारमा दिनरात लागिरहेकी श्रीमती आराधना राणा त्यसअघि प्रेसरबाहेक उनमा अरु बिरामी नभएको सम्झिन्छिन्। २०६६ सालमा पर्सा प्रहरी प्रमुख रहेका बेला गाँजा तस्करीविरुद्ध काम गर्दा उनमा प्रेसर बढ्ने समस्या देखिएको थियो। डाक्टरले त्यति बेलै केही औषधी चलाएका थिए। अरु त राजेन्द्रमान खेलाडी स्वभावमै फुर्तिला थिए। 
राजेन्द्रमान त्यसरी बिरामी पर्दा आराधना धरान पुगेर फर्किएको एक हप्ता मात्रै भएको थियो। छोरा पढाइका लागि अमेरिका जाने तयारीमा थिए। छोरा पठाउने समय राजेन्द्रमान पनि काठमाडौं आउने कुरा थियो। तर नसोचेको बिमारले उनी अस्पताल पुगे र अहिलेसम्म अस्पतालमै रहिरहे। 
२०७४ भदौ ५ गते विशेष व्यवस्था गरेर राजेन्द्रमानलाई अस्पतालमै डिआइजी बढुवा गरिएको थियो। आफू बढुवा हुँदाको त्यही तस्बिरमा अहिले उनको आँखा परिरहेको छ। 
एसएसपी भएपछि पहिलो जिम्मेवारी पाएको ललितपुरमा युनिटीका मालिक काशी गुरुङलाई भारतदेखि पक्रेर ल्याएको, पर्सा प्रहरी प्रमुख हुँँदाको काम, सशस्त्र युद्धका बेला गोर्खा, म्याग्दी, लमजुङ, दोलखामा गरेका काम, भारत नयाँदिल्लीस्थित नेपाली दूतावासको सुरक्षा प्रमुख हुँदा र त्यसपछि विराटनगरस्थित तालिम केन्द्रमा प्रमुख रहँदाको दिन अहिले उनको सम्झनामा होला या नहोला। याद छ भने, अवकाशको दिनमा उनलाई सबैभन्दा बढी के सम्झना भइरहेको होला? 
राजेन्द्रमान एसएसपी रहँदा।
आराधनालाई याद छ, राजेन्द्रमान सधैँ कामलाई पहिलो प्राथमिकता दिन्थे। त्यसैले राजेन्द्रमानको सरुवा भएका कति ठाउँमा त आराधना सँगै पनि गइनन्। छोराछोरी काठमाडौंमा नै पढ्ने भएकाले आराधना सबैतिर जान सम्भव पनि भएन। अहिले राजेन्द्रमान छाड्ने अवस्थामा छैनन्। एकैछिन पनि आराधना उनको समिपबाट टाढा हुन सक्दिनन्। 
०००
अस्पतालको बेडमा पनि राजेन्द्रमानको दिन जागिरे जीवनको जस्तै बिहान ५ बजे नै सुरु हुन्छ। होइन, बिहान ५ बजे नै सुरु गरिदिनुपर्छ। त्यसमा श्रीमती आराधनासँगै छोरीले सहयोग गर्छिन्। 
बिहान ५ बजे औषधी खुवाउने। सरसफाइ गरिदिने। पेटमा जडान गरिएको ‘पेग’मार्फत झोलिलो खानेकुरा खुवाउने। नुहाइदिने। लुगा फेरिदिने। पाउडर लगाइदिने। फेरि खानेकुरा खुवाउने। सफा गरिदिने। कोल्टे फेरिदिने। केहीबेर ह्विलचेयरमा राखेर अस्पताल बाहिर खुला ठाउँमा लैजाने। मालिस गरिदिने। औषधीदेखि खानासम्म पाइपमार्फत खुवाउँदा कहिँलेकाहिँ मुख सुख्खा भयो भने मुखमा थोपा पानी राखिदिने। हरेक दिन उही क्रियाकलाप। 
एउटै कोल्टेमा धेरैबेर सुतिरहँदा शरीर दुखेर होला राजेन्द्रमान कराउँछन्, अनि अर्को कोल्टे फर्कादिनु पर्छ। केहीबेरमा त्यो कोल्टे फेरि फेर्न परिहाल्यो। श्रीमानको स्याहारमा अस्पतालको बासले आराधना नर्सिङमा पोख्त जस्तै भइसकिन्। फुर्तिला राजेन्द्रमान चिन्नेले उनको यो अवस्था देख्दा आँखा रसाइहाल्छ।  
आज राजेन्द्रमानलाई खाना खुवाउन पेटमा राखेको ‘पेग’ फेरिदिनुपर्ने थियो। आराधना एकैछिन बाहिर निस्कँदा डाक्टर आएकाले त्यो काम पनि छुटिहाल्यो। स्वास फेर्न सजिलो होस भनेर घाँटीमा पनि ‘ट्राक्योस्टोमी’ गरिएको छ। त्यसबाट नै बेलाबेला खकारसमेत निस्कन्छ।  
राजेन्द्रमानलाई ‘पेग’मार्फत खुवाउने झोल खानेकुरा।
राजेन्द्रमानको जाँचमा डाक्टरहरु नियमति आउँछन्। प्रहरी अस्पतालका डाक्टरसँगै ग्रान्डी अस्पताल र वीर अस्पतालबाट पनि बेलाबेला डाक्टर आइरहेका हुन्छन्। हातखुट्टा चलाउन सजिलो होस् भनेर भारतबाट ल्याइएको ‘ब्याक्लोफेन’ नामको औषधी चलाइएको छ। 
उनलाई खुवाउने झोलिलो खाना अस्पतालले नै दिइरहेको छ। कोठाको सुविधा र सबै औषधीहरु पनि अस्पतालले नै दिन्छ। अब अवकाशपछि केही औषधीमा भने कटौती हुनेछ। अरु सबै सुविधा पहिले जस्तै रहने विश्वास आराधनालाई छ। 
प्रहरी अस्पताल प्रमुख आशा सिंहले पनि आफू एआइजी भएपछि राजेन्द्रमानलाई भेट्न गएकी थिइन्। उनले राजेन्द्रमानले अहिले पाउने सुविधा अवकाशपछि पनि पाउने विश्वास दिलाएकी थिइन्। आराधनालाई थाहा छ- घर लगेर स्याहार गर्न मिल्ने रोग पनि त होइन। 
‘परेपछि भोग्नुपर्ने रहेछ’ आफ्नो निराश अनुहार यसअघि कहिले खुलेको थियो आराधनालाई थाहा छैन। बिहानदेखि रातिसम्म अस्पतालमा नै हुन्छिन्। राति सुत्न केहिबेर घर पुग्छिन्। दिन श्रीमानको स्याहारमा बित्छ। 
