Tuesday, April 16, 2019

१९ लाखमा किनेको 'सुन' फलाम परेपछि...

१९ लाखमा किनेको 'सुन' फलाम परेपछि...

 नेपाल लाइभ |  २०७६ बैशाख ३ मंगलबार | Tuesday, April 16, 2019  १५:१४:०० मा प्रकाशित
13Shares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– ‘एक जनासँग सुन छ, सस्तोमा दिन्छ। किन्ने हो?’ राजेश विकलाई सूचना आयो।
सस्तोमा सुन! नाफा निकै हुने देखिएपछि राजेश लोभिए। सस्तोमा सुन किन्ने निधो गर्न धेरै समय लिएनन्। 
घटना हो, गत पुस १२ गतेको।
सामाखुसीस्थित रानिबारीमा सस्तामो सुन किन्न पुगे, राजेश विक। उक्त ठाउँमा पहिल्यै राजेशलाई सुन बच्ने ४ जना पुगिसकेका थिए। उनीहरूले दिएको 'लोकेसन' पहिल्याउँदै त्यहाँ पुगेका थिए। 
सुनका गहना राख्ने रातो बट्टामा कपडाले बेरेर सुन राखिएको थियो। उक्त वस्तु सुन हो/होइन भनेर राजेशले पहिल्यै जाँचसमेत गरिसकेका थिए। त्यसपछि उनी ढुक्क भए। १९ लाख रुपैयाँमा २ किलो सुन किन्छन्।
'वरपर प्रहरी पनि हुन सक्छ। यहाँ नखोल्नू। नहेर्नू। घरमा लगेर मात्रै हेर्नू। नभए प्रहरीले समाउँछ,’ सुन बेच्नेले राजेशलाई भने। उनी पनि सस्तोमा पाएको सुन प्रहरीले थाहा पाए पक्राउ गर्ला भन्ने डरले नखोली घर पुग्छन्। र उक्त बट्टा खोलेर हेर्छन्। 
उनको होसहवास उड्यो। सुन भनी १९ लाखमा किनेको बट्टामा फलामका ४ वटा टुक्रा मात्र भेटिएपछि। 
ठगिएको थाहा पाएपछि उनी महानगरीय प्रहरी परिसर काठमाडौं पुग्छन्। त्यसपछि ठगी गर्ने गिरोहको अनुसन्धानमा खटिएको प्रहरी टोलीले झन्डै ४ महिना लामो अनुसन्धानपछि सुन भनेर ठगी गर्ने गिरोहका ४ जनालाई पक्राउ गर्न सफल भएको छ। 
पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ का ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रे चौरीदेउराली गाउँपालिका–३ का २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, सोही ठाउँका २१ वर्षीय प्रवीन श्रेष्ठ र सोही ठाउँका १९ वर्षीय सुवास श्रेष्ठ छन्। श्रेष्ठ थरका यी तीन जना एकै परिवारका दाजुभाइ हुन्।
उनीहरूले सुरुमा फलामको टुक्राको एक भागमा थोरै सुनको जलप लगाएको र सोही ठाउँबाट सुन हो होइन भनेर जाँच गर्न दिने र सुन भएको भ्रममा पारेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। 
ठगी गरेको १९ लाख रुपैयाँ उनीहरूले बाँडफाँट गरेका थिए। जसमध्ये पूर्णबहादुरले ९ लाख ५० हजार, चन्द्रबहादुरले ३ लाख ५० हजार, प्रवीनले ३ लाख र सुवासले ३ लाख रुपैयाँ बाँडफाँट गरेका थिए।
उनीहरूलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएका महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले बताए। उनीहरुका साथबाट ७० हजार रुपैयाँ नगद र ठगी गर्न प्रयोग गर्ने बा २ ज १८४१ नम्बरको ट्याक्सी समेत बरामद गरेको छ। 
यसैबीच, नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। गत चैत ३० गते स्वयम्भू क्षेत्रमा सुन बिक्रि वितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरीले टोलीले एक जनालाई पक्राउ गरेको थियो। 
पक्राउ पर्नेमा धादिङको रुबीभ्याली गाउँपालिका–४ घर भई स्वयम्भू बस्ने २२ वर्षीय बेमान तामाङ छन्। 
एक किलो नक्कली सुन लिएर ग्राहक कुरिरहेको अवस्थामा उनलाई काठमाडौंको हलचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि ठगी मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment