Tuesday, April 30, 2019

अपहरण गरी हात खुट्टा काटेर मार्ने १६ जना जेल चलान, ३ धरौटीमा रिहा, १३ अझै फरार

अपहरण गरी हात खुट्टा काटेर मार्ने १६ जना जेल चलान, ३ धरौटीमा रिहा, १३ अझै फरार

जग्गा काराेबारका कारण भएकाे थियाे अपहरण पश्चात हत्या
 नारायण अधिकारी  |  २०७६ बैशाख १३ शुक्रबार | Friday, April 26, 2019  २०:३२:०० मा प्रकाशित
45Shares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– अपहरण गरी हात खुट्टा काटेर हत्या गर्ने १६ जना जेल चलान भएका छन् भने ३ जना धरौटी रिहा भएका छन्।
भारतको बहराइज थाना मोतिपुर घर भई नेपालगञ्ज बस्दै आएका जुदेन अन्सारीको हत्यामा संलग्न १६ जना जेल चलान भएका हुन्। जुदेनको अपहरण पश्चात हात खुट्टा काटेर हत्या गरिएको थियो। 
जग्गा काराेबारका कारण भएकाे थियाे अपहरण पश्चात् हत्या
नेपालगञ्ज उपमहानगरपालिका– ३ का खैरुल हसन अन्सारीले र नेपाल बस्दै आएका जुदेनले साझेदारीमा काम गर्दै आएका थिए। 
सोही क्रममा गत माघ १० गते खैरुलले जुदेनलाई फोन गरेर चार बाहिनीचोक नेपालगञ्जमा बोलाएका थिए। जुदेन खैरुलले बोलाएपछि चोकमा पुगेका थिए। त्यसपश्चात उनको अपहरण भएको थियो। 
जुदेनलाई अपहरण गरी भारतको बाबागञ्ज एरियामा लगिएको थियो। त्यसपछि माघ १२ गते साँझ भारत बाबागञ्ज एरियामा जुनेदको एउटा हात, एउटा खुट्टा काटिएको र जल्दै गरेको अवस्थामा लास फेला परेको थियो। 
घटनामा प्रारम्भिक मुचुल्का लगायतको कार्य प्रहरी थाना भारत नवाबगञ्जबाट भएको थियो। जुनेदको श्रीमती गौरी मल्ल अन्सारीले भारत नबाबगञ्जमै गई शव सनाखत गरीसकेपछि फागुन १३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। 
त्यसपछि प्रहरीले उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा खैरुल हसन अन्सारी सहित नेपाल र भारतका अन्य ५ जना को संलग्नतामा जुदेनलाई अपहरण गरी हत्या गरेको खुल्न आएको थियो।
अनुसन्धानको क्रममा खैरुल र मृतक जुनेदले मालपोत कार्यालयका कर्मचारीहरूसँग मिलेर सरकारी जग्गाका सक्कली कागजातहरू आफ्नो नियन्त्रणमा लिई कर्मचारीको सेटिङमा सरकारी जग्गा आफन्तको नाममा नामसारी गराउने गरेको पाइएको थियो।  
सोही क्रममा उनीहरूले बाँकेको खास कारकाँदो– ७ को कित्ता नं २१० को ५ कट्ठा १३ धुर, सिक्टा सिँचाइ आयोजनाको कम्पाउण्डभित्रको जग्गा ९ महिनाअघि  सरकारी कागज किर्ते गरी आफ्नो आमा हसरतुन निसा अन्सारीको नाममा जग्गाधनी श्रेस्ता कायम गरेका थिए। 
नेपालगञ्ज उपमहानगरपालिका– ३ कित्ता नं १४ को ५ कट्ठा १३ धुर सरकारी जग्गा सरकारी कागज किर्ते गरी जुनेद अन्सारीको सासु लाली मल्लको नाममा ८ महिना पहिला जग्गा धनी दर्ता श्रेस्ता कायम गरिएको थियो। 
त्यस्तै साविक बर्दिया नेउलापुर गाविस –७ को कित्ता नं १९१ ९(ख), ७, ८, ५०, ६१, ६३ को ६ बिगाह ३ कट्ठा १४ धुर सरकारी जग्गा ७ महिना पहिला खैरुल हसन अन्सारीको बाबुको नाममा दर्ता श्रेस्ता कायम गरी गत पुस १२ गते आमा हसरतुन निसा अन्सारीको नाममा नामसारी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। 
बाँके, बर्दियाका मालपोत कार्यालयका सरकारी जग्गाका श्रेस्ता (सक्कल कागजात) खैरुलबाट जुनेदले आफ्नो डेरा कोठामा राख्ने गरेका थिए। खैरुलले जुदेनसँग उक्त जग्गाका कागजातहरु पटक पटक नष्ट गर्नका लागि माग गरेका थिए। तर, उक्त कागजात जुनेदले नदिएको अनुसन्धानको क्रममा खुल्न आएपछि मृतक जुनेदको कोठाबाट उल्लेखित सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा नामसारी भएका सक्कल कागजपत्रहरु बरामद भएका थिए।
सोही क्रमममा विवाद हुँदा उनको अपहरण गरी हत्या गरिएको थियो। 
को को भए जेल चलान, को को फरार ?
पुर्पक्षका लागि जिल्ला अदालत बाँकेले १६ जनालाई थुनामा पठाएको छ। कारागार चलान हुनेमा खैरुल असन अन्सारी, सज्जन सैयाद, मालपोत अधिकृत पुष्पा श्रेष्ठ, लेखनदास बृहस्पति खड्का, लेखनदास पप्पु धोबी, रामकुमार रोका छन्।
त्यसैगरी नासुहरू रामबहादुर खड्का, रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, कृष्णलाल शर्मा, यज्ञश्वर वली, मानबहादुर केसी छन्। खरिदारहरू भूमिराज पोखरेल र सुशील रिजाल, कम्प्यूटर अपरेटर लक्ष्मी मल्ल र कार्यालय सहयोगी अन्तराम चौधरी कारागार चलान भएका छन्।
खरिदारहरू सञ्जयकुमार थारु, तुल्सारानी थारु र सहायक कम्प्यूटर अपरेटर प्रेमबहादुर चन्द ठकुरी धरौटीमा रिहा भएका छन्।
उनीहरू एक एक लाख रुपैयाँ धरौटीमा रिहा भएको बाँकेका एसपी अरुण पौडेलले बताए। फरार हुनेमा भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका मालपोत अधिकृत हेमराज शर्मा, भूमि सुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवाली, भूमि सुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख मालपोत अधिकृत दीर्घबहादुर पोखरेल, भूमि सुधार तथा मालपोत कार्यालय कावासोतीका मालपोत अधिकृत अशोककुमार भट्टराई छ्।
त्यस्तै खरिदारहरू किशोरकुमार रिजाल, कुलानन्द राउत, रवीन्द्र थापा, कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय पनि फरार छन्।
त्यसैगरी प्रहरीको फरार सूचीमा अवधेश ठाकुर, बच्छराज लोनीया, अकबर अली खाँ र सब्बिर अली सिद्धिकी र एक जना भारतीय नागरिक छन्। उनीहरु भने सर्वसाधारण हुन्।

