Tuesday, April 30, 2019

धर्म परिवर्तन गराउँदै हिँड्ने अमेरिकनलाई अध्यागमनको 'ग्रिन सिग्नल', कारबाहीबिनै छुटिन् क्वान्टा

धर्म परिवर्तन गराउँदै हिँड्ने अमेरिकनलाई अध्यागमनको 'ग्रिन सिग्नल', कारबाहीबिनै छुटिन् क्वान्टा

इटहरी काण्डका कोरियन नागरिकमाथि अनुसन्धान गर्दैछौं
 नारायण अधिकारी |  २०७६ बैशाख १७ मंगलबार | Tuesday, April 30, 2019  १३:१०:०० मा प्रकाशित
67Shares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– बैसाख १२ गते दिउँसो। 
बा १३ प ३१९६ नम्बरको स्कोर्पियो गाडी दाङको घोाराहीमा ओहोरदोहोर गर्न थाल्छ। एउटै गाडी लगातार यताउता किन गरिरहेछ? यही गाडीले प्रहरीलाई शंकाको सुविधा दिन्छ। त्यसपछि चनाखो भएको प्रहरी  उक्त गाडीमाथि निगरानी बढाउन थाल्छ।
त्यसैबेला स्थानीयमार्फत जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेलाई महत्वपूर्ण सूचना आउँछ, ‘सर, एउटा स्कोर्पियोमा आएको समूहले धर्म प्रचारप्रसार गराउँदै हिँडिरहेको छ।’ 
सूचनामा भनिएको गाडी नम्बर उही हुन्छ, बा १३ प ३१९६।
साँझसम्मै प्रहरीले मात्रै निगरानी गरिरहेको हुन्छ। जब साँझ पर्छ, उक्त गाडीमा ओहोरदोहोर गर्ने समूह घोराहीको होटल डोकोमा छिर्छ। पिछा गर्दै गरेको प्रहरी टोलीको प्रवेश पनि केहीबेरमा सोही होटलमा हुन्छ। 
जब प्रहरी टोलीले एक्सन लिन्छ, उक्त गाडीबाट बाइबलले भरिएका कार्टुन, रकम राखिएका खाम, ल्यापटप, पेनड्राइभ लगायतका सामग्री बरामद गर्छ। धर्म परिवर्तन गराउँदै हिँड्ने उक्त समूहका २ विदेशीसहित ५ जना पक्राउ पर्छन्।
पक्राउ पर्नेमा अमेरिकन महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिस्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगन्जका प्रमोद काफ्ले छन्।
आर्थिक प्रभावमा पारेर धर्म परिवर्तन गराउने उद्देश्यले खाममा केही रकमसमेत राखेर बाँडिने गरेको अनुसन्धानमा खुल्छ। पेनड्राइभमा पनि क्रिस्चियन धर्म सम्बन्धीका डकुमेन्ट फेला पर्छ।
कानुनविपरीत धर्म परिवर्तन गराएको पाइएपछि जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तनमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गर्छ। 
अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मेलाई संविधानविरोधी काम गरेको भन्दै अध्यागमन विभाग पठाइन्छ।
त्यसबेला दाङ प्रहरीले सिनक्वान्टालाई देश निकाला गर्न सिफारिससहित अध्यागमन विभागलाई पत्राचार गरेको थियो। तर अध्यागमन विभागले भने कुनै कारबाही नगरी सिनक्वान्टलाई छोडेको छ। 
प्रहरीले देश निकाला गर्न सिफारिस गरिएको व्यक्तिलाई किन छाडियो त? 
नेपाल लाइभको प्रश्नमा अध्यागमनका प्रवक्ता रामचन्द्र तिवारी भन्छन्, ‘प्रहरीले प्रमाण नपुगी समातेछ। त्यसैले छाड्नुपर्‍यो। यो सामान्य हो।’
उता, दाङ प्रहरीले भने प्रमाणसहित पक्राउ गरेको भन्दै प्रहरीकै साथ लगाएर सिनक्वान्टालाई अध्यागमन पठाएको थियो। प्रमाणसहित पक्राउ परेकी उनी दूतावासको दबाबमा छुटेको स्रोतले बताएको छ। दूतावासले कुनै कारबाही नगरी तत्काल छाड्न भनेपछि अध्यागमन आइपुगेलगत्तै सिनक्वान्टालाई छाडिएको स्रोतले जनाएको छ।
दूतावासको दबाबमा उनी छुटेपछि पक्राउ परेका अन्य चार जनालाई रिहा हुने बाटो खुलेको थियो। सिनक्वान्टा बाहेकका चार जनालाई दाङ प्रहरीले दाङमै मुद्दा चलाएर अनुसन्धान सुरु गरेको थियो। ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेका उनीहरुलाई पनि हिजो सोमबार जिल्ला अदालत दाङ तारेखमा रिहा गरेको दाङका एसपी बेलबहादुर पाण्डेले बताए। 
