ट्रकमा हालेर फालियाे शव
| २०७६ माघ २१ मंगलबार | Tuesday, February 04, 2020 १४:५२:०० मा प्रकाशित

काठमाडौं- मकवानपुरको हेटौंडाकी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
हेटौंडा नगरपालिका-११, थानाभन्ज्याङमा सामूहिक यौन सम्पर्कपश्चात् भएकाे हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, मकवानपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हेटौंडा-११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा-४ का २४ वर्षीय आशिष बल, हेटौंडा-१४ का २१ वर्षीय ह्याक्चर भनिने बुद्ध लामा, हेटौंडा-९ का १८ वर्षीय भापु भनिने सिमोन परियार र हेटौंडा-४ का २५ वर्षीय घन्टाउके भनिने सुशील थापामगर छन्।
यसरी भएको थियो अजिताको हत्या
ना ६ ख ६५२७ नम्बरको आइचर ट्रकका सहचालक हुन् सिमोन परियार। उनै सिमोनको बयानबाट हत्या कसरी भएको थियो भन्ने पोल खुलेको थियाे।
माघ ३ गते रातको ९ बजे हापु भनिने सिमोनले साहुलाई नसोधी मकवानपुरकै कमाने भन्ने ठाउँबाट उक्त ट्रक हाँकेर बसपार्क ल्याएका थिए।
बसपार्कमा हापुले चुरोट किनेर पिए। ‘जाडो धेरै भएको थियो। त्यसपछि मैले चुरोट पिएँ। तीन-चार खिल्ली खल्तीमा पनि हालेँ,' हापुले प्रहरीसमक्ष भनेका छन्।
त्यति नै बेला घन्टाउके भन्ने सुशीलसँग उनको भेट भयो। ‘आज जाडो छ। कोही केटी खोजेर यौन सम्पर्क गरौं भन्ने हामीबीच सल्लाह भयो,’ हापुको बयान उद्धृत गर्दै मकवानपुरका एसपी सुशील सिंह राठाैरले भने, ‘त्यसपछि यी दुवै जना ट्रक लिएर थानाभन्ज्याङको गएको देखिन्छ।’
ट्रक सुशीलले चलाएका थिए। उनीहरू राति १२ बजे ट्रक लिएर थानाभन्ज्याङ पुगे। त्यसपछि पूर्व-पश्चिम राजमार्गमा नै सो ट्रक साइड लगाए। सोही ठाउँमा उनीहरूले चिनेका थप दुई जना आशिष बल र ह्याक्चर भनिने बुद्ध लामा भेट भए।
भिडियो
यसपछि उनीहरू चारै जना मिलेर यौन सम्पर्क गर्ने सल्लाह गरे।
घन्टाउने गाडीबाट झरे। युवती अजिता भुजेलसँग उनको कुराकानी भयो। सुशीलका अनुसार ७ हजार रुपैयाँमा चार जना मिलेर यौन सम्पर्क गर्ने सहमति भएको देखिएको एसपी राठौरको भनाइ छ।
त्यसपछि अजितालाई लिएर उनीहरू चारै जना ट्रकमा चढे। पालैपालाे अजितासँग यौन सम्पर्क गरे। अजिताले पहिले भनेअनुसार ७ हजार रुपैयाँ मागिन्।
पैसा नदिएपछि उनीहरूबीच विवाद भयो। त्यही विवादले उग्र रुप लिँदा अजिताको हत्या भएको प्रहरीको निष्कर्ष छ।
विवाद भएपछि घन्टाउके भनिने सुशीलले गाडीमा रहेको बिजुलीको तारले अजिताको घाँटी कसे।
त्यसपछि चारै जनाले घाँटी थिचेर अजिताको हत्या गरेको देखिएको एसपी राठौरको भनाइ छ।
मोबाइलबाट खुल्यो हत्याको पोल
हत्या गरेपछि घन्टाउकेले नै ट्रक चलाए। मृतक अजितालाई ट्रकमै राखेर उनीहरुले २ किलोमिटर टाढा क्याम्पा डाँडामा लगेर अजिताको शव फालेका थिए। उनीहरूले अजिताको हत्या गरेर शव फालिसक्दा रातको साढे १ बजिसकेको थियो।
हत्या गरेपछि घन्टाउकेले नै ट्रक चलाए। मृतक अजितालाई ट्रकमै राखेर उनीहरुले २ किलोमिटर टाढा क्याम्पा डाँडामा लगेर अजिताको शव फालेका थिए। उनीहरूले अजिताको हत्या गरेर शव फालिसक्दा रातको साढे १ बजिसकेको थियो।
शंकास्पद अवस्थामा युवतीको शव भेटिएको खबर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आएपछि प्रहरीले अनुसन्धान सुरु गर्यो र हत्यामा संलग्न भएको आरोपमा ५ जना पक्राउ गर्याे। हत्याको पोल भने मोबाइलबाट खुलेको एसपी राठौरले जानकारी दिए।
महानगरीय प्रहरी अपराध महाशाखा र मकवानपुर प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान गरे पनि कुनै 'क्लु' फेला पर्न सकेको थिएन।
सोमबार भने प्रहरीले महत्वपूर्ण क्लु पायो।
अजिताको मोबाइलमा सिमकार्ड हालेर प्रयोग गरेको प्रहरीको टेक्निकल टिमले पत्ता लगायो।
सोही आधारमा प्रहरीले मृतक अजिताको मोबाइलमा सीम हालेर चलाउने एलिसालाई हटौडा-११ बाट पक्राउ गर्यो।

एलिसाले उक्त मोबाइल आफ्नो प्रेमी आशिषले दिएको प्रहरीलाई बयान दिइन्। सोमबार नै आशिषले मोबाइल दिएपछि उनले सिम हालेर चलाएको बताएकी छन्। मोबाइल चलाउन थालेको केही मिनेटमै उनी पक्राउ परिन्। एलिसामार्फत् आशिषलाई प्रहरीले सोमबार नै पक्राउ गर्यो।
तर आशिषले अजिता हत्याबारे बताएनन्। मोबाइल मात्रै ह्याक्चर भनिने बुद्धले दिएको बताए।
त्यसपछि प्रहरीले बुद्धलाई चितवनबाट पक्राउ गर्याे। बुद्धले भापु भन्ने सिमोन र घन्टाउके भन्ने सुशीलले दिएको बताएपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो।
उनीहरूका साथबाट प्रहरीले मृतक अजिताको ओप्पो कम्पनीको मोबाइल र शव फाल्न प्रयोग गरिएको ना ६ ख ६५२७ नम्बरको ट्रक बरामद गरेको छ।
यस घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरदेखि टेक्निकल इभिडेन्ससम्मको सहयोग लिएको थियो।
प्रहरीले अनुसन्धानकै लागि करिब २ सय ५० व्यक्तिसँग सोधपुछसमेत गरेको थियो।
पक्राउ परेका पाँचै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ। यसका लागि मकवानपुर जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।
अनुसन्धान पूरा भएपछि जिल्ला अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर हुनेछ।
No comments:
Post a Comment