धर्म परिवर्तन गराउँदै हिँड्ने अमेरिकनलाई अध्यागमनको 'ग्रिन सिग्नल', कारबाहीबिनै छुटिन् क्वान्टा

धर्म परिवर्तन गराउँदै हिँड्ने अमेरिकनलाई अध्यागमनको 'ग्रिन सिग्नल', कारबाहीबिनै छुटिन् क्वान्टा

इटहरी काण्डका कोरियन नागरिकमाथि अनुसन्धान गर्दैछौं
 नारायण अधिकारी |  २०७६ बैशाख १७ मंगलबार | Tuesday, April 30, 2019  १३:१०:०० मा प्रकाशित
67Shares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– बैसाख १२ गते दिउँसो। 
बा १३ प ३१९६ नम्बरको स्कोर्पियो गाडी दाङको घोाराहीमा ओहोरदोहोर गर्न थाल्छ। एउटै गाडी लगातार यताउता किन गरिरहेछ? यही गाडीले प्रहरीलाई शंकाको सुविधा दिन्छ। त्यसपछि चनाखो भएको प्रहरी  उक्त गाडीमाथि निगरानी बढाउन थाल्छ।
त्यसैबेला स्थानीयमार्फत जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेलाई महत्वपूर्ण सूचना आउँछ, ‘सर, एउटा स्कोर्पियोमा आएको समूहले धर्म प्रचारप्रसार गराउँदै हिँडिरहेको छ।’ 
सूचनामा भनिएको गाडी नम्बर उही हुन्छ, बा १३ प ३१९६।
साँझसम्मै प्रहरीले मात्रै निगरानी गरिरहेको हुन्छ। जब साँझ पर्छ, उक्त गाडीमा ओहोरदोहोर गर्ने समूह घोराहीको होटल डोकोमा छिर्छ। पिछा गर्दै गरेको प्रहरी टोलीको प्रवेश पनि केहीबेरमा सोही होटलमा हुन्छ। 
जब प्रहरी टोलीले एक्सन लिन्छ, उक्त गाडीबाट बाइबलले भरिएका कार्टुन, रकम राखिएका खाम, ल्यापटप, पेनड्राइभ लगायतका सामग्री बरामद गर्छ। धर्म परिवर्तन गराउँदै हिँड्ने उक्त समूहका २ विदेशीसहित ५ जना पक्राउ पर्छन्।
पक्राउ पर्नेमा अमेरिकन महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिस्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगन्जका प्रमोद काफ्ले छन्।
आर्थिक प्रभावमा पारेर धर्म परिवर्तन गराउने उद्देश्यले खाममा केही रकमसमेत राखेर बाँडिने गरेको अनुसन्धानमा खुल्छ। पेनड्राइभमा पनि क्रिस्चियन धर्म सम्बन्धीका डकुमेन्ट फेला पर्छ।
कानुनविपरीत धर्म परिवर्तन गराएको पाइएपछि जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तनमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गर्छ। 
अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मेलाई संविधानविरोधी काम गरेको भन्दै अध्यागमन विभाग पठाइन्छ।
त्यसबेला दाङ प्रहरीले सिनक्वान्टालाई देश निकाला गर्न सिफारिससहित अध्यागमन विभागलाई पत्राचार गरेको थियो। तर अध्यागमन विभागले भने कुनै कारबाही नगरी सिनक्वान्टलाई छोडेको छ। 
प्रहरीले देश निकाला गर्न सिफारिस गरिएको व्यक्तिलाई किन छाडियो त? 
नेपाल लाइभको प्रश्नमा अध्यागमनका प्रवक्ता रामचन्द्र तिवारी भन्छन्, ‘प्रहरीले प्रमाण नपुगी समातेछ। त्यसैले छाड्नुपर्‍यो। यो सामान्य हो।’
उता, दाङ प्रहरीले भने प्रमाणसहित पक्राउ गरेको भन्दै प्रहरीकै साथ लगाएर सिनक्वान्टालाई अध्यागमन पठाएको थियो। प्रमाणसहित पक्राउ परेकी उनी दूतावासको दबाबमा छुटेको स्रोतले बताएको छ। दूतावासले कुनै कारबाही नगरी तत्काल छाड्न भनेपछि अध्यागमन आइपुगेलगत्तै सिनक्वान्टालाई छाडिएको स्रोतले जनाएको छ।
दूतावासको दबाबमा उनी छुटेपछि पक्राउ परेका अन्य चार जनालाई रिहा हुने बाटो खुलेको थियो। सिनक्वान्टा बाहेकका चार जनालाई दाङ प्रहरीले दाङमै मुद्दा चलाएर अनुसन्धान सुरु गरेको थियो। ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेका उनीहरुलाई पनि हिजो सोमबार जिल्ला अदालत दाङ तारेखमा रिहा गरेको दाङका एसपी बेलबहादुर पाण्डेले बताए। 