बेला बेला रसाएका आफ्ना आँखा राजेन्द्रमानले देखेका छन् कि छैनन् आराधनालाई थाहा छैन। हरेक समय श्रीमानलाई हेरेर बसिरहँदा उनले कति कुरा बुझेका होलान् भन्ने अनुमान पनि कठीन छ। कहिँलेकाहिँ घुमेमा राजेन्द्रमानका आँखाका नानी आफैलाई केही भन्न खोजेजस्तो आराधनालाई लाग्छ। तर त्यसको अर्थ ठीक कसरी बुझिन्छ थाहा छैन। 
पुलिस अस्पतालमा राजेन्द्रमान।
पहिलेभन्दा सुधार भएका केही संकेतहरु भने देखिन्छन्। पहिले छुँदा, कोल्टे फेराउँदा कुनै प्रतिक्रिया नदेखिने राजेन्द्रमानका आँखामा अहिले केही भाव देखिन्छ। विशेषतः आराधना त्यो बुझ्छिन्। 
अहिले सुतिरहेका बेला सिरानी उठाएर यताउता सार्दा राजेन्द्रमानको आँखा झस्किएर खुल्छन्। केही तातो छुवाइदिँदा चलमलाउँछन्। पहिले त त्यति पनि प्रतिक्रिया हुँदैन थियो। यसैले आराधनालाई लाग्छ- अहिले राजेन्द्रमानले आफ्नो लागि केही थाहा पाइरहेका छन् तर हाम्रा लागि केही थाहा पाएजस्तो लाग्दैन। 
अहिले अलि बढी पसिना आउँदा राजेन्द्रमान जोडले कराउँछन्। पसिना पुछिदिएपछि सुत्छन्। ओड्ने मिलेन भने कराउँछन्। मिलाइदिएपछि सुत्छन्। कोल्टे फेर्नुपर्दा कराउँछन्। फेरिदिएपछि सुत्छन्। साथीहरु आएर बोलाउँदा राजेन्द्रमानले हेरेजस्तो आराधनालाई लाग्छ। 
हरेक दिन उनी राजेन्द्रमानको अगाडि एक्लै बोलिरहन्छिन्। एक्लै गफ गर्छिन्। गीत सुनाइदिन्छिन्। समाचार सुनाइदिन्छिन्। टिभी खोलेर राखिदिन्छिन्। यी सबै कुराले आराधनालाई विश्वास छ, राजेन्द्रमानलाई पक्कै थाहा हुनुपर्छ उनी आज अवकाश पाउँदै छन्। तर आराधनालाई थाहा छैन राजेन्द्रमानले अस्पतालको बेडबाट अवकाश पाएर फुर्तिलो हुँदै घर कहिले फर्कनेछन्। 

प्रेमीका लागि आमा मार्ने क्रुर छोरीको बकपत्र

नारायण अधिकारी |  २०७६ फागुन २ शुक्रबार | Friday, February 14, 2020  २०:२१:०० मा प्रकाशित

1.3kShares
काठमाडौं- ‘मलाई एउटा सिक्सर पेस्तोल चाहिएको छ। पेस्तोल उपलब्ध गराइ दे। म तँलाई भारु १० हजार दिन्छु। काम भइसकेपछि पेस्तोल पनि फिर्ता लैजालास्’ गत असारमा महमद नौसादले फोनमार्फत् मोहम्मद रहिसलाई अनौठो प्रस्ताव राखे।
सिरहाको कल्याणपुर नगरपालिका–४ महोलियाका ३३ वर्षीय नौसादले पेस्तोल खोजिदन आग्रह गरेका रहिस उनका मामाका छोरा हुन्। २४ वर्षीय रहिस भारत बिहार प्रदेशको मधुवनी भकुवा–१३ बस्छन्।
भारतमा पेस्तोल सहजै पाउनेबारे जानकार नौसादले रहिसलाई पेस्तोल खोजिदिने प्रस्तावमात्रै गरे। तर पेस्तोल किन चाहिएको खुलाएनन्। ‘मलाई मात्रै पेस्तोल चाहियो। किन, केका लागि भन्ने प्रश्नै नगर’ नौसादले रहिसलाई भने। 
०००
सिरहाका नौसाद काठमाडौंमा गार्मेन्टमा काम गर्दै आएका थिए। बालकुमारीमा रहेको शाह गार्मेन्टमा काम गर्ने क्रममा एक वर्षदेखि उनको इश्वरी भट्टराईसँग चिनजान भयो। २७ वर्षीया इश्वरी चाँगुनारायण नगरपालिका–७ बाँसघारी बस्थिन्। शाह गार्मेन्टमा उनीहरूले केही समयसँगै काम गरे।
त्यसपछि नौसाद त्यो गार्मेन्ट छाडेर भक्तपुर बालकोटमा रहेको अर्को गार्मेन्टमा काम गर्न थाले। इश्वरीलाई पनि त्यही काम गर्न बोलाए। उनी आइन्।
त्यही गार्मेन्टमा काम गर्थे भगवती बस्नेत र अनिता भट्टराई। जो इश्वरीका सहोदर दिदीसमेत हुन्। तीन दिदी–बहिनी र नौसादका दुई दाजुभाइ सद्दाम हुसेन पनि एकै गार्मेन्टमा काम गर्न थाले।
पहिला मन खोलेर कुरा गर्न हिच्किचाउने उनीहरू घनिष्ट भइसकेका थिए। खुलेर प्रेमका कुरा गर्न थालिसकेका थिए। तर दुबैको प्रेम अवरोधहीन भने थिएन। यी दुवै विवाहित थिए। 
 
त्यही गार्मेन्टमा काम गर्दागर्दै नौसादको कतारको भिसा लाग्यो। ‘नेपालमा कमाइ नुहने भयो। म विदेश जान लागेँ। कतारको भिसा पनि आइसक्यो’ आफूसँग नजिकिँदै गरेकी इश्वरीलाई नौसादले सुनाए।
‘यहाँ पनि ठिकै छ त हामी यस्तो रमाइलो गरेर काम गरिरहेका छौं। विदेशै किन जानु पर्‍यो ?’ विदेश नगइदिएहुन्थ्यो भन्ने भावमा इश्वरीले जवाफ फर्काइन्।
उनको भिसा आइसकेको थियो। इश्वरीको मायालु पाराले गरेको आग्रहले उनी रोकिएनन्। उनी रोकिनुको कारण पनि थिएन। किनकि प्रेम दुवैको मनमा टुसाउँदै मात्रै थियो। फक्रिसकेको थिएन।
