| २०७६ माघ २८ मंगलबार | Tuesday, February 11, 2020 १७:११:०० मा प्रकाशित

काठमाडौं- सरकारले नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीलाई बनाउने निर्णय गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ मा कार्यरत नायब महानिरीक्षक (डिआइजी) ज्ञवालीलाई आइजिपी बनाउने निर्णय गरेको हो।
३० वर्षे कार्यकालका कारण सर्वेन्द्र खनालले मंगलबारबाट अनिवार्य अवकाश पाउने भएपछि सरकारले ७५ हजार सदस्य रहेको सुरक्षा संगठन नेतृत्वको जिम्मा ज्ञवालीलाई दिएको हो। ज्ञवालीले बुधबार पदभार ग्रहण गर्नेछन्। त्यसको तयारीका लागि यसअघि नै प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई निर्देशन दिइसकेको छ।
२७ औं आइजीमा नियुक्त भएका ज्ञवाली सर्वेन्द्र खनालको ब्याचको वैकल्पिक रुपमा २०४७ असार २५ गते प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए। प्रहरीभित्र सरल छबि बनाएका ज्ञवालीको पुख्र्यौली घर प्युठान हो। प्युठानकै बाल शिक्षा माविबाट उनले एसएलसी उत्तीर्ण गरेका थिए। उनले समाजशास्त्रमा स्नातक र बिएल गरेका छन् भने त्रिभूवन विश्वविद्यालबाट राजनीतिशास्त्रमा स्नतकोत्तर गरेका छन्। वि स २०२२ मा जन्मिएका ठाकुर तीन पटक शान्ति मिसनमा गइसकेका छन्। उनी हाइटी, पूर्वी टिमोर र कोसोभोमा शान्ति मिसनमा खटिएका थिए।
भाग्यले बाँचेका थिए
प्रहरी सेवामा प्रवेश गरेपछि उनी द्वन्द्वको चरम उत्कर्ष रहेको रुकुममा समेत खटिएका थिए। दुई पटक रुकुममा खटिएका उनी भने भाग्यले बाँचेका थिए। २०५३ सालमा रुकुमको तक्सेराबाट सदरमुकाम जानेबेला उनीसँगै हिँडिरहेका दुई सिपाहीको किमाचौर भन्ने ठाउँमा एम्बुसमा परेर मृत्यु भएको थियो। उनी भने त्यसबेला भाग्यले बाँचेका थिए। त्यसैगरी उनी लामो समय लागुऔषध नियन्त्रण ब्यूरोमा समेत काम गरेका छन्।
डिएसपीहुँदा उनी तत्कालीन लागुऔषध नियन्त्रण ब्युरोमा खटिएका थिए। एसपी भएपछि उनी प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा, दाङ, बारा, झापा जिल्लाको कमाण्ड गरेको अनुभव उनीसँग छ। २०७० को संविधान सभा चुनावका बेला उनी बारामै थिए। बारा सुरक्षाका हिसाबले निकै संवेदनशील मानिन्छ। तर ज्ञवालीको सुरक्षा नेतृत्वमा चुनाव सम्पन्न भएको थियो।
२०७३ असारमा उनी एसएसपीमा बढुवा भएका थिए। त्यसपछि उनले प्रहरी मुख्यालयमा केही समय बिताए। प्रहरी महानिरीक्षकको सचिवालय तथा सहप्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गरेका थिए। त्यसपछि प्रहरी तालिम केन्द्र नेपालगञ्जमा उनको सरुवा भएको थियो। एसएसपी हुँदै उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा समेत बसेका थिए। सिआइबी देशभरका ठूला अपराधको अनुसन्धान गर्ने गर्छ।
२०७५ असोजमा उनी डिआइजीमा बढुवा भएका थिए। उनीसँगै ब्याचका तारणीप्रसाद लम्साल र सूर्य उपाध्यायलाई पछि पार्दै उनी बढुवा भएका थिए। डिआइजी भएपछि भने ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा सरुवा भएको थियो। ८ महिना अख्तियारमा बसेका उनको त्यहीबाट प्रदेश १ प्रहरी प्रमुखमा गत असार १ गते सरुवा भएको थियो। करिब ८ महिना प्रदेश १ प्रमुख रहेका ज्ञवाली अन्ततः त्यहीबाट २७ औं महानिरीक्षकमा नियुक्त भएका हुन्। ३० वर्षे सेवा अवधि कायमै रहेको अवस्थामा ज्ञवाली आगामी असार २४ गते अनिवार्य अवकाशमा जानेछन्।
No comments:
Post a Comment