स्रोतका अनुसार अध्यागमनले सिनक्वान्टालाई छोडेपछि उनीहरुलाई छाड्न स्वत: दबाब परेको थियो। एउटै कसुरमा पक्राउ परेका मुख्य नाइके भनिएका व्यक्ति छाडेपछि बाँकी छाड्नुपर्ने दबाब परेपछि उनीहरुलाई पनि छाडिएको स्रोतले जनाएको छ।
सिनक्वान्टा एक महिने पर्यटक भिसामा नेपाल आएकी थिइन्। उनको भिसा मे ४ मा सकिँदैछ। स्रोतका अनुसार उनी नेपाल आएलगत्तै दाङ गएर धर्म प्रचारमा लागेकी थिइन्। क्रिस्चियन धर्म प्रचारमा सिनक्वान्टाले ठूलो लगानी गरेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्। 
यसैगरी धर्म परिवर्तन गराउँदै हिँड्ने तीन जना जापानी नागरिकलाई दाङ प्रहरीले पक्राउ गरेको थियो। अनलाइन स्टटिजको नाममा पोखरा आएका उनीहरु धर्म प्रचारप्रसार गर्न दाङ पुगेका थिए। उनीहरु पनि तारेखमा रिहा भएका थिए।
यसरी धर्म प्रचार प्रसार तथा परिवर्तनको नाममा पक्राउ गरेका अधिकांश विदेशी नागरिकहरु दूतावासको दबाबमा छुट्दै आएका छन्।
इटहरी काण्डका कोरियन नागरिकमाथि अनुसन्धान गर्दैछौं
केही दिनअघि सुनसरीको इटहरीका अभिषेक कार्की र उनकी पत्नी आयुषा चौधरी क्रिश्चियन धर्मको नाममा आफूहरुलाई ठगिएको बताउँदै मिडियामा आएका थिए। विवाह नहुँदै परिवार नियोजन गर्न लगाएको, भएको सम्पत्ति सबै चर्चमा लगानी गर्न लगाएर आफूहरुमाथि ठगी भएको भन्दै उनीहरुले प्रहरीमा उजुरीसमेत दिएका थिए।
मुख्य दोषी कोरियन नागरिक सङ जा हान भएको भन्दै उनीविरुद्ध उजुरी दिएका थिए। हानमाथि अनुसन्धान सुरु गरिएको अध्यागमनले जनाएको छ। विभागका प्रवक्ता तिवारी भन्छन्, ‘स्थानीय प्रशासनलाई ती व्यक्तिको बारेमा खोजी गरेर डिटेल टिपाउन भनेका छौं, अहिलेसम्म आइसकेको छैन।' 
‘इन्टरनेसनल वी लभ यु फाउन्डेसन'को नाममा नेपाल छिरेका सङ जा हान इसाई धर्म प्रचारमा सक्रिय छन्। विभिन्न पूर्वाधार निमार्ण गर्ने उद्देश्यले नेपाल छिरेको उक्त संस्थाको नेपाल प्रमुख हुन् उनी। हाल ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन)’ मार्फत धर्म प्रचार गरिरहेका छन्। 
भौतिक निर्माणदेखि शान्ति स्थापना गर्ने नाममा सो फाउन्डेसनले काम गरिरहेको छ। तर, फाउन्डेसनको लोगोमा धर्म प्रचार भइरहेको स्थानीयले बताउँदै आएका छन्। 
यस्तो छ कानुनी व्यवस्था
मुलुकी अपराध संहिता (२०७४) को परिच्छेद ९ मा धर्मसम्बन्धी कसुरको बारेमा उल्लेख गरिएको छ। सोही परिच्छेदको दफा १५८ धर्म परिवर्तन गराउन नहुने भनेर लेखिएको छ।
दफा १५८ को उपदफा १ कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने उल्लेख गरिएको छ। 
उपदफा २ मा कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न नहुने बताइएको छ। 
यसरी धर्म प्रसार गरेर धर्म परिवर्तन गराएको अवस्थामा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। यसरी धर्म परिवर्तन गराउने व्यक्ति विदेशी भएको अवस्थामा त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद भुक्तान गरेको सात दिनभित्र नेपालबाहिर पठाउनुपर्ने कानुनी प्रावधान छ। 
प्रभावमा पारेर धर्म परिवर्तन गराएको अवस्थामा थाहा भएको मितिले ६ महिनाभित्र उजुरी गर्न सक्ने व्यवस्था छ। धर्म सम्बनधी अन्य कसुरमा भने ३ महिना नाघेपछि उजुरी नलाग्ने मुलुकी अपराध संहितामा उल्लेख गरिएको छ।

