Tuesday, February 25, 2020

एक काबिल अफिसरको कोमामै बढुवा, कोमाबाटै अवकाश

नारायण अधिकारी/ऋग्वेद शर्मा |  २०७६ माघ २८ मंगलबार | Tuesday, February 11, 2020  ०६:३०:०० मा प्रकाशित

5.1kShares
काठमाडौं- राजेन्द्रमान श्रेष्ठका आँखा एकोहोरिएका छन्। बितेका साढे तीन वर्षदेखि। बेलाबेला यताउति चलेका उनका आँखाले केही बुझेको छ या छैन, थाहा छैन। उनका आँखा अहिले एक टकले भित्ताको एउटा तस्बिरमा परेका छन्। निकै बेरदेखि।
प्रहरी अस्पतालको भित्तामा रहेको तस्बिरमा तत्कालीन आइजिपी प्रकाश अर्यालले उनलाई डिआइजीको फुली लगाइदिँदैछन्। त्यही फ्रेममा छ उनको प्रहरी बर्दीको अर्को तस्बिर पनि। थाहा छैन उनी तस्बिर हेरिरहेका हुन् या त्यहाँ आँखा पर्नु संयोग मात्र हो। 
अस्पतालमै रहँदा आफू डिआइजीमा बढुवा भएको पनि उनले बुझेका छन् या छैनन् थाहा छैन। उनले आज अवकाश पाउँदैछन्। त्यो उनलाई याद छ कि छैन, अरुलाई थाहा छैन। जे होस्, उनी आज अवकाश पाउँदै छन्। तर, प्रहरी सेवाबाट नचाहेको अवकाश लिनुपर्ने बाध्यता परेका उनलाई यो अवकाश एउटा औपचारिकता मात्र होला। या त्यति पनि होइन कि! 
अवकाश लिने बेला एक प्रहरी अधिकारीको मनमा के चलिरहेको हुन्छ होला। जागिरे जीवनबाट विश्रामको खुसी, कामका केही याद, निर्धक्क पारीवारिक समयमा रमाउन पाउने उत्साह, साथीभाइको यादमा केही भावुक क्षण र अरु पनि यस्तै केही। तर सँगै अवकाश पाउने आइजी, तीन एआइजी र १७ डिआइजीको जस्तै मनस्थिति राजेन्द्रमानको कसरी होओस्। 
शब्द ननिस्कने उनको बेलाबेलाको चिच्याहटलाई आवाज मान्नुपरेको छ। पसिनाले निथ्रुक्क भिजेका बेला, एकपछि अर्को कोल्टे फेर्दा या केही अप्ठ्यारो पर्दा निस्कने उनको आवाज नै नजिक हुनेका लागि उनको बोली बनेको छ। त्यसलाई बुझेर उनको सजिलोका लागि काम गरिदिनु परेको छ। तर साढे तीन वर्षदेखि अस्पतालको बेडमा अचेत जस्तै भएकालाई के गरिदिँदा कसरी सजिलो होला? 
राजेन्द्रमान डिआइजीमा बढुवा हुँदाको समय।
०००
२०४६ माघ २९ गते राजेन्द्रमान प्रहरी इन्स्पेक्टरमा भर्ना भएका थिए। फुर्तिला राजेन्द्रमान केही किलोमिटर दौडने र ब्याडमिन्टन खेलेर हरेक दिनको सुरुवात गर्थे। 
२०७३ साउन १५ गतेको बिहान कोशी अञ्चल प्रहरी कार्यालय धरानमा तत्कालीन एसएसपी राजेन्द्रमान उसैगरी ब्याडमिन्टन खेलिरहेका थिए। खेलिरहेकै बेला एक्कासी थचक्क भुँइमा बसे। साथीहरु खेलभित्रकै केही मजाक सम्झेर हाँसे पनि। तर उनको अवस्था सामान्य थिएन।  
अचेत भएका उनलाई साथीहरुले नै बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिहाले। हृदय गति अचानक बन्द भएको थियो। डाक्टरका अनुसार केहीबेर रक्तसञ्चार नै रोकिएकाले उनको मस्तिष्कसम्म अक्सिजन पुग्न सकेन। त्यसले उनी डाक्टरी भाषामा ‘लक्ड इन सिन्ड्रोम’मा बाँच्न विवश छन्। शरीर नचले पनि उनी दृश्य देख्छन् र केही कुरा बुझ्छन् भन्ने विश्वास डाक्टरमा छ। 
पुलिस अस्पतालमा राजेन्द्रमान।
