Sunday, February 9, 2020

अपहरणकारी 'अंकल' : कुलतमा फसेका काकाले गरे ६ वर्षीया भतिजी अपहरण

नारायण अधिकारी  |  २०७६ माघ १९ आइतबार | Sunday, February 02, 2020  २१:३३:०० मा प्रकाशित

906Shares

काठमाडौं- भक्तपुरको सूर्यविनायक नगरपालिका- ५ स्थित ग्लोरी इंग्लिस स्कुलको ल्यान्डलाइन टेलिफोन नम्बरमा आइतबार दिउँसो पौने १२ बजे अपरिचित नम्बरबाट फोन आयो।
फोन गर्ने व्यक्तिले भने, ‘पारिवारिक काम परेकाले बाहिर जानुछ। मेरो छोरी गृष्मा राउत (नाम परिवर्तन)लाई लिन आउन म नभ्याउने भएँ। भाइ लिन आउँछ। पठाइदिनु होला।’
बाबुले नै फोन गरेर 'छोरी पठाइदिनू' भनेपछि स्कूलले छोरी पठाइदियो।

गृष्मालाई लिन पहँलो छिर्के ज्याकेट, निलो जिन्स पाइन्ट, कालो स्पोर्ट जुत्ता लगाएका व्यक्ति मोटरसाइकल लिएर साढे १२ बजे स्कूल पुगे। 
स्कूलले पनि सहजै विश्वास गरेर गृष्मालाई उनैका साथमा लगाएर पठाइदियो। युकेजीमा पढ्ने ६ वर्षीया गृष्मासँग ती युवा परिचित थिए। जसकारण गृष्माले सहजै ती युवासँगै झुम्मिइन्।
स्कूलबाट बालिका गृष्मालाई लगेको केहीबेरमा उनका बाबुलाई फोन आयो, ‘तेरी छोरी अपहरणमा परिसकी। छोरी फिर्ता लिन मन छ भने १६ लाख ठिक पार्नू।’
स्कूलमा रहेकी छोरी कसरी अपहरणमा परिन्? उनका बाबुले त्यो फोनको विश्वास गरेनन्। उनले स्कूलमा फोन गरे।
‘तपाईले नै अघि भाइ लिन आउँछ छोरी पठाइदिन भन्नु भएको होइन? एक युवक आएर गृष्मालाई लिएर अघि नै गए त,’ स्कुलको फोन उठाने व्यक्तिले भने।
स्कूलको यो जवाफपछि गृष्माकै बुबाको नाम लिएर अपहरणकारीले छोरी अपहरण गरेको पुष्टि भयो। उनले तत्कालै प्रहरीमा खबर गरे। 
महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त ठिमी जतिसक्दो चाँडो बच्चा अपहरणमुक्त गर्ने प्रयासमा जुटे।
अपहरणमा परेकी बालिकाले पनि सहजै ती व्यक्तिसँग झुम्मिएकाले चिनेजानेकै व्यक्तिबाट अपहरणमा परेको हुन सक्ने प्रहरीले निष्कर्ष निकाल्यो।
बालिकाको बाबुलाई आएको फोनको विवरण र लोकेसन प्रहरीले केलाउन थाल्यो।
‘लोकेसन भक्तपुरस्थित घ्याम्पेडाँडा देखायो,’ अनुसन्धानमा संलग्न एक प्रहरी नायब उपरीक्षकले भने, ‘हामीले लोकसन पत्ता लगाउँदा बच्चा अपरणमुक्त भइसकेका थिए।’
घ्याम्पेडाँडा जंगलमा मुखमा टेप र हात पछाडि लगेर बाँध्दै गर्दा बालिका जोडले चिच्याइन्। त्यसपछि घुम्न गएका व्यक्तिले के भयो भन्दै हेर्न जाँदा अपहरणकारी बालिका छाडेर फरार भएका थिए। स्कूल ड्रेसमै रहेकी बालिकालाई सोधपुछ गरेर ती व्यक्तिले स्कूलको जिम्मा लगाएका थिए। 
यता अपहरणकारीलाई पक्राउ गर्न प्रहरीलाई चुनौती थियो। तर अपहरणकारीले भने अनुसार नै गर्न प्रहरीले बालिकाको बाबुलाई सिकाए। सोही अनुसार उनले फोनमा १६ लाख रुपैयाँ दिन राजी भएको बताए। जसका लागि ठाउँ तोकियो, ठिमीस्थित भाटभटेनी। 
यतिन्जेल अपहरणकारी को हुन् भन्ने पहिचान भइसकेको थिएन। सादा पोशाकमा प्रहरीसँगै बालिकाको बाबु पनि भाटभटेनी पुगे। साँझ ५ बजेर २० मिनेटमा १६ लाख रुपैयाँ लिन भन्दै अपहरणकारी भाटभटेनी पुगेका थिए। 
त्यही बेला सादा पोशाकमा रहेका प्रहरीले उनलाई पक्राउ गरे। अपहरणकारी पक्राउ परेपछि बालिकाका बाबु भने झसङ्ग भए। अपहरण गर्ने व्यक्ति थिए, आफ्नै मामाको छोरा। अर्थात् अपहरणमा पर्ने बालिकाको बाबुका मामाका छोरा। काकाले भतिजीलाई नै अपहरण गरेका थिए। 
ती व्यक्ति हुन्, सलार्हीको लालबन्दी नगरपालिका-५ घर भई भक्तपुर बोडे बस्ने २० वर्षीय आशिष थापा। थापा सर्लाहीबाट २ वर्षअघि काठमाडौं आएका थिए। उनी पछिल्लो समय कुलतमा फसेका थिए।
बालिकाका बाबु विदेश गएर आएकाले पैसा हुनुपर्छ भन्दै पैसाकै लागि अपरहणको नाटक गरेको उनले प्रहरीसमक्ष बयान दिएका छन्। प्रहरीले अपहरण गर्न प्रयोग भएको मोटरसाइकल र मोबाइलसमेत उनको साथबाट बरामद गरेको छ। 
महानगरीय प्रहरी वृत्त ठिमीमार्फत् अपहरण तथा शरीर बन्धकको कसुरमा उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरील जनाएको छ।

No comments:

Post a Comment