Wednesday, April 24, 2019

सिइओले नै कंगाल बनाउँछन् बैंक, १५ लाखमा किनेको जग्गालाई सवा २ करोड कर्जा

सिइओले नै कंगाल बनाउँछन् बैंक, १५ लाखमा किनेको जग्गालाई सवा २ करोड कर्जा

 नारायण अधिकारी |  २०७६ बैशाख ११ बुधबार | Wednesday, April 24, 2019  १४:१७:०० मा प्रकाशित
1kShares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– बैंकका प्रमुख कार्यकारी निर्देशक (सिइओ) नै करोडौं रुपैयाँ घोटाला प्रकरणमा मुछिएको तथ्य बाहिर आएको छ। जनता बैंक (तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंक) का सिइओ अजयकुमार मिश्र लगायतको मिलेमतोमा करोडौं रुपैयाँ घोटाला भएको खुलेको हो।
सिइओ मिश्रसँगै बैंकका तत्कालीन शाखा प्रमुख गीता शर्मा सुवेदी, मूल्यांकन गर्ने इन्जिनियर सञ्जय दुधानी, कर्जा शाखाका प्रमुख अनुजा डंगोल, बैंकका कर्मचारी लीलावती चौंलागाई, कर्जा समितिका सदस्य सुजन सुवेदी, रवि शाक्य, मुकुन्द त्रिपाठी र जग्गाधनी कृष्ण चौधरी र उनका भाइ रमेश चौधरी र मध्यस्थकर्ता मिलन विष्ट मिलेर तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकको करोडौ रुपैयाँ घोटला गरेका हुन्।
उनीहरुको योजनामा बैंकको २ करोड २५ लाख २४ हजार ५ सय ५३ रुपैयाँ रुपैयाँ घोटाला भएको पाइएको छ। उनीहरुले भीरपाखाको जग्गालाई नक्कली कागजपत्र बनाएर पिचबाटो भएको ठाउँको सुविधा सम्पन्न जग्गा भन्दै कर्जा निकालेर घोटाला गरेका थिए।
यसरी भयो घोटालाको योजना
घोटाला काण्डमा पक्राउ परेका जग्गाधनी भनिएका व्यक्ति हुन्, कृष्ण चौधरी। उनले प्रहरीसमक्ष दिएको बयानलाई आधार मान्ने हो भने उनी आफ्नो व्यक्तिगत कामले नै कर्जा लिने उद्देश्यले तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकको तीनकुने शाखामा २०७३ जेठ ३ गते पुगेका थिए। जग्गा राखेर कर्जा लिने र व्यापार बिस्तार गर्ने उनको उद्देश्य थियो।
त्यसै क्रममा कर्जा शाखाका प्रमुखदेखि बैंकका सिइओ अजयकुमार मिश्रसम्म उनको चिनजान भयो। त्यसपछि चौधरीलाई आफ्नो पक्षमा पारी बैंकका कर्मचारीले सबै काजगात मिलाएर करोडौं रुपैयाँ कर्जा निकाल्ने योजना बनाए। त्यसपछि जोडिए जग्गा दलाल भनेर चिनिएका मिलन विष्ट। विष्टसँगै जग्गा मिलाउने काममा जोडिए कृष्ण चौधरीका रमेश चौधरी र सुरेश यादव।
यता बैंकको तर्फबाट तत्कालीन सिइओ मिश्रले मुख्य भूमिका निर्वाह गरेका थिए। शाखा कर्जा शाखाका प्रमुख अनुजा डंगोल, जग्गा मूल्यांकन गर्ने इन्जिनियर सञ्ज दुधानी पनि नक्कली जग्गा धितो राखेर करोडौं कर्जा दिएर रकम हात पार्ने योजनामा सहमत भए। 
बैंकका कर्मचारी लीलावती चौंलागाई, कर्जा समितिका सदस्य सुजन सुवेदी, रवि शाक्य, मुकुन्द त्रिपाठीले समेत उनीहरुको योजना 'ग्रिन सिग्नल' दिए।
त्यसपछि नक्कली कागजात खडा गरेर कर्जा निकाल्ने र रकम बाँडफाट गर्ने उनीहरुले योजना बनाए।
काठमाडौंको साबिक इचङ्गुनारायण गाविस–१ को कित्ता नम्बर १६७, १६९, १८८ र १८९ को जग्गा कृष्ण चौधरीलाई खरिद गर्न लगाइयो। जग्गा मिलाउने काम विष्ट, चौधरीकै भाइ रमेश र सुरेश यादवले गरेका थिए।
 तर, उक्त जग्गा भीरपाखामा रहेकाले घडेरी समेत बनाउन नमिल्ने, गोरटो बाटो समेत नभएको, सामान्य खेतीपाती बाहेक अन्य प्रयोजनाका लागि उपयुक्त थिएन। 
त्यही जग्गालाई धितो राखेर करोडौं कर्जा निकालेर घोटाला गर्ने पूर्व योजनाअनुसार नक्कली कागजात खडा गर्न थालियो। नापी कार्यालय, मालपोत कार्यालय, नागार्जुन नगरपालिका–३ को वडा कार्यालयको पत्रसमेत नक्कली बनाइयो र लेखियो, ‘जग्गा वरपर थुप्रै घरहरु रहेको ठाउँमा, पिचबाटो भएको समथर ठाउँमा अवस्थित…।’
घडेरी नै नहुने भीरको जग्गालाई समथर पिचबाटो भएको भन्दै बैंकमा कागजात पेस गरियो।
आँखा चिम्लेर सवा २ करोड कर्जा
बैंकका कर्मचारीसँग पूर्व योजना नै बनिसकेको थियो, नक्कली काजगात खडा गरेर कर्जा लिने। नगरपालिकादेखि मालपोतसम्मका पेस भएका नक्कली कागजातको विवरण समेत बैंकका कर्मचारीले नियालेनन्। उक्त नक्कली कागजातकै आधारमा जग्गाको मुल्यांकन गरे इन्जिनियर सञ्जय दुधानीले।
दुधानीकै योजनामा अर्कै व्यक्तिको समथरको जग्गाको फोटोसमेत खिचेर ल्याई मूल्यांकन प्रतिवेदनमा पेस गरियो।
कर्जाका लागि देखाइएको जग्गाको मूल्यांकन प्रतिवेदन पास भइसकेपछि उक्त जग्गाको फिल्ड अवलोकन गर्नुपर्ने हुन्छ। उक्त जिम्मेवारी थियो, कर्जा शाखा प्रमुख गीता शर्मा सुवेदी र सोही शाखाकी सदस्य अनुजा डंगोलको। तर, उनीहरुले जग्गाको फिल्ड भिजिट नै नगरी निरीक्षण प्रतिवेदनमा उल्लेख गरे, 'जग्गा भने बमोजिमकै छ।'