अहिले प्रहरी अस्पतालमा राजेन्द्रमानको स्याहारमा दिनरात लागिरहेकी श्रीमती आराधना राणा त्यसअघि प्रेसरबाहेक उनमा अरु बिरामी नभएको सम्झिन्छिन्। २०६६ सालमा पर्सा प्रहरी प्रमुख रहेका बेला गाँजा तस्करीविरुद्ध काम गर्दा उनमा प्रेसर बढ्ने समस्या देखिएको थियो। डाक्टरले त्यति बेलै केही औषधी चलाएका थिए। अरु त राजेन्द्रमान खेलाडी स्वभावमै फुर्तिला थिए। 
राजेन्द्रमान त्यसरी बिरामी पर्दा आराधना धरान पुगेर फर्किएको एक हप्ता मात्रै भएको थियो। छोरा पढाइका लागि अमेरिका जाने तयारीमा थिए। छोरा पठाउने समय राजेन्द्रमान पनि काठमाडौं आउने कुरा थियो। तर नसोचेको बिमारले उनी अस्पताल पुगे र अहिलेसम्म अस्पतालमै रहिरहे। 
२०७४ भदौ ५ गते विशेष व्यवस्था गरेर राजेन्द्रमानलाई अस्पतालमै डिआइजी बढुवा गरिएको थियो। आफू बढुवा हुँदाको त्यही तस्बिरमा अहिले उनको आँखा परिरहेको छ। 
एसएसपी भएपछि पहिलो जिम्मेवारी पाएको ललितपुरमा युनिटीका मालिक काशी गुरुङलाई भारतदेखि पक्रेर ल्याएको, पर्सा प्रहरी प्रमुख हुँँदाको काम, सशस्त्र युद्धका बेला गोर्खा, म्याग्दी, लमजुङ, दोलखामा गरेका काम, भारत नयाँदिल्लीस्थित नेपाली दूतावासको सुरक्षा प्रमुख हुँदा र त्यसपछि विराटनगरस्थित तालिम केन्द्रमा प्रमुख रहँदाको दिन अहिले उनको सम्झनामा होला या नहोला। याद छ भने, अवकाशको दिनमा उनलाई सबैभन्दा बढी के सम्झना भइरहेको होला? 
राजेन्द्रमान एसएसपी रहँदा।
आराधनालाई याद छ, राजेन्द्रमान सधैँ कामलाई पहिलो प्राथमिकता दिन्थे। त्यसैले राजेन्द्रमानको सरुवा भएका कति ठाउँमा त आराधना सँगै पनि गइनन्। छोराछोरी काठमाडौंमा नै पढ्ने भएकाले आराधना सबैतिर जान सम्भव पनि भएन। अहिले राजेन्द्रमान छाड्ने अवस्थामा छैनन्। एकैछिन पनि आराधना उनको समिपबाट टाढा हुन सक्दिनन्। 
०००
अस्पतालको बेडमा पनि राजेन्द्रमानको दिन जागिरे जीवनको जस्तै बिहान ५ बजे नै सुरु हुन्छ। होइन, बिहान ५ बजे नै सुरु गरिदिनुपर्छ। त्यसमा श्रीमती आराधनासँगै छोरीले सहयोग गर्छिन्। 
बिहान ५ बजे औषधी खुवाउने। सरसफाइ गरिदिने। पेटमा जडान गरिएको ‘पेग’मार्फत झोलिलो खानेकुरा खुवाउने। नुहाइदिने। लुगा फेरिदिने। पाउडर लगाइदिने। फेरि खानेकुरा खुवाउने। सफा गरिदिने। कोल्टे फेरिदिने। केहीबेर ह्विलचेयरमा राखेर अस्पताल बाहिर खुला ठाउँमा लैजाने। मालिस गरिदिने। औषधीदेखि खानासम्म पाइपमार्फत खुवाउँदा कहिँलेकाहिँ मुख सुख्खा भयो भने मुखमा थोपा पानी राखिदिने। हरेक दिन उही क्रियाकलाप। 
एउटै कोल्टेमा धेरैबेर सुतिरहँदा शरीर दुखेर होला राजेन्द्रमान कराउँछन्, अनि अर्को कोल्टे फर्कादिनु पर्छ। केहीबेरमा त्यो कोल्टे फेरि फेर्न परिहाल्यो। श्रीमानको स्याहारमा अस्पतालको बासले आराधना नर्सिङमा पोख्त जस्तै भइसकिन्। फुर्तिला राजेन्द्रमान चिन्नेले उनको यो अवस्था देख्दा आँखा रसाइहाल्छ।  