थामिएन मन
शरीर कतार पुगे पनि नौसादको मन उही गार्मेन्टमै थियो। इश्वरीसँगै हाँसेको,सँगै काम गरेको, चलेको जिस्केको यस्तै झल्को आइरह्यो उनलाई। म्यासेन्जर र इमोमार्फत् उनीहरू सम्पर्कमै थिए। डिजिटल सम्पर्कले दुबैको धित मरेन। उनी नेपाल फर्किए।
‘कतार आएको तीन महिनामा मेरो छातीमा समस्या देखियो। मैले इश्वरीलाई जानकारी गराएँ’ नौसादले बयानमा भनेका छन्, ‘उनकै सल्लाहमा नेपालमा उपचार गराउन भनेर फर्किएँ।’ 
नेपाल फर्किएर नौसादले कलंकीको एक गार्मेन्टमा काम गर्न थाले।
त्यही बेला एकदिन इश्वरीले नौसादलाई फोन गरिन्। उनले इश्वरीलाई कलंकीको गार्मेन्टमा राम्रो पैसा नभएको बताए। इश्वरीले जडिबुटीकै गार्मेन्टमा काम गर्न बोलाइन्। त्यसबेला इश्वरी जडिबुटीस्थित एक गार्मेन्टमा काम गर्थिन्।
इश्वरीले बोलाएपछि नौसाद उतै पुगे।
पहिला मन खोलेर कुरा गर्न हिच्किचाउने उनीहरू घनिष्ट भइसकेका थिए। खुलेर प्रेमका कुरा गर्न थालिसकेका थिए। तर दुबैको प्रेम अवरोधहीन भने थिएन। यी दुवै विवाहित थिए। 
इश्वरीको घरमा छोरा, श्रीमान् र आमा थिए। नौसाद भने काठमाडौंमा भाइ सद्दाम हुसेनसँगै बस्थे। उनको परिवार सिरहामा थिए। तर उनीहरूको प्रेम यात्रा रोकिएन। प्रेम झ्याम्मिन थालिसकेको थियो।
‘इश्वरीको श्रीमान नभएको मौका पारेर हामी उनकै कोठा लोकन्थलीमा राति बिताउँथ्यौ। त्यतिखेर हामीबीच श्रीमान–श्रीमतीबीच हुने सबै सम्बन्ध हुन्थ्यो’, नौसादले बयानमा भनेका छन्। 
हुसेन नभएको बेला उनीहरू त्यता पनि जान्थे। 
मन र तन साटासाट भएपछि दुवैको व्यवहार फरक देखिने नै भयो। उनीहरू काम गर्ने ठाउँमा पनि आत्मीय देखिन थालेपछि इश्वरीकी दिदी अनि नौसादका भाइले दुबैको सम्बन्धबारे लख काटिसकेका थिए।
श्रीमानल् चाल पाए भने के गर्लान् ?
दिदीले शंका गरेको चाल पाएपछि इश्वरी अलि डराइन्। एक दिन नौसादसँग मुख खोलिन् ‘हाम्रो सम्बन्ध परिवार र मेरो श्रीमानले चाल पाए भने मलाई तिमीले नै लैजानु पर्छ नि।’
नौसादले जवाफ दिए ‘हुन्छ’
०००
नौसादलाई प्रेम त गर्थिन् इश्वरी तर सकेसम्म आफ्नो परिवार छाड्ने योजना भने थिएन। त्यसैले उनी सकेसम्म नौसादसँग टाढै बस्ने उपाय खोज्न थालिन्। दुवै निकै निकट भइसकेका थिए। नेपालमै टाढा बस्न सम्भव थिएन। त्यसैले उनले नौसादलाई विदेश पठाउने योजना बनाउन थालिन्।
योजना अनुसारै उनले एक रात नौसादलाई प्रस्ताव गरिन्‘ मेरो परिवारले हाम्रो सम्बन्धबारे शंका गर्न थाल्यो। थाहा पाउलान् जस्तो छ। म तिमीलाई पैसा हाल्दििन्छु। विदेश जाउ। मेरा श्रीमान् पनि विदेश जाने तयारीमा छन्। उनी विदेश गएपछि तिमी फेर्केर आउ, अनि सँगै बसौला।’
इश्वरीको प्रस्ताव नौसादलाई चित्त बुझ्यो। इश्वरीले आमासँग १ लाख रुपैयाँ मागिन् र नौसादलाई दिइन्। इश्वरीले नै दिएको १ लाख रुपैयाँमा ५ हजार थपेर अल्जर्फा मेनपावरमार्फत नौसाद दुबई उडे।
जब हातमा आयो श्रीमतीको अर्धनग्न तस्बिर
दुवई पुगेपछि म्यासेन्जर र इमोमार्फत् नौसाद र इश्वरीबीच कुराकानी जारी नै थियो। दुवै घण्टौं कुरा गर्थे। कुरैकुरामा एक दिन नौसादले दुबईमा भनेजस्तो काम नभएकाले आफू नेपाल फर्कने तयारीमा लागेको बताए।
काम केही बिग्रिएको थिएन दुबईमा। नौसादको मन बिग्रिएको थियो।
नौसादले पठाएका तस्बिर दुबैको सम्बन्ध खुलाउन काफी थियो। आफ्नो श्रीमतीे अरुसँगै अर्धनग्न बसेको तस्बिरले सोनामलाई चिट्चिट् बनायो। उनी श्रीमतीसँग छिनोफानो गर्ने मुडमा पुगे।
 इश्वरीले प्रस्ताव गरिन् ‘फर्कने भए फर्क। म कमलविनायकमा कोठा खोजेर तिमीलाई राख्छु।’ 
तर नौसादको मन भाँडिइसकेको थियो। उनले मानेनन् ‘हुन्न। अब कि मैसँग बस कि मलाई छाड।’
इश्वरी तयार भइनन् परिवार छाड्न। उनले श्रीमान् पनि नछाड्ने नौसादलाई पनि नछाड्ने बताइन्। तर नौसादको चित्त बुझेन। उनी इश्वरीको घर भाँड्ने तयारीमा लागे। 
इश्वरीका श्रीमान सोनाम थापा मगरलाई जेठ २२ मा मोवाइलमा फोन गरेर भने‘ तपाईसँग इश्वरी र मेरो सम्बनधको बारेमा कुरा गर्नुछ। मलाई फेसबुकमा साथी बनाउनुस्।’
‘नौसादको फोनले म झस्किएँ। तर के रहेछ कुरा भनेर मैले उनलाई फेसबुकमा साथी बनाए’ इश्वरीका श्रीमान सोनाम भन्छन्, ‘त्यसपछि उनले मेरी श्रीमती र उसँगै बसेका अर्धनग्न तस्बिर  पठायो।’