मूल्यांकन र फिल्ड भिजिट सकिएपछि अब कर्जा लिने पालो आयो। कर्जाका लागि कृष्ण चौधरीलाई बैंक कर्मचारी गीता शर्मा सुवेदी, लीलावती चौंलागाई, अनुजा डंगोलले सिफारिस गरेका थिए।
उनीहरुकै सिफारिसका आधारमा आँखा चिम्लेर कर्जा दिए, सिइओ अजयकुमार मिश्र, सुजन सुवेदी, रवि शाक्य र मुकुन्द त्रिपाठीले। 
यसरी योजना सफल भएसँगै भीरको जग्गा राखेर २ करोड २५ लाख ५ सय ५३ रुपैयाँ कर्जा लिएर बैंकबाट निस्किए, कृष्ण चौधरी।
काम- बैंक कर्मचारीको, जिम्मा- जग्गा दलाललाई
बैंकका कर्मचारी सुवेदी, डंगोल र चौंलागाई त्यसबेला कर्जा समितिमा थिए। चौधरीलाई कर्जा दिनुभन्दा अघि बैंकबाट सम्बन्धित निकायमा कागजात पुर्‍याउनुपर्ने हुन्छ। त्यो काम कर्जा समितिका सदस्यको हो। तर, उनीहरुले उक्त काम आफैंले नगरेर कृष्ण चौधरीका भाइ रमेशलाई जिम्मा दिए। रमेश बैंकका कर्मचारी नभएर जग्गा दलाल हुन्।
उनै जग्गा दलालले ओसारेका कागजातको आधारमा कर्जा पूर्वस्विकृतिका लागि २०७३ जेठ ९ गते कागजात पेस भएको थियो।  स्विकृतिका लागि २०७३ असार २७ गते केन्द्रीय कर्जा विभागमा पेस गरियो। विभागबाट पास भएर दुई दिनपछि कर्जा समितिमा असार २९ गते पेस गरियो। कर्जा समितिले भोलिपल्ट असार ३० देखि कृष्ण चौधरीलाई २ करोड २५ लाख २४ हजार ५ सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ।
सवा २ करोड ऋण लिएपछि बल्ल जग्गा खरिद
अझ रोचक कुरा त कर्जा लिइरसकेका कृष्ण चौधरीको नाममा जग्गा समेत नभएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटी बताउँछन्। २०७३ असार ३० गते कर्जा लिएका चौधरीले साउन २ गते काठमाडौं इचङ्गुनारायण गाविस–१ को कित्ता नम्बर १६७, १६९, १८८ र १८९ को जग्गा आफ्नो नाममा पास गरेका थिए। कर्जा लिएपछि सोही रकमको केही अंशले उक्त जग्गा खरिद गरेको अनुसन्धानबाट खुलेको छ। चौधरीको नाममा उक्त जग्गा नआउँदै २०७३ जेठ ७ गते निरीक्षण समेत गरेर सही ठहर्‍याइएको थियो।
१५ लाखमा किनेको जग्गालाई सवा २ करोड कर्जा
उक्त जग्गा कृष्ण चौधरीले जम्मा १५ लाख रुपैयाँ किनेको पाइएको छ। ‘जग्गा धनीसँग बुझ्दा उनले आफूले १५ लाख रुपैयाँभन्दा बढी नपाएको बताए,’ परिसरका डिएसपी बोगटी सुनाउँछन्, ‘१५ लाखको जग्गालाई सवा २ करोडभन्दा बढी कर्जा दिनुको उद्देश्य नै उनीहरुको ठग्ने धन्दा हो।’
यद्यपि पक्राउ परेका चौधरी भने आफूले उक्त जग्गा १ करोडमा रुपैयाँमा खरिद गरेको दाबी गर्दै आएका छन्। यसरी १५ लाखको जग्गालाई करोडौं मूल्यांकन गरी सिद्धार्थ डेभलपमेन्ट बैंकको धितो दृष्टि बन्धक राखिएको थियो। जसमा बैंक आफैं जवाफदेही हुनेसमेत लेखिएको थियो।
उक्त जग्गा अहिलेको चलनचल्तीको मूल्यांकन अनुसार प्रतिआना ८५ हजार रुपैयाँ रहेको बताइएको छ। सिद्धार्थ डेभलपमेन्ट बैंक जनता बैंकमा गाभिएपछि उक्त जग्गाबारे जनताले जग्गा जाँच गरेको थियो। जनता बैंकको आधिकारिक मूल्यांकनकर्ता इन्भेन्सन इन्जिनियरिङ सर्भिस प्रालिले जनता बैंकलाई उक्त जग्गा कर्जाका लागि योग्न नभएको भन्दै पत्र र जग्गाको वास्तविक फोटोसमेत पठाएको थियो।
त्यसपछि जनता बैंकले प्रहरीमा उजुरी दिएपछि अहिले घटना बाहिर आएको हो।
उजुरीकर्ता नै फरार
उक्त जग्गा कर्जाका लागि योग्य नभएको कुरा बाहिर आएपछि सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन सिइओ मिश्र आफू फस्न सक्ने भन्दै चलाख्याइँपूर्वक ढंगले आफूले नै उजुरी गरेर चोखिन खोजेका थिए। उनले नै बैंकका कर्जा शाखाका कर्मचारी मिलेर नक्कली जग्गालाई कर्जा दिएर करोडौं घोटाला गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी समेत दिए। प्रहरीले पछि अनुसन्धान गर्दा उनको समेत मुख्य भूमिका देखियो। त्यसयता उनी फरार छन्। कर्जा दिइसकेपछि कृष्ण चौधरीलाई थोरै रकम दिएर बैंकका कर्मचारीहरुले अरु रकम बाँडेका थिए।
यो कुरा अनुसन्धानबाट खुलेपछि अहिले सिइओ मिश्रसँगै बैंकका तत्कालीन शाखा प्रमुख गीता शर्मा सुवेदी, मूल्यांकन गर्ने इन्जिनियर सञ्जय दुधानी, कर्जा शाखा प्रमुख अनुजा डंगोल, बैंकका कर्मचारी लीलावती चौंलागाई, कर्जा समितिका सदस्य सुजन सुवेदी, रवि शाक्य, मुकुन्द त्रिपाठी लगायत फरार छन्। 
पक्राउ परेका कृष्ण चौधरी पुर्पक्षका लागि कारागार चलान भएका छन् भने भरखरै पक्राउ परेका जग्गा दलाल मिलन विष्ट प्रहरी हिरासतमा छन्। उनीमाथि अनुसन्धान भइरहेको छ। फरार भएकामाथि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार मुद्दा दायर गरिएको छ। 