आज राजेन्द्रमानलाई खाना खुवाउन पेटमा राखेको ‘पेग’ फेरिदिनुपर्ने थियो। आराधना एकैछिन बाहिर निस्कँदा डाक्टर आएकाले त्यो काम पनि छुटिहाल्यो। स्वास फेर्न सजिलो होस भनेर घाँटीमा पनि ‘ट्राक्योस्टोमी’ गरिएको छ। त्यसबाट नै बेलाबेला खकारसमेत निस्कन्छ।  
राजेन्द्रमानलाई ‘पेग’मार्फत खुवाउने झोल खानेकुरा।
राजेन्द्रमानको जाँचमा डाक्टरहरु नियमति आउँछन्। प्रहरी अस्पतालका डाक्टरसँगै ग्रान्डी अस्पताल र वीर अस्पतालबाट पनि बेलाबेला डाक्टर आइरहेका हुन्छन्। हातखुट्टा चलाउन सजिलो होस् भनेर भारतबाट ल्याइएको ‘ब्याक्लोफेन’ नामको औषधी चलाइएको छ। 
उनलाई खुवाउने झोलिलो खाना अस्पतालले नै दिइरहेको छ। कोठाको सुविधा र सबै औषधीहरु पनि अस्पतालले नै दिन्छ। अब अवकाशपछि केही औषधीमा भने कटौती हुनेछ। अरु सबै सुविधा पहिले जस्तै रहने विश्वास आराधनालाई छ। 
प्रहरी अस्पताल प्रमुख आशा सिंहले पनि आफू एआइजी भएपछि राजेन्द्रमानलाई भेट्न गएकी थिइन्। उनले राजेन्द्रमानले अहिले पाउने सुविधा अवकाशपछि पनि पाउने विश्वास दिलाएकी थिइन्। आराधनालाई थाहा छ- घर लगेर स्याहार गर्न मिल्ने रोग पनि त होइन। 
‘परेपछि भोग्नुपर्ने रहेछ’ आफ्नो निराश अनुहार यसअघि कहिले खुलेको थियो आराधनालाई थाहा छैन। बिहानदेखि रातिसम्म अस्पतालमा नै हुन्छिन्। राति सुत्न केहिबेर घर पुग्छिन्। दिन श्रीमानको स्याहारमा बित्छ। 
बेला बेला रसाएका आफ्ना आँखा राजेन्द्रमानले देखेका छन् कि छैनन् आराधनालाई थाहा छैन। हरेक समय श्रीमानलाई हेरेर बसिरहँदा उनले कति कुरा बुझेका होलान् भन्ने अनुमान पनि कठीन छ। कहिँलेकाहिँ घुमेमा राजेन्द्रमानका आँखाका नानी आफैलाई केही भन्न खोजेजस्तो आराधनालाई लाग्छ। तर त्यसको अर्थ ठीक कसरी बुझिन्छ थाहा छैन। 
पुलिस अस्पतालमा राजेन्द्रमान।
पहिलेभन्दा सुधार भएका केही संकेतहरु भने देखिन्छन्। पहिले छुँदा, कोल्टे फेराउँदा कुनै प्रतिक्रिया नदेखिने राजेन्द्रमानका आँखामा अहिले केही भाव देखिन्छ। विशेषतः आराधना त्यो बुझ्छिन्। 
अहिले सुतिरहेका बेला सिरानी उठाएर यताउता सार्दा राजेन्द्रमानको आँखा झस्किएर खुल्छन्। केही तातो छुवाइदिँदा चलमलाउँछन्। पहिले त त्यति पनि प्रतिक्रिया हुँदैन थियो। यसैले आराधनालाई लाग्छ- अहिले राजेन्द्रमानले आफ्नो लागि केही थाहा पाइरहेका छन् तर हाम्रा लागि केही थाहा पाएजस्तो लाग्दैन। 
अहिले अलि बढी पसिना आउँदा राजेन्द्रमान जोडले कराउँछन्। पसिना पुछिदिएपछि सुत्छन्। ओड्ने मिलेन भने कराउँछन्। मिलाइदिएपछि सुत्छन्। कोल्टे फेर्नुपर्दा कराउँछन्। फेरिदिएपछि सुत्छन्। साथीहरु आएर बोलाउँदा राजेन्द्रमानले हेरेजस्तो आराधनालाई लाग्छ। 
हरेक दिन उनी राजेन्द्रमानको अगाडि एक्लै बोलिरहन्छिन्। एक्लै गफ गर्छिन्। गीत सुनाइदिन्छिन्। समाचार सुनाइदिन्छिन्। टिभी खोलेर राखिदिन्छिन्। यी सबै कुराले आराधनालाई विश्वास छ, राजेन्द्रमानलाई पक्कै थाहा हुनुपर्छ उनी आज अवकाश पाउँदै छन्। तर आराधनालाई थाहा छैन राजेन्द्रमानले अस्पतालको बेडबाट अवकाश पाएर फुर्तिलो हुँदै घर कहिले फर्कनेछन्। 

No comments:

Post a Comment