स्रोतका अनुसार अध्यागमनले सिनक्वान्टालाई छोडेपछि उनीहरुलाई छाड्न स्वत: दबाब परेको थियो। एउटै कसुरमा पक्राउ परेका मुख्य नाइके भनिएका व्यक्ति छाडेपछि बाँकी छाड्नुपर्ने दबाब परेपछि उनीहरुलाई पनि छाडिएको स्रोतले जनाएको छ।
सिनक्वान्टा एक महिने पर्यटक भिसामा नेपाल आएकी थिइन्। उनको भिसा मे ४ मा सकिँदैछ। स्रोतका अनुसार उनी नेपाल आएलगत्तै दाङ गएर धर्म प्रचारमा लागेकी थिइन्। क्रिस्चियन धर्म प्रचारमा सिनक्वान्टाले ठूलो लगानी गरेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्। 
यसैगरी धर्म परिवर्तन गराउँदै हिँड्ने तीन जना जापानी नागरिकलाई दाङ प्रहरीले पक्राउ गरेको थियो। अनलाइन स्टटिजको नाममा पोखरा आएका उनीहरु धर्म प्रचारप्रसार गर्न दाङ पुगेका थिए। उनीहरु पनि तारेखमा रिहा भएका थिए।
यसरी धर्म प्रचार प्रसार तथा परिवर्तनको नाममा पक्राउ गरेका अधिकांश विदेशी नागरिकहरु दूतावासको दबाबमा छुट्दै आएका छन्।
इटहरी काण्डका कोरियन नागरिकमाथि अनुसन्धान गर्दैछौं
केही दिनअघि सुनसरीको इटहरीका अभिषेक कार्की र उनकी पत्नी आयुषा चौधरी क्रिश्चियन धर्मको नाममा आफूहरुलाई ठगिएको बताउँदै मिडियामा आएका थिए। विवाह नहुँदै परिवार नियोजन गर्न लगाएको, भएको सम्पत्ति सबै चर्चमा लगानी गर्न लगाएर आफूहरुमाथि ठगी भएको भन्दै उनीहरुले प्रहरीमा उजुरीसमेत दिएका थिए।
मुख्य दोषी कोरियन नागरिक सङ जा हान भएको भन्दै उनीविरुद्ध उजुरी दिएका थिए। हानमाथि अनुसन्धान सुरु गरिएको अध्यागमनले जनाएको छ। विभागका प्रवक्ता तिवारी भन्छन्, ‘स्थानीय प्रशासनलाई ती व्यक्तिको बारेमा खोजी गरेर डिटेल टिपाउन भनेका छौं, अहिलेसम्म आइसकेको छैन।' 
‘इन्टरनेसनल वी लभ यु फाउन्डेसन'को नाममा नेपाल छिरेका सङ जा हान इसाई धर्म प्रचारमा सक्रिय छन्। विभिन्न पूर्वाधार निमार्ण गर्ने उद्देश्यले नेपाल छिरेको उक्त संस्थाको नेपाल प्रमुख हुन् उनी। हाल ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन)’ मार्फत धर्म प्रचार गरिरहेका छन्। 
भौतिक निर्माणदेखि शान्ति स्थापना गर्ने नाममा सो फाउन्डेसनले काम गरिरहेको छ। तर, फाउन्डेसनको लोगोमा धर्म प्रचार भइरहेको स्थानीयले बताउँदै आएका छन्। 
यस्तो छ कानुनी व्यवस्था
मुलुकी अपराध संहिता (२०७४) को परिच्छेद ९ मा धर्मसम्बन्धी कसुरको बारेमा उल्लेख गरिएको छ। सोही परिच्छेदको दफा १५८ धर्म परिवर्तन गराउन नहुने भनेर लेखिएको छ।
दफा १५८ को उपदफा १ कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने उल्लेख गरिएको छ। 
उपदफा २ मा कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न नहुने बताइएको छ। 
यसरी धर्म प्रसार गरेर धर्म परिवर्तन गराएको अवस्थामा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। यसरी धर्म परिवर्तन गराउने व्यक्ति विदेशी भएको अवस्थामा त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद भुक्तान गरेको सात दिनभित्र नेपालबाहिर पठाउनुपर्ने कानुनी प्रावधान छ। 
प्रभावमा पारेर धर्म परिवर्तन गराएको अवस्थामा थाहा भएको मितिले ६ महिनाभित्र उजुरी गर्न सक्ने व्यवस्था छ। धर्म सम्बनधी अन्य कसुरमा भने ३ महिना नाघेपछि उजुरी नलाग्ने मुलुकी अपराध संहितामा उल्लेख गरिएको छ।

No comments:

Post a Comment