'सादा पोसाकको प्रहरी' बनेर कोठाभित्र छिरेका युवक सामान बोकेर बाहिरिए, पक्राउपछि खुल्यो वास्तविकता

'सादा पोसाकको प्रहरी' बनेर कोठाभित्र छिरेका युवक सामान बोकेर बाहिरिए, पक्राउपछि खुल्यो वास्तविकता

 नेपाल लाइभ |  २०७६ बैशाख १० मंगलबार | Tuesday, April 23, 2019  १३:००:०० मा प्रकाशित
20Shares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– ‘म सादा पोसाकको प्रहरी हुँ। अनुसन्धानका लागि तपाईंको घर खानतलासी गर्नुपर्नेछ,’ एक युवक यसो भन्दै बैसाख ५ गते पर्वतको जलजला गाउँपालिका–३ माझफाँटका लक्ष्मी जिसीको घरमा छिर्छन्।
जिउडाल हेर्दा हट्टाकट्टा नै देखिन्छ। केस प्रहरीकै जस्तो छोटो। फोनमा पनि 'अँ, मैले जानकारी गराइसकेँ, अब एकैछिनमा खानतलासी सुरु हुन्छ' भन्दै कुरा पनि गर्छन्। 
लक्ष्मीको परिवारले पनि विश्वास गर्छ, उनी प्रहरी नै हुन्। तर, उनीहरुमा एक किसिमको डर पैदा हुन्छ।  किन हाम्रो घर खातलासी गर्नुपर्ने? भनेर प्रश्नसमेत गर्न सक्ने आँट गर्दैनन्।
मध्य दिउँसो पुगेका ती युवक घरभित्र छिरेर खानतलासी गरेजसो गर्छन्। दराज, पलङ सबै सर्च गर्छन्। 'तपाईंहरुमाथि थप अनुसन्धान गर्नुपर्नेछ' भन्दै घरमा भएको सामसुङ ग्यालेक्सीको सेतो कलरको ट्याब बोक्छन्।
त्यसपछि उनी आफ्नो बाटो लाग्छन्। 
परिवारका सदस्य सबै अचम्मित हुन्छन्; किन यसरी प्रहरीले हाम्रो घर खानतलासी गर्‍यो?
 
तर उनीहरुलाई खानतलासी गर्नुपर्नेको कारण थाहा हुँदैन। उनीहरुकै अगाडि अनुसन्धान गर्नुपर्नेछ भन्दै ट्याब समेत बोकेर लगेको हुनाले थप डर पैदा हुन्छ।
ती प्रहरी गएपछि उनीहरुले आफ्नो कोठा मिलाउन थाल्छन्। त्यसबेला थाहा पाउँछन्, दराजमा भएको ६ हजार, सुनको सिक्री र औंठी नै गायब हुन्छ। 
पैसा र सुन नै गायब भएपछि लक्ष्मीको परिवारलाई शंका लाग्छ। उनले जिल्ला प्रहरी कार्यालय पर्वतमा उक्त घटनाको जानकारी गराउँछन्। कुनै पनि प्रहरीलाई कसैको घरमा खानतलासी गर्न नपठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर तिवारीले जवाफ फर्काउँछन्। प्रहरीको नाटक गरेर चोरी भएको हुन सक्ने भन्दै प्रहरीले ती युवकमाथि अनुसन्धान थाल्छ।
पीडितले दिएको हुलियाका आधारमा अनुसन्धानमा जुटेको प्रहरीले ती युवकलाई बैसाख ८ गते दिउँसो ३ बजे पर्वतको कुश्मा नगरपालिका–६ शिवालय चोकबाट पक्राउ गर्छ। त्यसपछि खुल्छ, युवकको वास्तविकता।
उनी त वास्तविक प्रहरी नभएर नक्कली प्रहरी बन्दै घरभित्र प्रवेश गरेर खानतलासी गर्ने निहुँमा चोरी गर्ने व्यक्ति रहेछन्।
यसरी प्रहरीको भेषमा घरभित्र प्रवेश गर्दै चोरी गर्ने व्यक्ति हुन्, पर्वतको जलजला गाउँपालिका –६ शालिजा बस्ने २१ वर्षीय रेशम सुवेदी। 
उनले आफू सादा पोशकको प्रहरी हुँ भन्दै विश्वासमा पारेर घर खानतलासीको निहुँमा थुप्रै व्यक्तिको सामान चोर्ने गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। उनले बाग्लुङ र पर्वतका विभिन्न व्यक्तिको घरमा प्रवेश गरेर चोरी गर्दै आएको खुलेको छ।
उनले यसैगरी प्रहरी बनेर बैसाख १ गते बाग्लुङको बाग्लुङ नगरपालिका–१४ बलेवाका छत्रमान सुवेदीको कोठामा भएको सामसुङको ट्याब, ३३ हजार रुपैयाँ चोरी गरेका थिए।
त्यस्तै कुश्मा नगरपालिका–२ खुर्कोटकी गायत्री उपाध्यायको कोठाबाट उसैगरी ६  हजार रुपैयाँ बैसाख ३ गते चोरेर हिँडेको अनुसन्धानमा खुलेको छ। 
प्रहरीले उनको साथबाट नगद ४ सय ६० रुपैयाँ, चोरी भएको सामसुङको ट्याब र मोबाइल बरामद गरेको छ। उनी यसभन्दा अघि पनि चोरीको अभियोगमा पक्राउ परेका व्यक्ति भएको प्रहरीले जनाएको छ। चोरीकै आरोपमा सुवेदीलाई २०७२ मंसिर १६ गते पर्वत प्रहरीले पक्राउ गरेको थियो। ३ वर्ष २ महिना कैद बसेर उनी गत माघ १७ गते मात्रै जेलबाट बाहिर निस्किएका थिए। 
जेलबाट छुटेपछि पनि उनी सुध्रिएनन्। पुन: चोरीको शृंखला थाले। अहिले पक्राउ परेका उनीमाथि चोरीको अभियोगमा मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

