Wednesday, April 24, 2019

राजधानीमा दिउँसै लुटपाट : घरका सबैलाई हातखुट्टा बाँधी मुखमा टेप टाँसीदिएर लुट्ने ३ पक्राउ

राजधानीमा दिउँसै लुटपाट : घरका सबैलाई हातखुट्टा बाँधी मुखमा टेप टाँसीदिएर लुट्ने ३ पक्राउ 

 नेपाल लाइभ |  २०७६ बैशाख ८ आइतबार | Sunday, April 21, 2019  १६:२८:०० मा प्रकाशित
1.9kShares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– काठमाडौं महानगरपालिका–२९ रानीबारीमा दिउँसै लुटपाट गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न भएको आरोपमा ३ जनालाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका-८ मातातीर्थका ३८ वर्षीय नवराज तामाङ, चन्द्रागिरी-८ मातातीर्थकै ३६ वर्षीय विक्रम श्रेष्ठ र नुवाकोटको बेलकोटगढी नगरपालिका-४ कथुरानी घर भई नैकाप बस्दै आएका २८ वर्षीय दिपेश भनिने सन्तबहादुर तामाङ छन्। 
उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको  प्रहरीले जानकारी दिएको छ। यो समूहमा रहेका अन्य तीन जना लुटेरा भने अझसम्म फरार रहेको प्रहरीले जनाएको छ। 
उनीहरुले गत चैत २६ गते दिउँसो साढे ११ बजे रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाट गरेका थिए। सो घरमा सुनका गरगहना भएको थाहा पाएपछि योजना नै बनाएर लुटपाट गरेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए।
घरधनी लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी शेरचन र घरमा काम गर्ने मिठु थकालीलाई नियन्त्रणमा लिएर उनीहरुले लुटपाट मच्चाएका थिए। ६ जनाको समूहमा रहेका ती लुटेराले सो घरका तीनै जनालाई हातखुट्टा बाँधेर लुटेको एसएसपी सिंहको भनाइ छ। जुटको डोरीले हातखुट्टा बाँधेर मुखमा समेत टेप लगाएर खुकुरी तेर्साउदै उनीहरुले लुटेका थिए।
‘केही व्यक्तिले हातखुट्टा बाँध्ने, केहीले खुकुरी तेर्स्याएर धम्काउने र केही व्यक्तिले दराज फोडेर गरगहना र नगद लुटपाट गरेको देखियो,’ एसएसपी सिंहले भने। 
दराजमा भएको गरगहना र नगद गरी उनीहरुले ५ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ। 
प्रहरीले लुटेराको साथबाट सुनको तिलहरी बरामद गरेको छ भने अन्य गरगहनाहरु फेला परेका छैनन्।
त्यस्तै लुट्न प्रयोग भएका ट्याक्सी र कारसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बा २ ज ३०६१ नम्बरको ट्याक्सी र बा ३ च ७१६४ कलेजी रङको कार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। 

No comments:

Post a Comment