नौसादले पठाएका तस्बिर दुबैको सम्बन्ध खुलाउन काफी थियो। आफ्नो श्रीमतीे अरुसँगै अर्धनग्न बसेको तस्बिरले सोनामलाई चिट्चिट् बनायो। उनी श्रीमतीसँग छिनोफानो गर्ने मुडमा पुगे।
तर नौसादसँगको सम्बन्ध टुटेको थिएन उनको। नौसादसँग इमोमा कुराकानी भइ नै रह्यो। उनी नौसादलाई छाड्नै नसक्ने मोडमा पुगिसकेकी थिइन्। उनले भनिन्, ‘म तिमीलाई कुनै हालतमा छाड्न सक्दिन। म तिमीसँग बस्ने हो।’
‘मैले सासुआमा सावित्री, इश्वरीकी दिदी अनिता र भगवतीलाई मेरो घरमा बोलाएँ र छलफल गरेँ’ सोनामले बयानमा भनेका छन्, ‘त्यसबेला श्रीमतीले आफ्नो गल्ती स्वीकार पनि गरिन्।’
‘मबाट गल्ती भयो। अब यस्तो गल्ती हुनेछैन’ भनेर श्रीमतीले भनेपछि र  आमा सावित्रीले समेत एक पटकलाई माफ दिनुस् ज्वाइँ साप, म सम्झाउँला भनेपछि सोनामले एक पटकका लागि इश्वरीलाई माफ दिए। 
तर नौसादले सोनामलाई फोन गर्न छाडेनन्। असार १ गते फेरि फोन गर्दै भने, ‘हाम्रो सम्बन्धमा तँ किन तगारो ?’
र, बन्यो आमा मार्ने योजना
परिवारमाझ इश्वरी र नौसादको सम्बन्ध छताछुल्ल भइसकेको थियो। छोरीको घर जोगाउन छोरीलाई सम्झाउँला भनेकी आमालाई छोरीको चाला निको लागेको थिएन। उनले गर्नुसम्म गाली गरिन्। उनले अब त्यस्तो हुन्न भनिन्। 
भन्न त भनिन् तर नौसादसँगको सम्बन्ध टुटेको थिएन उनको। नौसादसँग इमोमा कुराकानी भइ नै रह्यो। उनी नौसादलाई छाड्नै नसक्ने मोडमा पुगिसकेकी थिइन्। उनले भनिन्, ‘म तिमीलाई कुनै हालतमा छाड्न सक्दिन। म तिमीसँग बस्ने हो।’
तर तगारो थियो परिवार। श्रीमान् र आमा नौसादसँगको सम्बन्धको तगारो भएको निष्कर्ष निकालिन् उनले। उनको मन पापी हुँदै गइरहेको थियो।
इमोमा एक दिन इश्वरीले नौसादलाई भनिन्,‘श्रीमान विदेश जाँदै हुनुहुन्छ। ४/५ वर्ष नेपाल आउनु हुन्न। हाम्रो सम्बन्धमा मुख्य तगारोे आमा हो। आमालाई तिमीले मार्‍यौं भने हाम्रो सम्बन्धमा कुनै अप्ठेरो आउँदैन। तिमी नेपाल आउनेबित्तिकै मेरी आमालाई मारिदेउ। काम गरेवापत के कति खर्च लाग्छ मलाई भन। म पैसाको बन्दोबस्त गर्छु।’
इश्वरीको कुरा नौसादलाई पनि चित्त बुझ्यो। सोनाम विदेश गएपछि त त्यो घरमा त्यही सावित्री मात्र हुन्थिन्। इश्वरीको छोरो सानै। आमालाई मार्न पाए मोज हुने भन्दै नौसाद प्रेमिकाको आमाको हत्या गर्न राजी भयो।
आमाको हत्या त गर्ने। तर प्रहरीबाट कसरी जोगिने ? इश्वरीको मनमा योजना आयो। 
‘हत्या गरिसकेपछि दिनभर प्रहरी मेरो घरमा हुन्छन्। मलाई कल नगर्नु। शंका हुनसक्छ। एक/दुई दिनपछि मैले तिमीलाई दिएको एनसेलको सिमबाट फोन गर्नु। त्यो मेरो दिदीको सिम हो। त्यो सिमबाट मलाई फोन गर्दा दिदीको नाम आउँछ। र म तिमीलाई कहाँ कहिले पैसा दिने भन्छु’ इश्वरीले नौसादलाई योजना सुनाइन्।
नौसादको बयानअनुसार हत्याको रेट तोकिएको थियो १५ लाख रुपैयाँ।
हत्याको योजना बनेपछि नौसाद असार ६ मा दुबईबाट नेपाल फर्किए।
पेस्तोल लिन भारत
काठमाडौं आएपछि गार्मेन्टमै काम गर्ने साथी अर्जुनकुमार भन्ने भोलाकुमारसँग नौसादले भेटे। तर काठमाडौं आएको बारे आफ्ना भाइ हुसेनलाई उनले जानकारी नै गराएका थिएनन्। भारत बिहार प्रदेश, छपणा जिल्ला चौसा घर भएका २४ वर्षीय भोलाकुमार काठमाडौं ढुंगेअड्डास्थित विष्णु गार्मेन्टमा काम गर्थे। भोलालाई प्रेमिकाकी आमाको हत्या योजना सुनाए। 
‘सावित्रीको हत्या गरिसकेपछि मलाई नौसादले ५ लाख रुपैयाँ दिन्छु भन्यो’ भोलाकुमारले बयानमा भनेका छन्, त्यही ५ लाखमा लोभिएर सावित्री मार्न म तयार भएँ।’
तर मार्ने के ले ? ‘सुरुमा चक्कुले नै मार्ने योजना बनेको थियो। तर मैले चक्कुले त नमर्न पनि सक्छ भनेपछि पेस्तोल किन्ने योजना बन्यो’ भोलाकुमार भन्छन्।
त्यसपछि नौसादले सिक्सर पेस्तोल चाहियो भन्दै जुन २७ तारिखमा भारतमा रहेका मामाका छोरा रहिसलाई भनेका थिए।
०००
पेस्तोल मागेपछि रहिसले जवाफ दिन्छन् ‘हुन्छ’।
त्यसको भोलिपल्टै नौसाद र भोलाकुमार पेस्तोल लिन बिहारस्थित रहिसको घर पुग्छन्। रहिसलाई भेटेपछि नौसादले पेस्तोल चाहिएको कारण खुलाए। ६१ वर्षीया वृद्धा सावित्रीको हत्या।