राजधानीमा दिउँसै लुटपाट : घरका सबैलाई हातखुट्टा बाँधी मुखमा टेप टाँसीदिएर लुट्ने ३ पक्राउ

राजधानीमा दिउँसै लुटपाट : घरका सबैलाई हातखुट्टा बाँधी मुखमा टेप टाँसीदिएर लुट्ने ३ पक्राउ 

 नेपाल लाइभ |  २०७६ बैशाख ८ आइतबार | Sunday, April 21, 2019  १६:२८:०० मा प्रकाशित
1.9kShares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– काठमाडौं महानगरपालिका–२९ रानीबारीमा दिउँसै लुटपाट गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न भएको आरोपमा ३ जनालाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका-८ मातातीर्थका ३८ वर्षीय नवराज तामाङ, चन्द्रागिरी-८ मातातीर्थकै ३६ वर्षीय विक्रम श्रेष्ठ र नुवाकोटको बेलकोटगढी नगरपालिका-४ कथुरानी घर भई नैकाप बस्दै आएका २८ वर्षीय दिपेश भनिने सन्तबहादुर तामाङ छन्। 
उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको  प्रहरीले जानकारी दिएको छ। यो समूहमा रहेका अन्य तीन जना लुटेरा भने अझसम्म फरार रहेको प्रहरीले जनाएको छ। 
उनीहरुले गत चैत २६ गते दिउँसो साढे ११ बजे रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाट गरेका थिए। सो घरमा सुनका गरगहना भएको थाहा पाएपछि योजना नै बनाएर लुटपाट गरेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए।
घरधनी लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी शेरचन र घरमा काम गर्ने मिठु थकालीलाई नियन्त्रणमा लिएर उनीहरुले लुटपाट मच्चाएका थिए। ६ जनाको समूहमा रहेका ती लुटेराले सो घरका तीनै जनालाई हातखुट्टा बाँधेर लुटेको एसएसपी सिंहको भनाइ छ। जुटको डोरीले हातखुट्टा बाँधेर मुखमा समेत टेप लगाएर खुकुरी तेर्साउदै उनीहरुले लुटेका थिए।
‘केही व्यक्तिले हातखुट्टा बाँध्ने, केहीले खुकुरी तेर्स्याएर धम्काउने र केही व्यक्तिले दराज फोडेर गरगहना र नगद लुटपाट गरेको देखियो,’ एसएसपी सिंहले भने। 
दराजमा भएको गरगहना र नगद गरी उनीहरुले ५ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ। 
प्रहरीले लुटेराको साथबाट सुनको तिलहरी बरामद गरेको छ भने अन्य गरगहनाहरु फेला परेका छैनन्।
त्यस्तै लुट्न प्रयोग भएका ट्याक्सी र कारसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बा २ ज ३०६१ नम्बरको ट्याक्सी र बा ३ च ७१६४ कलेजी रङको कार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। 

निर्मला हत्या प्रकरण : सरकारी वकिलसामु के भनेका थिए विष्टले? यस्तो थियो उनको बयान [भिडियो]

निर्मला हत्या प्रकरण : सरकारी वकिलसामु के भनेका थिए विष्टले? यस्तो थियो उनको बयान [भिडियो]

