Wednesday, April 24, 2019

'सादा पोसाकको प्रहरी' बनेर कोठाभित्र छिरेका युवक सामान बोकेर बाहिरिए, पक्राउपछि खुल्यो वास्तविकता

'सादा पोसाकको प्रहरी' बनेर कोठाभित्र छिरेका युवक सामान बोकेर बाहिरिए, पक्राउपछि खुल्यो वास्तविकता

 नेपाल लाइभ |  २०७६ बैशाख १० मंगलबार | Tuesday, April 23, 2019  १३:००:०० मा प्रकाशित
20Shares
 Share
 Tweet
 Share
 Email
काठमाडौं– ‘म सादा पोसाकको प्रहरी हुँ। अनुसन्धानका लागि तपाईंको घर खानतलासी गर्नुपर्नेछ,’ एक युवक यसो भन्दै बैसाख ५ गते पर्वतको जलजला गाउँपालिका–३ माझफाँटका लक्ष्मी जिसीको घरमा छिर्छन्।
जिउडाल हेर्दा हट्टाकट्टा नै देखिन्छ। केस प्रहरीकै जस्तो छोटो। फोनमा पनि 'अँ, मैले जानकारी गराइसकेँ, अब एकैछिनमा खानतलासी सुरु हुन्छ' भन्दै कुरा पनि गर्छन्। 
लक्ष्मीको परिवारले पनि विश्वास गर्छ, उनी प्रहरी नै हुन्। तर, उनीहरुमा एक किसिमको डर पैदा हुन्छ।  किन हाम्रो घर खातलासी गर्नुपर्ने? भनेर प्रश्नसमेत गर्न सक्ने आँट गर्दैनन्।
मध्य दिउँसो पुगेका ती युवक घरभित्र छिरेर खानतलासी गरेजसो गर्छन्। दराज, पलङ सबै सर्च गर्छन्। 'तपाईंहरुमाथि थप अनुसन्धान गर्नुपर्नेछ' भन्दै घरमा भएको सामसुङ ग्यालेक्सीको सेतो कलरको ट्याब बोक्छन्।
त्यसपछि उनी आफ्नो बाटो लाग्छन्। 
परिवारका सदस्य सबै अचम्मित हुन्छन्; किन यसरी प्रहरीले हाम्रो घर खानतलासी गर्‍यो?
 
तर उनीहरुलाई खानतलासी गर्नुपर्नेको कारण थाहा हुँदैन। उनीहरुकै अगाडि अनुसन्धान गर्नुपर्नेछ भन्दै ट्याब समेत बोकेर लगेको हुनाले थप डर पैदा हुन्छ।
ती प्रहरी गएपछि उनीहरुले आफ्नो कोठा मिलाउन थाल्छन्। त्यसबेला थाहा पाउँछन्, दराजमा भएको ६ हजार, सुनको सिक्री र औंठी नै गायब हुन्छ। 
पैसा र सुन नै गायब भएपछि लक्ष्मीको परिवारलाई शंका लाग्छ। उनले जिल्ला प्रहरी कार्यालय पर्वतमा उक्त घटनाको जानकारी गराउँछन्। कुनै पनि प्रहरीलाई कसैको घरमा खानतलासी गर्न नपठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर तिवारीले जवाफ फर्काउँछन्। प्रहरीको नाटक गरेर चोरी भएको हुन सक्ने भन्दै प्रहरीले ती युवकमाथि अनुसन्धान थाल्छ।
पीडितले दिएको हुलियाका आधारमा अनुसन्धानमा जुटेको प्रहरीले ती युवकलाई बैसाख ८ गते दिउँसो ३ बजे पर्वतको कुश्मा नगरपालिका–६ शिवालय चोकबाट पक्राउ गर्छ। त्यसपछि खुल्छ, युवकको वास्तविकता।
उनी त वास्तविक प्रहरी नभएर नक्कली प्रहरी बन्दै घरभित्र प्रवेश गरेर खानतलासी गर्ने निहुँमा चोरी गर्ने व्यक्ति रहेछन्।
यसरी प्रहरीको भेषमा घरभित्र प्रवेश गर्दै चोरी गर्ने व्यक्ति हुन्, पर्वतको जलजला गाउँपालिका –६ शालिजा बस्ने २१ वर्षीय रेशम सुवेदी। 
उनले आफू सादा पोशकको प्रहरी हुँ भन्दै विश्वासमा पारेर घर खानतलासीको निहुँमा थुप्रै व्यक्तिको सामान चोर्ने गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। उनले बाग्लुङ र पर्वतका विभिन्न व्यक्तिको घरमा प्रवेश गरेर चोरी गर्दै आएको खुलेको छ।
उनले यसैगरी प्रहरी बनेर बैसाख १ गते बाग्लुङको बाग्लुङ नगरपालिका–१४ बलेवाका छत्रमान सुवेदीको कोठामा भएको सामसुङको ट्याब, ३३ हजार रुपैयाँ चोरी गरेका थिए।
त्यस्तै कुश्मा नगरपालिका–२ खुर्कोटकी गायत्री उपाध्यायको कोठाबाट उसैगरी ६  हजार रुपैयाँ बैसाख ३ गते चोरेर हिँडेको अनुसन्धानमा खुलेको छ। 
प्रहरीले उनको साथबाट नगद ४ सय ६० रुपैयाँ, चोरी भएको सामसुङको ट्याब र मोबाइल बरामद गरेको छ। उनी यसभन्दा अघि पनि चोरीको अभियोगमा पक्राउ परेका व्यक्ति भएको प्रहरीले जनाएको छ। चोरीकै आरोपमा सुवेदीलाई २०७२ मंसिर १६ गते पर्वत प्रहरीले पक्राउ गरेको थियो। ३ वर्ष २ महिना कैद बसेर उनी गत माघ १७ गते मात्रै जेलबाट बाहिर निस्किएका थिए। 
जेलबाट छुटेपछि पनि उनी सुध्रिएनन्। पुन: चोरीको शृंखला थाले। अहिले पक्राउ परेका उनीमाथि चोरीको अभियोगमा मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment