१० देखि ११ बजेको बीचमा पिर्काले हानेर हत्या : प्रहरी
| २०७६ माघ २७ सोमबार | Monday, February 10, 2020 १६:०३:०० मा प्रकाशित

काठमाडौं- पूर्वसचिव अर्जुन कार्की सोमबार बिहान गौशालास्थित पशुपतिनाथको दर्शनमा निस्किए।
ललितपुर महानगरपालिका-२, सानेपामा रहेको आफ्नो घरबाट उनी पशुपति पुगेका थिए। घरबाट निस्कँदा उनकी पत्नी मुना, १२ वर्षीय एक छोरा, कामदार विजय चौधरी र अर्की एक कामदार किशोरी पनि घरमा नै थिए।
प्रायजसो दैनिक रूपमा ब्याडमिन्टन खेल्न जाने कार्की सोमबार भने पशुपतिनाथ दर्शन गर्न गएका थिए। उनले प्रदेश ३-०१ ०२२ च ०७०९ नम्बरको कार लिएर उनी ८ बजे पशुपति पुगेका थिए। करिब २ घन्टा लाइन बसेर उनले पूरा गरेका थिए। यसपछि उनी करिब ११ बजेतिर घर फर्किए। उनको घरको गेट बन्द थियो। घन्टी बजाउँदा कोही पनि आएनन्। तर बाहिरबाट समेत खोल्न मिल्ने गेट खोलेर उनी घरभित्र पसे।
घरभित्र पसेपछि भने उनले सोच्न पनि नसक्ने घटना देख्नुपर्यो।
दुईतले घरको भुँइतलाको भर्याङ छेउमा कामदार चौधरी घाँटीमा नाइलनको डोरी लगाएर झुन्डिएको अवस्थामा मृत भेटिए। त्यसपछि घरभित्र प्रवेश गरेका कार्कीले भान्सा कोठामा आफ्नी श्रीमती रक्ताम्य भएर लडिरहेको देखे। आत्तिँदै उनले प्रहरीलाई खबर गरे।
प्रहरी आएर गम्भीर घाइते भई अचेत अवस्थामा रहेकी कार्कीकी पत्नी ४९ वर्षीया मुनालाई उपचारको सानेपास्थित स्टार अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भइसकेको छ।
महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर ललितपुरले घटनास्थलमा अनुसन्धान सुरु गरेका छन्।
.jpg)
अनुसन्धानअनुसार करिब १० देखि ११ बजेको बीचमा घटना भएको देखिएको अनुसन्धनमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए। उनका अनुसार कार्कीका दुई छोरी र एक छोरा छन्। तीमध्ये दुई छोरी विदेशमा छन्। एक १२ वर्षीय छोरा भने उनीहरूसँग थिए। छोरालाई पनि स्कूल पुर्याउन अर्की कामदार किशोरी गएकी थिइन्। उता पूर्वसचिव कार्की मन्दिर दर्शन गर्न पशुपति जानु र घरमा भएका अर्का कामदार किशोरी पनि कार्कीको छोरा स्कूल पुर्याउन जाँदा हत्या भएको हुन सक्ने अनुसन्धानमा संलग्न एक जुनियर प्रहरी अधिकारीले नेपाल लाइभलाई जानकारी दिए। उनले भने, ‘श्रीमान् मन्दिर जानु, घरमा भएकी अर्की कामदार छोरो पुर्याउन गएको मौका पारेर हत्या गरेजस्तो देखिन्छ।’
मृतक मुनाको टाउकोमा चोट लागेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। उनी ढलेको ठाउँनजिकै प्लास्टिकको पिर्कासमेत भाँचिएको र रगत लागेको अवस्थामा फेला परेकाले उनलाई पिर्काले हानेर हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
यता कामदार पनि झुन्डिएको अवस्थामा फेला पर्नुले मुनाको हत्यामा उनकै संलग्नता हुनसक्ने आशंका प्रहरीले गरेको छ। ‘घटना भएको बेला घरमा मृतक दुई जना मात्रै भएको देखिन्छ,’ एक अनुसन्धान अधिकारीले भने, ‘जसकारण केही विवाद हुँदा वा पहिलेकै केही रिसिइबीका कारण मुनाको हत्या भएको हुन सक्छ। हत्यापछि कामदार चौधरीले आत्महत्या गरेजस्तो देखिन्छ।’
यद्यपि, उनीहरूबीच कुनै रिसिइबी थियो/थिएन, कुनै झगडा भएको थियो/थिएन भन्नेबारे केही पनि जानकारी नआएको प्रहरीले जनाएको छ। ‘सोधपुछ गर्नुपर्ने मान्छे मृतक मुनाका श्रीमान् भावविह्वल छन्। यस्तो अवस्थामा उनीहरूबीच कुनै रिसिइबी थियो/थिएन, झगडा भएको थियो/थिएन भन्नेबारे सोध्न सक्ने अवस्था छैन,’ एक प्रहरी अधिकारीले भने।
.jpg)
प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाइरहेको छ। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइसकिएको छ भने घटनास्थलमा त्रिवि शिक्षण अस्पतालकै फरेन्सिक टोली पनि पुगेको छ। उक्त टोलीले समेत घटनास्थलको अनुसन्धान सुरु गरेको छ। यता प्रहरीले वरपरका मान्छेसँग सोधपुछ र सिसीटिभी फुटेजसमेत केलाउन थालेको जनाएको छ।
No comments:
Post a Comment