त्यसपछि तीनै जना सिक्सर पेस्तोल किन्न बजार निस्किए। पेस्तोल त पाइयो। तर महँगो। पेस्तोल नपाएपछि उनीहरूले चक्कु किन्ने निर्णय गरे। चक्कु किन्न भारु २ हजार भोलाकुमारले लिए। रहिस र नौसादले २ हजार भारुमा ओमपुरी चक्कु किने। 
भारत पुगेपछि नौसादले रहिसलाई भने, ‘नेपालमा एउटा महिलालाई मार्नु छ। काम भएपछि पैसा आउँछ। तिमी पनि हामीसँगै नेपालमा गएर त्यो काम गरौ।’
उनलाई नौसादले २ लाख भारु दिने बचन दिएका थिए। पैसा सुनेपछि रहिस पनि सहजै लोभिए।
‘मेरो श्रीमती त्यसबेला सुत्केरी हुन लागेकी थिइ। मलाई पैसाको खाँचो थियो। अस्पताल लैजान पैसा थिएन। सुत्केरीलाई खुवाउने खानाको समेत अभाव थियो। एकदिनमै २ लाख भारु कमाइ हुने भएपछि म नेपाल गएर महिलाको हत्या गर्न राजी भएँ’ बयानमा रहिसले भनेका छन्।
त्यसपछि तीनै जना सिक्सर पेस्तोल किन्न बजार निस्किए। पेस्तोल त पाइयो। तर महँगो। पेस्तोल नपाएपछि उनीहरूले चक्कु किन्ने निर्णय गरे। चक्कु किन्न भारु २ हजार भोलाकुमारले लिए। रहिस र नौसादले २ हजार भारुमा ओमपुरी चक्कु किने। 
चक्कु किनेर काठमाडौं
सीमा पारी चक्कु किनेपछि उनीहरू सोही दिन रात्री बस चढेर काठमाडौं आए। 
सावित्रीको हत्या योजना बन्दै थियो। हत्याको लागि हतियार त भयो। तर भाग्ने कसरी ? उनीहरूले स्कुटर भए भाग्न सजिलो हुने निष्कर्ष निकाले। 
विद्युत प्राधिकरण पछाडि कमलविनायक बागेश्वरी कच्ची सडक नजिकै सावित्रीको घर छेउमा तरकारी टिप्न असार १५, बिहान ८ बजेतिर दिलुकमारी राई पुगेकी थिइन्। त्यतिखेर सावित्रीको घरको मुलगेटभित्र यिनै तीन जना केटा उभिरहेका थिए।
शर्मिला रायमाझी क्षेत्री २ वर्षदेखि काठमाडौं ढुंगेअड्डामा किराना पसल चलाउँदै आएकी थिइन्। उनकै पसल अगाडिको गार्मेन्टमा काम गर्थे भोलाकुमार। पसलमा सामान किन्न आइरहने भएकाले उनीहरूबीच रामै चिनजान थियो।
असार १५, बिहान ८ बजेतिर शर्मिलाको पसलमा गएर भोलाकुमारले भने, ‘जरुरी काम पर्‍यो। तपाईको स्कुटर एकछिन दिनु न, म ११ बजेतिर ल्याइदिन्छु।’
शर्मिलासँग प्रदेश ३ –०२००६ प ४२६२ नम्बरको स्कुटर थियो। तर सर्भिसिङ गर्नु पर्ने भएकाले चाँडै ल्याइदिनु भन्दै स्कुटरको चाबी थमाइन्। भोलाकुमारले ११ बजे ल्याइदिइसक्ने बचन दिए।
स्कुटर लिन भोलाकुमार सँगै अर्का एक जना पनि सँगै गएका रहेछन्। तर उनलाई शर्मिलाले चिनिनन्।
स्कुटर लिएर रहिस, भोलाकुमार र नौसाद सावित्रीको घर भक्तपुर पुगे। भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा उनको घर थियो। 
विद्युत प्राधिकरण पछाडि कमलविनायक बागेश्वरी कच्ची सडक नजिकै सावित्रीको घर छेउमा तरकारी टिप्न असार १५, बिहान ८ बजेतिर दिलुकमारी राई पुगेकी थिइन्। त्यतिखेर सावित्रीको घरको मुलगेटभित्र यिनै तीन जना केटा उभिरहेका थिए।
‘तँ किन के भनेर यहाँ आइस्? तलाई कसले आउने अनुमति दियो? तेरो कारणले मलाई कति दुःख भएकोे थियो। तँ यहाबाट गइहाल भन्दै एक जना हेलमेट लगाउने केटोलाई सावित्रीले कुचोले हान्दैथिइन्’ आफूले देखेको दुश्य बयानको क्रममा दिलकुमारीले भनेकी छिन्, ‘ती व्यक्तिले चाँहि मेरो पैसा ले भनेर सावित्रीको हात पक्रियो। हात समातेको देखेपछि मैले ओइ–ओइ भदै कराएँ। त्यसपछि आमा र दुुई जना केटाहरू घरभित्र पसे। एक जना भने गेट बाहिरै बस्यो। त्यो मान्छे केही भएको होइन भन्दै बाहिर आयो।’
तरकारी टिपीसकेपछि दिलकुमारी आफ्नो घर लागिन्। ‘आज त्यो आमाको घरमा के भएको छ मधेसीजस्ता देखिने मान्छेलाई सावित्री आमाले कुट्दै हुनुहुन्थ्यो’ दिलकुमारीले सुनाइन्, ‘मैले सावित्रीकी ज्वाईं सोनामलाई भनिदिनु पर्‍यो भनेर घरमा भएका अंकल वीरेन्द्र अधिकारीलाई पनि भनें। तर उहाँले छाड्देउ यस्तो कुरा भन्नुभयो।’ 
तर दिलकुमारीको मन मानेन। हैन कोही नभएको घरमा यी नचिनेका मान्छे किन आए भनेर दिलकुमारी सावित्रीको घरमै पुगिन्। 
त्यसबेला एक जना घर बाहिर र दुई जना घरभित्र थिए। सिटिङ रुममा एक जना ढोकामा हात राखेर बसेको थियो। अर्को एक जना जुत्तासहित कोठाभित्र पसेको थियो।
दिलकुमारीले जुत्ता लगाएर किन भित्र पसेको भनिन्। ती व्यक्तिले जवाफ फर्काए, ‘आफ्नै घर हो।’