 नारायण अधिकारी |  २०७६ बैशाख ४ बुधबार | Wednesday, April 17, 2019  १५:१०:०० मा प्रकाशित
2.7kShares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना पुग्न लागिसक्यो। तर, हत्यारा रहस्यको गर्भमै छ। थुपै अनुसन्धान टोलीलाई माथ खुवाउने यो घटना नेपाल प्रहरीका लागि घाँटीमा अड्किएको ठूलो हड्डी जस्तै भएको छ। न त भित्र नै पस्न सकेको अवस्था छ, न बाहिर निकाल्न सकिएको छ। जसकारण यसको चौतर्फी आलोचनामा सिंगो प्रहरी संगठन नै मुछिएको छ। 
सोही प्रकरणमा कतिपय प्रहरी अधिकारीले जागिरबाटै हात धुनुपर्‍यो। कतिपय महिनौं बितिसक्दा समेत निलम्बनको सिकार भइरहेकै छन्। 
अनुसन्धान गर्दागर्दै जागिर नै जाने अवस्था आउनु र निलम्बनमै पर्नुपरेपछि यसले अपराध अनुसन्धानमा दीर्घकालीन असर पर्ने विज्ञहरु बताउँछन्। ‘गुड फेथ’ रहेर काम गर्दागर्दै यस्तो अवस्था आउन थालेपछि जोखिम  अनुसन्धान गर्न प्रहरीलाई  गाह्रो हुने विज्ञहरु बताउँछन्।
प्रहरी अधिकारीको जागिर नै खोसिने र निलम्बन बनाउनेसम्म भएको यो चर्चित घटनाको केही पाटा अझै पर्दापछाडि नै छन्। प्रमाण नष्ट गरेको, निर्दोषलाई फसाउन खोजेको, अभियुक्तलाई यातना दिएको, कुशल ढंगले जिम्मेवारी बहन गर्न नसकेको जस्ता आरोप अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई लाग्दै आएको छ। 
यो घटनामा दिलीपसिंह विष्ट एक यस्तो पात्रका रुपमा खडा भए, जसलाई प्रहरीले अपराधी करार गर्‍यो। प्रहरीले यातना दिएर अपराध स्विकार्न लगाएको समेत भनिएको छ। तर विष्टलाई नै अपराधी बनाउनु पर्ने कारण चाहिँ के हो? यसको उत्तर खोज्ने प्रयास गरिएको छैन। बिनाप्रमाण यस्तो आरोप खेप्नुपरेको अनुसन्धानमा संलग्न प्रहरी नै बताउँदै आएका छन्।
प्रहरीले यातना दिएर विष्टलाई अपराध स्किार्न लगाएकै हो त ? तर यसको पर्याप्त कारण कोहीसँग पनि छैन। तर विष्टले प्रहरीसमक्ष मात्रै होइन सरकारी वकिल समक्ष समेत निर्मलाको हत्या आफैले गरेको बताएका थिए। जुन भिडियो नेपाल लाइभले फेला पारेको छ। नेपाल लाइभलाई प्राप्त भिडियोमा विष्टले हत्या आफैंले गरेको स्विकार गरेका छन्।
विष्टलाई पक्राउ गरिसकेपछि म्याद थप गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा एक दिन जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता खेमराज भट्टले समेत आरोपित विष्टको बयान लिएका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनले विष्टलाई केही प्रश्न सोधका थिए। जहाँ विष्टले निर्धक्क हत्या आफैंले गरेको बताएका छन्।
बयानको भिडियो-
उनले बयानमा भनेका छन्-
‘साइकल बनाइदिम् भनेर चिँ हेन्डल समातेँ। हेन्डलको भित्रबाट पसौं भनेर चाहिँ.. चेन कभर त बीचमा हुन्छ नि! यस्तरी समातिराख बहिनी भनेँ मैले तिनलाई। हेन्डिल, चक्कालाई बीचमा पारेर अगाडिबाट यसो समात भनेँ। उनले यसो समातिन्। तर सिधै चलाउने। यसरी घुडाँ चढाऊ भनेँ..। तर मेरो शरीर दूधमा लाग्यो तिनको। तर तिनले केही भनेन। बहिनी यता आउन भनेँ। यता आयो। …त्यसपछि खोलाको तल साइकल फालिदिए। साइकलमा किताब पनि थियो। त्यसपछि तानेर उनलाई पारि लगेँ। घाँटी थिचेर मारेँ। यस्तरी अँगालोमा बोकेर लगेर उखुझाडीमा फालेँ।’
सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले समेत केही प्रश्न त्यसबेला विष्टलाई सोधेका थिए। उनकै अगाडि विष्टले निर्मलालाई आफूले मारेको कहानी बताएका थिए।
तर सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता भट्टले साबिती बयान भने गराएनन्। त्यसबेला कञ्चनपुर लगायतका जिल्लामा आन्दोलनले उग्र रुप लिएको थियो। निर्दोष विष्टलाई प्रहरीले फसाउन खाजेको भन्दै आन्दोलन एकाएक चर्कियो। त्यसैको असर हुन सक्छ आफ्नै अगाडि हत्या गरको स्वीकार गर्दा पनि न्यायाधिवक्ता भट्टले विष्टको साबिती बयान गराउन तयार भएनन्। पछि प्रस्ट प्रमाण पुग्ने भिडियो समेत अदालतमा पेस गरिएन।
‘मेरो मानसिक सुन्तलन ठिक छ’
बलात्कार र हत्यामा संलग्न दोषी उम्काउन मानसिक सन्तुलन ठिक नभएको विष्टलाई प्रहरीले पक्राउ गरेर फसाउन लागेको भन्दै आलोचना समेत भयो। मानसिक सन्तुलन ठिक नभएको व्यक्तिले कसरी हत्या गर्‍यो? कसरी शव व्यवस्थापन सहजै गरिदियो? जस्ता प्रश्न समेत गरिएका थिए। तर विष्ट स्वयंले सरकारी वकिलसमक्ष दिएको बयानमा आफ्नो मानसिक सन्तुलन ठिक भएको बताएका छन्।
जिल्ला सरकारी वकिल कार्यालयमा लिएको बयानको पहिलो प्रश्नमा नै उनलाई सोधिएको थियो, ‘तपाईंको शारीरिक एवं मानसिक अवस्था कस्तो छ? सोधिएका प्रश्नको जवाफ दिन सक्नुहुन्छ कि हुँदैन?’
‘मेरो शारीरिक एवं मानसिक अवस्था ठिक छ। सोधिएका प्रश्नको जवाफ स्वतन्त्रपूर्वक दिन सक्छु,’ उनले भनेका थिए।
प्रहरीले यातना दिएकै हो? 
विष्टलाई यातना दिएको भन्दै उनका दाजुले जिल्ला अदालत कञ्चनपुरमा मुद्दासमेत दायर गरेका थिए। उक्त मुद्दाका आरोपित प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा समेत रिहा गरिसकेको छ। एसपी दिल्लीराज विष्ट १० लाख, डिएसपी अंगुर जिसी ९ लाख र अन्य प्रहरी अधिकारीले पनि धरौटी रकम तिरेर रिहा भइसकेका छन्।
तर जिल्ला सरकारी वकिलकै कार्यालयमा अनुसन्धानकर्ता प्रहरी निरीक्षक एकेन्द्र खड्काले लिएको बयानमा विष्टले आफूलाई कुनै यातना नदिइएको बताएका छन्। 
बयानको ४ नम्बर बुँदामा विष्टलाई सोधिएको थियो, ‘प्रस्तुत मुद्दामा प्रहरीले तपाईलाई पक्राउ गर्दा वा तपाईं प्रहरी हिरासतमा बस्दा कुनै कसैबाट यातना पाउनुभएको छ कि छैन? खुलाइदिनुहोस्।’
विष्टले जवाफमा भनेका छन्, 'प्रस्तुत मुद्दामा प्रहरीले मलाई पक्राउ गर्दा वा प्रहरी हिरासतमा बस्दा कुनै कसैबाट शारीरिक तथा मानसिक यातना पाएको छैन।’
'तपाईंलाई कसैले करकाप लगाएर अपराध स्विकार्न लगाएको छ?' भन्ने आसयको प्रश्नमा दिलीपसिंह विष्टले ‘प्रस्तुत मुद्दामा मबाट बयान लिँदा कुनै करकाप लगाएको छैन’ भनेर जवाफ दिएका छन्।