एकै परिवारका ४ दाजुभाइ नै लुटेरा : १ जेलमा, १ छुटे, २ जना पक्राउ
| २०७६ बैशाख ३ मंगलबार | Tuesday, April 16, 2019 १५:४३:०० मा प्रकाशित

काठमाडौं– एकै परिवारका चार दाजुभाइ नै ठगी तथा लुटपाटमा संलग्न भएको पाइएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले डलर साट्ने भन्दै ठगी गर्ने र लुट्ने ३ जनालाई पक्राउ गरेपछि सो रहस्य बाहिर आएको हो।
नयाँ बसपार्क, बालाजु, माछापोखरी, सामाखुसी र गौशाला क्षेत्रलाई मुख्य आधार क्षेत्र बनाई विदेशबाट फर्किएका व्यक्तिहरुलाई डलर लगायत अन्य विदेशी रकम बढीमा साट्ने भन्दै ठगी गर्ने र लुट्ने गरेको भन्ने गुनासो प्रहरीकहाँ आएको थियो। बजार भाउभन्दा बढीमा साट्ने भन्दै बीचमा नक्कली नोट र अगाडि पछाडि सक्कली नोट राख्दै ठगी गरेको पाइएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले गोप्य रुपमा अनुसन्धान गरेको थियो।
सोही क्रममा सिन्धुलीको दुधौली घर भई नेपालटार बस्दै आएका ३३ वर्षीय उमेश घिसिङ, सोही ठाउँका प्रेम घिसिङ र दुधौलीकै ३० वर्षीय दानबहादुर तामाङ पक्राउ परेका थिए। उनीहरुमध्ये उमेश र प्रेम सहोदर दाजुभाइ समेत भएको अनुसन्धानबाट खुलेको छ।
उनीहरु यसभन्दा अघि पनि पटकपटक ठगी मुद्दामा पक्राउ परी कारबाही भइसकेका व्यक्ति भएको महानगरीय प्रहरी परिसरका डिएसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले बताए।
उनीहरु चार दाजुभाइ छन्। चारै दाजुभाइ ठगी तथा लुटपपाटमा संलग्न भएको अनुसन्धानबाट खुलेको छ।
चार भाइमध्ये एक जना अहिले पनि सेन्ट्रल जेलमा कैद भुक्तान गरिरहेका छन्। अर्का एक जना भर्खरै जेलमुक्त भएर घरमा बस्दै आएको प्रहरीले जनाएको छ। अहिले भने दुई जना पक्राउ परे।
उनीहरुले स्वयम्भूबाट ५ तोलाको औंठी, सामाखुसीबाट ४६ हजार, गौशालाबाट ४ लाख लुटपाट गरेको प्रहरीले जानएको छ। उनीहरुमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ।
No comments:
Post a Comment