आफ्नो घर भए पनि जुत्ता त बाहिर खोल्थे त? तिमीहरू किन आएको? दिलकुमारीले सोधिन्। तर उनीहरूबाट केही जवाफ आएन।
त्यसबेला सावित्री ४ वर्षीय नातिको कोठामा बसेर टिभी हेरिरहेकी थिइन्। 
‘कति बज्यो बच्चा स्कुल लाने बेला भयो?’ सावित्रीले दिलकुमारीलाई सोधिन्। 
९ बजेको जवाफ आएपछि सावित्रीले नातीलाई स्कूल पुर्‍याइन्। 
दिलकुमारी आफ्नो घर लागिन्।
पैसा लिएर आउँछु भनेर हत्या
११ बजेतिर खाना खाएर दिलकुमारी काममा जान भनेर घरबाट निस्किइन्। उनी सावित्रीको घरको बाटो हुँदै आएकी थिइन्। त्यो बेला सावित्री घर अगाडि उभिइरहेकी थिइन्। 
‘मैले सावित्री आमाको घर अगाडि आएर आमा भनेर बोलाए। आमाले होइ भनेर भन्नुभयो’, दिलकुमारीले सुनाइन्।
अघिका केटाहरू किन आएका रहेछन्?दिलकुमारीले बाहिरबाटै सोधिन्। 
‘मेरो १ लाख रुपैयाँ पैसा चलाएका थिए। ल्याइदिन्छु भनेर बाहिर गएका छन्। त्यही भएर हेरिराखेको पैसा लिएर आउँदैछन रे’ सावित्रीले जवाफ फर्काइन्।
दिलकुमारी आफ्नो काममा लागिन्।
०००
सरिता लामिछाने गौतम सावित्री भट्टराईको फुपु दिदी हुन्। सरिताले सावित्रीलाई असार १४ गते दिउँसो फोन गरेर १ लाख रुपैयाँ ऋण खोजिदिन आग्रह गरिन्। 
‘पैसा खोज्नु पर्दैन घरमै छ। ३५ दिनपछि जग्गा पास गर्नुछ। एक महिना चला। भोलि बस्ने गरी घरमा आइज अनि पैसा पनि लिएर जा’ सरितालाई सावित्रीले भनेकी थिइन्।
‘म सरासर किचनमा छिरेर चिसो खाएँ। त्यसपछि दिदी सावित्रीको कोठाको ढोका खुल्लै रहेको र सावित्री सुतिरहेको जस्तो देखेर तीन पटक दिदी भनेर बोलाएँ’ सरिताले बयानमा भनेकी छिन्, ‘तर नबोलेपछि भित्र गएर हेर्दा रगतको आहालमा डुबेको देखेँ।’
सोही अनुसार असार १५ गते म बच्चा स्कूल पुर्‍याएर बिहान साढे ११ बजे सरिता फुपु सावित्रीको घर गइन्। तर घरमा कसैलाई नदेखेपछि सावित्रीको माइली छोरी भगवती बस्नेतलाई फोन गरेर सोधिन्। ।
‘कतै जानु भएको होला। आउनुहोला वरपर मान्छेलाई सोध न’,भगवतीले जवाफ फर्काइन्। 
त्यसपछि सावित्रीकी छिमेकी यदुनाथ ढकाललाई सरिताले सावित्रीका बारेमा सोधिन्। यदुनाथले पनि कतै गएका होलान्। ढोका खुल्लै भए भित्र गएर बस्दै गर्दा हुन्छ भन्ने जवाफ फर्काए।
बाहिरैबाट हातले खोल्न मिल्ने गेट खोलेर सरिता भित्र पसिन्।
‘म सरासर किचनमा छिरेर चिसो खाएँ। त्यसपछि दिदी सावित्रीको कोठाको ढोका खुल्लै रहेको र सावित्री सुतिरहेको जस्तो देखेर तीन पटक दिदी भनेर बोलाएँ’ सरिताले बयानमा भनेकी छिन्, ‘तर नबोलेपछि भित्र गएर हेर्दा रगतको आहालमा डुबेको देखेँ।’
सरिताले चिच्याउँदै यदुनाथलाई एम्बुलेन्स बोलाउनु पर्‍यो भनिन्। यहाँ आउनु न भन्दै बोलाइन्। एकैछिनमा छिमेकीले सावित्रीको घर भरियो। स्थानीयले प्रहरीलाई खबर गरे।
०००
घरको मुलढोकाबाट छिर्ने बित्तिकैको कोठामा दुई वटा बिस्तारासहितको पलङ। पूर्वतर्फ गाह्रोमा सटाएर राखेको दराज। दक्षिणतर्फ गाह्रोमै सटाएर राखेको पलङमा कम्मरदेखि माथिको भाग पलङमा। दुबै खुट्टा भुँइमा टेकेको अवस्थामा सावित्री भट्टराईको शव प्रहरीले फेला पार्‍यो। 
सेतो गुलावी फूलबुट्टे पातलो ब्ल्याङकेटले शवको कम्मरको भाग छोपेको। टाउकोमा हरियो र सेतो रङको सल। मृतकको दायाँ हातनजिक पलङमा खैरो रङको लेडिज ब्याग। पलङमा टाउको राखेको भागमा जमेको रगत। 
कोठामै एटेच बाथरुम। बाथरुममा पनि रगतको टाटा। शव नजिकै रहेको पहेँलो बच्चाको हुकसमेत रगतले लतपतिएको थियो।मृतकको कपाल, अनुहार, नाक, कानमा रगत लतपितिएको थियो। घाँटीको बाँया कानपट्टी ७ इन्च लामालो यु आकारको चोट लागेको थियो। 
तन्नामा लागेको रगतको टुक्रा काटेर जाँचका लागि प्रहरीले उठायो। बाथरुमा रहेको रगतको स्वाब पनि उठायो। 
अनि खुल्यो पोल 
पूर्व योजना अनुसार नै इश्वरी असार १४ गते बेलुका ५ बजे जडिबुटीस्थित दिदी भगवती बस्नेतको कोठामा गइन्। इश्वरीका श्रीमान सोनामले १५ गते बिहान सहकारीको किस्ता तिर्न इश्वरीलाई मोटरसाइकलमा हालेर कुलेश्वरस्थित महिला सहकारी संस्थामा गए। किस्ता तिरे। इश्वरीलाई पहिलेकै ठाउँ भगवतीकोमा ल्याएर छाडिदिए।
सहकारीबाट फर्किएपछि साढे ११ बजेतिर इश्वरी दिदीकै कोठामा लुगा धोइरहेकी थिइन्। त्यसैलेला दिदी भगवतीको मोबाइलमा मामाको छोरी सरिता गौतमले फोन गरेपछि आमाको हत्याको जानकारी दिएकी थिइन्। 
यता श्रीमती इश्वरीलाई भगवतीको कोठामा छाडेर सोनाम मोसन नेपाल फिल्म स्टुडियोमा काम गर्न गएका थिए। सोनामलाई पनि जेठीसासु सरिताले रुँदै फोन गरेर घटनाका बारेमा जानकारी गराएकी थिइन्। त्यसपछि दुबै जना घर फर्किए। 
सावित्रीकी अर्की छोरी अनितालाई घटनाबारे भगवतीले जानकारी गराइन्। सँगै गार्मेन्टमा काम गर्ने नौसादका भाइ सद्दाम हुसेनलाई भनेर अनिता उनकै मोटरसाइकलमा सावित्रीको घर पुगिन्।
सावित्रीको विभत्स हत्या भएपछि त्यहाँ उपस्थित भएकै मान्छेले तीन जना मधेशी मुलका मान्छे आएको, ओहोरदोहोर गरेको बयान दिएका थिए। सोही अनुसार प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको थियो। अनुसन्धानमा इश्वरी र नौसादको प्रेम लुक्न सकेन। प्रहरीको शंका उतैतिर सोझिइसकेको थियो। 
त्यही बेला नौसादका भाइ हुसेन पनि सावित्रीको घरमा पुगे। प्रहरीले उनीसँग नौसादको फोन र फोटो मागेर अनुसन्धान थाल्यो।
‘मैले मुख थुने, रहिसले घाँटी रेट्यो’
मोबाइल नम्बर भाइ हुसेनमार्फत् पत्ता लगाइसकेको प्रहरीले नौसादको लोकेशन पत्ता लगाइसकेकोे थियो–धादिङको गजुरी। 
असार १५ गते बेलुका साढे ७ बजे धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारमा काठमाडौंबाट बाहिरिने यात्रुबाहक बसको जाँच गर्ने क्रममा नौसाद पक्राउ परे। नौसाद मुग्लिनतर्फ जाने बसबाट ओर्लिएर झोला बोकेर भाग्न खाजेका थिए। तर गजुरी प्रहरीले काठमाडौंबाट खवर पाइसकेको थियो। उनी भाग्न सकेनन्।
नौसादकै सूचना र फोनका आधारमा प्रहरीले रहिस र भोलाकुमारलाई पक्राउ गर्‍यो। सावित्रीलाई हत्या गरे वापत नौसादले रहिसलाई भारु २ लाख र भोलाकुमारलाई ५ लाख नेपाली रुपैयाँ दिनु नै थियो।
नौसादले बोकेको झोला प्रहरीले खानतलासी गर्‍यो। खैरो रङको ट्राउजरको अगाडिको दाहिनेतर्फको खल्तीमा आइएमइआइ नम्बर ८६७९२४०३८०५७९४२ र ८६७९२४०३७०५७९४३ भएको हुवाए कम्पनीको गोल्डेन रङको मोबाइल १ थान। मोबाइलमा ९८०८२८२८.. नम्बरको सिम कार्ड र कपडाहरू थियो। 
प्रहरीले उनलाई काठमाडौं पठायो।  महानगरीय प्रहरी अपराध महाशाखा र महानगरिय प्रहरी परिसर भक्तपुरको प्रहरी टोली समक्ष नौसाद लामो समय मौन बस्न सकेनन्। उनले हत्या गरेको स्विकारे।
नौसादकै सूचना र फोनका आधारमा प्रहरीले रहिस र भोलाकुमारलाई पक्राउ गर्‍यो। सावित्रीलाई हत्या गरे वापत नौसादले रहिसलाई भारु २ लाख र भोलाकुमारलाई ५ लाख नेपाली रुपैयाँ दिनु नै थियो। सोही अनुसार प्रहरीले नौसादलाई प्रयोग गर्‍यो। प्रहरीकै योजना अनुसार रहिस र भोलाकुमारलाई फोन गरेर पैसा दिन आउँछु भनेर लोकेशन भन्न लगाए। 
लोकेशन आयो, मकवानपुर हेटौडा उपमहानगरपालिका–१० बसपार्कस्थित फुलबारी गेष्टहाउस अगाडि।
यही सूचनालाई पछ्याएर प्रहरी टोली गेष्ट हाउस अगाडि पुग्यो, १६ गते बिहान साढे ३ बजे। त्यहीबाट दुवै जना पक्राउ परे।
रहिसको निलो रङको जिन्स पाइन्टको दाँया खल्तीमा रगत लागेको थियो। एके ४७ सिसिसिपी लेखेको काठ र स्टिलको बिड भएको, बटनद्वारा फोल्डिङ गर्न मिल्ने १३.२ इन्च लामो चक्कु पनि फेला पर्‍यो।। यही चक्कुले हानेर सावित्रीको हत्या भएको थियो। 
तीनै जना पक्राउ परेपछि हत्या कसरी भयो भन्ने खुल्यो। 
‘हत्या गर्ने बेला भोलाकुमारले सावित्रीको खुट्टा समातेका थिए’, रहिसले बयानमा भनेका छन्, ‘त्यसपछि मैले घाँटी रेटेँ। उनी कराउन थालेपछि नौसादले सावित्रीको मुख थुने। हत्यापछि हामी भाग्यौं। हामीले पाउने भनिएको पैसा पनि पाएको छैन।’
हत्या योजना इश्वरीले बनाएको खुलेपछि उनी पनि पक्राउ परिन्। 
अपराध कति समय लुक्न सक्थ्यो र ! लुकेन र अहिले उनीहरूले त्यसको फल पनि पाइरहेका छन्। 
गत पुस १० मा जिल्ला अदालत भक्तपुरले उनीहरूलाई जन्मकैदको फैसला सुनायो। र, अहिले चारै जना जेलमा छन्।

निर्मला हत्या प्रकरणमा नयाँ ट्विस्ट : एआइजी धिरुको प्रतिवेदन कार्यान्वयन नगर्न हेडक्वार्टरको लिखित निर्देशन

पुनरावलोकन समितिले ठहर्‍यायो तीन गम्भीर त्रुटि

 नारायण अधिकारी |  २०७६ माघ २६ आइतबार | Sunday, February 09, 2020  २३:५०:०० मा प्रकाशित
1.5kShares
काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेको एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन तथ्यहीन रहेको पुष्टि भएको छ।
सो प्रतिवेदन विवादमा आएपछि प्रहरी प्रधान कार्यालयले गठन गरेको अर्को छानबिन समितिले बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन त्रुटिपूर्ण ठहर गरेपछि प्रहरी प्रधान कार्यालयले नै सो प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिएको हो। 
एआइजी धिरु बस्न्यातको समितिले निर्मलाको बलात्कार र हत्यापछिको अनुसन्धानका क्रममा प्रहरीले चरम लापरबाही गरेको भन्दै प्रतिवेदन तयार पारेको थियो।
उनकै प्रतिवेदनका आधारमा सई हरसिंह धामी र जवान चाँदनी साउद निलम्बनमा परेका थिए। 
समितिको प्रतिवेदनबारे प्रहरी संगठनभित्रै असन्तुष्टि बढेपछि प्रहरी महानिरीक्षक सचिवालयले पुनरावलोकन गराउँदा 'टर्चर' दिएर गलत बयान दिन लगाएको र अनुसन्धानमा खुलेको विषय नै नसमेटेको खुलेपछि सचिवालयले प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिएको हो।
प्रतिवेदन कार्यान्वयन नगर्न आइतबार कञ्चनपुर पुगेको पत्रमा अपराध अनुसन्धान विभागका प्रमुख एआइजी पुष्कर कार्कीको समेत हस्ताक्षर छ।
पुनरावलोकन समितिले बस्न्यातको प्रतिवेदन कार्यान्वयन नगर्नेलगायतका तीनबुँदे निर्देशन दिएको छ।
योसँगै सोही प्रतिवेदनका आधारमा कार्वाहीमा परेका प्रहरीबारे के गर्ने भन्ने अन्योल बढेको छ।
पहिल्यै विवादमा
धिरु नेतृत्वको समितिमा रहेका तत्कलीन एसपी उत्तमराज सुवेदी र गणेश रेग्मीले प्रतिवेदनमा समेटिएका कुरामा चित्त नबुझेर सही गर्न मानेका थिएनन्। उनीहरूको हस्ताक्षरबिनै बस्न्यातको समितिले आइजीसमक्ष उक्त प्रतिवेदन बुझाएको थियो। त्यसपछि कारबाहीमा पर्ने डरले मात्र उनीहरूले सही गरेका थिए। 
बस्न्यातको समितिमा उनीसँगै तत्कालीन एसएसपी निरज शाही, तत्कालीन एसपी उत्तम सुवेदी, तत्कालीन एसपी गणेश रग्मी, एसपी रमेश थापा, डिएसपी सन्तोष आचार्य, दधि न्यौपाने, कौशल बुढाथोकी, सई सुमन थापा थिए।
निर्मला प्रकरण छानबिनका लागि सिआइबीबाट कञ्चनपुर पुगेका डिएसपी अंगुर जिसीले मिडियामार्फत् एआइजी बस्न्यातको प्रतिवेदन नै गलत रहेको र एक हवल्दारलाई 'टर्चर' दिएर गल्ती स्वीकार गर्न धिरुको समितिले लगाएको बताएपछि सो प्रतिवेदन विवादमा आएको थियो। 
त्यसपछि आइजीको सचिवालले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तारणीप्रसाद लम्साललाई धिरुको प्रतिवेदनको वास्तविकताबारे यथार्थ बुझेर प्रतिवेदन पेस गर्न भन्दै पत्र पठाएको थियो। 
लम्सालले पठाएको प्रतिवेदनले एआइजी बस्न्यात समितिको प्रतिवेदनमा उल्लेख भएका कुराहरु काटेको थियो।
दुई समितिको कुरा बाझिएपछि माघ १९ गते मात्रै आइजीको सचिवालयले यी दुई प्रतिवेदनको अध्ययन गर्न र सही राय पेस गर्न एक पुनरावलोकन समिति बनाएर अध्ययन गर्न निर्देशन दिएको थियो। 
समितिमा सुरक्षा सेवा निर्देशनालयका डिआइजी सुरज केसी, एसएसपी दीपक थापा, कानून शाखाका एसएसपी गोपाल चन्द्र भट्टराई, प्रहरी निरीक्षणालयका डिएसपी अवदेश विष्ट, अपराध अनुसन्धानका डिएसपी गणेश बहादुर श्रेष्ठ, अपराध अनुसन्धान विभागकै इन्सपेक्टर बिरेन्द्र श्रेष्ठ र अपराध अनुसन्धान विभागकै इन्सपेक्टर गोविन्द थापा सदस्य थिए। 
यो पुनरावलोकन समितिले बस्न्यात र लम्सालको प्रतिवेदन अध्ययन गरेको थियो। अध्ययनका क्रममा बस्न्यातको प्रतिवेदन गलत रहेको राय आइजी सचिवालयलाई माघ २२ गते पेस गरेको स्रोतले जानकारी दियो। 
उक्त राय आएपछि आइजी सचिवालयले यसअघिको एआइजी बस्न्यातको प्रतिवेदनको औचित्य नरहेको भन्दै कार्यान्वन नगर्न भन्दै आइतबार पत्र लेखेको हो। 
बस्न्यातका ३ गल्ती
पुनरावलोकन समितिले बस्न्यातको प्रतिवेदन कार्यान्वयन नगर्न तीन बुँदे निर्देशन दिएको छ। 
बस्न्यातको समितिले चाँदनी साउद पोलीग्राफ परीक्षणमा पास हुँदासमेत उक्त कुरा प्रतिवेदनमा नसमेटिएको तथा भिड र आन्दोलनकारीलाई सोर्स बनाएर प्रतिवेदन तयार गरेकाले तथ्यरहित भएको ठहर गरिएको छ।
त्यसैलाई आधार बनाएर प्रतिवेदन कार्यान्वयन रोकिन लगेको हो। यो बीचमा धिरु तालिम केन्द्रबाट सरुवा भइसकेका छन्।